रोआल्ड डाल बाल साहित्यका सबैभन्दा रूचाइएका लेखक हुन् । उनको निधनपछि उनको परिवारले उनका सबै सिर्जनाको मोल ५०० मिलियन पाउन्ड तोकी किनेको छ ।

डालको निधनपछि उनको परिवारले रोआल्ड डाल स्टोरी कम्पनी स्थापना गरेको थियो ।

उनका किताबहरू तीन सय मिलियनभन्दा बढी प्रति बिक्री भएका छन् ।

मंगलबार उनका कृतिहरूमा नेटफ्लिक्सले शृंखला या फिल्म बनाउन पाउने गरी अधिकार लिएको हो ।

पछिल्लो समय नेटफ्लिक्सलाई अमाजन, डिज्ने तथा एचबिओजस्ता कम्पनीले स्ट्रिमिङ प्लेटफर्ममार्फत कडा प्रतिस्पर्धा दिइरहेका छन् ।

डालका चार्ली एन्ड द चकलेट फ्याक्ट्री, माटिल्डा, द बिएफजी र द विचेजजस्ता कृतिहरूलाई फिल्म बनाइएको छ र तिनलाई निकै रूचाइएको पनि छ ।

यत्तिका पैसा तिरिसकेपछि अब नेटफ्लिक्सले डालका जुनसुकै पात्रहरूलाई तोडमरोड गरी शृङ्खलाहरू बनाउने अधिकार पाएको छ ।

तीन वर्षअघि नेटफ्लिक्सले चार्ली एन्ड द चकलेट फ्याक्ट्रीको लामो शृंखला बनाउने क्रममा डालको सिर्जनशीलतालाई कति वृहद् रूपमा प्रयोग गर्न सकिन्छ भनी बुझेको थियो । उनका सारा कृतिको फिल्म बनाउने, टेलिभिजन सिरिज बनाउने, पुस्तक प्रकाशन गर्नेदेखि लिएर भिडियो गेम तथा लाइभ थिएटरसम्म गर्न सकिने भएकाले यसलाई वृहद् प्रोडक्टका रूपमा विकसित गर्ने गरी नेटफ्लिक्सले अधिकार लिएको हो ।

नर्वेबाट बेलायत सरेका अभिभावकहरूबाट बेलायतको वेल्समा सन् १९१६ मा जन्मिएका डालको सन् १९९० मा देहान्त भएको थियो ।

नेटफ्लिक्सले आखिर यति जोखिम एउटा लेखकका कृतिमाथि किन मोल्दैछ ? विज्ञहरू भन्छन्, डिज्नेसँग मार्भल कमिक्स तथा स्टार वार्स छ । त्यसलाई चुनौती दिने गरी बालबालिका बाँध्ने अरू कुनै कन्टेन्ट छैन । त्यसैले उसले डोआल्ड डाललाई पक्रन जरूरी थियो ।

हुन पनि पछिल्लो समय धेरै ढिला गरी स्ट्रिमिङ व्यापारमा उत्रेको डिज्नेले एकै झमटमा संसारभरि ११६ मिलियन ग्राहक थपिसक्यो । उता नेटफ्लिक्ससँग भएका २०९ मिलियन ग्राहकमध्ये कतिले छाडिसके । अमेरिका र क्यानडामा मात्रै उसले ४ लाख ३० हजार ग्राहक गुमाइसक्यो ।

बाल साहित्यकार रोआल्डमाथिको यो लगानीले भने बालबालिका र अभिभावकहरूलाई समेत बाँध्ने अपेक्षा गरिएको छ ।

रोचक त के छ भने सन् २००९ मा डिज्ने कम्पनीले मार्भल कम्पनीलाई किन्दा ४ बिलियन डलर खर्च गरेको थियो । एउटा कमिक्स कम्पनीलाई यत्तिका रकम हालेकामा धेरैले डिज्नेलाई गिज्याएका थिए । तर हालसम्म डिज्नेले मार्भलका सुपर हिरोहरूलाई प्रयोग गरेर २५ वटा फिल्महरू बनाइसकेको छ र तिनले संसारभरि २५ बिलियन डलरको व्यापार गरिसकेको छ ।

यतिबेला द रोआल्ड डाल स्टोरी कम्पनीमाथि गरिएको लगानी पनि नेटफ्लिक्सका लागि सोही किसिमको फाइदाकारी हुने अनुमान गरिएको छ ।