९ वैशाख २०७७(२१ अप्रिल २०२०)

लकडाउनको २३ औँ दिन आज राति सामान्य बाधा भयो । अलि गोडा पोलेर दुई तीनपल्ट उठायो । त्यसैले पो हो कि चारबजे अन्तिमपल्ट उठ्ने गरी ब्यूँझेँ र सिरक फ्याँकेँ । बीच तलामा पल्लो कोठामा सेवालाई हल्ला बाधा होला होला भनी थर्मस र मोबाइल बोकेर माथि नै चढ्ने गर्छु ।

बिहानको प्रहरमा चियासँग एक कविता रचौँ कि भन्ने विचार थियो । त्यसको थिम पनि मनमा नाचिरहेको थियो तर एकपल्ट सर्वप्रथम ल्यापटप खोलेँ; खोलेपछि त्यतैतिर मन अल्झियो । त्यसबाट बाहिर निस्कन तीन घण्टा लाग्यो । मेरो कविता बतासमा राखेको कपूर सरह भएछ ।

छोटो तर प्रभावकारी । मैले दुई दिन पहिले अभिसरलाई पठाएकोयतिबेला उफ्रेर केहुन्छ र काइँला! शीर्षक कविताले हिजो राति टिप्पणी लिएर आएछ । अहिले खोल्दा यी शब्दले थाहा पाएँ ःसर आम्मामा । यो जोडदार कविता भयो । जीवन र मृत्युलाई यसरी निस्पृह फोर्ससँग प्रयोग गरेको कविताले एकैचोटि यथार्थ र वैराग्यलाई उतारेको छ । यो कविताले पनि बडो मजा आयो ।बरक बरक उफ्रेर के हुन्छ र काइँला ।

सादर, अभि !

यसको उपयुक्त मूल्याङ्कन सुन्न मन थियो । थोरै शब्दमा उहाँले यति भनेपछि मैले बोल्नुपर्ने अर्थाेक बाँकी थिएन । त्यसपछि दोस्रो इमेल हेरेँ— अनेकौँ महीनापछि छोरी अनिता गिरीको । क्यानाडामा बसेर संघर्षरत उनले लेखिन्— सबै राम्रो छ अचेल यसरी अनलाइन कोर्स पनि पढ्दै छु अङ्कल नानीहरु फुल्याएपछि ।

पढ्ने प्रयत्नको लागि मैले छोरीलाई धन्यवादसँग उत्तर दिइहालेँ ।

तेस्रो इमेल रहेछ अञ्जन बाँस्कोटाको। उत्तरपूर्वी समारदली आसामका ती अञ्जन भर्खरका युवा अंग्रेजी एम ए, आसामबाट एउटा कृति नेपालीमा ल्याइसकेका छन् । उनको नाम नेपाली अनुवादक परिचय कोशमा दुई नम्बरमा आएको छ ।
तिनै युवा नेपाल आएका थिए । कोरोनाले छोप्नु अघि फागुनमा ३० जनाको एक समूह थियो । चर्यानृत्यको अध्ययन गर्न आउने टोली त्यो । त्यसैमा थिए १२ जना नेपालीमा एकजना उनी पनि । नेपालीहरु मध्ये डा. खगेन, डा. सञ्जीव उपाध्याय, लगायत १२ जनालाई हामीले भट्टराई निवासमा एक सन्ध्या स्वागत गरेका थियौँ । साहित्यिक वार्ता र कृति आदाष्नप्रदान गरेका थियौँ । मेरा र अञ्जनाका कृतिहरुको एक एक प्याकेट उपहार दिएका थियौँ । त्यसैमा एक थियो मेरो मुगलान पनि ।
उनले भर्खरै मात्र त्यो कृति(मुगलान) पढ्न भ्याएछन्, कोरोना–कालमा । गएको शनिबार उनले छोटो सम्पर्क लेखे ।

सर सादर नमस्कार

मुगलान पढिसकेँ आज… । सारै मार्मिक, आँखा रसाए ।

त्यसपछि अर्काे दिन मैले सम्पर्क गरेँ र बोलेँ । उनी आफ्नै आश्चर्यले हल्लिरहेका थिए— २१ वर्षमा सरले कसरी यस्तो शक्तिशाली कृति लेख्नुभो होला !

म यसको बारेमा यहीँको एक पत्रिकालाई अंग्रेजीमा एक रिभ्यू लेख्न चाहन्छु । सरले एकपल्ट हेरेर स्वीकृत गरेपछि मत्र म प्रकाशनमा पठाउँछु ।

हुन्छ लेखी पठाउनोस्, म पढौँला पनि भनेको थिएँ । बीचका तीन चार दिनमा लेखेर हिजो पठाएका छन् । मुगलानमा एट अग्लान्स शीर्षकमा । २० किलो बाइट्सभित्र १६०० शब्द अटाएका रहेछन् । त्यही पढ्न थालेँ ।

मेरो ‘एडिट मोड’ बिग्रेछ । त्यसैले हटाउनु पर्नेमा रातो दल्दै जाने कुरा नीलोमा लेख्तै गरेँ र एक घण्टा पूरै समय त्यता लगाएँ । त्यसको अन्त्यमा उनको सजिलाका लागि केही सूचना र वेबसाइट पनि थपेर पठाएँ । त्यसपछि हिजोको डेली डायरी लेखेँ । त्यति सक्ता दुई घण्टा बिते । छ्याङ्गै उज्यालो भयो । मेरा गोडा पनि ज्यादा खुम्चेर अलिक आत्तिएका छन् । आफ्ना खुसीले चल्न हिँड्न बनाइदिएका गोडालाई यसरी फोल्डिङ गर्दै तेस्र्याउँदै दुदुई घण्टा दोबारेर नियन्त्रणमा लिएपछि कस्तो हुन्छ ! हालै पीएम ओलीजीले स्वतन्त्र स्वेच्छाले वा स्वविवेकले समाचार छाप्ने पत्रकारलाई सातो खाए, डाक्टरलाई धम्क्याए ।

यस्तरी सेन्सरशिप बढ्दै जानु जस्तै हो गोडालाई, हातलाई विवेकलाई नियन्त्रित गर्नु पनि । तर गोडाको धर्म हिँड्नु हो हिँड्छ नै । पत्रकारले देखेको सत्य लेख्नु जस्तै ।

तब उठेर फेरि पानी बसाएँ । आज बहिर कौसीमा जान सकिँदैन । पानी बर्सिरहेको छ, झमझम असार जस्तै । सारा कालो–नीलो छ, बिजुली पनि चम्किरहेछ, मेघ गर्जिंदै छ काठमाडौँको छानाभरि ढाकेर । एकछिन दैलामा उभिएर हेरेँ— माथि डाँडामा बाटापारि भर्खर पाउलेका बोटहरु छन्— चेरीका, आल्चाका । हरिया काला भएर आकासिएका । बोटलाई हावाले लरक लरक पार्दै तल कम्मरसम्म निहुराउँछ फेरि सम्हालिन्छन् । यता आफ्नै बारीमा हेरेँ लप्सी त्यस्तै झपक्कभएर फुलेको, एभोकाडो त्यस्तै छ ।

मलाई अतीतको सम्झना भयो । माथिमाथि धनकुटाको गुराँसेतिर पुगेका दिन ठूलो बतास चलेको थियो । नाङ्गा डाँडामा कहाँ ओत पाइएला भनी चढ्दै थियौँ । बतासले उनको एक अँगालो केश तल झाथ्र्याे, माथि तान्थ्यो, छथ्र्याे, सम्हाल्थ्यो । त्यस्तो भिडियो खिच्ने पनि जुग थिएन । मनैले खिचिसकेको थिएँ । त्यो कालो केश राशी बतासमा नाचेको आज चेरीको बोटमा त्यही देख्छु लटरम्म फुलिरहेको आल्चाको बोटमा त्यही ।

त्यसपछि तीन मिनेट जति जगिङ गरेर चिया भरेँ र भित्र पसेँ । अनि काममा बसेँ । आज बिहानभरि मात्र मेरो यस्तो काम हुनेछ । दिनमा अर्कै छ मूलकाम उही बलराम अधिकारीको पीएडी थिसिस अघि बढाउँछु ।

सात बज्यो; पानी दर्केकै छ । त्यसैले होला कुनै क्लिपहरु आएका छैनन् । त्यसैले होला मलाई निद्राले छोप्यो र त यहीँ ढल्केँ । मफ्लरले आँखा छोपेर । सात मिनेट पछि छोड्यो । एक मीठो सपना पनि देखेँ । यो शरीर कति हल्का फूलको थुँगो ।

त्यसपछि लेख्न थालेको हुँ आज बिहानको; थोरै लेख्न पनि कति मुश्किल छ । अर्थपूर्ण हुनुप-यो त्यो । खोक्रा शब्दको माला उनेर काम छैन । त्यसमा केही तत्व हुनुप-यो । फोस्रो वर्णनको काम छैन, जे लेखे पनि कलापूर्ण लेख्नु प-यो । नाराको, प्रतिलिपिको काम छैन, घोषणापत्र सारेर पनि काम छैन । ती लेखनका निर्देशन होइनन्; निर्देशन कहीँ छ त आफ्नै हृदयप्रदत्त विवेक र विश्वासमा मात्रै छ; एक्लैमा एकान्तको तपस्याले बुझाएको र देखाएको जगत्को दुःखमा मात्रै छ ।

हिजो बेलुका बन्द गर्नु अघि ज्ञानबहादुर छेत्रीको कल आयो । वाममार्गी ठोकिने भीरबाट उहाँलाई मन परेको लेखन के हो भन्ने विषयको मेरो धारणा सुनाउनुभो जुन यस्तो छ । वामार्गी सर्जकहरु ठोकिने भीर र स्वप्निल सहरले सङ्केत गरेको उदार लेखनतिरको प्रस्तावना—सङ्क्षेमा म देखिरहेको छु, वामार्गी लेखनको आधारभूत सूत्राधार बनेर रहेका यसका संस्थापकहरुले यसको परिसुद्धकृत रुपमा बढी जोड दिए, राजनीति र साहित्यमा दुवैतिर एउटै कुरा लेखिनुपर्छ, दुवै एकै हो भने, लेखे, लेखाए । राजनीतिक दस्तावेज घोषणापत्र र पार्टी साहित्य नै आम साहित्य हो भन्ने भ्रम स्थापना गर्न सफल भए । तर यो ६–७ दशक लामो नेपाली साहित्यमा उनै पात्र, उनै घटना, उनै शैली र सन्देश हजारपल्ट लेखिए, लाखपल्ट लेखिए— केवल लेखक बदलियो । लेखकको नाम र उमेर बदलियो तर उही साँचोमा उस्तै आकारप्रकारका, रङ्ग, वर्ण र ओजनका इँटा निस्किरहे, त्यसैलाई साहित्य भनिरहे, अझ प्रगतिशिल भन्ने घोषणा पनि थपिदिए । तर वास्तवमा एउटा कट्टरताको निसासिँदो घेरा र पुनरावृत्तिको चक्र बनिरह्यो । तिनै शब्द र पद उनै संरचनामा फिट भइरहन्छन् कहाँ छ प्रगति ? प्रगति शब्दकै उपहास छ त्यहाँ, किनकि प्रगतिले त नित्य नवीन खोज्छ, हिजोभन्दा आज फरक र प्रयोगपूर्ण । वाममार्गले त्यही तत्वलाई निषेध गरिरहेछ । यो उनीहरु ठोक्किने भीर हो । बेगिएर उड्नु पर्ने चरो भीरमा ठोक्किएपछि के हुन्छ ? आज त्यस्तै भइरहेछ । तिनै सूत्रहरु रटेर, तिनकै पुनरावृत्ति गाइरहँदा कहाँ हुन्छ कला र साहित्यको सिर्जनाउत्तरआधुनिक विमर्श
(पृ. ३२९) ।

त्यसपछि म आजको कममा लागेँ । यो एकजना मित्रको अनुरोधमा गर्नु पर्ने एउटा सानो काम छ । सानो नभनौँ एक दिन लाग्ला । अलिकति चिन्तन गर्नु प-यो, प्रसङ्ग बुझेर लेख्नुप-यो । यो लेखको विषय छः समाज सेवाको महत्व र पुरस्कारको भूमिका ।

त्यसो त यो जनकपुरस्थित एक संस्थाको स्मारिकाको लागि हो तर मूलकुरा के छ भने निवेदक मित्र हुन् अयोध्यानाथ चौधरी । उनलाई चिनेको एक दशक पुगेछ तर उनी हिन्दी, नेपाली, अंग्रेजी, मैथिली चार भाषामा लेख्न अनुवाद गर्न सक्ने एक प्रतिभा हुन् । यदाकथा मैले सम्पर्क गरेको छु । हाम्रो घरमा पनि निकैपल्ट आएका छन् । मेरा अलिकति दाजु अयोध्यातर विनयशील र उज्याला अनि निश्छल लाग्दछन् । त्यसैले मैले ‘नाइ’ भन्न सकिनँ र मैले हिजो बेलुका एकछिन लेख्न थालँे । यो लेख आज पूरा गर्न बसेको छु ।

एउटा निबन्ध जस्तो भयो, एक प्रबन्ध वा लेख । बिहानको बाँकी समय यसैमा अर्पण गरेँ र ८ः३० मा घण्टी बजेपछि तल झरेँ । आज खबरमा केपी शर्मा ओलीले कोरोना भाइरसबारे केही दिन अघि दिएको भाषणको तीव्र आलोचना हुँदै थियो । मेरा मित्र भयङ्कर साहसी छन् तर भयङ्कर मूर्ख पनि । देशले उनीसित किन मुकाविला गर्ने भनी पढालिखा मौन छन्, मुख छोपेर हाँस्छन् । उनी स्पष्ट भएर केही लठैतहरु अघिपछि लाएर कुधेका छन् । तर पछारिने पनि दिन आउने छ ज्यदा बाठो हुँदा ।
आज सेवा छोरीले नौलो नास्ता बनाएकी रहिछन्— पाकेका खर्बुजाका गुदी बाहिर बोक्रा काटेर तिनको तरकारी पकाएर मिक्सीमा फिटेर नूत तेल हल्कासँग उमालेकी । ब्रोकाउलीका डाँक्ला पनि त्यसैमा मिसिएको÷विचित्र मीठो थियो । हल्का र स्वादिलो भेजिटेवल सूप । कस्तो सिर्जनात्मकता, म छक्क परेँ । सूप खायौँ, तुलसी चिया खायौँ । प्रधानमन्त्रीले यो संकटमा अलिक बाटो छोडेर फुट्ने प्रयत्न गरेको कुरा ग¥यौँ ।

ऋचाले भिडियो गरिन्— बेक्ड जुकिनी फ्रिटर्स नामको केके मिसाएर पकाएको खाना हे¥यौँ, बोल्यौँ र तीस मिनेट सकेर म फिरेँ । सिँढिमाथि उभिएर एकछिन हेरेँ— ती रुखहरु नाच्न छाडेका छन् । पानी रोकिएको छ । हावा रोकिएको छ । हाम्रो आल्चा कस्तो आत्तिने गरी फुलेको थियो । त्यो बगैँचाको गुलाब कति गाढा रातो, मुड्की जत्रा थुँगा, पातै नदेखिने गरी झ्याप्पै नुहेको । सेवाले फोटो उतारिन् होला तर आज पानीले चुटिएर अलिक छिन्नभिन्न विचरा छ । पुराना पत्रदल एक दुई खुस्केर झरिसकेछन् । एक लघु कविता आयो मलाई ।

कति क्षणिक रहेछ यो
कस्तो क्षण्कि रहेछ तिम्रो जिन्दगी
अघाउने गरी हेरौँला भन्दै सुतेको म
ब्यूँझेर हेर्दा पत्रदलहरु
फुकालेर खसाइसकिछौ
सुत्ने बेलाका कपडा जस्तै
अब यो वर्ष कुनै भमरा
आउँदैनन् होला
कुनै माहुरी, कुनै पुतली पनि
आउने साल त के हुन्छ हुन्छ
कसलाई थाहा छ र ?
न तिमीलाई न मलाई

हेर न, कोरोनाले फकाएर
लाँदै छ कतिलाई
एकान्तको बाटैबाटो ।
मुख छापिदिएर कतातिर कतिलाई ।

गुलाबका बोटतिरै झुकेर चिचिला लागेको ज्यामिरबोटलाई देख्ता यो मनमा निराशा भरिएको थियो । यो आमाकै हातले रोपेर हुर्काएर अञ्जनाको हात दमकदेखि पठाएका ज्यामिर बोट थियो । नुहेर फल्दैछ यसरी; नजिकै आमा पनि भौदिए हुन्थ्यो । तर ज्यामिर एक्लै छ; आमाले छोडिसक्नु भयो ।

छेउमा हेरेँ— भोगटेको बोट हरियो न हरियो । पात कस्ता काला चम्केका रातभरिको वर्षा भर्खर रोकिएको पानीका थोपा शित भै टल्केको देख्छु । पहिलोपल्ट फलेको छ, फुल्दैछ । त्यसदेखि यता घरैपट्टि फर्केको झ्याम्म अनारको बोट कति अग्लो र फुल्दा फुल्दा एकडोको फूल बोकेर उभिएको छ, कति फल्छ होला— किरा नलागिदिए हुन्थ्यो । कति फूल त राति नै झरेछन् । हेर्नु नि फूलदेखि झर्न थालेको जीवन । उम्केर कुनै कोपिलामा, चिचिलामा, कुनै दानामा । सधैँ कोरोनाले घेरेकै रहेछ जीवनलाई । प्रकृतिको र मानवको पनि उस्तै न हो । अनि माथि चढेँ । खगेन्द्र भाइको फोन आयो— दाजु आज कत्रो हुरी चल्यो, पानी प-यो, रातभरि ।

केही नोक्सान पनि ग-यो कि?

भान्सावरिको कटेजको छानो उडायो, दाजुका बगानमा फलेको आँपको बोटै भाँचिदियो… । अनि म लेख्न बसेँ ११ बज्दा अयोध्यानाथजीको लागि प्रतिज्ञा गरेको रचना ठीक पारेँ र इमेल पठाएँ ।

आज दिउँसो अरुतिर मन भड्कियो । खाजामा झरियो दुई बजे, दुई चम्चा पास्ता र एक पेला मिल्क टी साथै खर्बुजाका चाना पनि आधि । यतिले पाँच बजेसम्म धान्ला । सेवा छोरीको प्रबन्ध सबै; हामी खाने मात्रै ।

अनि फर्केर आएपछि लक्ष्मण भाइले रेकर्ड गरी पठाइदिएको आफ्नो कविता साथी भाइ स्रोतालाई पठाउन लागेँ ।

पठाइसक्ता त्यसका कमेन्ट आउन थाले र ती हेर्दै आफैँ मक्ख पर्दै विभिन्न मनोभावहरु उत्पन्न हुने मर्ने यो मनलाई खुला छोडेर हेरेँ ।

एउटा कविता रचेर छाप्न कति प्रतीक्षा गर्नुपर्थ्यो, छापिएपछि त्यसलाई पाँचजना पाठक स्रोतासमक्ष पु-याउन कति कठिन थियो, तिनीहरू लिखित प्रतिक्रिया पाउनु कति कठिन । आज एकैदिनमा सबै हुन्छ । लेखक निकै खुसी पनि हुन्छ सुनेर÷पढेर तर ती स्थायी होइनन्, गहिरा मूल्याङ्कन पनि होइनन् सबै तात्कालिक मात्र हुन् साहित्यको दूर संवेद्य मूल्यमा ह्रासछ तथापि प्रशंसाको अलिकति तागत हुन्छ मान्छेलाई बिगार्न सक्ने । आज त्यो सहजै पाइन्छ ।

साढे तीनदेखि व्यायाम गर्नु । गोडा उचाल्नु, ठोक्नु, हात हल्लाउनु, शरीर मर्काउनु आदि कर्म छन् । यूट्युव हेरेर सदाझैँ त्यही ग¥यौँ तर उठ्तै बस्तै गर्ने ढाड बंग्याउने, एकखुट्टी खेल्ने, उफ्रिने, हातले शरीर थाम्ने, कुनै ता करङ भाँच्ने खालका पनि हुँदा रहेछन् । अब त्यो गर्ने उमेर छैन भनेर त्यता लागेनौँ । अर्कै सरल व्यायाम रोजिन सेवाले ।

छिट्टै हुन्छ हाम्रो डिनर खाना पाँच बजे । सूर्यास्तको उज्यालो आकर्षक होला र हिजो अनुवाद गरेको विदेशी कविता आज प्रसङ्ग उठाऔँला भन्दै बसेँ तर अब सिमसिमे वर्षा, थपियो । उता पूर्वतिर हिजो आँपका हाँगा मर्काउने, अम्बा पल्टाउने हुरी चल्यो भन्नुहुन्थ्यो दमक माल्दाइ, अझै पानी एकोहोरो छ, जाडाले मा¥यो भन्नुहुन्थ्यो धुलाबारी प्रकाश दाइ आज यहाँ पनि त्यस्तै भो । बस त्यो कविता कति आकर्षक थियो । सूर्यास्तको उज्यालो समयमा प्रकृतिले सम्पूर्ण रङहरू फेरेको एक अनुच्छेद यस्तो छः

मानव झ्यालबाट यी आँखाले
एक शान्त आकाश देखे
सुन्दर सन्ध्यामा डुबिरहेको
पछि सन्दर्भ मिलेको दिन पछि
आकाशको रुप मिलेका दिन फेरि
सम्पूर्ण कविता आनन्दले पढौँला ।

अपराह्नमा आज एक लामो, पारिवारिक भेटघाट भयो । माधव भाइले जोग मिलाए— दाजु भाउजू, दमक माल्दादु, केर्खा ठुल्दाजु दिदी, धुलाबारी माइलाभाइ सबैभन्दा महत्वपूर्ण जन्तरी आमा अनि फिन्ल्याण्ड पुगे यमुना बैनी— पालो पालो बोल्यौँ । हेराहेर ग-यौँ । हामी त सँगै जस्तो छौँ टाढा पुगेकी ती बैनी हामी सारालाई देख्ता कस्तो भो होला खुसीले । अरुबेला जस्तो होइन, एकअर्काबाट छुट्टिएर रहेको, २४ दिनदेखि आउन जान बन्द भएका हामीलाई पनि अलिकति आत्मबल मिल्यो र अलिकति समय लगानि गरियो ।

बेलुकीपख एउटा गजल आयो चितवनका गोपी भाइको । यो रचना मेरै कविताको शृङ्खला जस्तो । सधैँ उनका एक दुई शेर कुधिरहेका हुन्छन् ।

रात ओर्लेदेखि नै आकाश झन क्रूद्ध हुँदै गयो । मेघसहितको वर्षामा त्यो प्रकट हुन थाल्यो । परिवेशको सुनसान झन् गाढा हुँदै गयो । ठीक त्यसैबेला मेरो कविता श्रवणको प्रत्युत्तरमा स्कटल्याण्डका कवि भतिज दुष्यन्तले लेखे — दर्शन काका। सुन्दर कविता ।

मैले धन्यवाद प्रकट गरेर एकछिनपछि पुनः लेखे— मेरो यो कविता यी भतिजीले वाचन गरेर पठाइछिन सुनेर प्रतिक्रिया पाऊँ है काका !

अनि रोकिएर सुनेँ— प्रवासी पुकार शीर्षक कविता, भतिजीले राम्रो स्वरमा गाएकी रहिछन् । सुन्दा लाग्यो यो एक मास्टरपीस रहेछ । परदेशमा प्रवाशमा, विदेशमा, डायास्पोरिक समुदायमा बस्ने संसारभरिका नेपालीले यतिबेला गर्ने प्रार्थना रपुकार यस्तो छः

मेरो देश चलाउने मनुज हो बिन्ती पुकारा सुन
हामी आज विदेशमा अललियौँ बुझ्दैन यो कानून ।
भोको पेट कराउँदै छ अहिले केही त लौ खान दे,
सक्छस् राख्न त राख् कि ता सहजले आफ्नै धरा जान दे ।१।

गथ्यौँ काम तमामका खुरुखुरु जो सीप हो बाँड्दथ्यौँ,
नेपाली जब भेटिए पनि कतै आफ्नोपना साट्दथ्यौँ ।
दाता हो हुन ता तथापि मनले द्यौता बुझेका थियौँ,
ऐले सङ्कट यो अचानक भयो मर्ने भयौँ आत्तियौँ ।।२।।

बस्दै छौँ सब बन्द जीवन यहाँ मात्रै बिलौना गरी,
खाना दिन्छ सकिन्छ पेट नभरी हप्काउँदै बेसरी ।
त्यो सौचालयएउटा छ जनता चालीसका खातिर,
बस्ने बास छ साँगुरो त कसरी दूरी रहोस् आखिर।।३।।

पानी आउँछ भन्छ धेर नचला तातो कहाँ पाउनु,
ढोका बन्द छ वायु चल्छ नरको ताजा कहाँ आउनु ।
निस्की हिँड्न दिँदैन बाहिर कतै बन्दी भयौँ जेलमा,
कोरोना अब बर्षिंदै छ यसरी बग्ने भयाँै भेलमा।।४।।

केले चल्नु र रेमिट्यान्स नभए भन्थ्यौ हिजो देशमा,
वाचा बन्धन ती कतातिर पुगे बिस्र्याै कि आवेशमा ।
त्यो सामथ्र्य पुगेन भन्न पनि ता के लाजले दिन्छ र,
आफ्ना सन्ततिको पुकार नसुनेस् के कानले भन्छ र ?।।५।।

गर्दै छन् हरदेशले स्वजनको उद्धारको कोसिस,
मेरो देश कताकता अलपभो माया हरायो कित ।
केही चार्टर वायुयान गरिए बाँच्ने थियौँ आखिर,
बस्छौँ चिम्म गरेर नेत्र कसरी हामी भयौँ बाहिर।।६।।

राखे बस्न तयार छौँ अलग नै हप्ता त के वर्ष नै,
पाऊँ फर्कन आज मात्र घरमा पीडा सहन्छौँ त्यतै ।
आफ्नो हुन्न रहेछ जीवन बितोस् जस्तै गुलामी गर,
अर्काको घर पालुवा हुन पुग्यौँ उद्धार हाम्रो गर।।७।।
दुष्यन्त भट्टराई, हाल बेलायत

त्यसपछि अष्ट्रेलिया (एडेलाइड) का भूटानी नेपाली भाइसँग एकछिन वार्ता गरियो । कविता सुनेर उनैले लगाए पल्लो घर र सात समुद्रपारि उत्तिनै समयमा पुग्न सकिने कस्तो यन्त्र बनायो मानवले आश्चर्य लाग्छ ।

भुटानी स्रष्टाहरुमा आफ्नो जातीय पहिचानको चिन्ता गर्ने व्यक्ति यतिराज हुन् । उनको गुनासो र पुकारा सबै थियो— साहित्य गर्दैछौँ नेपाली भाषालाई जोगाउन सकिएला कि भनी प्रयत्न गर्दैछौँ । तर हाम्रो निरन्तर प्रयत्नबारे कतैबाट पनि चासो प्रोत्साहन टिप्पणी समीक्षा आउँदैन । दश वर्ष व्यतीत भए— सरसँग यो पुकारा गर्दछु ।

मैले अलिकति अनुभव बताएँ— पहिले अनेक स्रष्टा थिए भूटानी साहित्यका अहिले पुनस्र्थापनले, त्यसको परिणामले र बाँकी समस्याले ती सारा मौन छन् । यदाकदा डेनमार्कका रमेश गौतम बोल्छन्, अमेरिकाका शिव दाहाल सम्पर्कमा हुन्छन्, उतैबाट आरे डेन्जोम सकेको गर्दैछन् । यसपाला निशालीलालिम्बू बहिनी हाम्रामा निस्केर गइन् । कोही सम्पर्कमा छैन । तपार्इं एक जना यदाकदा खोज्नुहुन्छ । जीवनका अन्य समस्याले तपाईंहरुलाई शायद निल्दैछ । तर पीर नगर्नाेस् यसपालि म अब दुई तीन महीना पश्चात् भूटानिज लिट्रेचर पढेर एक अनुशन्धानात्मक लेख तयार पारौँला ।

त्यसो त भूटानी नेपाली साहित्यबारे सर्वाधिक स्रष्टा मैले भेटेँ र लेखेँ होला तर यता नेपालबाट तेस्रा मुलुक पस्ता उनीहले गजल मात्र सिकेर गए । साहित्यका गम्भीर पाटा जानेनन् । उच्च शिक्षा पनि केहीमा मात्र थियो । गजलबट मनोद्वेग र भावनाको एक तह आउँछ परन्तु जीवनलाई लेख्ने, वर्णन गर्ने, छुने देखाउनेकाम गर्न त्यसले सक्तैन । यो उनीहरुलाई थाहा छैन । त्यसकारणले पनि मलाई उत्साह जागेन । यस बीचमा दुई कृति आए । गतवर्षको समकालीन भूटानी कथा र यसपालिको गोपाल पौडेलको कथाभित्रको कथा (संस्मरण) दुवै स्तरीय कृति हुन् । तर यहाँ विद्यता भएन, साहित्यमा सबै विधाले जीवन उतार्नु पर्ने भएन र भएन ।

यो कुरा अष्ट्रेलियाइ यतिराजलाई सुनाएँ र अन्त्यमा मागेँ पनि अष्ट्रेलियन भूटानी नेपाली तर्फबाट समसामयिक चेता का एक–दुई रचना ( कविता) मलाई पठाउन सक्नु हुन्छ भाइ ।

पानी र हावा झन् थपिँदै थियो । आज बिजुली निभाउँछ होला भन्ने डर बढ्दै थियो । पाँच महिना बिते यो इन्भर्टरलाई नयाँ जीवन प्रदान गर्न सकिएन । त्यसोता कुलमानले धेरै गरेको छ । उनले हाम्रो जीवनै बदले । बत्ती पनि नभए यो लकडाउन हुने कष्ट कस्तो हुन्थ्यो होला, त्यो पनि अकल्पनीय छ । बत्तीसँगै टेलिफोन सेवाको सरलताले पनि हाम्रो जीवनमा क्रान्ति ल्याइदिएका छन् उनले ।

सात बज्यो पानीसँग बतास चल्दैछ । बतास बिस्तारै हावामा परिणत भयो ।

अनि हुरी भएपछि झ्याप्पै बत्ती गयो । एकछिन झोक्राएँ फेरि आयो । बसेर बलरामको थिसिस पढैँला भन्ने छ । थालेँ पनि । आधाघण्टापछि बत्तीले फेरि त्यसै ग¥यो बल्ल सात बज्यो केही गर्न नसकिने भो । नत्र यस्तो अन्धकारमा टाढाटाढा फोन गर्दाे हुँ । फेसबुकमा पस्तो हुँ । आज बिहानदेखि कोरोना अपडेट हेरेको छैन— आज हेरेर लेखेर सुतौँला भन्ने छ । आजै संसारभरिमा कोरोनाले गर्दा बिदा हुने नेपालीको मात्रै संख्या चालीस पुगेको छ भन्दैछन् । व्यर्थैमा अनाहकमा त्यत्रो बलिदान भो ।

एकछिन फलाहारीसित बोलेँ । मेरो कविता कहाँ कहाँ पु¥याउनुभो, त्यसको के प्रतिक्रिया आइरहेको छ, त्यसको अपडेट दिनु हुन्छ उहाँ । एउटा टाइमपासको सरल उपाय यतिखेर ।

फेरि झ्याप्प बत्ती गयो साढे सातमा एकछिन पर्खें । तेजपुरका ज्ञानबहादुर छेत्रीको कल आउने बेला भो । उहाँ पोष्टमोडर्निजम्भित्रका अनेक नवीन चेतना र आयाम परिवर्तनका कुरा सिक्तै गर्दै हुनुहुन्छ । उत्तरआधुनिक विमर्श साथमा छैन । आसाममा यो चेतना पु¥याउने प्रयत्नमा समर्पित उहाँ पहिलो स्रष्टा हो । तर मैले आज माया मारेँ । ल्यापटप मारेर तल झरेँ र आठबजे पल्टेँ । कत्रो नोक्सान ।