१. विषय प्रवेश
प्रभावकारी लेखनका विविध क्षेत्रमध्येमा सम्पादकीय लेखनको पनि विशेष महत्त्व रहने गर्दछ । कुनै कृतिको अथवा पत्रिकाको सम्पादकले आफ्नो अनुभव, विचार, भूमिका र सामाजिक दायित्वका आधारित भएर गर्ने औपचारिक टिप्पणी वा आधिकारिक दृष्टिकोण नै सम्पादकीय हो । सम्पादकीयमा विषयप्रतिको गम्भीर विश्लेषण र जीवनदृष्टि हुन्छ त्यसैले यसको निबन्धसँग निकटको सम्बन्ध रहने गर्दछ भने प्रस्तुत सन्दर्भप्रतिको सिद्धान्त वा तर्कमा आधारित आलोचनात्मक दृष्टिकोण हुन्छ त्यसैले समालोचनासँग यसको गहिरो नाता देखिन्छ । सम्पादकीय साहित्यिक विषयमा केन्द्रित पनि हुन्छ र समसामयिक सबै खाले विषयको विश्लेषणात्मक सूचनामा पनि केन्द्रित हुन सक्छ । विषय वा प्रसङ्ग जुनसुकै भए पनि लेखकीय टिप्पणीका साथ प्रस्तुत हुने रचनाका रूपमा सम्पादकीयलाई लिने गरिन्छ । यस लेखमा विश्वव्यापी रूपमा नै कृति वा पत्रपत्रिका सम्पादन र लेखनका क्षेत्रमा अत्यन्त प्रभावकारी एवम् लोकप्रिय रूपमा रहेको सम्पादकीय लेखनका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. सम्पादकीयको सैद्धान्तिक स्वरूप र परम्परा
संस्कृत व्याकरणअनुसार ‘सम्+पद््+णिच्+घञ्+अक’ निर्माण प्रक्रियाबाट बनेको ‘सम्पादक’ शब्दको अर्थ मिलाउने, पूरा गर्ने, निष्पादन गर्ने वा सम्पन्न गर्ने भन्ने हुन्छ । त्यही ‘सम्पादक’ शब्दमा ‘ईय’ प्रत्यय लागेर बनेको ‘सम्पादकीय’ शब्दले सम्पादकसँग सम्बन्धित वा सम्पादकको भन्ने अर्थ दिन्छ । लेखन वा सिर्जनाका सन्दर्भमा भने यसको अर्थ ‘कृति वा पत्रिकाको सम्पादकले आत्मधारणाका साथ लेख्ने लेख वा रचना’ भन्ने हुन्छ । यसैको अर्थगत व्यापकता र प्रयोगात्मक विविधताका सन्दर्भमा सम्पादकीय भन्नासाथ साहित्यिक वा गैरसाहित्यिक कुनै पनि प्रकारका कृतिहरू वा पत्रपत्रिकाहरूको सम्पादन कार्य सम्पन्न भइसकेपछि त्यसको जिम्मेवार सम्पादकले व्यक्त गर्ने आधिकारिक अवधारणा भन्ने बुझिन्छ ।
‘सम्पादकीय’लाई अङ्ग्रेजीमा ‘एडिटोरियल’ (Editorial) भनिन्छ । ल्याटिन भाषाको ‘एडिटर’ (Editor) शब्दमा ‘अल्’ (al) प्रत्यय लागेर बनेको ‘एडिटोरियल’ (Editorial) शब्दले सम्पादकसँग सम्बन्धित भन्ने अर्थ दिन्छ । विश्वसाहित्य र पत्रकारिताका क्षेत्रमा अत्यन्त प्रयोग हुने ‘एडिटोरियल’ शब्दमा साहित्यिक वा गैरसाहित्यिक कृति अथवा पत्रपत्रिकामा सम्पादकले अभिव्यक्त गर्ने आधिकारिक विचार वा अवधारणा भन्ने अर्थ नै लुकेको पाइन्छ ।

पूर्वीय जगत्मा प्राचीन कालदेखि नै विभिन्न कृतिहरूका बारेमा टीका लेख्ने वा व्याख्या विश्लेषण गर्ने चलन थियो । त्यस कृतिका बारेमा नवीन दृष्टिका साथ टीका लेखिसकेपछि त्यसको औचित्य स्थापित गर्नका लागि टीकाकारले त्यस कृतिका बारेमा पूर्वसन्दर्भको उल्लेखसहित मूल कृतिमा प्रवेश गर्नुभन्दा अगाडि नै केही स्पष्टीकरण लेख्ने प्रचलनमा नै सम्पादकीयको प्रारूप फेला पर्दछ । समालोचक नेत्र एटमले कुनै साहित्यिक पत्रिका वा सम्पादित कृतिमा सम्पादकले लेख्ने विचार प्रधान लेख साहित्यिक पत्रिकाको सम्पादकीय साहित्यसित सम्बन्ध भएको कुनै पनि शीर्ष प्रश्न वा विषयका बारेमा लेखिएको हुन्छ तर सम्पादित कृतिमा रहने सम्पादकीयचाहिँ कृतिको महत्ता प्रतिपादन एवम् कृतिसम्पादन प्रक्रियामा केन्द्रित हुन्छ भनी सम्पादकीय लेखनका सन्दर्भमा स्पष्ट पारेका छन् । नेपाली साहित्य र पत्रकारिता दुवै क्षेत्रमा सम्पादकीयको प्रचलन निकै लामो देखिए पनि यसको सैद्धान्तिक चर्चा भने अत्यन्त कम मात्र भएको पाइन्छ ।

३. सम्पादकीयका प्रकार
सम्पादकीय लेख्ने व्यक्ति सम्पादक नै हो र त्यसमा सम्पादकका विचारहरू नै अभिव्यक्त भएका हुन्छन् तापनि त्यो सम्पादकीय केमा लेखिन्छ त्यसका आधारमा यसका प्रकारहरू फरक हुने गर्दछन् । यसलाई विभाजन गर्ने मूलतः दुईओटा क्षेत्रहरू हुन्छन्, ती हुन्— साहित्यिक र गैरसाहित्यिक । यिनको पनि प्रयोग हुने ठाउँ कि त कुनै कृति हुने गर्दछ, कि त पत्रपत्रिका । यसका आधारमा सम्पादकीयलाई कृतिमा लेखिने सम्पादकीय र पत्रपत्रिकामा लेखिने सम्पादकीय गरी दुई वर्गमा विभाजन गरेर तिनीहरूभित्र रहेको अन्तर्वस्तुका आधारमा गुणात्मक भिन्नता देखाउनु सान्दर्भिक हुन्छ ।

क) कृतिमा लेखिने सम्पादकीय
सम्पादक पत्रपत्रिकाको मात्र हुँदैन, कुनै कृतिको पनि हुने गर्दछ । ती कृतिहरू साहित्यिक र गैरसाहित्यिक दुवै खाले हुन सक्छन् । कृतिको सम्पादक त्यस कृतिप्रति तुलनात्मक रूपमा अलि बढी जिम्मेवार हुने गर्दछ त्यसैले उसले आत्मपरक शैलीमा सम्पादनको पृष्ठभूमिदेखि लिएर सम्पादनका क्रममा प्राप्त गरेका अनुभवहरूलाई पनि स्पष्ट रूपमा उल्लेख गर्न सक्छ । सम्बन्धित कृति साहित्यिक हो भने त्यसप्रतिको सैद्धान्तिक व्याख्या, विश्लेषण र विधागत वा विषयगत औचित्य स्थापना आदिका सन्दर्भमा पनि सम्पादक बोलेको हुन्छ । यदि कृति गैरसाहित्यिक छ भने त्यसको आवश्यकता, समाजले प्राप्त गर्ने प्रतिफल आदिका बारेमा पनि सम्पादकले स्पष्ट जानकारी दिनुका साथै सम्पादन कार्यको पूर्णताका लागि सहयोग गर्नेहरूप्रति धन्यवाद तथा आभार पनि व्यक्त गरिएको हुन्छ । कृतिसम्पादकको लेखनमा आत्मपरकता, आत्मानुभूति र आत्मदृष्टिको अत्यधिक प्रयोग पाइन्छ । यसका साथै सम्पादकको सम्बन्धित विषयप्रतिको सैद्धान्तिक ज्ञान, समालोचनात्मक क्षमता र विश्लेषण शक्तिको प्रदर्शन पनि यस प्रकारका सम्पादकीयमा भएको पाइन्छ । समालोचक एटमले कृतिमा रहने सम्पादकीय अपेक्षाकृत रूपमा अनुसन्धानात्मक वा समालोचनात्मक हुन्छ भन्ने विचार व्यक्त गरेका छन् ।

ख) पत्रपत्रिकामा लेखिने सम्पादकीय
पत्रपत्रिकामा सम्पादकीय लेखनको सबैभन्दा बढी प्रयोग हुने गर्दछ । सम्पादकीय पत्रिकाको एउटा महत्त्वपूर्ण र अपरिहार्य अङ्ग नै मानिन्छ । कुनै पनि विषयमाथिको आधिकारिक धारणाको खोजी आन्तरिक रूपमा समाविष्ट लेखरचना वा समाचारहरूका आधारमा नभएर सम्पादकीयका आधारमा गर्ने गरिन्छ । सम्पादकीय सम्बन्धित पत्रिका वा प्रकाशन संस्थाको आधिकारिक बोली हो । पत्रपत्रिका पनि साहित्यिक र गैरसाहित्यिक दुवै खाले हुने गर्छन् । साहित्यिक पत्रिकाको सम्पादकीय लेखन साहित्यकै कुनै विषय, विधा वा समसामयिक चेतनामा केन्द्रित हुने गर्दछ भने गैरसाहित्यिक पत्रिकाको सम्पादकीय लेखन लक्षित विषयमा केन्द्रित हुने गर्दछ । त्यसमा पनि समाचारमूलक पत्रिकाको सम्पादकीयमा भने तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा चर्चित विषय वा प्रसङ्गमा सम्पादकको वा पत्रिकाको अवधारणालाई सार्वजनिक गर्ने लक्ष्य राखिएको हुन्छ । यस कार्यमा भने सम्बन्धित पत्रिका वा संस्थाको सामाजिक दायित्व वा युगीन दायित्वसँग जोडिएका विचारहरूलाई बाहिर ल्याउने काम पनि गरिने गर्दछ । त्यसैले समालोचक एटमले पत्रिकामा आउने सम्पादकीय भनेको प्रकाशन संस्थाको प्रतिनिधित्व गरेर सामयिक विषयमा प्रकटित एक प्रकारको सार्वजनिक प्रतिक्रिया वा टिप्पणी हो भन्ने विचार व्यक्त गरेका छन् ।

४. सम्पादकीय हुनका लागि के के चाहिन्छ ?
सम्पादकीय सम्पादकका विचारमा आधारित लेखन हो । यो यही विषयमा लेखिनुपर्छ भन्ने निश्चितता हुँदैन । कृति वा पत्रिकामा समावेश गरिएका सामग्रीका आधारमा सम्पादकीयको स्वरूप पनि फरक हुने गर्दछ । कृतिको सम्पादकीय लेखनमा त्यसभित्र समाविष्ट सामग्रीले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ भने साहित्यिक पत्रिकाको सम्पादकीय लेखनमा त्यसमा समाविष्ट रचनाहरूले र समाचारमूलक पत्रिकाको सम्पादकीय लेखनमा तत्कालीन सबैभन्दा बढी चर्चित घटनाले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । यति हुँदाहुँदै पनि सम्पादकमा रहेको विषयगत ज्ञान, तार्किक क्षमता, विश्लेषण शक्ति, प्रभावकारी प्रस्तुति र विषय छनोट गर्ने कला आदिका आधारमा सम्पादकीयको स्तरीयता र युगीन महत्त्वको मापन गर्ने गरिन्छ । कुनै पनि कृतिको सम्पादकले सम्पादकीय लेख्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा समालोचक नेत्र एटमले अगाडि सारेका महत्त्वपूर्ण छओटा अङ्गहरूलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ—

१. अभिमत : सम्पादकको स्पष्ट विचार, राय, अभिप्राय समावेश होस् तर त्यो दुराग्रहपूर्ण वा हठधर्मी नहोस् ।
२. रूपान्तरणकारी : सुधारका निम्ति भूमिका खेलोस् तर त्यो पाखण्डपूर्ण र बाध्यकारी नदेखियोस् ।
३. आत्मसात् : आफ्नो मत स्वीकार गराओस् तर त्यो अस्तित्वविहीन बनाउने खालको नहोस् ।
४. प्रेरणा : असल कार्यका लागि प्रोत्साहित गरोस् तर आदेशकर्ता नहोस् ।
५. प्रबुद्धता : वास्तविकता बोध गराओस् तर त्यो रुढ नहोस् ।
६. सङ्क्षिप्तता : छोटोमा पूर्ण होस् तर पाठकलाई अल्मल्याउने जटिल र धेरै घुमाउरो नहोस् ।

यसरी नै पत्रिकाको सम्पादकीय लेखनका लागि पनि समालोचक एटमले चारओटा महत्त्वपूर्ण तत्त्वहरूका बारेमा स्पष्ट सङ्केत गरेका छन् । ती हुन्— १. सूचना र व्याख्या, २. तर्क र धारणा, ३. प्रेरणा, सम्मान र प्रशंसा, ४. उपहास र मनोरञ्जन ।

उल्लिखित सन्दर्भहरूका आधारमा हेर्दा कृतिगत वा पत्रपत्रिकागत सम्पादकीय लेखनका लागि निम्नलिखित कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ—

(क) अभिमतको तार्किक स्थापना
सम्पादकीय सम्पादकको अभिमतको स्थापना गर्ने ठाउँ हो । यसमा लेखकले ज्ञान र अनुभवले खारिएको आत्मअभिमतको तार्किक स्थापना गर्ने काम गर्दछ तर त्यो तर्क आत्माभिमान, हठ वा दम्भमा आधारित नभएर शास्त्रीय ज्ञान, सैद्धान्तिक आधार र दृष्टान्तमूलक आत्मदृष्टिमा आधारित हुनुपर्छ । यो कुरा कृति र पत्रिका दुवैको सम्पादकीय लेखनमा लागु हुन्छ ।

(ख) आधिकारिक सूचना, रूपान्तरणको अपेक्षा
सम्पादकको काम आधिकारिक सूचना प्रदान गर्नुका साथै आत्मदृष्टिकोणलाई पाठकसम्म पु¥याउनु पनि हो । यदि सम्बन्धित विषयको जानकारी प्रामाणिक, आधिकारिक र नियमसङ्गत छ भने त्यसले अलमलमा परेका पाठकहरूको मनस्थिति र जीवनशैली दुवैमा परिवर्तन ल्याइदिन सक्छ । यो कुरा सबै विषयक्षेत्रमा लागु हुने हुनाले आधिकारिक सूचना दिनु र पाठकलाई अन्योलपूर्ण परिवेशबाट रूपान्तरण गराउनु सम्पादकीयको काम हो ।

(ग) विषय र आत्मानुभूतिको अन्तर्घुलन
सम्पादकीय लेखकले सम्बन्धित विषयलाई अनुभूतिसँग घोलेर, त्यसलाई पचाएर मात्र बाहिर निकाल्नुपर्छ । यति भयो भने उसमा रहेको मस्तिष्क पक्षको सबलता र हार्दिक पक्षको संवेदनशीलता दुवैलाई पाठकले नजिकैबाट नियाल्ने मौका पाउँछ अनि उसले त्यसबाट आवश्यक प्रेरणा पनि ग्रहण गर्दछ । सम्पादकीय लेखकले आत्मसात् गरेको विषय पाठकका लागि प्रेरणादायी बन्न सक्नु नै सम्पादकीयको सबलता हो ।

(घ) सङ्क्षिप्त तर प्रबुद्ध लेखन
सम्पादकीय लेखन छोटो हुन्छ । यसलाई विन्दुमा सिन्धु अटाउने भन्ने चलन पनि छ । अनावश्यक गन्थन सम्पादकीय होइन, लम्बेतान व्याख्या विश्लेषण पनि सम्पादकीय होइन र कुनै व्यक्ति, वर्ग वा विचारप्रतिको सुनियोजित दोषारोपण पनि सम्पादकीय होइन । योजनाबद्ध तरिकाबाट भएको ईष्र्या, डाह, कुण्डा, आक्रोश र प्रतिशोधको विषवमनले त सम्पादकीयलाई झन् समाप्त नै पारिदिन्छ । त्यसैले प्रबुद्ध लेखन सम्पादकीयको शक्ति हो । सूत्रात्मक रूपमा प्रस्तुत प्राज्ञिक तथा बौद्धिक लेखन छ भने एउटा सम्पादकीयमा दर्जनौँ किताबले पनि दिन नसक्ने विषयहरू अभिव्यक्त हुन सक्छन् ।

(ङ) आलोचनात्मक चेत एवम् प्रशंसा र निन्दाको सन्तुलन
सम्पादकीय लेखन विषय वा प्रसङ्गअनुसार भिन्न भिन्न प्रकृतिको हुने गर्दछ । कृतिको सम्पादकीयमा स्रष्टाको गुणात्मक कार्यको प्रशंसा र प्रेरणामूलक शब्दसंयोजन आवश्यक मानिन्छ भने समाचारमूलक सम्पादकीयमा पनि सत्कर्मप्रतिको उदात्त दृष्टि राख्न सकिन्छ । यसको अर्थ जस्तोसुकै कुराको पनि प्रशंसा नै लेख्नुपर्छ भन्ने होइन तर सम्पादकमा आलोचनात्मक चेत हुनु आवश्यक मानिन्छ जसबाट सत्कर्मको प्रशंसा र असत्कर्मको निन्दा सन्तुलित रूपमा गर्न सक्ने क्षमताको विकास हुन्छ । सम्पादकमा प्रभाववादी लेखनले प्रवेश पायो भने सुन्दर पक्षहरूलाई कुरूप बनाइदिने र कुरूप पक्षहरूलाई सुन्दर रूपमा प्रस्तुत गरिदिने सम्भावना बढेर जान्छ । यस कार्यले क्षणिक प्राप्ति होला तर सम्पादकीय मर्यादामाथि आँच आउनुका साथै युगीन दोषको भागिदार हुनुपर्ने देखिन्छ ।

यी कुराहरूलाई हेर्दा सम्पादकीय लेखन जिम्मेवारीपूर्ण लेखन हो भन्न सकिन्छ । यसका लागि सम्पादक अत्यन्त अध्ययनशील, अन्वेषक, प्रत्युत्पन्न मतियुक्त, तार्किक क्षमता भएको, आत्मविश्वास, स्वाभिमान र दृढसङ्कल्प भएको तथा कुनै पनि लोभ, मोह, डर र त्रास आदिबाट मुक्त भएको हुनु आवश्यक छ । सम्पादकीय लेखनका लागि सान्दर्भिक विषयछनोट, शृङ्खलाबद्ध विस्तार, तार्किक प्रस्तुतीकरण, सान्दर्भिक दृष्टान्तयोजना, प्रभावकारी सम्प्रेषण र स्पष्ट दृष्टिकोणको स्थापना अनिवार्य मानिने गर्दछन् । यसका साथै सम्पादकीयलाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा सम्पादकीय लेखक स्वयंको हो ।

५. सम्पादकीय कसरी लेखिन्छ ?
सम्पादकीयको प्रकृति कृति, पत्रिका, सम्पे्रषणीय विषयवस्तु र पाठकीय आवश्यकताअनुसार फरक हुने गर्दछ तापनि एउटा सम्पादकीय लेखकले सम्पादकीय लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो लेखन सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) आकर्षक शीर्षक छनोट
सम्पादकीयमा सबैभन्दा माथि सम्प्रेषणीय विषयवस्तुलाई सङ्केत गर्न सक्ने छोटो र प्रभावकारी शीर्षक दिन पनि सकिन्छ र नदिन पनि सकिन्छ । सम्पादकीय आफैँ पनि एउटा शीर्षक हुने हुनाले सरासर विषयवस्तुको लेखन गर्ने प्रचलन पनि छ तापनि सम्पादकीयमा एउटा आकर्षक शीर्षक दिइएको छ भने त्यसले पाठकको मनलाई सुरुमा नै आकर्षण गर्न सक्छ ।

(ख) थालनी
सम्पादकीयको थालनी विषयकेन्द्रित मूल वाक्यबाट हुनु राम्रो मानिन्छ । यसको शैली सूच्य विषयलाई पहिलो वाक्यमा नै प्रस्तुत गर्ने र त्यसलाई क्रमशः तर्कले पुष्टि गर्दै जाने खालको भयो भने त्यसलाई आकर्षक मानिन्छ । अर्थात् थालनीमा नै निष्कर्ष वाक्यको प्रस्तुति र पाठकमा उत्सुकताको वृद्धि सम्पादकीय लेखनको आकर्षक पाटो मानिन्छ । यो प्रायः एक अनुच्छेदमा लेखिन्छ ।

(ग) विषय विस्तार
यो सम्पादकीयको भित्री भाग हो । यसमा पूर्वसूचित विषय र सन्दर्भलाई ज्ञानमा आधारित विभिन्न तर्क, उदाहरण, तुलना, विश्लेषण, प्रमाण आदिले पुष्टि गर्ने काम गरिन्छ । यो खण्ड निकै तार्किक एवम् बौद्धिक हुन्छ र यहाँ विषयवस्तुको वस्तुपरक विश्लेषण गरिन्छ । यो खण्ड विषयवस्तुको प्रकृतिलाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।

(घ) निचोड
यो सम्पादकीयको अन्तिम अनुच्छेद हो । यसमा लेखकीय विचारको स्थापना हुने गर्दछ । सुरुमा सूचना दिएको विषयलाई पुष्टि गर्नका लागि एक पटक फेरि त्यसलाई यहाँ ल्याएर जोडिन्छ र सम्बन्धित विषयको खण्डन वा मण्डनमा लेखकको आत्मधारणाका साथ यसलाई समापन गरिन्छ । यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ र अरूभन्दा सारगर्भित पनि हुने गर्दछ ।

यी कुराहरू सिकारु चरणका सम्पादकीय लेखकका लागि उपयोगी हुन्छन् । सिद्धहस्त सम्पादकले त एकै पटकमा वा एकै बसाइमा एउटा सम्पादकीय लेख्न सक्छ । यति मात्र होइन, यो सम्पादकीय लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने सम्पादकीयगत कलाकारिताचाहिँ प्रत्येक लेखकमा आआफ्नै प्रकारको हुन्छ । त्यही नै लेखकको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी हो ।

६. निष्कर्ष
सम्पादकीय लेखन एउटा प्राविधिक कार्य हो । यो स्वतन्त्र सिर्जना होइन, नियोजित वा निर्देशित लेखन नै हो । कृतिको सम्पादन कार्यको थालनी गर्दा, साहित्यिक पत्रपत्रिकाको सम्पादन गरी प्रकाशन गर्नका लागि रचनाहरूको सङ्कलन गर्न थाल्दा वा दैनिक, साप्ताहिक वा पाक्षिक समाचारमूलक पत्रिकाहरूको सम्पादन गर्दै गर्दा म यसको सम्पादकीय यस विषयमा, यसरी लेख्छु भनेर योजना बनाएर हुँदैन । सम्पादकीय लेखन कृति वा पत्रिकाको अन्तिम लेखन हो त्यसैले यसको निर्धारण प्रकाशनका लागि तयार भएको सामग्रीले मात्र गर्दछ । समाचारमूलक पत्रिकामा त कहिलेकाहीँ लेखिसकेको सम्पादकीयलाई हटाएर रातारात अर्को सम्पादकीय लेखेर प्रकाशन गर्नुपर्ने पनि हुन्छ । यसका लागि तत्कालीन विषयले ठुलो प्रभाव पारेको हुन्छ । जुनसुकै प्रकृतिको प्रकाशन सामग्री भए पनि सम्पादकीय लेखकमा तटस्थता, वस्तुगत दृष्टि, ज्ञानमा आधारित तर्क, विश्लेषणात्मक क्षमता, कामप्रतिको इमानदारी, समाज र देशप्रतिको दायित्वबोध प्रबल रूपमा रहेको छ भने त्यो सम्पादकीय एउटा युगकै आधिकारिक दस्ताबेज बन्न सक्छ भने कुनै पनि कुराबाट प्रभावित भएर सुनियोजित रूपमा लेखिएको सम्पादकीय छ भने त्यो सम्बन्धित र सीमित वर्गका लागि क्षणिक आनन्दको कारक बन्न सक्छ । यी दुईमध्ये कुन सम्पादकीय लेखनलाई रोज्ने भन्ने जिम्मा पनि लेखक स्वयंकै हो ।

क्रमशः अर्को हप्ता…