यतिबेला पिटर पार्कर (स्पाइडर म्यान) आफ्नी काकी मे लाई घरैमा बस्न र बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । बाहिर निस्क्यो भने कोरोनाभाइरसको संक्रमण हुने डरका बारेमा सम्झाउँदैछ ।
ठीक यही बेला ह्यारी पोटर उसको होगवार्ट विद्यालयमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न र यसबाट संवेदनशील स्वास्थ्य भएका बालबालिकालाई जोगाउन प्रयत्नशील छ ।

तपाईंलाई यी कुरा रोचक लागेनन् त ?

हजुर, यतिबेला फ्यान फिक्सनमा रमाउनेका लागि गज्जबकै खाजा तयार भइरहेका छन् । फ्यान फिक्सन भनेको कुनै पात्र वा कथाप्रति तपाईं हुरूक्क हुनुहुन्छ भने ती पात्र र कथालाई नयाँ परिवेशअनुसार ढालेर लेख्ने नयाँ शैलीलाई फ्यान फिक्सन भनिन्छ ।

नेपाल र भारतमा चाहिँ यसलाई लीलालेखन भनेर चलाएको पनि पाइन्छ ।

स्पिडीगल नामबाट फ्यान फिक्सन लेखिरहेकी एक युवती भन्छिन्, ‘जब दैनिक जीवनमा ठूलो समस्या आउँछ, त्यो बेला मैले महान् ठानेका कमिकका पात्रहरू के गर्दै होलान् भनेर सोच्न थाल्छु । र, त्यसैलाई आधार बनाएर ब्लगमा लेख्न थाल्छु ।’ अमेरिकाको इलिनोइसको नक्स काउन्टीमा बसोबास गर्ने स्पिडीगल भन्छिन्, ‘त्यसैले मैले पनि ह्यारी पोटरलाई कोरोनाभाइरस संक्रमणका बेला गर्नु पर्ने काम लेखनीमार्फत अह्राइरहेकी हुन्छु ।’
कोविद १९ रोगका कारण अमेरिकामा मात्र लगभग ९६ हजार बढीको ज्यान गइसकेको छ । १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै संसारभर ४८ लाखभन्दा बढी संक्रमित भएका छन् भने तीन लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
यस्तो संकटको घडीमा साहित्यका चर्चित हिरो र पात्रहरू ज्यूँदै भएका भए वा त्यस्तो समस्यामा फँसिरहेका भए कस्तो व्यवहार गर्थे होलान् भनेर नयाँ पुस्ताका लेखकले सोचिरहेका छन् । के उनीहरू उपचार खोज्न लागिपर्थे ? बन्दाबन्दी (लकडाउन)मा यत्तिकै अल्छी गरेर समय बिताइरहेका हुन्थे या मानवजातिलाई जोगाउन केही उधुम गरिरहेका हुन्थे ?
२१ वर्षीया न्युजर्सीकी विद्यार्थी अमान्दा सोरेन्टोले स्पाइडर म्यानको कथा लेखेर फ्यानिक्सन डट नेटमा पोस्ट गरिन् । गर्नुको कारण के थियो भने उनी नजिकै बस्ने हजुरबा-हजुरआमालाई भेट्न पाइरहेकी थिइनन् । यस्तो बेलामा तिनको स्वास्थ्यको चिन्ता अमान्दालाई चुलिएर आयो । उनलाई झट्ट स्पाइडरम्यान याद आयो, त्यसपछि उसकी बूढी हुँदै गरेकी काकी मे पनि याद आयो । स्पाइडर म्यान भएको भए उसले काकीलाई के के भन्थ्यो र भाइरसको गम्भीरता बुझाउँथ्यो भनेर कल्पदै गर्दा एउटा गज्जबकै सिर्जना तयार भयो । त्यसलाई उनले फ्यानफिक्सनकै वेबसाइटमा पोस्ट गरिन् र त्यसले राम्रै चर्चा बटुल्यो ।
कतिसम्म भने फ्यान फिक्सनका प्रेमीहरूले त एउटा बहस नै चलाए । यस्तो संकटपूर्ण घडीमा कुन सुपरहिरोले कोविद १९ रोगसँग राम्रोसँग भिड्न सक्छ ? कुन पात्रले कोविद १९ को खोप पत्ता लगाउन सक्छ ? जस्तो यसका लागि कमिक्सका चर्चित पात्रहरू छन्, डा. ब्रुस बेनर (द हल्क), टोनी स्टार्क (आइरन म्यान) ।
द हल्कभन्दा आइरन म्यान धेरै हिसाबले उम्दा भएकाले उसैले खोप पत्ता लगाउने केहीको दाबी चल्यो भने केहीले खर्बपति आइरनम्यानभन्दा बुद्धिमान चिकित्सक डा. ब्रुस बेनर (द हल्क) नै उपचार पत्ता लगाउने उत्तम पात्र भएको दाबी केही समय चलिरह्यो ।
स्टार्कले समययात्रा (टाइम ट्राभल) समाधान गर्ने खुबी पाएको हुँदा उसले पनि भ्याक्सिन पत्ता लगाउँछ, स्रेकोरसले लेखेलगत्तै अर्काले भने डा. ब्रुस जीवविज्ञानको विशेषज्ञ भएकाले उसले नै खोप ल्याउन सक्ने तर्क खान्फखानले गरे ।
केही कथामा भने एभेन्जरका सदस्यहरू बन्दाबन्दीका कारण दिक्क भएर कसरी ब्ल्याक विडो, हकी र अन्य एकअर्कालाई प्राङ्क गर्दै बस्छन् भनेर प्यारोडी लेख्न पनि भ्याए । एक जनाले भने एउटा रोचक छोटो कथा लेखेका छन्, बन्दाबन्दी लम्बिदै जाँदा आफ्नो घनमा खिया नलागोस् भनेर थोरले कसरी रबरब्यान्डले बेरेर राखेको छ ।
केहीले भने बन्दाबन्दीका बेला स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेर कसरी क्याप्टेन अमेरिकाले सर्वसाधारणालाई हात धुने कला सिकाइरहेको छ र एउटा प्रतिभाशाली सुपरहिरोको क्षमता ह्रास भइरहेको छ भनी कथा लेखेका छन् ।
यसरी फ्यान फिक्सन लेख्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको वेबसाइटका सञ्चालकले जनाएका छन् । गएको मार्चमा मात्र यो वेबसाइटको भिजिटर ३०० मिलियन पुग्यो । जसका कारण वेबसाइटको सर्भर नै डाउन हुन पुग्यो ।
२९ वर्षीया उपन्यासकार हाना मोस्कोवित्ज भन्छिन्, ‘म एउटा चलेको उपन्यासकार भए पनि गर्न लायक काम केही भेटिनँ भने फ्यानफिक्सन लेख्न दौडिहाल्छु भने झन् कुनै उपन्यासको डाइहार्ड फ्यानले त केसम्म गर्दो हो ?’
हिजोआज इन्टरनेटका कारण आफूलाई मन परेका पात्र र पुस्तकमाथि लेख्ने र त्यसलाई पढाउने काम सजिलो बन्न पुगेको छ। त्यसैले पनि अहिलेको विश्वव्याधिमाथि लेख्नेको संख्या ह्वात्त बढेको केहीको धारणा छ ।
म्युटन्ट निन्जा टर्टलका सदस्यहरू भने यतिबेला न्युयोर्क नै संक्रमित भएका कारण अन्यत्र शरण लिन गएको कथा एक जनाले जोडेका छन् । सामान्यतः उनीहरू जस्तोसुकै अवस्थामा पनि न्युयोर्क नछोड्ने र त्यहाँका खराब पात्रलाई तह लगाउने भए पनि यस पटक हार मानेको कथालाई धेरैले रूचाएका थिए ।
केहीले जेन अस्टिनको प्राइड एन्ड प्रेजुडिसमा एलिजाबेथ बेनेट र मि. डार्सीको प्रेममा कोरोनाभाइरस बाधा बनेर आएको र विछोडको अवस्थामा पुर्याएको कथा लेखेका छन् । एलिजाबेथले उसकी दिदीको बिहेका लागि राम्रो तयारी गर्दागर्दै अचानक कोविद १९ रोगका कारण बिहे नै बिथोलिएको कथा जोडेर पाठकलाई मनोरञ्जन दिलाइरहेको छ ।
फ्यान फिक्सनमा सधैँ नम्बर एक रहन्छ, ‘स्टार ट्रेक’ । यसमाथि बेलायतको बिर्मिङघमकी बर्नी डानाहारले लेखेकी छन्, ‘पृथ्वीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि यहाँ आँखा लगाइरहेका मानव जातिभन्दा बुद्धिमान एलियनहरूले मान्छे बन्दाबन्दी गरेर जब एकान्तबास बढाएको देखेर कति मूर्ख रहेछन् भनी टिप्पणी गर्छन् । तर जसै मान्छेको मृत्युसंख्या डरलाग्दो तरिकाले बढ्दै जान्छ, उनीहरू पृथ्वीमा तत्काल आक्रमण नगर्ने निष्कर्षमा त पुग्छन् नै बन्दाबन्दी, सामाजिक दुरी र एकान्तबासको महत्त्व कति ठूलो रहेछ भन्ने पनि बुझ्छन् ।’
तपाईंले यी सबै कुरा पढेपछि कर्नाली ब्लुजको केटो, जब आफ्नो बाबुको मृत्युका बखत सहभागी हुन नपाएको र यसको मूल कारण कोरोनाका कारण भएको बन्दाबन्दीले उता बा अस्पतालमा र यता छोरो काठमाडौँमा कसरी छटपटाइरहेका छन् भनेर लेख्न मन लागेन ? अथवा, पागलबस्तीका मानिसहरू पागल हुनुमा कुनै खास किसिमको संक्रमणले भूमिका खेलेको भनेर बस्तिइतरका मानिसहरूले कुरा काटेनन् होला ?
तपाईंलाई के लाग्छ ? कल्पनाशीलता प्रयोग गर्दै तलको कमेन्ट बक्समा केही लेख्नुस् न है ?