अलि अगाडि आमाका केही तस्बिरहरू फेसबुकको भित्तामा पोस्ट गरेँ । तस्बिर नियाल्नेहरू केहीले कल गरेर यति धेरै आँत्तिएको स्वरमा भने कि “होइन आमा निकै बिरामी कुनुहुन्छ कि क्याहो नानी?”

“हजुर अलि बिरामी हुनुहुन्छ, औषधि खाइरहनुभा’छ । पार्किन्सन र प्रेसरले दुःख दिएको लामै समय भैसक्यो, अब त सुगर पनि थपियो, त्यहीमाथि बुबाको शोक पनि खप्टिएपछि के सन्चो हुनु! धन्न बाँच्नुभा’छ र हाम्रो भाग्यले आमा भन्न पाइरहेका छौँ ….।”

मेरा कुरा नसक्दै फेरि जिज्ञासा थपिन थाले उताबाट, “अनि होस पनि छैन कि क्या हो आमाको त?”

“त्यस्तो होस नै नभएको त होइन, होस राम्रो छ, रोगले गाह्रो बनाएको छ भनेको मात्र हो ।” मैले जिज्ञासा मेटाइदिने प्रयास गरेँ ।

डा. रेणुका सोलु

“अनि होस भएको मान्छेले पनि त्यस्तो के गरेको त नानी तिमेर्की आमाले? गलाभरि पोते झपक्कै ला’की छ, तिलहरी पनि लाकै देखिन्छ, यहाँ केटाकेटीले त्यो तिमेर्ले राखेको फोटोमा देखाका, हामी त सबै छक्कै पर्‍यौँ, तिमेर्ले पनि सम्झाउँदैनौ कि क्याहो? ” सवाल थपियो फेरि उतैबाट ।

“आमाले लाउनुभएको पोते होइन, सानो साइजको क्रिस्टल हो । फोटोमा पोतेजस्तो देखियो होला ।” मेरो कुरा भुईँमा खस्न नपाउँदै उताबाट सवाल आइगयो “होइन याँ केटाकेटीले फोटो तानी-तानी नजिक ल्याएर देखाए, पोतेजस्तै पो देखिन्छ त । क्रिस्टल त अलि ठूलो दाना पो हुन्छ होइनर ……।”

खै यस्तै के-के गनगन आइरह्यो निकै बेरसम्म । म आँखा चिम्लेर सुनिरहेँ, उताबाट कुरा थपिइरह्यो, “बुबाको शेषपछि लाउनु हुँदैन त सौभाग्यका कुरा । कति मान्छेले यहाँ कुरा काटिराकाछन् । बुबा बित्नुभाको वर्षदिन नै भएको छैन, पोतेको झुप्पा, तिलहरी, जन्तर, त्यसरी झपक्कै लाउन हुँदैन नि नानी । फुकाइदेओ अनि फेसबुकमा हालेको त्यो सौभाग्य लाको फोटो पनि हटाइदेओ ।”

यी कुरा सुनेपछि मेरो दिमागमा सय रेक्टरको भुईँचालो गइहाल्यो । एकछिन त बोल्न पनि सकस भयो । बिस्तारै दिमाग ठन्डा बनाउँदै भनेँ, “मेरी आमाले पोते लाऊन् कि खाली बसून् तपाईँहरूलाई के चासो भयो? शरीरभरि रोगको भारी छ, मनभरि बुबाको शोकको भारी छ, जे लगाउँदा आमा खुसी रहन सक्नुहुन्छ त्यही लाउनू भन्ने हो हामी त आमालाई ।जे  खाँदा आनन्द मान्नुहुन्छ, त्यही खानदिने हो, अब यो उमेरमा पनि यो खान हुन्छ, यो खान हुँदैन, यो लाउन हुन्छ, त्यो लाउन हुँदैन भन्दै वृद्ध आमालाई नियमको जालोभित्र थुनिरहन कसरी मिल्छ…….!” यस्तै के-के भन्दै थिएँ उताबाट आवेग प्रहार भैहाल्यो, “यत्रो पढेलेखेको मान्छेले धर्मसंस्कारका कुरा नमानेपछि अब हामीले त के भन्नु र! म त झुक्किएर पो लाइराखेको हो कि भनेर सम्झाउन खोजेको….।”

कुरा सकिनुको साटो झन् उर्लिँदै जान थालेपछि मैले मोबाइलको स्विच नै अफ गरिदिएँ । धर्म र संस्कारका नाममा अन्धविश्वासका बाक्ला पट्टी बाँधिएका मध्ययुगीन मानसिकता बोकेका मान्छेहरूसँग अलमलिएर समय बरबाद गर्नु थिएन मलाई । मोबाइल बन्द भए पनि मेरो दिमागमा गएको भुईँचालोले मथिङ्गल घुम्न रोकिएको थिएन । म सोच्दै थिएँ, “होइन यो सौभाग्य भनेको के हो? र कसका लागि हो?बुबाले दिनुभएको सौभाग्य बुबासँगै लाने भए आमालाई किन दिनुभयो? के यो सौभाग्यको खुसी बुबामा मात्र सीमित थियो कि आमासँग पनि छुइन्थ्यो? आमाको खुसी पनि मिसिन्थ्यो भने अहिले पनि लाइराख्नुपर्ने होइन र यी कुराहरू? बुबा हुँदा त प्रत्यक्ष प्रेम पाउनुहुन्थ्यो आमाले अब यो संसारमा नै बुबा नभएपछि बुबाको नामको सौभाग्य  लाएर भए पनि प्रेमको अनुभूति गर्न पाउनुपर्ने होइन र?

मैले आमालाई पनि सोधेकी थिएँ, “आमा यी गहनाहरू लाउनुहुन्छ कि लाउनु हुन्न अब? तपाईँको भित्री इच्छा के छ आमा?”

त्यति बेला आमाले भन्नुभएको थियो, “बुबाले म मरेपछि पनि यी मैले दिएका सौभाग्य केही नफुकाल्नू है, बाँचुन्जेल लाइराख्नू भन्नुभा’छ, म त लाइरन्छु मेरो बुढाको चिनो” , भन्नुभयो ।

आमाले यसो भन्नुभएपछि म कसरी भनूँ ‘आमा यी कुरा अब नलाउनू हजुर’ भनेर !

बुबा हाम्रो जीवनको धरहरा हुनुहुन्थ्यो र हाम्रो परिवारको धरहरा ढलेपछि आमाबाट नै आमाबुबा दुवैको न्यानो पाउनु छ हामी सन्तानले । बुबाको न्यास्रो आमाको अनुहार हेरेर मेटाउनु छ । यसर्थ पनि आमा जे गर्दा खुसी हुनुहुन्छ त्यही गर्न दिनु र सकेसम्म गर्ने वातावरण बनाइदिनु हामी सन्तानको कर्तव्य हो । मेसिनजस्तो दैनिकी छ हामी सबै छोराछोरीको। खै के नै पो गर्न सकेका छौँ र आमाका लागि! थप केही गर्न नसके पनि आमाको रहरको वातावरण बिगारिदिएनौँ भनेमात्र पनि सानोतिनो कर्तव्य निर्वाह गरेको  नै हुन्छ सायद । आमा जति खुसी रहन सक्नुहुन्छ त्यति आयु लामो हुन्छ, जति आमाको आयु लम्बिन्छ त्यति हाम्रो भाग्य मजबुत रहन्छ । सोचेजस्तो गर्न नसकेता पनि मन चाहिँ यही भनिरहन्छ ।

फेरि पनि चकित लाग्छ ‘एउटी महिला असी वर्ष पुग्दा पनि यति धेरै निगरानीमा किन हुन्छे? आफ्नो संसार डढेर खरानी भैसकेपछि बाँकी रहेको एक फाँको खुसी सुमसुम्याउन पनि किन बन्देज लाउँछ यो समाज? औषधि र उपकरणको सहायतामा धानिएको छ आमाको जीवन । दिनभरिमा एकडालो औषधि खाएर टिकाइरहेको सास समेत किन रोक्न खोज्छन् चारतिरबाट ! बच्चा र वृद्ध उस्तै हुन्, उस्तै मायाँ खोज्छन्, उस्तै चाहना राख्छन् भन्ने मनोविज्ञान किन बुझ्दैन यो समाज? के लायो? के खायो? के बार्‍यो? के बारेन?  भनेर चियोचर्चो गर्ने समय बरु स्वास्थ्य कस्तो छ? सन्चो बिसन्चो के छ? भनेर सोध्ने बुझ्नेमा खर्च गर्नुपर्ने हैन र!

आमाले घरसंसार थेगिदिनुभाथ्यो र पो बुबाको मान सम्मान उच्च रह्यो समाजमा । बुबाको नामभित्र हामी पनि सम्मानित भएर बाँच्न पाइरहेका छौँ । पर्दाअगाडि बुबाको नाम थियो त्यो सत्य हो तर यो सत्यसँगै अर्को सत्य बुबाको नाम स्थापित गराउन पर्दापछाडि रहेको आमाको भूमिका, योगदानको मूल्याङ्कन किन कसैले गर्न खोज्दैन? वास्तवमा आमाको योगदानका बारेमा न लेखेर सकिन्छ न त बयान गर्ने कुनै शब्द नै छ शब्दभण्डारमा । बुबा बाँचुन्जेल आमाले गर्नुभएको स्याहारसुसारको प्रशंसा गर्न कोही सक्दैन तर उहाँले लाउनुभएको एक झुप्पा पोतेमा कुरा काट्न झुत्ती खेल्छ मान्छे । मान्छे किन यसो गर्दो हो…..?

नारी प्रकृति हुन्, नारी सृष्टि हुन् भनेर युगौँदेखि फलाकिरहेको समाज फेरि प्रकृति र सृष्टिकै शृङ्गार खोस्ने हैसियत कसरी राख्छ? स्वर्गवास भएका पुरुषका नाममा उसकी जीवित जीवनसाथी (नारी)ले बाँचुन्जेल उजाडिएर रहनुपर्ने? नाना, चाचा र रङ्गीन पहिरन विवाहपूर्व पनि लगाउँछन् नारीले! पुरुषले दिएको भनेको खालि एक बट्टा सिन्दूर र एक झुत्तो पोते हैन र? फेरि रङ्ग नै वर्जित किन छ? टीका, चुरा, धागो वर्जित किन छ?  कसैको पलायनमा कोही रहर मारेर ओइलिएर बाँच्नुपर्ने, किन?

यदि श्रीमान्‌को देहान्तपछि श्रीमतीको सबै थोक श्रीमान्‌सँगै जान्छ भने र श्रीमतीलाई हिउँदमा डढेलो लागेको खरबारीजस्तो भएर बाँच्न बाध्य तुल्याइन्छ भने त्यो श्रीमान् कसरी सौभाग्य भयो? त्यो त अत्यन्त भयानक दुर्भाग्य भएन र? लुटिनु ठुटिनु अनि उजाडिएर मरुभूमिजस्तै हुनु प्रेम हो कि आफूले प्रेम गरेको मान्छेले उपहारमा पहिर्‍याइदिएका चिजबिज बाँचुन्जेल उसकै सम्झनामा पहिरिरहनु चाहिँ प्रेम हो?

हाम्रो संस्कार पक्षपाती हो कि रीतिथिति स्थापना गर्ने समाजका नाइकेहरू पक्षपाती हुन् ? कि शास्त्रभाष्य गर्ने विद्वान्‌हरू पक्षपाती हुन् ? दिमाग यस्तै-यस्तै अनेकौँ अनुत्तरित प्रश्नहरूले खाइरहेको छ ….।