मसँग इनरुवा, मातृभूमिबारे धेरै जानकारी सङ्ग्रहित छन् । तीमध्ये थप केही पूर्वदीप्ति आज सुनाउन मन लागेको छ । खासगरी इनरुवा नामका बारेमा अग्रजहरू एकमत छैनन् । गहिरिएर वा फुर्सदिलो समय दिएर खोजी–अनुसन्धान हुन बाँकी छ । बीचमा म केही प्रयास गर्दै थिएँ । तर कोरोना बैरी योजना भताभुङ्ग पारिबसेको छ ।

बीचमा अर्को तथ्य अगाडि आउनु अघिसम्मका लागि मसँग भएको जानकारी अद्यावधिक गर्न कथाको दबाब परेपछि, दश काम रोकेर भए पनि मैले एउटा खेस्रा तयार पारेँ, जुन आज तपाईलाई सुनाउँदै छु । यो ‘फुल एन्ड फाइनल’ होइन । विकिपिडियामा जस्तो थपघट, काँटछाँट आमन्त्रित छ । खेस्रा टिपोटको हुबहु यस्तो छ–

‘समृद्ध इनरुवा बसोबासयोग्य हाम्रो नगर । सामाजिक सद्भावयुक्त आधुनिक कृषि सहर,’ भन्ने नारा आत्मसात गर्दै आज चौतर्फी विकासको गतिमा फड्को मार्दै गरेको इनरुवा नगरको इतिहास जङ्गला–मुलुकबाट सुरु हुन्छ ।

पूर्वी नेपालको बृहत् कोसी सभ्यतासँग जोडिएको सुनसरी जिल्लाको सदरमुकाम इनरुवा भौगोलिक अवस्थितिअनुसार ३६ दशमलव ३५ डिग्रीदेखि ३६ दशमलव ३८ डिग्री उत्तरी अक्षांश तथा ८७ दशमलव ७ डिग्री देखि ८७ दशमलव ११ डिग्री पूर्वी देशान्तरको सेरोफेरोमा फैलिएको उब्जाउ फाँट हो ।

विक्रम सवत् १९६८ सालमा तत्कालीन राणा–शासक चन्द्रशमशेरले बस्ती विकास, राज्य सञ्चालनका लागि थप आर्थिक स्रोतको खोजी तथा जङ्गलसहित प्राकृतिक स्रोतको दोहन गर्ने उद्देश्यले तराई–मधेसमा सर्भे–नापी गराएका थिए । त्यही क्रममा तराई–मधेसको जमिनलाई प्रगन्ना तथा मौजाहरूमा विभाजन गरियो । मौजाअन्तर्गत विभिन्न नम्बर दिँदै झोडाहरू छुट्याइयो ।

सेरोफेरोमा चाँदबेला, बबिया, मधेसा, डुम्राहा, भोक्राहा क्षेत्रमा झोडा फँडानी भई सामान्य बसोबास तथा व्यापार सुरु भइसकेको अवस्थामा हालको इनरुवा मुख्य बजार–क्षेत्रको तीन–चार किलोमिटर सेरोफेरोमा सघन सालघारी थियो । रामधुनीका बाघको विचरण र सिकारस्थल थियो ।

सो क्षेत्रलाई १९६८ सालमा खटिएको सर्भे–नापी टोलीले ३७ नम्बर झोडा नामकरण गरेको थियो । मोरङ जिल्लाको प्रगन्ना भालाभलेनीअन्तर्गत तत्कालीन ३७ नम्बर झोडाको भोगचलन, मौजा–आवाद तथा जिम्दारीसम्बन्धी अधिकार विजयपुर, पत्रङ्बारीका ठेकेदार रूपमा परिचित धनबहादुर श्रेष्ठले पाएका थिए ।

त्यसअघि ठेक्का उठाउने–बुझाउने क्रममा राजस्व हिनामिना गरेको आरोप लागेपछि भारत निर्वासित भएका ठेकेदार धनबहादुरले १९८८ सालमा राणा प्रधानमन्त्री भीमशमशेरबाट माफी–मिनाहा पाए । भ्रष्टाचारको कसुरबाट छुटकारा भएपछि ठेकेदार धनबहादुरकै अगुवाइमा ३७ नम्बर झोडामा फँडानी तथा बस्ती आवाद भएको पाइन्छ । त्यसअघि सुनसरी खोलापूर्व होली–उकास रहेको यो क्षेत्रमा जङ्गल र नदीआस्रित सिकारी प्रकृतिका उराँव, माझी, गुढी जातिका मानिसको घुमन्ते तथा टुक्रे–बसोबास थियो ।

मोरङमा झोडा–व्यवस्थापनको जिम्मा पाएका राणाका विश्वासपात्र कर्णेल शिवप्रताप थापाबाट ३७ नम्बर झोडाको जमिदारी पाएपछि १९८९ सालमा धनबहादुर ठेकेदारले पत्रङ्बारीबाट आएर ढाल–फँडान गरी यहाँ बस्ती बसाएका हुन् । झोडा फँडानी अधिकार अर्थात् लालमोहर पाएपछि उनी बूढीबजु–धामी सिद्धिमान श्रेष्ठले गरेको इशारा पहिल्याउँदै, खासगरी डुबानबाट सुरक्षित ‘अग्लो ठाउँ’ पहिल्याउँदै यहाँ आएका थिए । त्यसरी आएर केही विश्वासपात्र सहयोगीका साथ जङ्गलभित्र घर बनाई बस्न थालेका उनले नै यहाँको जिमिदारी चलाएको इनरुवाको इतिहासका जानकारहरू बताउँछन् ।

पत्रङ्बारीबाट छोराहरू होमबहादुर श्रेष्ठ, दीलबहादुर श्रेष्ठसहित सपरिवार आएका धनबहादुर जिमिदारले यहाँ आउँदा विश्वासपात्रका रूपमा यस जङ्गल क्षेत्रका पूर्वजानकार छिमेकी पद्मलाल कोइरालालाई पनि आफूसँगै बस्न सहमत गराएका थिए । सुरक्षा तथा ढाल–फँडान सहयोगीका रूपमा नरबहादुर आले, कनकसिंह आले, काजीमान सार्की, रिठ्ठे कामी, टेकबहादुर मगर, दलबहादुर कार्की, सिद्धिनाथ श्रेष्ठ, सेतुवीर पिठाकोटेलगायत पनि सँगै ल्याइए, जसले आफूअनुकूल जग्गा हेरी छेउछाउमा बसेर बस्ती तथा बजार विकास गरे ।

जङ्गल फँडानीसँगै निस्किएका राम्रा काठ र सखुवाका टुना मारवाडी व्यवसायी ईश्वरचन्द धाडेवाले गोरुगाडा, राँगागाडामा लदाएर भारतको जोगबनी लैजान्थे । बाँकी रूखपात कि घर–फर्निचर बनाउन प्रयोग हुन्थ्यो कि आगो लगाइन्थ्यो । ईश्वरचन्दका व्यापारिक साझेदार थिए, ठाकुरजी नामले परिचित हजारीमल शर्मा । ईश्वरचन्दले ‘इनरुवा’को कारोबार हेर्ने जिम्मा उनै शर्मालाई दिएका थिए । रहँदा–बस्दा श्रेष्ठ परिवारले शर्मालाई विभिन्न आकर्षण तथा सुरक्षाको प्रत्याभूति दिई इनरुवामै स्थायी रूपमा बसेर व्यापार गर्न सहमत गरायो । हजारीमल शर्मा स्थायी रूपमा बस्न थालेपछि उनका आफन्त तथा अरू व्यापारिक समुदायका मानिसहरू यहाँ आकर्षित भए र यो ठाउँले बिस्तारै हाट–बजारको रूप लिँदै गयो ।

जङ्गलामुलुक इनरुवामा त्यस बेला औलोको प्रकोप ज्यादै थियो । औषधिको रूपमा चानमडुवाको जरो कुटेर खाने गरिन्थ्यो । डाक्टर र औषधालयको राम्रो प्रबन्ध थिएन । औलोको जगजगी नियन्त्रण गर्न भन्दै २००१ सालतिर विराटनगरनजिक भीमपुरमा रहेको स्वास्थ्य संस्था यहाँ सारिएको थियो, जसलाई ‘झोडा–फँडानी अस्पताल’ भन्ने गरिन्थ्यो ।

कोमलकुमारी शाहको नाममा रहेको तत्कालीन भालाभलेनी प्रगन्नाअन्तर्गतको ३७ नम्बर झोडा (मौजा)को नाम कसरी इनरुवा रह्यो भन्नेमा विभिन्न मत र ‘कथा’हरू रहेका छन् । त्यसमध्ये जङ्गली समयमा हालको बजार क्षेत्रमा रहेको इनारका कारण यस क्षेत्रलाई ‘इनरुवा’ भन्न थालिएको धेरैको मिल्दोजुल्दो भनाइ छ । सोही मान्यतालाई आधार बनाउँदै नगरको पहिचान झल्काउन हालै इनरुवा नगरपालिकाको पहलमा मुख्य बजार क्षेत्रमा इनारसहितको प्रतिमूर्ति बनाइएको छ ।

इनरुवाका ज्येष्ठ नागरिकहरूका अनुसार हालको मुख्य बजारस्थित शिव मन्दिरभन्दा केही दक्षिण साइँली दिदी भन्नेको घर थियो, त्यही घर भएको ठाउँमा रहेको रुख सुरुमा ढालिएको थियो । त्यसपछि सुरु भएको फँडानीका क्रममा अहिले अस्पतालको पश्चिम–गेटभन्दा केही पूर्व–उत्तर काठको डुड भएको इनार भेटिएछ । जङ्गलको बीचमा त्यस्तो इनार भेटिएपछि, त्यही इनार शब्दमा क्रमशः थप–घट अपभ्रंश हुँदै यस ठाउँको नाम इनरुवा रहन गएको धेरैको भनाइ छ ।

भारततिरबाट आउने डाँकाहरू त्यही इनारको आडमा दिनभर दप्किएर राति डाँका गर्ने, फेरि त्यतै जङ्गलमा आई लुक्ने गरेर पिर्न थालेपछि चाँदबेलातिरका पीडित गाउँलेले उक्त पानीको स्रोतलाई पुरपार पारिदिएका रहेछन्् । त्यसैको ‘अवशेष’ हाल लौवा टोल, मुर्दाघर रहेको ठाउँनजिकै फँडानीका बेला भेटिएको रहेछ ।

त्यसबेला चाँदबेलामा मोरङ जिल्लाअन्तर्गतको सरकारी कार्यालय कचहरी थियो । त्यही कचहरीमा मुद्दासम्बन्धी काम परेर कुलदीप गिरी नामका मानिस सिरहा बस्तीपुरबाट एक दर्जन जति गोरुगाडामा देखी–जान्ने मानिस लिएर आएका रहेछन् । त्यसरी आउँदा हालको इनरुवा भएको ठाउँ अर्थात् अपाट्य जङ्गलभित्र आइसकेपछि साँझ परेछ । बासका लागि उपयुक्त ठाउँको खोजी भएछ । वरपर पानीको स्रोत नदेखिए पछि गिरीले बहलमानहरूलाई एक ठाउँमा पानी खन्न लगाएछन् ।

त्यसरी खन्दा संयोगले पुरानो इनारको डोब भेटिएछ । पानी भेटिएपछि त्यो दिन र फर्किँदा पनि त्यहीँ बास बसेछन् । जङ्गलभित्र इनार भेटिएको र आफू बास बसेको कथा उनले सबैलाई सुनाएछन् ।

सुन्दा मिथक–कथा जस्तो लागे पनि यो किंवदन्ती इनरुवाका गोपाल कोइराला, छविनाथ रिजाल, छगन शर्मा, विजय श्रेष्ठ, गोपाल अर्याल, डम्मरुबल्लभ भण्डारी, भोला मेहता, जीवनाथ पोखरेल, सोमतराज बस्नेत, इस्लाम खान, विष्णुमाया मगर, अशोक चित्लाङ्गिया, शशि बजगाई, नवीनचन्द्र साहलगायत प्रायः जेष्ठ नागरिकलाई थाहा छ ।

बाटो त्यही इनार भेटिएको ठाउँ हुँदै जान्थ्यो । लकडी काट्ने वा अन्य कामले मानिसको आवतजावत भइरहन्थ्यो । त्यस क्रममा कहाँ जाने वा कताबाट जाने भनी सवाल–जबाफ हुँदा त्यही इनार भएको ठाउँ ‘इनार वा’ जाने भन्ने भएछ । त्यसबेला वरपर थारुसहित मैथिली, भोजपुरी भाषाभाषीको सघन बसोबास हुँदा नाम तथा कुनै शब्दका पछाडि वा लगाएर बोल्ने गरिएकाले यस ठाउँको नाम इनरवा हुँदै इनरुवा भएको मान्यता छ । कुनै मूल शब्दसँग सम्बन्ध देखाउन मूल शब्दमा ‘उवा’ जोडेर बटुवा, डुलुवा भनेजस्तै इनार शब्दमा उवा जोडिएर इनरुवा बनेको मानिन्छ ।

अग्रजहरूका अनुसार अहिले सुनसरी स्टोर भएको ठाउँभन्दा अलिकति तल एउटा ठुलो इनार थियो । बजारको पानीको आवश्यकता त्यसैले धानेको थियो । त्यो इनारमा पानी भर्न टाढा–टाढाबाट मान्छेहरू आउँथे । अस्पतालको छेउमा कालीबहादुर श्रेष्ठको घरअगाडि पनि सानो इनार थियो । मोहनलाल राठीको घरबाहिरपट्टि पनि एउटा इनार थियो । बजार क्षेत्रमा इनारको यस्तै सघनता भएका कारण यस ठाउँको नाम इनरुवा शब्दले निरन्तरता पाएको देखिन्छ ।

इनरुवाको नाम सुरुमा इनर्वा थियो । २०१५ सालको चुनावअघि सेरोफेरोको सरकारी काम गर्न भुटाहामा त्रिभुवन ग्राम विकास केन्द्र स्थापना गरिएको थियो । त्यहाँ तिरो बुझ्ने–बुझाउने क्रममा जिमीदार, पटुवारीहरूले रसिदमा इनर्वा नै लेख्थे । संस्थाका साइन–बोर्ड तथा सरकारी कागजातहरूमा इनर्वा लेख्ने चलन पछिसम्म थियो । राष्ट्रिय वाणिज्य बैङ्कको चेकमा त २०४२ सालसम्म पनि इनर्वा नै लेखिएको थियो ।

२०२१ सालमा केही मोरङ र केही सप्तरीबाट छुट्याएर कोसी र बूढीखोला बीचको भूभागलाई सुनसरी जिल्ला बनाइएको हो । सुरुमा जिल्लाको नाम पनि आधा न भएको सुन्सरी लेखिन्थ्यो भने इनरुवालाई पनि इनर्वा लेख्ने गरिन्थ्यो ।

इनर्वामा लकडी कटान तथा काठको घर बनाउन आरा, बलिया, छपरा, दरभङ्गाा तिरका अरकसिया (आरावाल)हरू प्रशस्त आउँथे । उनीहरू यताको जिब्रोले छिटो उच्चारण गरे जस्तो इनर्वा भन्न जान्दैनथे । इनरुवा भन्थे । उनीहरूले इनरुवा उच्चारण गरेको यहाँका लेखनमा रुचि भएका युवाहरूलाई मन पथ्र्यो ।

२०१० सालमा शिक्षा प्रचारको सिलसिलामा इनर्वा आएका भाषाशास्त्री महानन्द सापकोटाले यस ठाउँको नाम इनर्वाबाट इनरुवा बनाउन सहजीकरण गरेका थिए । प्रस्तावित भगवती मिडिल स्कुलको ठेगाना लेख्दा ‘इनर्वा’ लेख्ने कि ‘इनरुवा’ लेख्ने भन्ने विवाद भयो । कर्णसिंह मुरुङ्जय, गोपाल कोइराला, ददिराम पराजुली, रघुनाथ अधिकारी, हरिप्रसाद घिमिरे, फणिराज नेपाली (भट्टराई)लगायत साहित्यिक चेत भएका युवाहरूले आफ्ना रचना तथा डायरीमा इनरुवा लेख्न थालिसकेका थिए । सरकारी कागजपत्रमा चाहिँ ‘इनर्वा’ नै थियो । महानन्द गुरुले ‘इनरुवा लेखेकै ठिक हुन्छ’ भनेपछि इनरुवा नामले संस्थागत बाटो लिएको थियो ।

१९९० सालको भुइँचालो र २०१० सालको कोसी बाढीपछि बसाइँ आउने क्रम बाक्लिएको इनरुवाको नाम इनारका कारण रहेको भन्ने टुङ्गोमा भने केही अग्रजहरूको नोट अफ डिसेन्ट छ ।

त्यसबेला हरेक गाउँ–बस्तीमा खानेपानीको मुख्य–स्रोत भनेकै कि नदीकिनारका जरुवा कि इनार हुने गर्थे । नदी नजिक नभएका प्रायः गाउँ–बजारमा प्रशस्त इनार हुने गर्थे । तर ती सबैको नाम इनारसँग सम्बन्धित पाइँदैन । त्यसैले इनरुवाको नाम इनार भएकै कारणले मात्र भएको मान्न नसकिने उनीहरूको तर्क छ ।

तराई–मधेसका सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा पनि (इनर्वा÷इनरुवा) भन्ने ठाउँ भएकाले ती सबै ठाउँको नाम इनर्वा रहनुमा इनारको भूमिका मुख्य हो भनी मान्न नसकिने फरक विचार राख्नेहरूको तर्क छ ।

उनीहरू सुनसरीको इनरुवासहित अन्य जिल्लाका गाउँको नाम इनर्वा रहनुलाई १९६८ सालमा भएको नापीसँग जोडेर हेर्छन् । त्यसबेला पूर्वी–मध्य तराईमा नरबहादुर नामक नापी–निरीक्षक (सर्भे–इन्सपेक्टर)ले भालाभलेनी प्रगन्नासहित विभिन्न जिल्लाका मौजा–झोडाको नाप–जाँच सीमाङ्कन–सङ्ख्याङ्कन गरेका थिए । उनले कागज–पत्र तथा नक्सामा प्रमाणित गर्ने ‘सर्भे–इन्पेक्टर नरबहादुर’लाई छोटकरीमा ‘सर्भे–इ. नर्वा.’ लेखेर सही गरेका छन् ।

१९६८ सालमा भएको नापीसँग सम्बन्धित मूल ढड्डालाई ‘बडा अड्सठ्ठा’ भनिन्छ र नापी कार्यालयमा खोज्दा ‘बडा अड्सठ्ठा’लगायत पुराना ढड्डा अझ पनि सुरक्षित भेट्न सकिन्छ ।

त्यसबेला जग्गा भोगचलनका लागि दिने–लिने नाप–जाँच सदर गर्ने आदिकै नाममा झोडा वा ठाउँहरूको नाम राख्ने प्रचलन थियो । भीमपुर, भीमनगर, वीरपुर, देवानगन्ज, साहेबगन्ज, रानीगन्ज, हरिनगर, रामपुर आदि त्यसैको उदाहरण मान्नेहरू इनरुवाको नाम पनि ‘सर्भे–इन्पेक्टर नरबहादुर’को नामबाट प्रचलनमा आएको बताउँछन् ।

नाम जसरी रहेको भए पनि एक समयको दुर्गम, जङ्गला–मुलुक इनरुवा २०२६ सालमा पूर्व–पश्चिम राजमार्ग बन्ने व्रmमले गति लिएसँगै देशको अन्य ठाउँतिर चिनिन र कछुवाकै गतिमा भए पनि विकास–पथमा अघि हिँड्न थालेको हो ।