छुट्टीको दिन, एकाबिहानै उठेर घरको काम सकाउन हस्याङफस्याङ गर्दै थिएँ । हप्ताभरिको काम भ्याउन र आफ्ना लागि १-२ घण्टाको समय निकाल्न यही एक छुट्टीको दिन त कुरेर बसेको हुन्छु म । नत्र त बाँकीका ६ दिन घर र अफिस गर्दागर्दै आफ्नो जिन्दगीको अर्को एक हप्ताको अर्को ६ दिन बाँच्नै नपाउँदै रित्तिन्छन् । झन् यसपालि त २ दिनको बिदा । मनै खुसी भयो । के-के गरूँ २ दिनमा झैँ लाग्यो ।

असोज नि लागिसक्यो । दसैँको रमझम नि आउने बेला भैसक्यो । हावामा मिसिएको पारिजातको सुगन्धले वातावरणमा दसैँ आएको सन्देश प्रस्टै दिँदै थियो ।

ज्योति मिश्र

बिहानै उठेर झ्यालबाहिर हेर्दा बाहिर मौसम हरियो थियो । ४ दिनदेखिको टर्रो घाम सहेको आकाशमा आज पानीले भरिएका बादल धर्तीमाथि मायाँ पोख्न सलबलाउँदै थिए । रूखका हरेक हाँगाबाट मानौँ हरियाली छल्किँदै थियो । सबैतिर दसैँको आगमनले काम बढाएको त थियो नै तर जताततै फुलेका पारिजात र तिउरीका फूलहरूले हावालाई गिज्याउँदै उसको माध्यमले वरिपरि सुगन्ध फिँजाएको थियो । कोयलका चिरबिरमा पनि मानौँ नारायण गोपालको गीत नै गुन्जिएको थियो । यही दुई दिनको बिदामा धेरैभन्दा धेरै काम सकाउनुपर्छ र पो पछि चाडबाडका बेलामा आनन्द हुन्छ भनेर म घरको काम सकाउने काममा थालेँ ।

हुन त मलाई गीत सुन्न साह्रै मन पर्थ्यो तर पनि काम गर्दागर्दै गीत सुन्नुचाहिँ मेरो फेबरेट थियो । पहिला पहिला त  जतिखेर नि गीत सुन्न मिल्थ्यो तर अहिले हतार-हतारमा काम सकाउने बानीको कारणले गीत सुन्ने मौका कमै पाउँथे तर आज मैले धेरै दिन पछाडि आफ्नो पुरानो प्लेलिस्ट बजाएर गीत सुन्दै काम गर्न थालेँ । गीत बज्दै जादाँ “गलबन्दीमा अल्झिएको छु” भन्ने बोलको गीत बज्यो । अचानक मुटु अस्थिर भयो, धड्कन जोड-जोडले बढ्न थाल्यो, म बेचैन भएँ तर खुसी पक्कै पनि भइनँ । मानौँ बर्सौँ पहिले कहीँकतै लुकाइसकेको, गाडिसकेको याद एकाएक खोतलियो । सबै कुराहरू एउटा गीतले नै आखाँअगाडि ल्याएर झलझली बनायो । यति बेला पनि झ्यालबाहिर दसैँको रमझम नै थियो, जताततै हरियो नै थियो तर मेरो मन अचानक उजाड भयो । अहिले पनि हावामा सायद पारिजात फूलको सुगन्ध थियो तर मैले महसुस गर्न छोडेकी थिएँ ।

बर्सौँ पहिले नै तिमीलाई बिर्सिने निधो गरेकी थिएँ मैले । सम्झे पनि तिमीलाई नबताउने र तिम्रो सफलतामा अझै बाधक नबन्ने अठोट गरेकी थिएँ । मायाँ त गहिरै थियो हाम्रो सायद त्यसैले संसारको नियमानुसार हामी अलग हुनु नै पर्ने थियो । सच्चा मायाँको अँगालो आखिर कसले नै पाएको छ र संसारमा? त्यही भएर त सायद एकअर्काको राम्रो सोचेरै होला, हामी कारणै थाहा नपाई एकअर्कासँग बोल्न छोडेको । तिमी मेरो र म तिम्रो फोन कुरेरै बस्थ्यौँ तर सायद व्यस्त पो होला कि भनेर कहिल्यै फोन गरेनौँ । आज लगभग ४ वर्ष बितिसकेको रहेछ हामी छुट्टेको । ४ वर्षपछि अचानक याद आयो फेरि तिम्रो मुस्कान, ती आँखा, हाम्रा गफ, हाम्रा मायाँका कुराहरू, सब अचानक याद आए । यही गीत सुनेर मैले तिम्रो अगाडि आफ्नो मायाँ पोख्थेँ र तिमी मुसुक्क मुस्काएर मलाई लठ्ठ पार्थ्यौ । बेस्सरी मुटु पोलेझैँ महसुस भयो । धन्न महसुस त भएछ नत्र तिमीसँग छुट्टिएपछि त कति दिन केही महसुस नै हुन्थेन ।

हामी एकअर्काको अँगालामा बाँधिएर घण्टौँ कुरा गर्दै बिताएको पलहरू अझै पनि मेरो मनमा सुरक्षित छन्, हामीले एकअर्काको हात समाएर काटेका बाटाका यादहरू अझै मनको ताल्चामा साँचेर राखेकी छु, हामीले एकअर्काको जुठो कफी साटेर खाँदै यसले मायाँ बढ्छ भन्ने कुरामाथिको विश्वास अझै पक्का छ तर यो सब मानौँ मेरा लागि अमूल्य सम्झना र हाम्रो मायाँको नासो बनाएर कहीँकतै लुकाएर राखेकी थिएँ जुन आज नजरअगाडि आउँदा मनलाई सम्हाल्न गाह्रो हुँदै छ ।

के गरिराखेको होलाऊ तिमी? के मलाई अझै सम्झिन्छौ होला त? के मेरो नाम पनि याद छ तिमीलाई अब? के तिम्रो जीवनमा तिमीले मेरो स्थानमा अरू कसैलाई ल्यायौ कि? के फेरि मायाँको‌ डोरीले कसियौ कि? आदि आदि नाना थरीका कुराहरू बाढी बनेर मन, मुटु र दिमागलाई धमिलो बनाउँदै थिए । केही नसोच्ने अवस्थामा थिएँ म । मोबाइलको कन्ट्याक्ट लिस्टमा तिम्रो नाम खोजेँ । हुन त तिम्रो नम्बर मलाई अझै याद छ तर आजकल म अलिक स्लो भएकी छु । तिम्रा पुराना फोटोहरू हेर्न थालेँ । हामीले सँगै खिचेको फोटोहरूमा अझै तिमी उही थियौ र म पनि उही थिए । गरूँ त तिमीलाई एक फोन भनेर मन बेचैन थियो । डायल पनि गरेँ तिम्रो नम्बर। ४-५ चोटि डायल गरे र त्यत्ति नै चोटि फोन काटेँ पनि । सोचेँ मजस्तै कहीँ तिमी पनि बेचैन भयौ भने? कही तिमीलाई पनि ४ वर्ष पुराना यादहरूले बेचैन बनाए भने? म तिम्रो बेचैनीको कारण बन्न चाहँदिनथेँ ।

तिमीलाई फोन गर्न सायद ढिला भइसकेको थियो । धेरै ढिला भइसकेको थियो । नसोचेसरी ढिला भइसकेको थियो ।

हो हो ढिलो भइसक्यो, धेरै ढि…………..लो…………भइ…………..सक्यो………….

मेरा आँखा खुले । अगाडि मामु हेर त कति ढिलो भइसक्यो । भनेर उभेको होइसिन्थ्यो ।

म मुस्काएँ । मन शान्त भयो । एक थरीको बेचैनी हरायो र अर्का थरीको बेचैनीले मनमा स्थान जमायो फेरि ।

लु!! सपना पो रैछ त । म फेरि मुस्काएँ ।

ममीले भन्नुभयो, “बिहानै सपना हेर्दै मुस्कुराँदै छस् । सपना पूरा होस् ।” ल अब उठ् अफिसका लागि ढिलो भइसक्यो ।

मैले, “हैन ममी धेरै ढिलो भएको छैन । म सब मिलाइहाल्छु नि भनेर भनेँ र आज बिहान १ हप्तापछि तिमीलाई फोन लगाएँ तर सायद तिमी साँच्चिकै व्यस्त थियौ ।” बाहिर हेर्दा उही हरियाली, उही सुगन्ध र उही कोयलको गीत । मन डरायो कि कतै सपना पूरा हुने त हैन नि । “के साँच्ची ढिलो भएकै हो हामीबिच ??” यदि हो भने पक्कै मन पर्ने छैन मलाई यो महिना, यो पारिजातको सुगन्ध, यो कोयलको गीत र तिम्रो याद । मनमनै सोचेँ यो सपना पूरा नभइदिए हुन्थ्यो । कुनै-कुनै सपना पूरा नभएकै ठिक ।

प्लेलिस्टबाट त्यो गीत डिलिट गरेँ र न्यास्रो मनले अफिस गएँ ।