को चाहँदैन र जीवनमा रूपान्तरण! अशिक्षित, गरिब तथा सिमान्तकृत वर्गका व्यक्तिहरू मात्र होइन शिक्षित, धनी र उच्च घरानामा जन्म लिएकाहरू पनि जीवनमा रूपान्तरण चाहन्छन् । रूपान्तरणकै पङ्क्तिमा उभिएर जीवनमा केही नयाँ अनुभव र अनुभूतिहरू सँगालेपछि ती तमाम भोगाइ र भावनाहरू शब्दहरूमा कैद गर्न सफल व्यक्तिको आत्मकथा हो ‘जीवनको रूपान्तरण’ । पुस्तकमा जीवनमा रूपान्तरणको प्रत्यक्ष अनुभव गर्ने व्यक्ति मोहेन्दु अमिरण चेमजोङका प्रशस्त आत्मकथाहरू छन् । सत्यलाई आफ्नै आत्माले मात्र चिन्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दै मोहेन्दु हरेक पाइलामा जीवनको जरा खोज्दै अघि बढ्न दृढ देखिन्छिन् ।
कुनै पनि व्यक्तिले रूपान्तरणको पहिलो कडीको रूपमा आफ्नो पुर्ख्यौली थलोलाई लिने गर्छन् । यस पुस्तकको लेखक पनि आफ्ना पुर्ख्यौली भूमिसँग आफ्नो आत्मा गाँसिएको कुरालाई नकार्न सक्दिनन् । उनी आफ्ना हजुरबुबा तथा लिम्बू जातिको सभ्यता र इतिहासका विविध र बहुआयामिक पक्षहरू उजागर गर्ने एकमात्र इमानसिंह चेमजोङ लाई प्रेरणाको स्रोत मान्छिन् । फलको आशा राखेर गरेको कर्मको कुनै अर्थ हुँदैन भन्ने विचारलाई आत्मसात् गर्दै अघि बढ्ने मोहेन्दुले भौतिक भव्यतालाई नजिकबाट नियाले पनि कर्म भने जन्मथलोको हितमा हुने नै गर्नुपर्छ भन्ने मान्यता अघि सार्छिन् । राष्ट्रप्रेमले ओतप्रोत गीतहरू गुनगुनाउँदै जीवनको जरा खोज्न लागिपर्नुमा उनको अटल विश्वास रहेको देखिन्छ ।
आफ्ना बुबाले सैनिक सेवामा व्यतीत गर्नुभएको जीवन र हजुरआमाको कडा अनुशासनलाई पनि प्रेरणाको रूपमा लिएर अघि बढेकी छिन् । बुबाको सरल र मेहेनती स्वभाव अनि आमाको आदर्शले भरिएका प्रेरणादायी भूमिकाले आफ्नो जीवन सफल र सार्थक भएको ठान्छिन् । आफू उज्यालो संसारमा यात्रारत हुनुमा उहाँहरूको महत्त्वपुर्ण योगदान रहेको कुरामा गर्व गर्छिन् मोहेन्दु ।
परिवारको जेठी छोरी र जेठी नातिनी भएकाले मोहेन्दु पुलपुलिएर हुर्किइन् । उनले अभाव के हो भन्ने कहिल्यै महसुस गर्नुपरेन । शिक्षित परिवार र सुखसयलपूर्ण वातावरणमा जन्मेहुर्केकाले गर्दा पनि होला उनले आफूलाई कुवाको भ्यागुतासँग तुलना गर्ने गर्थिन् तर समयको बहावसँगै उनले आफ्नो जिज्ञासु स्वभाव भने कायमै राखिन् । जीवन र जगत्लाई बुझ्ने मामिलामा उनी कहिल्यै पछि परिनन् । त्यसैगरी औपचारिक शिक्षा ग्रहण गर्ने विषयमा पनि सधैँ आफूलाई अब्बल सावित गरिरहिन् ।
सीमित घेराबाट बाहिर निस्किनुअघि मोहेन्दुले आफैँसँग धेरै प्रश्न गर्थिन् । यसले उनलाई जीवन अघि बढाउने अवधारणा, सिद्धान्त र विश्वासहरू परिवर्तन गर्न धेरै सघाए । विभिन्न व्यक्तिहरू, कैयौँ अप्ठ्यारा क्षणहरू र धेरै नयाँ अवसरहरू एवं अनकौँ तितामिठा सत्यहरूसँग सात्क्षात्कार गर्न पाएर नै उनले आफ्नो जीवनमा परिपक्वता हासिल गर्न सकेको कुरा प्रस्ट रूपमा यस पुस्तकमा राखेकी छिन् ।
औपचारिक शिक्षालाई अझ अघि बढाउने सन्दर्भमा विदेशमा रहँदा उनले पढाइ मात्र जिन्दगी होइन भन्ने बुझ्न सकिन् । भान्सामा छिरेर कहिल्यै केही पकाउन अघि नबढेकी उनले सारा घरायसी काम आफैँ र त्यो पनि पहिलोपटक गर्नुपर्दा त्यसले निम्त्याएका विभिन्न अप्ठ्यारा क्षणहरूका बारेमा खुलेर लेखेका अनेकौँ किस्साहरू पढ्न पाउँछौँ । यो कुरा पढ्दा मोहेन्दुलाई झैँ हामीलाई पनि जिन्दगीको अर्थ कति बेला गएर सार्थक हुने रहेछ भन्ने यथार्थ बोध हुन्छ ।
व्यवस्थापन विषय र त्यसमा पनि मानव संसाधनको क्षेत्रमा रुचि राख्ने मोहेन्दु पछि गएर भने मानवीय संवेदनाका कैयौँ पाटाहरूसँग जोडिँदै सेवा र सहयोगका कामहरूमा हातेमालो गर्न पुगिन् । नेपालमा भएको द्वन्द्व र त्यसले पारेका असरहरूसँगै अन्य विभिन्न कारणले पारेका प्रभावहरू न्यूनीकरण गर्ने कार्यमा लागेर मोहेन्दु देशका धेरै जिल्लाहरूमा परोपकारका काममा दत्तचित्त भएर लागेको चित्र छर्लङ्ग पार्न यो पुस्तक सफल छ । त्यति मात्र होइन, देशका विकट गाउँठाउँमा पुगेर त्यहाँ उनले देख्नुपरेका तमाम कमीकमजोरी र आफू स्वयंले त्यहाँ रहँदा बस्दा भोग्नुपरेका दुःखहरूलाई मिहिन ढङ्गले वर्णन गरेकी छिन् । यसैबिच उनले देशको राजधानी कहाँ के गरेर बसिरहेको छ भन्ने प्रश्न राख्दै ती विकट ठाउँका नेपालीहरू के कसरी जिन्दगीलाई अघि बढाउँदै छन् भन्ने कुरामा राजधानीले आँखा चिम्लेर बसेको धारणा व्यक्त गरेकी छिन् । उनीहरूले भोगिरहेका पीडा हाम्रा सामान्य पेट दुखाइ र टाउको दुखाइभन्दा कैयौँ गुणा भारी छ भन्ने प्रत्यक्ष देखेर आएकाले उनलाई जिन्दगीको गन्तव्यका बारेमा थप खोजी गर्ने प्रेरणा मिलेको विषयमा हामी प्रस्ट हुन्छौँ । त्यसैगरी उनले जिन्दगीमा जेजस्तो अवस्थामा पनि एउटा सपना भने जगाइरहनुपर्छ भन्ने सन्देश दिएकी छिन् ।
देशले भोगेको द्वन्द्वका कारण धेरैले ज्यान गुमाए र धेरै वेपत्ता भए । त्यही समयमा मोहेन्दुले पनि आफ्ना बिरामी फुपाजुलाई गुमाउन पगिन् । उनले आफ्ना फुपाजु जो संसारबाट बिदा हुनुभएको थियो उहाँको सम्झना गर्दै त्यसले दिएको पीडा द्वन्द्वकै कारण बेपत्ता पारिएका परिवारका सदस्यहरूले भोग्नुपरेको बिछोडको पीडाको अघि केही होइन रहेछ भन्ने आफ्नो बुझाइ पनि राखेकी छिन् । बेपत्ता पारिएकाहरू फर्केर आइहाल्छन् कि भन्ने आशाको त्यान्द्रोमा पलपल मर्दै बाँचिरहेकाहरूको समग्र स्थिति देखेर मोहेन्दुमा आएको छटपटीले उनमा मानविय संवेग र संवेदना अनि भावनाको अथाह खानी रहेको आभास मिल्छ ।
द्वन्द्वमात्र होइन प्राकृतिक प्रकोपका कारण उत्पन्न भएका अनेकौँ अप्ठ्यारा परिस्थितिमा समेत देशका विभिन्न ठाउँहरूमा पुगेर परोपकारका काम गर्दा सँगालेका तिता अनि मिठा समय र सन्दर्भहरू सँगाल्दै गर्दा यस्तो परिस्थितिबाट गुज्रनुपर्दा उनमा पलाएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको सद्भाव तथा देशप्रतिको मायाँ अतुलनीय रहेको छ । उनले भेटेका हरेक व्यक्ति र पुगेका हरेक ठाउँहरूलाई यसरी स्मृतिमा कैद गरेर राख्नु अनि हामी आम पाठकमाझ यो रूपमा प्रस्तुत गर्नु आफैँमा एउटा प्रशंसायोग्य काम हो । आधा जिन्दगीसमेत नभोगेकी मोहेन्दुले जिन्दगीका यति धेरै आयामहरूसँग साक्षात्कार गर्न सक्नुमा उनमा भएको भावना, चेतना र ऊर्जाका कारण सम्भव भएको हो भन्ने लाग्छ उनको यो आत्म कथा पढेपछि । मोहेन्दु यस्तो व्यक्तित्वकी धनी हुन् जसले सिंहदरबारले जनताका लागि केही गरेन भन्ने नभई सिंहदरबार र जनताको निम्ति आएका कैयौँ परियोजनाहरूलाई सफल तुल्याउन बलियो पुलको काम गर्न सक्नुपर्छ र सदैव विश्वास गरेर आफ्नो काँधमा आएका जिम्मेवारीहरू पूरा गर्न कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने मान्यता राख्छिन् । उनको यो आत्मविश्वास देख्दा अबका आउने वर्षहरूमा पनि देशले जनताका निम्ति थुप्रै विकास कार्यक्रममा अघि बढ्न मोहेन्दुका सपना तथा योजनाहरूको साथ र सहयोग लिन अघि बढोस् भन्ने कामना गर्न सकिन्छ ।
यस `जीवनको रूपान्तरण´ आत्मकथा पुस्तकले पाठकहरूलाई एउटा हद नाघेर फराकिलो सोच र समझका साथ अघि बढ्ने प्रयास निरन्तर गरिरहनुपर्छ भन्ने सन्देश दिन सफल रहेको छ । जे गर्नुछ आफ्नै देशमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीहरूका निम्ति विकास निर्माणका विभिन्न काममा लागिपरेर गरेमा जिन्दगीका विभिन्न चरणमा देखेका व्यक्तिगत सपनाहरूसमेत साकार हुन सक्ने कुरामा पाठकहरूलाई विश्वस्त तुल्याउन सक्षम छ । पढाइ र तालिमको सिलसिलामा विश्वका अनेकौँ देशमा गए पनि फर्किएर आफ्नै देशमा आई गर्नुपर्ने कामहरू धेरै नै बाँकी रहेको प्रस्ट चित्र पाठकको मन र मस्तिष्कमा कोर्न सफल छ पुस्तक । सबैभन्दा महत्त्वपूर्ण कुरा त कम उमेरमै पनि आफूले चाहेबमोजिम वा नचाहेरै हुन गएका जिन्दगीका रूपान्तरणहरूलाई यसरी लिपिबद्ध गरेर आम पाठकसामु पेश गर्दै सफल आत्मकथा भन्न जोसुकैलाई पनि प्रेरणा दिन को चाहँदैन र? यसमा अपवाद हुने हरेकलाई सुविधा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।