
ओहो ! जीवनप्रति गनगन गरेरै झन्डै दुई तिहाइ आयु फालिसकियो कि क्या हो ! आज म झल्याँस्स ब्युँझिएको छु । बित्थाको गनगन र कचकचमा आफ्नो अनमोल आयु विसर्जन हुनु कदापि राम्रो कुरा होइन । जीवन गनगनाउन कि गुनगुनाउन पाइएको हो; त्यस विषयमा सानो विवेचना गर्दै छु । मनमा पिर र पीडा भएपछि मान्छेका मुखारविन्दबाट गनगन खस्न सुरु हुन्छ । गनगनमा एक असन्तोष भाव हुन्छ । गनगनजीवी सन्तोष जान्दैन । उसले मनमा सुखद सौन्दर्यभाव उमार्न सक्तैन । त्यसो हुँदा ऊ चौबिस घण्टा अलख निरञ्जन असन्तोषमात्र पोखिबस्छ । जे कुरामा पनि गनगनमात्र गरिबस्छ ।
गनगन गर्ने मनुवासित पिरमर्काका अनगिन्ति पोकापुन्तुराहरू हुन्छन् । घरआँगन, बाटोघाटो, चियाचौतारी, खेतखलिहान जहाँ जहिले जोसित भेटे पनि आफ्नो पन्तुरा फुकाएर फतफताउन थालिहाल्छ । अहर्निश गनगनले जीवनलाई गन्जागोलतर्फ धकेलिरहेको पनि मेलो पाउँदैन । गनगनले जीवनलाई कुनै समाधान नदिने कुरा पनि चाल पाउँदैन ।

पुण्य कार्की
गनगनले अक्सर मान्छेलाई अन्धकारको खाल्डामा खसाल्छ किनभने गनगनमा बाँचेको मान्छेमा जीवनप्रति समादारको भाव टुटेको हुन्छ । उसका आँखामा सकार-भावको उज्यालो ज्योति निभेको हुन्छ । उसका आँखा उज्यालोभन्दा अँध्यारो रेखा ठम्याउन अभ्यस्त बनेका हुन्छन् ।
गनगनमा कर्कश ध्वनि छ तर गुनगुनमा लयको एक गुनगुनाहट छ । गनगन विसङ्गत-बोल हो भने गुनगुन अन्तःसङ्गीतको धुन हो । मेरा लागि गनगनभन्दा गुनगुन प्यारो छ । जीवन एक गीत हो । जीवन एक सङ्गीत हो । त्यसैले जीवन गीतजस्तै गुनगुनाउन चिज हो । जसले गनगनबाट माथि उठेर जीवन गुनगुनाउन थाल्यो । जसले गुनगुनाउने कला सिक्यो । ऊ सुखी भयो । ऊ सफल भयो अनि जसले आफूलाई गनगनमा सीमित राख्यो, ऊ दुःखी भयो, ऊ असफल भयो । यति कुरा मजाले जाने हुन्छ ।
गनगनमा कुनै सुरताल हुँदैन । कुनै लय हुँदैन । कुनै छन्द हुँदैन । कुनै रीति रस अलङ्करणको तारतम्य हुँदैन । कुनै सङ्गीतको झङ्कार हुँदैन । त्यसैले गनगनले मान्छेलाई नीरसपथमा मात्र डोर्याउँदैन । निराश पनि बनाउँदछ । गनगनबाट विमुक्त मान्छे एकलयमा बग्दछ । आफ्नै जीवनबाट एक मधुर धुन निकाल्दछ । आफैँले जीवनको सुरताल मिलाउँदछ र दुःखद परिस्थितिमा पनि गुनगुन गुनगुन धुन निकालेर बाँच्तछ । जीवनका प्रतिकूल स्थितिमा पनि सारेगमको राग झिक्तछ ।
जस्तै विपत्का क्षणमा पनि गुनगुनले जीवनको चहकिलो रेखा देखाउँदछ । त्यसकारण गनगनको कर्कश राग अलापेर बाँच्नुभन्दा गुनगुन सङ्गीत झिकेर बाँच्नु श्रेयस्कर छ । जङ्गली चरो हेर्छु । त्यो मस्त गीत गुनगुनाइरहेको छ । ऊसित न महल छ न अन्नको भकारी छ । न बैङ्क खातामा रुपियाँको सञ्चिति छ । न आलमारीमा लुगाको खात छ । छन् त ऊसित एक जोर पखेटा एउटा चुच्चो छ । त्यसबाहेक ऊसित न गतिलो ओत न आँगन छ न त गतिलो पोषण आशन छ । छ ऊसित गुनगुनको अनमोल सङ्गीत छ । त्यही गुनगुनमा रमाइरहेको हुन्छ ।
नित्य गनगनमा बाँच्ने एक गरिबको कथा सुनेको छु । ऊ धनले मनले सबै हिसाबले गरिब थियो । उसलाई खानको अभाव थियो । कपडाको अभाव थियो । जुत्ताचप्पल त जीवनमा कस्तो हुन्छ टेक्न पाएको थिएन । हमेसा नाङ्गो पैतलाले यात्रा गर्थ्यो ।
एकदिन बिहान हिँड्दाहिँड्दै एउटा मन्दिरसामु पुग्यो । मन्दिरमा भक्तजनको घुइँचो थियो ।
मठमन्दिरको आँगनमा अक्सर मान्छे केही माग्नै जान्छन् । धनी पनि माग्नै जान्छ । गरिब पनि माग्नै जान्छ । मन्दिर पुगेपछि करिब करिब सबै मान्छे भिखारी नै बन्छन् । अर्थात् त्यहाँ यो पुगेन त्यो पुगेन गनगन गर्नै जान्छन् । आफ्ना अनेकन् कामनापूर्तिका लागि याचना गर्नै गएका हुन्छन् । मन्दिरको मूर्तिले मान्छेको मनकामना सुनोस् नसुनोस्, माग पूरा गरोस् नगरोस् तर पनि भक्तहरू भगवान्सितै माग्न गिडगिडाइरहेका हुन्छन् । ऊ गुनगुनको गायत्री जप्तैन । गनगनकै मन्त्रोच्चारण गरिरहेको हुन्छ ।
नाङ्गो-खुट्टे गरिब मूर्तिअगाडि पुग्यो र भगवान्सामु गनगन गर्न थाल्यो, “हे भगवान् ! मलाई किन मान्छेको जुनीमा जन्म दियौ ? न थालमा खाने भोजन छ । न आङमा गतिलो कपडा छ । धाँजा फाटेका खुट्टाबाट रगत चुहिसक्यो । एक जोर जुत्तासम्म तिमीबाट कृपा हुन सकेन । धिक्कार छ यस्तो मानव जुनी ! धिक्कार छ तिमीलाई ! कसैलाई चाहिँ खातमाथि खात कसैलाई चाहिँ नाङ्गो रात ! किन राख्यौ भगवान् ! बरु मलाई मृत्यु देऊ !”
गालीमुद्रामा भगवान्सित कचकच गरिरहेको बखतमा उसले एक अनौठो दृश्य देख्यो । एउटा खुट्टाविहीन अपाङ्ग मानिस घस्रिँदै मूर्तिनजिक आयो । उसले आँखाबाट बरर आँसु खसाल्दै हात जोडेर गीत गुनगुनायो, “धन्य छ प्रभु तिमीलाई ! खुट्टा नदिएर के भयो र प्रभु ! तिमीले एक जोर हात दिएका छौ । यिनै हातले लुगा बुन्छु । यिनै हातले चित्र कोर्छु । यिनै हातले गीत लेख्छु । यिनै हातले मूर्ति कुँद्छु । यिनै हातले कविता कोर्छु । यिनै हातबाट अनमोल सिप र सिर्जना कोरेर खाएको छु, पिएको छु, हाँसेको छु र गाएको छु । यस्ता अनमोल हात दिने प्रभु तिमीलाई कोटि-कोटि धन्यवाद छ !”
देवतासामु उसले हृदयको अहोभाव पोखिरहेको थियो । देवताप्रति गुनासो होइन । देवताप्रति गनगन होइन । बरु भित्रबाट कृतज्ञता जनाइरहेको थियो । हृदयको अनुग्रह पोखिरहेको थियो । यो दृश्यले नाङ्गा-खुट्टे गरिब चकित चकित बन्यो । जुत्ताका निम्ति भगवान्सित निन्दा बोलिरहेको छ । जुत्ता नपाएकामा भगवान्प्रति भर्त्सना गरिरहेको छ । खुट्टै नहुने मानिसचाहिँ हात दिएकामा भगवान्लाई धन्यवाद ज्ञापन गरिरहेको छ ।
उसलाई त्यो क्षण आफ्नो कमजोरी याद भयो । त्यस दिनदेखि उसले जुत्ता दिएनौ प्रभु भनी गिडगिडाउन छोड्यो । बरु खुट्टाका लागि अहोभाव गुनगुनाउन थाल्यो । कथाले भन्छ- त्यसपछि उसको सोचमा मात्र रूपान्तरण आएन । समग्र जीवनमै क्रान्ति आयो । गनगनबाट गुनगुनतर्फ पदार्पणको सानो दृष्टान्त मात्र हो यो कथा ।
मान्छे जन्मँदै अनमोल सम्पदाले विभूषित छ । संसार हेर्न आँखा पाएको छ । सृजना र सुकर्मका लागि हात पाएको छ । सोच्ने चिन्तन गर्ने चेतनमयी मगज छ । टेक्न र यात्रा गर्न खुट्टा छन् । यीबाहेक ज्ञान, अनुभूति र अनन्त कर्मका लागि अन्य ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूको पनि समुचित व्यवस्था छ । यस्तो भरिपूर्ण सम्पदालाई भुलेर किन सिकायतमा बाँच्छ मान्छे ! किन गनगन गथासोमा भुलिबस्छ मान्छे ! जीवनको सुखद गीत गुनगुनाउने ओठ किन बन्द छन् ? सोध्न चाहिरहेको छु । गनगनबाट गुनगुनतिर लैजाने बाटो खोज्न चाहिरहेको छु ।
सुनाउन त आमाले कोक्रामै जीवनको गुनगुन धुन सुनाएकी हुन् । आमाले हालेको लोरी गीत किशोर वय पार गर्दा नगर्दै भुलिसक्छ मान्छे । भावका आँखालाई अभावका आँखाले टालिसक्छ । जब हामी अभावका आँखा आफूमा आरोपित गरेर संसार हेर्न थाल्छौँ अनि हृदयमा गनगन जन्मिन्छ र यसले मान्छेलाई सिकायतजीवी बनाउँदछ । भएको कुरा देख्तैन यसले, नभएको कुरामात्र देख्तछ । उपलब्ध वस्तुमा आँखा जाँदैनन्, अनुपलब्ध वस्तुमात्र गोचर हुन थाल्छ । प्राप्तिलाई हेर्दैन, अप्राप्तिमात्र देख्छ ।
मनोविज्ञानमा मिसिङ टायल सिन्ड्रोमको कुरा कतै पढेको छु । जीवनमा खोटमा मात्र देख्ने यो एक दृष्टिकोण हो । जीवनमा खत र दागमात्र देख्ने यो एक महारोग हो । कुनै प्रेक्षालयको पटाङ्गिनीमा टायल बिच्छ्याइएको छ । हजारौँ हजार इँटा या टायल सही-सलामत बिच्छ्याएको भुईँमा एउटा टायल उप्किएको छ भने मान्छेको ध्यान त्यही खाली खाल्टाले खिच्तछ ।
अर्थात् हजार अरू इँटा मिलेको चित्रलाई एउटा खाली खाल्टाले ओझेल पार्दछ । अनुहारकै कुरा गरौँ न । अनुहारमा सबै चिज सबै अङ्ग सही-सलामत छन् तर गाला या निधारमा सानो खत लागेको छ भने मानिसका आँखा त्यही खतमा गएर थुरिन्छन् । अनुहारको अन्य सुन्दरता गायब बन्दछ ।
यही मिसिङ टायल सिन्ड्रोमबाट आक्रान्त बन्दछ गनगनप्रेमी मनुवा । यो मनुवा रुन जान्दछ, हाँस्न जान्दैन । लम्पसार हुन जान्दछ, नाँच्न जान्दैन । जन्मिँदा रुँदै जन्मेको हो मान्छे । जन्मँदै अनुदानस्वरूप आएको हो रोदनवृत्ति । यो स्वभाव सजिलै कहाँ भुल्न सक्छ र ? प्रसूति गृहमा डाक्टरले बच्चालाई पिटीपिटी रुवाएको घटना देखेको छु । स्वास्थ्य विज्ञानको नियमानुसार बच्चा जन्मँदै रुनुपर्ने रहेछ । जन्मिनेबित्तिकै रोएन भने उसलाई अनेकन् उपक्रमद्वारा रुवाइँदो रहेछ । खुट्टा समाती उँधोमुन्टो झुन्ड्याएर पिठ्यूमा पिटेर होस् या मुखमा मुख जोडेर खँलातीले जस्तो सास हालेर होस् या मुख र नाकबाट प्लास्टिकका नलीभित्र घुसारेर होस् जसरी भए पनि बच्चालाई रुवाएपछि चिकित्सक ढुक्क बन्दा रहेछन् । नानी रोएन भने श्वासप्रश्वास अबरुद्ध बन्ने रहेछ ।
यही प्रारम्भिक अवस्थाको रोदनबाटै गनगन जान्यो कि मान्छेले ! सन्देह भाव जागेको छ । मान्छेका भाव र वृत्तिहरू अज्ञातका अनन्त रहस्यसित गाँसिएका हुन्छन् । अचेतन मनका सबै पर्दा खोलेर हेर्न मान्छे साँच्चै असमर्थ छ ।
एक जना सकारात्मक सोचका युवा नेता छन् । उनका विचार सुन्न म हमेसा लालायित बन्छु । उनले हरेक अन्तर्वार्तामा केही न केही नयाँ कुरा बोलिरहेका हुन्छन् । उनको सिर्जनात्मक सोचको म प्रशंसक हुँ । एक अन्तर्वार्तामा पत्रकारले उनको विगत उधिन्यो । उनले गरेका केही नराम्रा कुराहरूको फेहरिस्त प्रस्तुत गर्दै सोध्यो- “तपाईँलाई विगतका कर्मप्रति गुनासो छैन ।”
जबाफमा उनले व्याख्या हाले- “गुनासो याने कि गु नासो । जसले गुलाई नासोजस्तो च्यापिबस्छ, त्यसले गर्छ गुनासो । गु भनेपछि सिधै कमोडमा बसेर लतत हग्ने हो । कस्तो हगेँ, के हगेँ फर्केर हेर्ने पनि होइन । पानीले फ्लस गरेर सिधै सेफ्टी ट्याङ्कीमा धकेल्ने हो । त्यहाँ पुगेपछि त्यसलाई किराले खान्छ या आफैँ सड्छ । यस्तो वस्तुलाई नासो ठानेर शरीरमा राखिराख्नु हुँदैन । गुनासोबाट मान्छे गनगने हुन्छ । हरदम जेमा पनि गुनासो गर्ने हुन्छ । त्यसैले गुलाई नासो बनाउने होइन । म विगत सम्झेर गुनासो गर्ने मान्छे होइन ।”
आक्कल झुक्कल एक अवकाशप्राप्त कर्मचारीको गनगन सुन्नुपर्ने बाध्यता छ मलाई । उनले चालिस वर्ष जागिर खाएर अनिवार्य अवकाश लिएका छन् । जागिर खाउन्जेल पनि उनसित बाक्लै भेट हुन्थ्यो । अहिले पनि भेट भइराख्छ । बेला-बेलेलामा विविध विषयमा कुराकानी चलिराख्छ । हिजो सेवामा बहाल हुँदा पनि हरेक भेटमा उनका गनगन गुनासो सुन्नुपर्थ्यो । अहिले रिटायर भएपछि पनि उही गनगन छ ।
घुमाई फिराई उनको एउटै गुनासो हुन्छ- “यत्रो वर्ष सेवा गरेँ । मेरो उचित मूल्याङ्कन हुन सकेन । समाजले मलाई कदर गरेन । अरू साथीहरू निजामति सेवामा छिरेर अकुत धनराशि कमाए । आफूले त केही गर्न सकिएन । महल जोड्न पनि सकिएन । मारुती चढ्न पनि सकिएन । मनचिन्त्य मदिरा पिउन पनि सकिएन । न छोराछोरीलाई ठाउँमा पुर्याउन सकियो न कुनै क्षेत्रमा नाउँ चम्काउँनै सकियो ।”
उनका कुरामा आफ्नो पेसागत जीवनप्रति अलिकति पनि गौरवबोध छैन । आफूले चालिस वर्ष गरेको काममा अलिकति पनि आदरभाव छैन । उनी अर्काकै सफलता उपर गनगन गरिरहेका हुन्छन् । उनका निम्ति उनको कर्म भनेको मानौँ कसैले उनको घाँटीमा झुन्ड्याइदिएको गलगाँड थियो । त्यही खालको अभिव्यक्ति उहाँको मुखबाट सुन्न पाइन्छ ।
अब उनी बुढ्यौलीको शिखरतिर आरोहित छन् तर गनगन गर्न भने छोडेका छैनन् । एकदिन उनलाई सुझाव गरेँ-“अब बित्थाको गनगन छाड्नुस् सर ! गनगनको साटो गुनगुन गर्न सिक्नुस् । अब त गनगनको गाली होइन । गीतको गुनगुन सिक्नुस् । जीवन अलिकति गीत पनि हो । यसलाई गुनगुनाउनुपर्छ । यो उमेरमा नगुनगुनाए कहिले गुनगुनाउने हो ता नि; हेनुस् हमेसाको गनगनले आत्मामा गर्मी बढाउँदछ । आङमा गर्मी बढाउँदछ । त्यो गर्मी स्वास्थ्यका लागि हानिकारक छ । गनगनले मान्छेलाई स्वीकारजीवी होइन सिकायतजीवी बनाउँदछ तर जीवन गुनगुनाउने कलाले मानिसलाई स्वीकारजीवी बनाउँदछ । गनगनले तपाईँको जीवनको सारा सन्तुलन भत्काइदिन्छ । तपाईँको जीवनलाई गाजेमाजे पार्छ तर गुनगुनबाट तपाईँको जीवनको सौम्यता खुल्छ । गनगनले जीवनमा प्रलय ल्याउँछ । अकडबन्दी ल्याउँदछ । जकडबन्दी ल्याउँदछ । उथुलपुथुल ल्याउँदछ तर गुनगुनले जीवनमा मृदुल लय थपिदिन्छ ।” मेरो कुरा कति बुझे कुन्नि ! ट्वाँऽऽ ! परेर मलाई नै हेरिराखे ।
गुनगुनाहट जीवनको एक राग हो । राग सुन्दा रोगी पनि ठिक हुन्छ अरे । राग भनेर मैले सङ्गीतकै रागतर्फ सङ्केत गरेको हुँ । भित्रबाट राग नजन्मी मानिस कसरी जीवन गुनगुनाउन सक्छ र ? हृदयबाट एक मुग्धभाव उठेपछि गुनगुनाउने कला आउँछ रे । यही गुनगुनबाट गद्गद जन्मिन्छ । गद्गद खुसी र गद्गद हाँसो त सबैका निम्ति जीवनको लक्ष्य हुनुपर्ने हो तर त्यसमै वञ्चित भएका छौँ ।
गनगन गर्ने मान्छे गतिलो कि गुनगुन गर्ने मान्छे गतिलो ? मलाई कसैले प्रश्न गरेमा म निर्धक्क भन्न सक्छु- गुनगुनाउने मान्छे नै गतिलो हो । गनगनले त गतिहीन पनि बनाउँदछ । गतिछाडा पनि बनाउँदछ । गनगने खुसी हुन कन्जुसी गर्छ । सन्तोषी बन्न कृपण गर्छ ।
वैज्ञानिकहरू भन्छन्- जीवजन्तु, पशुपक्षी, बोटबिरुवा समेत सङ्गीतको गुनगुन धुनले औधी रमाउँछन् अरे । उनीहरू पनि पुलकित आनन्दमा खुसी हुन्छन् अरे । सङ्गीतको सुरिलो स्वरलहरीले मुनामञ्जरीका टुप्पाहरू आकाश चुम्न हतारिन्छन् अरे । झन् कोपिलाले गुनगुन धुन सुन्यो भने छिटो फक्रिन्छ अरे । गुनगुनको यत्रो तागत जानेपछि गनगन कम, गुनगुन बढीको आदत आफूमा डाल्दै छु । गुनगुनाउन जान्नेले सहनाई फुक्नै पर्दैन । पिपिरीको पातबाट पनि जीवनको मिठो धुन निकाल्न सक्छ । केराको पातबाट पनि मुरलीको आवाज झिक्न सक्छ । कृष्णले त्यसै काँधमा बाँसुरी भिरेका हुन् । सरस्वतीले हातमा त्यसै वीणा च्यापेकी हुन् । गुनगुनको कला त हाम्रा आदिमानव र आदिगुरुहरूले नै सिकाएका हुन् नि । त्यो कलालाई फेरि जनमनमा जगाउनुपरेको छ ।
समाप्त



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

