विषयप्रवेश

नेपाली साहित्यमा अहिले नयाँ-नयाँ प्रयोगहरू अस्तित्वमा आएका छन् । पछिल्लो समयलाई हेर्दा सामाजिक सञ्जालमा नवीन मान्यता र अभ्यासहरू सशक्त रूपमा प्रस्तुत भएको पाइन्छ । विश्वको एउटा कुनामा बसेको स्रष्टा सञ्जालद्वारा जोडिने र अभियानमा सहभागी हुने अवस्थाका कारण कुनै नयाँ जन्मिएका विधाका भेद र तिनको प्रचारप्रसार तीव्र रूपमा भएको पाइन्छ । हिजो कुनै नयाँ अभियान थालिए पनि त्यसले प्रचारप्रसार र अपनत्व प्राप्त गर्न लामो समय लाग्थ्यो तर सञ्चार र प्रविधिको विकासले सबै कुरा सुगम तुल्याइदियो । वर्तमानको परिदृश्यलाई हेर्दा अन्य विधाका अपेक्षा कविता विधामा नव-नव प्रयोगतर्फ स्रष्टाहरूको ध्यान ज्यादा मात्रामा केन्द्रित भएको पाइन्छ । साइनो, छेस्का, बाछिटा, शीत, उदक, सुसेली, कोपिला, त्रिशूल आदि भेदउपभेदरू अहिले अभियानका रूपमा  सामाजिक सञ्जाल तथा मिडियामा प्रकाशन हुनेले नेपाली भाषासाहित्यमा एक प्रकारको जागरण नै आएको देख्न सकिन्छ । यस्तै अभियान र प्रयोगअन्तर्गत शीत काव्यको प्रवर्तन र यसको विकास विस्तारलाई लिन सकिन्छ ।

टङ्कप्रसाद पन्थ

शीतकाव्य परिकल्पना र संरचना

काव्यको लघुतम भेदका रूपमा अहिले शीत कविता प्रयोगमा आएको छ । यसको जन्मको श्रेय पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीलाई जान्छ । उनको कलमबाट २०७८ साल असार ७ गतेदेखि यस प्रकृतिको रचना सर्वप्रथम प्रयोगमा आएको पाइन्छ । दुई अक्षरीय पङ्क्ति संरचनाका साथमा चार पङ्क्तिभित्र कुल आठ अक्षरको पूर्ण संरचना भएको कविताको लघुतम अनि नवीनतम भेदका रूपमा ‘शीत’ प्रकाशमा आएको पाइन्छ । जलको सूक्ष्म रूप शीत बिम्बमा प्रकट भएजस्तै कविताको सूक्ष्म भेदका रूपमा मुखरित भएकाले पनि यसलाई शीतको नामकरण गरिएको पाइन्छ । युगल अक्षरको संरचनालाई आधारभूत आक्षरिक प्रतीकका रूपमा लिई तिनको प्रयोगगत सन्दर्भका साथै एउटा पूर्ण अर्थको प्रकटीकरण हुने गरी यस प्रकारको अभिव्यक्तिको अपेक्षा गरिन्छ । शीतकाव्यका जन्मदाता रेग्मीले शीतकाव्यको आधारभूत मान्यतासमेत प्रस्तुत गरेको पाइन्छ । उनले आठ अक्षरीय संरचनालाई एउटा शीत, बाह्र ओटा शीतको समूहलाई शीतपुष्प, एक सय आठ ओटा शीतको समूहलाई शीतकुञ्ज, नौ सय बहत्तर ओटा शीतको समूहलाई शीतद्वीप, चौरासी शीतकुञ्जको योगलाई शीतब्रह्माण्ड र एक हजार आठ शीतभन्दा माथिको शीत सिर्जनालाई शीतकल्पको अवधारणागत मान्यता प्रस्तुत गरेको पाइन्छ । यसैगरी शीत सङ्ख्याका आधारमा शीत स्रष्टाको पनि वर्गीकरण गरिएको पाइन्छ । एकदेखि एक सय सात ओटा शीत सिर्जना गर्ने व्यक्तिलाई शीतसर्जक, एक सय आठदेखि एक हजार सातसम्म शीत रचना गर्ने व्यक्तिलाई शीतसाधक र एक हजार आठभन्दा बढी शीत रचना गर्ने व्यक्तिलाई शीत ईश्वर मान्ने कुराको आधार पनि प्रस्तुत गरिएको छ ।

शीतको व्यापकता र स्रष्टाहरूको सहभागितालाई हेर्दा यो छोटै समयमा चर्चा र प्रचारमा आएको छ । संस्थाको गठन गरी सञ्जालका माध्यमबाट यसलाई अगाडि बढाइएको पाइन्छ । शीतको संरचनागत विन्यासको कुरा गर्दा नेपाली आक्षरिक संरचनाका दुई ओटा सग्ला अक्षरको आधारभूत संरचनाद्वारा दुई-दुई अक्षरका चार पङ्क्तिको योगबाट एउटा पूर्ण अर्थको अभिव्यक्तिको अपेक्षा गरिन्छ । प्रत्येक चार पङ्क्तिमा समेटिन आउने कुल आठ अक्षरीय संरचनालाई शीत काव्यमा एउटा पूर्ण सङ्कथन मानिन्छ । अक्षरहरूको गणना गर्दा आधा रूपमा आएको र हल् वा खुट्टा काटिएको रूपलाई अक्षरका रूपमा गणना गरिँदैन । प्रयोग र अभ्यासमा आएका शीतहरूको प्रकृति र प्रवृत्तिलाई हेर्दा अनुप्रासीय विन्यासमा विशेष जोड दिइएको पाइन्छ । यस्तो अनुप्रासीय विन्यासमा मूलतः दोस्रो र चौथो पङ्क्ति, पहिलो र तेस्रो पङ्क्ति, पहिलो र चौथो पङ्क्ति, तेस्रो र चौथो पङ्क्तिमा वा चार ओटै पङ्क्तिमा अनुप्रासको प्रयोग हुन सक्ने देखिन्छ । यस्ता अनुप्रासीय विन्यासले शीतलाई श्रुतिमधुर बनाउनुका साथै गेयात्मक तुल्याएको पाइन्छ । शीत सिर्जनामा काव्यात्मक सौन्दर्य भर्नमा अनुप्रासको प्रयोग प्रभावकारी हुने देखिन्छ । शास्त्रीय छन्द परम्परामा दुई अक्षरीय संरचनाका स्त्री छन्द, चित्र छन्द, मही छन्द, मधु छन्द आदिको अस्तित्व रहेको र तिनमा आधारित भई सिर्जना गरिएको पनि पाइन्छ । शीत काव्यीय अभ्यासमा पनि त्यस्ता छन्दको पूर्ण वा आंशिक प्रयोग भएको देख्न सकिन्छ । समसामयिक चेतना मुक्त वा बद्ध लय, लोक जीवनका सुसेलीलाई समातेर शीतको सिर्जना गर्न सकिन्छ ।

कविता कलाको वास्तविक मर्म त्यसको भाव पक्षमा केन्द्रित रहेको हुन्छ । भावको सघनता अनि वाच्यार्थका अपेक्षा ध्वन्यात्मक रूपमा व्यञ्जित हुने अर्थले कविताको ओज बढाउने कुरामा कुनै विवाद छैन । यसैले शीतको सिर्जनाका क्रममा स्रष्टाले अभिव्यक्तिलाई कलात्मक तुल्याउनका लागि सचेत हुनुपर्ने देखिन्छ । सामान्य बोलीचालीको भाषा वा शब्दको गणनातर्फ मात्र केन्द्रित हुँदा कलात्मक पक्ष सामान्य बन्न सक्छ । साहित्यिक सिर्जनामा कलात्मक पक्षलाई जोड दिनु महत्त्वपूर्ण पाटो हो । त्यसमा पनि लघुतम र सघन संरचनाभित्र बाँधिएर कलात्मक सौन्दर्यको रुझानमा भाव पक्षलाई सेमेट्नु चुनौतीपूर्ण कुरा हो । यसैले बिन्दुमा सिन्धु समेट्न सक्ने कलात्मक क्षमता भएका स्रष्टाका खारिएका कलमबाट नै अर्थपूर्ण शीतको रचना हुन सक्दछ । सूक्ष्म संरचनामा केन्द्रित रही भाव र कला भर्नेतर्फ सर्जकहरू गम्भीर भएमा शीतको ओज र काव्यत्मक गरिमा सबल बन्न सक्दछ । शीतकाव्यको रचना कुनै पनि विषयमा गर्न सकिन्छ । यस सन्दर्भमा एउटा शीत र अर्को शीतको रचनाका क्रममा फरक विषयसन्दर्भ र भावगत मर्मलाई समेट्नु उपयुक्त हुन जान्छ । शीतको संरचनागत सूक्ष्मता, युगल अक्षरको विन्यास, गेयात्मकता, सरलता जस्ता विशेषताले बालस्रष्टा तथा सिकारु सर्जकहरू यसतर्फ आकर्षित हुने देखिन्छ । शीत काव्यमा समेटिएका विषय क्षेत्रतर्फ दृष्टि दिँदा प्रकृति, संस्कृति, देशभक्ति, प्रेमप्रणय, मानवीय मूल्यचेतना, राजनीतिक नेतृत्वप्रतिको वितृष्णाभाव, विकृतिप्रतिको सघन व्यङ्ग्य, मानवतावादी चेतना, स्थानीय प्रकृति र परिवेशगत झलक, स्वाभिमान, अभाव र गरिबीमा बाँच्नुको पीडा, नैतिक शिक्षा, सुधारको आग्रह, समृद्धिको आग्रह, सिपयुक्त शिक्षा, नश्वर जीवनको चेत, मूल्य र संस्कृतिमा आएको स्खलन, भाषाप्रतिको मोह, अग्रजप्रतिको आस्था, मित्रताभाव आदि कुनै पनि विषयमा शीत लेख्न सकिन्छ ।

केही  प्रतिनिधि स्रष्टाका  नमुना शीतहरू

शीतको संरचनागत ढाँचा अनि अनुप्रासीय संयोजनको अवस्थालाई यहाँ नमुनाका रूपमा प्रस्तुत गरिएको छ । देवेन्द्रराज शाक्यद्वारा सङ्कलित ‘शीत’ लघुतम काव्यसङ्ग्रहबाट केही स्रष्टाहरूका  शीतलाई यहाँ दृष्टान्तसहित प्रस्तुत गरिएको छ ।

चार ओटै पङ्क्तिमा अनुप्रास संयोजन भएका शीत –

माया     तेरो                                   भर               राम

छाया     मेरो                                   पर                नाम

दायाँ      सेरो                                  घर               जाम

बायाँ      फेरो (चन्द्रकान्त न्यौपाने)   गर                धाम (सीता विष्ट कार्की)

 

दोस्रो र चौथो पङ्क्तिमा अनुप्रासीय संयोजन गरिएका शीत –

शीत              द्यौता                                कृषि              सीप

नव्य              साथ                                 पेसो              दीक्षा

लघु              झुक्छ                               बाँच्ने             राम्रो

काव्य            माथ (पुष्कर अथक रेग्मी)  मेसो              शिक्षा (दामोदर ढकाल दीपक)

 

पहिलो, दोस्रो र चौथो पङ्क्तिमा अनुप्रास संयोजन भएका शीत –

लाखा            डाँडा                                दीन              तन

पाखा            पाखा                                दीन              मन

बाल              छर्दै                                  दिनै              ईश

सखा             आँखा (कृष्ण के. सी.)        दीन              भन (लव जोशी )

 

पहिलो र दोस्रो पङ्क्तिमा अनुप्रास संयोजन भएका शीत –

चण्ड             शङ्ख                               रोक              भ्रष्ट

मुण्ड             घन्ट                                  तोक             नष्ट

नाँच्छ            बज्छ                                छैन               गर्ने

हेर                भोर (धर्मी शाक्य)              कति             सब (देवेन्द्रराज शाक्य)

 

तेस्रो र चौथो पङ्क्तिमा अनुप्रास संयोजन गरिएका शीत –

नयाँ              लेख्न                                 वर                आऊ

शब्द              थालेँ                                पर                नाँचौँ

खोजी            रोजी                                रन                खेल्दै

खोजी            रोजी (इन्दिरा ज्ञवाली)      वन               भुल्दै (एलिसा रेग्मी)

 

अनुप्रासमुक्त रूपमा सिर्जना गरिएका शीत –

भानु              भर्न                                           पुछी              शीत

मोती             शान्ति                                        दिन्छु            माला

स्रष्टा             फर्क                                           तिम्रो             गाँसी

शिक्षा            बुद्ध (शोभा कडरिया कोइराला)    आँसु             दिएँ (पशुपति प्रधान)

 

यी केही नमुनाका रूपमा प्रस्तुत गरिएका दृष्टान्तबाट अनुप्रासीयताको विविध अवस्थालाई साक्षत्कार गर्न सकिन्छ । देवेन्द्रराज शाक्यद्वारा सङ्कलित/प्रकाशित ‘शीत’ लघुतम काव्यसङ्ग्रहभित्रका शीतहरूलाई साक्षात्कार गर्दा यस्तो प्रयोगको अवस्था देख्न सकिन्छ । यस सङ्ग्रहका धेरैजसो शीत संरचनामा दोस्रो र चौथो पङ्क्तिमा अनुप्रास मिलाउने कुरामा स्रष्टाहरू सचेत रहेको पाइन्छ ।

निष्कर्ष

नेपाली साहित्यका क्षेत्रमा अहिले नव-नव प्रयोगतर्फको चासो र अभ्यास केन्द्रित भएको पाइन्छ । त्यसैको परिणतिका रूपमा कविताको सूक्ष्मरूपलाई ‘शीत’ नामकरण गरी अभियान सञ्चालन गरिएको देखिन्छ । ‘शीत’ काव्यको श्रीगणेश गर्ने व्यक्ति पाल्पाली स्रष्टा पुष्कर अथक रेग्मी हुन् । उनकै अध्यक्षतामा शीत काव्य समाजको गठन भई देशविदेशमा सञ्जाल जोडिएको र धेरै सर्जकहरू साधनामा लागेको पाइन्छ । छोटो समयमै साहित्यकार कृष्ण केसीद्वारा लिखित ‘शीतका थोपा’ नामक शीतकाव्यसङ्ग्रह तथा साहित्यकार देवेन्द्रराज शाक्यद्वारा सङ्कलित छैसट्ठी जना स्रष्टाहरूको संयुक्त शीतसङ्ग्रह प्रकाशनमा आएका छन् । नवोदित प्रतिभाहरू आकर्षित भइरहेको र बाल प्रतिभाहरूलाई शीत सिर्जनामा उत्प्रेरित गर्नु उपयुक्त हुने देखिन्छ । सूक्ष्म संरचनाभित्र सघन रूपमा विचारलाई सूत्रबद्ध गर्ने काम चुनौतीपूर्ण भए पनि स्रष्टाहरूको निरन्तर साधना र चर्चा परिचर्चाले शीतजस्ता नवीन काव्यिक अभियानहरूलाई जीवन्त तुल्याउने कुरामा कुनै सन्देह छैन । शीत काव्यको सरलता र लघुतम आयामका कारण यसको भविष्य उज्ज्वल रहेको देखिन्छ ।