गार्डेन कफी सपमा टोलाइरहेको समयमा अनन्तले एक्कासि प्रश्न गर्यो, ‘जिन्दगीमा तँलाई सबैभन्दा मन पर्ने चिज के हो राहुल ?’
सोचेर उत्तर दिनुभन्दा अगाडि नै राहुलको मुखबाट प्याच्च फुत्किहाल्यो, “धुवाँ” ।
‘अरे ! तैंले अझै धुँवा बिनाको जिन्दगी सुरु गर्या छैनस् ? डाक्टरले तँलाई अस्तिनै वार्निङ दिइसकेको बिर्सिस् फेरि ?’

उमेश कंडेल
‘छोडिदे तेस्ता कुरा, जुन मैल सम्झेकै छैन फेरि किन बिर्सिनु ?’ राहुलले चुरोटको धुवाँलाई गोलो आकारमा माथितिर उडाउँदै सानको साथ बोल्यो ।
‘चुरोट र यो गाढा ब्ल्याक कफिबाहेक बाहिरको जिन्दगीको बारेमा केही थाहा छ तँलाई ?’ अनन्त रन्कियो ।
‘मेरो खजना यही, मेरो सपना यही, मेरो आँसु सुकाउने औषधि यही मेरो मुस्कान ल्याउने अमृत यही । तँ मसँग सन्तुष्ट छैनस् भने म तँलाई कर गर्दिनँ तर प्लिज मेरो खजानामाथि हस्तक्षेप नगर,’ राहुल अलिकति च्याँठ्ठियो
अनन्त अलि मुख अँध्यारो पार्दै बोल्न थाल्यो, ‘त्यसो नभन् यार । मैले त तँलाई केही भैहाल्ला भन्ने डर लागेर मात्र यो सब भनेको हो । फेरि तेरो साथी भनेकै मै त हो तर अचेल तैँले मलाईभन्दा बढी चुरोटलाई समय दिन थालेको छस् । डर लाग्छ यार, त्यसैले मेरो मस्तिष्कमा एउटै कुरा रुमल्लिरहन्छ ।’
‘कस्तो कुरा ?’ राहुलले चुरोटलाई एस्ट्रेमा झोस्दै उसको अनुहाराकृतिमा आँखालाई कन्सन्ट्रेट गर्यो ।
‘त्यही के त अस्ति डाक्टरले वार्निङ गरेको कुरा अनि तेरो स्वास्थ्यप्रति डाक्टरले गरेको भविष्यवाणी ।’
यस्तै यस्तै कुरामा साँझपखको दुई तीन घन्टा यी दुइ साथीको त्यही कफि सपमा दिन बित्दथ्यो । रातको त छुट्टै कहानी हुन्थ्यो । मध्य सहरको मध्य घरको टप फ्लोरमा एक्लो मरन्च्याँसे कोठ थियो राहुलको ।
निदाएको लाटो कोठाले सायद दिक्क मान्थ्यो होला राहुलसँग । त्यसैले पनि उसले चुरोटको लतमा सम्हालिनै नसकिने गरी बिग्रिन पुग्यो । केही कुराले राहुललाई साँच्चै खुसी दिलाउँथ्यो भने त्यो केवल धुवाँको बास्ना र आकृति मात्र थियो ।
प्रायः हप्तामा एकचोटि अनन्त राहुलको कोठामा बस्थ्यो । त्यो उसको चाहना थियो या राहुल प्रतिको कर्तव्य परायणता राहुलले कहिल्यै सोधेन । उसलाई नपुग्दो केही थिएन, बुबा सहरकै धनाढ्य बिजनेसम्यान र तिनको ऊ एक्लो छोरो । राहुलको दैनिकी, खर्चको विवरणहरू बुवाको खल्तीले धान्दथ्यो तर उसलाई पुग्ने दैनिक खजनाको खर्च भने अनलाइनमा लेखेर कमाउँथ्यो ।
राहुल र अनन्तको मित्रताको जोडी संसारमै उदाहरणीय छ भन्थे चिन्नेहरूले । उदाहरणीय यस कारणले कि अनन्तका लागि राहुलले जीवनमा कहिल्यै केही गरेन तर उसले सबैथोक गरिदिन्थ्यो । यहाँसम्म कि, छेर्ने छाद्ने गर्दा पनि उसले सोहोर्ने र लुगा धुनेसमेत गरिदिन्थ्यो ।
‘अब अति नै भयो राहुल, म तेरो जिन्दगी यस्तरी बर्बाद हुन दिन्नँ, यो चुरोटको लतलाई तँ आफैँ बिस्तारै घटाउँदै निर्मूल पार्छस् कि सुधारकेन्द्रमा भर्ना गरिदिउँ ?’
राहुल अनन्तलाई अङ्कमाल गरेर रुनबाहेक केही बोल्ने आँट गर्नै सक्दैन । ऊ आफैँ बोल्न थाल्यो, ‘पोहोर पनि सुधारकेन्द्रमा बसेकै हो तर तेरो लतलाई निमिट्यान्न पार्नु त परको कुरा झन बढी धुवाँ फिल्टर गरेर फाल्ने भएर निस्किस् । आखिर यो सब केको लागि ? ज्यान नै जान आँटिसक्यो त तेरो ?’
राहुललाइ उसको यस्तै यस्तै प्रश्नले घोचिरहन्थ्यो अनन्तलाइ ।
तर ऊ यो घोचाइमुक्त हुन चाहेन ।
उसले धेरै प्रश्न सोधिसकेपछि बल्ल एउटाको उत्तर दिन्थ्यो ऊ । त्यो पनि राहुलको सुख्खा मुटुले अनुभूति बिनाको बेतुकको उत्तर सुनेर ऊ भावविह्वल हुन्थ्यो । राहुलको जिन्दगीको अन्योलबारे अनन्त बढी पिरलो मान्थ्यो ।
मध्यरातमा एक्लै खजानालाई चुम्दै राहुल रमाइरहेको थियो । ऊ खजानामा यति रमाएको थियो कि बाहिर झमझमी वर्षिरहेको पानीको समेत ख्याल गर्न सकेन । पानीमा बरू उसले अनेकौँ चट्टानका जाज्वल्यमान झिल्काहरू देख्न थाल्यो । मुसलधारे पानीले उसको शरीर कतै पनि ओभानो बाँकी राखेन । उसको हात, ओठ, घाँटी सबैतिर चिस्यान फैलँदै फोक्सो र मुटुसम्म पुग्यो ।
भोलिपल्ट मध्य आधा दिनसम्म पनि बिस्तराबाट ऊ उठ्न सकेन । सधैँझैँ निश्चित समयमा अनन्त आइपुग्दा राहुलको अवस्था इन्तु न चिन्तु थियो ।
राहुलले आफू स्वयंलाई के भएको हो, बुझ्न सकिरहेको थिएन । यत्ति बुझ्यो, शरीरले पर्याप्त क्रिया प्रतिक्रियाहरू उत्पादन गरिरहेको थिएन । घाँटी दुखेर थुक समेत निल्न नसक्ने अवस्था थियो । फोक्सोले स्वासप्रस्वासको काम राम्रोसँग गरिरहेको थिएन । पेट भत्भती पोलिरहेको थियो । मानौँ, मेरो पेटमा आगोका लप्काहरू लडिबुडी गर्दै थिए । राहुललाइ लाग्यो, ‘अब मेरो भौतिक शरीर धेरै समय यो धर्तीमा टिकिरहन सक्दैन ।’
हुन त उसलाई टिक्नु पनि थिएन ।
एकछिन स्वास पुरै अडकिएको जस्तो भयो । त्यसपछि ऊ आफ्नो र कोठाको अनुभूति तथा प्रतिक्रिया नियाल्न असक्षम भयो ।
अस्पतालको सैय्यामा छु भन्ने राहुलले आफ्नो हातमा घोचेको स्लाइनपानीको सिरिन्जबाट थाहा पायो ।
छेउमा मरन्च्यासे अनुहारको अनन्त थियो । उसले टाउकोमा हात राखेर व्यग्र भएर बसिरहेको थियो ।
राहुलको होश खुलेको देखेपछि अनन्त बर्बरायो, ‘तेरो कोठामा आउँदा तँ बेहोस थिइस् र मैले तत्कालै एम्बुलेन्स बोलाएर हस्पिटल ल्याएँ । अहिले हामी हस्पिटलको आकस्मिक कक्षमा छौँ ।’
‘तेरा सबै पुरानो रिपोर्टहरूलाई डाक्टरले फलोअप गरिरहेका छन् र आज पनि फोक्सो र मुटुको भिडियो एक्सरे गर्नुपर्छ रे, अनि बेलुका कार्डियोलोजीको डाक्टर आएपछि के भएको र के गर्ने भन्ने सबै थाहा हुन्छ रे ।’
उसको कुरा सुनिरहेको राहुलले कुनै प्रतिक्रिया जनाएन । उसको घाँटी अझै सुख्खा भैरहेको थियो, एक सर्को खजना तानेर धुवाँ फिल्टर गर्न पाए स्वर्गको अनुभूति आभास हुनेथियो भनेर राहुल सोचिरहेको थियो तर परिस्थिति त्यसको ठीक विपरीत थियो ।
अनन्त फेरि बोल्न थाल्यो, ‘चार घन्टासम्म पनि तेरो होस नआएपछि मैले तेरो मामा र ड्याडलाइ फोन गरेको थिएँ । उहाँहरू सबै भेट्न आउनुभाको छ ।’
जब राहुलले सबैलाई पालैपालो भेट्यो, ऊ दङ्ग पर्यो । उसले सोचेको भन्दा धेरै आफन्त भेट्न आएको पाउँदा ऊ चकित थियो । अन्कल, अन्टी, तीन जना मामाका सबै परिवार, गाउँका साथीहरू, घरबेटी हजुरबुबा, स्कुल पढ्दाका साथीहरू, गाउँका आफन्तहरू, अरु पनि उसले नचिनेका धेरै थिए र भन्दै थिए, ‘म चैँ तेरो यो पर्ने ऊ पर्नी..।’
राहुलले कहिल्यै अनुहारसमेत नदेखेका मानिस पनि मेरो आफन्त रहेछन् भन्ने सोच्यो । नामसमेत नसुनेका पनि मेरा साथीहरू रहेछन् भन्ने सोचेर उसको शरीर हलुँगो भयो । यसअघि मेरो यत्राविधि आफन्तहरू कहाँ गएका रहेछन्, सोच्न नसकेर उसको फेरि टाउको दुख्न थाल्यो । फेरि एकैछिनमा उसका आँखा रसाएर आयो ।
डाक्टरको भिजिट बाक्लिएको छ । अनन्तलाई डाक्टरले भनेका थिए, ‘उहाँको असी प्रतिशत फोक्सो बिग्रिसकेको छ र रगतमा कोलेस्ट्रोलको मात्रा एकदमै बढी देखिन्छ । जसले गर्दा रगत एक्दम बाक्लो हुन जान्छ र मुटुलाई आफ्नो निरन्तर कार्य गर्न एकदमै कठिन हुन्छ। अहिलेको रिपोर्टअनुसार उहाँको अवस्था अलि जटिलनै भएकाले हामीले आज साँझबाटै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने निधो गरेका छौँ ।’
यसपछि अस्पतालमा क्रमशः भिड पातलियो । अब त्यहाँ परिवारका सदस्यहरूमध्ये केही सीमित थिए र छेउमा थियो अनन्त । अनन्तले उसको मनोदशा पढ्न सक्थ्यो, त्यसैले परिवारले पनि उसलाइ त्यहाँबाट धपाइहालेका थिएनन् ।
‘आखिर यत्रा आफन्तहरू म जन्मेर यत्रो भैन्जेलसम्म कहाँ थिए हँ अनन्त ?’ राहुलले सोध्यो । अनन्त पनि अवाक् थियो । उसले आज जुन भिड देख्यो, यत्रो हुञ्जेल कहिल्यै देखेको थिएन ।
लगातार बयालिस घन्टा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि केही सीप लागेन । डाक्टरले राहुलको श्वास अन्त्यको घोषणा गरे ।
अस्पतालभन्दा अझ कयौँ गुणा बढी साथी र आफन्तहरू आर्यघाटमा जम्मा भए । ती सबैको मुखबाट कम्तीमा एउटा वा त्योभन्दा बढी राहुलको बारेमा सकारात्मक कुरा र गुणगानहरू गुन्जिए । उसको यति प्रशंसा भयो कि त्यो सुनेर अनन्त नै अचम्ममा पर्यो, अझ आश्चर्यको कुरा त जिन्दगीमा केही गर्न सकेन, सबैभन्दा बिग्रेको मानिस भएर निस्कियो, यस्तो मान्छे त बरु नजन्मिनु नि भन्दै राहुलको खोइरो खन्नेहरु नै झन बढी प्रशंसा गर्दै थिए ।
धुवाँ कहिल्यै मन नपर्ने अनन्त अचेल दिनकै जसो राहुलको अन्त्यष्टि भएको ठाउँमा पुगिरहन्छ र धुवाँको ठूलो मुस्लोमा रुमल्लिन थाल्छ । केही समयअगाडि उसले आफ्नै साथी जलाउँदा त्यस्तै धुवाँमा ऊ भावविह्वल भएको थियो । उसले अचानक केही समय अगाडि फेसबुकमा पढेको स्ट्याटस सम्झियोः
“लास कहिल्यै रुँदैन,
रुन्छन् केवल लास जलाउनेहरू ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

