कथा एकादेशबाट सुरु हुन्छ कि कथाकारको मस्तिष्कबाट, मनबाट कि कलमको नीवबाट ? छेउको भत्केको जिन्दगीबाट कि ‘ऊ’माथिको घरबाट ?
जहाँबाट सुरु भएको होस्, कथा त कथा नै हुन्छ । कथालाई व्यथा मान्नु हजुरको भूल । कथालाई व्यथा देख्नु झनै ठूलो भूल । कथा त कथा नै हुन्छ ।
मलाई कथा मन पर्छ नकि व्यथा । उसो त व्यथा भन्दा दुखाइ बुझ्नुहोला, आँसु बुझ्नुहोला ! हजुरको बुझाइलाई गलत भनिहाल्न पनि सक्दिनँ । र, मेरो बुझाइलाई पनि हजुर गलत नबुझिदिनुहोला ।
मेरो मस्तिष्कमा हजारौं कथा छन् । प्रेमका, बिछोडका, हाँसोका, आँसुका । संघर्षका, सजिलोका, मुस्किलका । यद्यपि, सबै कथा भनिन्न/लेखिन्न रहेछ ।
हजुरलाई रातो कथा सुनाउँछु ।
रातो क्रान्तिको प्रतीक, खतराको चिन्ह, रातो प्रेमको चिन्ह (?) । भर्खर लेखिएको प्रेमको चिन्हनेर प्रश्नवाचक चिन्ह राखिदिऊँ ।
म रातोबाट सुरु भएँ । त्यहीँबाट सुरु भयो यो कथा पनि । त्यसो त यो कथा म सुरु हुनुअघिबाट सुरु भएको हुनुपर्छ । जस्तो कि मेरा आमाबाको प्रेम । बाले रातो फूल दिएर आमालाई प्रेमको लागि मनाउनुभयो ।
यहाँ पनि प्रश्नवाचक चिन्ह (?) राखिदिऊँ ।
जे भए पनि मेरी आमा-बाको जिन्दगीमा आउनुभयो । र म आएँ आमाको गर्भाशय हुँदै रातो दुनियाँमा । म आउँदा आमाको योनिबाट ह्वाल्ल रगत बग्यो । त्यो रातो ।
आमाको रगत जति त होइन, तर रातो थिएँ म पनि । व्यथा खप्दा खप्दा नीलो भएकी आमाको अनुहार पनि त म जन्मिएपछि रातो देखिएको थियो !
बाको कथा पनि रातो नै छ । आमाको गर्भाशयमा मलाई छोडेर गएका मेरा बाको जिन्दगी रातोसँगै सकियो । उहाँले मलाई रातो रूपमा देख्न पाउनुभएन । आमाको रातो लागेको लुङ्गी–पेटीकोट धुन पाउनु भएन । अनि लाज र खुसीले रात्तिएको आमाको अनुहार हेरेर मुस्कुराउन पाउनुभएन । आमाले पनि रातो मलाई बाको हातमा राखिदिन पाउनुभएन ।
क्रान्तिको रातो टीका निधारमा लगाएर गएका मेरा बा म जन्मिएकै बेला विजयको रातो झण्डा ओढेर फर्किनुभएको भए आमाले उहाँको काखमा मलाई राखिदिनुहुन्थ्यो । बाको काखमा पनि आमाको सुत्केरी रगत रातो भएर टाँसिने थियो । मलाई च्वाँक्क म्वाइ खाँदा बाको ओठमा पनि रातो लाग्ने थियो । कसले भन्छ योनिबाट बग्ने रातो अपवित्र हुन्छ भनेर ? अपवित्र भए मेरा बाले आमाको रगत लागेको मलाई चुम्नु हुने थिएन ।
रातोका यस्तै थुप्रै संयोगबीच जन्मिएँ/हुर्किएँ तर रातो बुझ्न थालेको दिनदेखि नै किन आमालाई रातो रूपमा देख्न पाइनँ । बैंशका कल्कलाउँदा रहर मारेर सेतो–नीलो लुगामा किन छोपिनु पर्यो उहाँ ? गालाको रातोपन किन खुइलिदै गयो ? भकुल्ले केटोको जिन्दगीले रातो गुलाबी रङ ग्रहण गर्दैगर्दा आमाको जिन्दगी किन कालो हुँदै गयो ? आमाले रहरका राता सपना देख्नुभएन ? या देखेर पनि बताउनुभएन ? रङसित आमाको प्रेम किन भएन ? प्रश्नको अग्ला पहाडहरू ठड्याएर किन हुर्कनु पर्यो मैले ? रङ्गहीन आमाको जिन्दगीमा रङ्गीन मान्छेले किन कुल्चिइरहे ? कुन रातो किताब पढेका मान्छेले पढायो, सेता वस्त्रधारी आमाहरू कमजोर हुन्छन् भनेर ? कुन कमजोर तन्तुले आमालाई सिकायो, सिउँदोमा, शरीरमा, हातमा रातो नहुने मान्छेको जिन्दगी अपूर्ण हुन्छ भनेर ?
अनुत्तरित प्रश्नसँगै बाँच्न सजिलो थिएन । प्रश्नमा यति गहिरिएँ कि प्रश्न नै उत्तर हो भन्ने न कसैले बुझाए, न मैले नै बुझेँ । गाँजेमाँजे प्रश्नका गुजुल्टाहरू फुकाउन सजिलो नहुँदो रहेछ । यता फुकायो उता जेलिन्छ, उता फुकायो यता जेलिन्छ । कतै फुकाउन नसकिने गाँठो पर्छ । यस्ता प्रश्नहरूको हल खोजूँ त कोसित ? आमासित ? जो आफैँ कमजोर देखिनुहुन्थ्यो । या नफर्किने बाटो गएका बासित ? या राता मान्छेहरूसित ?
आमा भन्नुहुन्थ्यो, मलाई रातो सुहाउँछ । रातो टोपी, रातो सर्ट, रातै जुत्ता अनि रातै पाइन्ट किनिदिनुहुन्थ्यो । सायद रातो रङ आमाको पनि मन पर्ने रङ थियो । उसो त मन परेका चिजहरू आफैँसित राख्न नपाइँदो रहेछ । आमालाई बा साह्रै मनपर्थ्यो रे ! आफूसित सधैँका लागि राख्न पाउनुभएन । आफूसित भएको रातो लुङ्गी, रातै ब्लाउज अनि रातो चुरा पनि घरमुन्तिरको खोल्सामा लगेर जलाउनुपर्यो रे ! तर बाको रातो–सेतो मिसिएको कोठे पाइन्ट भने आमाले आफूसितै राख्नुभयो ।
सन्जयले तेरी आमा नराम्री छ भन्थ्यो । मलाई पनि सन्जयको आमा राम्री लाग्दैनथ्यो । सन्जयकी आमा चुरा लगाउँथिन् । सिउँदोमा रातो सिन्दुर, रातै लिपिस्टिक, रातै लुङ्गी–ब्लाउज लगाउँथिन् । गाउँलेले पनि सन्जयकी आमालाई राम्री भन्थे । मलाई विद्रोह गरेर भन्न मन लाग्थ्यो– “गाउँभरिमा मेरी आमा जत्तिको राम्रो कोही पनि छैन । तिमीहरू जस–जसलाई राम्रो भनिरहेछौ, तिनीहरू यसकारण राम्रो देखिन्छन् कि, क्रिम पाउडर र राम्रा लुगा लगाउँछन् । तिनीहरूले काम गर्नुपर्दैन । लोग्नेले ल्याइदिएको नयाँ लुगा, राम्रो पोषिलो खानेकुरा खाएर दिनभरि सुत्छन् । मेरी आमाजस्तो घामपानी नभनी मेहनत गर्न परेको भए तिनको अनुहारमा कालो दाग बस्ने थियो । तिनको लोग्नेले चिन्न इन्कार गर्ने थिए । लुगा पनि धुलोमैलो हुने थियो । छिमेकीले छिःछिः भनेर घृणा गर्ने थिए । आफन्तले फोहरी गरीब भनेर हेला गर्ने थिए । तिनीहरूले पनि काम र पैसा माग्न भनेर धनी मान्छेहरूको घरघरमा पुग्नुपर्थ्यो । छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता गर्दागर्दै अनुहारको छाला चाउरिने थिए ।
मान्छेहरूले राम्रो देख्ने भनेको भरिलो यौवन, मेकअपले चिल्लो भएको अनुहार त रहेछ ! यौवन त मेरी आमासित पनि थियो । तर उहाँले सम्हाल्न सक्नुभएन या सम्हाल्न चाहनुभएन ? विशेषगरि महिलाहरू आमालाई आँखा फुट्न रुचाउदैनथे । मेरो बुझाइमा पुरुष साथमा नहुनु आमालाई गर्ने हेलाको कारण थियो । आमाको कमजोरी पनि पुरुषसाथ नहुनु नै थियो । उहाँलाई मेरो पीर लाग्थ्यो । कमाएर खुवाउने बा छैनन् । यसो गर्नुपर्यो र उसो गर्नुपर्यो भनेर सिकाउने बा छैन । घरको नेतृत्व गर्न सक्ने पुरुष छैन ।
पुरुषबिना आइमाईहरू कमजोर हुन्छन् रे ! आमा मलाई कमजोर लाग्दैनथ्यो । मान्छेका वचन हाँसीहाँसी पचाउने, भोक र अभावसित मुस्कानका साथ जुध्न सक्ने मान्छे कसरी कमजोर हुनसक्छ ? कमजोर त ती हुन् जो साहाराबिना बाँच्न सक्दैनन् । आफैँ अन्नका दाना फलाउन सक्दैनन्, न त कमाउन नै सक्छन् ।
तर के आमालाई आफू बलियो छु जस्तो लाग्थ्यो ? अहँ, लाग्दैनथ्यो । आममान्छेसित आमाको सोच पनि मिल्थ्यो । उहाँलाई बाबिना अपुरो छु भन्ने लाग्थ्यो ।
घँचेढ्दै र चिप्लिदै हुर्किएको फुच्चेसित ‘पुरुषबिना’ शब्दको अर्थ बुझ्न सक्ने विस्तृत दिमाग थिएन । मेरो बुझाइमा त बा नहुनुको अर्थ घरमा पैसा नहुनु, भने जस्तो लुगाफाटो र खानेकुरा नहुनु थियो । आमा पनि, “तेरो बा भाको भा मिठो खान्थिस्, राम्रो लाउथिस्” भनिरहनुहुन्थ्यो । मानौं, लुगाकपडा र खानेकुरा त बाले मात्रै ल्याउनुहुन्छ ।
आमाले पनि त काममा जाँदा अरूले दिएको खाने कुरा च्यापेर ल्याइदिनुहुन्थ्यो । दालचामल किनेर उब्रिएको पैसाले दोकानका खाने कुरा ल्याइदिनुहुन्थ्यो । आफूले फाटेको लुगा लगाए पनि मलाई नयाँ लुगा ल्याइदिनुहुन्थ्यो । सन्जयको बाले ल्याइदिएको लुगा पनि मेरै जस्तो हुन्थ्यो । उसले खाने कुरा पनि मेरै जस्तो हुन्थ्यो । त उसको बा र मेरी आमाबीच कस्तो फरक ?
यस्ता तमाम प्रश्नको उत्तर खोज्ने क्रममा म बुझ्थेँ, सन्जयको लुगा मेराभन्दा महङ्गा हुन्छन् । खाने कुरा पनि हरेक छाकमा फरक फरक स्वादका हुन्छन् । मेरो बा हुनुभएको भए म पनि सन्जय जस्तै हुन्थेँ ।
अल्लारे उमेर छँदै गाउँलेले मलाई घरको जिम्मेवारी उठाउने सल्लाह दिए । जस्तो कि, गाउँको पूजामा घरको नेतृत्व गरेर जानू, घरको व्यवहार सम्हाल्नू, आमालाई भान्छामा राखेर कमाउन जानू, बिहेभतेरमा म आफैँ जानू । तर आमा त आमा हुनुहुन्थ्यो । पढाइ छुटाएर यी सबै काममा भुलिबस्न दिनुभएन । उहाँ सम्झाउँदै भन्नुहुन्थ्यो– “तँ खुरुखुरु स्कूल जा । पढिनस् भने तँ पनि तेरो बा र म जस्तै हुन्छस् ।”
सन्जयको बा त सन्जयलाई आफूजस्तै बनाउन चाहन्थे तर मेरी आमालाई भने छोरालाई आफूजस्तै बनाउने रहर किन नलागेको होला ? या बाजस्तै बनाउन किन नचाहनुभएको होला ? मलाई पढ्न भन्दा अरूको मेलापात गर्न, आफूले सकेको काम गर्न सजिलो लाग्थ्यो । काम गरेपछि पैसा पाइन्छ, पैसा आएपछि घरमा खाने कुरा आउँछ । पेटभरि खाने कुरा खाएपछि साह्रै राम्रो नीद पर्छ । बिहान उठ्दा पनि जिउमा थकान हुँदैन । फेरि उठेर खुरुखुरु काममा जान सकिन्छ ।
यति सामान्य कुरा खै आमाले बुझेको ?
मेरो सोचको बाटो एकदमै सोझो थियो । जिन्दगीको उद्देश्य भनेको कमाउनु, खानु र निदाउनुबाहेक अरू केही हुनै सक्दैन । अनि आमा मेरा लागि बाँच्नुपर्छ, म आमाका लागि बाँच्नुपर्छ । एकदम सामान्य ।
वल्लाघरे काका, पल्लाघरे झ्याबै बाँचून् वा मरून्, पेटभरि खाऊन् या भोकै निदाऊन, यी सबै मेरो सोचको विषयभित्र पर्दैनन् । किन ? किनको जवाफ पनि सामान्य नै थियो । जसको जवाफ जो कोही जान्दथे ।
जिद्दी आमाले स्कूल छुटाउन कहिल्यै दिनुभएन । अतः गाउँलेको मलाई घरमुलीको रुपमा देख्ने रहर पूरा हुन पाएन । त्यतिन्जेल सन्जय र मबीचको फरक पनि बुझिसकेको थिएँ । ऊबेला आमाले बुझाइदिनु भएको थियो, बा नभएर मैले प्रशस्त खान र महङ्गा लुगा लगाउन पाइन । तर आमाले बुझाइदिनु भएको सत्य पूरै सत्य होइन रहेछ । हामी गरीब भएको बा नभएर हैन रहेछ । सन्जयहरू धनी भएका सन्जयको बा ज्यूँदो भएर होइन रहेछ । ती धनी कहलिएका बाजेबराज्यूको अचल सम्पत्ति भएकोले रहेछ । नत्र सन्जयको बाले कमाउने जति त मेरी आमाले पनि कमाउनु हुन्थ्यो । ठीक छ, सन्जयको बाको जति सजिलो, इज्जतिलो काम थिएन होला । तर कमाइ त कमाइ हो नि !
बुझेँ, हात पाखुरा बजाउनु र कमाउनुबाहेक जिन्दगीको अर्को लक्ष्य नहुँदो रहेछ । मेरो जिन्दगीको लक्ष्य पनि कमाउनु, कमाउनु र कमाउनु मात्रै थियो । मान्छेले काम दिऊन् र पैसा दिऊन्, यति भए सकिइहाल्यो । थाक्न मनाही छ । थाक्यो भने भरे कसौंडीमा चामल कसले हालिदिने ? अल्छी बन्यो भने पेट कसले भरिदिने ? मान्छे रक्सी पो सित्तैमा खुवाउछन्, भात त खुवाउन्नन् ।
मैले कमाउन सुरु गरे ताकै हो, आमालाई भनेँ– अब हजुर घरमा बस्नूस् ।
अमिलो भएर आमाले भन्नुभयो– त्यसो भए घर पनि सम्हाल्न सक्छस् होला ।
जवाफमा भनेँ– सक्छु नि, किन सक्दिनँ ?
आमाले मुस्कुराउदै भन्नुभयो– घर सम्हाल्ने भनेको भाततिहुन जुटाउन मात्रै हैन ।
त्यसो भनेको तीन महिनापछि आमा पोइला जानुभयो । गाउँले अचम्म परे । म भने अचम्म पर्न भ्याइनँ । कस्तो प्रतिक्रिया जनाउने भन्ने सोच्न पनि भ्याइनँ । हप्तादिनसम्म ढोका थुनेर रोइरहेँ । आमा मेरा लागि, म आमाका लागि बाहेक तेस्रो व्यक्तिका लागि हाम्रो जिन्दगीमा अनुमति थिएन । त आमाबाट के भयो ?
गाउँलेले कानेखुसी गरे । छिमेकीले औंला भाँचेर आमा र आमाको नयाँ दुलाहाको उमेर हिसाब पनि गरे । मेरी आमाको नयाँ दुलाहाको मरेकी श्रीमतीको उमेर पनि निकाले । मेरा बाको त झन् भन्नै परेन । मैले पनि पहिलोपटक मेरी आमाको उमेर थाहा पाएँ । चालीस वर्ष, हो चालीस वर्ष ।
आमाको उमेर थाहा पाएपछि छिमेकका आइमाइहरूलाई हेरेँ, जसको उमेर पनि चालीसकै सेरोफेरोमा थियो । ती चिल्ला थिए, राम्रा पनि थिए । मैले पहिलोपटक ती आइमाइहरूलाई आमाभन्दा राम्री देखेँ । ती आफू जत्रै छोराछोरीलाई पकाउँथे, खुवाउँथे । लुगा पनि धोइदिन्थे । लोग्नेलाई पनि पकाएर खुवाइवरी काममा पठाउँथे ।
आठौं दिनको दिन सन्जयले भन्यो– बुढेसकालमा तेरो आमालाई बैंश आएछ । त्यो उमेरमा पनि किन पोइ चाहिएको होला ?
सन्जयको बाले थपे– छोराछोरीले ब्याहा गर्ने बेलामा कोहीकोही मान्छेलाई किन पोइला जान परेको होला ?
थुप्रै महिनासम्म मान्छेका यस्तै प्रश्न सुनिरहेँ । तिनले जवाफ मसित मागेका थिएनन् त किन प्रश्न मसित गर्थे ?
झण्डै छ महिनापछि आमा भेट्न आउनुभयो । पहिलेभन्दा उज्यालो देखिनुभएको थियो । आमाको दुलाहाले भने– तातो पानी तताउने मान्छे चाहियो भनेर ब्याहा गरेको बाबु । तँ आमासित नरिसा है !
गज्जब बूढा ! चौवालीस वर्षको उमेरमा तिनलाई पानी तताउने मान्छे चाहियो । भावानात्मक साहराका लागि तिनले आमालाई बिहे गरेका होइनन् । तातोपानी तताउन र मैलो लुगा धुनमात्रै बिहे गरेका हुन् । मेरी आमाको मूल्य भनेको त्यति नै रहेछ । तर आमालाई ती बूढाका लुगा धुन, तातोपानी तताउन आपत्ति छैन । कुन मोहले आमा ती बूढातिर तानिनुभयो ? शारीरिक आकर्षण मात्रै बूढातिर तानिनुको कारण पक्कै होइन । उहाँहरूबीच प्रेम पनि त थिएन ! त त्यस्तो कुनचाहिँ कारण थियो, आमा त्यो बूढासित बिहे गर्न राजी हुनुभयो ? हामीबीच कहाँनेर कस्तो दरार थियो, र त्यो राँडो बूढाले प्रवेश गर्ने मौका पाए ? या आमा आफैँले बाटो बनाएर राँडो बूढासम्म पुग्नुभयो ?
आमाले मेरो टाउको मुसार्नुभयो । अनि बिस्तारै छातीमा टाँस्नुभयो । मलाई आमाको काखमा टाउको राखेर खुब रुन मन लागेको थियो । तर मन लाग्नु र आँखाबाट आँसु आउनु अलग कुरा रहेछ । आँसु आएन । आमाको आँखामा पनि आँसु आएन ।
आमासँग भनेँ– यो बूढोको लागि हजुरले मलाई छोड्नुभयो ।
आमाले बिस्तारै ढाडमा हान्नुभयो । उहाँलाई आफ्नो लोग्नेको बारेमा कुरा गरेको मन परेन । त्यो बूढो पनि आमाकै छेउमा बसेर खाउँलाझैँ मलाई हेरिरहेको थियो ।
आमा पटाहाबाट उठेर आँगनको छेउमा जानुभयो । उहाँले आँगन छेउमा रोपी छोड्नुभएको पतेना, फूलका बोट जम्मै पानी, मल र गोडमेल नपाएर सुकिसकेको थियो । उहाँले ती सुकिसकेका बोटहरूलाई हेरिरहनुभयो तर मलाई भने फर्केर हेर्नुभएन । म पनि त आमाको माया र साथ नपाएर कस्तरी सुकिसकेको थिएँ । साँझबिहान “खा खा” भनी करकर गरिरहने आमा नभएपछि आफैँलाई घुर्क्याउँदै भोकै हिँडेको महिनौँ भैसकेको थियो । भरिलो ज्यान खिस्रिक्क भएको आमाले किन याद गर्नुभएन ?
आमाले उदास आँखाले मतिर हेर्नुभयो तर उहाँको सिउँदोको सिन्दुर, शरीरको रातो चोलो अनि रातै लुङ्गी भने उदास थिएनन् । ती सिरसिर बताससँगै हल्लिइरहेका थिए । आँखाको थोरै उदासिनतालाई नकार्ने हो भने उहाँको अनुहार पनि त पहिलेभन्दा चिल्लो भएछ ।
सुकिसकेका बोट हेर्दै आमाभित्र जानुभयो । आमाको पछि लागेँ म । उहाँ सिधै आँटीमा जानुभयो । अनि ध्वाँसो लागेको मधुस निकालेर बाको रातो–सेतो मिसिएको पाइन्ट निकालेर मुसार्नुभयो । त्यो पनि त आमाको निधारजस्तै मुजैमुजा परिसकेको थियो ।
बाको त्यो पुरानो पाइन्ट दिँदै आमाले भन्नुभयो– खोल्सातिर लगेर फाल्दे केटा । मान्छेको हाड त गलिसक्यो । यो थोत्रो पाइन्ट आफूसित राखेर घाउ बल्झाउँदै बसेर के हुन्छ ?
बाको पाइन्ट मेरै हातमा छोडेर उहाँ ओर्लनुभयो, अनि जान्छु पनि नभनी आफ्नो लोग्नेको अघि लागेर जानुभयो । मलाई साह्रै नमज्जा लाग्यो । आँगनमा उभिएर हुरुर्र.. चलेको बतासले उडाइल्याएको पातपतिङ्गगर र धुलो खाँदै बसिरहेँ ।
एक मन त लाग्यो बतासकै तालमा आमालाई उछिन्न जाऊँ, अनि आमा र आमाको लोग्नेलाई बाटो रोकेर भनूँ– जाम्, मसितै बसम् । हजुर दुईजनाको लागि तातोपानी पनि मै तताउँछु । चामल र नूनतेलको जोहो पनि मैँ गर्छु । ढाड दुखेको बेला तातो तेल पनि मैँ लगाइदिन्छु तर हजुरहरू मसित बस्नुपर्छ । मलाई आमाको नराम्रो आदत छ । यत्रो जिन्दगी कसरी आमाबिना गुजारूँला ?
तर मनले भन्यो– यत्रो महिना आमाको खबर लिईबिना बाँचिस् । अब केको आमाबिना कसरी बाँचुँला भन्दैछस् !
बतास चलिरह्यो । बतासले पातपतिङ्गर र धुलोमात्र उडाएन, गोठको छानो पनि उडाए छ । आमा पोइला हिँडेपछि रित्तिएको गोठको छानो बतासले उडाउँदा साह्रै नरमाइलो लाग्यो । त्यो रित्तो गोठ र ममा के फरक छ ? त्यसको पनि छानो उडाएको छ, मेरो पनि जिन्दगीको छानो सधैँका लागि हावाले उडाएर लगेको छ ।
छानोबिनाका गोठ, घर र जिन्दगीको अस्तित्व नहुँदो रहेछ हगि ?
रामपुर, पाल्पा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।