१. विषय प्रवेश
विश्व साहित्यिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशमा दैनिक डायरी लेखन वा दैनिकी लेखनको विशिष्ट भूमिका रहँदै आएको छ । एउटा विशिष्ट साहित्यकार, राजनीतिकर्मी, समाजसेवी, कर्मचारी, उद्योगपति, दार्शनिक, वैज्ञानिक आदि सबैले दैनिकी लेख्न सक्छन् त्यसैले यसको साहित्यिक महत्त्व मात्र देखा पर्दैन । कुनै पनि क्षेत्रमा सफलता प्राप्त व्यक्तिले दैनिक रूपमा टिपोट गरेका कुराहरूलाई प्रकाशन गर्दा विश्वसाहित्य वा राजनीतिका क्षेत्रमा तिनको ऐतिहासिक महत्त्व रहँदै आएको देखिन्छ । दैनिक डायरी लेखन त्यति विशिष्ट कुरा होइन तापनि त्यस लेखक व्यक्तित्वको सामाजिक प्रतिष्ठा, राष्ट्रिय उचाइ र अन्तर्राष्ट्रिय छविका कारण त्यस डायरीको पनि विशेष महत्त्व रहने हुनाले सुरुमा सामान्य रूपमा टिपिएका कुराहरूले पनि कालान्तरमा ऐतिहासिक महत्त्व प्राप्त गर्ने अवस्था दैनिकीमा हुने गर्दछ । लेखनको शैली एउटै भए पनि विद्यालयमा पढाइने र लेख्न सिकाइने दैनिकी र दैनिक डायरी लेखनको स्वरूपमा तात्त्विक अन्तर हुने गर्दछ । यसमा लेखन कलाभन्दा पनि कथ्य विषय र लेखक व्यक्तित्वको प्रभाव बढी हुने हुनाले पाठ्यसामग्रीका रूपमा तयार पारिएको नियोजित दैनिकीभन्दा यो अलि अनौपचारिक हुने गर्दछ । यस लेखमा त्यही ऐतिहासिक मूल्य र महत्त्व बोकेको दैनिकी (डायरी लेखन) का बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. दैनिकीको सैद्धान्तिक स्वरूप र परम्परा
संस्कृत व्याकरणअनुसार ‘दो (दी)+नक्’ निर्माण प्रक्रियाबाट बनेको ‘दिन’ शब्दमा ‘इक’ प्रत्यय जोडिएर बनेको ‘दैनिक’ शब्दको अर्थ दिनै, दिनहुँ, दिनैपिच्छे भन्ने हुन्छ । त्यही ‘दैनिक’ शब्दमा ‘ङीप् (ई)’ प्रत्यय लागेर बनेको ‘दैनिकी’ शब्दले सामान्य रूपमा हेर्दा दिनैपिच्छेको अर्थ दिन्छ भने विशिष्ट साहित्यिक सन्दर्भमा हेर्दा दैनिक घटनाहरूको टिपोटबाट निर्माण भएको एउटा विशिष्ट कला, विशेष सिर्जना वा विशेष विधा भन्ने जनाउँछ । निर्माण प्रक्रियागत रूपमा हेर्दा ‘द्युति तमः दो (दी)+नक्+इक+ङीप् (ई)’ प्रक्रियाबाट बनेको दैनिकी शब्दले लेखनको एउटा विशिष्ट पोटोलाई बुझाउने गर्दछ । साहित्यिक विधागत सन्दर्भमा चाहिँ यसले प्रत्येक दिनलाई विषयवस्तु वा घटनाको केन्द्र मानेर त्यसलाई सूचनात्मक एवम् मनोरञ्जनात्मक दुवै स्वरूप प्रदान गरी लेखिने रचनालाई सङ्केत गर्ने गर्दछ ।

यसैलाई पाश्चात्य जगत्मा डायरी लेखन (Diary Writing) भन्ने गरिन्छ । ल्याटिन शब्द Diarium बाट बनेको Diary शब्दको अर्थ श्रमिकहरूलाई दिइने दैनिक सुविधा भन्ने हुन्छ । यसैको अर्थ विस्तार हुँदै गएर दैनिकीसम्म आइपुगेको देखिन्छ । वर्तमानमा भने यही डायरीलाई लेखनसँग जोडेर डायरी लेखन भन्ने गरिएको हो । यसको महत्त्व साहित्यिक क्षेत्रमा मात्र नभएर विविध क्षेत्रमा हुने गरेको देखिन्छ । पाश्चात्य जगत्मा सुरु सुरुमा प्रकाशन नगर्ने उद्देश्यले डायरी लेखनको थालनी भएको पाइन्छ । आफ्ना भोगाइ, अनुभव र सूचनाहरूको दैनिक टिपोट गरेर स्मरणका लागि सुरक्षित गर्दागर्दै यसले एउटा विशिष्ट सिर्जनाको स्वरूप प्राप्त गरेको तथ्य फेला पर्दछ ।

डायरी शब्दको प्रथम प्रयोग सन् १६०५ मा भएको हो । त्यस समयमा यसलाई दैनिक हिसाबको रेकर्ड राख्ने सन्दर्भमा प्रयोग गरिएको थियो । सन् १८०० भन्दा पहिला व्यापार र कृषिका सन्दर्भमा दैनिक टिपोटहरू गर्ने प्रचलन रहेको थियो । यसका अतिरिक्त धार्मिक विश्वास गर्नेहरूले आफूले गरेका कुकर्महरूबाट उत्पन्न पाश्चात्तापलाई डायरीमा उल्लेख गर्ने गर्दथे । सन् १८१८ मा प्रकाशित जोन एभलिनको ‘दि डायरी अफ जोन एभलिन’लाई विश्वको पहिलो प्रकाशित डायरी मानिन्छ । यसको लोकप्रियताले गर्दा उक्त डायरी प्रकाशन भएको ठिक दुई वर्षपछि सन् १८२० मा नै डायरी प्रकाशनले दोब्बर गति लिएको र सन् १८३० पछिका २० वर्षसम्म यसले उत्कर्षता प्राप्त गरेको तथ्य फेला पर्दछ । यही समयमा लेखकहरूले डायरीको ढाँचामा उपन्यासहरू पनि लेख्न थालेको पाइन्छ । साम्युल रिचार्डसनको ‘पामेला’ (Samuel Richardson’s Pamela) र इमिली ब्रोन्टको ‘वुदरिङ हाइट्स’ (Emily Bronte’s Wuthering Heights) डायरीका ढाँचामा लेखिएका उल्लेखनीय औपन्यासिक कृति मानिन्छन् । यिनको महत्त्व डायरी लेखनका सन्दर्भमा मात्र नभएर विश्वप्रसिद्ध औपन्यासिक कृतिहरूका सन्दर्भमा पनि उत्तिकै रहेको पाइन्छ । यसपछि भने चाल्र्स डार्बिन, लियोनार्दो दा भिन्ची, मेरी क्युरी, विन्स्टन चर्चिल, मार्को पोलो, एनी फ्र्याङ्क आदिका डायरीहरू विश्वचर्चित छन् ।

यसरी नै हरेक देशका राजनीतिक, साहित्यिक, दार्शनिक एवम् सामाजिक व्यक्तित्वहरूका डायरीहरूको ऐतिहासिक महत्त्व रहँदै आएको छ । भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु आदिका डायरीहरू र बङ्गलादेशमा सेख मुजिबुर रहमानको ‘बङ्गबन्धुका जेल डायरी’ जस्ता कृतिहरूको ऐतिहासिक महत्त्व रहेको देखिन्छ । नेपालमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेलजर्नल’ र श्यामप्रसाद शर्माको ‘थुनुवाको डायरी’ जस्ता कृतिहरूको राजनीतिक तथा साहित्यिक क्षेत्रमा विशेष महत्त्व रहँदै आएको छ ।

समालोचक नेत्र एटमले व्यक्तिको आत्म प्रबोधन र समयस्थानको तीव्र जीवन्तता नै दैनिकीको शक्ति हो भनेका छन् । उनले यसको सिर्जनात्मक महत्त्वका बारेमा स्पष्ट पार्दै भनेका छन्, “व्यक्तिगत सम्बन्धका घटना, कार्य, चिन्तन र अवलोकनसम्बन्धी दैनिक अभिलेख राखिने गद्य रचना, दिनको मितिसहित व्यक्तिको क्रमिक र वस्तुगत बुँदा वा प्रस्तुति रहने हुनाले दैनिकीलाई संस्मरण, आत्मकथा वा जीवनीको आधिकारिक स्रोत मानिन्छ । आत्मचिन्तनमा लीन हुने व्यक्तिको दैनिकीमा सिर्जनात्मकता र वैचारिकताको उच्चस्तरीय प्रकटीकरण हुन सक्छ भने अरूसँगका व्यवहार, संवाद, दृष्टिकोणबाट दैनिकीकारको आत्मप्रकाशन हुन्छ ।” प्रस्तुत भनाइले एकातिर दैनिकीको सिर्जनात्मक महत्त्वलाई स्पष्ट पारेको छ भने अर्कातिर संस्मरण, आत्मकथा र जीवनीको मूल स्रोतका रूपमा र तत्सम्बन्धी सिर्जनाको आधिकारिक सामग्रीका रूपमा पनि दैनिकीको विशेष महत्त्व रहने कुरालाई पुष्टि गरेको छ । यसका आधारमा हेर्दा यदि दैनिकीकार साहित्यिक व्यक्तित्व रहेछ वा उसको अभिव्यक्तिकलामा सिर्जनात्मक क्षमताको प्रकटीकरण भएको छ भने त्यो दैनिकी कलामूल्यका दृष्टिले पनि उच्चकोटिको हुने हुनाले साहित्यसँग यसको प्रगाढ सम्बन्ध रहेको हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यसैले अनौपचारिक रूपमा गरिने दैनिक टिपोट, व्यक्तिगत घटनामा आधारित विषय व्यवस्थापन, भोगाइ र अनुभूतिको अन्तर्घुलनबाट सिर्जित कलादृष्टि र सत्यतामा आधारित दैनिक शब्दचित्रलाई दैनिकी भन्न सकिन्छ ।

३. दैनिकी हुनका लागि के के चाहिन्छ ?
दैनिकी सिर्जनात्मक सन्दर्भमा अत्यन्त कम लेखिन्छ । यसको थालनी नै प्रकाशन नगर्ने उद्देश्यले गरिएका टिपोटबाट भएको हुनाले यसको प्रकाशन कम मात्र भएको हो तर दैनिकीहरू जति लेखिएका छन् र जति प्रकाशन भएका छन् ती नेपाली साहित्य र राजनीतिक सन्दर्भमा अत्यन्त लोकप्रिय बनेका देखिन्छन् । दैनिकी लेखकले गर्ने दैनिक टिपोटको उद्देश्य जस्ताको तस्तै प्रकाशन गर्ने हुँदैन । यसमा सूचना, घटना र विवरण सुरक्षित गर्ने र पछि त्यसलाई सिर्जनात्मक स्वरूप प्रदान गरेर आत्मसंस्मरण वा आत्मकथा लेख्ने उद्देश्यले डायरी लेखन गर्ने गरिन्छ । कतिपयले त्यसलाई पछि आत्मसंस्मरण वा आत्मकथामा रूपान्तरण गर्न भ्याउँछन् भने कतिपयको सो कार्य गर्न नभ्याउँदै निधन हुन्छ । स्रष्टाको निधनपछि प्रकाशन भएका अनौपचारिक शैलीका दैनिकीहरू पनि निकै रोचक वा मनोरञ्जक हुने गर्दछन् । यसका साथै कतिपय अवस्थामा तिनै टिपोटहरूलाई आधार मानेर लेखकको जीवनकालपछि अरू कसैले उसको जीवनी लेखिदिएको पनि पाइन्छ । यस समयमा भने यी दैनिकीहरू सूचनाका मूल स्रोत बन्ने गर्दछन् ।

समालोचक एटमले दैनिक व्यवहार, अनुभूति, कल्पना आदिका अभिलेखनका निम्ति लेखिएका दैनिकीले पछि गएर महत्त्वपूर्ण साहित्यिक, ऐतिहासिक वा दार्शनिक व्यापकता पनि प्राप्त गर्छन् किनभने तिनले विशेष समयमा व्यक्तिको मानसिकतामा उत्पन्न प्रतिक्रियालाई समेट्न सकेका हुन्छन् भन्दै दैनिकी लेखनका लागि समयगत रैखिकता, आत्मबोध, तत्क्षण अनुभूतिको रूपान्तरण र स्मृति, इन्द्रियबोध र कल्पनाको सहसम्बन्ध जस्ता चारओटा मूलभूत तत्त्वको विशेष उल्लेख गरेका छन् । यिनको सिर्जनात्मक अन्तःसम्बन्धका बारेमा स्पष्ट भएर गरिने दैनिकी लेखन आफैँमा एउटा विशिष्ट साहित्यिक कृति बन्न सक्छ । यिनका बारेमा दैनिकी लेखक थप स्पष्ट हुनु जरुरी छ—

(क) समयगत रैखिकता
दैनिकीमा समय र घटनाको टिपोट अनिवार्य मानिन्छ । हरेक दिन बिहानदेखि बेलुकासम्ममा कुन समयमा के के भयो वा के के गरियो भन्ने कुराको क्रमबद्ध टिपोट गरिने हुनाले समयगत रैखिकतालाई यसको प्रमुख तत्त्व मानिएको हो । यो सामान्य लेखक र साहित्य सर्जक दुवैका लागि महत्त्वपूर्ण छ । सामान्य लेखकले अनौपचारिक रूपमा समय र घटनाको क्रमिक टिपोट गर्ने गर्दछ भने साहित्य सर्जकले समय र घटनालाई कलात्मक तरिकाले अभिरेखाङ्कन गर्दै गएर अन्त्यसम्म पुग्ने गर्दछ । यसमा मितिको टिपोट सबैभन्दा माथि हुन्छ भने त्यसपछिका समयका खण्डहरू एक एक घटनासँग जोड्दै लेखिने गर्दछन् । त्यसैले समयगत रैखिकता दैनिकीका लागि अनिवार्य तत्त्व मानिन्छ ।

(ख) आत्मबोध
दैनिकी लेखन निजी घटना र अनुभवहरूको संयोजन हो । जब स्रष्टाले आत्मबोध गर्छ अनि उसको टिपोट पनि जिम्मेवारीपूर्ण बन्छ । आफूले आफूलाई चिन्नु वा बुझ्नु नै आत्मबोध हो । लेखकको व्यक्तिबोधले भन्दा सामाजिक भूमिकासहितको आत्मबोधले दैनिकीलाई ऐतिहासिक महत्त्व प्रदान गर्ने हुनाले म को हुँ ? म के लेख्दै छु ? म किन लेख्दै छु ? र मैले कसरी लेख्नुपर्छ ? आदि जस्ता प्रश्नमा केन्द्रित भएर उत्तर खोज्ने प्रयास दैनिकी लेखकले गर्नु राम्रो मानिन्छ । त्यसैले आत्मबोध दैनिकी लेखनका लागि महत्त्वपूर्ण तत्त्व मानिएको हो ।

(ग) तत्क्षण अनुभूतिको रूपान्तरण
दैनिकी त्यसै दिन लेखिने हुनाले यसमा तत्क्षणको विशेष महत्त्व रहन्छ । घटना भएको त्यही समयमा स्रष्टा अनुभूतिमा पार्ने प्रभावले दैनिकीलाई सशक्त बनाउँछ । दैनिकी लेखकमा स्रष्टा चेतना प्रबल छ भने उसले घटना र समयलाई अन्तर्घुलन गर्छ र तत्काल अनुभूतिसँग जोडेर अभिव्यक्त गर्ने गर्दछ । भोग्य समयलाई अनुभूतिमा रूपान्तरण गर्न सक्ने स्रष्टाको दैनिकी कलामूल्यका दृष्टिले पनि उच्चकोटिको मान्ने गरिन्छ । त्यसैले तत्क्षण अनुभूतिको रूपान्तरण दैनिकीको एउटा महत्त्वपूर्ण तत्त्व मानिन्छ ।

(घ) स्मृति, इन्द्रियबोध र कल्पनाको सहसम्बन्ध
दैनिकीका लागि स्मृति प्रमुख आधार मानिन्छ । जति बेला जुन घटना भयो त्यसको टिपोट त्यही समयमा गरिँदैन । दिनभरि भएका कुराहरूलाई बेलुका सम्झिएर टिपोट गरिने हुनाले स्मृति यसका लागि अनिवार्य मानिन्छ । सम्झिएका कुराहरूलाई इन्द्रियसंवेद्य बनाएर वा संवेगात्मक आलोक प्रदान गरेर टिपोट गरिन्छ । त्यस टिपोटमा कल्पनाको पनि आंशिक उपस्थिति देखिनु राम्रो मानिन्छ । स्मृति सत्यतामा आधारित हुन्छ, इन्द्रियबोध अनुभूतिसँग सम्बन्धित हुन्छ र कल्पनाले कलात्मक सौन्दर्य थप्ने काम गर्दछ । त्यसैले स्मृति, इन्द्रियबोध र कल्पनाको सहसम्बन्धलाई दैनिकी लेखनका लागि कलात्मक मूल्यका दृष्टिले हेर्ने गरिन्छ ।

(ङ) सम्प्रेषणको प्रभावकारिता (भाषा/शैली/प्रस्तुति)
दैनिकी लेखन औपचारिक र अनौपचारिक दुवै तरिकाको हुने गर्छ । अनौपचारिक लेखन केवल समय र घटनाको टिपोट हो । यसको सूचनात्मक मूल्य रहे पनि कलात्मक मूल्य रहँदैन । औपचारिक लेखन भने साहित्य नै हो । यसमा उल्लिखित सबै तत्त्वहरूको व्यवस्थित पालना गरिएको हुन्छ । औपचारिक दैनिकीको लेखक लेखनको आरम्भबाट नै गम्भीर हुन्छ र उसले हरेक घटनालाई समयक्रमअनुसार सुव्यवस्थित गर्दै र कलात्मक मूल्य प्रदान गर्दै लैजान्छ । यस प्रकारको दैनिकी लेखनमा चाहिँ सम्प्रेषणको प्रभावकारिताको विशेष भूमिका हुने गर्छ । अनौपचारिक शैली तर औपचारिक र प्रभावकारी सम्प्रेषणले दैनिकी लेखनलाई जीवन्त स्वरूप प्रदान गर्ने हुनाले यसमा प्रस्तुत गरिने भाषाशैली वा प्रस्तुतिको पनि विशिष्ट स्थान रहने गर्दछ ।

यिनका साथै दैनिकी लेखकले सम्बन्धित दिनका भिन्न भिन्न समयमा भएका फरक फरक कुराहरूलाई मात्र नउनेर तिनीहरूबाट उत्पन्न विचार वा अनुभूतिकेन्द्रित विशिष्ट कुराहरूलाई पनि कलात्मक रूपमा उद्घाटन गर्न सक्यो भने, उसले दिनभर देखेका, भोगेका, प्रत्यक्ष अनुभव गरेका र विभिन्न क्रियाकलापबाट हासिल गरेका उपलब्धिहरूलाई रचनात्मक तरिकाले उतार्न सक्यो भने र पाठकले अपेक्षा गरेभन्दा थप सूचना र मनोञ्जन प्रदान गर्न सक्यो भने त्यो दैनिकी सफल र सुन्दर मानिन्छ । दैनिकीलाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा लेखक स्वयंको हो ।

४. दैनिकी कसरी लेखिन्छ ?
दैनिकी लेखन अनौपचारिक र औपचारिक दुवै खालको हुन्छ । अनौपचारिक दैनिकी लेखनका लागि कुनै योजना, संरचना वा निर्देशित सिद्धान्तको आवश्यकता पर्दैन । औपचारिक दैनिकी लेखनमा उल्लिखित सबै कुराहरू आवश्यक हुन्छन् । विद्यालय तहमा पाठ्यसामग्रीका रूपमा रहेका र परीक्षामा लेखनका लागि दिइने दैनिकीको एउटा निश्चित ढाँचा हुन्छ । त्यसमा एउटा निश्चित विषयको केन्द्रीयतामा रहेर मिति र समयको उल्लेख गरी आत्मपरक शैलीमा बिहानदेखि बेलुकासम्मको वर्णन गरिन्छ तर एउटा विशिष्ट व्यक्तित्वले लेख्ने दैनिकीमा त्यस प्रकारको परीक्षात्मक ढाँचा हुँदैन । यसमा समय, घटना र अनुभवको शृङ्खलाबद्ध टिपोटको विशेष भूमिका हुने गर्दछ । त्यसैले एउटा लेखकले दैनिकी लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) मिति र स्थानको स्पष्ट उल्लेख
दैनिकी लेखन हरेक दिनको हुने गर्छ त्यसैले पृष्ठको माथिल्लो भागमा मितिको उल्लेख हुनुपर्छ । साथै लेखक सधैँभरि घरैमा वा एकै ठाउँमा नरहन सक्छ त्यसैले मितिसँगै स्थानको उल्लेख अनिवार्य मानिन्छ । यसमा घरमा भएको दिन मिति मात्र लेखेर बाहिर भएको दिन स्थानको पनि उल्लेख गर्ने प्रक्रियालाई पनि अँगाल्न सकिन्छ । यो हरेक दिन लेखिने हुनाले शीर्षक नदिए पनि हुन्छ तर कसैले विशेष दिनको विशेष घटनाको स्मरणका लागि शीर्षक दिने गरेको छ भने त्यो पनि राम्रै मानिन्छ । यसरी दैनिकीको थालनी गर्दा मिति र स्थानको उल्लेख अनिवार्य छ भने शीर्षक ऐच्छिक मानिन्छ ।

(ख) भूमिका खण्ड
यो दैनिकीको प्रवेशद्वार हो । यसको थालनी अत्यन्त अनौपचारिक रूपमा वैयक्तिक सन्दर्भबाट गरिन्छ । यसको सुरुमा बिहानीका दैनिक कामहरूका बारेमा सूचना दिइन्छ तर हरेक दिन एकै प्रकारका गतिविधिहरू भएका छन् भने पुनरावृत्तिबाट बचाएर फरक खालको दैनिक सुरुआत भए मात्र उल्लेख गरिन्छ ।

(ग) विस्तार खण्ड
यो दैनिकीको मूल खण्ड हो । यसमा दिनभर भएका घटनाहरूलाई समयक्रमअनुसार टिपोट गरिन्छ । उक्त टिपोटलाई अनौपचारिक भए बुँदागत रूपमा र औपचारिक भए अनुच्छेदमा राखिन्छ । यसको विस्तार गर्ने शैली कलात्मक हुन्छ र विषयवस्तुलाई प्रस्तुत गर्ने शैली विश्लेषणात्मक हुन्छ । यो खण्ड घटना र विषयको व्यापकतालाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।

(घ) निचोड खण्ड
यो खण्ड दिनभर भएका घटना र विषयवस्तुको मूल्याङ्कन प्रस्तुत गर्ने र लेखकीय विचार स्थापना गर्ने ठाउँ हो । यहाँसम्म आइपुग्दा लेखकले दिनभर भएका हरेक घटनाहरूलाई शृङ्खलाबद्ध रूपमा कलात्मक तरिकाले प्रस्तुत गरिसकेको हुन्छ । त्यसैले यस खण्डमा लेखकको निजी विचार र दृष्टिकोणसहित दैनिकीको उचित समापन गरिन्छ । यो भाग दैनिकीको अन्तिम खण्ड हो । यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ र अरूभन्दा सारगर्भित पनि हुने गर्दछ ।

यी कुराहरू सिकारु चरणका दैनिकी लेखकहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकैचोटि दिनको अन्त्यमा, एकै पटकमा वा एकै बसाइमा एउटा दैनिकी लेख्न सक्छ । यति मात्र होइन, यो दैनिकी लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने दैनिकीगत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी पनि हो ।

५. निष्कर्ष
दैनिकी लेखन वा डायरी लेखन अनौपचारिक लेखन नै हो । यसको उद्देश्य कुनै विशिष्ट सिर्जना प्रस्तुत गर्ने र लेखक वा साहित्यकार बन्ने होइन । सुरुमा श्रमिकहरूलाई प्रदान गर्ने दैनिक ज्यालादारीको सत्यतथ्य रेकर्ड राख्नका लागि डायरीमा गरिने टिपोटबाट विकसित हुँदै आएर आज यसले एउटा विशिष्ट विधागत स्वरूप प्राप्त गरेको छ । यसमा सामाजिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय महत्त्व बोकेको व्यक्तिले हरेक दिन गर्ने क्रियाकलापको स्पष्ट चित्र देख्न पाइन्छ । साथै आफ्नो कार्यक्षेत्रमा सफल र समाजमा प्रतिष्ठित व्यक्तित्वहरूको दैनिक जीवन कस्तो हुँदो रहेछ, उनीहरू कति व्यस्त हुँदा रहेछन्, उनीहरू दिनभर केकस्ता काम गर्दा रहेछन्, कस्ता व्यक्तिहरूसँग भेटघाट गर्दा रहेछन्, उनीहरूको अनौपचारिक जीवन कस्तो रहेछ, उनीहरू परिवार र आफन्तहरूका लागि कति र कसरी समय निकाल्दा रहेछन् भन्ने जस्ता दैनिक जीवनसँग जोडिएका समग्र कुराहरूको जानकारी दैनिकीबाट प्राप्त हुने गर्दछ । साथै ती व्यक्तिहरूको आफ्नो जिम्मेवारीप्रतिको चिन्तन के छ, देश र जनताप्रतिको सोचाइ के छ, भविष्यको योजना के छ, जगत्प्रतिको दृष्टिकोण के छ, कुनै व्यक्ति, समाज, राष्ट्र र विश्वप्रतिको विश्लेषण के छ जस्ता आन्तरिक कुराहरूका बारेमा पनि जान्ने वा बुझ्ने मौका यहीँबाट पाइने हुनाले प्रतिष्ठित व्यक्तिले लेख्ने दैनिकीको ऐतिहासिक महत्त्व रहने गर्दछ । त्यसैले वस्तुता, सत्यता, लेखकीय इमानदारी र घटना वा विषयप्रतिको स्पष्ट दृष्टिकोणको स्थापना दैनिकी लेखनका शक्तिहरू हुन् भने अत्यधिक कल्पना, दुर्बल पक्षको लोप, आत्मगत दुर्गुणप्रति बेवास्ता, अरूप्रतिको तर्करहित दोषारोपण, ईष्र्या, डाह र कुण्ठाको वमन तथा आत्मप्रशंसाको अविच्छिन्न प्रवाह दैनिकी लेखनका सीमाहरू हुन् ।

क्रमशः अर्को हप्ता…