८ वैशाख २०७७ (२० अप्रिल २०२०)

आज अलिक ढिलो, ४ः१० मा उठेर माथि चढेँ अनि पानी बसाएर ब्रश गर्न थाले । हिजो नुहाएको छु आज पर्दैन किनकि त्यस्तो गर्मी छैन । शर्ट र लुङ्गीमाथि एक पुलोभर लाउदा यो मौसमलाई हुन्छ ।

आजदेखि ता सधैँका कुखुरा र काग पनि कराउन छाडे । सबैभन्दा रड्डी वसन्त आयो ।

सर्वप्रम मेसेन्जर हेर्दा तीन सूचना देखे— बेलायतका भाइ रक्ष राईले पठाएको युद्ध सौन्दर्यचिन्तन ः एक परिचय शीर्षक एक ग्रन्थ इमेलमा आएको रहेछ । तर सिधै आउन सकेन । उताबाट पठाएपछि पनि घु¥यान (ट्र्याश) मा लुक्तो रहेछ । निकै दिन पत्तो पाइएन । पछि गएर अर्का भाइ गीतकार टीका चामलिङ मार्फत आइपुगेको थियो, हिजै सुत्ने बेलामा । त्यसलाई पाण्डुलिपि महलमा सुताएँ । दोस्रो आयो विराटनगरका कवि गोकुल अधिकारीको रचना महानदीको किनारबाट शीर्षकमा । तेस्रोमा किशोर पहाडीको एक क्लिप आयो । लकडाउन २८ औँ दिनको शुभकामनासँग ।

आज मलाई मन पर्ने एक टुक्रा हास्य भिजुएल आयो ।

हे भगवान्
२०२० डिलिट करके
उसको फिर से इन्टर करदो
इसमे भाइरस है (खितिति)

आज ज्यादा उन्नति भएन भन्दा पनि दिनभरि व्यस्त नै रहेको छु । भाइ लक्ष्मणले एउटा काम अह्राएका थिए । उनले लुकाइराखेका चिठीहरु एकपल्ट पढेर केही लेखिदिनु पर्ने । यो ता आफ्नै परिवार भित्रको कुरा थियो । कति चिठी काकाले लेखेका, कति मैले, कति शिवले, बैनीहरुले साथीले गर्दा गर्दा झन्डै चालीस वर्षका ती चिठी पढ्दा पत्र साहित्यको एक विशेष नमूना संग्रह बनेको रहेछ । हिजो दिनभरि पढेर सकेँ र आज बिहानदेखि लेख्न थालेर १२ बजे सम्पन्न गरेँ । यसबाट लक्ष्मण गाम्नागे नामक व्यक्ति उसको संघर्षको अतीत र त्यसमा जोडिएका हामी परिवार सदस्य आउँछन् । पढ्दा कताकति म भावुक बनेको हुँला । सो भूमिका परिचय वा मन्तव्य यसप्रकार छ ।

प्रिय साइँला, अघिका विश्वविद्यालय पाठ्यक्रममा एक चौथाइ विषयवस्तु यस्तै पत्रमा संरक्षित भाव पढिन्थे । तर टेलिफोन सेवा आएपछि त्यो कला समाप्त पारिदियो । भनौँत्यो कलामा काल पस्यो ।

त्यसबेला तिमीसँग यस्ता सम्पदा सुरक्षित होलान् ठानेको थिएन । बरु दाजुलाई सुनाएको थिएँ मेरो पनि मुसाले टोकेर, धमीराले पिसाब फेरेर बाँकी रहेका आगोपानीदेखि जोगाएका चिठीहरु एक सुटकेश होलान्— ती यो कोरोनाकाल अलिक लम्बिए एकदिन खोलेर बस्ने थिएँ भन्ने कल्पना पालिरहेको थिएँ ।

त्यसको सातौ दिनमा तिमीले प्रिय चिठीहरुतयार भएको कुरा सुनायौ । धन्य कोरोना तिमीले सर्वप्रथम हामै्र भाइलाई यो अवसर जुटायौ । २०७७ भरिमा मैले अघि भनेका तीनवटै पुस्तक चिठी (दाजुको, मेरो, तिम्रो छाप्न सक्याँै भने हाम्रो कत्रो पारिवारिक इतिहास बन्ने छ !

धन्य छ भाइ, यो प्रिय चिठीहरु संग्रह कत्रो जिज्ञासाले उत्सुकताले पढेँ । एक अक्षर नछोडी सर्वप्रथम त हामीलाई प्राप्त यो अदम्य उत्साह र चेतना प्रशंसनीय छ । त्यो अग्रजहरुबाटै प्राप्त बरदान हो । घर छोड्ने, परदेश जाने, हजार हण्डर खाने, ठोकिने, पाक्ने, बाँच्ने, नमर्ने कला आर्जन गर्नु कस्तो थियो । हामी यता लाग्यौँ— धेरै पहिले पिताहरु ताप्लेजुङ दिङ्ला, धरान, कालेबुङ त्यसपछि दोस्रोमा चालीस वर्ष अघि बनारस पुगेर पहिलो विद्यावारिधि गर्ने हाम्रो कुल गौरव जेठा दाजु, (डा. तुलसी); त्यसपछि हामी पुगेभन्दा टाढा पुगेर हाम्रो गौरवलाई उच्चा गर्ने— पछिल्लो पुस्ता आइरहेको छ । भाइ शिव, अब ता भाञ्जाभाञ्जी र छोरा छोरीले पनि भेटन्र आँटेका छन् । अष्ट्रेलियामा अतुल, फिनल्याण्डमा

यी चिठी पढेर म भावुक भएँ । सर्वप्रथम त तिम्रो भूमिका जो अत्यन्तै सफल गद्य लेखन शक्ति प्रकट गर्ने, एक सफल उपन्यासको भाषामा लेख्ने तिम्रो शिल्पले छोयो । छोटो भएपनि सम्पूर्णको सार छ, त्यसले छोइरहेको छ ।

दोस्रो चाहिँ एउटा ठूलो परिवार दश सन्तानका दुई बुबाआमा र गौरादहको अनेक छरछिमेकीले भरिएको गाउँ । एउटा लक्ष्मणलाई सम्झेर लेखिएका अनेक उद्देश्यका पत्र— एउटा नयाँ जामा ल्याइदिनू भन्दै लेख्ने बहिनी, बैंकमा ऋण तिर्ने अलिकति रकम जुटाउनु भन्दै लेख्ने बुबा, खोज्दै, अलिकति होइन अप्ठ्यारो र संकट— भित्री गाउँमा कृषि कर्मले चलेको एउटा परिवार ।

तर पितामाताको हृदयमा ती दुःखकष्ट केही थिएनन् सारा कष्टलाई लत्याएर वेवास्ता गर्दै केवल सन्तानको उज्जल भविष्यको लागि संघर्ष गरिरहने प्रेरणा ! त्यो बल, त्यो अदम्य साहस त्यो उर्जा कसरी आजसम्मै किञ्चित पनि नघटेको होला । म छक्क पर्छु र ठान्छु हामी धन्य छौँ ।

तिम्रा सम्पर्कका स्वजन छिमेकी सबैमा हास्यभाव छ । त्यही भावले ती दुःखबाधा सहेर त्यसलाई हाँसेर उडाउन सहयोग गरेको रहेछ । त्यही भावनाले अभ्यास गर्दै लाँदा आज नेपालको एक अन्तर्राष्ट्रिय प्रतिभा बन्यौ— लक्ष्मण गाम्नागे । हाम्रो परिवारका एक अमूल्य रत्न र कुलगौरव ।

यी पत्रले कोरेका जीवन गाथा हाम्रो परिवारका अतीत चित्र हुन् । कस्तो अन्धकारबाट बाँचेर हामी आयौँ र आज यहाँ यसरी हाँसेर भेला हुन सकेका छौँ ।

एकपल्ट तिमी ती दूरदराजका भीर पहरामा जागिर खाँदै आइए प्रथम वर्ष पास हुँदा कत्रो हर्ष उब्जेको थियो म एक दाजु–कम–अभिभावकलाई, यी शब्दले बताउने छन्ः

तेरो सुमार्गको चयन र मनोवलयुक्त उच्च लक्ष्यको जीवन गतिलाई मैले आफ्नै सफलता ठान्न लागेको छु र आफन्तमा भन्दै हिँडेको पनि छु । यसलाई पक्रेर कुनै परिस्थितिसँग पनि नहारी अघि बढिरहे । अब जसरी पनि तैँले आगे साल गर्नु । त्तगभकतष्यल ःयमभ िहरु हेर्नू । किताब कति जोडिस् । सत्चरित्र त जीवनको अनमोल सम्पत्ति नै हो जुन तैंले कमाइसकेको छस् । साहित्यप्रति पनि तेरो अनुराग छ यसलाई एकदिन प्रकट गर्न सक्नेछन् ।

२०४१ सालमा साहित्यको पनि प्रष्ट गोरेटो हिँड्न थालेको भाइ लक्ष्मण आज ३५ वर्ष पछि तिमी आफ्नै उन्नति शिखरमा छौ, यतिखेर नेपाली साहित्यमा तिमीसँग तुलनीय अर्काे हास्यव्यंग्य स्रष्टा, कलाकार कोही छैन । मनमा कत्रो हर्ष दौडिन्छ !
२०४१ सालमा आफ्नो परदेशी युवा पुत्रलाई यस्तो उपदेश दिने पिताजी कति हुन्थे— आज यो प्राप्ति उहाँहरुको तपस्याको परिणाम हो । त्यो मार्ग निर्देशनः

श्री नानी लक्ष्मी शुभाशिष् ।
आज नै पत्र आयो । अस्ति पनि पाएकै हो । यहाँ सबै ठिक छ । शिवलाई पनि दशैंमा घर आउने आवेदन पत्र पठाएको थिएँ, प्रत्युत्तर गरिसके, आउने भएका छन् । तिमीहरू पनि अवश्य आउनू । भैंसोले पाडो खसाल्यो हालैमा । चिल्लो त कतिको हुने हो भन्न सकिएन ।
भान्जाभान्जीलाई शुभ आशिर्वाद सुनाइदिनू । छविलाई पनि । चाँजो मिलेमा आश्विन १ गते पहाड जाने १५ गते फर्कने गरी भन्ने गोविन्द र जन्तरे दाइसँग सल्लाह छ । हेरौँ के हुन्छ ।
(यस्तो पत्र लेख्ने बुबा— हाम्रा काका पं. चिदानन्द—को ८४ वर्षको उमेर दोस्रो संग्रह विमोचन ग¥यौँ, तेस्रो तयार गर्दै हुनुहुन्छ । हामी सबैको कत्रो सौभाग्य)

मैले त्यसैबेला तिमीलाई लेखेँछुः

प्यारो लछुमन,
११।२३ को तेरो पत्र पाएँ । हुन त कुख्रेचौरी छोड्ने जस्तो त्यहाँ थियो, रै पनि मन मानेन । २–४ अक्षर नलेखी मन अडिएन र यस्तो गरिरहेछु । हामी आरामै छौँ । भाउजूको पनि सँगै जागिर शुरु भयो ।

तेरो निरन्तर प्रगतिसँगै उच्च मनोबल र स्वच्छ जीवनको निर्मल लक्ष देखेर लक्ष्मी, म साँच्चै प्रशन्न छु । यो सम्पत्ति सधैँ जोगाइ राखिदे भाइ, मैले निराश हुनु नपरोस् । जसरी पनि क्ष्।ब्।द्दलम थ्च पूरा गर । प्बतज को आसपास छाडेर टाढा नजा, बरु जागिर चाहिएन । द्य।ब्। जसरी पनि गराउने मेरो भारा भयो, तैले पहाडभन्दा ठूलो विश्वास र उत्साह बोकेर अघि बढिरहे । जीवनका हर अँध्यारा उज्यालामा मलाई सम्झे भाइ, मलाई लाख हुनेछ ।

आआफ्नो ठाउँबाट उच्च लक्ष र आदर्श राखी त्यो प्राप्त गर्न अँध्यारो उज्यालो सँगै हिँड्नु नै जीवन रहेछ । पत्र लेख है चाँडै ।

उता भूटानदेखि शिव भाइले कति प्रेम, भरोसा र उत्साहसाथ लेख्छन्–

तिम्रो प्रगति सुनेर खुशी छु । कर्तव्यरत भएर अगाडि बढौँ अवश्य सफलताले साथ दिनेछ । एकदुईवटा कुराले असन्तुष्टि पारे पनि हाम्रो भविष्य अवश्य उज्जवल हुनेछ । पहिलो वर्ष ऋभिबच गरेकोमा बधाई साथै अझै उन्नति गर्ने उत्साहका लागि शुभकामना पनि छ । पत्रमा छुट्टी कहिले हुन्छ लेख्नू । म ःबथ अन्तसम्म यहीँ हुन्छु । समय मिलेमा भेट होला, एकपल्ट क्बmअजष् आउने कोशिश गर्नू । घरको अवस्था विषयमा धेरै चिन्ता नलिनू, बिस्तारै सपार्दै लानुपर्छ सबैले मिलेर ।
यताबाट भौमा, राम, माधवा कत्रो शक्ति र विश्वासले लेख्छन् । यमुना, नर्वदा, तुलसा, प्रेम, प्रत्येक प्रत्येक तिमीलाई उठाउन, हात समातेर हिँड्न चाहने अनि परिवारलाई सुदृढ बनाउन । यसरी एक अर्कालाई उठाउने बानि हाम्रो परिवारमा सदा निरन्तर राखौँ ।

हामी एक थियौँ आपसी प्रेमले बाँधिएका । अझैँ छौँ, सधैँ रहने छौँ । हामी केवल ज्ञान, शिक्षा, साहित्यको मार्गमा लाग्न सारा परिवारैलाई प्रेरित गरिरहने छौँ ।

यो अमूल्य आर्काइव् संग्रह, सुरक्षा र प्रकाशनको लागि प्यारो साइला भाइलाई हजार आशीर्वाद छ । (पुनश्चः यो शीर्षकको अर्थ बालाई नै सोध्नू, ना.ख. जस्ताले उल्टो अर्थ लगाउन सक्छन् ।)
–दाजु गोविन्द
२० असार २०७७

साइँलो भाइ लक्ष्मण गाम्नागेलाई यो भूमिका लेखिदिएपछि एकछिन आराम गरियो । चियापानी बिस्कुट भयो । दिनमा अरु सम्पर्क भएन तर मेरो तिमी उफ्रेर के हुन्छ र काइँला! शीर्षक कविता उनै लक्ष्मण भट्टराईलाई पठाइदिएँ । एकपल्ट वाचन गरेर सुनाए, अभिसरलाई पनि पठाएँ ।

आमाको वार्षिक श्राद्ध कहिले होला ?

खगेन्द्रलाई सोधी पठाएको छु । त्यसपछि कसले राखेका दुई कविता आए । आज छन्द दिवस भन्दैछन् । नेपाली साहित्यमा एक लहर तरङ्ग नै आएको छ । त्यसमा पनि युवतीका स्वरमा गाउने र भाइबर म्यासेन्जर व्यापक गरी पठाउने, सुन्ने सुनाउने यो एक नवजागरण हो ।

आज साँच्चै सुन्दर दिन कवितामय रहेछ । अर्काे एक कविता आयो जीवनहरि शर्माको यसको गायन सरु गुरागाईंको मनोहोरी छन्दमा (स्वरमा) त्यो पनि निम्नानुसार छ (दिने)

कोरोना के हो कसरी बच्ने
जीवनहरि शर्मा

खोकी उच्च ज्वरो रुघा सँगसँगै घाँटी दुखेमा अनि,
छाती जीउ र टाउको अनि दुखे आलस्य लागे पनि ।
पानी बग्दछ नाकबाट अटुटै हाछ्युँ हुने गर्दछ,
अप्ठ्यारो महसुस भो यदि भने सेवा लिनै पर्दछ।।१।।

पञ्जा, मास्क, रुमाल नित्य सँगमा छुट्टै बसौँ बेडमा,
झन् आलिङ्गन साथ हात नमिसौँ जाँदै नजा भीडमा ।
आफू ढुक्क बनौँ र नित्य दिलले खोलेर हाँस्ने गरौँ,
माछा मासु खुबै पकाई गरमै पानी प्रशस्तै पिऊँ।।२।।

चिया भो, पुदिना र जाइफलको बेसार पानी अनि
मेथिया, कुन ल्वाँङ च्याउ अदुवा, गुर्जाे अलैँची पनि ।
ताजा हुन् फल फूल प्याज धनियाँ व्यायाम योगा अनि
खाना सन्तुलितै कफी अनि चिया खाने गरेमा पनि।।३।।

खुर्सुानी अमला जुनार जुसले पानी छिटै खानुले,
ज्यामिरै सुप कागती सरसफा गेडागुडी खानुले ।
खाना पोषण युक्त खानु घरका खेल्ने गरे खेलले,
रोगै हो खहरे हराउँछ छिटै धन्दा नमान्ने गरे।।४।।

खाना खानु पछाडि रोग जसको खाओस् सिटामोल औ,
बाक्ला हुन् कपडा चिसो कम हवस् काडी पसिना हिँडौँ ।
छाडोस् मद्य र धुम्रपान घटिया खान्पानको अर्थ छ,
कोरोना तब हुन्छ मानिस सधैँ हेला यसै गर्दछ।।५।।

रोगी धेर र वृद्ध थोर क्षमता ती व्यक्तिमा सर्दछ,
साँचो ओखत होसियार हुनु हो संङ्कल्पले टर्दछ ।
जिम्मेवार भएर कर्म गरिए हाम्रै छ यो हातमा,
आफू बाँच्नु बचाऊ आज दुनियाँ यै मन्त्र हो साथमा।।६।।

आज यस्तै भो । यसैलाई उपलब्धि वा कर्तव्य ठान्नु पर्यो । त्यसो त एउटा राम्रो विश्वकविता पनि अनुवाद गरेँ । मलेसियाली कवि राजराजेश्वरी सीताहरणको मानवताको झ्यालबाट शीर्षकमा । तर आज त्यो यहाँ नराखौँ ।