साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

पुराना स्मृतिले कसरी चर्चित चित्र बन्यो ?

एउटा बूढो मानिस कारखानाबाट गलेर फर्किएको छ । कुर्सीमा बसेको छ । उसले आफ्नो अनुहार छोपेको छ । सम्भवतः उसले दिनभरिको सारा थकानलाई एक छिन नुहेर मेटाउने प्रयास गरिरहेको छ ।

यो स्केच कतै थन्किरहेका बेला कसको होला भनी अध्ययन गर्ने क्रममा भिन्सेन्ट भ्यान गगले बनाएको प्रमाणित गर्दै यसलाई यतिबेला प्रदर्शनीमा राखिएको छ ।

नेदरल्यान्डको आर्मस्टरडमस्थित द भ्यान गग म्युजियमले यसलाई प्रदर्शनीमा राखेको हो ।

यो चित्र भ्याग गगकै प्रमाणित गरेर प्रदर्शनीमा राखेको म्युजियमलेजनाएको छ । वरिष्ठ शोधकर्ता तेइयो मिडेनड्रपले द हेग सहरमा बस्दाताका बनाएको प्रमाणित गरेका हुन् ।

यो स्केच भ्यान गगले सन् १८८२ ताका बनाएको र त्यो बेला उनी २९ वर्षका रहेको शोधकर्ता तेइयोले बताए । त्यो बेला उनले जीवनकै सबैभन्दा बढी स्केच बनाएका थिए । उनी द हेग बसुञ्जेल त्यहाँका कारखाना मजदुरसँग नजिकको सम्बन्ध बनाएका थिए । तिनका हरेक गतिविधिलाई स्केचमा उतार्ने गर्थे ।

यसका लागि कारखानाका बूढा मजदुरहरुलाई उनी आफू बसेको कोठामा निम्त्याउँथे । तिनलाई मोडलका रुपमा प्रयोग गर्थे । केही रकम पनि दिन्थे र कफी खुवाउँथे ।

यस्ता बूढाबूढीहरुलाई भ्यान गगले ‘टहुरा वृद्ध’ र ‘टुहरा महिला’ नामकरण गरेका थिए । फेला परेको यो स्केच र त्यसमा मोडल रहेका वृद्धको नाउँ भने पत्ता लगाइएको छ । अहिलेसम्म बनाइएका स्केचमा यही मात्र नाउँ अहिलेसम्म पत्ता लगाइएको हो । उनको नाम एड्रियनुस जाकोबस जुडरल्यान्ड थियो ।

यो स्केच बनाउन भ्यान गगले त्यो बेला सिकर्मीहरुले प्रयोग गर्ने मोटो पेन्सिल तथा वाटरकलर पेपर प्रयोग गर्ने गरेको शोधकर्ता तेइयो मिडेनड्रपले बताए । कागजको आकार १९ इन्च बाई १२ इन्चको रहेको छ ।

यो चित्र भ्यान गगले सन् १९८२ को नोभेम्बर अन्त्यताका बनाएको विज्ञहरुको दाबी छ । त्यो बेला उनले यस्ता धेरै स्केच बनाएका थिए ।

भ्यान गगले आफ्ना भाइ थियोलाई आफ्ना दुई वटा ड्रइङका बारेमा लेखेका थिए । ‘मैले आज र हिजो दुई बूढा मानिसको स्केच बनाएँ जो घुँडामा कुहिनो राखेर बसेका थिए । शायद म यसलाई लिथोग्राफ गर्छु होला । यो तक्लु वृद्धको चित्र निकै कारुणिक बन्न पुगेको छ,’ उनले लेखेका छन् ।

त्यो बेला उनले कुनै अखबार वा म्यागेजिनमा इलुस्ट्रेटरको रुपमा काम गर्न खोजिरहेका थिए ताकि भाइको पैसाको भरमा बाँच्नु नपरोस् ।

यो स्केच नेदरल्यान्डमा सन् १९१० देखि निजी संकलनमा रहेको थियो । यसलाई म्युजियमले २ जनवरीसम्म प्रदर्शनीमा राख्नेछ भने त्यसपछि यो संकलकको घरमा पुनः फर्कने छ ।

भ्यान गगको हराएको चित्र आफूसँग रहेको भन्दै म्युजियममा वर्षमा तीन सयभन्दा बढी दाबीहरु पर्ने गर्छन् । तिनका बारेमा म्युजियमले सोधखोज गर्ने, प्रमाणित गर्ने र सम्भव भए प्रदर्शनीमा राख्ने गर्छ ।

यो चित्र फेला पार्दा भने आफ्नो उत्साह निकै बढेको विज्ञ तेइयो मिडेनड्रपले बताए । ‘मैले जीवनको अधिकांश समय भ्यान गगकै चित्रमाथि काम गरेँ र हरेक पटक जब उनका बारेमा नयाँ दाबी आउँछ, ती दाबी गरिएका चित्रलाई मैले नजिकबाट नियाल्छु । मलाई भ्यान गगको पेन्सिलका एक एक कोतर्याइँ थाहा हुन्छ । जब म भ्यान गगको ती पेन्सिलका स्ट्रोक हेर्छु, म मदहोस हुन्छु र आफैँ पेन्सिल बोकेर कोर्न थालूँझैँ लाग्न थाल्छ ।’

(द गार्डियनबाट साभार)

प्रतिक्रिया
Loading...