माथि आकाशमा बसेर
सूर्य महाराज
हरेक महिना सङ्क्रान्ति ल्याउँछन्
वायुमण्डलमा ओजनतह नभएको भए
शायद क्रान्ति ल्याउँदा हुन् ।

समयचक्रमा रमेर
वसन्त महाराज
हरेक वर्ष नयाँ पालुवाले
प्रकृतिको भित्तो सिँगार्छन्
ऋतु चक्रमा शिशिर नभएको भए
शायद रङ्गकर्मी बन्न पाउने थिएनन् ।

हिउँदको प्रतीक्षामा
घिस्रिन्छ सर्प
शिशिरार्तव शयनका लागि
काँचुली फेर्न

शरद्शोभा

वसन्तको स्वागतका लागि
हिउँदमा सर्पले काँचुली नफेरको भए
शायद वसन्त आउँदैन थियो कि ?

वर्षायामको निम्तामा
ट्वारट्वार गर्छन् भ्यागुत्ताहरू
जमेको पानीमा सामूहिक सम्भोग गर्दै
आफ्नो वर्ग विस्तार गर्न
वसन्तले प्रकृतिको भित्तो नसिङ्गारेको भए
शायद भ्यागुत्ताले वर्ग विस्तार गर्ने थिएन ।

बदलिँदो पर्यावरणमा
मनमाफिक उडिरहेको चिल
उड्दाउड्दै प्वाँख झार्छ
मन्द-मन्द बतासमा
नाचिरहेछ एक्लो प्वाँख
तर कति समयका लागि ?
शायद झर्नु नै छ धरतीमा त्यो एक्लो प्वाँखले ।

खोलाले मूलबाटो भुलेका बेला
ओल्टोकोल्टो सहँदै
साबिककै ठेगानामा फर्कने आशमा
उभिएर खोलाको दुई भङ्गालोबीच
घुर्मैलो–घुर्मैलो रोमाञ्चक
मन्द–मन्द उत्तेजक
एक्लो प्वाँखको नाच नदेखेको भए
शायद यो कविता लेखिने थिएन ।

महाङ्काल –४, कालेश्वर, ललितपुर