
सृजन कठिन छ । ध्वंस सरल छ । तोड्न सजिलो छ । जोड्न गाह्रो छ । उखेल्न सजिलो छ । रोप्न गाह्रो छ । अतीततिर आँखा लाउँछु; पुल काट्न सजिलो थियो । मान्छेका जनैटुप्पी छिनाल्न झन् सजिलो थियो । स्कुल बन्द गर्न सजिलो थियो । उद्योग यातायात बन्द गर्न सजिलो थियो । त्यतिखेरका हर विध्वंसका कार्यहरू बहुत सजिलोसित सम्पन्न भएका थिए । एक आह्वानमा बजार बन्द हुन्थ्यो । बिजुली र टेलिफोनका टावर सजिलै ध्वस्त गरिन्थे । बाटो सजिलै भत्काइन्थ्यो ।
स्कुलमा आगो झोस्न सजिलो थियो । अस्पतालमा बम हान्न पनि सजिलो थियो । मानिसको ज्यान लिन सजिलो थियो । जुनसुकै पक्षले लिए पनि सजिलै ढुकुर मारेझैँ मान्छे लडाउँथे । बरु ढुकुर मार्न गाह्रो थियो । मान्छे मार्न सजिलो थियो ।

पुण्य कार्की
अकल्पनीय ध्वंसपछि आज सृजनको सँघारमा उभिएका छन् मान्छेहरू तर सृजनको लय समात्न नसकेर रन्नभुल्ल छ देश । थाहा हुँदै छ- जलाउन सजिलो हुँदो रहेछ । फलाउन गाह्रो हुँदो रहेछ । हिजो पुल काट्नलाई एक कतर्नो बोक्ता हुन्थ्यो । एक छिनो र मार्तोल हान्दा हुन्थ्यो । आज पुल बाँध्ने पुनीत दायित्व त्यही मान्छेको काँधमा आएको छ । एउटा पुल बाँध्न हजार चिजको दरकार पर्दो रहेछ । एउटा पुल बाँध्न हजार कुराको तारताम्य मिलाउनुपर्ने रहेछ ।
सृजनको सुरताल नजान्नेलाई भत्काउने अधिकार पनि नहुनुपर्ने हो । जोड्न नजान्नेलाई तोड्ने अधिकार पनि नहुनुपर्ने हो । रचना गर्न नसक्नेलाई विनाश गर्ने अधिकार पनि नहुनुपर्ने हो तर कथित सर्जकमा सृजनशिल्प शून्य बरावर छ तर ऊ विध्वंसगीत गाउन माहिर छ । त्यही विध्वंसगीतमा छमछमी नाँच्न सिपालु छन् उसका चेलाचपेटा नन्दीभृङ्गी गण । मुटु र मगजमा विनाश मात्र बोक्नेले कसरी निर्माणका क्षितिज उघार्न सक्छ र ?
भाँच्नमात्र जान्नेका लागि रच्न कठिन काम छ । भाँच्न त एक मुक्का बर्साउँदा पुग्छ । भाँच्न त मुढेबलको एक झोक्का निकाल्दा हुन्छ तर रच्न राग मिलाउनुपर्छ । छन्द, ताल, तुकबन्दीको तेस्रो नयन खुल्नुपर्छ । कुनै पनि कुरा रच्न एक सुललित लयको झङ्कार पैदा गर्ने अखण्ड सिप हुनुपर्छ । अप्रतिम कला हुनुपर्छ । विनासिप केही पनि रच्न सकिन्न । विनाकला सृजनसौन्दर्य उमार्न सकिन्न । सृजन गर्नु भनेको कलात्मक कर्म हो । यो चानचुने साधनाले सम्पन्न हुने चिज होइन । यो ख्यालख्यालको ध्यानले पुग्ने चिज होइन ।
मेरो घुर्याँनमा भर्खरै एक कागतीको बिरुवा काटियो । रोपेको चार वर्षमा भर्खर एकादुई फल दिन सुरु गरेको थियो यसले । कसले यसको फेदमै खुर्पा चलायो । थाहा भएन । हामी घरबारीबाट ओझेल परेको दाउ छोपेर कुनै खन्दारीले यसको फेदै गिँडिदियो । चार वर्षअघि कतैबाट ल्याएर रोपेथेँ, दुईपाते बिरुवा । यसलाई रोप्ता सिर्फ दुईपात पलाएको थियो । यसलाई पाँच फिटको उचाइ दिन निकै मल, माटो पानी खर्च भएको छ । यसले पनि स्वयंमा चार वर्षका हावाहुरी, घामपानी, तुसारो र ठन्डी बेहोरेको हो । रोप्नु, हुर्काउनु कति कठिन कर्म हो, यही कागतीको बोटले सिकाएको छ मलाई । रोप्ने मान्छेले पनि एक कठिन यात्रा छिचोलेको हुन्छ । कागतीको बिरुवाले पनि प्रकृतिसितको सान्निध्यमा एक कठिन यात्रा छिचोलेको हुन्छ तर यसलाई उखेल्न, फेद मर्काउन या हतियार चलाएर फेद गिँडाउन एक झमट पनि लागेन होला । त्यसैले सृजन कठिन यात्राबाट गुज्रेर फलित हुने चिज हो, विनाश एक आवेगमा, एक झमटमा सम्पन्न हुने चिज हो ।
मलाई केटाकेटी उमेरमा गरेको चकचक याद आउँछ । घरको दलिनमा बटमको आड लिएर एक जोडी गौँथलीले दिनरात नभनी चुच्चाबाट हिलो माटाका थोप्ला ओसारेर गुँड बनाइरहेका थिए । तीन-चार महिनाको अथक मिहिनेतले माटाको गुँड तयार हुन लागेका बेलामा एकदिन बालसुलभ कौतुहलताले कुतकुतिएर गुँड भत्काउन पुगेँ । बिचरा गौँथलीका भालेपोथी केही क्षण विचलित बने । फेरि तुरुन्तै भत्काएकै ठाउँबाट गुँडको निर्माणमा जुटे । यस घटनाले पनि मलाई भनिरहेको छ । रचना कठिन छ । भत्काउन सजिलो छ । निर्माण लामो समयको समर्पणबाट फलित हुने चिज हो । ध्वंस एक झमटको उपद्रोमा घटित हुने चिज हो ।
चराले कति मिहिनेत गरेर गुँड बुन्छ । मौरीले कत्रो साधनाले चाका बनाउँछ । अरिङ्गाल र कुमालकोटीले पनि सानो मिहिनेत गर्दैन आफ्नो गोलो र गुँड रच्नमा तर बैगुनी मान्छेले चराका गुँड सजिलै भत्काइदिएका दृश्य देखेको छु । मौरीको चाकामा मशाल झोसेको देखेको छु । अरिङ्गालको गोलामा राँको दन्काएको देखेको छु । कुमालकोटीको गुँड औँलो घुसारेर उजाडिदिएको देखेको छु । देख्न त हामी यिनलाई साना कीरा, फट्याङ्ग्रा र पक्षीको रूपमा देख्छौँ तर यिनको अजेय पौरखगाथा अवणर्नीय छ । यिनको अथक मिहिनेत अव्याख्येय छ । यिनको सृजनसमाधि अतुलनीय छ ।
यी प्रकृतिका विराट् कलाकार हुन् यी चराचुरुङ्गीहरू । प्रकृतिको विराट् शिल्पकार हुन् यी कीटपतङ्गहरू । उनीहरूले आफ्नो गृह-गुँड मात्र रचना गरिरहेका हुन्नन् । एक महान् सौन्दर्यको गाथा पनि सृजन गरिरहेका हुन्छन् तर हृदयहीन मान्छे कति सजिलै यिनका घरद्वारमा धावा बोल्छ । यिनका सृजनले मानव हितमा कुनै आँच पुर्याएको भए ठिकै थि योहोला । कुनै कष्ट कसला उब्जाएको भए मनसिब थियो होला तर बेफ्वाँकमा विवेकशील प्राणी मान्छे विवेकहीन बन्दछ । आत्मावान् प्राणी मान्छे आत्माहीन बन्दछ र यिनले रचना गरेको सृजनागाथा तोडी हिँड्दछ ।
भानुको मूर्ति सृजनामा एक कलाकारले आफ्नो आयु दियो । अर्थात् आफ्नो आयुका दिव्य टुक्रा खर्च गरेर धेरै वर्षको साधनाबाट पत्थरमा बोल्दो भानुको आकृति झिक्यो तर चोकमा सजिएको केही वर्षमै एक विध्वंसकारीले हम्मरको एक तागनमा धुलीधुसर बनाइदियो । त्यस मूर्तिकारको आत्मा कति रोयो होला ? हामी सहजै अनुमान लगाउन सक्छौँ । साधनाको एक अगम समाधिमा नडुबी पाषणमा प्रतिमा निक्लिएको थिएन तर विनाश-वीरको एक प्रहारमा मूर्ति धुलोपीठो बन्यो । हजार-हजार बार सोची-सोची गुनीमुनी नापी-नापी छिनो चलाएको थियो सृजनकमीले तर मूर्तिभञ्जकलाई एकचोटि पनि सोच्नु परेन । एकछिन पनि घोरिनु परेन । आक्रोशको एक भुल्कामा मूर्ति मटियामेट गर्यो ।
भानुमूर्तिउपर हम्मर हान्ने आतङ्कीको बर्खिलाप लेखिरहँदा बामियानामा रोएका बुद्धमुर्तीहरू बौरेर आउँछन् आँखामा । बामियान अहिले अफगानिस्तानमा पर्दछ । सकल हिन्दकुश पर्वत श्रेणीमा बुद्धको अहिंसात्मक दर्शनले शिखर छोएका बेला आज भन्दा पन्ध्र-सोह्र सय वर्षअगाडि अर्थात् ईशाको चौथो पाँचौ शताब्दीमा त्यहाँको पहाडी कन्दरामा विशाल काय बुद्धमूर्तिहरू कुँदिएका थिए । यति अग्ला मूर्ति निर्माण भएका थिए । जसको उचाइ पैँतीसदेखि त्रिपन्न फिटसम्म अग्ला थिए । उहिले मुगल बादशाह नादिर शाहले पनि यी मूर्तिमाथि आक्रमण बोलेको हो । औरङ्गजेवले पनि आक्रमण बोलेको हो । नादीर र औरङजेवले ध्वस्त पार्न नसकेका बुद्ध प्रतिमाहरू तालिवानी जिहादीले ध्वस्त पारे । उनीहरूमा हम्मरले तोड्न नसकेपछि शाक्तिशाली डाइनामाइट हानेर मूर्ति धुलो पिठो पारिदिए । विश्व सम्पदा सूचीमा रहेको एक अनमोल धरोहर सधैँका लागि नामेट गरियो । हुन त बुद्धमूर्ति ध्वस्त गर्न फरमान जारी गर्ने त्यहाँको तालिवानी शासक मोहम्मद उम्मर पनि छिट्टै समाप्त भएर गयो ।
बुद्धमूर्ति बुद्धको मूर्तिमात्र थिएन । मानवसभ्यताको एक अनमोल सम्पदा थियो । हजारौँ कला साधक मूर्तिकारहरूको कलाको अद्भुत निसानी थियो । कलाकारको कति रगत पसिना त्यहाँ पोखिएको थियो होला । कलाकारको कति विराट् कौशल त्यहाँ कुँदिएको थियो होला । तिनका सृजनमाथिको प्रहार युगयुग अक्षम्य हुनेछ । आज यी जिहादीको डाइनामाइट प्रहारले मानवसभ्यता लज्जित छ ।
सकिन्छ सृजनका गीतहरू गाऊ । सकिन्छ निर्माणको जगमा एउटै मात्र भए पनि ढुङ्गो थप । सृजन र निर्माण गर्न सकिँदै सकिन्न भने अरूको सृजनहारलाई क्षतविक्षत नपार । सकिन्छ राम्रो गर । राम्रो गर्न सकिएन भने नराम्रो चाहिँ नगर । सृजनाको सङ्गीत सुसेल्न कठिनै हुन्छ । कठिन मात्र होइन अति कठिन हुन्छ । ध्वंसका गीत सुसेल्न अति सरल हुन्छ । यसमा कुनै मनमोहक तानपुराको धुन निकाल्नु पर्दैन । सिर्फ करौँती चलाए पुग्छ । हम्मर र हथौडा बजाए पुग्छ ।
बेला-बेलामा म हिँड्ने देउरी बगाहाको तेर्सो बाटामा नेपाल बन्दको उद्घोष गरिएको याममा सडक किनारामा सिसौ, सिमल र शिरीषका रुख लडाएर सडक अवरुद्ध गरिएको हुन्छ । नेपाल बन्दप्रति मेरो उत्रो वैरभाव र विरोध होइन । कानुन र संविधानले दिएको शान्तिपूर्ण मौलिक हकप्रति मेरो पनि सम्मान छ तर जब नेपाल बन्दको बहानामा जथाभावी हरिया गाछीहरू ढालेर सडकमा लम्पसार पारेको देख्छु । त्यतिखेर साक्षात् मान्छे मारेर तिनका लास सडकमा तेस्र्याएको आभास मिल्छ । कति हृदयहीन छन् यी बन्दाबन्दीका अनुयायी गण । एक दिनको बन्द सफल पार्ने वाहानामा पचास वर्षदेखि हामीलाई मल, माटो, पानी, अक्सिजन र हरियाली दिने रुखहरूको जीवनलीला ध्वस्त गर्नु कति ठूलो क्रूरता हो । जीवनमा एउटा विरुवा रोप्न र उमार्न नसक्नेहरू आज हजार-हजार विरुवा काट्न बन्चरो उद्याइरहेका छन् । रुख गिँड्ने यी मनुवाहरू पनि जीवनलाई निषेध गर्ने जीवनविरोधी तत्त्व नै हुन् । पर्यावरणलाई प्रतिकूल असर गर्ने हाम्रा हरकार्यहरू आतङ्की कार्य भन्दा अलग छैनन् ।
आफूलाई बगैँचा रच्न आएन भने ठिकै छ, त्यसमा कुनै विस्मात छैन तर अरूले बडा मिहिनेतले बडा कष्टसाध्य परिश्रमले लाएको बगैँचा उजाड पार्ने काम नगरौँ । फूल उखेल्ने काम नगरौँ । फूल च्यात्ने र भाँच्ने काम नगरौँ । पुल काट्ने र गिँड्ने काम नगरौँ ।
सृजनपथको अनुरागी बन्न नसके पनि विनाशपथका रागी नबनौँ । अव विनाश धेरै भैसक्यो यहाँ । अब विध्वंस धेरै भैसक्यो यहाँ । थप विनाश र विध्वंस अब यस माटाले सहन सक्तैन । अब माटाले रगत मागिरहेको छैन । पासिना मागिरहेको छ । महाविनाश मागिरहेको छैन । मिहिनेत मागिरहेको छ । विनाशपथमा रागीहरू त्यस पथप्रति विरागी बन । सक्छौ सृजनलयका अनुरागी बन, अनुगामी बन तर बिन्ती विनाशपथको अनुगामी नबन । अनुयायी नबन ।
समाप्त



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

