जागिर खाएर पनि केही हुन्छ ! खेलकुदमा लाग्यो भने पो दाम पनि अनि नाम पनि भन्दै विभिन्न प्रतिस्पर्धामा उत्रिने लहर आजभोलि प्रशस्तै देखिन थालेको छ ।मेरा केही साथीहरू भने ‘व्यापार नै अपार’ को नारा गाउँदै व्यापारी बन्ने दौडमा सामेल भएका पनि भेटिन्छन् ।जागिर पनि ठाउँमा खान पाइयो भने त खेलाडी र व्यापारी मात्र हो र त्यस्तै परेमा देशै पनि काबुमा राख्न सकिन्छ भन्दै टुप्पी कसेर २४ घण्टा नैलोकसेवाको परीक्षा तयारी गर्नेहरूको के कुरा गर्नु । जति वर्ष ढुङ्ग्रामा राखे पनि कुकुरको पुच्छर बाङ्गो भनेझैँ जागिरे मनःस्थितिलाई जे गरे पनि बदल्न नसकिने रहेछ ।

बाले भन्ने गर्नुहुन्थ्यो,”खेलकुद कहाँ सजिलो हुन्छ र ! कति मेहनत गर्नुपर्छ अनि कति तालिम चाहिन्छ । सिप र कला भन्ने कुरा जन्मँदा नै लिएर आउनुपर्छ । खेलाडी बन्छु भन्दा बन्न पाइने भए त सबै खेलाडी हुन्थे । हाम्रो जस्तो ठाउँमा त जागिरे नै बेस । के को खेलाडी हुनु अनि कुन ठाउँमा गएर खेल्नु ? यस्ता खेलकुद सेलकुदले जीवन चल्दैन, एउटा राम्रो ठाउँमा जागिर खानुपर्छ।” घुमाई फिराई कुरा जागिरमै आएर सकिन्थ्यो प्रायः । मलाई अचम्म लाग्छ सोच्दा,”बाको जागिरे जीवनको उपलब्धि हामी छोरा छोरीबाहेक अरू के त ? रिटायर्ड भएको भोलिपल्टदेखि नै ‘लौ अब भान्छा कसरी चलाउने ?’ भन्ने नारावाजी दिनहुँ घरमा गुन्जिरहन्थ्यो ।”

उमेश रेग्मी

आफ्नो भर्खर सुरु हुन लागेको खेलकुदे जीवन त्यागेर जागिर खानुपरेको त्यो अवस्था मेरा लागि कति कष्टप्रद थियो कसरी भन्नु तपाईँहरूलाई खै !  अन्ताराष्ट्रिय प्रतिस्पर्धा गर्न नपाए पनि आन्तरिक खेलहरूमै नाम र दाम कमाउने मेरो सपना अहिलेसम्म साकार हुन सकेन, जागिरमा नै जाकिनुपरेपछि । मेरो गुनासोहरूमा श्रीमतीको घोच्का पेच्काले आलो घाउमा नुन छर्केझैँ पोल्छ सधैँ ।उनी भन्ने गर्छिन्,”त्यत्रो खेलाडी हुने सपना बोकेको मान्छेले अहिलेसम्म केही खेलेको त देखेको छैन । खालि तीन न तेरहका गफ चुटेर समय खेर फाल्ने मान्छेले खेलकुदमा नाम र दाम कमाउने रे ? कस्तो अचम्म !”

“सधैँ  टिभी सिरियलमा झुन्डिने मान्छेलाई खेलकुदका बारेमा के थाहा”, मेरो यस्तो उत्तरले हामीबिच कैयौँचोटि ठाकठुक नपरेको पनि होइन । उनको भनाइमा सत्य चाहिँ के भने उनले मैले खेलेको देखेकी छैनन् । यो कुरा मलाई महसुस भएको धेरै भएको छैन । त्यस बेलादेखि नै मैले आफूलाई मिल्ने उत्कृष्ट एक खेल खोजिरहेछु जसमा सोचेझैँनाम पनि होस् अनि दाम पनि हात लागोस् ।

साथीहरूको सहयोग अनि खेल खेलाउने गुरुहरूको सङ्गतमा मैले केही आफूलाई मिल्ने राष्ट्रिय खेलहरू पत्ता लगाउन सफल भएको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु ।म यकिन भएको छ, कुनै न कुनै खेलमा अवश्य पनि सफलता मिल्नेछ । रमाइलो कुरा त के भने कतिपय खेल एक्लै खेल्न मिल्ने भए पनि कतिपय खेलमा भने ठुलै बिन्द्रालो चाहिने रहेछ । प्रतिस्पर्धा पनि त्यस्तै हुनै पऱ्यो । तपाईँहरूलाई लागिरहेको होला यसले कस्तो खेलको कुरा गर्दै छ भनेर । ल सुन्नुहोस् म सबै खेलहरू एक एक गर्दै बयान गर्छु । कुनै खेलमा सामिल हुन मन लाग्यो भने नहिचकिचाई मलाई भन्नुहोला ।वाचा भो, म उत्कृष्ट गुरुकहाँ लगेर उचित तालिम दिन लगाउँछु तपाईँहरूलाई पनि ।

१. झुट म्याराथोन : यो एउटा साह्रै मज्जाको राष्ट्रिय खेल हो । नेपालमा प्रचुर मात्रामा लोकप्रिय यो खेल मलाई पनि औधी मन पर्छ । एउटा वरिष्ठ नेताबाट तालिम प्राप्त मैले यो खेलमा स्वर्ण पदकसम्म पाउन सक्ने क्षमता भएको कुरा गर्छन् मेरा साथीभाइहरू । हुन त यत्राविधि सिपालु नेताहरूको उपस्थितिमा मैले के जितुँला र तरपनि यो खेलमा सिप बढ्दै जाँदा भविष्यमा म पनि राम्रै नाम र दाम कमाउने खेलाडी बन्ने कुरामा विश्वास बढ्दै गएको छ आजभोलि ।यो खेल खेल्दा झुटो बोल्नुपर्छ, सकेसम्म धेरै अनि छिटो-छिटो । राजनीतिक वृत्तमा बहुतै सानदार तरिकाले खेलिने यो खेल हेर्नभन्दा पनि सुन्न बढी मज्जा आउने कुरा जानकारी गराउन चाहन्छु । यो खेल प्रत्यक्ष हेर्न काठमाडौँको खुला मञ्चमा जानुहोला, त्यहाँ अक्सर यो खेलको प्रतियोगिता भइरहेको हुन्छ । चुनावताका यो खेल बढी खेलिएको पाइन्छ । तपाईँहरूलाई पनि यो खेल खेल्न मन लागेको छ भने पहिले एक दुई ओटा नेताको भाषण सुन्नुहोला, त्यसैअनुसार अभ्यास गर्न थाल्नुभयो भने यकिन मान्नुस् छिटै यो खेलमा दक्षता प्राप्त हुनेछ ।

२. भुँडी ब्लोइङ्ग : भकुन्डामा पम्पु लगाएर फुलाएजस्तो जे मन लाग्यो त्यही घिचेर भुँडी फुलाउँदै हिँड्नु यो खेलको अनौठो खेल्ने तरिका हो । यो खेलको नियमअनुसार भुँडी फुलाउनलाई जे पनि खान पाइन्छ । त्यसैले होला यो खेल पनि झुट म्याराथोनझैँ हाम्रो देशमा दिनानुदिन लोकप्रिय बन्दै छ । जहिले पनि, जहाँ पनि, जति बेलापनि अनि जसरी पनि भुँडी फुलाउन व्यस्त हाम्रा नेताहरू यो खेलमा महारथी हासिल गर्ने खेलाडीमा गनिन्छन् । एअरपोर्टमा सुन खानेदेखि थन्क्याएर राखेको रासनमा भेटिने घुन खानेसम्म दक्षता भएकाले गर्दा होला तपाईँ र हामीजस्ता मान्छेहरू उनीहरूसँग सधैँ पछाडि पर्छौँ ।

३. खुट्टा तान्ने : यो अर्को लोकप्रिय खेल हो । जताततै खेलेको भेटिने यो खेल प्रायः सबै घरमा खेलिने गर्छ । यही नै यस खेलको लोकप्रियताको मुख्य कारण हो । यो खेलको कुनै नियम हुँदैन । जसरी भए पनि आफूलाई मन नपर्नेको नराम्रा कुराहरू औँल्याएर उसलाई होच्याउनु र उसको प्रगतिमा तगारो बनेर उभिनु यस खेलका जान्नैपर्ने दाउपेचहरूमध्ये पर्छन् ।जानिफकारहरू यसलाई संसारमै सबैभन्दा बढी खेलिने अनि धेरै खेलाडी भएको खेल मान्दछन् । राष्ट्रिय दैनिकदेखि लिएर सञ्चारका हरेक माध्यमबाट दिनहुँ यो खेलको समाचार आइरहन्छन् । कतिपय मानिसहरू नजान्दा नजान्दै पनि यो खेल खेलिरहेका हुन्छन् भने कतिपय यो खेलमा हारको सिकार हुनुपरेकोमा आफूभन्दा कमजोर प्रतिद्वन्द्वी खोज्दै जितको दाउमा कसरत गरिरहेका हुन्छन् ।

यो खेलमा जित्नेले कहिलेकाहीँ सिङ्गै देशमा राज गर्न सक्छ भने कतिपयले आत्मसन्तुष्टिमै चित्त बुझाउनुपर्ने हुन्छ । नढाटी भन्नुहोस त्, यहाँहरूले के जित्नुभो ? खेलेको त पक्कै छ होला !

४. कुर्सी ब्रेक : हुन त यो खेल खेल्ने प्रशस्त अरू ठाउँहरू नभएका हैनन् तर नेपालमा चाहिँ संसद्‌भवनलाई खेल मैदान बनाएर खेलिने गरेको ‘कुर्सी ब्रेक’ बेला-बेलामा निकै चर्चमा आउने गर्छ । यो खेल अर्को ‘कुर्सी ग्लुड’ खेलसँगै खेलिने गरेको कुरा थाहा पाइरहनु होला तपाईँहरू पनि । कुनै व्यक्ति कुर्सीमा धेरै अवधि बस्न सक्ने ‘कुर्सी ग्लुड’ खेलमा प्रतिद्वन्द्वीले त्यही कुर्सी भाँचभुच गर्दै हल्ला गर्नुपर्ने यो खेलको एकमात्र नियम हो । यो खेल तपाईँ हामीले खेल्न मिल्दैन । यसका लागि पहिला ‘खुट्टा तान’ खेलमा दक्षता हासिल गर्दै नेता बन्नुपर्ने प्रावधान रहेको छ । अनि नेता-नेताबीच संसद्‌भवनभित्र यो खेल खेल्नुपर्छ । रमाइलो कुरा त के भने जति खेले पनि हारजित नछुट्टिने यो खेलमा ‘कुर्सी ग्लुड’ को खेलाडी नउठेसम्म खेल पनि सकिँदैन ।

यो खेल चलिरहँदा ‘झुट म्याराथोन’ पनि खेल्न सकिने भएकाले यो खेलको महत्त्व बढेको र खेलको विकास भएको भन्ने कुरा खेल पर्यवेक्षकहरू बताउँछन् ।

५. खबर पास : केटाकेटी हुँदा ‘आसपास’ खेलेको याद आयो होला तपाईँहरूलाई पनि । मलाई पनि त्यस्तै भएको थियो यो खेलको नाम सुन्दा तर खेल त फरक रहेछ ।यो खेलमा एउटाको कुरा अर्कालाई लगेर सुनाउनुपर्ने रहेछ । नियम छैन । कसै कसैले ‘कन्सुत्ले’ खेल पनि भन्ने गरेको पाइयो । विशेष गरी आफू सांचिलो बन्न अरूलाई झुठा ठहऱ्याउन सक्नु यो खेलको विशेषता हो । जित्नुभयो भने जितौरी त के-के पाइने के के बयान गरेर साध्य नै छैन । यो खेल जहाँ पनि जहिले पनि अनि जसरी पनि खेल्न मिल्छ । प्रत्येक घरमा कुनै न कुनै बेला खेलिने यो खेल सानो बच्चादेखि ठुला हजुरबुवाले सम्म खेल्न मिल्ने भएकाले साह्रै लोकप्रिय हुन पुगेको छ । यताको कुरा उता पास गर्दा गोपनियताको सपथ बेलाबेलामा खानुपर्ने प्रावधान भए पनि कसैले टेरेको भने देखिएको छैन ।

तपाईँहरूले थाहा पाइहाल्नुभयो मलाई मन पर्ने केही राष्ट्रिय खेलहरू ।अब तपाईँहरूले नै सुझाउ दिनुपऱ्यो, म कुन खेलतिर लाग्दा ठिक हुन्छ भनेर । मलाई सुझाउ दिने मात्रै होइन आफूहरू स्वयम् पनि एउटा खेल छानेर अभ्यास गर्न थाल्नुहोला । प्रतियोगिता भएको अवस्थामा सँगै खेल्न पर्छ । ल म त लागे आजको ‘झुट म्याराथोन’ को अभ्यासतिर ।