अथाह वेदनाले चिच्याउँदै एउटा युवकले भन्यो, ‘रातो गुलाबविना म तँसँग नाच्दिनँ भन्छे ऊ तर मेरो बगैँचामा त एउटा पनि रातो गुलाब छैन। म के गरुँ ?’ सदाबहार बेलौतीको रूखमा बनाइएको गुँडमा बसेको बुलबुलले यी सबै कुरा ध्यानपूर्वक सुनिरहेकी थिई। ऊ पातहरुको सघनताबाट चिहाएर चिच्याहटमा छक्क परिरहेकी थिई।

युवकको आँखा आँशुले भिजेको थियो। उसले पुनः आर्तनाद ग-यो, ‘मेरो बगैँचामा एउटा पनि गुलाब छैन। आह ! कहिलेकाहीँ खुसी पनि कति साना कुरामा निर्भर हुन्छन् ! मैले बुद्धिजीवीहरुले लेखेका सबै कुरा पढेको छु। दर्शनशास्त्रका सबै रहस्यहरुसँग भलिभाँती परिचित छु। तर यस क्षण एउटा रातो गुलाबको चाहनाले मेरो जीवनलाई नै उजाड बनाइदियो। ती सबै ज्ञानको के अर्थ, के मतलब !’

बुलबुल रूखमै गुन्गुनाउन थाली, ‘अन्ततः मैले एउटा साँँचो प्रेमी फेला पारिछाडेँ। हरेक रात म जुन अञ्जान प्रेमीका लागि गीत गाउँथे, जुन पागल र प्रताडित प्रेमीको कथा–कहानी ताराहरुलाई हरेक रात सुनाउँथे, आज त्यो मैले फेला पारिछाडेँ। कालो पेन्सी फूलझैँ उसको निख्खर कालो कपाल, उसको ओठ त झन् उसको चाहनाको रातो गुलाबझैँ छ तर रातो गुलाबको चाहनाले उसको अनुहार पहेँलिन थालेको छ, हात्तीका दाँतझैँ। उसको निधारमा दुःखको कालो छायाँ स्पष्ट देखिन्छ।’

उता युवा विद्यार्थी आफैँसँग गनगन गर्न थाल्यो, ‘भोलिको रात राजकुमारले नृत्य आयोजना गर्दैछन्। मेरी प्यारी त्यहीँ हुनेछे। मैले रातो गुलाब लिएर गएँ भने ऊ मसँग बिहान नहुञ्जेल नाच्नेछे। उसको शिर मेरो काँधमा टिकाउनेछे। उसको हात मेरो हातमा हुनेछ। तर मेरो बगैँचामा रातो गुलाब नै छैन। उसो भए म एक्लै उदास बसूँला ! ऊ मेरै छेउ भएर जानेछे, उसले मलाई बिल्कुलै ध्यान दिने छैन र उसको त्यो व्यवहारले मेरो मुटु छियाछिया हुनेछ।’

बुलबुलले भनी, ‘ओहो, यो त साँचो प्रेमी प्रतीत हुन्छ। ऊ दुःखी पनि छ। यस्तो दृश्यले आहत म कसरी गाउँली ! ऊ शोकाकुल छ, मेरा लागि खुसीको कुरा हो र यो ? सत्य, प्रेम निकै सुन्दर हुन्छ। यो मणि र पन्नाभन्दा कयौँ गुणा मूल्यवान् र प्यारो हुन्छ। हिरामोतीले पनि यसलाई किन्न सकिन्न। न त बजारमा नै यो खोज्दा पाइन्छ। यो साहु या व्यापारीको पहुँचभन्दा टाढाको कुरा हो। यसलाई सुनचाँदीमा तौलनु सम्भव छैन।’

युवा छात्र पुनः एक पटक गुन्गुनायो, ‘सबै संगीतकार ग्यालरीमा बसेर ग्यालीमा बसेर हार्प र भ्वाइलिनजस्ता वाद्ययन्त्रहरुको स्वरलहरीमा मग्न हुनेछन् भोलि। मेरी उनी ती धुनमा मग्न भएर नाचिरहेकी हुनेछे। मदमस्त हुँदै नाच्दाका बेला उसको पाउ जमिनमा हुने छैनन्। त्याँ भएका सबै युवक भड्किला परिधानमा उसका चारैतिर मडारिइरहेका हुनेछन्। तर ऊ मसँग नाच्ने छैन किनभने मसँग उसलाई दिनका लागि रातो गुलाब छैन।’ छात्र घाँसमा लम्पसार पर्याे र आफ्नो मुख दुई हातले छोपेर रुन थाल्यो।

आफ्नो लामो पुच्छर हावामा लहराउँदै बुलबुलको नजिकैबाट हतारमा हिँडिरहेको हरियो छेपारो केही क्षण टक्क रोकिएर सोध्यो, ‘यो मानिस किन रोइरहेको हँ ?’
छेपारोको कुरा सुनेपछि नजिकैकी पुतलीलाई पनि चासो जाग्यो, सोधी, ‘साँच्ची किन रहेछ त ?’
सुस्त आवाजमा गुर्धौली (डेइजी) फूलले आफ्नी छिमेकीलाई सोधी, ‘साँच्ची किन होला ?’
त्यसपछि बुलबुलले जवाफ दिई, ‘ऊ रातो गुलाबका लागि रोइरहेको छ।’
यो सुनेपछि सबै एक साथ चिच्याए, ‘रातो गुलाबका लागि ? कस्तो मूर्ख रहेछ।’ यसपछि छेपारोले पेट मिचीमिची हाँस्यो।
तर बुलबुल छात्रको दुःखको मर्म बुझ्थी, त्यसैले ऊ हाँसिन। ऊ चुपचाप बेलौतीको रूखमा बसी रही। ऊ प्रेमको रहस्यका बारेमा सोच्न थाली।
अचानक ऊ उड्न तयार भई र आफ्नो खैरो पखेटा फट्फटाई। केही क्षणमै ऊ हावासँग कुरा गर्न थाली र तत्काल बगैँचा पार गरी।
घाँसको गलैँचाको बीच पारेर एउटा गुलाबको सुन्दर बोट उभिएको उसले देखी। बुलबुलले यो बोटको चारैतिर एक फन्को लगाई।
बुलबुलले चर्को स्वरमा भनी, ‘ए बोट, मलाई एउटा सुन्दर रातो फूल उपहारमा दे।’
गुलाबको बोटले भन्यो, ‘म त बूढो भइसकेँ, मसँग फूल छैनन्। बरु जा ए बुलबुल। पर घडीफूलको छेउमा गर्वका साथ उभिएको मेरो भाइ छ। ऊसित होला, ऊसितै माग।’
बुलबुल तत्काल उडी र घडीफूलको छेउमा गर्वसाथ उभिएको गुलाबको बोटलाई भनी, ‘ए बोट, मलाई एउटा सुन्दर रातो फूल उपहारमा दे। म तँप्रति ऋणी रहनेछु।’
गुलाबको बोटले भनी, ‘मेरा फूल त पहेँला हुन्छन्। घाँसे मैदानमा फुल्ने ड्याफोडिलका फूलझैँ पहेँला फूल तिमीलाई काम लाग्ने छैनन्। बरु जाऊ, त्यहीँ छात्र बस्ने छिमेकीको घरमा मेरी बहिनी छे। मस्त तरुण जीवन बोकिरहेकी उसले तिमीले चाहेजस्तो फूल दिन सक्छे। जाऊ, उसैसँग माग।’
बुलबुल तुरुन्त उडेर त्यही छात्रको छिमेकीको घरमा रहेको गुलाबको बिरुवाकहाँ पुगी।

बुलबुल गुलाबको छेउ पुगी र भनी, ‘मलाई एउटा रातो गुलाब देऊ। म तिमीलाई आफ्नो सबैभन्दा मधुर गीत सुनाउँछु।’
रातो गुलाब फूल दिन तयार भइन्। उसले भनी, ‘मेरो गुलाबको रङ गाढा रातो छ। यो समुद्रको कन्दरामा बग्ने मुगाभन्दा कैयौँ गुणा रातो छ। आँतै चिस्याउने कठ्याङ्गिँदो जाडोले मेरा डाँठलाई जमाएको छ। चिस्यान मौसम सुरु हुनेबित्तिकै बगैँचेले मेरा हाँगाबिँगा काटकुट पारिदिएको थियो। त्यसपछि आएको आँधिले मेरो स–साना कोपिला झारिदिएको थियो। अब पूरै वर्षभरि कुनै कोपिला अङ्कुराउने छैन।’
बुलबुललाई उसको कुरा सुनेर रिस उठ्यो। चिच्याउँदै उसले भनी, ‘मैले असम्भव केही मागेकी होइन, मात्र एउटा रातो गुलाब चाहियो। जाबो एउटा रातो गुलाब ! यसलाई पाउने कुनै सजिलो तरिका छैन ?’
गुलाबको बिरुवाले जवाफ दिई, ‘एउटा बाटो त छ। तर यो बाटो निकै खतरनाक र भयावह छ। त्यसैले म तिमीलाई त्यो बताउन सक्तिनँ।’
बुलबुलले भनी, ‘भन, म डराउन्नँ।’

गुलाबको बोटले भनी, ‘तिमीलाई रातो गुलाब नै चाहिन्छ भने पूर्णिमाको रातमा आफ्नो संगीत र मुटुको रगतले यसलाई सिंचन गर्नुपर्नेछ। पूरै रात तिमी मेरा लागि गाऊ र मेरो काँडा तिम्रो मुटुमा घोचिरहने छ। तिम्रो रगत मेरा नसामा बग्नेछ र मेरो रगतमा परिणत हुनेछ।’
बुलबुलले तीव्र आवाजमा भनी, ‘एउटा रातो गुलाबका लागि मेरो मृत्यु निकै ठूलो मूल्य हो। जिन्दगी त सबैलाई प्यारो लाग्छ। हराभरा जंगलमा बसेर सुनको रथमा सवार हुँदै सूर्य र मोतीको रथमा सवार भएर चन्द्रमालाई हेर्ने सुखको अनुभूति कसलाई पो नहोला ! बोटविरुवाको सुगन्ध मोहक हुन्छ। घण्टीफूलको नीलो रङले मलाई पनि उत्तिकै लोभ्याउँछ। पहाडमा बग्ने हावाले मलाई पनि मदमस्त पार्छ। फेरि पनि यी सबैको तुलनामा प्रेम जिन्दगीभन्दा उम्दा हुन्छ। के उसो भए बुलबुलको मुटु र मानिसको मुटुको तुलना गर्न सकिन्छ ?’
उसले उड्नका लागि पखेटा फट्फटाई र हावामा कतै बिलाई। ऊ बगैँचामाथि छायाँझैँ हराई। तीव्र गतिमा ऊ बगैँचाको हाँगाबिँगाबाट माथि निस्केर अलप भई।

युवा छात्र अझै पनि त्यही घाँसमा उत्तानो पल्टिरहेको थियो, जहाँ पछिल्लोपटक बुलबुलले देखेकी थिई र छाडेकी थिई। केटोका सुन्दर आँखामा अझै पनि चिस्यान थिए।
बुलबुलले भनी, ‘खुसी होऊ ए पुरुष, खुसी होऊ। अब तिमीले तिम्रो रातो गुलाब पाउनेछौ। म यो पूर्णिमाको रातमा आफ्नो गीतले रातो गुलाब जन्माउनेछु र मेरो मुटुको रगतले यसलाई सिंचन गर्नेछु। पुरुषहरुको भीडमा तिमी नै साँचो प्रेमी हुनेछौ भन्न म आएकी हुँ। दर्शनभन्दा बढी पवित्र र ज्ञानवान् हो प्रेम। त्यसैले यो बुद्धिमान र शक्तिशाली छ। प्रेम ईश्वर हो। आगोको रङझैँ यसको प्वाँख छ र यस्तै उसको शरीर पनि। उसको ओठ महझैँ मीठो र श्वास चुम्बनजत्तिकै आनन्ददायी छ।’

छात्रले टाउको उठाएर उसलाई हेर्याे र बुलबुलको कुरा सुन्यो। बुलबुलले के भनिरहेकी छ, उसले बुझ्न भने सकेन। ऊ त तिनै कुरा मात्र जान्दथ्यो, जुन किताबमा लेखिएका थिए।
तर बेलौतीको रूखले बुझ्यो। ऊ आफ्नो हाँगोमा सानो कटेरो बनाउने बुलबुललाई असाध्य मन पराउँथ्यो। त्यसैले यी सबै कुरा सुनेर ऊ दुःखी भयो।
बेलौतीको रूखले आफैँसँग गनगन गर्याे, ‘मेरा लागि एउटा अन्तिम गीत गाऊ बुलबुल। जब तिमी यो हाँगो छाडेर अन्त कतै जानेछ्यौ, म अति एक्लो महसुस गर्नेछु।’
बुलबुलले बेलौतीको रूखको भावना बुझी र उसका लागि गीत गाउन थाली। उसको आवाज कित्लीमा बसाएको उम्लिएको पानीझैँ थियो।
जसै बुलबुलले गाउन छाडी, छात्र उठ्यो र नोटबुक उठायो। उसले पेन्सिल पनि झिक्यो।

रूख नजिकको झुर्मुटबाट निस्कँदै गर्दा ऊ बोल्यो, ‘यो बुलबुल कति रचनात्मक छे। यो कुरामा कसले अस्वीकार गरोस् ! तर के उसमा भावना पनि छ त ? मलाई डर छ, सायद छैन कि ! हुन त ऊ कलाकारलाई रुचाउँछे। उसमा गम्भीरताको कमी छ। ऊ खाली संगीतका बारेमा मात्र सोच्न सक्छे। सबैलाई थाहा छ, कला स्वार्थी हुन्छ। यी सबैका बाबजुद उसको आवाजमा त्यस्तो केही छ, जसले मानिसलाई मन्त्रमुग्ध बनाउँछ। यस्तो आवाजको के काम, यो कति दुर्भाग्यपूर्ण ! न त यसको कुनै अर्थ छ न त प्रयोग !’
त्यसपछि ऊ आफ्नो कोठमा गयो। ऊ आफ्नो सानो गद्दीजस्तो ओछ्यानमा पल्टियो र आफ्नो प्रेमका बारेमा सोच्न थाल्यो। यसपछि ऊ निद्रामा चुर्लुम्म डुब्यो।

जसै आकाशमा चन्द्रमाले पूर्ण आकार लियो, बुलबुल फुर्र गुलाबको बोटछेउ पुगी। उसले समय नगुमाई छातिमा गुलाबको काँडा बेस्कन घोची। रातभर बुलबुल गाइरही। काँडाले उसको छातिमा गहिरो गरी घाउ पा¥यो। काँचजस्तो श्वेत र चिसो चन्द्रमाले पनि बुलबुलको गीत सुनिरह्यो। बुलबुल रातभरि गाइरही। काँडाले उसको मुटुलाई अझै गहिरोसँग बाँधिरह्यो। अब उसको जीवनरक्षक रगत पनि गुलाबको बोटको नसामा सर्न थाल्यो।

बुलबुलले सुरुमा केटा र केटीको मुटुमा उत्पन्न हुने प्रेमको गीत गाई। गीतको प्रभावले बोटको शीर्षस्थानमा एउटा अति सुन्दर गुलाब फक्रियो। त्यसपछि एकपछि अर्को गर्दै बुलबुलले गीत गाउन थाली र गाउँदै जाँदा गुलाबको प्रत्येक हाँगाबिँगा पलाउन थाले। सुरुमा फक्रिएको गुलाबको फूल बिहानीको आगमनमा नदीको सतहमा छाएको कुहिरोजस्तै थियो। गुलाब चाँदीको ऐना र पानीको तलाउमा परेको प्रतिच्छायाँजस्तै लाग्थ्यो। केही यस्तै देखिन्थ्यो, जुन बिरुवामा आकार लिइरहेको थियो।

त्यहीँ बिरुवा बुलबुललाई भनिरहेको थियो, ‘काँडालाई अझै कडासँग अँगाल।’ बिरुवा चिच्याउँदै थियो, ‘बुलबुल, अझ कस्सिएर दबाऊ। सानी प्यारी बुलबुल, कतै गुलाब पूर्ण रुपमा पक्रनुअघि नै सूर्य नउदाओस्। सूर्य उदाउनुअघि नै फूल फक्राउन तिम्रो मुटुमा भएको सम्पूर्ण रगत खन्याइदेऊ।’
बिरुवाको चिच्याहटको जोशमा बुलबुलले काँडालाई अझ कस्सिएर च्यापी। त्यो पीडा भुलाउन उसले अझ आफ्नो आवाज तीव्र बनाएर गीत गाउन थाली। बुलबुल स्त्री र पुरुषको आत्मामा उत्पन्न हुने गीत गाइरहेकी थिई, यतिबेला।

गुलाबका प्रत्येक हाँगाबिँगामा बिल्कुल त्यस्तै गुलाबीपन दौडन थाल्यो, जस्तो आफ्नी दुलहीलाई चुम्दा दुलाहाको अनुहार गुलाबी हुन्छ। काँडा अझै मुटुभित्र छेडिन बाँकी नै थियो। गुलाबको आन्तरिक अङ्ग अझै श्वेत नै थियो। मात्र बुलबुलको मुटुको रगतले उसलाई लालीमा प्रदान गर्न सक्थ्यो।
गुलाबको बोट पुनः चिच्यायो र बुलबुलले अझै कस्सिएर काँडा अँगाल्नुपर्नेमा जोड दियो। बोटले भन्यो, ‘बुलबुल ! अझै जोड गर। नत्र त सूर्य उदाउँछ र फेरि गुलाब पक्रन सक्तैन।’

यो सुनेपछि बुलबुलले काँडालाई अझ सशक्त रुपले बल लगाई। अन्ततः काँडा उसको हृदयमा पुग्यो। एउटा तीखो पीडा उसको शरीरमा बिजुलीले झट्का दिएझैं दौडियो। पीडा घातक हुँदै गयो, उता बुलबुलको गीत र स्वर अझै तीव्र हुँदै गयो। पूर्वी आकाशकोझैँ सूर्य उदाउनुअघिको उज्यालो देखियो, यता मुटुको गहिराईझैँ रातो !
बुलबुलको आवाज अब सुस्ताउन थाल्यो। उसका स–साना प्वाँख तीव्रताका साथ फड्फडाउन थाले। उसका आँखा क्रमशः बन्द हुन थाले। बुलबुललाई लाग्न थाल्यो, उसको गलामा केही अड्कन थाल्यो।

बुलबुलले अन्तिम स्वरलहरी सुरु गरी। चन्द्रमाले पनि यसलाई सनयो र ऊ लुक्न बिर्सेर एकै ठाउँ स्थिर हुन पुग्यो। रातो गुलाबले यसलाई सुन्यो र ऊ आनन्दातिरेकले काँप्यो। उसले बिहानीको ताजा र मदहोश पार्ने हावाका लागि आफ्ना सारा हाँगाबिँगालाई पूरै खोलिदियो। यसपछि एउटा तीखो चिच्याहटले पूरै पाडी क्षेत्रलाई थर्कायो। यो आवाजले पर कुनै सपनामा मग्न रहेको गोठालेलाई निद्राबाट जगाइदियो। नदीमा सवार भएर उसले आफ्नो सन्देश समुद्रलाई हस्तान्तरण गरिदियो।
गुलाबको बिरुवाले चिच्याएर भन्यो, ‘हेर, हेर, गुलाबले कान्ति पायो, अब टिप्न लायक फूल बन्यो।’
बुलबुलले कुनै जवाफ दिएन। उसको मुटुमा काँडा पूरै धसेको थियो र ऊ जमिनका नरम घाँसमा मृत लडिरहेकी थिई।
दिउँसो त्यो विद्यार्थीले झ्याल खोलेर बाहिर हेर्याे।
ऊ चिच्यायो, ‘मैले यो के देखेँ ? मेरो भाग्यको सुन्दर चमत्कार ! यही त हो मेरो रातो गुलाब ! मैले आफ्नो जीवनमै यस्तो राम्रो रातो गुलाब देखेको थिइनँ। आह ! कति सुन्दर छ यो। यो त पक्का छ, यसको कुनै शास्त्रीय नाम होला।’
ऊ बगैँचामा पुग्यो, झुक्यो र गुलाबलाई चुँड्यो।
छात्रले टोपी पहिरियो र हातमा गुलाब लिएर प्रोफेसरको घरतर्फ दौडियो।
प्रोफेसरकी छोरी ढोकैमा बसेर सिल्कको नीलो रङको रिल लपेटिरहेकी थिई। सानो कुकुर उसको पाउछेउमै आनन्दले बसेको थियो।
छात्र चिच्यायो, ‘तिमीले भनेकी थियौ, सुन्दर रातोगुलाब लिएर आएँ भने तिमी मसँग नाच्नेछौ। यो संसारकै सुन्दर रातो गुलाब हो। आज राति यसलाई तिमीले आफ्नो छातिमा टाँसेर आउनेछ्यौ। जसै हामी नाच्नेछौँ, यसले तिमीलाई मेरो मायाको गहिराइ महसुस गराइरहनेछ।’
तर केटीले नाक र आँखीभौँलाई खुम्च्याई।

केटीले भनी, ‘यो गुलाब र मेरो पोशाकसँग बिल्कुलै जोडा मिल्दैन। त्यसै पनि चेम्बरलेनको भतिजोले मलाई उम्दा सुनको गहना पठाएको छ। सबैलाई थाहै छ, गहनाको मूल्य तिमीले दिएको यो फूलको भन्दा कता हो कता बढी छ।’
छात्र रिसाएर आगो भयो, भन्यो, ‘मेरो नजरमा तिमीजस्तो कृतघ्न कोही छैन होला।’ त्यसपछि उसले गुलाबलाई सडकमा फ्याँकिदियो। केटो केही अघि बढेको मात्र थियो, फूलमाथि गाडीको पैयाँ कुद्यो।

केटीले भनी, ‘कृतघ्न म ? सुन, तिमीजस्तो असभ्य मैले कोही देखेकी छैन। आखिर तिमी को हौ ? एउटा विद्यार्थी त हौ ! जुन दिन तिम्रा जुत्तामा चेम्बरलेनको भतिजोको जस्तो चाँदीको बक्कल हुन्छ, त्यही दिन तिमीमाथि विश्वास गरुँली !’
केटीले आफू बसेको कुर्सी उठाई र भित्र छिरी।

छात्र कोठामा फर्कियो। ओछ्यानमा पल्टँदै गर्दा उसले गुन्गुनाएको सुनियो, ‘यो प्रेम पनि कति वाहियात चिज रहेछ। यसलाई न त तर्कझैँ प्रयोग गर्न सकिन्छ, न त यसलाई सिद्ध नै गर्न सकिन्छ। कहिल्यै पूरा नहुने सपनाजस्तो लाग्छ मलाई त प्रेम ! यो सत्य हुँदैन भन्ने विश्वास गर्न बाध्य पार्छ घरिघरि त। प्रेम भन्ने कुरा व्यवहार नै छैन। यो उमेरमा त व्यवहारिकता नै सबैथोक हो। म बरु दर्शनशास्त्र नै पढ्छु र तत्व–मिमांसा अध्ययन गर्नेछु। प्रेमको पछि लागेर हुनेवाला केही देखिनँ।’
छात्रले कोठामा त्यसै लडिरहेको एउटा किताब उठायो र पढ्न बस्यो।

अनुवादः अच्युत कोइराला