

मेडलिन मिलर
टिकटकको प्रभाव हिजोआज कतिसम्म बढेको छ भन्ने उदाहरण हालै बेलायतमा देखिएको छ । एक दशकअघि बजारमा आएको उपन्यास यतिबेला टिकटकमा भाइरल भएपछि त्यसको बिक्री ह्वात्तै बढेको छ ।
२७०० सय वर्ष पुरानो कथानकलाई रोचक पाराले अमेरिकी लेखक मडलिन मिलरले उनेर द सङ अफ अकिलिज् लेखेकी थिइन् । सो उपन्यास अहिलेका पुस्ताले पढेर ग्वाँ ग्वाँ रोएको भिडियो भाइरल भएपछि सोही कुराको नक्कल गर्दै उपन्यासका मनपर्ने पंक्तिहरू सेयर गर्न थालिएपछि बेस्ट सेलरमा उक्लिएको बताइएको छ ।
यो उपन्यास सन् २०१२ मा बजारमा आएको थियो । ऐतिहासिक विषयवस्तुमा न्याय गरेको भन्दै त्यो बेला अरेन्ज प्राइज फर फिक्सन पुरस्कार जितेको थियो ।
होमरको इलियाडको कथानकमा आधारित यो उपन्यासमा ट्रोजन युद्धका बेला कसरी अकिलिजको समलिङ्गी प्रेमी पेट्रोक्लसको हत्यालाई औजार बनाएर ट्रोय ध्वस्त पारिन्छ भन्ने यसको विषय छ ।
टिकटकको भिडियोमा ८० मिलियनभन्दा बढी पटक सङअफअकिलिज ह्यासट्याग प्रयोग भएको पाइएको छ ।
छोटा भिडियोका लागि चर्चित यो सामाजिक सञ्जाललाई निकै ढिला मात्र पुस्तक प्रेमीहरूले उपयोग गर्न थालेका हुन् । झन्, टिकटककै कारण पुरानो पुस्तक बेस्ट सेलरमा परेको सर्वथा नौलो घटना हो ।
पछिल्लो समय टिकटकमा किताब चर्चा गर्न, कसैलाई किताब सुझाउन तथा किताबमाथिको प्रतिक्रिया जनाउन अधिकांशले बुकटक ह्यासट्याग प्रयोग गर्ने गरेका छन् ।
यसै अवधिमा द सङ अफ अकिलिज बजारमा आएको १० वर्ष पूरा भएको अवसरमा प्रकाशक ब्लुम्सबरीले नयाँ सीमित संख्यामा हार्डकभर निकालेको थियो । निस्कनेबित्तिकै यो सन्डे टाइम्स बेस्ट सेलिङ फिक्सन चार्टमा ६ नम्बरमा परेको थियो । त्यसो त पहिले पनि निस्कनेबित्तिकै यो उपन्यास न्युयोर्क टाइम्स बेस्टसेलर उपन्यासका रुपमा लामो समय सूचीमा रहन सफल रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

