
गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिमा एक आकर्षक व्यक्तित्व भएका नेता हुन् । सेता दाह्रीजुँगाका मालिक । वंशजले नदिए पनि लेनिन हुन खोजेका जस्ता देखिने । प्रस्ट र निडर वक्ता । दर्शन र दूरदर्शीपूर्ण भाषण । कम्निस्ट विचारधाराका छँदै थिए तर नेपालमा पृथक् अनि नौलो राजनीतिक सिद्धान्तका प्रतिपादक ।
यस्ता शिखर पुरुष १२ वैशाख २०७० का दिन मोटरसाइकल दुर्घटनामा परेपछि एकाएक नेपाली राजनीतिक क्षितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरू उर्लेका थिए ।
स्पष्टवादी नेतालाई मोटारसाइकलद्वारा ठक्कर- दुर्घटना थियो या षड्यन्त्र ?
दसैँ बहिस्कार आन्दोलनका नायक तर मन्त्री भएपछि आफैँले राजा ज्ञानेन्द्रको हातबाट टीका किन लगाए ?
पहिचान र समावेशीको मुद्दालाई नेपालमा प्रथमपल्ट राजनीतिक बहसमा ल्याउने राष्ट्रिय जनमुक्ति पार्टिका संस्थापक महासचिव तर मोटरसाइकल दुर्घटनाका दिनहरू अगाडि किन निस्क्रिय देखिन्थे ?

गोरेबहादुर खपाङ्गी
साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसका लागि समावेशीय र समानुपातिक राजनीतिक सिद्धान्तको वकालत गर्दै हिँडे ?
माथिका प्रश्नहरू अन्य नेपाली नागरिकसरह मेरो मानसपटलमा पनि खेलिरहेको बखत हुम सुनारी मगरद्वारा लिखित ‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ पुस्तक मेरो हात परेको थियो । तीन वर्षको लामो पर्खाइपछि । यस पुस्तक प्रकाशनमा मेरो पनि स्यानो तर निकै महत्त्वपूर्ण भूमिका थियो । यसर्थ अरूले जेसुकै भनुन, सर्वप्रथम आज आफैँले आफैँलाई गर्वकोसाथ ‘मपाईँ’ का कुरा लेख्न मन पर्यो । त्यसपछि यस कितावबाट खपाङ्गीबारे मैले बुझेका कुरा र यस वर्षको (सन् २०२१) उनको पाँचै स्मृति दिवसमा उनलाई सम्झँदै मेरै आफ्नै केही अनुभूतिहरू कोर्ने प्रयास गर्धै छु यस लेखमार्फत ।
कुरो के भने, सन् २०१२ मा खपाङ्गी बेलायत भ्रमणमा रहँदा उनीसँग एउटा अन्तःक्रिया गरेका थियौँ । मैले उनीसमक्ष केही प्रश्नहरू राखेको थिएँ- ‘नेपालमा आदिवासी जनजातिका इतिहास लोप हुनुका एउटा प्रमुख कारण लिखित दस्ताबेज नरहेर हो । तपाईँ एक शीर्ष नेतामात्रै नभएर दार्शनिक पनि हुनुहुन्छ भन्ने कुरा तपाईँका गहकिला र दूरदर्शीपूर्ण भाषणमा सुन्न पाइन्छन् । अब ति कुरा कैले किताबमा पनि पढ्न पाइएला ? हाम्रा सन्ततिले खपाङ्गीका दर्शन र सिद्धान्त केकस्ता थिए भनेर कसरी सम्झलान् ? कतै किताब प्रकाशन गर्ने तपाईँको सोच त छैन ?’
खपाङ्गीले आखी भौँ तन्काएर जबाफ दिएका थिए- ‘नढाँटी भन्नुपर्दा, हितान बाबु, सोच बनाएको पनि छैन, फुर्सद पनि त छैन । यहाँले भन्नुहुन्छ भने त्यसका लागि समय निकालौँला ।’
त्यसपछि बेल्पालीहरू मिलेर उनको सहयोगार्थ केही आर्थिक सङ्कलन गऱ्यौँ । यसको केही अंश उनको पुस्तक निकाल्न छुट्याऔँ भनेर मैले प्रस्ताव राखेँ । त्यही सानो मेरो सोधाइको उपज यो होम सुनारीद्वारा सम्पादित पुस्तक ‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ हो भन्ने मलाई लागेको थियो ।
त्यसै भ्रमणताका अर्को अनौपचारिक भेटमा छ्वास्स बुढालाई के पनि भनेको थिएँ भने, ‘तपाईँ नेपाली मात्रै होइन अन्ताराष्ट्रिय नेता भइसक्नुभएको छ । महसुस गर्नुभएको छ कि छैन ? अब फेसबुक अकाउन्ट पनि खोल्नुपर्छ । सजिलो हुन्छ देशविदेशमा रहेका तपाईँका शुभचिन्तकसँग जोडिन ।’ नेपाल फर्केपछि बुढाले त्यो काम पनि गरिहालेछन् । त्यसपछि हामी फेसबुके साथी भयौँ । अनि मैले फेसबुकमा पुस्तक प्रकाशनको विषय बेला-बेलामा कोट्याइरहन्थे ।
खपाङ्गी र हाम्रो बिचमा पारिवारिक सम्बन्ध छ भने पनि हुन्छ । खपाङ्गी र मेरा बा जयबहादुर हितान समकालीन हुनुहुन्छ । नेपाल मगर सङ्घका उनी संस्थापक सदस्य, मेरा बा संस्थापक सचिव । मगर सङ्घको जन्म २०३७/३८ सालतिर रुपन्देहीबाट भएको थियो । त्यस बेला खपाङ्गी त्यतातिर आइरहन्थे । धेरैपल्ट हाम्रो बुटवल घरमा आएर मेरा बा सँगसँगै खानेबस्ने गरेकाले म उनलाई ‘अङ्कल’ भनी सम्बोधन गर्थेँ ।
मेरी आमाले चियापानी, खाना पकाएर उनलाई पाहुना सत्कार गर्नुहुन्थ्यो । खाना खाएपछि उनले ‘हितान्नी नानी, नाकोइ थोचो छो साहरै जाप्चले’ (हितान्नी बहिनीले साह्रै मिठो खाना खुलाउनुहुन्छ) भनी मेरी आमाको तारिफ गर्थे ।

विजय हितान
‘खै मिठो भयो कि भएन, खाना ? हामीलाई त दाइ, मगर कुरासुरा बोल्न आम्दैन ।’- आमाले जबाफ दिनुहुन्थ्यो ।
म छेवैमा उब्बेर खपाङ्गीको सेतो दारी छक्क परेर हेर्थेँ । बा र उनका रसिला वार्तालाप मज्जा लागेर सुन्थेँ । यी दुई बुढाहरू भिन्न राजनीतिक सिद्धान्त बोकेका व्यक्ति रहेता पनि नेपाल मगर सङ्घको झन्डामुनि रहेर लामो अवधि सँगै काम गरे । मेरा बा कट्टर नेपाली काङ्ग्रेस, खपाङ्गी कट्टर कम्निस्ट । खपाङ्गीको थुतुनो चल्थ्यो बढी हितानको कलम ।
सन् २००२ मा खपाङी जापान घुमेर हङकङ आए । हङकङ मगर सङ्घको म सचिव थिएँ त्यति बेला । महाधिवेशनमा हामीले निमन्त्रणा दिएर उनी आएका हुन् । काउलुनको एक सभागृहमा कार्यक्रम थियो । प्रमुख अतिथिको आसनबाट उनले भाषण दिँदै गर्दा मान्छेको भिड बाहिर सडकसम्म लाम लागेको मलाई सम्झना छ ।
रङभेद र एकाधिकारविरुद्धको लडाइँ लडेका नेल्सन मन्डेलालाई नेपालका प्रायः सबै राजनीतिक दलका नेताले खुबै गुणगान गाउँछन् तर तिनै नेताले नेल्सन मन्डेलाले जस्तै अभियान बोकेर हिँडेका, आफ्नै देशको माटाले जन्माएको खपाङ्गीको कटु आलोचना गर्न छोड्दैनन् । उत्पीडनमा पारिएका आदिवासी जनजाति समुदायको मुक्ति र विभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समावेशी र समानुपातिक सिद्धान्तमा आधारित व्यवस्थाको माग गर्ने महान् समाजवादी शिखरपुरुष थिए खपाङ्गी । यस्तो अतुलनीय देनले गर्दा खपाङ्गीलाई सर्वसाधारण नेपाली जनताले मन्डेलाको स्तरमा उभ्याउँदै सम्मान व्यक्त गर्दछन् ।
‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ पुस्तकअनुसार उच्च शिक्षा हासिलपश्चात् शिक्षण पेसामै छँदा नेकपा (माले) का सक्रिय सदस्य बनेका रहेछन् खपाङ्गी । सामावेशीको आधारमा अन्य जातिका नेतालाई पनि पोलिटब्युरो र केन्द्रीय समितिमा राखिनुपर्छ भन्ने माग गर्दा कुरा नमिलेर पार्टी पारित्याग गरेछन् । त्यसै पार्टीका एक नेताले- ‘धरान, पोखरा, बुटवलजस्ता सहरमा बनेका मगुरालीका भवनहरू हामीले मागेका छौँ र तिमीले पोलिटब्युरो र केन्द्रीय सदस्य माग्ने ?’ भनी खपाङ्गीलाई लाप्पा खुवाएछन् ।
खपाङ्गी विक्रम संवत् २०५६ को प्रतिनिधि सभाको चुनावमा पाल्पाबाट उठ्दा हामीले हङकङबाट हुमबहादुर थापाको संयोजनमा आर्थिक सहयोग गरेका थियौँ । पाल्पाबाट चुनावमा लडेका थिए तर दुर्भाग्यवश उनले पराजय भोग्नुपरेको थियो । २०४७ सालको संविधान नै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वकालत गर्ने राष्ट्रिय जनमुक्ति पार्टीले खपाङ्गीलाई चुनावमा नउठाएको भए हुन्थ्यो । बरु लगातार शान्तिपूर्ण विरोध, जनचेतना, र पार्टी सङ्गठन र विस्तारमा लाग्दै अरू केही वर्ष सरकार जाने लालच नदेखाएको भए हुन्थ्यो । झन्डै ७० प्रतिशत आफ्नै समुदायका जनता रहेको निर्वाचन छेत्रबाट उठ्दा पनि खपाङ्गीले हार बेहोर्नुका कारणहरू ती जनतामा राजनीतिक चेतनाको अभावले हुन सक्थ्यो ।
राजा ज्ञानेन्द्रले खपाङ्गीलाई मन्त्री बनाउँदा जनमुक्ति पार्टी अनभिज्ञ रहेछ । यसैकारण पछि खपाङ्गीलाई पार्टीबाट साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिएको तितो सत्य धेरैलाई थाहा नहुन सक्छ ।
खपाङ्गी दसैँ-टीका प्रकरण एकपल्ट नेपालामा तहल्का मच्चाएको विषय हो । जसले गर्दा खपाङ्गीको प्रसिद्धिको चुचुरो रातारात गर्लम्म ढलेको थियो तर खपाङ्गीजस्तो दसैँ प्रथाको विरोधी नेताले किन राजाको हातबाट टीका लगाए त ? सबैको चासोको विषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । राजनीतिक लाभ प्राप्त गर्न राजालाई रिझाउनैपर्ने अवस्था सृजना भएछ त्यति बेला र लगाएका रहेछन् खपाङ्गीले दसैँमा टीका ।
आदिवासी, दलित, मधेसी, सीमान्तकृतका पहिचान हक र अधिकार बचाउन आफूले जोखिम मोलेका खपाङ्गी दुर्घटनामा परेपछि सरकारले उपचारार्थ पाँच लाख रुपियाँ मात्रै दिएछ । जब कि सरकारमा डाडुपन्युँ सम्हाल्ने नेताहरूले करोडौँ रुपियाँ सरकारी उपचार खर्च पाउँछन् । खपाङ्गीलाई उनका शुभचिन्तकले उठाएको पैसाले सिङ्गापुर लगिएको थियो उपचार्थ मोटरसाइकल दुर्घटनामा परेपछि ।
दसैँ-टीका प्रकरणपछि सुस्ताएका खपाङ्गीलाई सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसङ्ग कोट्याइन्छ । ‘तुहिएको भए अशोक राई, चैतन्य सुब्बाजस्ता नेता कसरी जन्मन्थे ?’ भनी उत्तर दिएर आफ्नो विगतको नेतृत्वले धेरै सबल नेताहरू जन्माइसकेको गर्व गर्दथे । त्यसै अन्तर्वार्तामा पहिचानको पक्षधरमा आफू किन उत्रिएको भनेर आफ्ना विरोधीलाई औँला ठड्याउँदै खपाङ्गी खरो तरिकाले प्रस्तुत भएका थिए ।
अन्तर्वार्तामा आफूलाई ‘घोक्र्याएर ल्याइएको’ भन्ने उनको भनाइले उनी खुसीले होइन कसैको करकापले उक्त अन्तर्वार्तामा गएका थिए भन्ने बुझिन्छ । यदी कसैले उनको मोटरसाइकल ठक्कर दुर्घटना होइन षड्यन्त्र थियो भन्छ भने उक्त अन्तर्वार्ता प्रमुख कारण हुन सक्ने प्रशस्तै सम्भावना छन् । मञ्चको भाषणभन्दा टेलिभिजनको अन्तर्वार्ता प्रभावकारी हुन्छ । त्यसरी राज्यमा हालीमुहाली गरेका वर्गउपर चुनौती दिँदै दिएको अन्तर्वार्ता सायद खपाङ्गीको पहिलो हुन सक्थ्यो । मन्चमा सयौँ दर्शक हुन्छन् भने एक राष्ट्रिय स्तरको टेलिभिजनका दर्शक लाखौँ हुन्छन् । मञ्चअगाडिका प्रायजसो सबै आफ्ना समर्थक हुन्छन् भने घर-घर बसेर टेलिभिजन हेर्नेहरू विपक्षका पनि हुन्छन् । त्यसै अन्तर्वार्तालाई युट्युबमा पनि हालिएको थियो । लाखौँले पछि युट्युवमा हेरे होलान् । यसरी उक्त अन्तर्वार्ता खपाङ्गीलाई मन पर्नेले पनि हेरे मन नपर्नेले पनि । यसअघि खपाङ्गीका विचार कोठाभित्र, समर्थकले भरिएका मञ्चअगाडि र केही स्थानीय तथा जातीय पत्रपत्रिकाका पानामा सीमित थिए । यसरी मास मिडियामार्फत पहिला कहिल्यै प्रसारण गरिएको थिएन । फलस्वरूप खपाङ्गी विरोधीहरूले काठमाडौँको कुनै उपल्लो तलामा खपाङ्गीलाई सदाका लागि पन्छाउने ग्रान्ड षड्यन्त्रको योजना बुनिएको हुन सक्थ्यो । जसरी राजाका कटु विरोधी मदन भण्डारी र जीवराज आश्रितलाई सिध्याइएको थियो ।
मोटारसाइकलले हानेपछि ढिलो गरी वीर हस्पिटल पुऱ्याइनु, मोटारसाइकलवाला पहाडे मूलको नभएर मधेसी मूलको मुसलमान हुनु, मोटारसाइकलवाला पनि घाइते भएको र उपचारका क्रममा अचानक अस्पातलबाट त्यसै साँझ पुलिसले गायब बनाइदिएको, अस्पातलमा एक डक्टरले टाउकोमा र अर्को डक्टरले पेटमा असर परेको भन्दै उपचारको जिम्मेवारी लिन नमानेको र ढिला गरेको, त्यसदिन घरमा आफू कतै नजाने जानकारी श्रीमतीलाई बिहान दिएको तर पछि अचानक फोनमा कसैसँग बोलेपछि घरबाट निस्केको इत्यादि परिस्थितिलाई बुझ्दा उक्त घटना एक दुर्घटना नभएर षड्यन्त्र हुन सक्ने थुप्रै सम्भावनाहरू छन् ।
राजनीतिक र सामाजिक क्रियाकलापमा सर्वस्व सुम्पेका खपाङ्गी काठमाडौँमा किरायामा बस्थे । उनी दुर्घटनामा परेपछि परिवारले खर्च बेहोर्न सक्ने स्थिति थिएन तर वास्तवमै उनीलाई यति तिरस्कार गरिएको रहेछ कि न त उनको पार्टीले, न त उनको समाजले, न आदिवासी जनजाति महासङ्घले नै उनको उपचारको नेतृत्व लिने तत्परता देखाएछन् । त्यसैले त शङ्कर लिम्बुको संयोजकत्वमा ‘खपाङ्गी उपचार सहयोग समिति’ गठन गरिएको थियो । यसरी झन्डै-झन्डै बिर्सिसकिएका खपाङ्गी बिचरालाई कसले उनको दुर्घटनाको छानबिनलाई अगाडि बढाओस् ।
खपाङ्गी त्यसै मोटरसाइकल दुर्घाटनाको चोटबाट २७ अगस्ट २०१६ का दिन देहत्याग गरेका थिए । पाँचौ स्मृति दिवसको उपलक्ष्यमा ‘अङ्कल’ खपाङ्गीप्रति हार्दिक समवेदना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

