असमेली नेपाली साहित्यका वाद, विचार र शैलीलाई सम्पादक, समीक्षक एवम् समालोचकका नजरले हेरिरहेका व्यक्ति हुन् ज्ञानबहादुर छेत्री । बुबा लालबहादुर छेत्री र कौशल्यादेवीका पुत्र ज्ञानबहादुर छेत्रीको जन्म ०१/११/ १९५७ मा असमको शोणितपुर जिल्लअन्तर्गत सोठियाको कोरेनीमा भएको थियो ।

छेत्रीका नेपाली भाषामा अवलोकन (२०००, समालोचना), साहित्य एकेडेमी पुरस्कार विजेता नेपाली साहित्यकार (२००२, सहलेखन), मन परेका कथा (२००३, अनुदित कथासङ्ग्रह), पुष्पलाल उपाध्याय (२००६, विनिबन्ध), सर्जक र सृजना (२०१०, समालोचना), मैलो चादर (२०१०, अनुदित उपन्यास) र उत्तरआधुनिक सृजना र समालोचनाका आधारहरू लगायत असमिया (फुलाम गामोचा आरु अन्यान्य रचना) र अङ्ग्रेजी (Glimpses of Nepali Literature and Culture) भाषामा समेत पुस्तकहरू प्रकाशित छन् ।

भारतीय साहित्य एकेडेमीको नेपाली परामर्श समितिका सल्लाहकार तथा भारतीय भाषा संस्थान (मैसुर) मा नेपाली भाषा विशेषज्ञका रूपमा काम गरिसकेका हाल चानमारी, तेजपुर निवासी ज्ञानबहादुर क्षेत्रीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानी –

ज्ञानबहादुर क्षेत्री

तपाईँको जन्म र शिक्षादीक्षा कहाँ कसरी भयो ?

मेरो जन्म असमको शोणितपुर जिल्लाअन्तर्गत नौदुवार सर्कलको कोरेनी भन्ने गाउँमा सन १९५७ को पहिला नवेम्बरका दिन भएको हो । आमाको नाम कौशल्यादेवी, बाबाको नाम लालबहादुर छेत्री हो (दुवै स्वर्गीय) । प्राथमिक र हाइस्कुलसम्मको पढाइ असमिया माध्यममा सम्पन्न भयो । सन १९७४ मा म्याट्रिक प्रथम विभाग, १९७६ मा विज्ञानमा प्राक्-स्नातक दोस्रो विभाग र १९७९ मा दरङ कलेज (तेजपुर) बाट कलामा डिस्टिङसन सहित स्नातक गरेँ । त्यसै वर्ष भारतीय दूरसञ्चार विभागमा जागिरमा लागियो । सन् १९८७ मा गुवाहाटी विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा स्नातकोत्तर गरेको हुँ ।

साहित्यमा कहिले कसरी प्रवेश भएको हो ?

१९७१-७२ तिर हाइस्कुलमा छँदा लेख्ने रहर जागेको । लेख्यो, च्यात्यो, फ्याँको; कसैले छापिदिएन । असमिया खबर कागतबाट एक-एक ओटा अक्षर काटेर अनि तिनलाई जोडेर आफ्नो नाम बनाएको याद आउँछ । मेरा नामको पहिलो अक्षर ज्ञ हत्तपत्त भेटिँदैनथ्यो । नवौँ कक्षामा पढ्दा आँखा पत्रिकामा मेरो ‘वसन्त’ शीर्षकको कविता छापियो । आफूले लेखेको कुरा छापा अक्षरमा देख्न पाउँदा कति आनन्द आएको थियो त्यो आजका युवाले अनुभव गर्न नसक्ने कुरा हो । मातृभाषाको मोहले तान्यो र सुरुमा नेपाली भाषामा कविता र कथा लेख्न थालेँ । असमिया भाषामा पनि लेखियो तर धेरजसो नै छापिँदैनथे ।

पछि होमेन बरगोहाञि (असमका ख्यातिप्राप्त चिन्तक, पत्रकार तथा साहित्यकार) असम साहित्य सभाका सभापति भएदेखि उनको अखबारमा खुरुखुरु मेरा निबन्धहरू प्रकाशित हुन थाले । मेरा लेख समसामयिक विषयमा हुन्थे । तिनै निबन्धहरूबाट केही नेपाली साहित्यसँग सम्बन्धित छानेर दुई ओटा ग्रन्थ प्रकाशित भएका छन् जो यस प्रकार छन्—

  • नेपाली साहित्य एमुभुकि (नेपाली साहित्यमा एक दृष्टि)
  • फुलाम गामोसा आरु अन्यान्य रचना (फुलबुट्टे गम्छा र अन्यान्य रचना)

अन्तर्वार्ताकार : दीपक सुवेदी

अनि प्रकाशन कहिलेदेखि कसरी सुरु भयो ?

अङ्ग्रेजी भाषामा मेरा लेख सन् १९८९ देखि फट्याक फुटुक निस्कन थालेका हुन् । पहिलो अङ्ग्रेजी लेख पुष्पलाल उपाध्याय विषयमा द निउजस्टारमा प्रकाशित भयो । त्यस पछि द आसाम ट्रिव्युन, द सेन्टिनेल, द सिक्किम एक्सप्रेस आदिमा छापिए ।

पुस्तकाकारमा अङ्ग्रेजी भाषामा एउटै मात्र पुस्तक छ । ग्लिम्सेज अफ नेपाली लिट्रेचर एन्ड कल्चर शीर्षकको ग्रन्थ काठमाडौँको ओरिएन्टल पब्लिकेसनबाट २०२० मा प्रकाशित भएको छ ।

भारत सरकारको हिन्दी निर्देशालयको वार्षिकी पत्रिकामा २००८ देखि मेरा सर्वेक्षण लेख निरन्तर प्रकाशित भएका छन् । ती लेखहरूलाई एकत्रित पारेर पुस्तकको रूप दिने योजना छ ।

यसरी आफ्नो मातृभाषा नेपाली सहित असमिया, अङ्ग्रेजी र हिन्दी भाषा गरी जम्मा चार ओटा भाषामा लेख्तै आएको छु । अन्य भाषामा लेखे पनि नेपाली भाषा-साहित्यकै कुरा लेखेको छु । मलाई लाग्छ, हाम्रो भाषा-साहित्यलाई जतिसक्दो अन्य भाषामा फिँजाउनुपर्छ । म यसैमा लागिपरेको छु । प्रचारप्रसारको अभावले हाम्रो साहित्य सही ठाउँमा पुग्न सकेको छैन र मेन स्ट्रिममा देखिएको छैन ।

कसरी सफल लेखक बन्न सकिन्छ । अथवा सफल लेखकका प्रमुख कडी के हुन ?

यो त अद्भुत प्रश्न भयो तर यसभित्र गाँठी कुरा लुकेका छन् । कति कुरा त गाँठो फुकाउनै नसकिने गरी जेलिएका हुन्छन् । सफलता वा विफलताको कुनै सर्वमान्य परिभाषा छैन । सानो काम गर्दैमा सफल भएँ भनेर कोही फुर्किन्छन् भने कोही ठूलै काम गर्दा पनि सफल भएको ठान्दैनन् । फेरि कोही सफलताको श्रेय अरूलाई नै बाँडिदिन्छन् । पुरस्कारलाई सफलता ठानेर त्यसलाई प्राप्त गर्नका लागि मरिहत्ते गर्ने, लम्पसार पर्ने धूपधूना पूजा अर्चना गर्ने चालिसा गाउने धेरै छन् । उता सार्त्रले नोबेल पुरस्कारै लिन मानेनन् । उनका विचारमा पुरस्कारले सृजनामा बाधा पुऱ्याउँछ । साहित्यमा नोबेल पुरस्कार पाउने विलियम ग्यासले लोकप्रियतालाई मृत्युको चुम्बन ठाने । सार्त्र-ग्यासहरूले गीताको कर्मण्येवधिकारस्ते मा फलेषु कदाचन” पढेर त्यसको मर्म बुझेछन् क्यार । हामी सधैँ बिहान गीता भट्याउँछौँ मा फलेषु कदाचन रट्छौँ अनि सारा दिन दुनो अघि सार्छौँ, बल्छी थाप्छौँ । धनबलले रातारात ठुलो लेखक हुन खोज्नेहरू नभएका होइनन् ।

सफलता सर्जकको कल्पनामा निर्भर गर्दछ । सफल लेखकले सारा कुरा नवीन सृजनाद्वारा प्रस्तुत गर्दछ । असफलले तिनै पुराना, खिया परेका, थोत्रा र भुत्ते हतियार चलाउँछ । सफलताको कुनै छोटो बाटो हुँदैन ।

तपाईँ चैँ आफूलाई के ठान्नुहुन्छ, सफल कि असफल ?

एउटै शब्दमा भन्नुपर्दा असफल तर तपाईँहरूले यसरी प्रश्न गर्दा र सभा समितिहरूमा आमन्त्रण गर्दा कहिलेकाहीँ सफल पो भएछु भन्ने भ्रममा पर्छु ।

साहित्यमा आख्यान किन बढी लोकप्रिय भयो ?

विचार, कल्पना, दर्शन सबै थोक मिसाएर धक फुकालेर सृजना गर्न सबैभन्दा सुविधाजनक विधा आख्यान हो । आफ्नो सृजनात्मक कला र शिल्पकारिता, नित्य नवीन र विविध प्रयोगको फराकिलो क्षेत्र पनि आख्यान विधा नै हो ।

नेपाली आख्यानको यतिखेरको स्थिति कस्तो छ, भविष्य कस्तो ?

भारतीय परिप्रेक्षमा भन्नुपर्दा नेपाली आख्यानको यतिखेरको स्थिति कठ्याङ्ग्रिएको छ । सङ्ख्यात्मक र गुणात्मक उन्नति हुन सकेको छैन । उपन्यासकार थोरै छन्, जति छन् ती पनि पुरानै पारामा रमाएका छन् । प्रवृत्तिगत मनोवैज्ञानिक ढाँचाबाट अझ बाहिर निस्कन सकेका छैनन् । असमबाट लीलबहादुर क्षत्रीको बसाइँ उपन्यासले विश्वको समस्यालाई प्रतिबिम्बित गरेको हुनाले चर्चित भयो । त्यसपछि ठुलो ग्याप । दार्जीलिङबाट प्रेम प्रधानको उदासीन रुखहरू र विन्द्या सुब्बाको अथाह छन् मणिकुमार प्रधानको उपन्यास लिलिथ, लेखनाथ छेत्रीको उपन्यास फुलाङ्गे नवीन शैलीका उपन्यास हुन् । असममा कवि धेरै निस्किए तर आख्यानमा खडेरी पल्टेको छ । रोहित गौतम, शान्ति थापा, इन्दुप्रभा देवी उपन्यासकारका रूपमा चर्चामा आएका छन् । असमिया, बङ्गाली लगायत अन्य भारतीय भाषामा विश्वस्तरीय उत्कृष्ट उपन्यास रचिएका छन् । नेपाली भाषामा भने देखाएर गर्वबोध हुने खालको उपन्यासै देखिँदैन । यतिखेरको म सन्तुष्ट छैन । भविष्यको कुरा कसरी भन्ने । कसैले कसैलाई नजरअन्दाज गर्नु हुँदैन । एक हुल आख्यानकार निस्किऊन् र चमत्कार देखाऊन् भन्ने आशा छ ।

भनिन्छ सृजना र समालोचना नदीका कहिल्यै भेट नहुने दुर्इ किनारा हुन् । तपाईँ सहमत हुनुहुन्छ ? तपाईँको विचार के छ ?

यो सरासर गलत विचार हो । त्यसैले सहमत हुने कुरा भएन । धेरै अघि कसै कसैले त्यसरी सोचे हुन् । वास्तवमा सर्जक र समालोचकको सम्बन्ध नङमासुको जस्तो हुन्छ । सृजनाको तिर्सना नभएको समालोचक कृतिको भित्री तहसम्म पुग्न सक्तैन । उसै गरी सर्जकमा पनि समालोचकीय दृष्टि छैन भने जति नै कलाले सिँगारे पनि त्यस्तो सृजना सतही हुन्छ । त्यसमा साहित्यिक मूल्य कमै हुन्छ, साहित्यको गम्भीर पाठकले त्यस प्रकारका सृजना रुचाउँदैनन् । आजका पाठक बौद्धिक छन् । विचारलाई खँदिलो र वजनदार पारेर प्रस्तुत गर्नमा समालोचकीय दृष्टि धेरै सहायक हुन्छ । हिजोआज समालोचनालाई पनि सृजना कर्म नै मानिन्छ ।

सामाजिक सञ्जालले साहित्यलाई के कस्तो असर गरेको छ । पुस्तकको भविष्य कस्तो देख्नुहुन्छ ?

यतिखेर सबै थोक भर्चुअल । पुस्तकका ठुला-ठुला ठेलीहरू बोकेर हिँडने आवश्यक परेन । डिक्सनरी मोबाइलमै डाउनलोड गरेर राखेको छु । प्रज्ञाको बृहत् नेपाली शब्दकोश पनि छन् । दुष्प्राप्य र बहुमुल्य पुस्तक इन्टरनेट सर्च इन्जिनले खोजेर निकाल्छ । यतिखेर नेपाली साहित्यका पनि धेरै वेबसाइट र ई-पत्रिका खुलेका छन् । पहिले पत्रिका एउटा निकाल्न निकै कसरत गर्नुपर्थ्यो, जसोतसो निकाले पनि आफ्नै जिल्लाभरिमा बिक्री वितरण गर्न हम्मे पर्थ्यो । अहिले एउटा कविता लेख्यो, फेसबुकमा हाल्यो—एकै दिनमा हजार लाइक-कमेन्ट । खातिर गरेर, चिप्लो घसेर अथवा कहिलेकाहीँ घुर्की-धम्की लाएर पनि लाइक-कमेन्ट लिन सकिन्छ । ऐँचो-पैँचो पनि चल्न थालेको छ । प्रविधिले सजिलो अवश्य पारेको छ तर त्यो पुस्तकको विकल्प भने होइन । सृजनात्मक पुस्तकको टेस्ट नै अलग हुन्छ । तपाईँ आइफेल टावार, स्टेचु अफ लिबर्टी अथवा बुर्ज खलिफाका बारेमा घरमा बसी-बसी सबै कुरा जान्न सक्नुहुन्छ तर मान्छे लाखौँ रुपियाँ र समय खर्चेर किन हेर्न जान्छन् । उहीँ पुगेर हेरेको मजा अलग हुन्छ । पुस्तकको कुरा पनि उस्तै उस्तै, त्यस्तै जस्तै ठान्दा हुन्छ ।

सृजनामा कोरोनाको प्रभाव कस्तो देख्नुहुन्छ ?

कोरोनाले स्वाभाविक जीवन ध्वस्त पारेको छ । सृजना भने रोकिएको छैन । बरु झन् जोसले सर्जकहरूले सृजनामा मनोनिवेश गरेको देखिँदै छ । सामाजिक सञ्जालमा पनि स्तरीय साहित्य सृजना आउँदै छन् । कोरोनाले सृजनाको स्वरूपमा पनि ठुलो परिवर्तन ल्याएको छ । छापिएका पुस्तक तथा पत्रपत्रिकाहरूको बजार प्राय बन्द, पुस्तकका इलेक्टोनिक कपी र इपत्रिकाहरू चलेका छन् । अति उच्चस्तरीय साहित्य सृजना गरेका थोरै लेखकहरूलाई छोडेर प्रविधिसँग जोडिन असमर्थ बुढापाका धेरजसो सर्जकहरू अँध्यारोमा नदेखिने भएका छन् ।

उत्तरआधुनिकतावादलार्इ कसरी बुझ्ने ?

सुन्दर प्रश्न । उत्तरआधुनिकतावाद भनेको के हो, यसको सिद्धान्त के हो भन्नेहरू धेरै छन् । हो, यसको कुनै सुनिर्दिष्ट सिद्धान्त छैन । यो धेरै सिद्धान्तहरूबाट समय र स्वाधीनताको प्रयोजनमा छानेर लिइएका कुराबाट बनेको खुकुलो नयाँ अवधारणा हो । कुनै पनि अवधारणा वा सिद्धान्त चिरस्थायी हुँदैन । भोलि नभए पर्सि त्यो फेरिन सक्छ । अवधारणालाई सिद्धान्तले बाँध्नु हुँदैन । यो कुनै पनि विचारलाई सिद्धान्तको ठोकुवा रूप दिन खोज्नेको विरोधमा उठेको अवधारणा हो । त्यसैले यसलाई वाद अथवा सिद्धान्त नभनेर विचार अथवा अवधारणा भन्नु समीचीन हुनेछ । उत्तरआधुनिकताले महाख्यानको अन्त्य भएको घोषणा गरेर बहुलवादी टुक्रे आख्यानलाई प्राधान्य दियो । महाख्यानमा बानी परेका कट्टरपन्थीहरू उत्तरआधुनिकतालाई सहज रूपमा लिन सक्तैनन् । कतिपय महाख्यानका अन्ध भक्तहरू यसले आफ्नो घडेरी भत्काइदियो भनेर रिसले चुरमुरिँदै सराप्छन् भने अरू कतिपय कुरै नबुझी यसै तर्सिने पनि छन् ।

कुनै पनि क्षेत्रीय भाषाको उत्थानमा अनुवादको केकस्तो भूमिका हुन्छ ?

कुनै पनि क्षेत्रीय भाषाको साहित्यलाई राष्ट्रिय अथवा अन्ताराष्ट्रिय स्तरमा पुग्न र चर्चामा आउनका लागि अनुवादको ठुलो महत्त्व हुन्छ । साहित्य कृति जति धेरै भाषामा अनुवाद हुन सक्यो उति राम्रो । हाम्रा राम्रा भन्दा राम्रा कविका उत्कृष्ट कविता पनि अनुवाद नहुनाले सही ठाउँमा पुग्दैनन् । नोबेल, बुकर जस्ता साहित्यका ठुला पुरस्कारका लागि चयनित हुन पनि कृति कति भाषामा अनुदित भएको छ भन्ने कुरा आउँछ । अनुवादकजस्तै समालोचकको कमी पनि हाम्रो दुर्बलताको अर्को कारण हो । कुनै पनि आञ्चलिक भाषामा रचिएको कृतिको अङ्ग्रेजी वा हिन्दी भाषामा उचित मूल्याङ्कन हुनु आवश्यक हुन्छ । हामीमा हिन्दी अथवा अङ्ग्रेजीमा लेख्न सक्षम अनुवादकको कमी छ, विडम्बनाको कुरा जो छन् तिनलाई पनि हौसला दिनु त परै जाओस्, अवाञ्छित तत्त्व ठानेर पर सारिन्छ ।

यतिखेर नेपाली भाषामा अन्य भाषाका शब्दको अबाध प्रयोग भएको देखिँदै छ । उता फेरि मानकीकरणको नाममा के-के मनपरी चलिरहेको छ । भाषा बिटुलो हुनु के राम्रो हो ?

हेर्नुस्, हामी यतिखेर जहाँ आइपुगेका छौँ, पछि फर्केर हेर्न मात्र सक्छौँ जान सक्तैनौँ किनभने जीवन वान वे ट्रेफिक हो । म आफैँलाई जोडेर उत्तर दिन चाहन्छु । मेरो मातृभाषा नेपाली हो तर स्थान र कालको ध्यान नराखी मलाई पुग्दैन । त्यसैले चार ओटा भाषामा लेख्ने प्रयास गरेको छु । यसरी म चोइटिएको छु, टुक्रिएको छ मेरो जीवन । नियालेर हेर्नुहोस् त आफ्नो जीवनलाई । चोइटिनु, टुक्रिनु, बिटुलिनु आजको युगको बाध्यता हो । सिङ्गो, सग्लो, चोखो भन्ने कुराको आज कल्पना मात्र गर्न सकिन्छ । भाषाका क्षेत्रमा पनि सोही कुरा आउँछ । भाषामाथिको थिचोमिचो हाम्रो मात्र समस्या होइन । भाषा बिटुलिने डरले तगारो लाउनु मिल्दैन । त्यसो भनेर छाडा छोड्नु भएन । थोरै भए पनि भाषामाथि तीक्ष्ण दृष्टि राख्ने झर्रोवादीहरू चाहिन्छ—भाषाको हुर्मत लिन चैँ पाइँदैन है भनेर चेतावनी सुनाइरहनुपर्छ । भाषा कानले र मुखले मात्र पढिने थोक होइन, आँखाले पनि पढिन्छ ।