बेन जोन

लेसेस्टर्स डि मान्टफर्ट युनिभर्सिटीका एक २१ वर्षीय अपराधशास्त्रका पूर्व विद्यार्थीले हतियार बनाउन आवश्यकपर्ने सामग्रीहरू इन्टरनेटबाट डाउनलोड गरेको आरोपमा पक्राउ परेपछि जेल रोज्ने कि क्लासिक साहित्य पढ्ने भन्ने छनोट गर्न पाएका छन् । उनलाई अदालतले विलियम सेक्सपियर लगायत अन्य महान् साहित्यकारका पुस्तकहई पढ्नुपर्ने सजाय तोकेको छ ।

बेन जोन नामक ती विद्यार्थी विश्वविद्यालयमा यसअघि अपराधशास्त्र पढिरहेका थिए । उनलाई फाँसीवादी राजनीति मन परेको, श्वेतनश्लीय चेतनालाई राम्रो मानेका साहित्यहरू पढ्ने गरेको तथा यस्ता जानकारीले भरिएका सात सयभन्दा बढी पुस्तक तथा फाइल इन्टरनेटबाट डाउनलोड गरेको आरोप लगाइएको थियो । उनको सो गतिविधि बेलायती जनजीवनका लागि खतरनाक भएको भन्दै गएको जनवरी ७ मा आतंकवाद प्रतिरोधी इकाईले उनलाई पक्राउ गर्न अदालतको आदेश कुरेको थियो ।

लामो समयदेखि उनलाई पक्राउ गर्ने प्रयास सफल हुन सकेको थिएन । त्यसो त उनलाई यी उत्तेजक राजनीतिक सामग्री डाउनलोड गरेकामा मात्र पक्राउ गरेको होइन । यसअघि पनि प्रहरीले उनलाई आतंकवादी क्रियाकलापलाई सघाउने किसिमका गतिविधिमा संलग्न रहेको आशंकामा लामो समयदेखि गतिविधि नियालिएको थियो ।

उनलाई ज्यादै रिस उठ्ने गरेको भन्दै सन् २०१८ मा आक्रोश व्यवस्थापनको थेरापीमा पठाउने अदालतले आदेश दिएको थियो । त्यसयता उनी सार्वजनिक जीवनमा त्यति देखापरेका थिएनन् ।

हालै उनलाई ६७ हजार डकुमेन्टहरू इन्टरनेटबाट डाउनलोड गरेको र ती सबै डकुमेन्ट गैरकानुनी क्रियाकलापलाई उक्साउने किसिमको रहेकाले प्रहरीले पुनः पक्राउ गरी अदालतमा पेश गरेको थियो । पछिल्लो समय बेलायतमा घृणाको राजनीतिले ठाउँ पाउँदै जान थालेको छ । केही युवाहरूले गोराहरूको आधिपत्य कमजोर हुन थालेको र यसका लागि शरणार्थीका रूपमा घुसेका विदेशीहरू रहेको र तिनलाइ बेलायतबाट धपाउनुपर्ने युवा जमात बढिरहेको छ ।

यता जोनले भने आफूले ती सामग्री इन्टरनेटबाट डाउनलोड गरेको, ती सामग्री अहिलेलाई अतिशयोक्तिपूर्ण विषयबारे रहेको भए पनि आफ्नो नियत त्यस्ता क्रियाकलापलाई बढावा दिने किसिमको नरहेको प्रस्ट पारेका थिए । आफूले कानुनी अध्ययनका लागि ती सामग्रीहरू संकलन गरेको र संकलन गरेकै आधारमा आफूलाई आतंकवादीजस्तो व्यवहार प्रहरीले गरेको उनको गुनासो थियो ।

यसअघि उनको आतंकवादी गतिविधिलाई प्रश्रय दिने या त्यसप्रति थोरै भावनात्मक सम्बन्ध रहेको प्रमाणित भए बढीमा पन्ध्र र कम्तीमा पाँच वर्षे जेल सजाय पाउने पक्का थियो तर उनले ती सारा सामग्रीहरू डाउनलोड गरेको भनिएको ल्यापटप फरम्याट गरिएको र हाल ती कुनै सामग्री उनीसँग नरहेका कारण पनि ती जानकारी पढे वा नपढेको प्रमाणित नहुने हुनाले उनलाई जेल हाल्ने प्रहरीको प्रयास सफल हुन सकेन ।

अदालतले उनको आतंकवादीप्रतिको रुझान कम गर्नका लागि करुण रसका साहित्य पढ्न आवश्यक रहेको बताउँदै जेन अस्टिन, विलियम सेक्सपियर, चार्ल्स डिकेन्स तथा टोमस हार्डीका उपन्यास पढ्ने आदेश दिएको छ ।

अदालतमा प्रश्न सोधिएको थियो, तिमीले चार्ल्स डिकेन्स पढेका छौ ? जेन अस्टिन पढेका छौ ? पढेका छैनौ भने प्राइड एन्ड प्रेजुडिसबाट शुरू गर । त्यसपछि चार्ल्स डिकेन्सको अ टेल अफ टु सिटिज पढ । त्यसपछि अघि बढेर विलियम सेक्सपियरको ट्वेल्फ्थ नाइट पढ्नू । यस्ता कडा रिस भएका मानिसले ओलिभर ट्विस्ट तथा द मर्चेन्ट अफ भेनिसजस्ता पुस्तक पढ्नुपर्ने सुझाव न्यायाधीशको छ ।

ती उपन्यास उनले पढे नपढेको अदालतले जाँच लिनेछ । प्रत्येक चार महिनामा उनले पढेका पुस्तकबारे शृंखलाबद्ध परीक्षा अदालतले लिने गएको अगस्त ११ मा निर्णय सुनाएको थियो ।

अदालतका न्यायाधीश स्पेन्सर तिमोथी स्पेन्सरले उनलाई जेलजीवन स्वीकार गर्ने कि शास्त्रीय उपन्यास पढ्ने भन्ने छनोटको अवसर दिएका थिए ।

आफ्नो निर्णयमा न्यायाधीश स्पेन्सरले भनेका छन्, पक्कै पनि उनी टिनएजको रुमानी कल्पनामा पुगेका हुनसक्छन् र कहिलेकाहीँ यस्तो हुनु स्वाभाविक हुन्छ । तर समाजले पनि त्यस्तो बाटो बिराएका युवालाई बाटो देखाउने उचित कदम चाल्नुपर्छ । हाललाई उनले समाजप्रति कुनै खराब काम नगरेको, हानि नपु¥याएको हुनाले जेल नै पुर्याउनुपर्ने आवश्यकता नदेखिएको न्यायाधीश स्पेन्सरको आदेशमा छ ।

यो आदेश आउनेबित्तिकै पढाकूहरूको ग्याङले ज्यादा रिसाउनेहरूका लागि कस्ता शास्त्रीय किताब पढ्ने भनी सूची नै जारी गर्न थालेका छन् ।

(द विक म्यागेजिनबाट)