

सुसाना क्लार्कको पुरस्कृत उपन्यास पिरानेसी
मान्छेलाई रोगले कति अशक्त बनाउँछ भन्ने कुरा सुसाना क्लार्कलाई जति कसलाई पो थाहा होला !
अथवा नेपालमै बुझ्ने हो भने आफ्नो अशक्तताले कहिलेकाहीँ कत्तिको दुखाउँछ भन्ने कुरा झमक घिमिरेले पनि बताउन सक्लिान् ।
तर यसपाला लेखिका सुसाना क्लार्कले आफ्ना सारा पीडा भुलिन् ।

सुसाना क्लार्क
महिला लेखकहरुलाई हौस्याउने उद्देश्यका साथ स्थापना गरिएको विमेन्स अवार्ड इन फिक्सन यस वर्ष सुसाना क्लार्कले जितेकी छन् । उनको उपन्यास ‘पिरानेसी’मार्फत उनले यो पुरस्कार हात पारेकी हुन् ।
१७ वर्षअघि उनले ‘जोनाथन स्ट्रेन्ज एन्ड मि. नोरेल’ उपन्यास लेखेकी थिइन् । यो उपन्यास त्यो बेला बेलायतमा बेस्टसेलर साबित भएको थियो ।
तर उपन्यासको सफलता मनाउन भने उनले पाइनन् । उनलाई एक किसिमको मस्तिष्कसम्बन्धी रोग लाग्यो, क्रोनिक फेटिग सिन्ड्रोम । यो रोगको उपचार छैन । यो रोगले उनलाई यति थकायो कि उनले केही गर्नै सकिनन् । उपचार नभएका कारण उनले प्रचलित थेरापीहरु लिएर हिँडडुल गर्न सक्ने भइन् । यसैबीच पीडा कम भएको अवस्थामा उनले पिरानेसी उपन्यास लेखेकी थिइन् ।
अघिल्लो उपन्यासकै दोस्रो भागका रुपमा यो उपन्यास आएको छ र यो निकै गहन उपन्यास भएको विमेन्स प्राइज फर फिक्सनका पुरस्कारदाताले घोषणा गरेका छन् ।
हाल ६१ वर्षकी क्लार्कको पहिलो उपन्यास सन् २००४ मा निस्किएयता चालीस लाख प्रति बिक्री भइसकेको छ ।
उनी बिरामी भइसकेपछि उनले एक वाक्य लेख्न सकेकी थिइनन् ।
सन् २०१५ मा उनलाई बिबिसीले किताबमाथि चर्चा गर्न बोलायो । त्यहाँ उनले राम्रै जवाफ दिन सकिन् । यसपछि मात्र उनलाई अर्को उपन्यास लेख्नुपर्ला भन्ने लाग्यो ।
उनको अथक प्रयासपछि ‘पिरानेसी’ जन्मिएको हो । गएको वर्ष निस्किएको यो उपन्यास पढिसकेपछि लामो समयसम्म मानिसलाई घच्घच्याउन सफल रहेको समीक्षकहरुले त्यो बेला नै टिप्पणी गरेका छन् ।
पुरस्कार वितरण समारोहमा उनलाई ३० हजार पाउन्ड दिइएको थियो । बुकर पुरस्कार विजेता बर्नार्डिनो एभारिस्टोले उनलाई पुरस्कार हस्तान्तरण गर्दै भनेकी थिइन्, ‘यस्तो घातक बिरामी भइकन पनि उनले जुन उपन्यास लेखिन् र जसरी प्रभावशाली तरिकाले आफ्ना भावना उजागर गरिन्, त्यसले हामीलाई मानव हुनुको गर्व महसुस गराउँछ । अरु जनावरले यस्तो अभिव्यक्ति यसरी शायदै गर्लान् !’
लामो अवधिमा निस्किएका उपन्यास
१७ वर्षअघि लेखिएको उपन्यासपछि अर्को उपन्यास लेख्ने क्लार्क मात्र एक लेखिका होइनन् । उनीबाहेक अन्य लेखकले पनि लामो अवधिमा उपन्यास बजारमा ल्याएका थिए ।
यो सूचीमा सबैभन्दा माथि हार्पर लीको नाम आउँछ । उनले टु किल अ मोकिङ बर्ड सन् १९६० मा निकालेकी थिइन् । उनको मृत्युअघि सन् २०१५ मा ८९ वर्षको उमेरमा दोस्रो उपन्यास गो सेट अ वाचम्यान निकालेकी थिइन् । यो पहिलो उपन्यासको दोस्रो भाग हो ।
त्यस्तै काओलिन हग्सको ‘द वाइल्ड लाफ्टर’लाई पनि यो सूचीमा राख्न सकिन्छ । सन् १९९० को दशकमा दोस्रो उपन्यास लेख्न कति कठिन छ र लामो समयावधिमा बल्लतल्ल बजारमा आएका दोस्रो उपन्यासलाई यो पुरस्कार दिने गरिन्छ । त्यसो त काओलिनलाई भने यो उपन्यास लेख्न तीन वर्ष मात्र लागेको थियो । सुजाना क्लार्कको उपन्यास पिरानेसी भने यो अवार्डको छोटो सूचीमा परेको थियो ।
मेरिलिन रबिन्सनन्सको पहिलो उपन्यास हाउकिपिङ सन् १९८० मा प्रकाशित भएको थियो । यो त्यो बेला निकै सफल उपन्यास थियो । उनको दोस्रो उपन्यास गिलिड सन् २००४ मा मात्र बजारमा आएको थियो ।
जेडी स्मिथको पहिलो उपन्यास ह्वाइट टिथ ज्यादै सफल उपन्यास थियो तर सोही उपन्यासको दोस्रो भागका रुपमा आएको द अटोग्राफ म्यान उपन्यासलाई भने पाठकले उति रुचाएनन् । हुन पनि दोस्रो पुस्तक आउन लगभग एक दशक नै लागेको थियो । उनको तेस्रो उपन्यास ‘द सेक्रेट हिस्ट्री’ बजारमा आउन पनि ठ्याक्कै एक दशक लागेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

