
जब भएकै थिएन ब्रह्माण्डको उत्पत्ति
त्यतिबेला पनि थिएँ म
हुनसक्छ कोही–कसैको कल्पनामा
हुनसक्छ कोही–कसैको सपनामा
हुनसक्छ कोही–कसैको भावनामा
तर पनि थिएँ म
हुनसक्छ स्वयं अस्तित्वमा
हुनसक्छ स्वयं अनस्तित्वमा !

आर बी निश्चल
ब्रह्माण्डको उत्पत्ति
चाहे, महाविष्फोटबाट भएको होस्
चाहे, ब्रह्माबाट
गुरुत्वाकर्षण, प्रकाश, समय अनि स्थान
घड र ज्योति–स्पर्श
नजन्मिँदै पनि अस्तित्वमै थिएँ म !
हुनसक्छ आफ्नै उत्कण्ठाले गर्दा जन्मिएँ म !
ब्रह्माण्ड त के नै पो हो र ?
यसमा आखिर के नै पो छ र ?
यस्तो लाग्छ—
अदृश्यबाट दृश्यमा, कल्पनाबाट यथार्थमा
प्रकटित सपना हो यो ब्रह्माण्ड
कुनै कवि–कलाकारको
दर्शन खोजिरहेछ मानव जीवन
ब्रह्माण्डको वास्तविक आकारको
अनि यो ब्रह्माण्ड सिर्जने÷जन्माउने
महान् कुनै कवि–कलाकारको ।
लाग्छ— स्वयं गतिशील विशुद्ध चेतनाको
एक अंश हो यो
अथवा, अनन्त ऊर्जाको प्रकटित रूप हो यो ।
जब ‘केही’ पनि थिएन
त्यतिखेर पनि केहीमा लुकेको थिएँ
अस्तित्व–ऊर्जाको गतिसँगै कुदेको थिएँ
स्रष्टाको कल्पना सपनासँगै उडेको थिएँ
न त अस्तित्व, न अनस्तित्व नै
रहेको पलमा पनि त्यसकै गर्भमा हुर्कदै थिएँ
नयाँनयाँ जीवन पाउने आशामा फुर्कदै थिएँ ।
ब्रह्माण्ड स्वतन्त्र
स्वयं गतिशील ऊर्जा हो
र, त्यसकै एक अंश हुँ म
तिमीले मलाई पैतालाबाट जन्माएर
के नै पो फरक पर्छ र ?
आखिर जीवनको यात्रा पैतालाबाटै हुन्छ
यात्राबिनाको जीवन निष्क्रिय÷निष्प्राण हुन्छ
त्यो देखेर अस्तित्व स्वयं रुन्छ ।
जसको ‘म’ अहङ्कार मरिसक्यो
जसले अस्तित्वबोध गरिसक्यो
नित्य गतिशील अनन्त–ऊर्जाको अक्षुण्ण अंशको रूपमा
विशुद्ध चेतनाको एक अंशको रूपमा
जसले आफूलाई प्राप्त गरिसक्यो
त्यस्तो जीवनलाई
तिमी चाहे मुखबाट जन्माऊ
वा पैतालाबाट जन्माऊ
के नै पो फरक पर्छ र ?
के अस्तित्व कहिल्यै मर्छ र ?
म न त जन्मनेवाला हुँ, न त मर्ने नै छु ।
बस्, नित्य परिवर्तनशील छु
विशुद्ध चेतनाको एक अंशको रूपमा
अनन्त–ऊर्जाको नित्य गतिको रूपमा !
हामीले चाहे चेतनाबाट पदार्थ जन्माऔँ
चाहे पदार्थबाट चेतना
त्यसले के नै पो फरक पार्छ र ?
के अस्तित्व स्वयम्ले आफैँसँग हार्छ र ?
के अस्तित्वले स्वयम्लाई मार्छ र ?
‘जन्मनु’ र ‘मर्नु’ होला हाम्रो दृष्टिमा
तर त्यो त सापेक्ष गति मात्र हो
आदि–अन्त्य ज्ञात नभएको गति
निरन्तर बगिरहने अस्तित्व नदी
हामी हौँ त्यसकै एकएक सन्तति ।
जब आफूलाई मैले विशुद्ध चेतनाको एक अंश
अनि स्वयं गतिशील अनन्त–ऊर्जाको
निरन्तर गतिको रूपमा पाएँ
तब दुःख, व्यथा, पीडा, चिन्ता
सबै–सबै दूर भए मेरा
किनकि ती सबै मेरा मात्र थिएनन्÷होइनन्
र सुख, हर्ष आनन्द पनि स्थायी रहेनन्
किनकि ती पनि मेरा मात्र थिएनन्÷रहेनन् ।
अस्तित्वको एक अंशको रूपमा
अनन्त–ऊर्जाको नित्य गतिको रूपमा
जब आफूलाई मैले प्राप्त गरेँ
तब, चम्किला जूनतारा अनि सूर्यको प्रकाशमा
गुरुत्वाकर्षण, समय, स्थान, हावा, पानी अनि
अन्धकार सबै सबैमा आफूलाई पाएँ मैले
र, अस्तित्वको यस्तो अनौठो लीला देखेर
आश्चर्यले कराएँ
पुतलीझैँ रमाएँ, अस्तित्वमै हराएँ
नुनको ढिको पानीमा बिलाएझैँ ।
अब कसैले मलाई शूद्र, अछूत वा दलित ठान्दैमा
केही हुनेवाला छैन
त्यो सुनेर म रुनेवाला छैन
आँसुले परेला धुनेवाला छैन
किनकि आँसुको एकै थोपामा पनि
सिङ्गो महासागरको अस्तित्व
अनि महासागरमा पनि
थोपाथोपाको अंश–अस्तित्वको भेद पाएपछि
हाँस्नु र रुनुको अर्थ भेटिनँ मैले
‘तिमी’ र ‘म’ मा कुनै फरक देखिनँ मैले ।
अब तिमीलाई
‘पूज्य ब्राह्मण देवता !
मैले छोएको खानुस्
मलाई पनि मन्दिर अनि हजुरको घरभित्र लानुस्’
भनेर प्रार्थना गरिरहनु परेन
कारण, मैले छोएको नखाएर
कहिले पो बाँचेका छौ र तिमी ?
मेरो अनुपस्थितिमा तिमी
कहिले पो हाँसेका छौ र ?
बाजाबिनाको तालमा तिमी
कहिले पो नाचेका छौ र ?
बस्, बग्दै जान्छु
अस्तित्व–नदीले जसरी बगाउँदै लैजान्छ
त्यसरी नै नित्य बग्दै जान्छु
जीवन पाएकोमा आफूलाई धन्य ठान्छु ।
अस्तित्व–नदीसँग बग्दै जाँदा
कहिले तारामा हाँसुला
प्रकाशका किरणमा नाचुँला
कहिले पृथ्वीमा बाँचुला
जहाँ, आकाशमा उडँुला–पन्छीको रूपमा
फूलमा फुलुँला, सुवास बनेर
पूर्णचन्द्र हेरिरहुँला आनन्दले रमेर
पानीमा बगौँला ऊर्जा अनि गति बनेर
त कहिले अस्तित्व–आँखाको नानीमा रहौँला
स्वयं प्रकाशित अखण्ड दिव्य ज्योति बनेर ।
पर्दैन, केही फरक पर्दैन
तिमी मेरो भोजमा नआएर
मैले छोएको तिमीले नखाएर
आखिर बाँडेर खाइराखेकै छौँ जुठो हामी दुवैले
दृश्यको, हावाको, पानीको
अनि बोलिएका ध्वनिको ।
स्वयं अस्तित्व रहेसम्म रहिरहन्छौँ हामी
अस्तित्व–नदी बगेसम्म बगिरहन्छौँ हामी
तर, चिन्दैनौँ आफूले आफैँलाई
न त चिन्छाँै अरूलाई नै
त्यसैले त,
अरूको जीवनलाई पिट्छौ र जोत्छौ गोरूलाईझैँ
हामी नित्य परिवर्तनशील छौँ
अस्तित्वको अनन्त, नित्य गतिको रूपमा
अनन्त ऊर्जाको दिव्यज्योतिको रूपमा ।
अस्तित्व–ऊर्जाको एक अंश हो जीवन
र, त्यसकै एक अंश म ।
पाल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

