बन्दाबन्दीले दिक्क भएका न्युजिल्यान्डका लोकप्रिय लेखक नील गेइम्यान त्यहाँबाट बाँकटे हान्दै जब अमेरिका पुगे र त्यहाँबाट पनि छड्किँदै लन्डन र लन्डनबाट स्कटल्यान्डको स्काईस्थित दोस्रो घरमा पुगे, स्थानीय जनताले उनलाई सरापेर हैरान छ ।
यति लामो यात्रा भने लगभग पृथ्वीको आधा भागको भ्रमण गरेजस्तै भएको उनले बताएका छन् ।
कोरोनाभाइरसले सारा जगत् त्राहिमाम् भइरहेका बेला उनी भने घरमा पत्नी र एक सन्तानलाई न्युजिल्यान्डमा छाडेर किन स्काईमा आइपुग्नु परेको हो भन्दै स्थानीय जाइलाग्न खोजेपछि उनले आफ्नो निजी वेबसाइटमा लामो ब्लग लेख्दै त्यसको कारण खोतलेका छन् ।
सो लामो ब्लगमा भने पत्नी र छोराका कारण लामो समय घरमा बस्नु आफ्ना लागि असम्भव भएको भन्दै स्थानीयले यसमा आपत्ति जनाउनु पर्ने कुनै कारण नदेखेको बताएका छन् ।
‘म न्युजिल्यान्डको नागरिक हुँ,’ उनले लेखेका छन्, ‘मेरो घर स्कटल्यान्डमा पनि छ र म स्कटल्यान्डलाई कर तिरिरहेको छु । यस्तो नागरिकलाई तँ किन दोस्रो घर आइस् भनी प्रश्न सोध्नु मूर्खता होइन भनेर कसरी भनूँ ?’
गायिका अमान्डा पाल्मरसँग एक दशकअघि बिहे गरेका नीलका चार वर्षे छोरा एस छन् । यो जोडीबीच निकै लामो समयदेखि भनाभन चलिरहेको र यिनको सम्बन्ध लामो समय नटिक्नै भन्दै केही मिडियाले छोडपत्रको समय पनि तोकिसकेका थिए । तर अहिलेसम्म यिनको मिल्ती भने छँदैथियो ।
उनी हतारिएर स्काईस्थित घर आउनुमा यिनको वैवाहिक सम्बन्ध अन्तिम चरणमा पो पुगिसकेको हो कि भन्ने अनुमान गर्नेहरूको मुखमा बुजो लगाउँदै उनले भनेका छन्, ‘लोग्नेस्वास्नीबीच झगडा पर्नु ठूलो कुरा हुँदै होइन । त्यसमाथि मैले उसलाई जीवनभर साथ दिन्छु भनेको पनि छैन । हामी खुला सम्बन्धमा विश्वास गर्ने व्यक्ति हौँ । फेरि म नारिएर र बाँधिएर बस्नुपर्छ भन्ने मान्यताको मान्छे पनि होइन । यस्तोमा अनेकन् कथा आउँछन् भने यसमा मेरो कुनै दोष हुने छैन ।’
उमेरले ५९ वर्षका नील निकै रंगीन मिजासका साहित्यकार मानिन्छन् । फेन्टासी विधाको उपन्यास लेखक नीलको पछिल्लो उपन्यास स्टारडस्ट केही समयअघि रिलिज भएको थियो । फिल्ममा रबर्ट डि निरो र मिसेल फेफरले अभिनय गरेका छन् ।
मूल घर न्युजिल्यान्डको अकल्यान्डमा रहेको भए पनि घरमा बस्दाबस्दा दिक्क लागेको भन्दै गएको साता उनले घर छाडेका थिए । एक साता लगाएर त्यहाँबाट उनी अमेरिकाको लस एन्जल्स पुगेका थिए । लन्डन पुगेपछि एक जना साथीको गाडी सापट लिएर उनी स्काईस्थित घर पुगेका थिए । उनी त्यहाँ पुग्नेबित्तिकै स्थानीय प्रहरीले उनको यात्रा गतिविधिबारे चासो राखेको थियो ।
आफू लामो यात्राबाट आएपछि क्वारेन्टिनमा बस्ने भनेपछि प्रहरीले उनलाई कडिकडाउका साथ घरभित्रै बस्न आग्रह गरेको थियो । यसअघि प्रहरीलाई स्थानीयले गुनासो गरेका थिए ।
‘यति लामो यात्रामा जब म एक्लै कारमा थिएँ, संसारको अवस्था देखेर म आफैँ हैरान भएँ,’ उनले ब्लगमा लेखेका छन् । अमेरिकाबाट लन्डन आइपुग्दा पनि यात्राभर मेरो सिटको लहरमा म एक्लो व्यक्ति थिएँ । त्यसपछि जब लन्डनमा साथीको कार सापट लिएर स्काईसम्मको यात्रा गरेँ, त्यहाँ पनि सुनसान थियो । स्थिति निकै भयावह प्रतीत भइरहेको थियो ।’
‘एक वाक्यमा यो यात्राबारे टिप्पणी गर्ने हो भने यो ज्यादै अवास्तविक र भावनात्मक रूपमा निकै कठिन किसिमको यात्रा थियो,’ उनले लेखेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

