बेलायती पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेगनबारे आधिकारिक जीवनी आउँदो अगस्त महिनामा निकाल्ने तयारी भइरहँदा बेलायती दरबारमाथि अनेकन जीवनी लेखिसकेका लेखकहरूले भने तिनको नयाँ जीवनीमा खासै नयाँ कुरा नपाइने भनी प्रतिक्रिया दिँदै हिँड्न थालेका छन् ।
द सन्डे टाइम्ससँग कुरा गर्दै दरबारमाथि पुस्तक लेखिसकेका लेखकहरूको संयुक्त धारणा थियो, ‘मेगन र राजकुमारले किन दरबार छाडे भन्नेबारेमा बाहिर यति धेरै कुरा आइसकेका छन् कि ती कुरा समेटिए भने पनि पाठकहरूलाई कुनै नौलो लाग्ने छैन ।’
यतिबेला मेगन र ह्यारी अमेरिकाको लस एन्जल्समा बसोबास गरिरहेका छन् । तिनको एक सन्तान जन्मिएपछि दरबार छाड्ने निर्णय गरेका थिए । दरबार छाड्नुको मुख्य कारण भने एउटी काला जातिबाट जन्मिएकी साधारण युवती देशकै राजकुमारी बन्न पुगेकामा दरबारका सदस्यहरूलाई चित्त नबुझेको र बारम्बार मेगनमाथि अपमान भएको हल्ला चल्ने गर्छ ।

यी सारा कुरा समेटेर ओमिद स्कोबलले तिनको संयुक्त कथा प्रस्तुत गर्न लागेका हुन् । यसका लागि मेगन र ह्यारीले ओमिदलाई कुनै सहयोग नगरेको, उनलाई काम गर्ने स्वतन्त्रता दिएको, बरू पुस्तक प्रकाशन हुनुअघि एक चरण सर्सर्ती पढ्ने चाहना रहेको मेगन र ह्यारी सम्बद्ध सूत्रले जनाएको छ ।
बेलायती दरबारका भित्री कुरा भनेर यति धेरै कुरा लेखिएका छन् कि हिजोआज त दरबारले यस्ता कुरामा चासो नै राख्न छाडिसकेको छ, दरबारको एक उच्च सूत्रले बतायो ।
यस जीवनीका लेखक अमेरिकी ट्याब्लोइड म्यागेजिन युएस विक्लीका पत्रकार पनि हुन् । यसअघि उनले चर्चित म्यागेजिन एलीमा समेत काम गरिसकेका छन् ।
दरबारकै सहयोगमा यसअघि लेखिएका दरबारिया जीवनीले पनि दरबारबाट खासै गतिलो प्रतिक्रिया पाएका थिएनन् । डायनाः हर ट्रु स्टोरीका लेखक एन्ड्रयु मोर्टनले डायना र राजकुमार चार्ल्स कसरी छुट्टिए भनी वृहद् स्तरमा खोजी गरी लेखेको जीवनीप्रति महारानी एलिजाबेथले आफ्नो बेखुसी प्रकट गरेकी थिइन् ।

यसैगरी राजकुमार चार्ल्समाथि जोनाथन डम्बलबाईले १९९४ मा लेखेको जीवनी त भावनात्मक रूपमा दुःखी तुल्याउने पुस्तक भएको भन्दै दरबारले प्रतिक्रिया दिएको थियो ।
महारानी, राजकुमार अल्बर्ट (महारानीका पति) र महारानी भिक्टोरियामाथि जीवनी लेखिसकेका ए एन विल्सनले गएको साता प्रतिक्रिया दिँदै भनेका थिए, ‘मेगन र ह्यारीको कथामा सुनाउन लायक कुनै रहस्य बाँकी छैन । पाठक र दर्शकलाई थाहा नभएका नयाँ कुरा मेगनले भन्न सक्दिनन्, नभनेपछि पुस्तक खोजीको विषय पनि हुने छैन ।’
यो पुस्तकका लागि भने प्रकाशकले मेगन र ह्यारीले निकै भारी रकम दिएको तर रकम भने अहिलेसम्म नखुलाइएको समाचारमा जनाइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










