कथाकार हरि लुइँटेल उपाध्याय नेपाली गद्यविधाको क्षेत्रमा नयाँ नाम होइन । सन् १९७९ वा त्यस अघिदेखि नै उहाँले नाटक र कथा विधामा कलम चलाउँदै आएको थाहा हुन्छ (भन्नुपर्दा, पृ xii ) । सामाजिक तथा साहित्य क्षेत्रमा असममा नेपाली समाजले उहाँबाट धेरै सहयोग पाएको कुरामा दुई मत नहोला । हिन्दी र नेपाली दुवै भाषाका दक्ष हुनाले नै अनुवाद (उल्था) जगत्मा पनि उहाँले सफलता हासिल गरेको पाइन्छ । यस सङ्कलनमा सजाइएका धेरैजसो कथाहरू सन् १९८० अघि नै लेखिएका, केही पत्रिका आदिको मागअनुसार रचना भएका हुनाले शिल्पगत र विषयगत फरक पनि सामान्य देखिन्छ ।
जम्मा १८ कथाले सजाइएको विस्मृतिको अँध्यारोभित्र कथाकार लुइँटेलको पहिलो मौलिक पुस्तकाकार कृति हो भने यसअघि नै उहाँले हिन्दी भाषाको प्रख्यात गोदान उपन्यासको नेपाली अनुवाद गरेको थाहा हुन्छ ।
पुस्तकको शीर्षकअनुरूप पहिलो कथा हो विस्मृतिको अँध्यारोभित्र । कथानक स्मृति रोमन्थन परिपाटिमा सजाउनाले कथाको वस्तुपक्ष अझ टङ्कारो बन्न नसकेको भान हुन्छ । म पात्रले आफ्नो विगत जीवनको इतिहास अत्यन्त यथार्थवादी र सान्दर्भिक रूपमा वर्णन गर्न सक्नु यस कथाको महत्त्वपूर्ण प्राप्ति मानिन्छ । गरिबीको वर्णनले पाठकको हृदयलाई मर्मान्तिक तुल्याउन सक्षम यस कथामा म पात्रको बालक उमेरले पाठकको समवेदना पनि प्राप्त गर्न सामर्थ्य भएको पाइन्छ । एउटा बालकको भोकका अघि मर्मभेदी दुःख पनि सामान्य हुन सक्तो रहेछ– आमाको मृत्यु पनि ! त्यसैले बालकले आमाको किरिया गरेका बेला एकछाक भुँडीभरि खान पाउँदा मनमनै सोच्तछ– “यसैगरी आमा —- खान पाइने रहेछ (पृ.-६ )” ।
म पात्रको मानसिक अवस्थाको विश्लेषण गरिएको कथा हो प्रेरणा । कथाकी नारी पात्र प्रेरणा र पुरुष म पात्र जीवन । जीवनमा प्रेरणाको आवश्यकता र प्रेरणाका कारण जीवनको गति कसरी मोडिन्छ यस कुरालाई पात्रको नामकरणबाट सड्केत गरिएको हुनाले कथ्यवस्तुले पाठकका मनमा जिज्ञासा ल्याउन सक्षम देखिन्छ । प्रेरणाविनाको जीवन अन्धकार, लक्षहीन, निरर्थक । सफलताका लागि सङ्घर्षमा तल्लीन हुँदा प्रेरणाबाट टाडिनु त असफलताको लक्षण होला । त्यसैले जीवन वञ्चित हुनुपऱ्यो प्रेरणाबाट र अन्तिममा अन्धकारमा दिशाहारा भयो । प्रतीकात्मक रूपमा कथावस्तु उपस्थापन गरिएकाले कथालाई यथार्थतासँगै पाठकका मनमा जिज्ञासा ल्याउन सक्षम भएको छ ।
गरिबी, बेकार जीवन र निराश युवाको मानसिक छटपटी र अन्तर्द्वन्द्वलाई कथावस्तुको सारका रूपमा लिई तयार गरिएको कथा अर्को बिहान । गरिबीले पिल्सिएको शिक्षित युवाको अन्तर्मनमा आफ्नो बेकारी जीवनले सरकारी जागिरको दौडमा कति चोटपटक झेल्नुपऱ्यो भन्ने देखाउनुका साथै वर्तमान युवावर्गमा केवल सरकारी जागिर मात्र शिक्षाको उद्देश्य नभएर अन्य उपाय वा इलमबाट पनि आफ्ना खुट्टामा उभिएर अघिबढ्न सकिन्छ भनी मार्गदर्शन गरिएको छ । अन्य दुई कथामाझैँ यस कथामा पनि म पात्रको आत्ममन्थन शैली प्रयोग गरिएको देखिन्छ ।
मनमा पलाएका अनेकौँ भाव अनुभूतिलाई खोतलेर तयार पारिएको कथा हो दुई पाटा । तृतीय पुरुष शैलीमा लेखिएको यो कथाले जीवन नामको पात्रका जीवनमा आइपरेका समस्यालाई केलाउँदै सामाजिक परिवेशको पनि झलक देखाएको छ । निःस्वार्थ समाजसेवाको पुरस्कारस्वरूप आफ्नो बार्धक्य कालमा बदनाम र तिरस्कारले अवहेलित हुनु, छोराले बोलाउँदाबोलाउँदै पनि आफ्नो जन्मस्थलको मोहमा गाउँमै बसेकोमा सम्म शङ्का गर्नु, साहित्य र संस्कृतिको चर्चामा पनि `गाउँका विद्यार्थीको पढाइ बिगार्ने´ भनी दोषारोपण गर्नु जस्ता कार्यले जीवनलाई विरक्ति गराउँछ । कथामा बार्धक्यकालीन एकाङ्गिपनाको छटपटीसँगै सामाजिक मनःस्थितिको परिवर्तनलाई पनि चित्राङ्कन गरिएको छ ।
हाम्रा गाउँघरमै भेटेका र घटेका घटनालाई जस्ताको त्यस्तै उतारेजस्तो उमा दिदी कथा । म पात्रले उमादिदीको जीवन वृत्तान्तको आडमा ग्रामीण जनजीवनको झलक देखाएको छ । विवाहित बुहारीहरू सासू, नन्द आदिबाटै शोषित र लाञ्चित भएको मार्मिक चित्रण गरिएको यस कथाले एकातर्फ पुरुषको निष्क्रियतालाई मौन दोषारोपण गरेको पाइन्छ भने अर्कातर्फ नारीकै छलकपटमा विवेकवान् पुरुषहरू पनि दिशाहारा भई न्याय अन्यायको सीमा छुट्याउन नसकेर अन्यायलाई नै पत्याइदिन्छन् भने अबला नारीहरूले आत्महत्याको सोच ल्याउनु असम्भव होइन । कथामा उमादिदीले आत्महत्या नगरेर एकदिन न्याय पाउने आशामा अर्काको भाँडा मोलेर भए पनि जीवन धान्ने कार्यले कथालाई सड्घर्षशील चेतना दिन खोजेको भान हुन्छ ।
म र मभित्रको मान्छे शीर्षकले नै प्रथम पुरुष शैली बताउँछ । कथानक सरल र यथार्थवादी धरातलमा अघि बढेको भए तापनि घटना काकतालीयझैँ छ । स्वाभाविक अङ्ग र कर्मसक्षम उमेरका माग्नेलाई म पात्र र उसका साथीहरूले सहाय नगर्नु अस्वाभाविक नहोला तर त्यो महिला अन्तिममा म पात्रकी आफन्त र आफ्नै घरमा शरण लिन आउँदा म पात्रलाई अघि ओकलेका ती तर्कहरूले विषाक्त नागझैँ डस्न आउँछन् । कथावस्तुलाई शीर्षकले पूर्ण रूपले सङ्केत दिन नसके पनि म पात्रको भावनालाई डोऱ्याउन खोजेको आभास पाइन्छ ।
नारीशोषण र निर्यातनको घटनाले पूर्ण गौरी कथा पनि प्रथम पुरुष शैलीमै सजाइएको देखिन्छ । बुहारीको माइतीबाट सम्पत्तिको निरन्तर आशा गर्ने सासूहरूले अझै प्राप्त गर्ने आशामा बुहारीमाथि गरेको अन्याय अत्याचार, शिक्षित पतिरूपी पुरुष पात्र निर्विकार रही आमाकै पक्ष लिनेजस्ता प्रतिकूल परिवेशले गौरी केवल ज्यान बचाउन मात्र नभएर प्रतिशोधको भावना लिई माइत आउँछे र आफ्नो आकाङ्क्षा बाबुसँग व्यक्त गर्छे । म पात्र हतोत्साही भए पनि छोरीकै इच्छानुसार कदम चाल्ने सिद्धान्त लिन्छ । गौरीका यिनै उद्गारसँगै कथावस्तुमा नयाँ मोड आएको देखिन्छ र कथालाई प्रगतिवादी धारातर्फ मोडेको आभास हुन्छ ।
स्वैरकल्पनामा लेखिएको कथा शीर्षकको यो कथा प्रथम पुरुष शैलीकै हो । पानीमा उत्रिएको एउटा नारीको लासलाई आधार बनाएर म पात्रले सामाजिक जीवनमा घट्न सक्ने अपराधको कल्पना गरेको छ । कथामा मरेको शरीरमाथि पनि जातधर्म, सधवाविधवा, धनीगरिब, हत्या-आत्महत्या, दाइजोको समस्या, लोग्नेको पीडन, बलात्कार आदि जस्ता कारणबाट नै त्यो शरीर लास बनिएको भन्ने आशङ्का ल्याएको देखिन्छ । वास्तवमा हाम्रो समाजमा हालसम्म पनि यस पीडनहरूबाट नारी मुक्त हुन सकेका छैनन । कथान्तमा बुख्याचा पानीमा उत्रिएको देखाएर कथावस्तुलाई हास्यास्पद रूप दिन खोजिए तापनि लासमाथि म पात्रले गरेका शङ्कालाई निराधार मान्न सकिँदैन ।
मान्छे अनि मान्छे कथा म पात्रको आफ्नै गरिबीको दयनीय अवस्थाको उद्गीरण हो । नहुनुको अवस्था वा नहुनु भनेको कतिसम्म पीडादायक हो बिरामी सन्तानको उपचारका लागि लाज, घिन पनि सामान्य रूपमा पचाउन विवश आमाबाबुको करुण अनुहारको सफल चित्रण पाउनुका साथै गरिबीले मानिसलाई ग्रामीण जीवनमा पनि मानवताबोधको सीमारेखा खिच्तो रहेछ भन्ने आभास दिएको छ ।
सत्य र शान्तिलाई प्रतीकात्मक रूपमा लिँदै चरित्रहरूको नामकरणसँगै विषयलाई यथार्थवादी ढङ्गले उभ्याउन खोजिए तापनि शान्तिको परेवा कथाले आशावादी भन्दा नैराश्यवादी दिशातर्फ नै मोड लिएको भान हुन्छ । तृतीय पुरुष शैलीको कथानक सरल भए पनि कथावस्तुको उद्देश्य र लक्ष्यचाहिँ कथाकारको पूर्वधारणामै अडिएको देखिन्छ । सेता परेवा शान्तिको प्रतीक । परेवाको भालेको हत्यापछि नै विधवालाई पुनर्विवाह गर्ने सत्यको पनि हत्या हुनु र शान्ति फेरि पनि विधवा हुनु जस्ता घटनाले उही ‘पोइखाने स्वास्नी’ जस्ता अन्ध परम्पराको पुनःस्थापनामा बल पुऱ्याउनेलाई सहायकझैँ साबित हुन्छ । अन्त्यमा शान्तिका छोराले गरेको दुर्जेको गुलेली भाँच्ने प्रतिज्ञाले आशाको किरण छरेको छ ।
मानिसका आवेग अनुभूतिको चरम स्पर्श गराउन प्रयास गरिएझैँ भान हुने कथा हो बक्सिस । कुनै एक कार्यालयको चप्रासीले आफ्नो कर्तव्यपरायणताको पुरस्कारस्वरूप जागिर नै गुमाउनुपर्ने बाध्यता र विवशता दर्साएको छ । कथामा स्वजातिबाटै तिरस्कृत हुनुपरेको घटनाले दुराचारीहरू कुनै जात थरका नभएर उनीहरूको एउटै जात हुन्छ भ्रष्टाचार र यसबाट जोगिन निमुखाहरूलाई दोषी बनाएर आफू पानीमाथिको ओभानो हुन्छन् ।
नारीशोषणको पराकाष्ठा छोएको छ दाइजो कथाले । हाम्रो ग्रामीण समाजमा पनि दाइजो ल्याउने बुहारीका अघि कमजोर बुहारीहरू सासूरूपी नारीहरूबाट नै लाञ्छित छन् । सुन्दर ग्रामीण परिवेशको यो कथामा रमाको पोइ पनि आफ्नी आमाको दाइजोको मोहमा घुँडा टेक्छ र दाइजो पाउने अर्की स्वास्नीको खोजीमा हिँडेकाले रमाकी देउरानीमा टुसाएको अहङ्कारले मल पाएको देखिन्छ । साथी शङ्करको उपदेशले रमेशमा परिवर्तन ल्याउँछ र घर फर्किँदा आफ्नो सन्तानप्रति भाइ र बुहारीले गरेको दुर्व्यवहारमा मर्माहत हुँदै स्वास्नी र सन्तानमाथि गरेको आफ्नो गल्ती स्विकार्दछ । यस कथाले नारी शोषणमा गौण रूपमा पुरुषलाई दोषी देखाएको छ भने मुख्य दोषको भाग नारीमाथि नै सुम्पिएको छ ।
म पात्रको आफ्नै बिरामीको समस्या, सन्तानको पढाइको चिन्ता, आर्थिक दवाव यिनै विषयलाई समेटेर लेखिएको कथा हो यस्तै चल्दै छ । शीर्षकले कथावस्तुको संवहन पूर्ण रूपले गर्न नसके पनि सामाजिक वातावरणको हाउभाउतर्फ सङ्केत गरेकै देखिन्छ । गरिबीकै कारण भनौँ नहुनुकै कारण सानैमा पढाइ छोडेर उपार्जन गर्नतिर लाग्न विवश छन् गरिबीले पिल्सिएका विद्यार्थीहरू पनि । यसरी नै कमजोर आर्थिक वर्गका ग्रामीणहरूलाई उच्च शिक्षा त आकाशको फलझैँ साबित भयो । सरकारी शिक्षा र सरकारी चिकित्सा पनि गरिब वर्गका लागि उपहासतुल्यझैँ देखाइएको छ ।
अस्तित्वको सङ्कट कथाले म पात्रको जीवनचक्रलाई छर्लड्ग बनाएको छ । जन्मदिने आमा र कर्म दिने आमा यी दुईमा समेटिएको जीवन वृत्तान्तले छुट्टाछुट्टै दुइटा उपकथालाई जोडेको छ । आर्थिक दीनताले म पात्रलाई जन्मदिने आमाबाट बिछोड गरायो । उसले नयाँ आमाबाबु पायो, नयाँ परिचय पायो तर जन्म दिने आमालाई दैवले उसका घरमा ल्याई पुऱ्याउँदा म पात्र आफूलाई कुन रूपमा दर्साउने हो भन्ने कुरामा अन्योलमा पर्दछ । कथा अन्योलमै टुङ्गिएको छ ।
नारीलाई म पात्र बनाएर लेखिएको एउटै मात्र कथा हो गुम्सिएका आँसु । कथावस्तु म पात्रकै अन्तर्मनको खुलदुलीलाई कोट्याउँदै अघि बढेको छ । म पात्र अर्थात् रानी भेन्सर स्कुलको मास्टरकी पत्नी भए तापनि अकालमै विधवा बन्नुपऱ्यो । बनीबुताबाट जीवन धाउने क्रममा आफू अशिक्षित भए पनि छोरीको पढाइ सुनेकै भरमा आफ्नो ज्ञान अर्जन सँगै छोरीलाई पुनःपाठका कुरा सिकाउने कार्यले कथालाई नयाँ ऊर्जा दिएको छ । यसरी म पात्रले कठोर सङ्ग्राममा जीवन डोऱ्याएको कारणले कथा भावादर्शमा नगएर यथार्थवादी बन्न पुग्यो ।
त्यो पीपल कथामा प्रचुर मातृप्रेम झल्किएको छ । कथाले जन्मदात्री आमा र जन्मस्थान दुवैलाई बराबर महत्त्व दिएको छ । प्रथम पुरुष शैलीमा वर्णन गरिएको यो कथा म पात्रकै अन्तर्मनका व्यथा, आशा, निराशालाई खोतल्दै अघि बढेको एक सम्झना । पीपलको बोटलाई जमघटको केन्द्रस्थल, सभ्यताको आधार, रूखको राजासरह र हाम्रो जातिको आस्थाको प्रतीक पनि मानिन्छ तर त्यस रूखलाई काटेर `वन संरक्षण कार्यालय’को भवन निर्माण गरिएको दृश्याङ्कनले वन संरक्षण विभाग,प्रशाषण मात्र नभएर आजको समग्र मानव सभ्यतालाई नै गरिएको छ तीव्र व्यङ्ग्यप्रहार ।
प्रचुर मानवताबोध भावना छचल्किएको किनॽ के भनौँ कथा छ बर्से असम आन्दोलनको पृष्ठभूमिमा तयार गरिएको । दानवताका सामु मानवताको स्खलनलाई पारदर्शी दृष्टिले यस कथामा वर्णन गर्नु कथाकारको दक्षता झल्काउँछ । एक समूहमा अकस्मात् उब्जिएको उग्र जातीयतावादी विचारधाराले जन्माएको हिंसा र यसको सिकार भएकाहरूको करुण दृश्यावली कथाले छर्लङ्याउन सक्नु यसको विशेषता हो । कथाको अधिकांश भाग म पात्रकै भावनामा गुजुल्टिए पनि अन्तिममा कथा वर्णनात्मक भन्दा दृश्यत्मकझैँ देखिन्छ ।
यसरी हेर्दा यी अठारमा प्रायः सबै कथाले ग्रामीण गरिब वर्गकै विषयवस्तु समेटेर अन्योलावस्थामै टुड्याएको भए पनि कथाकारले चतुर्याइँका साथ निर्णयको भार पाठक वर्गमै सुम्पेको देखिन्छ । कथाहरू छोटा र छरिता साथै एक बसाइमा पढेर सकिने खालका छन् । सुरुदेखि नै पात्रहरूका अन्तर्मनमा विषयवस्तु गुजुल्टिएर मानसिक परिवेश दर्साउँदै कथा अघि बढ्छ र निचोडमा कथानायकको अन्तर्द्वन्द्वमा कथा टुङ्गिन्छ । विवरणात्मक र प्रतीकात्मक शैली कथाहरूमा नदेखिए पनि चरित्रहरूको नामकरण प्रतीकात्मक रूपमा (जस्तै- जीवन र प्रेरणा, सत्य र शान्ति आदि) गरिएको हुनाले कथा हुन पुगेको छ चखिलो साथै रसिलो पनि तर पात्रहरू नियतिसँग आश्रित (गौरीजस्ता दुई-एक पात्रबाहेक) हुनाले कथावस्तु अपरिवर्तनीय हुनका साथै टुङ्गिएको छ एकैखाले परिणाममा । एकाध पात्रहरू ( म पात्र-अर्को बिहान, उमा दिदी उमा दिदी कथा, गौरी गौरी कथा, म पात्र गुम्सिएका आँसु) ले आफ्नै सक्रियतामा कारण नियतिका अघि शिर ननिहुऱ्याईकन कथावस्तुलाई मोड दिँदै आशाको किरण देखाएका छन् । क्रियाशील पात्रका रूपमा गौरी कथाकी गौरीलाई पाउँछौँ । ऊ चलाक छे त्यसैले सासूको अन्यायलाई पुर्पुराको लेखान्त नभनेर माइत आउँछे आफ्नै खुट्टामा उभिएर प्रतिशोध लिने विचारमा ।
दुई पाटा, शान्तिको परेवा र बक्सिस यी तीन कथाबाहेक अरू सबै कथाहरूको वर्णन प्रथम पुरुष शैलीमा देखिन्छ । चरित्रहरू दीन, दुःखी र गरिब । शिक्षा भए पनि निष्प्राणझैँ । दीनदशाकै भर पर्ने, थिचिएका, मिचिएका । पुरुषका तुलनामा नारीहरू दयनीय अवस्थामा भए पनि नारीलाई नारीबाटै गरिएको छ शोषण ।
विस्मृतिको अँध्यारोभित्रका कथाहरू सबै ग्रामीण परिवेशमै रुमल्लिएका भए पनि ग्रामीण सांस्कृतिक पक्षलाई दृश्याङ्कन गरिएको पाइँदैन । कथामा ग्रामीण आर्थिक शङ्कट र यसले उब्जाएका सुस्केराहरूमा शिक्षित अशिक्षित सबै वर्गका चरित्रहरू आर्थिक अवस्थाकै कारण निराशा र हतासमा भोगेका देखिन्छन् । वाक्यहरू सरल र सरस छन् । ठाउँ-ठाउँमा गरिएको उखान-तुक्काको प्रयोगले वाक्यलाई रसात्मक बनाएको छ । नाटकीय संवादको प्रयोगले कथामा प्राण दिएझैँ देखिन्छ । विभक्ति छुट्याएर लेख्नाले केही वाक्यको अर्थ खुलाउन गाह्रो भएझैँ देखिन्छ तापनि विस्मृतिको अँध्यारोभित्रका कथाहरू नेपाली कथासाहित्यमा दर्बिलो जग बसाउन सक्षम देखिन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।