देशकै अत्यन्त प्राकृतिक अनि रमणीय वातावरण भएको गाउँ हो हिमालकोट । गाउँको माथिल्लो थुम्को जहाँ जीवन नेपालको घर छ । सूर्यको किरणले गाउँमा पहिला हाजिर त्यहीँ जीवनकै घरमा जनाँउछ । हिमालको पूरा मुस्कान हेर्न गाउँका जनहरू जीवनका बाउको दुई रोपनीको थुम्कामा नआई सुखै छैन ।
पहाडको थुम्काबाट नै जीवनले बाल्यकालदेखि चारैतिर बराबर नजर लगाएको थियो । घरमा भएका धार्मिक पुस्तकहरू पूजा गर्दै ढोग्दै, उसले घरमा नै सामान्य अक्षरसँग परिचय गरेको थियो । विद्यालय भर्ना भएपछि उसले स्कुलले सिँढीहरू पनि क्रमशः पार गरिरहेको थियो । गाउँमा उपलब्ध शिक्षा लिइसकेपछि, जीवन लाग्यो विश्वविद्यालयको शिक्षाका लागि पश्चिम नगरतिर ।
फरक वातावरणमा सुरु भयो, उसको उच्च शिक्षाको अध्ययन । बोल्ने गफ गर्ने साथीहरूको कमीका दिनहरू व्यतीत गर्न उसलाई कठिन भएको थियो । डेराको बसाइ चार पर्खालभित्र रमाउनुपर्ने अवस्था । सम्झन्थो घरभित्र बिहानै उठाउने आउने सूर्यको किरण र घरभित्रबाटै देखिने हिमालको सदाबहार मुस्कान ।
अपर्झट एक दिन कोठाभित्र प्रवेश गरिन् कलेजकी एक छात्रा र परिचय दिँदै भनिन्, “म साथी शर्मा विद्यार्थी सङ्गठनमा काम गर्छु, हामी त जिल्लावासी रहेछौँ । संयोगले एउटै कलेज, एउटै घरमा पो परिएछ है ।”
जीवन दङ्गदास पऱ्यो, चिन्नु न जान्नु यति राम्री सुन्दरी कोठामा !
साथी – “तपाईँ घर हिमालकोट होइन ?”
जीवन – “हो, हजुरको ।”
साथी – “मेरो त दक्षिणी भेग नि बेँसीटार । म पहिलेदेखि यहीँ बसेर पढेकी, तपाईँहरूजस्तो गाउँबाट आउनुभएका धेरै साथीहरूलाई सहयोग गर्छौँ हामी । केही भए भन्नुहोला ! हरदम तपाईँको साथमा छौ हामी । बाई……… ”
राजनीति अलिअलि बुझेको ऊ, साथी शर्मा बाहिर गएपछि ऊ फेरि दङ्गदास पऱ्यो । आफ्नै जिल्लाको केटी विद्यार्थीको नेता । लाल सलाम र जय नेपाल केही पनि भन्दैन । विद्यार्थी सङ्गठनको नाम त भन्नुपर्ने, त्यो पनि भनिन । उसले दिमाग पुऱ्यायो कलेजमा परिचय कार्यक्रमको दिनमा, कलेजमा उसले जिल्लाको सरकारी विद्यालयबाट उच्च अङ्क ल्याउने ऊ ।
हिजो मात्रै किनेको चम्किलो ऐनामा अनुहार हेर्दै भन्छ –“ म पनि नि हिरो छु नि ! सायद यो केटीले त्यहीँ कलेजमा देखेको हुनुपर्छ । अब त केही गफ गर्नुपर्छ, यसले त हरदम साथमा छौ भन्छे । नाम पनि साथी शर्मा कस्तो हो । ”
एक दिन ढोकाबाट आवाज आयो– “हेलो जीवन कलेज जाने होइन ?”
कपाल लर्काउँदै गरेको जीवन दङ्ग परेर ढोका खोल्यो । जवानीमा हल्का शृङ्गारसहितकी साथीलाई देखेर हेरेको हेऱ्यै भयो ।
–“कपाल धेरै नलर्काऊ केटीहरू पछि लाग्लान् है ! ख्याल गर पढ्न आएको मान्छे ! हामी केटीहरू त अलिअलि मेकअफ गर्न परिगो ।”
लजालु पाराले साथीका साथ ऊ कलेज पुग्यो, मुस्किलले दश मिनेटको बाटामा जीवन चार शब्द बोल्यो होला । त्यसबाहेक साथीका कुरामा टाउको हल्लायो ।
कलेजको गेटमा पुगेपछि जीवनले भन्यो– “हजुरको कुन सेक्सन हो ?”–“मेरो र तिम्रो एउटै सेक्सन हो नि लाटा ! अब मलाई हजुर नभन है ! तिमी कक्षामा जाँदै गर, म सङ्गठनको अफिसमा गएर आउँछु । ”
म कसरी लाटो ? अझ हजुर नभन भन्छे । नेता भन्दैमा बाठी पल्टेकी ।….सोच्दै कक्षाको अन्तिममा रहेको खाली बेञ्चमा गएर जीवन बस्यो । विद्यार्थी थपिएसँगै दुई जना केटासाथीहरू आएर जीवनसँगै बसे । दुवै नयाँ केही बोलचाल भएन ।
कक्षा सुरु गर्ने प्राध्यापकसँग भित्र प्रवेश गरिन् साथी शर्मा हलो हलोको आवाजमा सबैलाई हात हल्लाउँदै हाँस्दै उनी गएर बसिन् जीवनको छेउमा । हाम्रो गाउँलेसित बस्नुपऱ्यो, साथीको बेन्चमा बस्दाको शब्द हो यो ।
त्यो दिनको पैँतालीस मिनेटको समय जीवनले पैँतालीस दिन झैँ लाग्यो । कापीमा कुनै शब्द पनि लेखेन, सरले भनेको कुनै शब्दहरू पनि सुनेन । उसले आफ्नो मुटुको धड्कनबाहेक अरू केही चाल पाएन । दोस्रो पिरियड नपढी कोठामा जाने सोचका साथ जीवन बेन्चबाट उठ्ने विचारमा निश्चित थियो । दायाँतिरबाट जीवनको काँधमा हात राख्दै साथी शर्मा उठेर भनिन्– “ल सुनेर मात्रै कलेजको पढाइ हुँदैन, नोट पनि बनाउन पर्छ है जीवन ! म अब बाहिर जान्छु, प्रमुख सरसँग वार्ता गर्नु छ पढाइका बारेमा । नोट बनाउने तरिकाले लेख्नू है, म त तिम्रो नोट पढ्ने हो, हामी त विद्यार्थीका कामले गर्दा पढ्न भ्याइँदैन ।”
कलेजको पढाइ सकिसकेपछि कोठामा खाना बनाउँदै सोच्यो, म गाउँमा नोटहरू बनाएर पढ्नेलाई बडो यो नेताले नोट बनाएर पढ भनेर सुझाव दिन्छे !
प्रथम वर्षको परीक्षा नजिकै आयो । कपाल लर्काएर हिँड्ने, बाहिर कम बोल्ने तर पढिरहने जीवनको दैनिकी थियो । यस अवधिमा उसको र साथीको सम्बन्ध निकै अगाडि बढिसकेको थियो । पश्चिम नगरका हलमा लागेका नयाँ सिनेमाहरू कम्तीमा दुईपटक उनीहरूले नहेरेको सायदै भएनन् होला । पश्चिम नगरको दायाँबायाँका घुम्न लायक ठाउँहरू पनि बाँकी भएनन् । हुदाँ–हुँदा उनीहरूको मायाँको योजनामा घरपरिवार मात्रै होइन देश चलाउनेसम्मका कुरा हुन्थे ।
परीक्षाको तयारी पनि जीवन र साथी शर्माले सँगै गरे । साथीले भन्थिन्, “फेल भए त बर्बाद हुन्छ नि !”
जीवनले आफ्नो नोट जति साथीलाई दिन्थ्यो । त्योभन्दा बढी साथीले जीवनको नोटका गल्ती सुधार गरिदिने गर्थिन् ।
तोकिएको समयमा कलेजको दुई वर्षको पढाइ पूरा भयो । नतिजा राम्रो आयो । कलेजमा टप गर्ने पहिला विद्यार्थी जीवन नेपाल भयो । छात्रातर्फबाट साथी शर्मा भइन् । जीवनको विषयमा त कसैले प्रश्न उठाएनन् तर पूरा पिरिएड नपढ्ने त्यो नेता केटीले कसरी टप गरी ?…. । सबै अचम्मित भए । विभिन्न विद्यार्थीका विभिन्न तर्क आए । यसैबिचमा एउटा तर्क आयो, “त्यो जीवने जुल्फेले त सधैँ नेतालाई पढाउँदो रहेछ नि !” अर्काले भन्यो– “आफ्नो छायालाई नपढाएर के गरोस् ।” अर्काले भन्यो– “धेरै बाठी छे यार त्यो केटी ।”
परिवारको सल्लाहअनुसार जीवन स्नातक अध्ययनका लागि राजधानीतर्फ लाग्यो तर साथी चाहिँ परिवारको सल्लाहमा आफ्नो विद्यार्थी राजनीतिको भविष्य त्यहीँ नै खोजिन ।
रात्रिबसमा जीवनलाई बिदा गर्दै भनिन्– “राम्रोसँग पढ्नू, देशका लागि धेरै गर्नु छ, कलेजमा तिम्रो नामको एक जना पूर्वतिरको विद्यार्थी नेता हुनुहुन्छ, मैले भनिदिएको छु, केही परे भन ल, नबिर्स नि !”
राजधानीको केन्द्रीय क्याम्पसमा जीवनको अध्ययन बढ्दै थियो । ऊ पूर्वेली जीवन नेपालीलाई कहिलेकाहीँ भेट्थ्यो, अझ छात्रवृत्तिको समयमा बढी भेट्ने गर्थे । पूर्वेली “मेरो जीवन मीतज्यू” भन्दै अरूसँग परिचय गराउँथ्यो, नाम एउटै, उहाँ नेपाल म नेपाली । हाम्रो पश्चिम बहुमुखी क्याम्पसको स्ववियु सभापति साथी शर्माको साथी अनि गाउँले पनि हो उहाँ ।”
क्याम्पसमा हुने विद्यार्थी कार्यक्रममा आंशिक उपस्थिति हुने गर्थ्यो जीवन । उसलाई प्रायः निमन्त्रणा पूर्वेली जीवनबाट नै आउँथ्यो । गाउँमा शिक्षक हुने सपना बोकेको जीवन नेपालले केन्द्रीय क्याम्पसमा आएपछि लोकसेवाको जाँच दिई स्नातक सक्दा नसक्दै नेपाल सरकारको बेरोजगार मन्त्रालयमा नायव सुब्बामा नाम निकाल्यो । पूर्वेली जीवन लगायत केही साथीहरूलाई खुसीयालीको भोज पनि खुवायो ।
स्नातकोत्तरको पढाइ सुरु हुन अगावै साथी शर्मा राजधानी आइन् । जीवन नेपाललाई उसको मन्त्रालय पुगेर बधाई दिइन् । कार्यालय समयपछि फर्कने समयमा भनिन्– “खै मलाई विशेष भोज कहिले हो ।” जीवन भन्छ “तिमीलाई ३६५ दिनै भोज नि साथी ।” वाह! डियर वाह!
स्नातकोत्तर पढाइमा त्रिभुजका तीन कोण थिए जीवन नेपाल, साथी शर्मा र जीवन नेपाली । आआफ्नो सुरमा थिए तिनै जना । जागिर एक नियमित ड्युटी थियो जीवन नेपालको । जीवन नेपाली र साथी शर्मा राजनीतिमा नै आफ्नो भविष्य खोज्दै थिए ।
जीवन नेपालले नेपाल सरकारको अधिकृतमा नाम निकाल्यो । नियुक्ति भयो दुर्गम विकास मन्त्रालयमा । कामका लागि खटियो “क” वर्गको कार्यालयमा । जीवन नेपाली र साथीसँग विदा भई ऊ लाग्यो कार्यालय तिर ।
जीवन नेपाली र साथी शर्मासँग उसको सम्पर्क केही पातलिँदै गयो । दुई वर्षपछि त नयाँ वर्ष र विजया दशमीमा शुभकामनाबाहेक अन्य समयमा जीवन र साथीसँग उसको सम्पर्क पूरै टुट्यो । यता जीवन नेपाली र साथी शर्माको विद्यार्थी राजनीतिसँगै मायाँमा पनि एकाकार भइरहेका थिए ।
तराईका जिल्लामा मात्र सरुवा भइरहेको, दश वर्षसम्म पनि बढुवा नभएको रन्कोमा थियो जीवन नेपाल । यसैबिचमा सरकारले राष्ट्रिय अन्तर्जातीय आयोगको प्रमुखमा नियुक्ति गऱ्यो साथी शर्मालाई । यो बिचमा पूर्वेली जीवन नेपाली र साथी शर्माले केन्द्रीय नेताहरू साक्षी राखी आधुनिक विवाह गरेका थिए । यता जीवन नेपाल पनि जागिरे एक कर्मचारीसँग विवाहबन्धन बाँधिएको थियो ।
पूर्वेली जीवन केही समयदेखि नै शक्तिशाली मन्त्रीको स्वकीय सचिवका रूपमा कार्यरत थिए । बढुवाका लागि दुर्गममा नम्बर लिन, सरुवाका लागि भनसुन र पुरानो साथी भनौँ वा मनको साथीलाई बधाई दिन साथी शर्माकोमा हिँड्यो जीवन नेपाल ।
साथी शर्मालाई बधाई दिनेहरूभन्दा पदलाई चाकडी गर्नेहरूको भिड थियो । पुग्यो जीवन नेपाल पनि । गेटभित्र छिर्नासाथ साथीले देखिन् जीवनलाई र हात फैलाउँदै भनिन्– “जीवन तिमी नेपालमै छौ ?”
जीवन मुस्कुरायो । क्रमशः बधाई दिनेको समूह घटिरह्यो परिवारका सदस्यबाहेक जीवनमात्रै भयो त्यहाँ । उनीहरूबिच विगतदेखिका निकै गफ चलिरहे, सम्पर्कविहीन एक दशकको आरोप प्रत्यारोपमा कुरा चल्यो ।
जीवन – “तिमीले पहिले बिहे गऱ्यौ नि थाहै नदिएर । ”
साथी – “होइन तिमी हो नि ! मैले त कुरेकी थिएँ नि, तिमीलाई कसम !”
जीवन – “तिमी बेइमानी नि ! पहिला बिहे गर्ने अनि कसम खाने है, धोकेबाज नै हो तिमी । ”
साथी – “होइन होइन तिमी धोकेबाज ।”
दुवैको लामो दोहोरी चलिरहेकै बखत भित्रबाट साथी शर्माको छोरीले भनिन् –“मामुबाबाको फोन आयो । ”
फोन उठाउँदै साथीले भनिन्– “छिटो घर आउनुस् ! जीवन आएका छन् तपाईँलाई भेट्न ।”
उताबाट आवाज आयो –“को जीवन ?”
मेरो गाउँको साथी क्या ! तपाईँको मित !
–“ए हो र ल ल गफगाफ गर्दै गर न म आइहाल्छु ।”
फोन राखेर आइन्, “तिम्रो प्रगति सुनाऊ त जीवन ! घरघडेरी के कति बनायौ ? ..कर्मचारीलाई त मालामाल छ नि हो !”
निराशाको स्वरमा बोल्यो जीवन– “के को प्रगति हुनु ! एउटा बुकुरो चोकमा जीवन कमप्लेक्स छ । नगरतिर चार ओटा घडेरी छन्, बर्बाद छ, केही कमाउन सकिएन ।… तिमीहरूको के छ नि ? दुवै जना राजनीतिमा ! गाह्रोसाह्रो के छ कुन्नि ?”
“के हुनु र ! यो दुई रोपनी जमिन हो हाम्रो । जीवनसाथी उपचार कलेज छ । प्रदेशका राजधानी पूर्वीनगर र पश्चिमनगरमा दश बिघा प्लटिङ गरेका छौँ । काठमाडौँ पनि अलिअलि घडेरीहरू छन् बरु तिमीलाई कतै चाहिन्छ भने भन है !” साथी शर्माले प्रगतिविवरण सुनाइन् ।
दुवै जनाको जागिर छैन, कसरी कमाउँछन् हो मान्छेले राजनीति गरेर ?…जीवनले मनमनै सोच्यो तर बोली फुटेन ।
साथी पनि सोच्दै थिइन् यो सरकारी कर्मचारीले कति कमाएका हुन् ?
जीवन र साथीले एकआपसमा हेराहेर गरिरहे । दशक पहिला पश्चिम नगरमा जुधे जसरी आखाँ जुधे । फरक यत्ति थियो त्यस बेला आखाँ जुधेर मायाँ बसेको थियो । अहिले आखाँ जुधेर, दुवैको आँखा-आँखामा देखिन्थ्यो देशको चित्र ।
मल्लरानी ३ प्युठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।