एकअर्काको विचार आदानप्रदान तथा सूचना प्रवाह गर्ने प्रमुख माध्यम भाषा हो । लिखित रूपमा विचार प्रवाह गर्दा लिपिको आवश्यकता पर्छ । मौखिक रूपमा प्रवाह गर्दा ध्वनिको खाँचो पर्छ । भाषाविना विचार प्रवाह अपूर्ण हुन्छ । भाषालाई समाजमा प्रयोग गरिने हुनाले यसलाई सामाजिक वस्तु मानिन्छ । चराचर जगत्‌का जीव जीवात्माले पनि केही न केही सङ्केत र ध्वनिको माध्यमले सूचना प्रवाह गर्छन् । प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक मानिन्छ । पछि त्यही वाचक नै रूढ बन्छ । नेपाली भाषालाई सुरुमा पर्वते भाषा, खस भाषा, गोर्खाली भाषाले चिनिन्थ्यो । खस भाषा र थारू भाषा दुवै भारोपेली भाषा परिवार अन्तर्गतका भाषा हुन् । नेपालमा जातीय विविधता छ । त्यहीअनुसार भाषामा पनि विविधता हुने नै भयो । एउटै जाति र समूहभित्रको भाषामा पनि ठाउँअनुसार फरक भेद हुन्छन् । यही भेदलाई भाषिका भनिन्छ । थारू समुदाय नेपालको सबै जिल्लामा छरिएर बसेका छन् । तराईका जिल्लामा सघन बसोबास छ तर काम विशेषले सबै जिल्लामा थारू पुगेको तथ्याङ्क देखिन्छ ।

लक्की चौधरी

पश्चिमदेखि पूर्वी तराईका जिल्लामा छरिएर रहेका थारूको भाषा विभिन्न भाषाको प्रभावमा पर्दै गएको छ । चितवन पश्चिमको थारू भाषा अवधि, हिन्दी, खस नेपालीको प्रभावमा पर्दै गएको छ । चितवन पूर्वका थारू भाषा भोजपुरी, मैथिलीको प्रभावमा छ । त्यसकारण थारू भाषाको भेद फरक छ । पश्चिमका थारूले पूर्वी थारूले बोलेको भाषा हुबहु फर्काउन सक्दैनन् । बुझ्न भने प्रायः सबै बुझ्छन् । पश्चिमको बोलीमा पूर्वी थारूले फर्काउन नसक्नु, मध्ये चितवनियाँ भाषालाई पश्चिम र पूर्वी दुवै क्षेत्रका थारूले फर्काउन नसक्नुको मुख्य कारण यही भेद हो । यही भेदका कारण दङ्गौरा, कठरिया, देशौरिया, नवलपुरिया, लालपुरिया, चितवनियाँ, कोचिला, सप्तरिया, मोरङिया नाम पर्न गएको हो ।

२०६८ को जनगणनाले थारूको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० देखाएको छ । जसमध्ये १५ लाख २९ हजार ८७५ ले थारू मातृभाषा बोल्छन् । वक्ता र जनसङ्ख्या दुवै हिसाबले थारू भाषा नेपालको चौथो ठूलो भाषा हो तर यस भाषाको लिपिको पहिचान अझै हुन सकेको छैन । थारू भाषीहरूले लिपिको खोजीकार्य जारी राखे पनि टुङ्गोमा पुग्न सकेका छैनन् । त्यसैले थारू भाषीलाई देवनागरी लिपिको प्रयोग गर्नुको विकल्प रहेन ।

मानक भाषा

भाषाका दुई रूप हुन्छन् लेख्य र कथ्य । बोलचालमा मात्र प्रयोग हुने भाषा कथ्य हो भने लिपिको माध्यमबाट लेखनमा प्रयोग गरिने भाषा लेख्य भाषा हो । मानक भाषा भनेको लेख्य भाषा हो । जसको निश्चित व्याकरण र लेख्य नियम बनेको हुन्छ । सरकारी कामकाजको भाषा, सञ्चारमाध्यममा प्रयोग गरिने तथा पाठ्यक्रममा पठनपाठनका रूपमा प्रयोग हुने भाषा नै मानक भाषा हो । मानक भाषालाई सर्वस्वीकार्य र सर्वमान्य भाषाका रूपमा परिभाषित गरिने गरिन्छ तर शतप्रतिशत स्वीकार्य भने भएको देखिँदैन । अहिले प्रयोगमा रहेको न अङ्ग्रेजी भाषा सर्वस्वीकार्य बन्न सकेको छ न त नेपाली तर एउटा नियममा लिपिबद्ध गरिएकाले स्वीकार्य भाषाको स्थान बनाएको छ । सरकारी कामकाजमा प्रयोग हुने मानक भाषालाई नै शुद्ध र सङ्ग्रहणीय भाषाको रूपमा स्विकारिन्छ । जसरी अहिले खस नेपाली भाषालाई स्वीकार गरिएको छ । भाषालाई सुव्यवस्थित, अनुशासित र नियमबद्ध बनाउने काम व्याकरणको हो । त्यसैले मानक भाषा बन्न व्याकरण र शब्दकोश अनिवार्य मानिन्छ । व्याकरण व्यवस्था अन्तर्गत सो भाषाको ध्वनि, वर्ण, शब्द, रूप, पदावली र वाक्य पर्छन् । रूप सबैभन्दा सानो एकाइ हो भने वाक्य सबैभन्दा ठूलो एकाइ हो ।

मानकीकरणका लागि भाषाको शब्दभण्डार पनि त्यति नै अनिवार्य हुन्छ । विनाशब्दभण्डार भाषालाई सुव्यवस्थित बनाउन सकिँदैन । जुन भाषाको शब्दभण्डार जति बलियो हुन्छ, त्यो भाषा त्यति नै समुन्नत मानिन्छ । समुदायको आफ्नै मौलिक शब्दले मात्र शब्दभण्डार पूर्ण हुँदैन । त्यसलाई पूर्ण र व्यावहारिक बनाउन मौलिक, आगन्तुक शब्दको समिश्रण गर्नैपर्छ । जुनसुकै भाषामा आगन्तुक शब्दलाई स्वीकार गरिएको हुन्छ । विभिन्न भाषाको समिश्रणकै कारण अङ्ग्रेजी र नेपाली भाषा समृद्ध भएका हुन् । पर्याप्त शब्दभण्डारकै सहयोगले कुनै पनि भाषाले उचाइ लिन्छ ।

थारू वर्ण निर्धारण

लेखन साहित्यमा थारू भाषाको प्रयोग निकै अघिदेखि भएको हो । त्योभन्दा अघि कथ्य रूपमा भाषा प्रयोग भएको हो तर वर्ण निर्धारणको काम निकै ढिलो भयो । त्यो पनि क्षेत्रगत रूपमा । एउटा समूहले चितवन पूर्वमा बोलिने मध्यपूर्वीय थारूको वर्ण निर्धारण गर्‍यो । अर्को समूहले चितवन पश्चिममा बोलिने दङ्गौरा थारू भाषाको वर्ण निर्धारण । एउटै भाषिक समूहभित्र फरक-फरक वर्ण निर्धारण हुन थालेपछि थारूबीच नै फुट हुने डर भयो । त्यहीकारण थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस) ले आफ्नो पहलमा पूर्व र पश्चिमका थारू समुदायलाई जोड्ने गरी अर्को साझा वर्ण निर्धारण गर्‍यो ।

मध्यपूर्वीय थारू भाषा लेखन शैली निर्धारण गर्न चितवन पूर्वका १२ जिल्लाका थारूको सक्रियता रहेको थियो । २०७० चैत २४ देखि २०७१ वैशाख ४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको गोष्ठीले पूर्वीय थारू भाषाको वर्ण निधारण गरेको थियो । सो गोष्ठीले गरेको निणर्यमा आठ वटा स्वर वर्ण र ३० वटा व्यञ्जन वर्ण निर्धारण गरेको थियो ।

पूर्वीय थारू भाषा वर्ण निर्धारण

स्वर वर्ण- अ, आ, इ, उ, ए, ऐ, ओ, औ ।

व्यञ्जन वर्ण- क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह ।

पश्चिमको दङ्गौरा थारूको वर्ण निर्धारण गर्दा पश्चिमका केही थारू मात्र सहभागी भएर प्रस्तावित वर्ण निर्धारण गरेका थिए । २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा भएको गोष्ठीले सो निणर्य गरेको थियो । गोष्ठीले ६ वटा नासिक्य र ६ वटा अनुनासिक गरी १२ वटा स्वर वर्ण निर्धारण गरेको थियो । त्यस्तै ३० वटा व्यञ्जन वर्ण निर्धारण गरेको थियो ।

दङ्गौरा भाषा वर्ण निर्धारण

स्वर वर्ण- अ, आ, इ, उ, ए, ओ

अँ, आँ, इँ, उँ, एँ, ओँ

 

व्यञ्जन वर्ण-

क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, न, न्ह, प, फ, ब, भ, म, म्ह, य, र, र्ह, ल, ल्ह, व, व्ह, स, ह ।

थारू कल्याणकारिणी सभा (थाकस) अन्तर्गत गठित थारू मानक भाषा मस्यौदा समिति र थारू आयोगको संयुक्त आयोजनामा चार दिने संयुक्त गोष्ठी भक्तपुरको बोडेमा सम्पन्न भयो । २०७८ साउन ३१ देखि भदौ २ गतेसम्म भएको कार्यशाला गोष्ठीमा थारू बहुल २४ जिल्लाका थारू भाषा विज्ञ, अगुवाहरूको सहभागिता थियो । गोष्ठीले स्वर वर्णको कथ्यमा ६ वटा वर्ण र लेख्यमा १३ वटा स्वर वर्णको निर्धारण गरेको छ । त्यस्तै व्यञ्जन वर्णको कथ्यमा २९ वटा वर्ण र लेख्यमा ३६ वटै वर्णको प्रयोग गर्ने निणर्य गर्‍यो ।

संयुक्त गोष्ठीले गरेको वर्ण निर्धारण

स्वर वर्ण-

कथ्य-    अ, आ, इ, उ, ए, ओ

लेख्य-    अ, आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, अं, अः

व्यञ्जन वर्ण-

कथ्य-    क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वर्ण ।

लेख्य-    क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्ण तर छायामा पारिएको वणलाई आवश्यकताअनुसार प्रयोग गर्ने ।

पश्चिमका थारूले मौलिक शब्दमा दन्त्य त वर्गको वर्ण त, थ, द, ध प्रयोग नगर्ने निणर्य लिए तर पश्चिमकै कठरिया थारूले, मध्य तथा पूर्वीय थारूले मौलिक शब्दमा त वर्गका त, थ, द, ध वर्ण प्रयोग गर्ने निणर्य लिए । सोहीअनुसार श, ष, क्ष, त्र, ज्ञ वर्णको पनि आवश्यकताअनुसार प्रयोग गर्ने निणर्य गरे । पश्चिमका थारूले श, ष, क्ष, त्र, ज्ञ को प्रयोग नगर्ने निणर्य लिए तर पश्चिमको कठरिया, मध्य तथा पूर्वीय थारूले श, ष प्रयोग मौलिक शब्दमा नभए पनि क्ष, त्र, ज्ञ को प्रयोग गर्ने गरेको निणर्य लिए । आगन्तुक शब्दमा छायामा पारेका सबै वर्णको प्रयोग गर्ने निणर्य लिएका छन् ।

त्यस्तै भेलाले अर्को महत्त्वपूर्ण निणर्य गर्‍यो । थारू भाषाको आफ्नो मौलिक लिपिको फेला परिनसकेकाले मानकीकरणमा देवनागरी लिपिको प्रयोग गर्ने र थारू लिपि खोज अनुसन्धान गर्ने प्रयासलाई जारी राख्ने निणर्य लियो ।

संयुक्त भेलाले ७ वटा संवर्णको प्रयोग गर्ने निणर्य पनि लियो । संवर्णको रूपमा ड़, ढ़, ङ्ह, न्ह, म्ह, र्ह, ल्ह गरी ७ वटा वर्णको प्रयोग गर्ने निणर्य लियो । सोहीअनुसार तत्सम, तद्भव र आगन्तुक शब्दलाई स्वीकार गरी लेख्ने निणर्य गर्‍यो । त्यस्तै थारू मौलिक शब्दलाई उच्चारणको आधारमा ह्रस्व ( ि) र दीर्घ ( ी ) दुवैको प्रयोग गर्ने । पञ्चम वर्ण (ङ, ञ, ण, न, म) लाई देवनागरी लिपिमा भएअनुसार लेख्यमा स्वीकार गर्ने निणर्य पनि लियो । सोहीअनुसार अ, आ र उ उच्चारणबाट बन्ने शब्दमा चन्द्रविन्दु ( ँ ) को प्रयोग गर्ने । अन्यमा शिरविन्दू ( ं ) प्रयोग गर्ने निणर्य लियो । त्यस्तै, पाउ विन्दू, हलन्त र अजन्त चिह्नहरूको प्रयोग देवनागरीका आधारमा आवश्यकताअनुसार गर्ने निणर्य लियो ।

गोष्ठीले लिएको अन्य निणर्यहरूमा स, श र ष मध्ये थारू मौलिक शब्दमा ‘स’ वर्णको प्रयोग गर्ने । तत्सम र आगन्तुक शब्दहरूमा श र ष दुवै वर्णको प्रयोग गर्ने निणर्य लियो । त्यस्तै कारक र विभक्ति चिह्न शब्दसँग जोडेर लेख्ने । थारू मौलिक विभक्तिमा खातिर र लाग विभक्ति छुट्टै प्रयोग गर्न सकिने निणर्य लियो । सोहीअनुसार शब्दको सुरु र बीचमा ‘इकार’ का लागि ह्रस्व ( ि) चिह्नको प्रयोग गर्ने तर शब्दको अन्त्यमा ‘इकार’ का लागि दीर्घ ( ी ) प्रयोग गर्ने । त्यस्तै शब्दको सुरु र बीचमा ह्रस्व उकार ( ु ), अन्त्यमा दीर्घ ऊकार ( ू ) प्रयोग गर्ने निणर्य लियो ।

त्यस्तै थारू मौलिक शब्दमा ह्रस्व प्रयोग गर्ने । आगन्तुक शब्दमा स्रोतभाषाको लेखनप्रणालीअनुसार ह्रस्व र दीर्घ दुवै प्रयोग गर्ने ।     थारू मौलिक शब्दमा संयोजकको प्रयोग गर्दा काहेकि, तर, मने, मुले, काखरेकि, व, वा, ओ, तबमारे, ओह ओरसे, ओहमार, कि, तौनफे, वा, लेकिन, मनो, क्याम्की, टभुफे, नै टो, हे, तथा, आर, तयो, महज, ताकि, मतर, और, हसे, नै ते, तौन, तौना, फिर, काकरेकि, कणिलेकि, कथिलेत, जब, तब, वकिन, आ, अउर, मगर, अगर, स्वयम्मे, या त, तैयौ लगायत थारू समुदायमा प्रचलित संयोजकहरूको प्रयोग गर्ने निणर्य लियो । सोहीअनुसार संयुक्त क्रियापद जोडेर (पदयोग) लेख्ने तर आवश्यकताअनुसार पदवियोग गर्ने (छुट्याएर लेख्ने) पनि निणर्य लियो ।

निष्कर्ष

थारू भाषा मानकीकरणको प्रयास हुनु आफैँमा राम्रो पक्ष हो तर मानकीकरण गर्दा एउटा साझा थारू भाषाको मानकीकरण गर्नु नै प्रमुख उद्देश्य हो । यसले थारू समुदायलाई जोड्ने काम गर्छ । भाषाका कारण थारू समुदाय टुटफुटको अवस्थामा पुग्यो भने दूरगामी असर पर्छ । तेरो मेरो भावना जागृत गर्छ । त्यसैले पनि थाकसले लिएको संयुक्त प्रयास नै अहिलेका लागि सुझबुझपूर्ण प्रयास मान्न सकिन्छ ।

मानकीकरण गर्ने विषय भाषा वैज्ञानिक आधारमा गर्ने विषय त हो नै, सँगसँगै सामाजिक विषय पनि हो । समाजको चाहना, सहमति, मान्यता र इच्छाशक्तिका आधारमा मानकीकरण गर्नु नै श्रेष्ठकर हुन्छ । त्यसरी बनाइएको मानकको व्यावहारिक कार्यान्वयनमा पनि सहज हुन्छ । मानकीकरणमा समाजको सामाजिक, राजनीतिक, भौगोलिक, जनसाङ्ख्यिक र ऐतिहासिक पक्ष पनि जोडिएका हुन्छन् । मानकीकरण आफैँमा जटिल काम हो । यो चलिरहने प्रक्रिया पनि हो । एकपटक मानकीकरण गरिसकेपछि सबै काम सकियो भनेर मान्न सकिँदैन । यो समयअनुसार परिमार्जन हुँदै जान्छ । सर्वस्वीकार्य बनाउन नसके पनि बहुसङ्ख्यकलाई स्वीकार्य हुने गरी मानकीकरण गर्न सक्नु नै सफलता हो । थारू समुदायको भाषा मानकीकरणको प्रक्रिया जारी छ । यद्यपि वर्ण निर्धारण कार्यले लेखनशैलीको आधार भने तयार गरेको छ । वर्ण निर्धारण र त्यसको सामान्य सिद्धान्तसम्मको छलफल र सहमति बनेको छ । मानकीकरणका धेरै काम गर्न बाँकी छ । थारू समुदायका अगुवा, भाषाप्रेमी तथा बुद्धिजिवीले यस पक्षमा ध्यान दिन सक्नुपर्छ ।

थारू भाषा मानकीकरण गर्ने सवाल अनेक जिज्ञासा र प्रश्नले घेरिएको छ । कतिपयले बुझेर प्रश्न उठाएका छन्, कतिले नबुझेर । कतिले आफ्नो स्वार्थ र पहिचानका लागि प्रश्न उठाएका छन् । पश्चिमदेखि पूर्वसम्म थारू समुदायमा अनेक भेद (भाषिका) छ । सबैलाई आफ्नो जनजीब्राको भेद मन पर्छ । त्यसैलाई नै मानकीकरण गर्नुपर्छ भन्ने चासो हुनु अस्वाभाविक होइन तर थाकसले सबै भाषिकाको सम्मान हुने गरी बीचको बाटाबाट मानकीकरणको प्रयास थालेको छ । जनसङ्ख्याको हिसाबले चितवन पश्चिममा करिब बाह्र लाख थारूको जनसङ्ख्या छ । चितवन पूर्वमा करिब साढे ६ लाख थारू छन् । बहुसङ्ख्यक थारूले बोल्ने भाषिकालाई आधार मानेर मानकीकरण गर्न पनि सकिन्थ्यो तर थाकसले त्यसो गरेन । सबै ठाउँको भाषिकालाई सम्मान गर्ने ध्येयले बीचको बाटाबाट मानकीकरणको प्रयास थाल्यो । यसले केही चुनौती र जटिलता त ल्याउला तर सबैलाई स्वीकार्य हुने मानक बनेमात्र त्यसको व्यावहारिक प्रयोग सहज हुन्छ । थाकसको संयुक्त गोष्ठीमा २४ जिल्लाका थारूले साझा रूपमा छलफल गरी सर्वसम्मत रूपले बाह्र बुँदे प्रारम्भिक सहमति गरेका छन् । सो सहमतिले थारूको साझा वर्ण निर्धारणको काम फत्ते गरेको छ । मानकीकरणको बाँकी काम पनि यसैगरी सहज र सबैलाई स्वीकार्य हुनेगरी गर्न सकेमा थारू भाषा मानकीकरणको चुनौतीपूर्ण सवाल अवसरमा परिणत हुनेछ ।

(लेखक थाकस अन्तर्गत गठित थारू मानक भाषा मस्यौदा समितिका सचिव हुनुहुन्छ ।)