अन्नविनाको आजादीमा परिव्याप्त छ देश । अन्नको औलपौल भैदिएको भए वर्षको तीस अरबभन्दा बढी मुद्रा चामल किन्न अर्को मुलुकमा बाहिरिन्न थियो होला । अन्नविनाको आजादीले भातका लागि पराईको मुख ताक्ने भएको छ देश । देशमा युग-युगदेखि अनेकौँ आन्दोलन भए । अनेकौँ क्रान्ति भए । अनेकौँ विद्रोहका चक्रावातहरू उठे । अनेकौँ विप्लवी विगुलहरू गुन्जिए । आजादीका लागि उठेका ती आन्दोलनहरूले आजादी त ल्यायो । फोस्रो आजादी ल्यायो । मह काढ्ने मनुवाले काढ्न त काढे, अनेकौँ यत्नका साथ भिरमौरीको चाका तर ती चाकामा खान मिल्ने एक थोपो मह थिएन । फोस्रा चाका छन् डालाभरि । ती चाकाको कुनै उपादेयता छैन । कुनै अर्थ छैन । कुनै सार छैन । खालि मौरी काढियो भन्ने फोस्रो आडम्बरमात्र बाँकी छ । यस्तै-यस्तै अवस्थितिमा उभिएका छौँ हामी ।

पुण्य कार्की

फोस्रा चाकाहरूको अनन्त डङ्गुरहरूबीव एक-दुई भरिला चाका नभएका होइनन् तर ती चाकाहरू चपरचण्डालहरूले आफ्नो कब्जामा लिइसकेका छन् । सत्ताको सुस्वादु आसनमा उपरखुट्टी लगाएर अहोरात्र चुसिरहेछन् रसयुक्त चाकाहरू । भिरमा त्यत्रो कष्ट खेपेर अँखेटा कप्ने बितरा-जन रित्ताको रित्तै छन् । मह काढ्न गैँची-खन्ती चलाउने कर्मीहरू भोकभोकै छन् । बँधिया जोरजाम गर्ने र पुल्ठो सल्काउनेहरू नाङ्गानाङ्गै तड्पिरहेका छन् ।

समय-समयमा उठेका ती तमाम आजादी-आन्दोलनको अन्तरमा एक ठोस मक्सद थियो । आजादीको अर्थ केवल ट्याउँट्याउँ बोल्ने, कराउने र नारा लाउनेमात्र आजादी थिएन । आजादीको वास्तविक अर्थ त भोकबाट आजादी, रोगबाट आजादी, शोकबाट आजादी, अर्थात् सामग्रमा गरिबी र तमाम खाले विपन्नताबाट आजादी थियो तर त्यसले भोक, रोग र शोकबाट मुक्तिको आजादी दिन सकेन हामीलाई ।

हामीले अहिलेसम्म लडेको आजादी-आन्दोलनले रित्ता भाँडाहरूमा अन्न भर्न सकेन । नाङ्गा आङमा अस्कोट भिराउन सकेन । चीसो स्याँठले हिर्काएमा पाखुरामाथि बुस्कोट भिराउन सकेन । अनपढ ओठहरूमा अक्षर सिउरिन सकेन । भोको भुँडीमा आँटो पस्किन सकेन । अक्कर भिरमा गोडा चाल्नेलाई सुगम बाटो दिनसकेन । घरबारविहीनका लागि पाँचधुर माटो दिन सकेन । काम नहुनेलाई न काम दिन सक्यो न माम दिनसक्यो ।

नागरिक जनमा आशा थियो; अन्न र आजादी सँगसँगै आउछन् । अक्षर र आजादी सँगसँगै भित्रिन्छन् । अस्कोट र आजादी मुलुकमा सँगसँगै भित्रिरहन्छन् । ओत र आजादी परिपूरक बनेर आउँछन् तर यो कुरा अहिले सपनाजस्तो भो । आउन त आयो आजादी, त्यो एक्लैएक्लै आयो । न त्यसले अनाज ल्यायो न त्यसले अक्षर र ओखती ल्यायो न त्यसले ओत र अस्कोट ल्यायो । अनाजविनाको आजादीले भोका भुँडीहरूलाई अघाउन सकेको छैन । रोगी शरीरहरूलाई ओखती पिलाउन सकेको छैन । आज पनि सडकमा भोका भुँडीको जुलुस उठिरहेछ । शोकको शूलले मुटु घोचिरहेछ । रोगको घुनले शरीर जराजीर्ण पारिरहेछ । आजादी त छ केवल वाणीमा आजादी छ । शब्दमा आजादी छ । भाषाणमा आजादी छ । नारामा आजादी छ तर रासनको आजादी अझै दूरको सितारा बनेर टिमटिम बलिरहेछ आकाशमा ।

अखिल देशवासीका लागि सार्थक चिज मिल्न नसके पनि पनि केही थान टाढाबाठाका लागि, केही थान सुकिलामुकिलाहरूका लागि मनचिन्त्य झोली बनेर आएको छ आजादी । सीमित मान्छेको घेराबन्दीबीच जकडिएको छ आजादी किनभने यसले एकथरि केही थान मानिसलाई किस्ता-किस्तामा सत्ताको द्वारबाट भित्र छिराउँछ र औलधौल समृद्धि दिएर बाहिर निकाल्छ । फेरि अर्का थरी केही थानलाई सत्ताको हवेलीमा खुट्टा हल्लाउने बनाउँछ ।

फुटपाथमा रहुन्जेल हामी सत्तामा पुग्यौँ भने संसारै उल्टाइदिन्छौँ मार्काको गफ चुट्छन् । जब सत्ता पाएपछि आफैँ-आफैँ चुलिन, आफैँ मोटिन शक्तिको घोर दुरुपयोग गर्छन् । आफ्ना आसेपासे, भाइभतिजाको समृद्धिसिवाय अरूको समृद्धि फुट्टीभर देख्न पाइन्न । हिजो आँटो नपाउने ओठमा मार्सीका फुलासरि जुराइदियो यस आजादीले; हिजो हेटौँडे चट्टी टेक्ने गोडामा आज करोडका महल मर्सिडिज जुराइदियो यस आजादीले । सीमित मान्छेका लागि आएको यस आजादीमा आम गरिब, दुःखीहरूले आफ्नो सपनाको फूलबारी खोज्नु बचकना भूलमात्र हो ।

अनाजविनाको आजादीमा सयमा दश-पाँच मोटाएका होलान् । बाँकी हजार-हजार लाख-लाख वितराजन त सुकेनासले सुकिरहेछन् । सीमित वर्गलाई मिलेको यस आजादीमा मोटाए होलान; केही थान मानिसका भुँडी, लाखौँलाख भुँडीमा आज पनि भोक कराइरहेछ, शोक सुसाइरहेछ । हेर्दा छ्याङ्ग देखिने तस्वीर- यहाँ थोरै सुखसयलमा छन्, धेरै भन्दा धेरै सुखसयलबाट गयल छन् । मुठ्ठीभर मानिस चैनको बाँसुरी धुन अलमस्त सुनिरहेछन् । लाखौँलाख बेचैनीमा छन्, अभावमा छन्, अतृप्तिमा छन् । छन् अनिकालमा छन् । तिनलाई सहकाल दिने अनाज सहितको आजादी कहिल्यै आएन । आयो त केवल रित्तो ढ्वाङ्ग सुसाउँदै आयो फोस्रो आजादी ।

आजादीको आन्दोलनमा मरिजाने सहिदहरूको सपना यही थियो ? मुठ्ठीभर मनुवालाई स्वर्गीय सुख वैभवले सिँगार्ने; लाखौँलाख चाहिँ खानलाउन नपाई भोकभोकै मार्ने ? किमार्थ सहिदको सपना त्यस्तो थिएन । उनीहरू त सकल दुनियाँको सुखवैभवको कामनामा लडेका थिए, मरेका थिए । यस्तो तन्त्र र यस्तो थितिनीति आउँछ भन्ने जानेका भए किमार्थ आफूलाई बलिदानी गर्ने थिएनन्; यो कुरा पक्का हो । स्वयम् मरिजाने सहिदका लालाबालालाई पनि यस आजादीले न गाँसको व्यवस्था गर्न सकेको छ, न बासको व्यवस्था गर्न सकेको छ ।

आजादीको रङ्ग सुरुमा कति चहकिलो देखिएको थियो । कति सुन्दर र उज्यालो देखिएको थियो । त्यो चहकिलो रङ्ग समयक्रममा खुइलिँदै गयो, उड्दै गयो । आजादीको ज्योतिमय अनुहारमा फिक्कापन छाउन थाल्यो । फिक्कापन यसकारण छाउन थाल्यो, अझै पनि गाउँभरिको अनाज कुनै साहुको धन्सारमा कैद छ । अझै पनि किसानले कोदालो बजारेर उमारेको अन्न सहरी सेठको गोदाममा कैद छ । तालाचाबी उसकै हातमा छ । मोलतोलको तुलोतराजु उसकै हातमा कैद छ । किसानको पसिनामा सेठ र साहुकारकै रजगज चलिरहेको छ । श्रमिक किसानमाथि कामचोर वर्गको राइँदाइँ सनातन कालदेखि यथावत् छ । अहिलेको आजादीले त्यो राइँदाइँलाई अलिकति पनि तोडेको आभास काहीँ मिल्दैन ।

सच्चा आजादीले दिनुपर्थ्यो नागरिक जनका हातहातमा काम । दिनुपर्थ्यो सँच्चा आजादीले नागरिकजनका मुखमुखमा माम । काम त दिएको छ कोही खाली छैन तर विनामामको काम दिएको छ । यस आजादीले न नाम नहुनेलाई नाम दिएको छ, न पहिचानविहीन नागरिकलाई पहिचान दिएको छ । यो खोक्रो आजादीको, यो फोस्रो आजादीको यही पाराले हो भने यसको बचेखुचेको रङ्ग पनि केही समयमै उड्नेछ ।

सिर्फ भाषणको आजादीले केही हुनेवाला छैन । भुँडीमा अन्न छैन भने भाषण कहाँबाट आउँछ । भाषण र शासनको आधार अन्न हो, नागरिकका भुँडीमा अन्न पुर्‍याउन नसक्ने लोकतन्त्र के लोकतन्त्र ? मानिसको प्राथमिक आवश्यक तत्त्व खानेकुरा हो, अन्न हो । पेटमा अन्न पुगेपछि मात्र अन्य कुराहरू क्रमशः प्रकट हुँदै जान्छन् । पूरा हुँदै जान्छन् । यही प्राथमिक वस्तु अन्नको अभाव छ यस आजादीमा ।

एक थरी मनुवाहरू सात सालमै भरिलो आजादी ल्याउन राणातन्त्रको विरुद्ध आगो ओकल्दै उठे तर आयो खोक्रो आजादी । त्यसपछि पनि पटक-पटक प्राप्त भएका खोक्रो आजादीबाट आजित भएर गुदीसहितको आजादी ल्याउन कम्मर कसेर हिँडे, उठे । अर्थात् अन्नसहितको आजादी ल्याउन अनेकौँ लडन्तभिडन्त गरे । देख्छु अहिले ती मनुवा पनि सनातन रीतकै पथगामी भएका छन् । देश सिँगार्ने धन्दामा होइन, आफ्नै भेष सिँगार्ने धन्दामा लिप्त छन् । मुलुक बनाउने अभियानमा होइन, आफ्नै महल ठड्याउने व्यवसायमा मस्त छन् ।

हिजो म देशका लागि यत्ति लडेँ, उत्ति लडेँ भन्ने फुटानी उपर चोर औँलो कुप्ऱ्याएर कुरीकुरी हान्न मन लाग्छ । आफ्नै निहित स्वार्थका लागि लड्नेले राष्ट्रका लागि लडेँ भन्नु भन्दा ठूलो बकवास अरू के हुन सक्छ ? त्यागको मिनार देखाएर स्वार्थको दरवार ठड्याउने घोर पाखण्डीहरूको सिकन्जामा देश फनफनी बेरिएको छ । उनीहरू हिजाको बलिदानलाई, सङ्घर्षलाई, त्यागतपस्यालाई पाईपाईमा हिसाब गरेर देशको खाताबाट असुलउपर गरिरहेछन् । आफ्नै निजी समृद्धिमा राष्ट्रको राजस्व दोहन गरिरहेछन् ।

यिनीहरूका दाँत हात्तीका जस्ता छन् । देखाउने दाँत एक थरी छन् । चपाउने दाँत अर्को थरी छन् । हिजो अरूले जे-जे अनाचार गरे, आज सफेद क्रान्तिकारी हौँ भन्नेहरूले पनि त्यही अनाचार गरिरहेछन् । हिजो अरूले राष्ट्र उपर जे-जे दुराचार गरे, परिवर्तनवादी हौँ भन्नेहरूले आज त्यही त्यही दुराचार दोहोर्‍याइरहेकाछन् ।

आफ्नो अतीतकालीन सङ्घर्षको गाथा क्रान्तिकर्मीका लागि आज भजी खाने भाँडो बन्छ । जेलनेल र हिरासतका विरासतमा उभिन्छ- सुखवैभवको आलिशान महल । हेर्दाहेर्दै अनेकौँ अनुहार झुप्रीबाट महलपति बने । तुम्भी तन्नम् अवस्थाबाट कैयौँ मानिस औलाद-अमिरी बने । लडेका त थिए त; तन्नम दुःखीहरूलाई अन्नपानी दिन्छु भनेरै लडेका थिए । लडेका त थिए त; गरिबलाई वस्त्र बुकुरी दिन्छु भनेरै लडेका थिए । कति चाँडो भुल्छ मान्छेले आफ्ना सपना । आफूले महल पाएपछि अरूलाई पनि कम्तीमा आँटोपिठो त चाहिन्छ भन्ने कुरा बिर्सिँदो रहेछ । समयसमयमा उठेका आन्दोलन र क्रान्तिका सुनामी लहरहरू यसरी नै सेलाएका छन् अधुरो प्राप्तिमा । यसरी नै बिलाएका छन् गन्तव्य नपुग्दै आधाबाटामा ।

देश हाँक्ने अगुवाहरूको फराकिलो सोच्ने दृष्टिचेत नहुँदा यो मुलुक पटक-पटकका लागि विद्रोह, आन्दोलन र क्रान्तिको ब्याडे-भूमि बनिरहेको छ । सदाकालका लागि उर्वर छ आन्दोलन उठाउनका लागि । आन्दोलन र विद्रोह मानौँ एक पेसा हो । किनकि कसैका लागि गरिखाने मेलोजस्तो बनिरहेको छ । त्यही आन्दोलन र विद्रोहको बलमा पुग्छ ऊ एकदिन कुर्सीमा अनि उसले भुल्छ सारा विचार, सिद्धान्त, कसम, प्रतिबद्धता र सपनाहरू । रित्ता थालीमा अन्न दिनुपर्छ भन्ने वाचा भुल्छ । आफ्नै ओठमा लाली भर्न सुरु गर्छ । यो देश हलीहरूको देश हो, हलीहरूको हितमा काम गर्नुपर्छ भन्ने कुरा बिर्सिन्छ, आफ्नै घरका तली थप्ने कुराको चिन्तना सुरु हुन्छ । यही क्रम उपक्रममा त शासन फनफनी घुमिरहेछ ।

सत्ताको कुर्सीले हिजोको घनघोर त्यागवादी नेतालाई रातारात भोगवादी तुल्याइदिन्छ । निष्काम निःस्वार्थी हुँ भन्ने मान्छेलाई घोर स्वार्थी र लालची बनाइदिन्छ । भोगविलासको आहालमा आफैँ चुर्लुम्म डुब्न पाएपछि म मुन्तिर जनता जनार्दन छन् भन्ने कुरा भुसुक्कै भुल्दछ । मेरो पछाडि पनि पेटमा चारो नपरेका अगणित अनुहार छन् भन्ने कुरा चटक्कै बिर्सिन्छ र ऊ लाग्छ एकल समृद्धिको उकालो बाटोमा । उसलाई भोट दिने र साथ सहयोग गर्नेहरू खस्छन् विपन्नताको अँध्यारो क्वाँन्द्रामा । दलित-दमित जनगण युग-युगदेखि क्वाँन्द्रोमै फँसिरहेका छन् । न आफ्नो छाती चिरेर मुटुको राँको बालेर दलदल भासबाट माथि उठाउने वीर पुरुष डान्को जन्मिन सक्यो यहाँ ? न स्वर्गबाट आगो चोरेर धर्तीको चिसो ठन्डी र अँध्यारो हटाउने प्रमिथस उदाउन सक्यो यहाँ ? यहाँ त हरेक युगका डान्को र प्रमिथस ठानिएका मनुवाहरू लम्पट लोभी जनमा रूपान्तरित भए । भोगी र नीच स्वार्थीमा परिणत भए ।

अन्नमय शरीरलाई चाहिने पहिलो चिज अन्न हो । भोजन हो । पेटको चारो हो । पेटमा चारो पसेपछि मात्र अरू आवश्यकता क्रमशः अभिर्भाव हुँदै जान्छन् । खानै पाएन भने सुरुमै धुकधुकी रोकिछ । अन्नपछि अक्षर चाहिएला, अस्कोट चाहिएला, ओखती र ओत चाहिएला । त्यसपछिका आवश्यक चिज तपसिलमा लाम लागेर आउने कुरा हुन् । आदिम जङ्गली समाजमा पनि प्राथमिक चिज खाने चिजै थियो । अहिले एक्काइसौँ शताब्दीमा पनि पहिलो दरकार खानको नै छ ।

संसारका कतिपय कुनामा अहिले पनि भोक-युद्ध चलिरहेको छ । भोककै कारण मानिस युद्धमा होमिइरहेका छन् । मुखमा माम र हातमा काम अहिले पनि गरिब मुलुकका प्राथमिक आवश्यकता हुन् । अघाउँजी खान नपाएपछि मान्छे मर्ने मार्ने खेलमा लाग्दछ । भोककै कारण ठाउँठाउँमा विद्रोहका ज्वारभाटा उम्लिरहेछन् । सत्ता भने अन्न किन्ने पैसाले आयुध खरिद गर्छ र पड्काउँछ नागरिकता छाती-छातीमा । गाँस बास कपासकै समस्याले आक्रान्त छ अहिले पनि सकल विश्व ।

एकातिर मान्छेले खोले खान पाएको छैन, अर्कातिर अपच हुने गरी पगितो भोजन ठुसिरहेका छन् पेटमा । खान पाउने र नपाउने बीचको लडाइँ जारी छ । धर्तीमा यो वैषम्य कायम रहुन्जेल शान्तिको बास हुने छैन यहाँ । धर्तीमा यो विभेद रहुन्जेल आनन्दको अवतरण हुने छैन यहाँ ।

यो देशमा आजादी आइसक्यो भन्नेहरूले बुझ्नुपर्‍यो कि मुलुकमा आजादी त आयो, अधुरो आजादी आएको छ । अन्नविनाको आजादी आएको छ । आवासविनाको आजादी आएको छ । अस्कोटविनाको आजादी आएको छ । यो आजादीलाई चिरकालसम्म टिकाउने हो भने, यो आजादीलाई परिपूर्ण आजादी बनाउने हो भने सत्ताले हरेक नागरिकका भोका पेटमा अन्न पुर्‍याउनैपर्छ । कामविहीन हातमा कामको बन्दोबस्त मिलाउनैपर्छ । नत्र यो खोक्रो आजादीको चक्का कतिखेर गुड्दागुड्दै हावा खुस्केर दुर्घटनामा पर्छ ? अनुमान लाउन सकिन्न ।

मुलुकमा पूर्ण आजादी त्यस घडी बहाली हुनेछ जुन घडी हरेक नागरिकका पेट-पेटमा अन्नको व्यवस्था हुनेछ, हरेक नागरिकमा हातहातमा रोजगार र आयआर्जनको व्यवस्था हुनेछ । हरेक नागरिकमा आङआङमा वश्त्र विभूषणको व्यवस्था मिल्नेछ । हरेक नागरिकका निम्ति एक आलयको बन्दोबस्त मिल्नेछ ।

समाप्त