साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चार्ल्स वुकोब्स्की : अद्भुत अमेरिकी लेखक

अमेरिकी साहित्यमा चार्स बुकोव्सकी अत्यन्त रुचाएर पढिने यस्ता साहित्यकार हुन्, जस्को जीवन अद्भूत थियो । व्यवहार अद्भूत थियो । स्वभाव अद्भूत थियो । जँड्याहा थिए । धूम्रपानका अम्मली थिए । रातो दिन पिउन सक्थे । रातोदिन लेख्न सक्थे । भुईंमान्छे थिए । भुईंमान्छेको सङ्गत गर्थे । भुईंमान्छेका कथा लेख्थे । तर उनको लेखनमा अद्भुत शक्ति थियो । उनका कविता सुन्न मान्छेहरु लालायित हुन्थे । उनी मञ्चमै वियर घुट्क्याउँदै कविता पढ्थे । युवा युवतीहरु उनको कविता सुन्न जान्थे । उनलाई कतिले मञ्चमै गालि गर्थे । उनी पनि मञ्चबाटै गाली फर्काउँथे । पछिल्लो समय उनी लेखेरै धनी भए । तर उनको स्वभाव भने उस्तै थियो ।

बुकोब्कीको जन्म हेनरी कार्ल वुकोब्स्कीको रुपमा जर्मनीको आण्डरनाखमा १६ अगस्त १९२० का दिन भएको थियो । उनका पिता जर्मन अमेरिकन सिपाही थिए र आमा पोल्याण्डकी थिइन् । उनीहरुको भेट जर्मनीमा भएको थियो । उनीहरु पछि सन् १९२३ मा अमेरिका आए । शुरुमा अमेरिकाको बाल्टिमोर आएका उनीहरु त्यहीं वसे । पछि सन् १९३० मा लस एन्जेलसमा सरे जहाँ बुकोव्स्कीको सारा जीवन वित्यो ।

bahulako diary small and inside post

बुकोब्स्कीको वाल्य तथा युवावस्था राम्रो थिएन । उनी सदा पिताबाट प्रताडित हुन्थे । साना साना कुरामा पनि उनलाई शारिरीक एवम् मानसिक सँजायको शिकार हुनुपर्थ्यो । उनका पिता रिसाहा र कडा स्वभावका थिए । उनी लजालु र सामाजिक रुपमा घुलमिल नहुने प्रकारका थिए । उनले आफ्नो बाल्यकालको राम कहानी प्रथम आत्मकथात्मक उपन्यास “ह्याम अन राइ” मा सविस्तार उल्लेख गरेका छन् ।

उनी २४ वर्षको हुँदा पहिलो कथा “आफ्टरम्याथ अफ अ लेन्दी रिजेक्सन स्लिप” स्टोरी पत्रिकामा प्रकाशित भएको थियो । तर साहित्यिक जगतमा प्रवेश नपाएर उनी विलखबन्दमा परे र झण्डै एक दशक लेखेनन् । उनले छोटो समयको लागि अचार कारखानामा काम गरे । उनले हुलाकीको काम पनि गरे ।

सन् १९५५ मा उनलाई अत्यधिक रक्तश्राव हुने अल्सरको उपचार गर्नु परेको थियो । उनले त्यसै साल टेक्सासकी कवयित्री बार्बरा फ्राईसँग विहा गरे । तर यो विवाह लामो समय टिकेन । उनीहरुले सन्१९५८ मा पारपाचुके गरे ।

गोविन्द गिरी प्रेरणा (अमेरिका)

यो पारपाचुकेपछि बुकोब्स्कीले पुनः मापसे गर्न थाले र कविता पनि लेख्न थाले । उनले कविता लेख्न थाल्दा उनको उमेर ४५ वर्षका थिए । उनको पहिलो कविता सङ्ग्रह सन् १९५९ मा प्रकाशित भएको थियो । उनका ४५ कविता सङ्ग्रह प्रकाशित भए कूल मिलाएर ।

बुकोब्सकीले फेरि हुलाकमा काम थाले । उनले सन् १९६७ मा लस एन्जेलसको “ओपन सिटी” नामक भूमिगत पत्रिकामा “नोटस् अफ अ डर्टी ओल्ड म्यान” कालम लेख्न थाले । यो चर्चित भयो । निकै रुचाइयो । उनलाई मानिसहरुले “डर्टी ओल्ड म्यान” पनि भन्न थाले । उनी आफैं पनि आफूलाई डर्टी ओल्ड म्यान भन्न रुचाउँथे ।

सन् १९६९ मा ब्ल्याक स्पारो प्रेसका मालिक जोन मार्टिनले पूर्णकालिन लेखनमा लाग्न र उनले लेखेका कृतिरु आफ्नो प्रकाशनबाट प्रकाशित गरिदिने प्रस्ताव ल्याए । यसलाई उनले २ किसिमले अर्थ्याए, “मसँग २ वटा विकल्प थियो, हुलाकमै काम गरेर सड्ने वा लेखक भएर वाँच्ने अभावमा । तर मैले दोश्रो विकल्प रोजें ।”

जोन मार्टिनले ब्याक स्पारो प्रकाशनवाट बुकोब्सकीका प्रशस्तै पुस्तक प्रकाशन गरे । उनलाई स्वतन्त्र लेखकको हैसियत दिलाउन उनको ठूलो योगदान रह्यो ।

जर्मनीमा जन्मेको सँजायबापत एकपल्ट उनले जेल जानु पर्यो । भयो के भने, अमेरिकाको जर्मनीसँग विश्वयुध्द भएको वेला २२ जुलाई सन् १९४४ मा उनी एफविआइका एजेण्टद्वारा पक्राउ परे । उनी १७ दिन हिरासतमा बस्नु पर्यो फिलाडेल्फियाको मोयामेन्सिङ जेलमा ।

बुकोव्सकीको प्रेमको जीवन, वैवाहिक जीवन राम्रो रहेन । उनी केही कुरामा पनि गम्भिर थिएनन्, लेख्न र पिउन बाहेक । उनी घोडा रेसमा दाउ लगाउन पनि जान्थे । उनका अनेकन प्रेमिकाहरु भए । एक रातका प्रेमिकाहरु त अनगिन्ती थिए । उनको मूर्तिकार तथा कवयित्री लिण्डा किङसँग प्रेम सम्वन्ध भयो । तर यो प्रेम र घृणाको सम्वन्ध थियो । लिण्डा उनको नाटक “स्कारलेट” मा देखा परेकी थिइन् जुन उनले आफ्नी एक अनाम प्रेमिकाको सम्झनामा लेखेका थिए ।

सन् १९७६ मा उनको भेट लिण्डा ली बिग्लेसँग भयो । तिनी रेष्टुँराकी मालिक्नी थिइन् र आकर्षक कलाकार पनि । तिनीहरु लिभ इन टुगेदर वस्न थाले । २ वर्ष जति सँगै बसे । पछि बिहा पनि हरे । बुकोब्स्कीले उनलाई “वुमन” र “हलिवुड” उपन्यासहरुमा सारा नामकी पात्रका रुपमा चित्रण गरेका छन् ।

उनले कूल ६ उपन्यास लेखे । उनको अन्तिम उपन्यास “पल्प” थियो, जुन उनले मृत्युपूर्व समापन गरेका थिए ।
उनी सन् १९७८ मा जन्मदेश जर्मनी गएका थिए । त्यहाँ उनको ठूलो स्वागत भयो । उनले त्यहाँ कविता पढे ह्याम्वर्ग शहरमा । त्यसो त अमेरिकाका बिभिन्न कलेजहरुमा, थियटरहरुमा उनलाई सशुल्क कविता पाठका लागि निम्त्रणाहरु आइनै रहन्थे र उनी जान्थे । कविता पढ्नु र पिउनु समानान्तर चल्थ्यो । कतिपय ठाउँमा त उनी यस्तो झल्लू भएर पुग्थे, आयोजकहरु उनको अवस्था देखेर थर्कमान हुन्थे, कार्यक्रम के कसो होला भनेर । उनको कविता सुन्न सशुल्क आउनेहरुको कसरी सामना गर्ने भनेर ।

तर मञ्चमा पुगेपछि र कविता पाठ गर्न थालेपछि सारा दर्शक उल्लसित हुन्थे । सवाल जवाफ गर्थे । एकपछि अर्को बियरका क्यान र बोतल रित्याउँदै जान्थे । यो उनको खुवी देखेर पनि दर्शकहरु नतमस्तक हुन्थे ।

उनीसँग अन्तरवार्ता लिन उत्सुक पत्रकार पनि प्रसस्तै हुन्थे । तिनमा विदेशका पनि हुन्थे । ईटालीकी अनुवादक तथा पत्रकार फर्नाण्डो पिभानोले उनकै निवासमा गएर अन्तरवार्ता लिएर ” चार्ल्स बुकोब्स्की लफिङ विथ द गड” नामक अन्तर्वार्ता पुस्तक नै तयार गरिन् र त्यो पुस्तक निकै रुचाइयो र चर्चित भयो ।

उनको लेखनमा पाइने उदात्तता निकै लोकप्रिय भयो। यो लोकप्रियताले लोभिएर महिलाहरु उनीप्रति आकर्षित हुन्थे । अनुहारमा जँड्याहापन, नकाटेका दाह्री, चुरोट फूकिरहने, खाने पिउने सुत्ने कुनै ठेगान नभएका यिनको अपार्टमेण्ट बाहिर एकपल्ट दुई जना युरोपियन स्त्री कुरिरहेका थिए । उनलाई कसैले सोधे, ” कस्लाई कुरेको ?”

उनीहरुले उत्तर दिए, “यहाँ चार्ल्स बुकोब्सकी बस्छन् होइन ? कहिले ढोका खोलाल्लान् र उनीसँग सुत्न पाइएला भनेर कुरेको !”

यो विचित्रको कुरा थियो । यो उनको लेखनकै चमत्कार थियो, जसले यस्तो अवस्था निम्त्याएको थियो ।

उनी वेपर्वाह थिए । उनलाई क्यै कुराको मतलब थिएन । उनले जीवनलाई त्यही रुपमा ढालेका थिए । उनका किताब जर्मनीमा त अनुवाद भएकै थियो, जो उनको जन्मदेशको भाषा थियो । उनका कृति फ्रेन्चमा पनि अनुवाद भएका थिए ।

उनलाई फ्रान्सेली टेलिभजनमा अन्तरवार्ताका लागि निम्ता गरियो । उनी मातेर झल्लू भएर गए । अन्तरवार्ताको क्रममा उनी जथाभावी वोल्न लागेपछि कार्यक्रम प्रस्तोताले उनलाई रोक्न खोजे । उनी झोंक्किए र प्रस्तोता सँग झगडा गरेर स्टुडियो छाडेर वाहिरिए । यो कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको थियो र ५ करोड दर्शकले हेरिरहेका थिए ।

भोलिपल्ट फ्रान्सका प्रमुख अखवारको मुख पृष्ठमा बुकोब्स्कीको तस्विर र यो घटनाको समाचार प्रकाशित भएको थियो ।
पछि यसैलाई लिएर उनले कविता लेखे “पिउनु माथि”

एकपल्ट पेरिसमा
धुत्त थिएँ राष्ट्रिय टेलिभिजनमा
पाँच करोड फ्रान्सेलीका समुन्ने
मैले अश्लिल विचारहरु बडबडाउन थालें
र जव प्रस्तोताले मेरो मुखमा हात राखे
मैले राउण्ड टेवल नाघेर हिंडिदिएँ….”

उनले सन् १९८७ मा उनले लेखेको “बारफ्लाई” सिनेमा र सो कितावको वारेमा तथा तत्कालिन आफ्नो जीवन शैलीको वारेमा भनेका थिएः

“वितेका १० वर्षमा मैले के गरें र, मैले क्यै लेखिंन, पिउने काम मात्र गरें । म धेरै स्वास्नीमानिसहरुसँग वसें । अनौठआ कामहरु गरें । मैले लेख्नका लागि केही सामाग्री पाएँ । भुईंमान्छेका कुरा । म वारहरुमा वस्थें । मलाई थाहै थिएन यस्तो सिनेमाको कथा जन्मिन्छ भनेर । मान्छेहरुले त्यो वारमा मात्तिन्छ भन्छन्, के मतलव ? उनी सोच्दछन्, जीवन कुनै उद्देश्यसँग आवध्द हुनुपर्छ । म विहानको वारका कर्मचारीलाई चिन्दछु । उसले मलाई सखारै ५ वजे भित्र छिर्न दिन्छ । उसले ७ वजे वार खोल्नुअघिसम्म म ३ घण्टा सित्तैमा पिउन पाउँछु । वार बन्द नहुन्जेल म वस्छु । म ३ घण्टा मात्रै सुत्छु विहान २ वजेदेखि ५ वजेसम्म ।”

उनको यही जीवन शैलीले “बारफ्लाई” कृति जन्मियो । सिनेमा बन्यो ।

त्यो वेला उनले न मानिसहरुको दैनिकी अर्थात् ९-५ को जीवन देखे, न त्यो जीवन नै अपनाए । उनका लागि वार लुक्ने ठाउँ भएको थियो ।

उनी जति पिउँथे, शायदै अरुले उनीसँगै पिउन सक्थे तर एकजना भने उनी सँगसँगै बराबरी पिउने सक्ने पनि थिए । त्यो अरु कोही नभई उनकै श्रीमती लिण्डा थिइन् ।

उनी भन्थे, म राम्रो मान्छे होइन । उनलाई सफासुघ्घर दाह्री काटेको र टाई सुट लाएको मान्छे मन पर्दैनथ्यो । उनलाई त निरास, दाँत भाँचिएको, दिमाग खुस्किएको, बाटो बिराएको मान्छे मन पर्थ्यो । तिनीहरु आश्चर्य र विस्फोटनका पात्र लाग्दथे ।

उनी भन्थे, ” मलाई नियम कानून मन पर्दैन । नैतिकता मन पर्दैन । धर्म मन पर्दैन । मलाई समाजले देखाएको बाटो मन पर्दैन । म आफैं मेरो इश्वर हुँ ।”

उनको नाम हेनरी चार्ल्स बुकोब्स्की भए पनि उनलाई सवैले हाङ्क भन्थे । उनले उपन्यासमा आफूलाई चिनास्की नामक पात्रको रुपमा पनि प्रशस्त चित्रण गरेका छन् ।

उनी क्याटलस (रोमन कवि), दोस्तोयब्स्की, जोन फान्ते, नट हम्सन, हेमिङ्ग्वे, एज्रा पाउण्ड, जेम्स थर्वर जस्ता हस्तीहरुबाट प्रभावित थिए ।

पटकपटक अत्यधिक मदिरापानले विरामी भए पनि उनी ७० बर्षभन्दा वढी बाँचे । ल्यूकेमिया अर्थात् रक्त क्यान्सरका कारण ९ मार्च १९९४ मा सान पाद्रो क्यालिफोर्नियामा उनको मृत्यु भयो । फ्रान्सका विश्वविख्यात लेखक दार्शनिकहरु जाँ जेने र जाँ पाल सार्त्रले भने, ” अमेरिकाका महान कविको देहान्त भयो ।”

उनको अन्त्येष्टिमा उनकी श्रीमती थिइन् र बौध्द भिक्षुहरुले उनको अन्त्येष्टि कर्म सम्पन्न गरेका थिए ।

०००

५ सेप्टेम्वर २०२१, फल्स चर्च भर्जिनिया

 

 

लेखक परिचय

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...