राति बत्ती बालेर झुलभित्र पल्टेर साङ्लाहरू मेरा साना नसाहरू जस्तै जुँगा हल्लाउँदै झुलमाथि कुदेको हेरिरहेँ । वाक्क मानेर पल्टिरहेँ । साङ्ला मार्न हात पनि उठेन । एउटा साङ्ला उडेर आयो र मेरै टाउको माथि बस्यो । मनमनै सोचेँ, “त्यो कागजमा सही गर्ने बेलामा तैँले पैसा माग्नुपर्थ्यो । बीसवटी गोरिनीसँग सुत्न पुग्ने पैसा माग्न पर्थ्यो । बेलामा तेरो बुद्धि आएन ।” एउटा साङ्लो उडेर गयो र फेरि अर्को आएर त्यहीं बस्यो ।
फेरि सोचेँ, “बीसवटी मात्रै किन ? एकसय होइन, दुईसय होइन तीनसय होइन, हजार होइन, दस हजार सुनौला कपाल भएका रन्डीहरूलाई पुग्ने माग्नु पर्थ्यो र पनि त्यो थोरै हुन्थ्यो । त्यति पैसाले कहाँ पुग्थ्यो र ?
दुई हप्ताभरि मैले आफैँलाई भन्न (स्वीकार गर्न) लाज लाग्ने काम गरेँ । मैले मेरो मालिकलाई ठगेँ । नली लगाएर पेट्रोल चोरेँ । धूर्त मिस्त्रीकोमा गाडी लग जसले गर्नै नपर्ने कामको पनि बिल बनायो र तीन पटक बकिङ्घम फर्कदा बाटोमा मान्छे हालेर पैसा लिएँ ।
आश्चर्य लाग्ने कुरा के थियो भने प्रत्येक पटक उनलाई ठगेर कमाएको पैसा हेर्दा मलाई आत्मग्लानि भन्दा बढी अरू के हुन्थ्यो र ?
रिस उठ्थ्यो आफैँसँग ।
जति बढी चोर्यो उति बढी मबाट मालिकले कति धेरै चोरिसकेको रहेछ त भन्ने बुझेँ ।
त्यो अगाडि मैले तपाईंलाई बताएको भारतको राजनीतिक प्रसङ्गसम्म आइपुग्दा मोटाएर मेरो पेट बढिसकेको थियो ।
एकदिन आइतबार दिउँसो जब अशोकले अब आजलाई मेरो आवश्यकता नपर्ने कुरा जनाए, सुन्याइ आओस् भनेर ठूलो गिलासको दुई गिलास ह्विस्की स्वात्तै पारे अनि नोकरहरू सुत्ने कोठामा गएँ । दुबीओठे एउटा फिलिमको नायिकाको पोस्टरमुनि साथीसँग तास खेल्दै बसिरहेको थियो । प्रत्येक पटक जब उसको मालीकले हिरोइनलाई ठोक्थ्यो, उसले त्यो केटीको पोस्टर ल्याएर टाँस्थ्यो ।
“तँलाई। के, चाहिएको छ भन्, तर मलाई थाहा छ यी जोकरहरूले चुनाव जित्दैनन् ।”
टाउको उठाउँदा उसले मलाई देख्यो र भन्यो, “ए हेर त तिमीहरूले, यहाँ को आएको छ । योगा गुरूको दुर्लभ दर्शन हुन थाल्यो । श्रीमानलाई स्वागत छ, आउनुस् ।”
सबैले दाँत देखाए र मैले पनि देखाएँ ।
“ए पाखे, हामी त चुनावको बारेमा छलफल गर्दै थियौँ । यो ठाउँ तेरो अन्धकारजस्तो होइन । बाबु, यहाँ चुनावमा धाँधली हुँदैन । तँ यसपालि भोट हाल्छस् ?” दुबीओठेले गफ दियो । मैले उसलाई औँलाले इसारा गरेर बोलाएँ ।
टाउको हल्लाउँदै भन्यो, “अहिले पछि पाखे । चुनावको बारेमा छलफल गर्न मजा आइराख्या छ ।”
हावामा त्यो खैरो खाम हल्लाउँदै देखाएँ । उसले तुरून्तै खेलिरहेका तास भुइँमा राख्यो ।
मैले कार पार्कमै जानलाई जिद्दी गरे । होन्डा सिटीमा छेलिएर उसले पैसा गन्यो ।
“ठीक छ पाखे । सबै खाममै छ | अनि तेरो मालिक खै त ? तैँले मालिकलाई कारमा त्यहीँ लगेर छोड्ने हो ?”
“मेरो मालिक म नै हो । अरू थाहा छैन ।”
एकछिन त उसले कुरै बुझेन । अनि बल्ल मुख खोल्यो । हतारिँदै आएर अँगालो मार्यो । फेरि अँगालो मार्दै भन्यो, “पाखे । मेरो मान्छे त यो पो हो त !”
ऊ पनि अन्धकारबाटै आएको हो । जीवनमा केही गर्ने महत्त्वाकाङ्क्षा भएको आफूजस्तै मानिस भेट्दा गर्व लाग्छ ।
आफ्नो मालिकको क्वालिसमा राखेर मालिक वरिपरि नहुँदा म पनि गाडीलाई ट्याक्सी बनाउने गर्छु भन्दै त्यही होटेलमा पुर्यायो ।
यो होटेल दिल्लीको नामुद किनमेल गर्ने ठाउँ साउथ एक्सटेन्सन पार्ट टुमा थियो | दुबीओठेले गाडी बन्द गरेर ढुक्कसँग मुस्कुराउँदै मलाई रिसेप्सनमा पुर्यायो ! सेतो सर्टमा बो टाई लगाएको एकजना मानिस खाता पल्टाएर सरर औँलाले देखाएर इन्ट्री हेर्दै थियो । औँला सार्न छोडेर मलाई पुलुक्क हेर्यो । दुबी-ओठेले उसँग कानेखुसी गर्यो ।
म्यानेजरले टाउको हल्लाउँदै भन्यो, “यस्तो मान्छेलाई गोरी आइमाई चाहियो रे ? नहुने कुरा ।”
काउन्टरको टेबलमा हात राखेर अगाडि निहुरेर मलाई तलदेखि माथिसम्म नियालेर हेर्यो र भन्यो, “यस्तो मान्छेलाई गोरी आइमाई ?”
दुबीओठे हाँस्दै भन्यो, “यता सुन्नुस् त । दिल्लीका धनीमनीले चाहिएजति गोरी आइमाई भ्याइसके ! अब पछि कस्तो रङ्गका खोज्ने हुन्, के थाहा ? अब चन्द्रमाबाट हरियो कपाल भएका आइमाई लेख भन्ने होलान् । अब गोरा आइमाईको लाइनमा त यस्तै मजदुर त बस्छन् नि । म भन्दै छु कि यो मान्छे तपाईंको व्यवसायमा पछि काम लाग्छ । यसलाई राम्रो व्यवहार गर्नुस् ।”
एकछिन त म्यानेजर अल्लमल्ल पर्यो। अनि जोडसँग खाता बन्द गरेर चड्काउने पारामा हात देखाउँदै भन्यो, “पाँच सय अलग्गै (थप) दिन पर्छ ।” ङिच्च हाँस्दै भन्यो, “यो मजदुरलाई लाग्ने अतिरिक्त रकम हो ।”
“मसँग त्यो त छैन ।”
“कि पाँच सय निकाल होइन भने कुरै सकियो ।”
खल्तीमा बाँकी बचेको तीन सय निकालेँ | उ पैसा लिएर टाई सीधा पार्दै माथि गयो ।
दुबीओठेले मेरो कुममा धाप मार्दै भन्यो, “पाखे, बधाई छ । हामी सबैको साटो गर् है ।”
म दौडेर माथि एकसय चौध नम्बरको कोठामा गएँ । म्यानेजर ढोकैमा उभिएर कान थाप्दै थियो । सुस्तरी बोलायो, “ए अनास्टासिया ?”
ढोका ढकढकायो र फेरि ढोकैमा कान थापेर भन्यो, “अनास्टासिया, तिमी भित्रै छौ ? सुन्यौ ?”
उसले ढोका धकेल्यो र खोल्यो ! झालरबत्ती र झ्याल भएको हरियो ओछ्यानमा यौटा सुनौला कपाल भएकी केटी बसिरहेकी थिई ।
दिक्क मानेर लामो सास फेरेँ किनकि केटी किम बसिङ्गर जस्ती थिइन । बसिङ्गर जति आधा राम्री पनि थिइन । त्यस बेला मलाई कहिल्यै नछोएको कुराले छोयो । त्यो के भने कसरी धनीले मात्र जीवनमा सबैभन्दा राम्रो चिजमात्र पाउँछन् र हामीले पाउने उनीहरूले छोडेको जुठोपुरो हो ।
म्यानेजरले दुवै हातले हत्केला जोडेर खोल्दै बन्द गर्दै मेरो अनुहार अघि राखेर भन्यो, “जम्मा बीस मिनेट समय पाइन्छ । त्यसभित्र सकेन भने ‘यो’ र ‘यो’ पाइन्छ ।” उसले मुड्की र लात देखाउँदै भन्यो । “कुरा बुझ्यौ होइन ?”
सोचेँ बीस मिनेटपछि लात र घुस्सा त खाने नै भएँ ।
“बुझेँ ।”
ड्याम्म ढोका थुनेर ऊ गयो । सुनौलो कपाल भएकी केटीले मलाई अझै हेरेकी थिइन । म केटीको छेउमा मात्र बस्ने साहस गर्दै थिएँ, अनि ढोका ड्याङड्याङ गर्यो । अनि म्यानेजरको स्वर सुनियो, “ढकढक आवाज सुनेपछि, बुझ्नु समय सकियो । कुरा बुझ्या हो ?”
“ठिक छ । बुझेँ ।
म बिस्तरामा बसेकी केटीको नजिकै सरेँ । उसले न उक्साई, न त नाइनास्ती नै गरी । मैले उसको अनुहार छोप्ने कपाल यसो चलाएँ र बिस्तारै ताने ता कि मलार्इ हेरोस् । केटी एकदम थकित र गलेकी देखिन्थी । कसैले चिथोरेको जस्तो आँखा वरिपरि दागैदाग थियो ।
ऊ मुसुक्क हाँसी । मैले प्रस्ट बुझे । यो हाँसो मालिक देख्दा नोकर हाँसे जस्तै थियो ।
हिन्दीमा सोधी, “तपाईंको नाम के हो ?”
यो पनि हिन्दी बोल्दी रै छ ! युक्रेनमा पक्कै केटीहरूले पढ्ने हिन्दी भाषाको पढाइ हुने स्कुल रहेछ । म कसम खाएर भन्न सक्छु ।
“मेरो नाम मुन्ना हो ।” लजाउँदै भनेँ ।
“त्यो त खास नाम होइन । मुन्नाको अर्थ त ‘केटा’ हो ।” उसले हाँस्दै भनी ।
“त्यो सही हो । यो खास नाम चाहिँ होइन । मेरो परिवारले मलाई अरू नाम नै राखिदिएन ।” मैले स्पष्ट पारेँ !
ऊ सुनौलो कपाल भएको टाउको तलमाथि हल्लाउँदै चर्को बनावटी हाँसो हाँसी ।
मेरो मुटु घोडाको जस्तै ढुकढुक गर्यो । हर्र अत्तर बसायो ।
“थाहा छ, म सानो छँदा मेरो परिवारले मेरो एउटा नाम राखिदिएको थियो त्यसको अर्थ ‘केटी’ भन्ने हुन्थ्यो । मेरो परिवारले पनि तपाईंकोले जस्तै गरे !” उसले थपी ।
“ए” भन्दै मैले मेरो गोडा बिस्तरामाथि राखेँ ।
हामी केही बेर कुरा गर्यौं । उसले त्यो होटेलको म्यानेजर र लामखुट्टे पटक्कै मन नपर्ने कुरा गरी । मैले सहमतिमा टाउको हल्लाएँ । एकै. छिन यसैगरी कुरा गरेपछि उसले भनी ‘तिमी त्यति नराम्रो मान्छे त होइन । तिमी सुन्दर छौ ।’ भन्दै मेरो कपाल सुमसुम्याई । म खाटबाट हाम फाल्दै सोधेँ, “अनि बहिनी तिमी यहाँ किन त ? यो ठाउँ छोड्ने भए छोड्न सक्छ्यौ, सक्दिनौ र ? म्यानेजरको चिन्ता नगर । म तिम्रो संरक्षण गर्छु! म तिम्रो आफ्नै दाजु हो, बलराम हलुवाइ !”
साँच्चै, मैले यो भनेकै हो । मेरो जीवनीमा आधारित हिन्दी फिलिम नै बनोस् बरू |
“बीस मिनेटको सात हजार रूपियाँ ! अब त सुरू गर्नै पर्यो !”
वास्तवमा मैले यो भनेकै हो ।
म माथि उक्लें र उसका दुवै हातलाई एक हातले उसको टाउको पछाडि लगेर समातेँ । चुच्चो डुबाउने बेला भो । मैले अर्को हातले उनको सुनौला कपाल मुसारेँ ।
अनि म चिच्च्याएँ । यति जोडले त म सायद तपाईले छेपारो देखाउँदा पनि चिच्च्याउने थिइनँ होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।