
म जन्मिनुभन्दा पहिल्यै नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्नो पहिचान बनाइसक्नुभएका गायक, आफूले गीत सुन्न र बुझ्न थालेदेखि नै सुन्दै आएको गायक, रेडियो नेपालबाहेक गीत सुन्नलाई अर्को विकल्प नभएका बेला त्यही रेडियोमा सानैदेखि सुन्दै आएको गायकलाई अहिलेको प्रविधियुक्त समयमा आफूले फेसबुकमार्फत सञ्चालन गर्दै आएको कार्यक्रममा जोड्न पाउने कुराले मलाई निकै खुसी बनाइरहेको थियो । उहाँसँग कार्यक्रम हुनुभन्दा एक हप्ता पहिल्यै उहाँको ब्यानर मलाई प्राप्त भइसकेको थियो । ब्यानरमा लेखिएको थियो, “वरिष्ठ गायक कुबेर राई, इलाम, नेपाल ।” यति पढ्नासाथ म एकपटक झसङ्ग भएँ र खुसीले गदगद हुँदै बाल्यकालमा फर्किएँ । जहाँ त्यही रेडियोमा उहाँका गीतहरू सुनेको सम्झिएँ । “मायाँले मूलबाटो भुलेछ, नौरङ्गी फूलबारी देखेर”, “टाढा भए के भो मायालु, सम्झना आलै छ ।” त्यस बेला गायकको नाम खासै याद हुँदैन थियो तर गीत भने पूरै याद भइरहन्थ्यो । बाल्यकालमा सुनेको तिनै गायक कुबेर राईलाई आफ्नो कार्यक्रममा जोड्न पाउने खुसी मैले कोठामा गएर साथीहरूलाई पनि सुनाउने कोसिस गरेँ । कुबेर राईको नाम भन्नुभन्दा पहिले मैले उहाँको लोकप्रिय गीत “मायाँले मूलबाटो भुलेछ” गाएर सुनाएँ । अनि सोधेँ, “यो गीत सुनेको हो ? ।” “सुन्न त सुनेकै हो तर गाउने मान्छेको नाम चाहिँ थाहा भएन” साथीहरूको जबाफ आयो । यही गीत गाउने गायक मेरो कार्यक्रममा आउँदै हुनुहुन्छ भन्दै बडो गर्वका साथ भनेँ । यसरी सुनाएँ कि मानौँ म ठूलै कार्यक्रम सञ्चालक भइसकेँ । फेरि मेरो कार्यक्रममा को-को आउँछन्, को-को जान्छन् उनीहरूलाई खासै चासोको विषय बन्दैन पनि । फेरि पनि सुनाएँ उनीहरूलाई । यही खुसी मैले मेरो दाजुलाई पनि सुनाएँ किनभने सानोमा हामी एउटै रेडियोमा गीत सुन्दै हुर्किएका हौँ । फरक यति हो गीत सुनेपछि त्यस्तै पारामा ऊ पनि गीत गाउने कोसिस गर्थ्यो । जुन कार्य अहिले पनि उसले जारी राखेको छ र ऊ आफैँ पनि मीठो गीत गाउँछ । यता म भने कुनै गीत सुनिसकेपछि “यति राम्रो गीत कसले लेखेको होला, कसरी लेख्छन् होला यस्ता मिठा शब्दहरू” भनेर केवल सोचिरहन्थेँ । गायक कुबेर राई हाम्रो कार्यक्रममा पाहुनाका रूपमा आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर दाजु झन् धेरै खुसी भयो किनभने गीत गाइरहने र सङ्गीत क्षेत्रमा आउन चाहने मान्छेहरूका लागि कुबेर राई प्रेरणाका स्रोत हुन् । यही खुसी मैले मेरा नजिकका अन्य केही साथीहरूलाई पनि सुनाउन भ्याएँ । कतिले बधाई दिए भने कतिलाई मेरो खुसीमा कुनै मतलब नै नभएजस्तो पनि गरे । म पनि बडो अचम्मको मान्छे छु, आफूलाई राम्रो लाग्यो भन्दैमा अरूलाई सरोकार नै नहुने विषय सुनाउँदै हिँडिरहेको हुन्छु, केटाकेटीजस्तो ।

कुवेर राई
उहाँसँगको कार्यक्रमको ब्यानर फेसबुकमा सार्वजनिक भएपछि थुप्रै अग्रज स्रष्टाहरूले यो कार्यक्रम हेर्न र सुन्न आफू आतुर रहेको भनेर कमेन्टसँगै इन्बक्समा म्यासेज गर्न थाल्नुभयो । यसले झनै धेरै मलाई ऊर्जा दियो । गायक कुबेर राईसँगको अन्तर्वार्ता स्वयम् मेरा लागि पनि एउटा अवसरसँगै चुनौती पनि थियो । कार्यक्रममा अग्रज र वरिष्ठ स्रष्टाहरू जोडिदिएर मलाई सधैँ चुनौती दिइरहने सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगरप्रति म सधैँ आभारी रहन्छु ।
कुबेर राईका गीत र नाम मात्रै सुनेको भरमा त पक्कै पनि एक घण्टाको कार्यक्रम चलाउन सम्भव हुँदैन । पाहुनालाई कार्यक्रममा के-के सोध्ने होला भन्ने कुराले मलाई कार्यक्रमको अघिल्लो दिनसम्म पनि सताइरहन्छ । यही सताइलाई कम गर्नका लागि सकेसम्म र भ्याएसम्म मैले स्रष्टाहरूको बारेमा जानकारी सङ्कलन गर्दै आएको छु । यसका लागि कार्यक्रममा जोडिनुहुने स्रष्टाहरूलाई मैले बायोडाटा माग्दै आएको छु । ताकि उहाँहरूका बारेमा धेरै भन्दा धेरै जानकार हुन सकियोस् । युटुब र गुगलमा गएर थप खोज्ने कुरा त छँदै छ तर सबै कुरा र आफूले खोजेका कुरा गुगल र युटुबमा नभेटिन पनि सक्छ । त्यसकारण पनि हामीले स्रष्टाहरूसँग उहाँहरूको विवरण माग्दै आएका छौँ तर यसपटकका पाहुना कुबेर राईले भने आफू थोरै व्यस्त भएका कारण विवरण पठाउन नसक्ने जानाकारी गराउनुभयो । त्यसपछि म आफैँले भेटे जति खोजेँ र आफूलाई चाहिने जति विवरण सङ्कलन गरेँ । विवरण सङ्कलन गरिसकेपछि पनि चित्त नबुझेर क्रस चेकिङका लागि उहाँलाई पठाएँ र उहाँले विवरणमा भएका केही कन्फ्युजनलाई हटाइदिने काम पनि गर्नुभयो ।

डि जि शर्मा (युएई)
कुबेर राई ती गायक हुन् जसले केवल १६ वर्षकै उमेरमा वि.सं. २०३८ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर आफ्नो सङ्गीतिक जीवन यात्राको औपचारिक रूपमा सुरुवात गर्नुभएको थियो । त्यस बेला गायक बन्नलाई रेडियो नेपालमा स्वर परीक्षा दिएर पास हुनु अनिवार्य थियो । तिनै गायक राईलाई कार्यक्रममा के के प्रश्न सोध्ने होला भनेर सोच्नुभन्दा पहिले अरूले उहाँलाई के-के प्रश्न सोधेका छन् त भनेर उहाँका अन्तर्वार्ताहरू युटुब र अनलाइन पत्रिकातिर खोज्न थालेँ । भेटेजति सबै हेरेँ र पढे पनि । सबैले आआफ्नो हिसाबले गायक राईसँग कुराकानी गरेको पाइयो । अनलाइन पत्रिकाले पनि आफ्नै शैलीमा लेखेका थिए तर सबै अन्तर्वार्तामा एउटा कुरा भनेसमान थियो । त्यो हो, “तपाईँले काठमाडौँ किन छोड्नुभयो ? ।”
नेपाली साङ्गीतिक क्षेत्रमा केही गर्नुपर्छ भनेर इलामबाट वि.सं. २०३८ सालमै काठमाडौँ टेक्नुभएका गायक राई वि.सं. २०५३ सालमा काठमाडौँको बसाइलाई पूर्णरूपमा बिट मारेर पुनः आफ्नै गृह जिल्ला इलाम नै फर्किनुभएको थियो । यो कुरा स्वयम् मलाई पनि चित्त बुझिराखेको थिएन । मलाई चित्त नबुझेजस्तै अन्य अन्तर्वार्ताकारहरूलाई पनि चित्त नबुझेरै हुनुपर्छ सबैले एउटै प्रश्न सोधिरहेका थिए, “काठमाडौँ चाहिँ किन छोड्नुभयो ? ।” उहाँले पनि आफ्नै पारामा जबाफ दिइरहनुभएको थियो । “दार्जीलिङ बसेर पनि अरुणा लामा, कर्म योञ्जन, सरन प्रधान, डि जि बराइली लगायतले नेपाली गीतसङ्गीतमा योगदान दिन सक्छन् भने मैले इलाम बसेर किन सक्दिन होला त भन्ने लागेर म इलाम फर्किएको हो । फेरि काठमाडौँको धुलो धुवाँले मेरो स्वास्थ्यमा पनि असर गर्न थाल्यो र अर्को महत्त्वपूर्ण कुरा त के भने मलाई मेरो गाउँ नै प्यारो लाग्छ, यसकारण मैले काठमाडौँ छोडेँ”, यो गायक राईको जबाफ थियो तर यो जबाफले उनीहरू सन्तुष्ट भए भएनन् थाहा भएन तर मलाई भने त्यो जबाफले चित्त बुझाउन सकेन । उहाँको जबाफ धेरै हदसम्म सत्यजस्तो लागे पनि काठमाडौँ छोड्नुका अन्य पनि थुप्रै कारणहरू हुन सक्छन् होला भन्ने मलाई लागिरहेको थियो । जुन कुरा उहाँबाट आइरहेको थिएन । अन्य कारणहरू खुलाउन सकिन्छ कि भनेर मैले पनि यही प्रश्न सोध्ने निर्णय गरेँ । गाउँबाटै आएका अन्य थुप्रै गायकगायिकाहरूले गीत गाएकै भरमा काठमाडौँमा आफूलाई स्थापित र काठमाडौँमै टिकाइरहँदा कुबेर राई किन त्यही काठमाडौँबाट पलायन हुनुपऱ्यो त ? आफैँलाई सोधिरहेँ । फेरि उहाँ इलाम फर्किएर मलाई समस्या भएको पनि होइन तर उहाँजस्तो प्रतिभावान् गायक काठमाडौँमै टिकिदिएको भए आज नेपाली गीतसङ्गीतले अहिले उहाँले दिइरहेको भन्दा धेरै ठूलो योगदान उहाँबाट पाउन सक्थ्यो कि भन्ने मेरो आशय हो । इलाममै बसेर पनि नेपाली साङ्गीतिक आकाशमा योगदान दिन सकिन्छ भनेर मात्रै राई गाउँ फर्किएका हुन् त ? मलाई यसबारे थप प्रस्ट हुनु थियो ।
हुन त उहाँले इलाम फर्किएपछि नै आफ्ना चार ओटा एकल एल्बम बजारमा ल्याउनुभयो । वि.सं. २०५८ सालमा पहिलो एल्बम “अन्तराल” सार्वजनिक गर्नुभएका राईको वि.सं. २०५९ मा “निरन्तर”, २०६२ मा “अविरल” र वि.सं. २०६८ सालमा “आवृत्ति” नामक एल्बम बजारमा आइसकेका छन् । त्यतिमात्रै होइन, इलामको पशुपतिनगरस्थित बौद्धधाममा बसेर सङ्गीत कर्ममा निरन्तर लागिरहनुभएका गायक राईले गीतसङ्गीतकै माध्यमबाट अन्य केही देशहरूको भ्रमणसमेत गरिसक्नुभएको छ । नेपाली सुगम सङ्गीतका अग्रज स्रष्टा गायक राईले हङकङ, बेलायत, अस्ट्रेलिया, कोरिया, युएई लगायतका देशमा सङ्गीतिक भ्रमण गरिसक्नुभएको छ । त्यसैगरी गीत रेकर्डका लागि भन्दै उहाँ बेला-बेला काठमाडौँ आइरहनु पनि हुन्छ । काठमाडौँ आएको मौका छोपी केही गीत रेकर्ड गराएर उहाँ पुनः आफ्नै गुँड भएको ठाउँ फर्किनुहुन्छ । यसरी हेर्दा गाउँमै बसेर पनि उहाँ साङ्गीतिक रूपमा एक किसिमले सक्रिय जस्तो नै देखिनुहुन्छ तर इलाम बसेर उहाँले अहिले नेपाली साङ्गीतिक क्षेत्रमा जति योगदान दिइरहनुभएको छ, उहाँ काठमाडौँमै बसिराख्नुभएको भए योभन्दा धेरै ठूलो उचाइ उहाँको गायनले पाउँथ्यो कि भन्ने मेरो बुझाइ हो । यो कुरा पनि मलाई कार्यक्रममा राख्न मन थियो ।
फेरि क्षमता नभएर काठमाडौँ छोड्नुपरेको हो भनूँ भने त्यो पनि होइन । नजिकबाट नियाल्नेहरूले गायक राईलाई स्वरसम्राट् नारायण गोपालको स्तरको गयक हो भनेर व्याख्या गर्छन् । उहाँलाई नजिकबाट नियाल्नेहरूमध्ये एक दीपराज नेयोङहाङ जो आफैँमा कवि तथा गायक, सङ्गीतकार हुनुहुन्छ । जो यति बेला युएईमा बसेर रोजागारीसँगै सङ्गीत कर्म पनि गरिरहनुभएको छ । गायक राईको गायनमा कताकता नारायण गोपालको स्वाद पाउने गरेको कवि नेयोङहाङ बताउनुहुन्छ ।
अनि क्षमताकै कुरा गर्ने हो भने पनि वि.सं. २०३९ सालमा आयोजित “प्रतिभाको खोजी” नामक अधिराज्यव्यापी आधुनिक गायन प्रतियोगितामा भाग लिएर नेपाली साङ्गीतिक आकाशमा केवल १७ वर्षकै उमेरमा उहाँले आफ्नो प्रभाव जमाउन सुरु गरिसक्नुभएको थियो । लगत्तै वि.सं. २०४० सालमा विश्व युवा दिवसको अवसरमा रत्न रेकर्डिङले आयोजना गरेको “अधिराज्यव्यापी युवा गायन प्रतियोगितामा” भाग लिएर उहाँले प्रथम स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी वि.सं. २०५१ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गायन प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो । उहाँ प्रथम भइरहँदा सोही प्रतियोगितामा अहिलेका सार्वाधिक लोकप्रिय गायक रामकृष्ण ढकाल दोस्रो हुनुभएको थियो । एउटै प्रतियोगितामा दोस्रो हुनुभएका गायक ढकालले अहिले यति ठूलो सफलता हात पार्न सक्नुभयो भने प्रथम हुनुभएका गायक राई भने नयाँ पुस्तामाझ एक किसिमले गुमनाम जस्तै हुनुपर्ने कारण के त ? भन्ने प्रश्नले म घोत्लिरहेँ ।
विषयवस्तुमै केन्द्रित बनौँ । गायक राईले काठमाडौँ छोड्नुमा देखिने गरी जे-जे कारण बताए पनि उहाँलाई नजिकबाट चिन्नेहरूले भने त्यसमा एउटा कुरा जोड्नुहुन्छ । त्यो हो उहाँको व्यक्तिगत स्वभाव । सिधा भाषामा भन्नुपर्दा उहाँ चाकरी र चाप्लुसी गर्न जान्नु हुन्न । सामन्यतया आफ्नो फाइदाका लागि हो भने मान्छेहरू जे पनि गर्न तयार हुन्छन् तर त्यो स्वभाव कुबेर राईमा पाइँदैन । जे गर्नुहुन्छ आफ्नै बलबुताले भ्याएसम्म गर्नुहुन्छ । आफ्नो कामका लागि कसैको पाउ मोल्ने काम पनि उहाँलाई गर्न आउँदैन । यसो गरिदिनुपऱ्यो, उसो गरिदिनुपऱ्यो भनेर कसैलाई भन्ने बानी पनि उहाँको खासै छैन । उहाँलाई चिल्लो घस्न आउँदैन । यो उहाँको स्वभाव हो । यसमा कुनै अहंता छैन । यही स्वभावका कारण पनि हुन सक्छ काठमाडौँमा उहाँले अरूबाट पाउनुपर्ने जति साथ सहयोग पाउन सक्नु भएन । अथवा भनौँ अरूले खासै साथ दिएनन् उहाँलाई । यसकारण पनि उहाँलाई काठमाडौँमा टिकिरहन गाह्रो परेको हुन सक्ने उहाँका निकटहरूको बुझाइ रहेको छ । गायक राईले उल्लेख गर्नुभएका अन्य कारणहरू त छँदै छन् तर स्वयम् गायक राई भने यो कुरामा सहमत हुनु हुन्न । अरूले सहयोग नगरेका कारण आफू गाउँ फर्किएको हो भन्ने कुरामा उहाँ सहमत हुनु हुन्न । “अरूलाई दोष दिएर आफूमाथि हुने मेरो आदत छैन । जे जति करणहरूले म फर्किएँ ती सबै आफ्नै कारणहरू थिए । यसमा अरूलाई दोष दिइराख्नुको कुनै औचित्य नै छैन ।” यो कुरा उहाँले कार्यक्रमको प्रत्यक्ष प्रसारणमा त भन्नु भएन तर कार्यक्रमभन्दा अघि एकैछिन गरिएको अफलाइन कुराकानीमा चाहिँ भन्नुभएको थियो ।
“काठमाडौँमै बसिराखेको भए अलिक बेसी अवसरहरू पाइन्थ्यो होला । आफूले गाउने गीतहरूको सङ्ख्या पनि बढ्थ्यो होला । अझै राम्रा-राम्रा गीतहरू गाइन्थ्यो होला । अझै धेरै देशहरूको भ्रमणमा जान्थे होला । धेरै मान्छेहरूले खोज्थे होलान् । साङ्गीतिक रूपमा अलिक व्यस्त भइन्थ्यो होला । ती सबै कुरा आफ्नो ठाउँमा छ” गायक राई भन्नुहुन्छ तर उहाँलाई आफू गाउँ फर्किनुपरेकोमा अथवा गाउँमा बसेर सङ्गीत कर्म गर्नुपरेकोमा त्यत्रो ठूलो गुनासो या भनौँ पछुतो भने छैन र अब फेरि काठमाडौँमा बसौँला भन्ने आश पनि उहाँलाई छैन र रहर पनि छैन । काठमाडौँ बसेर सङ्गीत कर्म गरिरहँदा नै आफूले गाउँ फर्किने योजना बनाएको र त्यही योजनाअनुसार नजिकका साथीभाइलाई समेत जानकारी नै नगराई आफू सुटुक्क गाउँ फर्किएको सम्झना सुनाउनुभयो । को चाहिँ केन्द्रमा बस्यो, को चाहिँ गाउँमा बसेर काम गरिरहेको छ भन्ने कुराले त्यति खास महत्त्व नराखे पनि मान्छेहरूको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले पनि यी प्रश्नहरू बारबार जन्मिने गरेको हो । केन्द्रमा बसेको मान्छे ठूलो र गाउँमा बसेको मान्छे सानो भन्ने अथवा सानो ठान्ने मानसिकताले गर्दा पनि यी सब कुरा उठ्ने गरेको उल्लेख गर्नुभयो । कतिपयलाई गाउँमा बसेर काम गर्नुपरेकोमा हिनताबोधसमेत हुने गरेको तर आफूलाई त्यस्तो कहिल्यै नभएको उहाँले बताउनुभयो ।
फेरि काठमाडौँ बस्दैमा मात्र पनि सबै थोक हुन्छ भन्ने पनि उहाँलाई लाग्दैन । कतिपय म जस्ता अथवा म भन्दा राम्रा प्रतिभा भएकाहरू पनि काठमाडौँ बसेर पनि यत्तिकै अलमलमै भएको पनि भेटिन्छ । काठमाडौँ बसेर पनि खासै उन्नति हुन नसकेका थुप्रै उदाहरणहरू छन् । त्यसो हुँदा कामै गर्नका लागि त जहाँ बसे पनि त्यत्रो ठूलो फरक नपर्ने उहाँको अनुभव छ । गाउँमै बसेर पनि आफूले सङ्गीत कर्मसँगै गाउँको विकास निर्माण अभियानमा पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्व महसुस हुने गरेको उल्लेख गर्नुभयो । सङ्गीत सिक्न चाहने गाउँका युवाहरूलाई निःशुल्क सङ्गीत सिकाएर त्यसबापत गाउँको बाटो बनाउने लगायतका विकास निर्माणमा ती युवाहरूलाई सदुपयोग गरेको कुरा सुनाउनुभयो । ती युवासँगै आफूले पनि काम गरेको अनुभव पनि सुनाउनुभयो । सार्वजनिक जीवन बाँच्नेहरूले आफ्नो समाजका लागि सानो काम गरे पनि त्यसले ठूलो महत्त्व राख्ने र त्यसले अरूलाई उत्प्रेरित गर्ने र समाजमा सकारात्मक सन्देश र चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उहाँको अनुभव रहेको छ । आफूले गरेको सानो कामलाई प्रेसले पनि महत्त्व र साथ पनि दिने हुँदा यसले आफूलाई गौरव महसुस गराउने गरेको र गाउँमै बसेर थप काम गर्ने ऊर्जा मिलिरहेको बताउनुभयो । कुनै बेला घोडासमेत हिँड्न मुस्किल हुने आफ्नो गाउँ तत्कालीन श्रीअन्तु, सल्लेरीमा मान्छे हिँड्ने बाटो खनेर गाउँको विकास अभियानमा गायक राई जुट्नुभएको थियो । यो कुरालाई सो बेलाका मिडियाले पनि प्राथमिकताका साथ खबर छापेका थिए । यसले आफूलाई झन् बेसी हौसला दिएको र गाउँमै बसेर गाउँकै सेवामा लागिरहन प्रेरणा मिलेको गायक राईले उल्लेख गर्नुभयो । काठमाडौँ नै बसिराखेको भए यसरी आफ्नो गाउँको सेवा गर्ने अवसर मिल्ने पनि थिएन होला । त्यसो हुँदा गाउँमा बसेर सङ्गीत कर्म गर्न पाएकोमा आफूलाई निक्कै भाग्यमानी सम्झनुहुन्छ गायक राई ।
“यहीँ बसेर काम गरिरहेको छु, यसैलाई नै निरन्तरता दिऊँ भन्नेछ । सबैले सम्झिरहनुभएको छ, मायाँ गरिरहनुभएको छ । गीतहरू पठाउनुहुन्छ । सङ्गीत गर्छु अनि काठमाडौँ गएर गाउँछु पनि । काम दिइरहनुभएको छ । उहाँहरूको मप्रति हेर्ने दृष्टिकोण महान् छ होला जस्तो लाग्छ मलाई ।” गायक राई अघि थप्नुहुन्छ, “जहाँ गए पनि फर्किएर गाउँमै आउँछु । आफूलाई रमाइलो पनि लाग्छ यसो गरिरहँदा । यसरी नै जिन्दगी चलिरहेको छ र यसरी नै चलिरहनेछ भन्ने पनि लाग्छ ।” जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो गाउँमा बसेर पनि काम त गर्न सकिन्छ भन्ने उहाँको अनुभवले पनि प्रस्ट पार्दछ । सबै कुराको केन्द्र काठमाडौँ ठान्ने र काठमाडौँमा थुप्रिएर काठमाडौँलाई हरेक किसिमले गन्जागोल बनाउन भूमिका खेल्ने हामी सबैका लागि कुबेर राईले थोरै भए पनि एउटा पाठ सिकाउनुभएको छ कि “काठमाडौँबाहिर पनि जीवन छ ।”
“मायाले मूलबाटो भुलेछ, नौरङ्गी फूलबारी देखेर”, “टाढा भए के भो मायालु, सम्झना आलै छ”, “मेरो मृत्यु केही होइन भए शब्द मात्र”, “सगरमाथामा रुनुपर्छ, केचनालाई चोट लाग्दा” जस्ता अन्य थुप्रै लोकप्रिय गीतका गायक राईको तत्कालीन श्रीअन्तु-७, सल्लेरी, इलाममा वि.सं. २०२२ साल चैत १९ गते जेठो सन्तानका रूपमा जन्म भएको थियो । चन्द्र सेवाको शब्द र मानसिंह थुलुङको सङ्गीत रहेको “मैले रोजेको फूल रोदनको कथाबिच” बोलको गीत उहाँले गाउनुभएको पहिलो गीत थियो । जुन गीत वि.सं. २०३९ साल जेठ महिनामा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।
इलाममै छँदा सङ्गीतकार मानसिंह थुलुङसँग सङ्गीत सिक्दै आउनुभएका गायक राईले काठमाडौँ आएपछि भने वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ, दीपक जङ्गम लगायतसँग सङ्गीत सिक्नुभएको थियो । हालसम्म २ सय ५० भन्दा धेरै गीतमा आफ्नो सुमधुर आवाज दिइसक्नुभएका गायक राईले रेडियो नेपालमा मात्रै एक य भन्दा धेरै गीत रेकर्ड गराउनुभएको छ । यसमध्ये उहाँले गाउनुभएको “मायाँले मूलबाटो भुलेछ” बोलको गीत उहाँको साङ्गीतिक जीवनको सर्वाधिक चलेको गीत हो । जुन अहिले पनि उत्तिकै प्रिय छ । यही गीतले उहाँलाई नेपाली साङ्गीतिक आकाशमा गायक कुबेर राई भनेर स्थापित गराएको थियो । बुद्धवीर लामाको शब्द र मानसिंह थुलुङको सङ्गीत रहेको सो गीत वि.सं. २०४२ सालको फागुन महिनामा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।
(“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक बिहिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










