डा. गोबिन्दसिंह रावत
टोरन्टो, क्यानडा

कान्तिपुर टेलिभिजनबाट प्रशारित “कमेडी च्याम्पियन”को दोस्रो श्रृखलाको चार उत्कृष्ठ प्रस्तुति अहिले एकजना निर्णायकको रङ्गमञ्मा गरिने अभिनयका विभिन्न स्वरुपकप्रतिको राम्रो जानकारी नभएका कारण दिएको अभिव्यक्त गरेको प्रतिक्रिया अहिले टक अफ द टाउन अर्थात शहरभरी चर्चाको विषय बनेको छ । चार निर्णायक मध्येका एक वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्तले चार प्रस्तोता मध्येका एक बिकी अग्रवालको प्रस्तुतिमाथि दिएको प्रतिक्रियाले वहसको विषय बनाएको छ ।

डा. गोविन्दसिंह रावत

निर्णायक मण्डली भनेको कुनै पनि प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरूको प्रस्तुति हेरेर त्यसको सकारात्मक र नकारात्मक पक्षको मूल्याङ्कन गरेर निर्णय दिने व्यक्ती विशेषलाई बुझाउँछ । निर्णायक मण्डलीमा बेजोड संख्यामा राख्नु पर्ने मान्यता रही आएको छ । यसो गर्दा निर्णायक मण्डली बरोबर संख्यामा बाडिए पनि एकजनाको निर्णायक मतले अन्तिम निर्णय गर्न सजिलो हुन्छ । तर नेपालको पहिलो हाँस्यव्यग्ँय टेलिभिजन कार्यक्रम भनि उद्घोष गरिएको “कमेडी च्याम्पियन” मा चारजना निर्णायक राखिएको छ । त्यसैले भोली कतै निर्णयमा मतमान्तर भयो भने निर्णायक अवस्थामा ल्याउन गाहे हुन सक्छ ।

बिकी अग्रवाल

मैले पहिलोपटक पेन्टामाइम (पाण्टोमाइम ) को प्रस्तुति सन् १९९० मा दक्षिण कोरियाको सिओलमा हेर्ने मौका पाएको थिए । एशियन पिपुल्स थिएटर काउन्सिलद्वारा आयोजित १४ दिने एशियाली नाटक संगोष्ठीमा सहभागी बन्दा सिओलको आरीराङ्ग थिएटरमा दुईजना कलाकारले प्रस्तुत गरेको पेन्टामाईम प्रस्तुति अवलोकन गरेको थिए । उनको प्रस्तुतिले दर्शकलाई हाँस्यसँगै वातावरण विनासको कारण मानिस आफै हो भन्ने बारे व्यग्ँय पस्केको थियो । मञ्चनपछि हामी बाहिरबाट आएका सहभागीहरूका लागि पेन्टामाइम प्रस्तुति सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । यसको प्रभावले गर्दा सन् १९९२ मा पाकिस्तानमा आयोजित दक्षिण एशियाली नाटक महोत्सवमा अशेष मल्लको नाटक “म भनेको हामी” मञ्चन गर्दा दर्शक दीर्घाबाट मलाई अशेष र किशोर (पहाडी) ले तानेर मञ्चमा ल्याउँदा मैले माईम प्रवृति अपनाएको थिए । मैले गरेको माईम प्रस्तुतिलाई दर्शकले धेरै रुचाएका थिए । सफल मञ्चनले गर्दा नै यो नाटक हामीले आयोजकको विशेष अनुरोधमा दोस्रो दिन पनि मञ्चन गरेका थियौं । यही पेन्टामाइमका बारेमा मैले आफ्नो विद्यावारिधीको थेसिसमा पनि रङ्गमञ्चीय प्रयोगको थालनी शीर्षक अन्तर्गत चर्चा गरेको छु (विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा, रत्न पुस्तक भण्डार – २०७०, पृष्ठ ६९, पेन्टामाइम)

खुला मञ्च नाटकको अध्ययनको क्रममा सोहैं शताब्दीकोे कमेडिया डेल–अर्टे ( ऋयmmभमष्ब मभििुबचतभ ) अर्थात हाँस्य अभिनयका प्रस्तुतिहरू बढी चर्चामा रहेको थियो । उत्पटाङ्ग पहिरनमा मुखौंटोको प्रयोग गरेर जनतालाई मनोरञ्जन दिने यस विधामा धेरै चरीत्रहरू विकसित हुँदै गयो । विस्तारै यसमा संवादको आदान प्रदान (इप्रोभाइजेसन) र आलेख (स्क्रिप्ट) र मुँहार सजाउने (मेकअप) जस्ता दर्शकलाई आकर्षित गर्ने सामग्रीहरू थपिदै जान थाल्यो । चरित्र पनि थपिदै जान थाल्यो । अनि पेन्टामाइमको प्रस्तोता पनि देखिन थाल्यो । पेन्टामाइमका पात्रले दर्शकलाई आकर्षित पार्न मुहारमा सेतो रङ्ग पोतेर संगीतमा नृत्यको ताल मिलाउँदै उत्पटाङ्ग संवादसँगै कामुक र श्रृङ्गारित रत्यात्मक संवादको प्रयोग गर्छन ।

चौंथो शताब्दीतिर बाल मनोरञ्जनका लागि प्रस्तुत गरिने पेन्टामाइमसँगै अन्य नाटक प्रस्तुतिको विषयवस्तुमाथि तत्कालिन चर्चका पादरी र धर्मलाई माध्यम बनाएर जनता तर्साउने हर्ताकर्ताले हस्तक्षेप गरेर क्रिसमस आदि धार्मिक अनुष्ठान गर्दा विशुद्ध धार्मिक र यशुको जीवनमाथि प्रकाश पार्ने विषयवस्तुमा आधारित अलौकिक, अद्भूत, चमत्कारात्मक, रहस्यात्मक लोक नाटक प्रस्तुतिलाई प्राथमिकता दिदै जान थाल्यो । यसैको विरोधमा नाटकमा व्यग्ँय विषयवस्तुले स्थान पाउन थाल्यो । नाटकभित्र प्रहर्सनले स्थान पाउन थाल्यो । अनि नाटकीय प्रस्तुतिको विषयवस्तुमा परिवर्तन आए जस्तै पेन्टामाइममा पनि हाँस्य–व्यग्ँयको प्रयोग हुन थाल्यो । पेन्टामाइमको प्रस्तुतिले नयाँ कलवर फेरेपछि यसले बेग्लै पहिचान बनाउँदै जान थाल्यो ।

बाहैं शताब्दीमा क्रिसमसको उत्वसको बेला मृत्यु पूजा (कसैको मृत्युपछि उनको जीवनका कथा), विजयोत्सव (कुनै युद्धमा विजय भएपछि युद्ध नायकको कथा), शैतानी आत्मा (भूत, प्रेत, निशाचर, सैतान) धपाउन चर्चको अगाडि विभिन्न मुखौंटा लगाएर नाँच्दै गाउँदै प्रस्तुत गरिने नाटकीय अभिनयलाई ममिङ्ग प्रस्तुतिका रुपमा चर्चा भएको देखिन्छ । यसमा ममिङ्ग अर्थात संरक्षित मूर्दा वा मूर्दाका रुपमा कुनै पात्रलाई राखेर अभिनय गर्ने परम्परा रहेको थियो । पेन्टामाइम प्रवृति अनुरुपका प्रस्तुतिका नजिक रहेका यस्ता प्रस्तुतिहरूको बाहुल्यता रहेको थियो । त्यसपछि साहैं शताब्दीमा फ्रान्सबाट शुरु भएर बेलायत हुँदै युरोपभरी फैलिदै गएको कमेडी अफ आर्टको नामबाट सुखान्त हाँस्य नाटक, प्रहर्सन आदिको प्रस्तुतिले स्थान बनाउँदै जान थाल्यो । यसमा पनि पेन्टामाइमको जस्तै प्रस्तुतिहरू हुने गथ्र्यो । अझभनौ अठारौं शताब्दीमा जोन रिजले बेलेट नृत्यसहीत पेन्टामाइम (बेलेट–पेन्टामाइम्स, सन् १७३२) प्रस्तुत गरेर प्रस्तुतिमा नयाँ आयाम थपेका थिए । त्यसैले उनलाई आधुनिक पेन्टामाइमका पिता मानिन्छ । त्यसपछि उनका अनुयायीहरूले प्रस्तुतिमा रौंनकता ल्याउन नयाँ नयाँ प्रयोग थप्दै पेन्टामाइमलाई अझ विस्तृत बनाइ दिएका थिए ।

पेन्टामाइमको प्रस्तुति पनि खुला मञ्चमा नै हुँदै आएको देखिन्छ । दुईहजार वर्षअघि रोमनकालिन समयमा कलाकारले आफ्नो पहिचान लुकाउन मुहारमा मुखौंटो लगाएर विचित्रको पहिरनमा सम्वादको सम्प्रेषण गर्दै पेन्टामाइमको प्रस्तुति दिने गरिन्थ्यो । पेन्टामाइम शब्द ग्रिक शब्द ‘पान्टो’ अर्थात सबै र माइनोस अर्थात नृत्य गर्दै नक्कल गर्ने, यी दुई शब्दबाट बनेको हो । सबै प्रकारको नक्कल गर्नेको भावार्थमा आएको पेन्टामाइमको अर्थ सबैको नक्कल गरेर अभिनय गर्ने कला भन्ने बुझिन्छ । पेन्टामाइमका कलाकारमा कुनै व्यक्तिविशेषको आवाज र हाउँभाउँको नक्कल गर्ने क्षमता रहने गर्दछ । बालबालिकाहरूको मनोरञ्जनका लागि देखाईने पेन्टामाइम विशेष गरेर क्रिसमस आदि धार्मिक चाडपर्वको अवसरमा बालमनोरञ्जनका लागि प्रस्तुत गरिन्थ्यो । यसको कालो पहिरन र अनुहारमा पोतिने सेतो रङ्ग अनि आँखाको छेउँमा एउटा बेग्लै रङ्गको संयोजन र ओठको वरीपरी रातो रङ्गले व्यक्ती आकषर्ण बढाउने काम गर्छ । यस्तो पहिरन र मेकअपले भीडमा कलाकार बेग्लै देखिन्छन् । पेन्टामाइममा मुख्यतः हाउँभाउँ, मुखाकृत अभिव्यक्ती वा सम्प्रेषण, शारीरिक गतिविधिलाई माध्यम बनाएर प्रस्तुत गरिन्छ । यसको विशेषता भनेको बिना संवाद मानवीय भावना, आवेग, उत्तेजना, मनोवेग, तरङ्ग आदि भावहरूका माध्यमबाट कथा मञ्चन (कुनै परी कथा आदि) गर्ने क्षमता राख्दछ । यसलाई मुक अभिनय पनि भनिन्छ । चार्ली च्याप्लिनको अभिनय पेन्टामाइम अनुरुपको हुने गर्दथ्यो । तर विस्तारै पेन्टामाइमको प्रस्तुतिमा विविधता ल्याउन यसमा संवादले स्थान पाउन थाल्यो । यसको प्रस्तुतिले मानव कथालाई मुखारित गर्न थाल्यो । त्यसपछि पेन्टामाइम नाटकको एउटा प्रकारका रुपमा एउटा बेग्लै विधा बनेर विकसित हुँदै गयो । पेन्टामाइमका प्रस्तोतामा आवाजको नक्कल गर्ने क्षमता हुनु जरुरी मानिन्छ । मिमिकको अर्थ नै नक्कल गर्नु वा देखासिकी गर्नु हो । पेन्टामाइममा संगीतको महत्वपूर्ण स्थान रहने गर्दछ । संगीतका तालहरूसँग कलाकारको गतिसँगै अभिनयले तालमेल राखेको हुन्छ । पेन्टामाइमको प्रस्तुतिमा शारीरिक हावभावको बढी महत्व रहने गर्दछ । प्रारम्भमा यसको पहिरन र अनुहार रङ्गाउने प्रवृतिले कलाकारलाई सर्कसको जोकर जस्तै देखाउन खोजेर केटाकेटीहरूलाई मनोरञ्जन गराईन्थ्यो । अझ दर्शकसँगको दोहोरो संवाद (अडियन्स पार्टिसिपेसन) ले यसलाई झन झन लोकप्रिय बनाउँदै गयो । उन्नाईशौं शताब्दीमा आएर पेन्टामाइम प्रस्तोताले परीको कथा (फ्येरी टेल), साहसिक र नैतिक शिक्षाप्रदत्त बाल कथा (नर्सरी स्टोरी) आदिसँग सामयिक तथा प्रासङ्गिक हाँस्य टुक्काहरू जोडेर प्रस्तुतिमा नयाँपन जोडिदै नाटकको एउटा बेग्लै विधा बन्न गयो । आज पेन्टामाइम नाटक प्रस्तुतिमा देखा परेको बेग्लै नाट्य शैलीका रुपमा विकसित हुँदै गएको छ । यसको प्रस्तुतिले विशेष महत्व पाउँदै गएको छ । पेन्टामाइमको प्रस्तुतिमा मानवीय जीवनका सकारात्मक र नकारात्मक पक्ष, मनवीय मनको चेतन र अवचेतन अवस्थाको विश्लेषण, जिन्दगीको सुखमय र दुःखमय पलको चित्रण, सेतो र कालो सत्यको उद्घाटन आदि यस्तै जीवनको संवेदनशिल विषयवस्तुलाई समातेर त्यसलाई शारीरिक हाउँभाउँ, आवाजको विविधता, संगीतसँग शारीरिक तालमेल आदिको संमिश्रणबाट प्रस्तुतिले जिवन्तता पाउने गर्छ ।

पेन्टामाइम प्रस्तुतिको विशेषता भनेको यसले दर्शकसँग दोहोरो संवाद गर्छ र दर्शकका प्रश्नको उत्तर पनि दिदै जान्छ । यसको प्रस्तुति भनेको हाँस्यसँगै व्यग्ँय पस्कदै संगीतको धुनमा नृत्य वा लयानुरुप शारीरिक गतिमा कतै मनोसंवादबाट मानिसको जीवनमा देखा परेको उतारचढाँउका तीतामीठा अनुभवहरूलाई कथात्मक शैलीमा प्रस्तुत गर्दै जान्छ भने कतै समाजमा देखा परेका विसङ्गतिलाई हाँस्यव्यग्ँय शैलीमा प्रस्तुत गर्दै जाने हो । पेन्टामाइमका कलाकारमा यि विशेषताहरू मुख्यरुपमा हुनु जरुरी मानिन्छ ः शारीरिक गतिको मुद्रा र हावभावमा नियन्त्रण हुनु पर्ने, कुम समतल र छाति उठेको, गतिमा लचकता र सांगीतिक ताल (रिमद) मा बगेको, सोझो तरिकाबाट हिड्ने, शरीरलाई फर्काउँदा टाउँकोसहीत सम्पूर्ण शरीर एकैपटक फर्काउने, मञ्चनका दृश्यहरू प्रष्ट र संवाद बोल्दा मुखाकृतमा भावविस्तार गर्दै बढाईचढाई भन्न सक्नु, प्रत्येक गतिलाई सटिक, दुरुस्त र स्पष्ट तरिकाबाट व्यक्त गर्ने, दृश्यलाई मनोरञ्जनात्मक बनाउँदै लैजाने, आवश्यकताबाहेक कम बोलेर मूकअभिनय गर्ने ।

आजको मितिमा आएर पेन्टामाइम मञ्चनको एउटा बेग्लै प्रस्तुतिका रुपमा स्थापित भएको छ । यसलाई नाटक, प्रहर्सन, नृत्यबाट लिएर अभिनय कलाका विभिन्न प्रस्तुतिका रुपमा मञ्चन गर्न सकिन्छ । यो विधा हाँस्यव्यग्ँय प्रस्तुतिका लागि पनि प्रयोग हुँदै आएको छ । विकी अग्रवालको प्रस्तुति पनि पेन्टामाइमको हाँस्यव्यग्ँय अन्तर्गत भएको थियो ।