पहाडको चुचुरामा भएको गोलो ढुङ्गो
जसरी फेदीमा आउँछ
हो त्यसरी नै
म कविता रच्ने ठाउँमा आएको हुँ !
कसैलाई भनिरहनु पर्दैन
बुझाइरहनु पर्दैन
पहाडका ती लाम्चा र चेप्टा ढुङ्गाहरू
सजिलै फेदीमा आउँदैनन् !
त्यसैले
ए मेरा प्यारा मित्रहरू हो !
जसले मलाई फेदीतिर धकेलिदियो
ऊसामु
कि बदला लिन
कि त बदलिन प्रेरित नगर मलार्इ !
म यो फेदीबाट उक्लेर
आफैँ कतै टेक्न सक्तिनँ
अडिन सक्तिनँ,
तिमीहरूलाई खुसुक्क भन्छु
म क्षमताविहीन होलो ढुङ्गो हुँ!
ए मेरा मित्रहरू हो !
अचम्म नमान !
क्षमताविहीन भएर पनि
तैले आफैँलाई कसरी चिनिस् भनेर
म झूट कसरी भन्न सक्छू र !
तिमीहरू त
खुद आफूलाई भुलेर मलाई जान्दछौ हैन र !
तैपनि म मेरो गन्थन सुनाउँछु
सुन ए मित्रहरू हो !
म सुन्दर चित्र कोर्न सक्तिनँ
सक्थेँ भने म कहिल्यै कविता लेख्तिनँ थिएँ !
अनि म सुमधुर स्वरमा गीत गाउन सक्तिनँ
सक्थेँ भने
म कहिल्यै कविता सुनाउँदिनँ थिएँ !
विज्ञान प्रविधि बनाउन होइन
राम्ररी चलाउन सक्तिनँ
सक्थेँ भने
म कहिल्यै कविता बनाउँथिन !
ए मेरा प्राणप्रिय प्यारा मित्रहरू हो !
बुझ्यौ नि
यसरी म
बदलिन नजानेको
गुल्टिन जानेको
गोलो ढुङ्गो भएको हुँ !
ए मित्र ! त्यसैले मलाई रहर छैन बदलाका लागि
पहाड चढ्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।