कवि परिचय

भक्तपुरमा जन्मिएका कवि पूर्ण वैद्य (ने. सं. १०६० – १०४१) आधुनिक नेपालभाषा साहित्यका अग्रज साहित्यकारमा पर्छन् । गत हप्ताको भाद्र १० गते ८१ वर्षको उमेरमा उनको निधन भएको छ ।

उनी कविता र निबन्धमा गरी दुइपटक (ने. सं. १०८४ र ११०१) ‘श्रेष्ठ सिरपाः’ पुरस्कारबाट सुशोभित हुने लेखक हुन् ।

जनवादी गणतन्त्र कोरियाको पचासौं स्थापना दिवसमा सम्पन्न एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका कविहरूको सम्मेलनमा उनको कवितालाई सहभागी कविहरूका कवितामध्ये सर्वोत्कृष्ट घोषणा गरिएको थियो । लाइब्रेरी अफ कांग्रेसले दक्षिण एसियाली साहित्य अभिलेखीकरणमा उनका १७ कविताहरूको वाचन सुरक्षित गरिएका छन् । अस्वीकृत साहित्य पुरस्कार (२००२) बाट पनि सम्मानित पूर्ण वैद्यका कविता र निबन्ध सङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् । हाल सालै उनलाई मातृभाषातर्फ नेपाल प्रज्ञा नेपाल साहित्य पुरस्कारबाट प्रदान गरिएको छ ।

प्रस्तुत कविता ‘लः लः खः’ (म्चयउक या ध्बतभच, ने. सं. ११३९) कविता सङ्ग्रहबाट लिइएको हो ।

— अनुवादकः आर. मानन्धर

मलाई महासागरको विशालता भनेको पनि —

* पूर्ण वैद्य

मलाई महासागरको विशालता भनेको पनि —
आफ्नै भाँडोभरि त हो ।

पूर्ण वैद्य

त्यसलाई म आफ्नो भाँडामा
जति भर्छु —
मेरो लागि त्यो त्यति नै हो
त्यसको असीमितता आफ्नो सीमिततामा सँगालेझैं ।
आफ्नो सीमितता बाहिर त मेरो हातै पुग्दैन
त्यसको सम्पूर्णता सिनित्तै समेट्न !

तर, त्यही थोरै पानीले —
सफा हुने गरी आफ्नो मुख धुन्छु
नुहाउँछु सिंगै जिउ
हिजो–अस्तिका सम्पूर्ण मयल
पखालेर स्वच्छ हुन्छु
आजको मेरो रूप–रंग भनेको पनि
त्यति नै त हो, आफ्नो भन्नु !

फेरि थोरै, बोटबिरुवामा छम्कन्छु
फक्रिँदै गरेका कैयौं कोपिलामा निदाइरहेको
रस–सौन्दर्यको सुवासलाई जगाउँछु
सृष्टिको अनन्ततासित जोड्दै
जति मैले बोटबिरुवा हुर्काउँछु
मेरो कार्यको सार्थकता पनि त्यति नै त हो !

फेरि, त्यसबाट पनि उब्रेको थोरै —
मसी बनाउँछु
शव्द–वाक्यको पुल गाँस्दै
म— व्यक्तिलाई आफू र अन्यसित जोड्दै
आफू अन्यमा सर्दै सर्दै जान्छु ।

एक भाँडोभर मसी मात्र पनि
प्रशस्त छ मलाई युगको मर्म बोकेर
फैलिंदै फैलिंदै जान
टाढाटाढा
जीवनपर्यन्त नै
शव्दको डुँगामा बसेर
जति अघि बढ्छु म
त्यति नै त हो मेरो बाँच्नुको सार भनेको पनि !

साँच्चै भनूँ त बाँकी त सास मात्र फेरेको हूँ व्यर्थको
यही नै मात्र त हो थोरै
जिन्दगी आफूले उपयोग गर्दै
समय–सागरबाट अघि बढ्दै
त्यसको उचिततामा जति म उभिन्छु
जीवनको मूल्य भनेको पनि यति नै त हो मेरो यहाँ
आफ्नो उपस्थितिको सार भनेको पनि
यही नै त हो —
बाकी सबै त फुस्सा मात्रै त हुन् !
आफू बाँच्नुको !

मूल नेपालभाषामा