रगतका धब्बाहरूलाई फूल सम्झिएपछि
अथवा
रगतका धब्बाहरू फूलजस्तो देख्न छोडेपछि,
आँसु नै आँसुको व्यापार गर्ने मन पलाएपछि
अथवा आँसुको व्यापार घाटामा गएपछि,
समवेदनाका सूत्रहरू बिस्तारै बिस्तारै मधुरो देख्न थालेपछि
अथवा मान्छेहरूको नाम बिर्सिन थालेपछि
जो कोही अमेरिकाजस्तै हुन्छ होला ।

जसरी केही आदिवासी अनुहारहरूले
आफूले टेकेको माटाबाट
अफगानिस्तानको गन्ध आउँछ आउँदैन भनेर
धेरैपटक सुँघ्नु पनि एउटा प्रमाण हुन सक्छ ।

मुकुन्द प्रयास

केही पहाडको फेदीबाट ओर्लिए होलान्
केही सहरको कुनै गुमनाम घरको अनाम कोठाबाट निस्किए होलान्
उड्दै गरेको जहाजको मुन्तिरबाट
आफ्नै देशको आकाश हुँदै
हामफाले होला कोही र शून्य भए होला,
बर्सौँवर्ष आफ्नो हुन नसकेका
अर्कै भाषाका बन्दुकहरूबाट डराएर
कोही भखैरै आँखा खोल्दै होलान्,
बन्दुकदेखि नतर्सिएका अनुहारहरू सम्झेर
ह्वाइटहाउसको पर्खालछेउमा
आफैँलाई धिक्कारिरहेको होला एउटा सिपाही ।

यो सबभन्दा खतरनाक समयको छेउबाट
फेरि सुरु हुन सक्छ
कहिल्यै नहार्नेको हार्ने दिन गन्ती
कहिल्यै नजित्नेको जित्ने दिन गन्ती ।

बालकहरूलाई बालकजस्तो हुन नदिएको
पहिलोपटक पटक्कै होइन,
सिङ्गै एउटा पुस्ताले देश बिर्सिएको
यो अन्तिमपटक पनि होइन,
धेरैपटक आमाहरूले आमा हुँ भन्ने बिर्सिएजस्तो,
पटक-पटक चराहरूले उडेर पुग्ने गुँड बिर्सिएजस्तो,
कैयौँ वर्ष निदाउन नपाएपछि
अनिँदोमै देखिरहेको सपनाजस्तो,
यही भूगोलबाट भागेर
यही भूगोलमा देखिने गरी लुक्नुपर्ने भएपछि
साँच्चै
आफूले आँलाई बिर्सिए होला अफगानहरूले ।

कहिले खाली सडक मान्छे भएर बोलेको सुनियो होला
कहिले खाली मान्छे पागल भएको देखियो होला
पागल हुनु भनेको बन्दुकले पनि नचिन्नु हो भन्ने ठानेर
नचिन्नु भनेको बाँच्नु हो भन्ने ठानेर
जसरी सिकारीले नचिनेपछि सिकार बाँच्छ
ठिक त्यसरी नै
उम्केर बाँचेकाहरूको खुसी कत्ति परसम्म पुग्यो होला ?

घरबाट घरहरू हराएपछि
अनुहारहरूबाट अनुहारहरू हराएपछि
बर्सौँपछि देखिने मधुरो उज्यालोमा
कसले हेऱ्यो होला सबभन्दा पहिले आफ्नो अनुहार
सबभन्दा पहिले कसले सुँघ्यो होला
पुरानो भान्साघरबाट आइरहेको बारुदको गन्ध ?
बारीतिरै अथवा पुरानो घरको पेटीमा नै
छोडिराखेर फेरि पुराना यादहरू
फेरि किन यसरी दगुरे होलान्
गन्तव्य नभएको बाटैबाटो?
र कहाँ पुगेर रोकिन्छन् होला ती अनगिन्ती पाइलाहरू ?

कतै मान्छेका पैतालाहरूको आवाजले तर्सिएर भागेजस्तो
कहिले हारेर हारेँ भन्न नसकेको जस्तो
आफैँबाट लजाउँदै-लजाउँदै
कहिलेसम्म बहुलाउँछ होला अमेरिका ?

यो बहुला समयको मध्यविन्दुबाट
अँध्यारैअँध्यारो हिँड्दै
कुन उज्यालो पछ्याउँदै होलान् घुम्टोभित्रका घुम्टोहरू ?
कहिले फुल्छ होला यी अफगानहरूको ओठमा
फूलहरूले ईर्ष्या गर्ने मुस्कान ?