भानसिंह धामी

भोको पेट लिएर यो भुवनमा, सिद्धान्तमा बल्झिए
माग्नेको मनले विचित्र धनको, संवादमा अल्झिए
लाग्यो प्यास पुरै शरीरभरिमा, ऊर्जा उमार्दै पिए
आयो सङ्कटको घडी अनि खुला, मैदानमा उत्रिए ।
                        ।१।
धोको फेर्न तयार ह्वौँ सब जना, सङ्घर्ष थालौँ अब
आफ्नो हाल सुधार गर्न युगको, झन्डा उचालौँ अब
आशा लाग्छ समाजमा मिलिजुली, बाँडेर विद्या दिए
मैलाका अनुहार फेर्न मनले, मैदानमा उत्रिए ।
                       ।२।
बेलैमा अवतार भै जगतमा, विद्या दिए बुद्धले
आत्मामा जब शान्तिको विजय भो, हारे सबै युद्धले
अप्ठेरो पदचालमा अभयले, एक्लै खडा भैदिए
फेरिन्छन् सपना समस्त जनका, मैदानमा उत्रिए ।
                       ।३।
कोही छैन सुखी सबै जन दुखी, ईर्ष्या अहङ्कारले
आँखामा झुपडी रहे महलमा, के होस् नमस्कारले
टुप्पामा तुलना हुँदैन लहरा, आफैँ यहाँ लत्रिए
गाह्रो भो दुनियाँ सपार्न नसकी, मैदानमा उत्रिए ।
                      ।४।
जेलैमा सरकार थुन्छ जसले, देख्छन् ठुलो स्वप्न क्यै
रेलैमा छ सवार लाज नहुने, पर्दैन है छोप्न क्यै
सम्झन्छन् अपमान जो मनुजले, सम्मानले भर्दिए
स्वार्थी स्वर्ग सदैव पोस्न नसकी, मैदानमा उत्रिए ।
                     ।५।
                    *****
            सिगास -२, बैतडी