आमा बारम्बार दुःख पोख्नुहुन्छ -२८ सालमा बिहे गरेर ल्याएदेखि कोही नभनी, कतै नगई, सबै सहेर, घर गरेर खाए पनि मलाई कहिल्यै सुबिस्ता भएन । बा यसरी लगातार आमालाई पीडा पोख्ने अवसर बनाइरहनुहन्छ बेहिसाब । मलाई भने आमाको दुखेसो र बाको बेपरवाह जीवनले घोचिरहन्छ हरदम । मैले साँढे तीन दशकदेखि निरन्तर रूपमा भोग्दै आइरहेको यो तितो यथार्थ यस वर्ष अर्थात्, २०७८ सालमा आएर झन् बढी बिझाउने भएको छ । बाआमाले भने यति बोझिलो जीवन लतारेर भए पनि पचासौँ वर्षको सङ्घारसम्म ल्याइपुऱ्याउनुभएको छ । यस लेखमा मेरो अनुभूति बाआमाको वैवाहिक जीवनकै सेरोफेरोमा अल्झिएको छ ।

दीपक श्रेष्ठ

बाआमाको बिहे भएको यही भदौ महिनाको कुनै अमुक दिन पचास वर्ष पूरा हुँदै छ । त्यस दिन उहाँहरूका पाँच सन्तानहरूमध्ये उहाँहरूको साथमा रहेका चार जना मिलेर विवाहको पचासौँ वर्षगाँठ मनाउन जुरमुराउनुपर्ने हो तर कसैले चासो लिएको देखिँदैन । हेक्का मात्र पनि छैन होला मेरा दिदी र भाइहरूलाई बाआमाको पचासौँ वैवाहिक वर्षगाँठ यही सालको भदौ महिनामा पर्छ भनेर । म आमाको अलि बढी नजिक हुन खोज्ने भएकाले हुनुपर्छ मलाई आमाले गर्नुभएका हरेक कुराको हेक्का रहिरहेको ।

हिजोआज धेरै जसो सन्तानहरूले आफ्ना जन्मदाताहरूको वैवाहिक वर्षगाँठको दिन लामो सहयात्राका निम्ति बधाई दिइरहेका तथा आउने वर्षहरू अझ सुखद रहोस् भन्ने कामना गरिरहेका प्रशस्त उदाहरण देखिन्छन् । मलाई भने मेरा दिदी अनि भाइहरूसँग मिलेर एउटा उत्सवको आयोजना गर्ने आँट आउनु त परै जाओस् शब्दमा शुभकामना व्यक्त गर्नसमेत इच्छा लागिरहेको छैन । यस्तो हीन भावना किन पलाइरहेछ भन्ने विषयमा सबैलाई कौतुहल जाग्नु स्वाभाविक पनि हो । यसका पछाडि विभिन्न कारणहरू हुन सक्लान् भन्ने अनुमान गर्नुभएको छ भने त्यो गलत साबित हुन्छ मेरो सन्दर्भमा । सिर्फ एउटा कारण रहेको छ-बा अति नै पियक्कड हुनु ।

हाम्रो परिवारमा खुसी हुने अनेकौँ अवसरहरू नआएका होइनन् । खुसी भएका छौँ धेरैपटक र अझै पनि खुसी साट्ने गर्छौं विभिन्न अवसरहरूमा तर खुसी कहिल्यै लामो समय टिक्नै पाएनन् । बाको कुनै पनि `सोच´ सोच साबित हुनै सक्थेनन् । आवेग हुन्थ्यो हरबखत । आमाको सहन गर्ने क्षमता भने बेग्लै थियो । उहाँ सबै किसिमका जटिल अवस्थाहरू सहन गर्न सक्नुहुन्थ्यो तर बाको पियक्कड बानीलाई भने कुनै पनि हालतमा सहनै सक्नुहुन्नथ्यो । उहाँहरूबिच यस विषयमा कहिल्यै सहमति बन्न सकेन । आमाले कहिल्यै पिउनुभएको छैन । बासँग बसेर पिउने त झन कुरै भएन । आमा बासँग डराउनुभएकाले होइन । डराउने त कुरै छोडौँ, केही कुरामा पनि बोल्न पछि हट्नुहुन्न आमा । न बासँग न अरू कुनै व्यक्तिसँग ।

पिएर नै जिउने बानीका बिच जुन दिन अति नै बढी पिएर आउनुहुन्छ बा, आमा बामाथि खनिनुहुन्छ अझै पनि । बाआमाले यो विषयमा देखाउने व्यवहारमा अझै पनि उहाँहरूको जिन्दगीले ६५-७५ वर्षमा टेग्दा समेत न कमी आएको छ न कुनै परिवर्तन । हप्ता-दुई हप्ताको अन्तरालमा उहाँहरूबिच भइरहने हरेक लुक्षाझम्टीको साक्षी भएका अनगिन्ती क्षणहरू छन् मसँग ।

निम्न मध्यम वर्गीय परिवार भनिन लायक हाम्रो परिवारमा छाक टार्नका निम्ति कहिल्यै गारो भएको थाहा छैन । राम्रो लगाउन भने पैसाको राम्रैसँग जोहो भएको हुनुपर्थ्यो । पाँच जनाको परिवार, काठमाडौँको बसोबास, बाको एक जनाको मजदुरीको भर, आमाले गर्नुहुने अर्मपर्मले धानी आएको हाम्रो परिवारमा छोरीहरूले पढ्न छोडिसकेका थिए । जब सबै छोराहरू अङ्ग्रेजी माध्यममा पढाइ हुने स्कुलमा भर्ना भए, खुसी छाउनुपर्ने थियो, उत्साह भरिनुपर्ने थियो बाआमाको व्यवहारमा तर खुसी केही क्षण मात्र पाहुनासरि आउने गर्थ्यो र भुस्याहा कुकुरको भुकाइमा नै कुलेलाम ठोक्ने टापटिपे चोरझैँ भाग्ने गर्थ्यो । हामी दाजुभाइहरूले विद्यालयमा पढाइका साथसाथै अन्य क्रियाकलापमा समेत सहभागी भएर प्राप्त गरेका कुनै पनि उच्च उपलब्धिहरूको खासै चर्चा हुनै पाएन घरमा कहिल्यै । बा आफू पचासको हाराहारीमा पुग्दा नपुग्दै आफूले गर्दै आउनुभएको काम छोडेर घरमै बस्न थाल्नुभएपछि आमा एक्लैलाई सबै व्यवहार सम्हाल्न गाह्रो भइरहेको थियो । जानुहुन्थ्यो ज्याला-मजदुरी गर्न । शरीरमा रोगले डेरा जमाएको त छँदै थियो तर मन र मस्तिष्क भने तगडा थिए र अझै पनि छन् । हरेक बाधा अड्चनहरूलाई जित्ने उहाँमा हिम्मत थियो र आजपर्यन्त छँदै छ । आफ्नै घरमा पसल थापेर खुद्रा व्यापार गर्न थालेपछि उहाँमा छुट्टै हौसला आएको देख्न सकिन्थ्यो । बाहिरबाट देख्ने भनेको – बाले रक्सी खुब पिउनुहुन्थ्यो र आमाले हरेक दिन, बिहान होस् वा साँझ-बाको त्यो कुलत छुटाउन भरपुर प्रयास गर्नुहुन्थ्यो । आमाको जुन तौरतरिका थियो बालाई सम्झाउने विषयमा, त्यो सत्प्रयास हुँदाहुँदै पनि कुनै काम लागिरहेको थिएन र अझै पनि लागेको छैन । बाको आत्मसम्मानमा ठेस पुग्ने गरी आमाले गाली गर्नुहुन्थ्यो खुलेआम सबैसामु । अनि बा पनि आमाका हरेक प्रयासलाई बालुवामा पानी हालेसरि बनाइदिनुहुन्थ्यो र आफ्नो व्यवहार बदल्ने विषयका बारेमा अझै पनि कानमा तेल हालेर बस्नुहुन्छ । म सम्झिरहेछु बाको पियक्कड बानीले निम्त्याएका अनेकौँ किस्साहरू ।

हरेक वर्ष भदौ महिनामै पर्ने कुसे औँसी तथा बाबुको मुख हेर्ने दिन हामीले सधैँ बालाई पिएर लट्ठ भएकै अवस्थामा उहाँको खुट्टामा ढोगेका छौँ । ढोगेर बासँग आशीर्वाद होइन बरु बालाई नै पिउने लत छुटोस् भन्दै कुनै निर्दयी भगवानसँग प्रार्थना गर्दै आइरहेका छौँ । एकाध वर्ष मात्र हल्का रमाइलोसँग बाको मुख हेरेको याद छ । त्यसपछि सोह्र श्राद्ध सुरु हुनु अघि बाले पिएपछि आफ्ना पितृहरूलाई तर्पण नै नदिने हुन् कि भन्ने संशय गर्दै उनै पितृहरूसँग नै दशऔँला जोडेर बिन्तीभावमा कामना गरिरहेका हुन्छौँ अझै पनि अनि घरघरमा खुसी भित्र्याउने नेपालीजनको महान् चाड दसैँमा बालाई नवरात्रिभरि बिहान नुहाउन र नित्य पूजा गर्न आमाले कराउनु नपरेको कुनै वर्ष छैन । जब दसैँको रौनकता सुरु हुन्छ टोल छिमेकमा, उहाँमाथि चढिहाल्छ नशा र भुल्नुहुन्छ सबै थोक । परबाट हेर्दा बा आफैँमा रमाइरहनुभएको देख्छन् सबै जना । लडखडाउँदै जब बा घरमा घर आइपुग्नुहुन्छ त्यसपछि सुरु हुन्छ एक किसिमको आमाको रणचण्डी नाच निकाल्न थाल्नुहुन्छ सधैँ पोख्दै आउनुभएका आफ्ना पीडाका स्वरहरू । बा चुइँक्क समेत नगरी पल्टिदिनुहुन्छ कहिले भने अरू बेला आफ्नै सम्पत्ति खाएँ, तेरो बाउको खाइदेको छु भन्दै आमाले ओकल्नुभएको घृणाको आगामाथि घिउ थप्न थाल्नुहुन्छ ।

हरेक तिहारमा पनि उस्तै चल्दै आएको छ । औँसी पूर्णिमा लागिरहने बाको यो पियक्कड बानीले हाम्रो परिवारको खुसीमा भने सधैँका निम्ति ग्रहण लगाइदिएको छ । दसैँतिहार त हो नि होस् भनेर छोड्दा सुख पाइए पो त । अन्य चाडबाडहरूमा पाहुनाहरू बोलाएर जमघट गर्दा होस् वा कतै बिहे वा व्रतबन्धको भोज अथवा कुनै विशेष अवसरमा समेत पाहुना लाग्न जाँदा सधैँ उहाँको ध्यान हल्का रमाइलो गर्दै त्यही सुरापानमा नै मग्न हुने बानी अझै छुटेको छैन ।

अचम्म लाग्छ बाआमाको सम्बन्ध देखेर । बा रनक्क रिसाउनुहुन्छ कुनै ठूलो कारणविना हिँडिदिनुहुन्छ, अटेर गरी पिइदिनुहुन्छ बेहिसाब र लडिदिनुहुन्छ जतासुकै । पहिले-पहिले दयामायाँ पलाएर होला, उठाउन जान्थेँ वरपरका मान्छेहरूको सहयोग मागेर र जसोतसो ल्याएर पल्टाइदिन्थेँ खाटमा । त्यसपछि एकछिन आमाले बालाई सधैँजसो गर्ने हप्कीदप्की सुन्थेँ । अहिले वास्तै नगर्ने भएको छु । सिङ्गो परिवारले नै दशकौँदेखि घरमूलीको व्यवहारमा खोजेको परिवर्तन पाउन सकेका छैनौँ । अनि मेरो मनमा अकस्मात् कुनै अमुक घटना घटेको दिनदेखि यस्ता प्रश्नहरूले डेरा जमाएर बस्न सुरु गरे- कतै बाले खोज्नुभएको शरीर सुख आमाबाट पाइरहनुभएको छैन कि! अथवा आमाले पो दिन सक्नुभएको छैन कि! बाले आमाको शरीरमाथि जबरजस्ती पो गर्नुहुन्थ्यो कि! लामो समयसम्म यस्ता प्रश्नहरूले हिर्काइरहे मेरा मन र मस्तिष्क । हरेक महिना दुई-तीन हप्ताको अन्तरालमा उस्तै हविगत हुने गर्छ बाको । कुनै महिना टुट्दैन । न चैत-वैशाखको चर्को गर्मी न असार-साउनको अविरल झरी । पुस-माघको ठन्डी महिना त बाका निम्ति वरदान साबित हुन्थ्यो । तनलाई न्यानो बनाउने बहानाले मदत गरेकै हुन्थ्यो पिएर मस्तसँग भुल्न । एक दिन आमाबालाई उस्तैगरी कति कुकुरको मुत धोक्न सकेको, भुईँमा खुट्टाले टेक्नै नसके पनि यो थुतुनाले कति जाँडरक्सी मागिरहेको भन्दै झाङ्गलझुङ्गल गर्दै कराइरहनुभएका बेलामा मेरो मस्तिष्कमा एउटा प्रश्न सहजै उठ्यो-कतै मुतुनोले मागेको नपाएकाले बाले सधैँ आफूलाई सम्हाल्नका निम्ति पिएर बस्नुभएको त होइन? आमाले थुतुनो शब्द भुईँमा खसाउन नपाउँदै मुतुनोमा गएर मेरो प्रश्न त उब्जियो तर प्रश्न राख्ने कसरी? वरिपरि हेरेर भूमिका बनाउँदै बोलेको कुरा भर्खरै बोलेको झैँ लाग्छ अझै- कोठामा दुई-दुई ओटा खाट किन राख्नुपरेको, भन्नुहोस् त? सँगै सुत्न नपाएर पो हो कि बाले पिएर हिँडेको? खान लाउनको दुःख त छैन घरमा । लामो समयदेखि मेरो मनमा खेलिरहेको तर्कना आमासामु एकै श्वासमा विना कुनै सङ्कोच राखि त हालेँ । बालाई गाली गरिरहनुभएको आमाको आवाजमा पूर्णविराम लाग्यो । म पो अक्क न बक्कमा परेँ । त्यसपछि तपाईँहरूको यही समस्या हो भने अबदेखि तमासा खडा नगर्नु भन्दै बाहिरिएँ तर अहँ, केही परिवर्तन आएन । न बाको पिउने बानीमा परिवर्तन आयो न त आमाले कराउने बानी मै ।

बाको यस्तो हर्कतलाई आमाले जसोतसो सम्हालेर आइरहनुभएकै छ । पिउँदा-पिउँदा अन्नको नाममा एक गेडा पनि पेटमा नपरेपछि गलेर ओछ्यानमा पर्दा होस् वा रक्सीको मात्रा धेरै भएर पिसाब रोकिएर अस्पताल कुदाउनुपरेको अवस्थामा होस्, पिसाब चुहिएर थामिँदै नथामिएको अवस्थामा होस् वा नाकबाट निरन्तर रगत बगेर निस्लोट भएको अवस्थामा होस्- बाको पिउने बानीले निम्त्याएका साराका सारा अवस्थाहरूमा आमाले नै हो बालाई हेरचाह गर्नुभएको , औषधिमूलो गर्नुभएको, भोकनिद्रा केही नभनी अस्पतालमा रातदिन कुरेर बस्नुभएको अनि फेरि म कसरी प्रश्न गर्न सक्छु र आमाको बाप्रतिको प्रीति देख्दादेख्दै कि उहाँहरू आपसमा मनोमालिन्य लिएर बाँचिरहनुभएको छ भनेर पीडामा जीवन जिइरहनुभएको छ भनेर? तर गडबडी त पक्कै छ । कुन गडबडीले बा पिउनुको हदैसम्म पुगेर परिवारको खुसी खोसिरहनुभएको छ? यो जटिल प्रश्नको जबाफ नभेट्टाएसम्म यो छोरोले बा आमाको वैवाहिक वर्षगाँठलाई उत्सवमय बनाएर सबैसामु खुसी पुऱ्याउन आँट गर्न सक्ने छैन किनकि बाको पियक्कड बानी र बामाथि आमाको निरन्तरको टोकसकै कारण जिन्दगीमा खुसी एकछिन पनि नटिकेको सयौँपटकको भोगाइले मलाई यति घायल बनाएको छ कि उहाँहरूको वैवाहिक बन्धनको पचासौँ वर्षगाँठको अवसरमा खुसीयाली मनाएर केही छिनमै खुसीले मलाई विक्षिप्त बनाई सदासदाका निम्ति मेरो जिन्दगीबाट बिदा लिएर गएको म कल्पनासम्म गर्न सक्दिनँ । मलाई लाग्छ जतिसुकै ठूलो उत्सव आयोजना गरे पनि खुसी पुनः खण्डित हुनेछ क्षणभरमै । डर त्यतिको मात्र हो यो मनमा लुकेको । क्षणभरमै पीडामा बदलिन पुग्ने खुसी दिएर कसलाई खुसी तुल्याउने मैले- बालाई कि आमालाई? खुसीले नियमित आकस्मिकता को नियति होइन निरन्तर लगावको उत्कट अभिलाषा प्रदान गर्न सक्नुपर्छ । यो टुक्रे खुसीले मेरो जिन्दगी अब अझै खोक्रो नबनाओस् । बस् यति चाहेको हुँ । सबैको जिन्दगीमा सबैभन्दा प्यारो लाग्ने चिज `खुसी´ नै हुनुपर्छ जुन मेरा लागि कहिल्यै स्थायी भएन । अब उपरान्त मैले कामना गर्ने भनेको जो कसैले पनि खुसी चितासम्म लिएर पुग्न सकोस् भन्ने नै हो । बिदा लिएर जानेले पनि बिदाइ गर्न जानेहरूले पनि खुसी भएर बिदा गरोस् सबैले सबैलाई भन्ने नै हो । सबैको जीवनमा खुसीले जुनसुकै परिस्थितिमा पनि निरन्तरता पाइरहोस् । यति छ कामना ।

दीपक श्रेष्ठ

नखिपोट, ललितपुर-१४

९८४१०२५०७५