म काठमाडौं भर्खर-भर्खर उक्लिएको थिएँ ।
समय वि.सं. ०५८/५९ तिर हुनुपर्छ । म एकदिन भृकुटीमण्डपको बाटो हुँदै हिँड्दै थिएँ । मेरा आँखा पार्कभित्र दौडिरहेका थिए । पार्कका गतिविधिले जो कसैका आँखा नतान्ने कुरा हुँदैन्थ्यो ।
म आफ्ना खुट्टा अन्नधुन्न चाल्दै आफ्ना दुवै आँखाहरु पार्कको रमाइलोमा भुलाउँदै हिंडिरहेको थिएँ । एक्कासि मभन्दा अगाडि हिँडिरहहेकी एकजना महिलाको अनपेक्षितआवाज मेरो कानसम्म आइपुग्यो । -“लौन नि …., मेरो चप्पल त !”
म झसङ्ग भएँ, अगाडि हेर्छु, मैले चालेको पाइलाले कुल्चिएर अगाडि-अगाडि हिँड्ने महिलाको चप्पल चुँडिन पुगेछ । त्यो चप्पल चुँडाउने दोष मलाई थियो । उहाँको आँखामा म पूर्णरूपमा दोषी करार भैसकेको थिएँ ।
म एक्कै क्षणमा रातोपीरो भएँ, मेरो अनुहार एकाएक निचोरिएको कागतीमा परिणत भयो । म अन्मयस्क भएँ ।
हतार-हतार दुई हात जोडेर हृदयदेखि सरी भनें ।
उहाँले मलाई सघन आँखाले हेरिरहनु भएको थियो । मैले पुनः उहाँको त्यो पीडामिश्रत अनुहारमा हेर्ने दुस्साहस गरिनँ पनि ।
मेरो शरीर जिरिङ-जिरिङ भएको थियो । म कुनै अप्रिय घटनाको अनपेक्षित स्थिति नओस् भनेर मनमनै कामना गर्दै थिएँ ।
मैले घटनालाई सहज अवतरण गर्न नम्र भाषामा भुईँको चप्पल हातमा उठाउँदै भने-
-“म्याडम गल्ती गरेँ, क्षमा गर्नोस् म सिलाएर ल्याउँछु ।”
स्थितिलाई मत्थर बनाउन मैले आफ्नो अनुहारबाट आत्मश्लाघा पूर्णरूपमा रित्याइदिएँ ।
-लाग्थ्यो उहाँ मेरो अनुहार र शारीरिक क्षमाभाव गहिरोसँग पढिरहनुभएको थियो । म यति नम्र भएको थिएँ कि, उहाँको हृदयमा सहजै मप्रति दया जागेर आओस् र मैले छिटो मुक्ति पाऊँ ।
मेरा वाचाल ओठहरु मौन थिए । मैले पुनः अन्तिम पटक आग्रह गरें, “म्याडम ऊ त्यहाँ सिलाउने ठाउँ छ । म सिलाएर ल्याउँछु । केहीबेर पर्खनुहोस् ।”
उहाँले मेरो अनुहारमा गाढा आँखाले हेरिरहनुभएको थियो । आफ्ना अधिर आँखामा एकाएक परिवर्तन ल्याउँदै उहाँले प्रश्न गर्नु भयो- “तपाईं के काम गर्नुहुन्छ भाइ ?”
मैले विनम्रता पूर्वक उत्तर फर्काएँ- म त्रि-चन्द्र कलेजमा पढ्छु ।
– कुन विषय पढ्नु हुन्छ ? पुनः प्रश्न आयो ।
– हजुर, म नेपाली विषय पढ्छु ।
मेरो उत्तर हावामा फैलन नपाउँदै उहाँले शान्त स्वरमा यो अनपेक्षित घटनाको फैसला सुनाउनु भयो ।
– “ल ठिक छ । मैले माफी दिएँ ।”
आफूले गल्ती गरेको कुरामा हृदयदेखि नै क्षमाभाव देखाउनु भयो । म खुसी भएँ ।
उहाँले ल ठीक छ, खै दिनुस् मेरो चप्पल म आफैं सिलाउँछु । मेरो हातको चप्पल उहाँ आफ्नो हातमा लैजानु भयो ।
उहाँले पुनः मलाई सुझाउनु भयो- “हेर्नुस् भाइ, आफ्नो गल्तीमा क्षमा माग्दैमा कोही सानो हुँदैन । तपाईंको यो नम्र स्वभाव मलाई औधि मन पर्यो ।”
अनि मेरो नाम सोध्नु भयो मैले आफ्नो नाम भनें ।
– श्रीबाबु कार्की ।
– ए,ए नेपाली विषय पढ्नु हुँदो रहेछ । साहित्य कत्तिको पढ्नु हुन्छ ?
– “हजुर अलिअलि पढ्छु,” मैले उत्तर फर्काएँ ।
त्यतिबेलासम्म मेरो अनुहारमा खुसीका रङ्गहरु दौडिन थालिसकेका थिए । उहाँले आफू पनि साहित्यलाई माया गर्ने मानिस भएको बताउनु भयो । अब भने मैले थोरै हिम्मत बटुलेर प्रश्न गरेँ ।
– हजुरको शुभ- नाम ?
– “म डा. वानीरा गिरी ।”
आहा ! दिदी मैले चिनेकै नाम पर्नु भएको रहेछ । मैले एकै स्वासमा भनें – “मैले हजुरको उपन्यास र सुन्दर कविताहरु पढेको छु ।”
– “ए हो र ? ”
उहाँले आफ्नो अनुहार बिहानको रोशनीले पहाडलाई उज्जिल्याएझैँ, उज्यालो बनाउँदै लैजानु भयो ।
-“ल धेरै खुसी लाग्यो भाइ ।”
उहाँले पूर्वतिरको मीठो लयमा बोल्नुभयो । लौ हो, भाइ छुटें है त ? फ़ेरि फ़ेरि भेटौँला ल ।
– उहाँले एउटा हातमा चप्पल बोकेर फटाफट अघि बढ्नु भयो ।
मलाई एकप्रकारको पश्चाताप लागिरहेको थियो । झन्डै पचास साठ्ठी मिटर अगाडि रहेको चप्पल मर्मत गर्ने ठाउँ थियो । म आफैँ गएर चप्पल सिलाएर दिने आँट किन गर्न सकिनँ ? वा त्यो सद्भाव देखाउन मलाई केले रोक्यो ? मेरो मनभित्र आज पश्चापकाे बादल मडारिरहेकाे छ ।
****
अर्को कुनै एकदिन नेपालको इतिहास बोकेको शारदा पत्रिकाका सम्पादक तथा कवि विमल भौकाजी र म पुतलीसडमा हिंड्दै थियौं ।
डा. वानीरा गिरी भेटिनु भयो ।
हामी दुवैले डा. गिरीलाई आदरपूर्वक नमस्कारको अभिवादन गर्यौं । उहाँ पनि पुतलीसडकबाट बागबजारतर्फ हिँडिरहनु भएको थियो ।
हिंड्ने क्रममा नेपाली साहित्यका कुराकानी भए । उहाँले हिंड्दै गर्दा काठमाडौंको सभ्यताको कुरा उप्काउनु भयो । काठमाडौं उपत्यकामा प्रदूषणका कारणले उपत्यकाबासीको स्वास्थप्रति गम्भीर असर पर्दै गरेको सत्य उजागर गर्नु भयो ।
कुरैकुरामा अहिलेको काठमाडौंको सबै खोलाहरुको पानी धमिलो देखेर अधिकांश बालबालिकाहरुको मनोविज्ञानमा खोला त धमिलो नै बग्छन् भन्ने परेको रहेछ ।
सङ्लो पानी त धारा र जारमा मात्रै आउँछ भन्ने मनोविज्ञानको विकास भइसकेछ । हेर्नुस् त हामीले हाम्रो सभ्यता कति धेरै ध्वस्त बनाएछौं ? गिरीले प्रश्न गर्नुभयो ।
कवि बिमल भौकाजी मुसुमुसु हाँस्दै दिदीलाई प्रश्न गर्नुभयो, “दिदीले यो कहाँ पढ्नु भयो ?”
– डा. गिरीले भौकाजीतर्फ हेर्दै भन्नु भयो, “आजैको कान्तिपुर दैनिकको सप्लिमेन्टमा आउने बालबालिका विशेष पत्रिकामा पढेको हुँ ।”
भौकाजीले हाँस्दै भन्नु भयो । त्यो कथा लेख्ने लेखक दिदीसँगै हुनुहुन्छ, दिदीले प्रश्न गर्नुभयो, “को हो र भाइ ?”
– यी श्रीबाबु ! उहाँ नै हो त्यो कथाको लेखक ! दिदीले मेरो मुखतिर हेरेर भन्नुभयो, “आहा ! कति मीठो कथा ! धेरैधेरै धन्यवाद है भाइ, त्यति मीठो कथा लेख्नु भएको रहेछ ।”
त्यही दिन मात्रै कान्तिपुर दैनिकको ‘कोपिला’मा मेरो एउटा सङ्लो पानी भन्ने बाल मनोविज्ञानमा लेखिएको कथा छापिएको थियो । हामी केही अगाडि मात्रै त्यही कथाको बारेमा छफल गर्दै थियौं । विमल भौकाजी दाइले पनि आफूलाई कथा मन पराएको बताउनुभएको थियो ।
डा. गिरीले हातको घडी हेर्नुभयो अनि भन्नुभयो, “आहा ! यति मीठो कथा लेख्ने भाइसँग संयोगले भेट भयो । म आज दुवै प्रिय भाइहरुलाई मिठाई खुवाउँछु, नाइँ भन्न पाइन्न है !”
कवि विमल भौकाजीले दिदीको आग्रहलाई भर्खरै एक बज्दै छ, भोलिभोलि खाउँला नि हुन्न दिदी भनेर सम्झाउनु भयो तर दिदीले तुरुन्तै प्रतिवाद गर्नु भयो ।
– “दिदीले हत्तपत्त खाउँ भन्दिनँ, खाउँ भनेको बेला नाइँ भन्न पाइन्न,” नजिकै मिठाई पसल कहाँ छ भन्दै उहाँ यताउता हेर्न थाल्नुभयो ।
हामी बागबजारको मध्यभागमा एकतलामाथि रहेको मिठाई पसल उक्लियौँ । उहाँले मिठाई अडर्र गर्नुभयो । हामी मिठाई खाँदै निकैबेर गफियौं । दिदीको नेपाली साहित्यको गहन चिन्तनबाट हामी प्रशस्त लाभान्वित भयौं ।
झन्डै एक घन्टाको बसाइपछि उहाँले अन्तिममा कफी खाएर छुट्टिने प्रस्ताव राख्नुभयो । कफी अडर्र गर्नुभयो ।
संयोगले उहाँको भागमा परेको कप थोरै चर्किएको परेछ । नजानिँदो रूपमा चर्किएको उक्त कपलाई दिदीले चारैतिरबाट राम्रोसँग नियाल्नु भयो र काउन्टरमा बसेको साहुजीलाई हामी बसेकै टेबलमा बोलाउनु भयो ।
साहुजी नजिकै आए, दिदीले शिष्ट भाषामा चर्किएको कपतिर देखाउँदै भन्नुभयो, “यो के हो साहुजी ? ग्राहकमाथि यत्रो नेग्लिजेन्स ! हामीले तपाईंको यत्रो पसलमा के यस्तै कपमा कफी खाउँला भनेर आएका हौँ र ? यो त ग्राहक माथिको गम्भीर अपराध होइन र साहुजी ?”
साहुजीले विनम्रतापूर्वक माफी मागे र आइन्दा त्यस्तो नहुने वचन दिए । साहुजीले कफी फिर्ता लैजान खोज्यो तर उहाँले पहिला आफूलाई अर्को कफी ल्याएपछि मात्रै यो कफी फिर्ता पठाउनु भयो ।
उहाँले साहुजीलाई सम्झाउँदै भन्नुभयो, “हेर्नुस्, उहिले हाम्रो पुर्खाहरुले समेत फुटेको भाँडामा खानुहुन्न, भाग्य फुट्छ भन्थे । तपाईंलाई आफ्ना पुर्खाले किन भाग्य फुट्छ भनेका थिए, थाहै रहेनछ ।”
डा. गिरीले सम्झाउँदै भन्नुभयो, “फुटेको ठाउँमा ब्याक्टेरिया बस्छ अनि हामीले त्यस्तो भाँडाकुँडामा खाँदा रोग लाग्छ । रोग लाग्नु भनेकै भाग्य फुट्नु होइन त ?”
हामी दुवैजना दिदीको मुखमा हेरिरहेका थियौं । साहुजीको अनुहार झनै भिजेको बिरालोझैँ भएको थियो । यसपछि दिदीले नयाँ चम्किलो कपमा आएको कफीको
स्वाद लिन थाल्नुभयो । मैले त्यही बेला हाम्रा पूर्वजले भन्ने गरेका सबै कुराहरुमा अन्धविश्वास मात्रै होइन, विज्ञानसम्मत पनि छन् भन्ने बुझेको थिएँ ।
•एउटा जिउँदो जंगबहादुर, •जीवन : थायमरु, •शब्दातीत शान्तनु, •कारागार, •निर्बन्ध, •मेरो आविष्कार जस्ता पठनीय र कालजयी पुस्तकहरुकी लेखिका, नेपाली साहित्याकाशकी अविश्रान्त साधिका डा. वानीरा गिरी विगत चार वर्षदेखि अल्जाइमर्स ( विस्मृतिरोग) रोगका कारण मृत्युसँग जुधिरहनु भएको छ । उहाँको सु-स्वास्थ तथा दीर्घजीवनको कामनासमेत गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

