साहित्य भन्नाले सौन्दर्यपूर्ण र कलात्मक ढङ्गले गरिने मानवीय संवेदनायुक्त अभिव्यक्तिलाई बुझाउँछ जसमा जीवनको यथार्थ व्याख्या र कल्पना समेत गरिएको हुन्छ भने बालसाहित्य भन्नाले बालकको साहित्य भन्ने बुझिन्छ अर्थात् बालबालिकाका लागि बालबालिका स्वयंले वा आफ्नो बाल्यजीवनको स्मरण र अनुभव गर्दै प्रौढद्वारा रचित साहित्य भन्ने बुझिन्छ । साहित्यका बारेमा पूर्वीय आचार्य भामह, दण्डी, वामन, रुद्रट, आनन्दवर्धन, कुन्तक, मम्मट, विश्वनाथ, जगन्नाथ आदि तथा पाश्चात्य विद्वान् प्लेटो, अरस्तु, ड्राइडेन, डा. जोन्सन, म्याथ्यू आर्नोल्ड, कार्लाइल, हड्सन आदिले आआफ्नै ढङ्गले परिभाषित गरेका छन् भने नेपाली विद्वान्हरूले पनि यसलाई आफ्नै तरिकाले चिनाएका छन् । बालसाहित्यका बारेमा पनि विभिन्न विद्वान्हरूले यसलाई विभिन्न परिभाषाका माध्यमबाट परिचित गराएका छन् । तिनीहरूमध्ये हिन्दी साहित्यकार सोहनलाल द्विवेदीले बालकले सरल ढङ्गले ग्रहण गर्न सक्ने र बालकको मनलाई छुन सक्ने भाव बोकेको साहित्यलाई सफल बालसाहित्य मानेका छन् । नेपाली साहित्यकार कृष्णप्रसाद पराजुलीले बालकले सजिलैसँग बुझ्न, टिप्न सक्ने उनीहरूलाई रौस्याउँदै चरित्र निर्माणमा सघाउ पुर्याउने सिर्जनात्मक साहित्यलाई बालसाहित्यको संज्ञा दिँदै यसभित्र बालकविता, बालकथा, बाल उपन्यास, बाल नाटक र प्रेरणाप्रद जीवनीजस्ता रोचक सामग्री पर्न सक्ने कुरालाई औँल्याएका छन् । साहित्यकार दैवज्ञराज न्यौपानेले सहज र सुन्दर भाषामा बालबालिकाको मनोविनोदलाई ख्याल गर्दै उनीहरूलाई खेल्ने र रमाउने तरिकाले लेखिएको नैतिक एवम् चारित्रिक विकासलाई सहयोग पुर्याउने साहित्यलाई नै बालसाहित्यका रूपमा हेरेका छन् । डा. चूडामणि बन्धुका अनुसार बालबालिकाहरूलाई स्वस्थ मनोरञ्जन, उपयोगी शिक्षा, व्यावहारिक ज्ञान र नयाँ-नयाँ सूचना दिने साहित्य नै बालसाहित्य हो, यसमा पाठकको मानसिक स्तर, उमेर, भाषाजस्ता कुराको विचार गरिन्छ ।
प्रौढसाहित्य र बालसाहित्यका बारेमा विश्वका विभिन्न विद्वान्हरूले दिएको थुप्रै परिभाषालाई आधार मानेर हेर्दा यी दुईबिच के-कस्ता समानता वा असमानता छन्, तिनलाई केलाउने प्रयास यहाँ गरिएको छ –
प्रौढसाहित्य र बालसाहित्यका बीचमा केही समानता र धेरै असमानताहरू रहेका कारणले यी दुवै विधालाई अलग-अलग गरेर हेर्न सकिन्छ । प्रौढसाहित्य र बालसाहित्य दुवै लोकसाहित्यबाट विकसित भएका विधा हुन् । विशिष्ट व्यवहारेतर भाषाका रूपमा प्रयोजनमा आउनु तथा दुवैमा कलात्मक र सौन्दर्यपूर्ण अभिव्यक्ति हुनु प्रौढसाहित्य र बालसाहित्यका बीचका समान वैशिष्ट्य हुन् । सम्प्रेषणीय हुनु र श्रव्य-दृश्यात्मक हुनु पनि दुवैका समानता हुन् । आख्यान, कविता, निबन्ध र नाटकजस्ता चार विधालाई दुवैले मुख्य मान्नु पनि यी दुई विधाका समान विशेषता हुन् । यति समानता हुँदाहुँदै पनि यी दुई विधाबीच प्रशस्त अन्तरहरू पनि देखिएका छन् । यिनै अन्तरका कारणले नै दुवैलाई भिन्न-भिन्न विधाका रूपमा अलग्याउनुपरेको हो ।
१. प्रौढसाहित्य प्रौढोपयोगी हुनु र बालसाहित्य बालोपयोगी हुनु यी दुई विधाका मुख्य अन्तर हुन् भने दुवैका विशेषता एवं परिचायक पनि हुन् । ‘बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य’ नामक पुस्तकमा बालसाहित्यका अध्येता एवम् समीक्षक डा. ध्रुवकुमार घिमिरेले यी दुई साहित्यबिचको तुलना गर्दा प्रौढसाहित्यलाई चुरो पसेको भीमकाय वृक्षसँग र बालसाहित्यलाई कोमल बिरुवाका रूपमा तुलना गरेको सन्दर्भमा पनि यसको पुष्टि हुन्छ । समीक्षक डा. ध्रुवकुमार घिमिरेका अनुसार प्रौढसाहित्यको लक्षित वर्ग १८-२० वर्षदेखि ९०-१०० सम्मका सबै हुन् भने बालसाहित्यको लक्षित वर्ग बाह्र वर्षसम्मका बालबालिकाहरू हुन्, जसभित्र दूधमुखे अबोला शिशुदेखि भक्खर कखरा सिकेका र केही हदसम्म आफैँले पढ्न सक्ने क्षमता हासिल गरेका बालबालिकाहरू पनि पर्दछन् । यसबाट पनि के प्रस्ट हुन्छ भने प्रौढसाहित्य प्रौढोपयोगी र बालसाहित्य बालोपयोगी साहित्यिक विधा हो ।
२. साहित्यका आख्यान, कविता, निबन्ध र नाटकजस्ता चार विधालाई दुवैले प्रमुख माने पनि प्रौढसाहित्यमा इतिहास, जीवनी, भूगोलजस्ता विषयलाई साहित्यिक विधाका रूपमा स्विकारिएको पाइन्न तर बालसाहित्यमा इतिहास, जीवनी, भूगोलका वणर्न र विवरणलाई पनि बाल-उपयोगिताका दृष्टिले बालसाहित्यकै विधाका रूपमा राखेर हेर्ने गरेको पाइन्छ ।
३. प्रौढसाहित्य लेखककेन्द्री भएझैँ बालसाहित्य पाठककेन्द्री हुने गर्दछ किनभने प्रौढसाहित्यमा लेखकले आफ्नो स्तर हेरेर साहित्य रचना गरेको हुन्छ भने बालसाहित्यका सर्जकले आफ्नो प्रौढ उमेरलाई वास्ता नगरेर बाल्यकालको अनुभव गर्दै बालबालिकाको रुचि, स्तर र उमेर समूह हेरेर उनीहरूलाई नै केन्द्रमा राख्दै साहित्य सिर्जना गर्न पुगेको हुन्छ ।
४. प्रौढसाहित्यमा मनोरञ्जनको अंश नभए पनि खास फरक पर्दैन, बालसाहित्यमा मनोरञ्जनलाई नै पहिलो प्राथमिकता दिइन्छ । प्रौढसाहित्यमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा नैतिक सन्देशको सम्प्रेषण गर्ने काम हुँदैन । साहित्यले प्रत्यक्ष रूपमा विचार या भावनाको र अप्रत्यक्ष रूपमा व्यङ्ग्यात्मक अभिव्यक्तिको प्रस्तुतीकरण गरेको हुन्छ । बालसाहित्यले चाहिँ प्रत्यक्ष रूपमा मनोरञ्जन या प्रकृतिचित्रणको र अप्रत्यक्ष रूपमा नैतिक सन्देश र ज्ञानको सम्प्रेषण गरेको हुन्छ ।
५. उद्देश्यका हिसाबले पनि बालसाहित्यको उठान बालबालिकालाई मनोरञ्जन अथवा नैतिक सन्देश वा अर्ती उपदेश दिने उद्देश्यले भएको हो भने प्रौढसाहित्यको उठान मनोरञ्जनका साथै भाषासाहित्यको विकास गर्ने उद्देश्यले भएको हो ।
६. प्रौढसाहित्यमा चित्रको भूमिका गौण हुन्छ भने बालसाहित्यमा चित्रलाई नै महत्त्व दिइन्छ जसअनुसार प्रौढसाहित्यमा चित्रको प्रयोग ऐच्छिक हुने गर्दछ भने बालसाहित्यमा अनिवार्य नै हुन्छ । बालसाहित्यिक कृति या पाठ्यपुस्तकमा तीन वर्षदेखि छ वर्षसम्मका उमेरसमूहका लागि ७५% चित्र र २५% शब्द भएका कखराका किताब, छदेखि नौ वर्षसम्मका लागि ५०% चित्र र ५०% शब्द भएका चित्रकथा या चित्रकविता तथा नौदेखि बाह्र वर्षसम्मका लागि २५% चित्र र ७५% शब्द भएका सामग्रीहरूको प्रयोग गरिएको पाइन्छ । हाल आएर बालसाहित्यका किताबमा रङ्गीन चित्रलाई बढी जोड दिइएको पाइन्छ तर प्रौढसाहित्यका किताबमा भने श्यामश्वेत चित्रकै प्रयोग भएको पाइन्छ ।
७. प्रौढसाहित्यको विकास अभिलेख, फुटकर लेखन तथा साहित्यिक कृतिमार्फत भएको हो भने बालसाहित्यको विकास पाठ्यक्रममा राखिएका बालोपयोगी सामग्रीहरूमार्फत भएको हो ।
८. प्रौढसाहित्यमा क्लिष्ट विचार, गहन भाव, जटिल दर्शन तथा रौँचिरा तर्कको प्रयोग हुन सक्छ भने बालसाहित्यमा यी सबै वर्जित छन् यसमा बालसुलभ कोमल भावना, बालोचित सन्दर्भ, बालोपयोगी सामग्री तथा सरल, सरस एवं सुबोध्य भाषाशैलीको बाहुल्य रहेको हुन्छ ।
९. प्रौढले पढ्ने साहित्य बालबालिकाले पढ्ने साहित्यको तुलनामा विस्तृत आयामको हुन्छ । बालबालिकाहरू ठूलो आकारको साहित्य पढ्नुपर्दा झन्झट मान्छन् । उनीहरूलाई छोटो, छिटो र रमाइलो खुराक भएको सामग्री पढ्न पाउँदा आनन्द लाग्छ । यसरी हेर्दा आकारका दृष्टिले बालसाहित्य छोटो हुनु र प्रौढसाहित्य लामो हुनु अर्को अन्तर हो । उदाहरणका लागि प्रौढकविता र बालकविता, प्रौढकथा र बालकथा वा प्रौढ उपन्यास र बालउपन्यासलाई आकृतिगत हिसाबले तुलना गर्न सकिन्छ ।
यसरी साहित्यसँग केही समानता रहेका कारणले बालसाहित्य पनि साहित्यसँग केही सम्बन्धित छ भने प्रशस्त असमानताका कारण बेग्लै विधाका रूपमा पनि यो स्थापित भएको छ ।
————————————–
भोर्लेटार, लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।