ध्वनि –
परिचयाङ्कन, अर्थ, प्रयोग, परम्परा, ध्वनिसिद्धान्तको ऐतिहासिक विकासक्रम, ध्वनि विरोधी मत, ध्वनिसिद्धान्तको स्थापना, ध्वनिको स्वरूप र लक्षण, काव्यमा ध्वनिको स्थान, उपयोगिता र महत्त्व, ध्वनिका भेदोपभेदहरूको सोदाहारण अध्ययन, ध्वनि र शब्द शक्ति, ध्वनि र सक, पूर्वीय काव्यशास्त्र परम्परामा ध्वनिसिद्धान्तको स्थान र मूल्य, ध्वनिवादी प्रमुख आचार्यहरू, ध्वनिसिद्धान्त – समीक्षा ।
परिचयाङ्कन –
‘काव्यस्यात्मा ध्वनिरिति बुधैर्यः समाम्नातपूर्वः’
अर्थात् काव्यको मूल तत्त्व ध्वनि हो, जुन कुरो काव्यतत्त्वविद् विज्ञजनले धेरै अघिदेखि भन्दै आएका छन् ।” नवौँ शताब्दीका प्रखर आचार्य आनन्दवर्धनले उनको ग्रन्थ ‘ध्वन्यालोक’-को प्रथम उद्योतमा उपर्युक्त श्लोकांशमार्फत यसरी नै ध्वनिलाई काव्यको आत्मा रूपमा मानिलिएको प्राचीन परम्परा रहेको उल्लेख गरेका छन् । पूर्वीय काव्यशास्त्रको फाँटमा ध्वनिसिद्धान्त प्रवर्तन गर्ने ध्वनिकार आनन्दवर्धन हुन् । यिनै ध्वनिकार आनन्दवर्धनले पूर्वीय काव्यशास्त्र परम्परामा अत्यन्तै गम्भीर अनि मौलिक चिन्तनको परिचय दिएर ध्वनिसिद्धान्तको घडेरी बलियो बनाउने प्रयास गरे । यस सिद्धान्तलाई काव्य सिद्धान्तको नालीबेली खोतलेर एकातिर काव्यमा तिनको सापेक्ष महत्त्व निर्धारित गरे भने अर्कातिर काव्य र मूल तत्त्वको सम्बन्धबारे पनि आफ्नो तर्कसङ्गत बुँदाहरू प्रस्तुत गरे । खासमा रसलाई नै काव्यको आत्मा मानिएको भए तापनि पहिलेदेखि नै ध्वनि काव्यको आत्मा हो भन्ने मत प्रचलित छँदैथ्यो तर धेरैले यस मतबारे नाकनिक गरे पनि ध्वनिकार आनन्दवर्धनले यस मतलाई सुन्दर पाराले समर्थन गरेका छन् । आनन्दवर्धनले यस सुन्दर पाराले समर्थन गरेका छन् । कतिपय आचार्यहरूले ध्वनिकारको यस ध्वनिसिद्धान्तको विरोध गरे तापनि काव्य सिद्धान्तका काव्यशास्त्री अभिनवगुप्त, मम्मट, राजशेखर, जगन्नाथहरूले व्यापक रूपमा परीक्षण-निरीक्षण-विश्लेषण गरेर ध्वनिसिद्धान्तमाथि सहमति जनाउँदै थप प्रकाश पारेका छन् । यसैकारण पूर्वीय काव्यशास्त्रमा ध्वनिकार आनन्दवर्धन प्रतिपादित यो ध्वनिसिद्धान्त अक्षुण्ण रहिरह्यो । हुन ता पूर्वीय काव्यशास्त्रको फाँटमा ध्वनिकार आनन्दवर्धन प्रतिपादित यो ध्वनिसिद्धान्त नौलो र एक मात्र सिद्धान्त होइन । कारण यसभन्दा अघि अलङ्कार सिद्धान्त, रस सिद्धान्त र रीति सिद्धान्तजस्ता सिद्धान्तहरू स्थापित भइसकेका हुन् । ध्वनि शब्दको प्रहिलो प्रयोग वा व्यवहार हुनमा व्याकरणकै सिंहभाग (lion’s share)भूमिका रहेको देखिन्छ । ध्वनि शब्दका निम्ति वैयाकरणहरू आदिविद्वान् हुन् भन्ने मानिएको छ । कानले सुन्ने शब्द (जसको लिखित प्रतीक वर्ण)-लाई वैयाकरणहरू ध्वनि मान्दछन् । महाभाष्यको प्रारम्भमै पतञ्जलिले भनेका छन् – “प्रतीतपदार्थको लोके ध्वनिः शब्द इत्युच्यते” ।
वैयाकरणहरूलाई अनुसरण गरी काव्यतत्त्वविद्हरूले शब्दार्थशरीरयुक्त काव्यलाई ध्वनि भनिदिएका छन् । व्यारणशास्त्रअनुसार ध्वनि अर्थबोधक स्फोटको व्यञ्ज (सूचक) हो । अझै स्पष्ट रूपमा भन्नुपर्दा ध्वनिसिद्धान्तको सम्यक् विवेचना ठ्याम्मै सम्भव छैन । ध्वनन् अर्थात् व्यञ्जनाको यो सादृश्यकै आधारमा व्याकरणको पारिभाषिक शब्द काव्यत्वको क्षेत्रमा आत्मसात् भएको थियो ।
“वाच्यवाचक सम्मिश्रः शब्दात्मा काव्यमिति व्यपदेश्यो व्यञ्जकत्वसाम्याद् ध्वनिरित्युक्त ।”
काव्यमा जहाँ वाच्यार्थ र लक्ष्यार्थभन्दा धेर रमणीय र चमत्कारपूर्ण अर्थ व्यञ्जित हुन्छ त्यहाँ ध्वनिको सत्ता रहेको मानिन्छ । जस्तो कि कुनै सुन्दरीको सौन्दर्यमा एउटा भिन्नै लावण्य (कान्ति, सौन्दर्य, कमनीयता)-को बेग्लै सत्ता प्रतिष्ठा भएको हुन्छ त्यसरी नै महाकविहरूका वाणीमा वाच्य अर्थले भिन्नै अरू केही धेर महत्त्वपूर्ण अर्थ प्रतीयमान (अनुभूत वा ज्ञात) हुन्छ । यो प्रतिमान अर्थ नै “ध्वनि” हो । “ध्वनि” नै काव्यको आत्मा हो ।
अझै स्पष्ट रूपमा भन्नुपर्दा ध्वनि अर्थबोध गर्ने ध्वनिसिद्धान्तबारे परिचय दिने क्रममा ध्वनिकार आनन्दवर्धनले उनको ग्रन्थ “ध्वान्यलोक” -मा स्पष्टै लेखेका छन् –
“काव्यस्यात्मा ध्वनिरिति बुधैर्यः समाम्नातपूर्व-
स्तस्याभावं जगदुरपरे भाक्तमाहुस्तमन्ये ।
केचिद् वाचां स्थितमविषये तत्त्वमूचुस्तदीयं
तेन ब्रूमः सहृदयमनःप्रीतये तत्स्वरूपम् ॥१॥”
प्रथमोप्रथम ध्वनिसिद्धान्तमा अभावत्व र अवर्णनीयत्वका कारणले आलोचना गरिए पनि ध्वनिसिद्धान्तलाई विद्वान् आचार्यहरूले स्वीकार गरे । तिनै ध्वनिसिद्धान्तलाई प्रतिपादन गर्ने श्रेय जान्छ ध्वनिकार आनन्दवर्धनलाई । ध्वनिसिद्धान्तबारे आनन्दवर्धनको बलियो, गतिलो अनि भरपर्दो स्पष्टीकरण हुँदाहुँदै पनि प्रतिहरेन्दुराज, धनञ्जय, धनिक, कुन्तक, भट्टनायक, क्षेमेन्द्र आदि विद्वान्हरूले ध्वनिसिद्धान्तको कठोर रूपमा विरोध गरे तर अभिनवगुप्तको ‘ध्वान्यालोकलोचन’-को व्याख्या र आचार्य मम्मटको ‘काव्य-प्रकाश’ -मा ध्वनिसिद्धान्तबारे सहमति जनाउनका साथै सोको स्थापना समेत गरिएकाले ध्वनिसिद्धान्त महत्त्वपूर्ण र सर्वश्रेष्ठ काव्य सिद्धान्तको रूपमा स्वीकृत भएको पाइन्छ ।
अर्थ –
ध्वनि भन्नाले ध्वनित गराउने वा स्वयम् ध्वनित हुने भन्ने अर्थमा प्रयोग हुन्छ । पूर्वीयशास्त्रमा मुख्य रूपमा व्यञ्जक शब्द, व्यञ्जक अर्थ, रस-अलङ्कार, वस्तु व्यञ्जनाशक्ति र व्यङ्ग्यप्रधान काव्यका स्तरमा ध्वनिको अर्थ बुझाइएको छ ।
परिभाषा –
ध्वनिको परिभाषा गर्नु त्यति सजिलो छैन । ध्वनिसिद्धान्तका प्रतिष्ठाता आनन्दवर्धनको ‘ध्वन्यलोक’-मा ‘ध्वनि काव्यको आत्मा हो’ भनी स्थापना गरेको तर्कलाई विद्वान्हरूले मानिसकेका वा स्वीकार समेत गरिसकेका छन् भन्ने उल्लेख गरेका हुनाले र तिना पनि विभिन्न अभिव्यक्तिलाई ध्यानमा राख्दा ध्वनि काव्यको आत्मा हो भन्न सकिन्छ ।
ध्वनिसम्बन्धी विभिन्न आचार्यहरूद्वारा प्रतिपादित निम्न परिभाषालाई यहाँ उद्धृत गरिन्छ-
१. जुन अर्थका लागि शब्द वा अर्थले आफ्नो अर्थ वा अभिप्रायलाई त्यागिदिन्छन् र कुनै विशिष्ट भावलाई व्यक्त गर्छन् त्यस्तो व्यङ्ग्य भएर आउने वस्तुविशेषलाई ध्वनि भनिन्छ ।”
– आनन्दवर्धन (ध्वन्यालोक)
२. “पदार्थको प्रतीति गराउने ध्वनिलाई लोकमा शब्द भनिन्छ । संयोग वियोगबाट जुन स्फोट उत्पन्न हुन्छ त्यस्तै शब्दलाई ध्वनि भनिन्छ ।” भतृहरि (महाभाष्य)
३. “भेदलाई पहिचान शब्दको मूल्य स्वरूप ध्वनि हो, ध्वनिको मूल स्वरूप नाद हो ।” – सोमनाथ
४. “अर्थले शब्दबोध्य भावलाई नै व्यक्त गर्दछ र शब्द पनि अर्थको आश्रित हुन्छ । एकको काममा अर्को सहयोगी हुन्छ ।” – विश्वनाथ (साहित्यदर्पण)
यी आचार्यहरूले व्यक्त गरेका यी विविध प्रकारका धारणाहरूलाई मूलतः सामान्य र विशिष्ट गरी दुई सूत्र बनाउँदा ध्वनिलाई स्पष्ट पार्न निम्न परिभाषामा परिभाषित गर्ने मेसो निस्किन्छ-
(क) सहृदय प्रशंसित र सहृदय जनलाई आह्लाद प्रदान गर्ने काव्यात्मक मानिएको वाच्यार्थ र प्रतीयमान अर्थ ध्वनि हो ।
यो परिभाषालाई सामान्य सूत्र मान्न सकिन्छ ।
(ख) शब्द वा अर्थले जुन व्यङ्ग्यार्थको सिद्धिका निम्ति आफ्नो अर्थको समर्पण गरिदिन्छ, त्यस्तो व्यङ्ग्यार्थमय विशिष्ट कोटिको काव्य ध्वनि हो ।
यसलाई विशिष्ट सूत्रअन्तर्गत राख्न सकिन्छ ।
व्युत्पत्ति –
” ध्वनि ” शब्द ज्यादै व्यापक भएकाले यसलाई निम्न प्रकारले व्युत्पत्ति गर्न सकिन्छ –
क) ” ध्वनति यः व्यञ्जकः शब्दः स ध्वनिः ।”
अर्थात् जसले ध्वनित गर्छ वा गराउँछ, त्यस्तो व्यञ्जक शब्द ध्वनि हो ।
ख) ” ध्वनति ध्वनयति वा यः स व्यञ्जकः शब्दः ।”
अर्थात् जो ध्वनि गर्छ वा ध्वनित गराउँछ त्यो व्यञ्जक अर्थ ध्वनि हो ।
ग) “ध्वन्यते इति ध्वनिः ।”
अर्थात् जसद्वारा केही ध्वनित हुन्छ त्यो ध्वनि हो ।
घ) “ध्वन्यते अस्मिन्निति ध्वनिः ।”
अर्थात् जसमा वस्तु, अलङ्कार र रसादिको ध्वनन हुन्छ त्यो ध्वनि हो ।
प्रयोग –
साहित्यशास्त्रमा ध्वनिको प्रयोग सर्वप्रथम आनन्दवर्धनले नै गरेका हुन् । यसैले उनलाई ध्वनिवादका प्रवर्तक मानिन्छ । नवौँ शताब्दीका आनन्दवर्धनकृत ‘ध्वन्यालोक’ प्रचलित साहित्यिकवादको युगान्तकारी ग्रन्थ थियो । यिनले काव्यमा व्यङ्ग्यलाई महत्त्व दिँदै ‘व्यङ्ग्यार्थ नै ध्वनि हो’ भन्ने मत व्यक्त गरेका छन् । ध्वनिवादीहरू ध्वनिलाई काव्यको आत्मा ठान्दछन् । उनीहरू काव्यमा व्यञ्जनालाई महत्त्व दिँदै काव्यको स्तर माप्न व्यङ्ग्यार्थलाई आधार बनाउँदछन् । अर्थात् काव्यमा वाच्यार्थी होइन, व्यङ्ग्यार्थको महत्त्व हुन्छ भन्ने प्रमुख ध्वनिवादीहरूको छ ।
आननन्दवर्धनले ध्वनिलाई शब्दगत अर्थभन्दा बेग्लै ठान्दै यसलाई कुनै सुन्दरीका सम्पूर्ण आकर्षक अङ्गहरूद्वारा समष्टिमा प्रकट हुने समन्वित लावण्य भनेका छन् । अतः ‘ध्वनिवाद’ काव्यको आन्तरिक तहलाई महत्त्व दिने प्रसिद्ध साहित्यिकवाद भएकाले साहित्यशास्त्रमा यसको प्रयोग महत्त्वपूर्ण देखिन्छ ।
परम्परा –
ध्वनिवाद संस्थापक (प्रवर्तक) पूर्वीय आचार्य आनन्दवर्धन हुन् । ध्वनिवाद पूर्वीय साहित्यको एक प्रमुख काव्यसिद्धान्त हो जसलाई आनन्दवर्धनले ‘ध्वन्यालोक’ नामक ग्रन्थमा विस्तृत चर्चा गरेपछि यसको परम्परा साहित्यशास्त्रमा पनि फाँटिलो भएर गएको पाइन्छ ।
समालोचनाको प्रारम्भकालमा ध्वनि परम्पराको उठान नभए पनि यसको अस्तित्व भने वैदिक साहित्यदेखि नै कायम रहेको पाइन्छ । वैदिक साहित्य पछिको उपनिषद् र पुराण वाङ्मयमा ता ध्वनि परम्पराका थुप्रै उदाहरणहरू पाइन्छन् ।
ध्वनिसिद्धान्तको ऐतिहासिक विकास परम्परा –
ध्वनिसिद्धान्तको ऐतिहासिक पृष्ठभूमि र यसको विकास परम्परा केलाउँदा यसको सैद्धान्तिक स्थापना सर्वप्रथम आनन्दवर्धनको ‘ध्वन्यालोक’ नामक ग्रन्थकै नाउँ आरम्भमै उच्चारण गर्नुपर्ने हुन्छ । यसैकारण ध्वनिवादका प्रवर्तक तथा व्याख्याकार आनन्दवर्धन नै हुन् भन्ने स्पष्ट छ । ध्वनिसिद्धान्त नवौँ शताब्दीको प्रतिष्ठा भएको प्रतीत भए पनि ध्वनि-चर्चा भने काव्यजगत्मा आनन्दवर्धनभन्दा निकै पहिल्यैदेखि नै प्रचलित थियो भन्ने कुरा स्वयम् उनले नै उदाङ्गो पार्ने प्रयास गरेको देखिन्छ –
“काव्यको आत्मा ध्वनि हो भन्ने कुरा विद्वान्हरूले पहिल्यै नै भनिसकेका छन् ।’
(ध्वन्यालोक, प्रथम उद्योत, कारिका -१)
समालोचनाको प्रारम्भकालमा यसको नामाकरण नै भएको थिएन तर यसको अस्तित्व भने वैदिक साहित्यदेखि नै कायम रहेको पाइन्छ । ऋग्वेदका अनेक सूक्तहरूमा यही प्रतीयमान अर्थको वैशिष्ट्य रहेको हुनाले आज पनि ती सूक्तहरूजस्तै आह्लादकारी र मनोरम मानिन्छन् । ‘उषासूक्त’ यसको सुन्दर अनि स्पष्ट नमुना हो ।
वैदिक साहित्यपछिको उपनिषद् साहित्य र पुराण वाङ्मयमा यस्ता धेरै उदाहरणहरू धेरै पाइन्छन् । व्यास र वाल्मीकिका रचनाहरूमा जुन स्थायित्व छ यही प्रतीयमान अर्थले गर्दा हो । प्रतिभा र अनुभूतिको तीव्रताले गर्दा यसका उक्तिमा वाचक शब्द र वाच्यार्थदेखि भिन्न प्रतीयमान (व्यङ्ग्यार्थ) स्वतः स्फुरित हुन्छ । यसै प्रतीयमान अर्थलाई नै विद्वान्हरूले ध्वनि संज्ञा दिएका छन् । ध्वनि सिद्धान्ता संस्थापक-व्याख्याता आनन्दवर्धन आफ्नो ध्वनिसिद्धान्तबारे व्याख्या यसरी गर्छन् –
प्रतीयमानं पुनरन्यदेव वस्त्वस्ति वाणीषु महाकवीनाम् ।
यत्तत्प्रसिद्धावयवातिरिक्तं विभाति लावण्यमिवाङ्गनासु ॥
(घ्वन्यालोक, प्रथम उद्योत, कारिका – ४)
अर्थात् महान् कविहरूका वाणीमा रहेको प्रतीयमान अर्थ अनिर्वचनीय हुन्छ । यो न वाच्य हुन्छ न ता वाच्यार्थ, लक्ष्य पनि हुँदैन लक्ष्यार्थ पनि होइन । यो ता नव यौवनाहरूका सौन्दर्यबोधक अङ्गहरूदेखि भिन्न तर सम्पूर्ण शरीरमा नै व्याप्त रहेको लावण्यको प्रतीयमान अर्थ हो । महान् कविहरूको वाणीमा पाइने वाच्यवाचक सौन्दर्यलाई विविध अलङ्कार र रीति वृत्तिद्वारा सहज व्याख्या गर्न सकिन्छ र यो स्पष्ट पनि हुन्छ । यस्तो प्रतीयमान अर्थ सहृदय-संवेद्य हुनाले अनिर्वचनीय हुन्छ र शाश्वत आह्लादकारी पनि ।
त्यसरी नै वाल्मीकिको रामायण ता झन् सिङ्गै प्रतीयमान अर्थ दिने महाकाव्य भएको छ । ‘मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः’ -बाट थालिएको यस महाकाव्यले क्रौञ्च पक्षीयुगलमध्ये एउटा वध हुँदाको कारुणिक कथाले वाच्यार्थद्वारा परवर्ती कथाको लक्ष्य गरेर लक्ष्यार्थ मात्र दिँदैन – यसबाट ता अध्यात्मको सम्पूर्ण स्रोत नै प्रतीयमान अर्थ दिने भएको हो ।
त्यसै गरी पौराणिक कथा र उपकथाहरू यही प्रतीयमान अर्थको चमत्कारले पद ध्वनि, पदांश ध्वनि र प्रकरण ध्वनिको रूपमा चमत्कृत छन् ।
यस प्रकार परम्परादेखि नै काव्यको अर्थ भई सहृदय-संवेद्य हुँदै आएको प्रतीयमान अर्थ भए तापनि यसको पूर्णाङ्क व्याख्या गरी ध्वनिसिद्धान्तको स्थापना / प्रतिष्ठा गर्ने श्रेय आचार्य आनन्दवर्धनलाई नै छ । हुन ता उनीभन्दा पहिले पनि आचार्यहरूले यस खालको व्यङ्ग्यार्थ (प्रतीयमान अर्थ)-लाई ध्वनि संज्ञा दिएर काव्यतत्त्वका रूपमा समालोचकीय सिद्धान्तका आधारमा स्वीकार गरेका थिए ।
आधुनिक भारतीय विद्वान्हरूले अनुमान गरे अनुसार, ध्वनितत्त्वको व्यापक चर्चा मौखिक परम्पराका आनन्दवर्धनभन्दा पहिल्यै नै भइसकेको थियो । त्यसलाई लिपिबद्ध गरी विरोधी मतहरूको उल्लेख र खण्डनका साथै ध्वनिवादको रूपमा त्यसको स्थापना र विवेचना भने सर्वप्रथम आनन्दवर्धनले गरेका हुन् । यिनैलाई ध्वनिकार पनि भनिन्छ । आरम्भमा ‘ध्वन्यालोक’-को कारिकाखण्ड ध्वनिकार आनन्दवर्धनले रचेको र वृत्तिखण्ड कुनै अर्कै व्यक्तिले रचेको मानिन्थ्यो तर आज दुवैका कर्त्ता एकै जना आनन्दवर्धन मात्रै हुन् भन्ने मानिन्छ ।
ध्वनिकार आनन्दवर्धन पछि अभिनवगुप्त देखा परे । यिनले ‘ध्वन्यालोक’-को ‘लोचन-सीमा’ लेखी ध्वनिवादको प्रचार गरे । त्यसपछि विरोधी मतहरूले खण्डन-आलोचना गर्दै आचार्य मम्मटले ध्वनिलाई काव्यमा उच्च स्थान प्रदान गर्न महत्त्वपूर्ण योगदान दिए । यसैकारण मम्मटलाई ‘ध्वनिप्रस्थापनपरमाचार्य’ भनिन्छ । ध्वनि चिन्तनको इतिहासलाई अझ विकसित पार्नमा विश्वनाथ र पण्डितराज जगन्नाथको भूमिका पनि बिर्सिनसक्नुको छ ।
यसरी हेर्दा, ध्वनिवाद आनन्दवर्धनद्वारा प्रवर्त्तन भए पनि ध्वनिको बिउ भने निकै पुरानो हो भन्ने कुरा आनन्दवर्धनका कथनबाट छ्याङ्गै हुन्छ ।
प्राचीन आचार्यहरूले ‘ध्वनि’-लाई काव्यको आत्मा मानेका वा ‘ध्वनि’ शब्द प्रयोग नगरेका पाइए तापनि ‘प्रतीयमान अर्थ’ वा ‘व्यङग्यार्थ’-को भने उल्लेख गरेका पाइन्छ । आनन्दवर्धनले त्य्रसै ‘प्रतीयमान अर्थ’ वा ‘व्यङ्ग्यार्थ’-लाई ‘ध्वनि’ नाम दिएका हुनाले उनले ‘ध्वनि’-को प्राचीनताको दावी गर्नु अमिल्दो वा तथ्यहीन कुरो भने होइन । यसबारेमा आचार्य जगन्नाथको भनाइ यहाँ उद्धृत गर्नु उपयुक्त देखिन्छ –
“ ध्वनिकारात्प्राचीनतरैर्भामहोद्भटप्रभृतिभिः
स्वग्रन्थेषु कुत्रापि ध्वनिगुणीभूतव्यङ्ग्यादिशब्दा
न प्रयुक्ता इत्येतावतैव तैर्ध्वन्यादयो
न स्वीक्रियन्त इत्याधुनिकानां वाचोयुक्तिरयुक्तैव ।
यतः समासोक्तिव्याजस्तुत्यप्रशंसालङ्कारिरूपत्वेन
कियन्तो गुणीभूतव्यङ्ग्यभेदास्तैरपि निरूपिताः । ।”
(रसगङ्गाधर, प्रथमाननः)
अर्थात् ध्वनिकारभन्दा भामह, उदभट आदिले आ-आफ्ना ग्रन्थहरूमा कहीँ पनि ध्वनि र गुणीभूत व्यङ्ग्यजस्ता शब्दहरूको प्रयोग गरेका छैनन् भन्नु युक्तिसङ्गत छैन । किनभने समासोक्ति, अप्रस्तुत प्रशंसा, व्याजस्तुतिजस्ता अलङ्कारहरूको निरूपण गरेर उनीहरूले कुनै न कुनै रूपले गुणीभूत व्यङ्ग्यका भेदहरूको निरूपण गरेकै छन् ।
यसरी निर्क्यौल गर्दा, ध्वनिको प्राचीनता नै सर्वोपरि देखिन्छ । स्पष्टै भन्न सकिन्छ, ध्वनि प्राचीन वस्तु अवयव हो ।
ध्वनिविरोधी मत –
ध्वनिका विषयमा अग्रज र समसामियक विद्वान्हरूबाट विरोध नभएको होइन तर यी विद्वान्हरूको विरोधी मतको खण्डन-मुण्डन गर्दै थुप्रै प्रमाण र उदाहरणसहित ध्वनिको स्वतन्त्र अस्तित्व रहनुका साथै त्यसको काव्यमा सर्वोच्च स्थान प्रतिष्ठित रहेको तथ्य दिन ध्वनिकार आनन्दवर्धन तटस्थ देखिन्छन् । यी अग्रज सम-सामयि विद्वान्हरूले ध्वनिविरोधी चार मत प्रस्तुत गरेका छन् । ती चारैओटा ध्वनिविरोधी मतहरूको खण्डन गरी ध्वनिवादको गरी यसलाई सार्वभौमिक सिद्धान्तको रूप दिएका छन् । ध्वनिकार आनन्दवर्धनले चार मतहरूको खण्डन गरेको देखिन्छ –
(१) अभाववादी मत, (२) अन्तर्भाववादी मत (३) लक्षणवादी मत र (४) अनिर्वचनीयतावादी मत ।
(१) अभाववादी मत – यस मत अन्तर्गत तीन अभाववादी मत देखाइएको छ । यी तीन ध्वनिविरोधी मतलाई बुँदागत रूपमा निम्न प्रकारले प्रस्ट्याउन सकिन्छ –
(अ) अलङ्कार अनुप्रासद्वारा काव्यको चमत्कार उत्पन्न हुने तथा गुण–वृत्ति अथवा रीतिको प्रयोगद्वारा काव्यशोभा बढ्ने हुनाले ध्वनिजस्तो अज्ञात तत्त्वको अस्तित्व छैन ।
(आ) ध्वनिमा शब्दार्थको अभाव हुनाका साथै काव्य गुण पनि नहुने भएकाले यो सरासरी मान्य छैन ।
(इ) पूर्वीय आचार्यहरूले ध्वनिसम्बन्धी कुराहरू उल्लेख नै नगरेका हुनाले यससम्बन्धी भेदोपभेद गर्नु व्यर्थ हो भन्ने मत प्रकट गर्दै ध्वनिलाई ता अलङ्कारभित्रै समेट्न सकिन्छ । यसबारेमा आफ्नो विरोधी मत बलियो पार्दै ध्वनिको औचित्य नै छैन भन्ने आरोप पनि अभाववादीहरूको विरोधी मत टड्कारो रूपमा देखिन्छ ।
अभाववादी विरोधीमतबारे आनन्दवर्धनको खण्डन –
(अ) अगावै ध्वनिलाई काव्यको आत्मा मानिएकाले ध्वनि कुनै त्यस्तो अपरिचित र अज्ञात वस्तु हुँदै होइन ।
(आ) ध्वनि तत्त्वभित्र अनिवार्य काव्यत्व हुन्छ । यसकारण ध्वनियुक्त काव्य अझ आह्लादजनक हुन्छ । यसैले यो काव्यमा मान्य छ । ध्वनिसम्बन्धी भेदोपभेद गर्नु व्यर्थ होइन किनभने यसमा अनेकौँ भेदोपभेद सम्भव छन् ।
(इ) ध्वनि अप्रसिद्ध दुराग्राही र पुरातनपन्थी ध्वनिविरोधी अभाववादीहरूसलाई सूक्ष्मदर्शीहरूका दृष्टिमा ध्वनि प्रसिद्ध लगायत आनन्ददायी छ भनेका छन् ।
(२) अन्तर्भाववादी मत -खासमा अलङ्कारवादीहरूलाई प्रस्थानवादी पनि भनिन्छ । यिनीहरूद्वारा प्रतिपादित वा प्रतिष्ठित मतलाई अन्तर्भाववादी मत भनेको बुझिन्छ । काव्यमा सौन्दर्य र रमणीयताको उत्पादन गर्न तत्त्व घ्वनि होइन अलङ्कार हो भन्ने यिनीहरूको मत देखिन्छ । ध्वनिलाई साहित्यमा अस्तित्वमा ल्याउन खोजिएको भए पनि यो अलङ्कारमै गएर विलीन हुन्छ । यसको निजी सत्ता कायम हुँदैन भन्ने मत अन्तर्भाववादीहरूको देखिन्छ । ध्वनि अलङ्कारको कुनै भेद हुनसके पनि यसको स्वतन्त्र अस्तित्व छैन भन्ने यी मतवादीहरूको अडान देखिन्छ ।
अन्तर्भाववादी विरोधी मतबारे आनन्दवर्धनको खण्डन –
अलङ्कारको काम ता काव्यो बाह्य सौन्दर्य बढाउनु मात्रै हो तर ध्वनिले भने व्यङ्ग्य-व्यञ्जकको सहायताले काव्यमा अलौकिक आनन्द प्रदान गर्दछ । अलङ्कार र ध्वनिको बेग्लाबेग्लै भूमिका रहेको हुन्छ । अलङ्कार ता ध्वनिमा उपकरण मात्रै हुन्, ध्वनि अलङ्कारको साधन होइन अलङ्कार वाच्य-वाचकमा आश्रित हुन्छ तर ध्वनि व्यङ्ग्य-व्यञ्जितमा आश्रित हुन्छ ।
ध्वनिवादको पक्षलाई जियालो बनाउँदै आनन्दवर्धनले व्यञ्जनावृत्तिमूलक चमत्कार सिर्जना गर्ने सामर्थ्य ध्वनिको हुन्छ तर अलङ्कारको त्यस्तो सामर्थ्य हुँदैन भन्ने मत प्रकट गरेका छन् । यसबाहेक पनि ध्वनिमा वाच्य गौण र व्यङ्ग्यप्रधान हुन्छ भनी अन्तर्भाववादी मतको खण्डन गरेका छन् ।
(३) लक्षणावादी मत – ध्वनिको आशय र तात्पर्य लक्षणाका माध्यमबाट पूरा हुने मत लक्षणावादीहरू प्रकट गर्दछन् । यिनीहरू ध्वनिलाई लक्षणाभित्र समेट्ने पक्षमा देखिन्छन् । यिनीहरू ध्वनिको चर्चा अनावश्यक मान्दछन् । किनभने ध्वनिको औचित्य विशिष्ट अलङ्कारबाट कथङ्कल पूरा हुन सकेन भने एकमात्र लक्षणाबाट मात्र पूरा हुन्छ भन्ने मतका पक्षपाती देखिन्छन् ।
लक्षणावादी विरोधी मतबारे आनन्दवर्धनको खण्डन –
लक्षणा ता आरोपित गौण वृत्ति मात्रै हो र ध्वनि व्यञ्जनबाट प्राप्त हुने मुख्य तत्त्व हो । यी दुवै लक्षण र ध्वनिको स्वरूप बेग्लाबेग्लै छ । ध्वनि र लक्षणालाई एउटै मानिहालेको खण्डमा लक्षण भएको स्थानमा पनि ध्वनिको अस्तित्व स्विकार्नुपर्दछ भन्ने ध्वनिकार आनन्दवर्धनको तर्क रहेको छ । लक्षणको काम लक्ष्यार्थलाई लक्ष्यित गर्ने हुन्छ, ध्वनिलाई लक्ष्यित गर्न सक्दैन । यसैकारण लक्षणा र ध्वनि एउटै होइनन् र लक्षणालाई ध्वनिभित्र समेटिन्छ भन्नु निरर्थक हुन्छ भन्ने यिनको तर्क देखिन्छ ।
(४) अनिर्वचनीयता (बयान गर्न नसकिने) वादी मत –
अनिर्वचनीयतावादीहरू ध्वनिविरोधी मत प्रकट गर्दै यो अमूर्त र अवर्णनीय भन्ने पक्षमा तर्क राख्छन् । ध्वनिलाई अनुभव मात्र गर्न सकिन्छ किनभने यो अदृश्य अवर्णनीय हुन्छ भन्ने मत प्रकट गर्छन् ।
अनिर्वचनीयतावादी विरोधी मतबारे आनन्दवर्धनको खण्डन –
यो अनिर्वनचीयतावादीहरूको उपर्युक्त मत स्विकार्ने पक्षमा छैनन् ध्वनिकार आनन्दवर्धन । संसारका सबै वस्तु अगोचर हुँदैन र तिनको सहजै व्याख्या-विश्लेषण गर्न सकिन्छ । ध्वनिलाई अनिर्वचनीय भन्न पटक्कै उचित हुँदैन कारण यसलाई सबैले आस्वादन गर्न सक्नु मात्र होइन यसका भेदोपभेद समेत छुट्याउन सकिन्छ ।
ध्वनि सिद्दान्तको स्थापना –
ध्वनिसिद्धान्तको स्थापना गर्ने आनन्दवर्धन नै हुन् भन्ने कुरामा कुनै शङ्का गर्ने ठाउँ नै छैन । यसैले उनलाई ध्वनिकारको पगरी गुँथ्याइएको हो । ध्वनिकार आनन्दवर्धनले तर ध्वनिसिद्धान्तको स्थापना उनले नै गरेका हुन् भनी कदाचित् ठोकुवा गरेका कतै पाइएको छैन । ध्वनिसिद्धान्त ता धेरै अघिदेखि नै कुनै न कुनै रूपमा रहेको थियो भन्ने यिनका स्पष्ट स्वीकारोक्ति देखिन्छ । आफूभन्दा पहिले पनि ध्वनिसिद्धान्तको सत्ता रहेको कुरालाई ध्वनिकार आनन्दवर्धनले हृदयभित्रबाटै स्विकारेका छन् । खासै कुरा के हो भने आनन्दवर्धनले ध्वनिसिद्धान्त स्थापना गर्नु अगावै साहित्य जगत्मा पहिले ध्वनिसिद्धान्तको चर्चा भएको भने पाइँदैन तर भारतीय तत्त्व चिन्तनमा ध्वनिसिद्धान्तको उल्लेख भने नभएको चाहिँ होइन ।
व्याकरणको स्फोटवादसित ध्वनिसिद्धान्तको प्रत्यक्ष सम्बन्ध रहेको पाइन्छ । स्फोटवादको अभावमा ध्वनिसिद्धान्तको सम्यक् विवेचना हुन सक्दैन । यसैकारण, भारतीय काव्यशास्त्रमा ध्वनि शब्द वैयाकरणबाट आएको हो र समयको प्रवाह सँगसँगै विद्वान्हरूले आआफ्नै पाराले ध्वनिको स्वरूप विवेचना गरेको पाइन्छ ।
“ध्वन्यालोक” नामक ग्रन्थमा यिनले ध्वनिसिद्धान्त स्थापना गरेपछि ध्वनिविरोधी मतहरू देखिन थाले । यी ध्वनिविरोधी मतहरू झ्याँगिँदै गएपछि यी मतहरूको खण्डन गर्न ध्वनिकार आनन्दवर्धन अघि सरे र खण्डन पनि गरे । यस क्रममा ध्वनिसिद्धान्त स्थापना गर्ने र ध्वनिको स्वरूपको परिचय दिन यिनी तटस्थ देखिए । ध्वनिविरोधी मतहरूको उल्लेख गर्दै यिनले सो सिद्धान्त स्थापना गर्नाका निमित्त निम्न श्लोक भट्याएका छन् –
“तेन ब्रूमः सहृदयमनः प्रीतये तत्स्वरूपम् ।” (ध्वन्यालोक, प्रथम उद्योत)
अर्थात् ध्वनिको जरो नै उखेल्ने मत-मतान्तरहरू देखेर जनको मनलाई आनन्द प्रदान गर्न ध्वनिका स्वरूपको बयान गर्दछ । ध्वनिसिद्धान्त स्थापना गर्न यिनले ध्वनिको स्वरूप बयान गर्ने प्रयास गरेको देखिन्छ –
“योऽर्थः सहृदयश्लाध्यः काव्यात्मेति व्यवस्थितः ।
वाच्यप्रतीयमानाख्यौ तस्य भेदावुभौ स्मृतौ॥” (ध्वन्यालोक, प्रथम उद्योत)
ध्वनिकारले एउटा वाच्य र अर्को प्रतीयमान गरी काव्यमा दुई भेद बताएका छन् । सहृदयजनद्वारा प्रशंसित हुने काव्यमा निहित व्यङ्ग्यार्थ / ध्वनि नै काव्यको आत्मा हो । वाच्य र प्रतीयमानमध्ये वाच्यार्थलाई पूर्व अलङ्कारवादीहरूले विशेष रूपले व्याख्या गरिसकेका छन् । महाकविको वाणीमा रमणी (सुन्दरी ?) -का सुडौल अङ्ग-प्रत्यङ्ग (मुख, आँखा, नाक, कान, ओंठ, निधार, दाँत, आँखी भौं, वक्ष, नितम्ब आदि)-हरूको समन्वित रूपमा ए विशेष प्रकारको लावण्य झल्केजस्तै लावण्य काव्यमा झल्किन्छ । जुन काव्यको शब्दगत र अर्थगत नभएर यी गुणालङ्कारभन्दा बेग्लै र भिन्नै हुन्छ । ध्वनिकार भन्छन् –
“ प्रतीयमानं पुनरन्यदेव वस्त्वस्ति वाणीषु महाकवीनाम् ।
यत्तत्प्रसिद्धावयवातिरिक्तं विभाति लावण्यमिवाङ्गनासु ॥ ”
(ध्वन्यालोक, प्रथम उद्योत)
नारी शरीरका सर्वाङ्ग (मुख, आँखा, नाक, कान, ओंठ, निधार, दाँत, आँखीभौँ वक्ष,, नितम्ब आदि) बान्किला हुने पनि सक्छन्, कुनै-कुनै अङ्ग बान्किला नहुन पनि सक्छन् तर नारी अङ्गका यी सबै अवयवहरूको लावण्य नै सौन्दर्यको सार हो । ध्वनि पनि त्यसरी नै काव्य शरीरमार्फत अभिव्यक्त हुन्छ ; यसैकारण काव्य शरीर स्वतन्त्र हुन्छ । काव्यमा शब्द र अर्थको समन्वय पाइन्छ तर ती सबै सुन्दर पनि हुन सक्छन् ; कुनै दोषपूर्ण पनि हुन सक्छन् । ती सबैको समागमद्वारा काव्यमा एउटा विलक्षण, अतिरिक्त अर्थ झल्कन्छ त्यही नै काव्यको सौन्दर्य हो । त्यसलाई प्रतीयमान अर्थ भनिन्छ । त्यसैले ध्वनिकार आनन्दवर्धनले भनेका छन्, ध्वनि वाच्यार्थद्वारा प्रकट हुन्छ ।
वाच्यार्थद्वारा प्रकट भए तापनि ध्वनित अर्थ धेरै समय वाच्यार्थको विरुद्ध हुनसक्छ । यसको अर्थ विलक्षण व्यङ्यार्थ प्रस्टिनु हो । यसका व्यञ्जक शब्द वा अर्थ पनि बेग्लै हुन्छन् । सबैले यो व्यक्त गर्न सक्दैनन् । ध्वनिकार आनन्दवर्धनले उदाहरणका रूपमा एउटा कतालाई प्रस्तुत गर्ने प्रयास गरेका छन्, कुनै नायिकाको प्रिय प्रणयमिलनस्थलमा एकजना तपस्वी आएर सधैँ फूलहरू टिपी त्यस प्रणयस्थलको सुन्दरता निमिट्यान्नै पार्नुका साथै त्यस स्थलको गोपनीयता उदाङ्गो पारेको विरोधमा तपस्वीलाई नायिका भन्छिन् –
“भ्रम धार्मिक विस्रब्धः स शुनकोऽद्य मारितस्तेन ।
गोदावरीनदीकूललतागहनवासिना दृप्तसिंहेन ॥” (ध्वन्यालोक, प्रथम उद्योत) ।
अर्थात् हे तपस्वी ! तिमी अब कुनै डर नमानी जहाँ पनि जाँदा हुन्छ, यस ठाउँमा जुन कुकुर थियो त्यो कुकुर आज गोदावरी किनारमा बस्ने सिंहद्वारा मारिएको छ ।
यस कथनमा तपस्वीलाई इच्छानुसारले नायिकाद्वारा उनको प्रणयस्थलमा भ्रमण गर्न भनिएको छ तर जुन व्यक्ति कुकुरको डरले घरदेखि बाहिर निस्कन पनि डराउँछ त्यस्ता व्यक्तिले सिंहको कुरा सुनेपछि झन् घर बाहिरबाट निस्कने आँट गर्ला र (?) भन्ने बुझिन्छ ।
उपर्युक्त श्लोकांशमा प्रतीयमान अर्थ प्रकट भएको स्पष्ट बुझिन्छ । त्यो प्रतीयमानको अर्थ नै व्यङ्ग्यार्थ तथा ध्वनित अर्थ हो । यो अर्थ वाक्यका शब्द र वाच्यार्थबाट निस्किएको होइन तर व्यङ्ग्यबाट निस्केको हो । यस प्रकारको व्यङ्ग्य हुने काव्यलाई ध्वनिवादीहरू उत्तम काव्य भन्दछन् । यहाँ वाच्यार्थ विधिरूप छ भने कुनै कुनै ठाउँमा व्यङ्ग्यार्थ निषेध रूप हुन जान्छ ।
” श्वश्रूर शेते अथवा निमज्जति अत्राहं दिवसकं प्रलोकय
मा पथिक रत्र्यन्ध शय्यायामावयोः शयिष्ठाः॥”
(ध्वन्यालोक, प्रथम उद्योत) ।
यस श्लोकांशको अर्थ, कुनै चरित्रहीन स्त्री पथिकलाई देखेर त्यहाँ आउँदा कामोदय भएकाले ती स्त्रीले तिनलाई भन्छे, उसकी सासू यस ठाउँमा मस्त रूपले सुत्छिन् अनि ऊ पनि त्यहाँ निदाउँछे, रतन्धा पथिक तिनीहरूमाथि नपरून् । वाच्यार्थ पथिकलाई स्त्रीले आफ्नो शय्यामा नआउनू भनी स्पष्ट रूपले निषेध गरेकी छ ।
यहाँ निषेध रूपमा पथिकलाई राति निजी शय्यामा आमन्त्रित गरिएको छ । ‘अत्रहं’ शब्दद्वारा विधि अर्थ प्रकाश भएको छ । ‘श्वश्रू’ शब्दद्वारा स्वच्छन्दविहारको असम्भाव्यता बुझिन्छ । स्त्री भन्छे, “जहाँ म राति सुत्छु त्यो दिउँसै हेरिराख, रात पऱ्यो कि गोप्य रूपमा मेरो शय्यामा आऊ ।” यो अर्थ नै प्रतीयमान अर्थ हो । यसरी निषेधबाट पनि विधिपरक अर्थ आउने, वाच्यार्थ विधिपरक भए पनि निषेधात्मक अर्थ व्यञ्जित हुने काम नै ध्वनिकाव्य हुन्छ । ध्वनिको मूलभूत तत्त्व व्यङ्ग्य हो र व्यङ्ग्य अर्थ अत्यन्त चमत्कारी हुन्छ भन्ने उल्लेख गरिएको छ । तिनै चमत्कारले भावलाई पनि चमत्कृत पार्न सक्नुपर्छ भन्ने उनको ठनाइ छ ।
ध्वनि प्रतीयमान हुन्छ र वाच्यार्थभन्दा परको अर्थ नै ध्वनि हो भनी आनन्दवर्धनले ध्वनिसिद्धान्तको स्थापना गरेका छन् ।
ध्वनिको स्वरूप र लक्षण –
ध्वनिको स्वरूप –
ध्वनिको स्वरूपबारे ध्वनिकार आनन्दवर्धनको भनाइ यस्तो छ –
” यत्रार्थः शब्दो वा तमर्थमुपसर्जनीकृतस्वार्थौ ।
व्यङ्क्तः काव्यविशेषः स ध्वनिरिति सूरिभिः कथितः ॥”
(ध्वन्यालोक, प्रथम उद्योत, कारिका – ४) ।
ध्वनि अथवा प्रतीयमान अर्थका स्वरूपका विषयमा ध्वनिकार आनन्दवर्धनअनुसार स्त्रीहरूको शरीरका अङ्ग-प्रत्यङ्गहरू भन्दै अर्कै विलक्षण लावण्य भएझैँ महाकविहरूका वाणीमा पनि प्रतीयमान अर्थ वाच्यार्थभन्दा अर्कै विलक्षण तत्त्वरूपमा प्रतिभाषित हुन्छ । कुनै-कुनै प्रतिभासम्पन्न कविद्वारा मात्र प्रतीयमान अर्थको उत्पत्ति हुन्छ ।
” सरस्वती स्वादु तदर्थवस्तु निःष्यन्दमाना महतां कवीनाम् ।
अलोकसामान्यमभिव्यनक्ति परिस्फुरन्तं प्रतिभाविशेषम् ॥ ”
अर्थात् त्यस आस्वादमा अर्थ तत्त्वलाई प्रभावित पार्ने महाकविहरूका वाणी तिनका अलौकिक प्रतिभासित अनि सरस्वतीको वरगानस्वरूप प्राप्त विशिष्ट प्रतिभा प्रकट गर्दछ ।
ध्वनिको स्वरूपसित सम्बन्धित माथिका विवेचनले काव्यको व्यङ्ग्यार्थ ध्वनि भनिन्छ अनि त्यो व्यङ्ग्यार्थ कुनै पनि सुन्दरीको सर्वाङ्ग लावण्य हुन्छ अनि व्यङ्ग्यार्थ उत्पत्ति हुनाका निम्ति कविको विशिष्ट प्रतिभा अपेक्षित हुन्छ भन्ने कुरो छ्याङ्गै हुन्छ ।
ध्वनिको लक्षण –
विविध विवरण र विवेचनाबाट ध्वनिको स्वरूपबारे बुझ्न सकिए पनि ध्वनिको लक्षणबारे हेनतेन बखान्नु गाह्रै छ । यसरी ध्वनिलाई एउटै लक्षण वा परिभाषामा बाँध्नु ध्वनिकार आनन्दवर्धनसमेतले प्रशस्तै बाधा र कठिनाइँहरूको सामना गर्नुपरेको तथ्य निम्न श्लोकांशले खुलस्त पार्नमा गतिलो सघाउ पुऱ्याएको देखिन्छ –
(अ) “ काव्यस्यात्मा ध्वनिरिति बुधैर्यः समाम्नातपूर्वः ॥” (ध्वन्यालोक – प्रथम उद्योत)
अर्थात् ध्वनि काव्यको आत्मा हो भन्ने ध्वनिसिद्धान्तलाई विद्वान्हरूले पहिल्यै स्वीकारिसकेका छन् ।
(आ) “ योऽर्थः सहृदयश्लाध्यः काव्यात्मेति व्यवस्थितः ।
वाच्यप्रतीयमानाख्यौ तस्य भेदावुभौ स्मृतौ॥ ” (ध्वन्यालोक – प्रथम उद्योत)
अर्थात् काव्यको आत्मा मानिएको सहदयशलाघ्य अर्थ ध्वनि हो र त्यसका वाच्य र प्रतीयमान गरी दुई भेद छन् ।
(इ) “ यत्रार्थः शब्दो वा तमर्थमुपसर्जनीकृतस्वार्थौ ।
व्यङ्क्तः काव्यविशेषः स ध्वनिरिति सूरिभिः कथितः ॥ ”
(ध्वन्यालोक, प्रथम उद्योत)
अर्थात् जहाँ शब्द वा अर्थले प्रतीयमान अर्थले प्रतीयमान अर्थको प्राप्तिका लागि आफ्नो परित्याग गरिदिन्छ र कुनै काव्यविशेषलाई व्यक्त गर्दछ त्य्स्तो काव्यलाई विद्वान्हरूले ध्वनि भनेका छन् ।
उपर्युक्त तीनैओटा कथन पहिलो (अ) -ले ध्वनि काव्यको आत्मा हो, दोस्रो (आ)-ले ध्वनि वाच्य र प्रतीयमान हो अनि तेस्रो वा अन्तिम (इ)-ले ध्वनि शब्द र अर्थद्वारा अभिव्यक्त हुने काव्यविशेष हो भन्ने जानकारी गराउँदछ ।
माथिका तीनैओटा कथनमाथि घोत्लिँदा वा सोको नालीबेली केलाउँदा खासमा ध्वनि के हो ता (?) भन्ने प्रश्न मडारिन सक्ने प्रशस्तै सम्भावना देखिन्छ । त्यो स्वाभाविक र यथार्थ पनि हो । यो पनि ध्वनि, त्यो पनि ध्वनि वा फलानो पनि ध्वनि , ढिस्कना पनि ध्वनि भनी अँध्यारामा ढुङ्गा हान्दा ध्वनिको लक्षण वा परिभाषा खुलस्त र स्पष्ट हुँदैन । यद्यपि ध्वनिकारद्वारा प्रतिपादित उपर्युक्त तीनैओटा कथन वा घारणालाई समुच्चारूपमा पर्गेल्दा ध्वनिको लक्षण वा परिभाषालाई सामान्य र विशिष्ट सूत्र गरी दुई थरीमा बाँडी, निम्न प्रकारले व्याख्या विश्लेषण गर्न सकिन्छ –
(अ) सामान्य सूत्र –
सहृदयलाई आह्लाद प्रदान गर्ने वा गराउन सक्ने कायात्मक मानिएको वाच्यार्थ र प्रतीयमान अर्थ ध्वनिको सामान्य सूत्र अन्तर्गत पर्दछ ।
(आ) जुन व्यङ्ग्यार्थ सिद्धिका निम्ति शब्द वा अर्थले आफ्नो अर्थ समर्पण गरिदिन्छ, त्यस्तो व्यङ्ग्यार्थ विशिष्ट कोटिको काव्य ध्वनि हो ।
समुच्चामा हेर्दा, वाक्य र प्रतीयमान दुवै अर्थबाट ध्वनि संज्ञा प्राप्त हुन्छ बने पहिलो सूत्र वा लक्षणाले सो खुलस्त पार्दछ । त्यसरी नै दोस्रो सूत्र वा लक्षणाले प्रतीयमान अर्थप्रधान विशिष्ट काव्यलाई ध्वनि संज्ञा प्राप्त हुन्छ ।
शब्द र अर्थ आफू स्रोत भएर विशेष चमत्कारपूर्ण अर्थलाई प्रस्तुत गर्नु नै ध्वनिको लक्षण देखिन्छ भन्ने कुरो स्पष्टै देखिन्छ ।
काव्यमा ध्वनिको स्थान, उपयोगिता र महत्त्व –
काव्यमा ध्वनिको स्थान, उपयोगिता र महत्त्व अत्यन्तै प्रयोजनीय देखिन्छ । ध्वनिविहीन काव्य कदाचित् उच्चकोटिको काव्य हुनै सक्दैन । ध्वनिले काव्य सर्वग्राह्य, सम्प्रेषणीय, सशक्त सौन्दर्यानुभूतियुक्त एवम् जीवित पार्दछ । कविताको लक्ष्य अर्थबोध गराउनु मात्र होइन परिशीलनमा संवेदन जगाउनुका साथै हृदयलाई विस्तार गरेर विश्वहृदयमा विलीन गराउनु हो भन्ने ध्वनिसिद्धान्तवादी आचार्यहरूको मूल सार देखिन्छ ।
ध्वनिको मूलाधार नै व्यञ्जना हो । व्यङ्ग्यार्थको अतिशयता नै ध्वनि काव्यो महत्ता हो । ध्वनि त्यसलाई भनिन्छ जहाँ वास्तविक व्यङ्ग्य साहित्य हुन्छ । साहित्यमा व्यङ्ग्य हुनुपर्छ । यसैकारण, ध्वनिकार आनन्दवर्धनले व्यञ्जक शब्द, व्यञ्जक अर्थ, व्यञ्जना व्यापार, व्यङग्यार्थ अनि यी सबैका समुदाय रूप यस्तो काव्य हो जसमा वाक्यार्थको अपेक्षा व्यङ्ग्य अधिक चमत्कारी हुन्छ भन्ने मत प्रकट गरेका छन् ।
अभिधेयार्थ नै धेरै महत्त्वपूर्ण हुन्छ । यसर्थ काव्यमा वाच्यार्थ होइन तर व्यङ्ग्यार्थको नै अधिक प्रयोजन हुन्छ भन्ने ध्वनिवादीहरूको प्रमुख मान्यता देखिन्छ । ध्वनिकार आनन्दवर्धनको ध्वनिवादी सिद्धान्त र मान्यताप्रति कतिपय विद्वान्हरूले तीव्र रूपमा आलोचना गरे पनि आचार्य कुन्तकले वक्रोक्तिभित्रै ध्वनिलाई समेटेर ध्वनिलाई गौण महत्त्व दिएका छन् भने अभिनवगुप्तजस्ता विद्वानाचार्यले ध्वनिलाई सशक्त साहित्यिक वादका रूपमा प्रतिष्ठापित गरे ।
ध्वनिसिद्धान्तका प्रवर्तक आनन्दवर्धनले ता ध्वनिलाई शब्दगत अर्थभन्दा बेग्लै ठानेका छन् । त्यतिमात्र होइन यिनले ध्वनिलाई कुनै सुन्दरीको आकर्षक, मनमोहक, सर्वाङ्गद्वारा समष्टिमा अनुभूत हुने समन्वित लावण्यको विशेषणले विभूषित गरेर ध्वनिको स्थान, उपयोगिता र महत्त्वलाई विशेष मान्यता र महत्त्व दिएका छन् ।
ध्वनिसिद्धान्त मह्त्त्वपूर्ण र श्रेष्ठ काव्य सिद्धान्त हो । ध्वनि काव्यलाई सर्वोत्तम काव्य मानिन्छ । यसैकारण काव्यमा ध्वनि महत्त्व जति छ त्यति नै यसको स्थान र उपयोगिता पनि सर्वोत्त्कृष्ट रहेको छ ।
ध्वनिको विशेषता –
ध्वनिसिद्धान्तका विशेषताहरू निम्नानुसार छन् –
१. काव्यसित सम्बन्घ राख्ने सम्पूर्ण सिद्धान्तहरूको तत्त्वलाई यसले समेटेको हुन्छ ।
२. व्याकरणको स्फोट यसको मूल तत्त्व हो ।
३. असङ्लक्ष्य व्यङ्ग्यको रूपमा रसध्वनिको भेद हो, यो ध्वनिसिद्धान्त हो ।
४. अलङ्कारध्वनि, वस्तुध्वनि आदि अन्तर्गत अलङ्कार, वक्रोक्ति आदिका मूल कुराहरू यसमा गाभिएका हुन्छन् ।
५. काव्यक सम्पूर्ण काव्यतत्त्व ध्वनिमा नै समेटिएको हुन्छ ।
६. वाच्यार्थ र व्यङ्ग्यार्थ दुवै काव्य सौन्दर्य बढाउने तत्त्व हुन् ।
७. प्रतिभासम्पन्न स्रष्टाद्वारा मात्रै ध्वनि काव्यको सिर्जना सम्भव हुन्छ ।
ध्वनिको भेदोपभेदहरूको सोदाहरण अध्ययन –
काव्यमा ध्वनिका भेदोपभेद, सङ्ख्या वा प्रकारको विषयमा आचार्यहरूमाझ मतभेद पाइए तापनि ध्वनिवादीहरूले यसका भेदोपभेदलाई छुट्याउने भरसक प्रयास गरेको पाइन्छ । यसरी ध्वनिको भेद छुट्याउने क्रममा ध्वनिवादीहरू नथाकेको प्रतीत हुन्छ । आचार्य मम्मटले मूलतः १८ प्रकारका ध्वनिहरूलाई भेदोपभेद गरी ५१ को सङ्ख्यामा देखाएका छन् । ती ५१ ओटा ध्वनिको भेदोपभेदलाई शङ्कर र संसृष्टिका आधारमा गुणन गरी मम्मटले ध्वनिका मोठ भेद १०,४५५ बताएका छन् । अर्का आचार्य विश्वनाथले ध्वनिको भेद ५,३५५ ओटा मात्र पुऱ्याएका छन् ।
गुणीभूत व्यङ्ग्यलाई त्यसका भेदोपभेदा साथ समन्वित गरेर ध्वनि सङ्ख्या ४,५१,९२० हुने कुरो देखाउँदै अन्त्यमा ध्वनि अनन्त छन् भन्ने उल्लेख गरेको कुरा विद्वान् केशवप्रसाद उपाध्यायले औल्याएका छन् । यस दृष्टिकोणबाट हेर्दा ध्वनिको खास परिगणना यति उति भनेर तोक्नु गाह्रै छ । यद्यपि ध्वनिकार एवम् ध्वनि प्रवर्तक आनन्दवर्धनले ध्वनिलाई अविवक्षितवाच्य ध्वनि (लक्षणामूलक) र विवक्षिततान्यन्यपरवाच्य ध्वनि (अभिधामूलक) गरी दुई भेद बताउँदै अविवक्षितवाच्यलाई अर्थान्तर सङ्क्रमितवाच्य ध्वनि र अत्यन्ततिरष्कृतवाच्य ध्वनि अनि विवक्षितवाच्य ध्वनिलाई अभिधामूला ध्वनि र लक्षणामूला ध्वनि गरी मोठ ५ भेद देखाएका छन् । ध्वनिवादी आचार्य अभिनवगुप्तले ध्वनिको वर्गीकरणमा ज्यादै व्यावहरिकता देखाएका छन् । यिनले ध्वनिलाई रस ध्वनि, वस्तु ध्वनि र अलङ्कार ध्वनि गरी तीन भेदमा बाँडेका छन् ।
ध्वनि प्रवर्तक ध्वनिकार आनन्दवर्धनले “ध्वन्यालोक” ग्रन्थमा ध्वनिलाई दुई भेद बताएका छन् –
(१) अविवक्षितवाच्य ध्वनि (लक्षणामूलक ध्वनि) र विवक्षिततान्यपरवाच्य ध्वनि (अभिधामूलक ध्वनि) ।
(१) अविवक्षितवाच्य ध्वनि (लक्षणामूलक ध्वनि) – लक्षणामूलक ध्वनि हो (१) अविवक्षितवाच्य ध्वनि (लक्षणामूलक ध्वनि) । यसको शाब्दिक अर्थ वाच्य अर्थलाई भन्ने इच्छा नहुनु हो । यसैकारण यस्तो ठाउँमा लक्षणाको आवश्यकता पर्छ । वाच्यार्थ विवक्षित (अभिप्रेत) नभईकन लक्षणाद्वारा आउने लक्ष्यार्थबाट अर्को व्यङ्ग्यार्थ प्रधान भएर बुझिने ध्वनिलाई अविक्षितवाच्य ध्वनि (लक्षणामूलक) भनिन्छ । वाच्यार्थ नाघेर लाक्षणिक अर्थ प्रस्तुत गर्नु नै लक्षणाको काम हो ।
आचार्य मम्मटले अविवक्षितवाच्य ध्वनि (लक्षणामूलक ध्वनि) लाई दुई भेदमा बाँडेका छन् –
(क) अर्थान्तरसङ्क्रमितवाच्य ध्वनि र (ख) अत्यनततिरष्कृतवाच्य ध्वनि ।
(क) अर्थान्तरसङ्ग्रमितवाच्य ध्वनि –
अविवक्षितवाच्य ध्वनिले अजहतस्वार्था अवलम्बन गरे त्यस ध्वनिलाई अर्थान्तरसङ्क्रमितवाच्य ध्वनि कहलाउँछ । यस ध्वनिले गर्दा जहाँ वाच्यार्थ एकदमै अभीष्ट (लक्ष्यीकृत) छैन वा जहाँ वाच्यार्थबाट तिनको विपरीत अर्थज्ञान हुन्छ भन्ने अर्थ दिन्छ ।
“त्वामस्मि वच्मि विदुषां समवायोऽत्र तिष्ठतिः ।
आत्मीयं मतिमास्थाय स्थितिमत्र विधेहि तत् ॥”
यहाँ ‘वच्मि’-को अर्थ ‘उपदेश दिँदै छु’ भन्ने हुन्छ । ‘वच्मि’ शब्दको वाच्यार्थ पूरै बदलिएको छ ।
(ख) अत्यन्ततिरष्कृतवाच्य ध्वनि –
वाच्यार्थको पूर्णरूपले तिरस्कार गरी व्यङ्ग्यार्थलाई मात्र लिने ध्वनिलाई अत्यन्ततिरष्कृतवाच्य ध्वनि भनिन्छ । वाच्यार्थको पूरै तिरस्कार गरिएकाले पनि यसलाई अत्यन्ततिरष्कृतवाच्य ध्वनि भनिएको हो । यसलाई जहत्स्वार्था लक्षणा पनि भनेको पाइन्छ । मम्मटको उदाहरण –
“उपकृतं बहु तत्र किमुच्यते, सुजनता प्रथिता भवता परम् ।
विदधदीदृशमेव सदा सखे, सुखितमास्स्व तत शरदां शतम् ॥”
कुनै अपकारी व्यक्तिप्रति कसैले भन्छ, तपाईँले थुप्रै उपकार गर्नुभएको अनि निकै सौजन्य देखाउनुभएको छ – यसकारण तपाईँ एक सय वर्षसम्म जीवित रहनुहोस् । खासमा तपाईँले धेरै समयदेखि अपकार गर्नुभएको छ र थुप्रै असहयोग देखाउनुभएको छ – सम्भव भए तपाईँको आजै मृत्यु होस् भन्ने यहाँ वक्ताको उद्देश्य देखिन्छ । यहाँ वाच्यार्थको विपरीत अर्थ बुझिन्छ ।
(र) विवक्षिततान्यपरवाच्य ध्वनि (अभिधामूलक ध्वनि) –
यो अभिधामूलक हुन्छ । यसमा वाच्य अर्थ बुझिएपछि मात्र फेरि अर्को व्यङ्ग्यार्थको प्रतीति प्रकट हुन पुग्ने हुँदा यसलाई विवक्षिततान्यपरवाच्य ध्वनि (अभिधामूलक) भनिन्छ । यो पनि फेरि दुई प्रकारका हुन्छन् –
(अ) असङ्ख्यलक्ष्यक्रमव्यङ्ग्य ध्वनि र (आ) सङ्लक्ष्यक्रमव्यङ्ग्य ध्वनि
(अ) असङ्ख्यलक्ष्यक्रमव्यङ्ग्य ध्वनि –
जुन ध्वनिमा वाच्यार्थबोधक साथसाथै तत्काल व्यङ्ग्यार्थबोध हुन्छ त्यस ध्वनिलाई असङ्ख्यलक्ष्यक्रमव्यङ्ग्य ध्वनि भनिन्छ । रस भावजस्ता ध्वनि सँगसँगै यसका अनेकन् भेद यसैभित्र परेकाले यो ध्वनिका भेद सङ्ख्या असङ्ख्य भएकाले यसलाई एकै किसिमको भनिन्छ ।
(आ) सङ्लक्ष्यक्रमव्यङ्ग्य ध्वनि -जुन ध्वनिमा वाच्यार्थबोधपछि एक लक्ष्ययोग्य क्रमले व्यङ्ग्यार्थबोध हुँदै जान्छ त्यसलाई सङ्लक्ष्यक्रमव्यङ्ग्य ध्वनि भनिन्छ । यसका पनि तीन भेद छन् –
(अ) शब्दशकत्युद्भव ध्वनि, (आ) अर्थशकत्युद्भव ध्वनि र (इः शब्दार्थोमय शकत्युद्भव ध्वनि ।
(अ) शब्दशकत्युद्भव ध्वनि – शब्दको प्रधानता रहने कथनलाई शब्दशकत्युद्भव ध्वनि भनिन्छ । यो शब्दप्रधान हुन्छ । वस्तुध्वनि र अलङ्कार ध्वनि ध्वनित हुन्छ । यसका दुई भेद छन् –
(क) वस्तुध्वनि र (ख) अलङ्कार ध्वनि ।
(क) वस्तुध्वनि –
कुनै एउटा वस्तुसित अर्को वस्तुको व्यञ्जना गरिन्छ भने वस्तुध्वनि हुन्छ ।
“मिल्दैन पथिक ! नक्कली पथरीले गाउँमा यहाँ केही ।
बस मह-गो-रसको धारा स्वाद लिनामा भए स्नेही ।”
(साहित्यप्रदीप- सोमनाथ सिग्देल)
यस पङ्क्तिमा नकली वस्तु छैन, गोरसको स्नेह भए बस भन्ने वाच्यार्थ छ । यहाँ नकल झकल छैन, मह-गो अर्थात् महझैँ मिठो गाई दूघको भए बस भन्ने व्यङ्ग्यार्थ प्रकट भएकाले यहाँ वस्तुध्वनि भएको छ ।
(ख) अलङ्कारध्वनि –
अलङ्कार ध्वनिमा अलङ्कारको अभिव्यक्ति व्यङ्ग्यार्थको रूपमा हुन्छ –
“प्रभुमणि हरिलाई भावनामा बसाएँ
मन नमन दुवै यी नाथलाई चढाएँ ।
नय विनय दुवै यी छन् उहाँका पियारा
भनि हरदम गर्छन् भक्त सारा पुकारा ॥” (साहित्यप्रदीपः सोमनाथ सिग्देल)
यस पङ्क्तिमा मन, नमन, नय, विनयजस्ता शब्द अलङ्कार प्रयोग गरी व्यङ्ग्यार्थ प्रस्तुत गरिएको छ अनि विरोधालङ्कारलाई प्रमुख रूपमा उपस्थित गराइएको हुनाले यहाँ अभिव्यक्ति अलङ्कारध्वनि भएको छ ।
(आ) अर्थशकत्युद्भव ध्वनि –
जुन ध्वनि वाच्यार्थशक्तिद्वारा नै उत्पन्न हुन्छ त्यस ध्वनिलाई अर्थशत्युद्भव ध्वनि भनिन्छ । यसमा तीन भेद र प्रत्येक भेदमा चार/चार उपभेद भएको उल्लेख पाइन्छ –
(१) स्वतःसम्भावी ध्वनि (२) कविप्रौढोक्तिसिद्ध ध्वनि (३) कविनिबद्ध प्रौढोक्तिसिद्ध ध्वनि
क. वस्तुबाट वस्तुध्वनि वस्तुबाट वस्तुध्वनि वस्तुबाट वस्तुध्वनि
ख. वस्तुबाट अलङ्कारध्वनि वस्तुबाट अलङ्कारध्वनि वस्तुबाट अलङ्कारध्वनि
ग. अलङ्कारबाट वस्तुध्वनि अलङ्कारबाट वस्तुध्वनि अलङ्कारबाट वस्तुध्वनि
घ. अलङ्कारबाट अलङ्कारध्वनि अलङ्कारबाट अलङ्कारध्वनि अलङ्कारबाट अलङ्कारध्वनि
(१) स्वतःसम्भावी ध्वनि – व्यावहरिक जीवनमा स्वाभाविक लाग्ने र सामान्य दृष्टिबाट पनि सम्भव देखिने ध्वनिलाई स्वतःसम्भावी ध्वनि भनिन्छ । यसका पनि चार भेद रहेको माथि आरेखमा देखाइएको छ । यी चार भेदका उदाहरणहरू निम्नानुसार राखिन्छ –
(क) वस्तुबाट वस्तुध्वनि –
“जाउँ त घरमा हामी, भने पनि त अनि के गरेर जाने?
रात अँधेरी भारी, हिँड्यो त भने पनि बाघले खाने ॥”
,(कवितागुच्छहार – देवीदत्त पराजुली)
यस कवितांशमा अँधेरी रात र डर वस्तुको कुरा गरिएको छ । यी वस्तुबाट प्रेमआतुरताको वस्तुरूप ध्वनित भएको छ ।
(ख) वस्तुबाट अलङ्कारध्वनि –
“कण्टकावृत्त नै बस्ने गुलाफ पुष्पले पनि
गालाको उपमा बन्न सकिन्नथ्यो कसै पनि ॥”
,(कवितागुच्छहार – देवीदत्त पराजुली)
उपर्युक्त पद्यांश गुलाफको फूल काँडादार छ भन्ने वस्तुको कुरा गरिएको छ । जुन वस्तुद्वारा त्यो गालाको उपमान बन्न सक्दैन भन्ने कुरा उठान गर्दै व्यतिरेक अलङ्कार ध्वनित हुन्छ ।
(ग) अलङ्कारबाट वस्तुघ्वनि –
“प्रभा प्रभावी राजाको हातका करबालको
धूमकेतुसरी लाग्यो मनमा शत्रुवर्गको ॥”
(साहित्यप्रदीप – सोमनाथ सिग्देल)
यस पङ्क्तिमा करवाल (खड्ग)-का प्रकाश (प्रकाश/ कान्ति)-मा धूमकेतुलाई उपमा अलङ्कारमा प्रस्तुत गरिएको छ । उपमा अलङ्कारमार्फत शत्रुवर्गको भावी विनाश रूप वस्तुको प्रस्तुति वा ध्वनि छ ।
(ध) अलङ्कारबाट अलङ्कारध्वनि –
“कटी छटीलो छरितो छ सानू
मुठी मुठीले पनि लिन्छ मानू ।
मलाई सौन्दर्य कुलोसमान
कटी यहाँ पर्दछ प्यारि भान ॥”
यस पद्यांशमा भ्रान्तिमान अलङ्कार ध्वनि उद्घाटन भएको छ । यस पद्यांशले सानु कटि (कम्मर) मुठीमा पनि अटाउन सक्छ भनी उत्प्रेक्षा अलङ्कारको सहारा लिएर कटिमा सौन्दर्यको कुलोको भान देखाइएको छ ।
(२) कविप्रौढोक्तिसिद्ध –
कवि कल्पनाद्वारा सिद्ध गरिएको व्यङ्ग्यार्थलाई नै कविप्रौढोक्तिसिद्ध ध्वनि भनिन्छ । यसका चार भेद देखिन्छ –
(क) वस्तुबाट वस्तुध्वनि, (ख) वस्तुबाट अलङ्कारध्वनि, (ग) अलङ्कारबाट वस्तुध्वनि र (घ) अलङ्कारबाट अलङ्कारध्वनि ।
(क) वस्तुबाट वस्तुध्वनि –
“सरयू यमुना गङ्गा नाच्दै आनन्दनादले
शान्तिसन्तोषसन्देश समुद्रान्त पुऱ्याउँथे ॥”
यस पङ्क्तिमा शान्ति र सन्तोष रूप सन्देश समुन्द्रान्तसम्म पुऱ्याउनु रूप वस्तुबाट रामराज्यमा जगद्व्यापी प्रेम रूप वस्तुको ध्वनि ध्वनित छ ।
(ख) वस्तुबाट अलङ्कारध्वनि –
“रजनीमा चन्द्रमाले झलल्ल पारिँदो जगत् ।
लाज तपाइँको कीर्ति सधैँ झल्ल गराउँछ ॥”
(पूर्वीय काव्य सिद्धान्त – गोविन्दप्रसाद भट्टराई)
यस पङ्क्तिमा व्यतिरेक अलङ्कार ध्वनि व्यक्त भएको छ ।
(ग) अलङ्कारबाट वस्तुध्वनि –
“धनू भऊँ नेत्रकटाक्ष तीर, म छू निशाता खपनू छ वीर
तिमी जनाना हथियारखान, दिँदो छ मीनध्वज दुःख नाना ॥”
(सूक्तिसिन्धु – दीपकेश्वर लोहनी)
यस पद्यांशमा “धनु भौँ, नेत्रकटाक्ष तीर” रूपी अलङ्कारमार्फत कामदेवले नाना प्रकारका दुःख दिन्छ भन्ने वस्तुध्वनि व्यक्त भएको छ ।
(घ) अलङ्कारबाट अलङ्कारध्वनि –
“तिमी रङीली भरखर्की बाला, गुलाफजस्ता रङदार गाला
इरानि अङ्गूर अनार स्याउ, समाउनेलाइ तिमी लुटाऊ ॥”
(सुक्तिसिन्धु – दीपकेश्वर लोहनी)
यस कविता पङ्क्तिमा उपमा अलङ्कारद्वारा दीपक अलङ्कार रूप ध्वनि व्यक्त भएको छ ।
(३) कविनिबद्घप्रौढोक्तिसिद्ध ध्वनि –
आफ्नो शब्द चमत्कारिताको सहाचताले कविले कल्पना गरेका वा प्रस्तुत गरेका कविकल्पित पात्रद्वारा जुन ध्वनि सिद्ध हुन्छ त्यस ध्वनिलाई कविनिबद्घप्रौढोक्तिसिद्ध ध्वनि भनिन्छ । यस ध्वनिका पनि चार भेद देखिन्छ –
(क) वस्तुबाट वस्तुध्वनि –
“स्वागत गर्छ तपोवन पतिव्रतारत्न महिलाको
डग्दैन हृदय कहिल्यै कुलभूषण वीरवनिताको ॥”
(आदर्श राधव – सोमनाथ सिग्देल)
यस पङ्क्तिमा वाल्मीकिका कथन उद्धृत गरिएको छ । तपोवनबाट गरिने सीताको स्वागत रूप वस्तुबाट सीताको पवित्रता रूप वस्तुको ध्वनित भएको छ ।
(ख) वस्तुबाट अलह्कारध्वनि –
“हर नाथ ! दर्शनबिना बनवासमहाँ रहूँ कसरी
मेरो अभाग झन् झन् सकेल्छ पातालमा यसरी ॥”
(आदर्श राघव – सोमनाथ सिग्देल)
प्रस्तुत पद्यांशमा बनवासको कष्ट रूप वस्तुबाट चौध वर्ष बनवासभन्दा अनन्तकालीन यो बनवास कति कष्टकारक छ भन्ने व्यतिरेक अलङ्कार ध्वनि ध्वनित छ ।
(ग) अलङ्कारबाट वस्तुध्वनि –
“देवी तुफान हूँदा उनैको घोर दुःखसागरमा
ढलपल फितलो ढुङ्गो सोझिन लाग्यो समालिँदै तटमा ॥”
(आदर्श राघव – सोमनाथ सिग्देल)
यस पङ्क्तिमा हनुमान्को कथनमा अभेद रूपक अलङ्कारबाट दुःखको अन्त्य हुने अवस्था रूप वस्तु ध्वनिमा ध्वनित छ ।
(घ) अलङ्कारबाट अलङ्कारध्वनि –
“हजार नारी भरिँदा तिम्रा मनमा न अड्न सक्नाले
सब काम छाडी हर्दम दुब्ली झन् ती बनी रहिन् दुब्ली॥”
(पूर्वीय काव्य सिद्धान्त – गोविन्दप्रसाद भट्टराई)
उपर्युक्त पङ्क्तिमा कविकल्पित दूतिका कथनमा नायकका मनमा नायिका अड्न नसकेकी भन्ने हेतुबाट बुझिने काव्यिलङ्ग अलङ्कारद्वारा दुब्लाउँदा पनि तिम्रो मनमा अटाउन सकिनन् भन्ने विशेषोक्ति अलङ्कार ध्वनित भएको छ ।
(इः शब्दार्थोमय शकत्युद्भव ध्वनि । सङ्लक्ष्यक्रमव्यङ्ग्य ध्वनि –
जुन काव्य सिर्जनामा वा पङ्क्तिमा वा कुनै पनि रचनामा शब्द र अर्थ दुवै प्रधान रहन्छन् अनि कुनै शब्द परिवर्तन गर्न सकिने वा हुने र कुनै बदलिन नहुने प्रकारको शब्दार्थ दुवै प्रमुख रहने व्यङ्ग्यार्थलाई शब्दार्थोमय शकत्युद्भव ध्वनि भनिन्छ । यसमा कुनै भेदहरू नहरेकाले यसलाई एउटै भैदमा वर्गीकृत गरिएको देखिन्छ । उदाहरण –
“पाई आश्रय चन्द्रको कुमुदको बन्दा विकासक्रम
बस्थे खुम्चिइ पद्मवृन्द नखुली बन्थे सधैँ खुल्दुल
भोगीको सब भोगको समय सो हुँदो भएथ्यो निको
योगीको तब योगको रिपु थियो भारी थियो दोष यो ॥”
(पूर्वीय काव्य सिद्धान्त – गोविन्दप्रसाद भट्टराई)
उपर्युक्त कविता पङ्क्तिमा पद बदलिन सकिने “आश्रय”, “नखुली”, “समय”, “निको” जस्ता शब्दहरू र “चन्द्र”, “कुमुद”, “योगी’जस्ता शब्दहरूको अर्थ यी दुवै मिलेर चन्द्रशमशेर चन्द्रमाजस्ता, भोगप्रेमी भारादारहरू भोगीजस्ता, उद्योगीहरू योगीजस्ता भन्ने अर्थ व्यक्त भएकाले उपमा अलङ्कार ध्वनि ध्वनित भएको छ ।
ध्वनिका भेदोपभेदहरूको सोदाहरण अध्ययन प्रस्तुत गर्ने क्रममा उपर्युक्त जुन सामग्रीहरू टिपिएका छन् ती सबै सामग्रीहरूलाई सन्दर्भका रूपमा विद्वान् केशवप्रसाद उपाध्यायको “पूर्वीय काव्य सिद्धान्त”-बाट लिइएको हो ।
ध्वनि र शब्द शक्ति –
“प्रतीतपदार्थको लोके ध्वनिः शब्द इत्युच्यते ।”
संसारमा पदार्थलाई बुझाउने ध्वनिलाई शब्द भनिन्छ । शब्दको शक्ति असीम हुन्छ । शब्द उच्चारण गर्नेबित्तिकै त्यसले हाम्रो मन, कल्पना र अनुभूतिलाई प्रभाव पार्दछ । तित्तिरी वा कुनै अमिलो खानेकुराको नाउँ लिँदुहुँदी मुखभरि थुक (राल ?) आउन थाल्छ । भूत, बोक्सी-डाइनी, अजिङ्गर-कोब्रा-साँप आदि डरलाग्दा शब्द उच्चारण गर्नासाथ मनमा डर उत्पन्न हुन्छ – यो अर्थगत हो । यसकारण जुन शक्तिद्वारा शब्दको त्यो अर्थगत प्रभाव पार्दछ त्यसैलाई शब्द शक्ति भनिन्छ । यो एक प्रकारको शब्द र अर्थको सम्बन्ध हो । शब्दको यस्तो शक्तिलाई शास्त्रीय भाषामा “अमिधा” शब्द शक्ति भनिन्छ ।
फेरि धेरैपल्ट शब्दको प्रयोग यति कुशलतापूर्वक गरिन्छ, त्यसको शक्ति कुनै अर्थमा हुन्छ भने त्यसको प्रयोग अर्को अर्थमा गरिन्छ र यसमा शब्दको मुख्य वृत्ति (शक्ति) हुँदैन । साहित्य क्षेत्रमा यस्ताखाले प्रयोगबारे व्यापक विवेचना-विश्लेषण भएको छ र यस्तो औपचारिक प्रयोगलाई विधिवत् रूपमा स्वीकृति पनि प्राप्त भएको छ । यसमा शब्दको मुख्यार्थको ठाउँमा अर्को अर्थ रहेको हुन्छ । शब्दको यस वृत्ति (शक्ति)-लाई लक्षणा-वृत्ति (शक्ति) भनिन्छ । जस्तै – “टिष्टामा घर छ ।”
यस वाक्यमा “टिष्टा” शब्दको मुख्यार्थ जलप्रवाह वा नदी हो ; त्यस जलप्रवाहमा घर अवस्थित हुन नसक्ने हुनाले त्यो जलप्रवाह वा नदीको नजिकैको टिष्टाको किनार (छेउ ?) भन्ने शब्दको आशय वाक्यार्थ सुसम्बद्ध बन्दछ । सामान्य रूपमा शब्दले सङ्केत नगरेको विशिष्ट अर्थलाई बुझाउन शब्दसँग गुणविशेष सम्बन्ध भएको अर्को शक्तिको आवश्यकता पर्ने हुन्छ । त्यसैलाई लक्षणा भनिन्छ । लक्षणाबाट मुख्य रूपमा दुई भेद देखा पर्छन् –
(१) रूढि लक्षणा र (२) प्रयोजनवती लक्षणा
(१) रूढि लक्षणा – रूढि लक्षणामा प्रयोग र परम्पराको कारणले मुख्यार्थमा बाधा हुन्छ तर बाधा भए पनि मुख्यार्थसँग लक्ष्यार्थको सम्बन्ध स्थापित भएको हुन्छ ।
(२) प्रयोजनवती लक्षणा – प्रयोजनवती लक्षणामा कुनै विशिष्ट प्रयोजनको कारणले लक्षणाको प्रयोग गरिन्छ । प्रयोजनवती लक्षणा उपादान लक्षणा र लक्षणा लक्षणा गरी दुई किसिमका हुन्छन् ।
जुन लक्षणामा मुख्य अर्थका साथसाथै लक्ष्य अर्थ पनि रहन्छ अर्थात् लक्षणा गर्दा पनि मुख्यार्थलाई कायमै राखी उसैसँग अरू थपिने अर्थको समक्ष लक्षणा हुन पुग्ने तरिकालाई उपादान लक्षणा भनिन्छ । यसले आफ्नो अर्थलाई नदेख्ने भएकाले यसलाई अजहत लक्षणा पनि भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा यसलाई अजहत स्वार्थ (स्व = आफ्नो, अर्थ = आशय, मतलबी ) पनि भनिन्छ । जस्तै –
“चितुवाले बाख्रा लैजान्छ, होशियार गर है ।”
यस वाक्यमा चितुवाबाट बाख्राको मात्र रक्षा गर्नु होइन तर चितुवाले बाख्रा सँगसँगै गाई, भैँसी, मान्छे समेत बोकेर लैजाला भनेर होशियार गर्नु भनिएको हो । यहाँ बाख्रा मुख्यार्थ निहित अन्य पशुहरूलाई पनि लक्ष्यार्थमा बुझाइएको छ । चितुवाले आफ्नो लक्षण अर्थात् स्वार्थ पनि नछाड्ने हुँदा यसलाई उपादान लक्षणा वा अजहत लक्षणा पनि भनिएको हो ।
उपादान लक्षणा पनि आरोप लक्षणा र साध्यवसाना लक्षणा गरी दुई प्रकारका हुन्छन् ।
अभिधा लक्षणाका अतिरिक्त एउटा अर्को शब्दशक्ति पनि हुन्छ जसलाई व्यञ्जना शक्ति भनिन्छ । अभिधामा अभिधेयार्थ मात्र बोध हुन्छ र लक्षणामा “अभिधेयार्थ”-सित सम्बन्धित कुनै अर्को अर्थको बोध हुन्छ । व्यञ्जनको शाब्दिक अर्थ हुन्छ “प्राकट्य” । अर्थात् कहीँ कुनै वस्तु कुनै आवरण शक्तिभित्र लुकेको छ र त्यस वस्तुलाई आवरणबाट निकालेर राखियो भने त्यस वस्तुको व्यञ्जना भएको छ । भन्नुपर्ने वा भनिहाल्नुपर्ने कुरा भए तापनि लाज सङ्कोच र शिष्टाचारको कारणले त्यो कुरा वक्ताले चाहेर पनि भन्न सक्तैन तर त्यो कुरा भन्नैपर्ने हुन्छ । यस्तो स्थितिमा वक्ताले व्यञ्जना (= स्पष्ट पार्नु, खोल्नु वा विकसित )गर्नु) शक्तिको आश्रय लिन्छ । अभिधा र लक्षणा शक्तिहरूको निजी अर्थबोध गरेपछि जुन शक्तिले अर्को अर्थबोध हुन्छ, त्यसलाई व्यञ्जना भनिन्छ । यस्तो शब्दलाई व्यञ्जक र अर्थलाई व्यङ्ग्यार्थ भनिन्छ । उदाहरणका निम्ति “इस्कनमा घर छ ।”
यस वाक्यले के स्पष्ट बुझाउँछ भने, इस्कन एउटा मन्दिर हो । लक्ष्यार्थले इस्कन मन्दिरको नजिकै वा छेवैमा घर छ भन्ने अर्थ प्रदान गर्छ तर व्यञ्जनार्थमा भगवान् श्रीकृष्णको भक्ति गर्ने पवित्र ठाउँमा घर छ भन्ने बुझिन्छ । यस वाक्यले सुन्नेलाई सम्पूर्ण वृतान्त बुझ्न पटक्कै गाह्रो पर्दैन । यी सबै व्यञ्जना शक्तिका चमत्कार हुन् । यसबारेमा के उल्लेखनीय छ भने, व्यङ्ग्यार्थ बुझ्नका निम्ति प्रसङ्ग, यसको मनःस्थिति, प्रकरण, वातावरण आदिको ज्ञान हुन नितान्त आवश्यक छ किनभने यी सबै सम्यक् ज्ञानबाटै वक्ताको मुख्य भनाइ स्पष्ट हुन सक्तछ । व्यङ्ग्यार्थको अर्को एउटा विशेषता के पनि छ भने, तिनको मूलाधार अभिधेयार्थ नै व्यङ्ग्यार्थहरूको प्रतीत पनि हुन सक्छ जुन श्रोताहरूको मनःस्थितिमाथि निर्भर गर्दछ ।
ध्वनिवादको सम्बन्ध वाच्यार्थ व्यङ्ग्यार्थ आदिसित छ । यसकारण ध्वनि र शब्दशक्तिको सम्बन्ध नङमासुझैँ नै देखिन्छ । शब्दशक्तिको पछ्यौरा समाएर नै ध्वनि स्वरूप छर्लङ्गै बुझ्न सकिन्छ ।
ध्वनि र रस –
रससम्बन्धी चर्चा गर्ने क्रममा रसवादी प्रथम आचार्य भरतमुनिले विभाव, अनुभाव, व्यभिचारी भावहरूको संयोगबाट रसको उत्पत्ति हुन्छ भन्ने कुरा बताएका छन् । व्यञ्जना शक्तिद्वारा रस अभिव्यक्ति हुन्छ भन्ने कुरा आचार्य भरतमुनिको उपर्युक्त तथ्यबाट सिद्ध हुन्छ । यही तथ्यलाई दृष्टगत गरेर ध्वनिकार आनन्दवर्नले पनि रसलाई ध्चनिभित्र समेटेको पाइन्छ । यस ध्वनि र रसको सम्बन्ध झट्ट हेर्दा विचित्र किसिमको देखिए तापनि अखण्ड रूपमा ध्वनि स्वयम् रस बनेको पाइन्छ । ध्वनिलाई काव्यको आत्मा ठान्ने / मान्ने ध्वनिकारले शोक भावलाई पनि काव्यको आत्मा मानेका छन् ।
“काव्यास्यात्मा स एवार्थस्तथा चादिकवेः पुरा ।
क्रौञ्चद्वन्द्ववियोगोत्थः शोकः श्लोकत्वमागतः॥ (ध्वन्यालोक – प्रथम उद्योत)
उपर्युक्त श्लोकांशबाट ध्वनिकार रसध्वनिप्रति धेर झुकेका देखिन्छन् । वस्तुध्वनि र अलङ्कारध्वनिलाई उनले त्यति ध्यान दिएको देखिँदैन । ध्वनिकार आनन्दवर्धनकै बिँडो थामेर वा उनकै सारमा लागेर रसवादी आचार्य विश्वनाथले पनि “साहित्य दर्पण”- मा ” “वाक्यं रसात्मक काव्यम्” (रसात्मक वाक्य नै काव्य हो) भनेर रसको महत्त्व स्पष्ट पारेका छन् । यसबाट के स्पष्ट हुन्छ भने, ध्वनिवादीहरूले पनि ध्वनिको उत्कृष्ट तत्त्व रस हो भन्ने कुरा स्विकारेका छन् । ध्वनि र रसको सम्बन्धमा भिन्नता पनि छ समानता पनि । यस सम्बन्धलाई आत्मा र परमात्माको सम्बन्धझैँ नै मान्न सकिन्छ ।
पूर्वीय काव्यशास्त्र परम्परामा ध्वनिसिद्धान्तको स्थान र मूल्य –
पूर्वीय काव्यशास्त्रमा ध्वनिसिद्धान्त काव्यको अनुसन्धान गर्ने सिद्धान्त हो । प्रतिहारेन्दुराज, धनञ्जय, धनिक, कुन्तक, भट्टनायक, महिमभट्ट, क्षेमेन्द्र आदि धेरै आचार्यहरूले यो सिद्धान्तलाई स्वीकार नगरे तापनि वा विरोघ खण्डन गरे तापनि ध्वनिकार आनन्दवर्धनले यस सिद्धान्तलाई सुन्दर रूपले समर्थन गरे । आनन्दवर्धन र अभिनवगुप्तले यस सिद्धान्तलाई यस्तो पाराले समर्थन गरे जसमा मम्मट आदि पछिका अलङ्कारवादीले समेत अनुसरण गरेको पाइन्छ । ध्वनिसिद्धान्तको स्थापनाकालमा उपर्युक्त आचार्यहरूले यस सिद्धान्तबारे विरोध प्रदर्शन गरे तापनि आचार्य अभिनवगुप्तले उनको “ध्वनयोलोकलोचन”-मा ध्वनिसिद्धान्तबारे गरेको व्याख्या र अर्का विद्वान् आचार्य मम्मटले उनैको “काव्यप्रकाश”-मा आफ्नो मत प्रकाश गरेपछि ता ध्वनिसिद्धान्तले महत्त्वपूर्ण र श्रेष्ठ काव्य सिद्धान्त रूपमा मान्यता पायो । यो मान्यता पाएपछि ध्वनिकाव्यले सर्वोत्तम काव्यको सिंहासनमा विराजमान हुने गतिलो मौका साथसाथै सफलता पनि पायो ।
“काव्यको आत्मा ध्वनि हो” भन्ने कथनलाई स्थापित गर्न ध्वनिकार आनन्दवर्धनले उनको ग्रन्थ “ध्वनयालोक”-मा यसरी प्रतिपादन गरे –
“काव्यस्यात्मा ध्वनिरिति बुधैर्यः समाम्नातपूर्व-
स्तस्याभावं जगदुरपरे भाक्तमाहुस्तमन्ये ।
केचिद् वाचां स्थितमविषये तत्त्वमूचुस्तदीयं
तेन ब्रूमः सहृदयमनःप्रीतये तत्स्वरूपम् ॥ १॥”
यस श्लोकमा भनिएको छ, काव्यतत्त्वविद्हरू धेरैले ध्वनि स्विकार्दैनन् । उनीहरू भन्छन् शब्द, अर्थ तथा अलङ्कारबाहेक काव्यको अन्य कुनै गुण छैन ।
काव्यको आत्मा ध्वनि हो अनि यो रसवादी र ध्वनिवादी चिन्तनद्वारा अभिव्यञ्जित हुनाका कारणले ध्वनिसिद्धान्तमा यसको स्थान र मूल्य सर्वोच्च देखिन्छ । ध्वनिवाद कदाचित् रसविरोधी मात्र होइन रसवादलाई पूर्ण प्रतिष्ठा दिलाउने काममा ध्वनिको सोह्रै आना भूमिका रहेको छ । रस वाच्य वा लक्ष्य हुँदैन, रस व्यङ्ग्य हुन्छ । ध्वनिकार सोही व्यङ्ग्यार्थलाई काव्यमा सर्वश्रेष्ठ प्रमाणित गर्न सदा-सर्वदा आतुरिरहेको हुन्छ ।
ध्वनिवाद सिद्धान्त एउटा यस्तो सिद्धान्त हो जो स्वयममा निरपेक्ष छ । यो कुनै सिद्धान्तको पक्षपाती छैन, देखिँदैन । यस सिद्धान्तले फेरि अन्य कुनै पनि सिद्धान्तलाई होच्याउने डग्ने र तुच्छ ठान्ने वा भेदभाव गर्ने काम गरेको कतै देखिँदैन । काव्यको आवश्यक तत्त्वलाई प्रामाणिक व्याख्या र सटिक उदाहरणसहित प्रस्तुत गर्नु यस सिद्धान्तको मूल धर्म देखिन्छ । त्यतिमात्रै होइन, यसलाई आन्तरिक र बाह्य तत्त्वका रूपमा समेटी सबै तत्त्वको समावेश गराई काव्य सौन्दर्य प्रकट गर्नु नै ध्वनिसिद्धान्तको अडान देखिन्छ । शब्दको प्रतीयमान अर्थ नै काव्यको गुदी हो भन्ने पक्षमा यो सिद्धान्त तटस्थ रहेको देखिन्छ ।
ध्वनि काव्यले मात्र साहित्यका विविध रूप र सिद्धान्त पूर्णाङ्ग हुन सक्दैन, बरू यो अधूरो/ अपूरो रहन्छ । ध्वनिकाव्यलाई पूर्णाङ्ग सिद्ध गराउन यरभित्र रस, वस्तु, अलङ्कारलाई बडो आदर र सम्मानसहित समेटेर ध्वनि काव्यलाई तीन प्रकारमा वर्गीरण गरिएको छ । यी तीन प्रकारमध्ये रसध्वनि काव्य नै उत्कृष्ट ठहरिएकाले यस सिद्धान्तले रसकै प्रतिष्ठालाई ससम्मान बढाएको छ । यस्तै प्रकारले अलङ्कार र रीतिमाझ देखिएको चर्को विवादलाई समेत साम्य पारी यी दुवै काव्यका बाह्य तत्त्व, आभूषण र शारीरिक बनावटझैँ काव्यिक भनी अलङ्कार ध्वनि काव्यलाई पनि स्थान दिने काम गरेर पूर्वीय काव्यशास्त्रमा यस सिद्धान्तले अहम् भूमिका निर्वाह गरेको छ ।
यसैगरी शव्दशक्तिका तीनओटा रूपमध्ये व्यञ्जना शक्तिलाई यस सिद्धान्तले मूल आधार मानेर काव्यलाई शब्दार्थ भन्दा व्यङ्ग्यार्थलाई प्रमुख रूपमा प्राथमिकता दिएको देखिन्छ । यस सिद्धान्तको प्रमुख भूमिका हेर्दा, यसले सम्पूर्ण काव्यसिद्धान्तलाई एउटै ठाउँमा सहभागी बनाएको देखिन्छ ।
पूर्वीय साहित्यको नालीबेली केलाउँदा विभिन्न आचार्यहरू लगायत अन्य सिद्धान्तले समेत साँच्चै मुख्य मार्ग फेला पार्न नसकेको देखिन्छ । यस्तो अन्योल स्थितिमा ध्वनिसिद्धान्तले नै साँच्चै मुख्य मार्ग फेला पारर काव्यात्मा र काव्यसौन्दर्य छ्याङ्गै र छर्लङ्गै पार्नमा छिनु र मार्तोलको काम गरेको देखिन्छ । यसैकारण यस ध्वनिसिद्धान्तलाई सफल सिद्धान्त मान्न वा स्विकार्न सकिन्छ ।
हुन ता पूर्वीय काव्यशास्त्रमा ध्वनिसिद्धान्तबारे विरोधहरू नदेखिएका होइनन् । यस्तो विरोधप्रति अझ अर्को विरोध नजन्माई यस सिद्धान्तको भगीरथ प्रयासमा सबैलाई समन्वय गर्ने काम भएको हुँदा यो सफल पनि भएको छ । यसैकारण पनि पूर्वीय काव्यशास्त्रमा ध्वनि सिद्धान्तलाई अत्यन्तै स्वीकार्य अनि सफल काव्यसिद्धान्त मानिन्छ । पूर्वीय काव्यशास्त्रमा यो ध्वनिसिद्धान्तको स्थान महत्तम मानिन्छ । ध्वनि शब्द अन्वेषण गरी यसलाई प्रामाणिक रूपमा व्याख्या गर्नु ध्वनिसिद्धान्तको खास उद्देश्य देखिन्छ । यसै आधारमा काव्यात्माको पहिचान प्रतीयमान अर्थलाई विशिष्ट काव्य तोक्ने ध्वनिकार आनन्दवर्धन प्रतिपादित ध्वनिसिद्धान्तको स्थान र मूल्य पूर्वीय काव्यशास्त्रमा सर्वश्रेष्ठ, सर्वोत्तम सँगसँगै निष्पक्ष देखिन्छ ।
पूर्वीयकाव्य शास्त्रमा ध्वनिसिद्धान्त महत्तम, उत्कृष्टतम एवम् महान् उपलब्धि हो । त्यति मात्र होइन ध्वनिवाद काव्यको आन्तरिक तहलाई महत्त्व दिने प्रसिद्ध साहित्यिक वाद हो ।
ध्वनिवादी प्रमुख आचार्यहरू –
ध्वनिकार आनन्दवर्धन प्रतिपादित ध्वनिसिद्धान्तलाई समर्थन गर्ने ध्वनिवादी प्रमुख आचार्यहरूमा मम्मट, विश्वनाथ, पण्डितराज जगन्नाथ, अभिनव गुप्त आदिको नाम विशेष उल्लेखनीय छन् । छोटकरीमा आनन्दवर्धनसहित अन्य आचार्यहरूको सङ्क्षिप्त परिचय यहाँ दिइन्छ –
आनन्दवर्धन –
नवौँ शताब्दीका आचार्य मानिएका आनन्दवर्धन ध्वनिवादका संस्थापक हुन् । काश्मीरका राजा अवन्तीका सभा पण्डितको आसनमा विराजमान आनन्दवर्धनको ग्रन्थ हो “ध्वन्यालोक” । यस ग्रन्थमा यिनले ध्वनिसिद्धान्तको प्रतिष्ठा गर्दै “ध्वनि काव्यको आत्मा हो र अर्थ शरीर हुन्” भनी काव्यको परिभाषा प्रतिष्ठापित गरेको पाइन्छ ।
आनन्दवर्धनको यस मतले भामह र दण्डीको मतलाई सामान्य खण्डन गरेको देखिन्छ । ध्वनि काव्य वा लक्ष्य नभएर व्यङ्ग्य हुन्छ भन्ने यिनको ठहर छ । यसैकारण यिले व्यङ्ग्यार्थलाई प्रमुख र शब्दार्थलाई गौण तत्त्वका रूपमा प्रस्तु गर्दै आफनो तर्क बलियो पारेको देखिन्छ । यिनका ध्वनिवादी सिद्धान्तमाथि विरोधी मतहरू देखिए पनि ती विरोधी मतहरूको यिनले कठोर रूपमा खण्डन गरी काव्यमा ध्वनिको महत्त्वबारे आफ्नो धारणा पेस गर्नमा कुनै कसर छोडेको देखिँदैन ।
मम्मट –
“ध्वनिप्रस्थापनरमाचार्य” उपाधिले विभूषित प्रकाण्ड विद्वान् हुन् । काश्मीरवासी यी विद्वान्को समय ईशाको एघारौँ शताब्दीको हो भन्ने उल्लेख पाइन्छ । “काव्यप्रकाश” यिनको बहुचर्चित ग्रन्थ हो । यस ग्रन्थमा यिनले काव्यमाथि विशद रूपमा चर्चा गरेको पाइन्छ ।
ध्वनिवादी मतका कट्टर पक्षधर मम्मटले ध्वनिलाई यसरी परिभाषित गरेको पाइन्छ – “काव्यार्थको तुलनामा व्यङ्ग्यार्थ धेर चमत्कारपूर्ण हुने काव्य नै उत्तम हुन्छ । जसलाई विद्वान्हरू पनि ध्वनि भन्दछन् ।”
विश्वनाथ –
चौधौँ शताब्दीका ख्यातिप्राप्त साहित्यशास्त्रीका पगरी गुँथ्ने विश्वनाथ पूर्वीय साहित्यमा शीर्षस्थ विचारकहरूमध्ये एक जना प्रमुख आचार्य हुन् । यिनले रसको विशद रूपमा व्याख्या गरेको पाइन्छ । रसको व्याख्या गर्दा यिनी ध्वनिवादका विरोधीजस्ता देखिए पनि काव्यमा ध्वनिलाई तत्त्वका रूपमा हेरेको पाइन्छ । ध्वनिको परिभाषा दिने क्रममा यिनले ध्वनिलाई “ध्वनि त्यो काव्य हो जसमा अभिप्रायको तुलनामा व्यङ्ग्यार्थ अतिशय चमत्कारपूर्ण हुन्छ” भनेका छन् । ध्वनि काव्य नै उत्तम काव्य पनि हो भनेर ध्वनिसिद्धान्तलाई पूर्ण समर्थन गरेको पाइन्छ ।
पण्डितराज जगन्नाथ –
मुगलसम्राट् शाहजहाका दरवारी पण्डितको आसनमा विराजमान पण्डितराज जगन्नाथ सत्रौँ शताब्दीका प्रकाण्ड विद्वान् र कवि हुन् । विभिन्न विषयमा विविध रचनाहरू रच्ने जगन्नाथको “रसगङ्गाधर” (अलङ्कारशास्त्र) नामक ग्रन्थमा काव्यसम्बन्धी मान्यताहरू प्रकट भएको पाइन्छ ।
यिनी पनि ध्वनिवादका खाँटी समर्थक हुन् । ध्वनिवादको परिधिभित्र आफूलाई समेटेर मम्मटको धारणालाई प्रस्ट पार्ने यिनको प्रयास हक्कीको देखिन्छ ।
अभिनवगुप्त –
अभिनवगुप्त पनि प्रकाण्ड विद्वान् हुन् । यिनी ध्वनिवादीका कट्टर समर्थक देखिन्छ अर्थात् अन्य ध्वनिववादी आचार्यहरूझैँ यिनी पनि ध्वनिवादी हुन् । अभिनवगुप्जस्ता प्रतिभावान् आचार्य आनन्दवर्धनद्वारा प्रतिष्ठापित ध्वनिसिद्धान्तलाई एउटा सशक्त साहित्यिकवादका रूपमा स्थापित गरे । ध्वनिवादी आचार्य अभिनवगुप्तले ध्वनिको वर्गीकरणमा ज्यादै व्यावहारिकता देखाउँदै ध्वनिलाई रस ध्वनि, वस्तु ध्वनि र अलङ्कार ध्वनि गरी तीन भेदमा बाडेका छन् ।
ध्वनिसिद्धान्त- समीक्षा
जहाँ शब्दले वाच्यार्थलाई अनि वाच्यार्थले आफ्नो स्वरूपलाई व्यङ्ग्यार्थमा समर्पण गरेर त्यसैलाई अभिव्यक्त गर्न सक्छ, काव्यशास्त्रीहरूले त्यस विशेष प्रकारको काव्यलाई “ध्वनिकाव्य” भनेका छन् । यस भनाइलाई व्याख्या-विश्लेषण गर्न ध्वनिकार आनन्दवर्धनले ध्वनिबारे आफ्नो सिद्धान्त यस प्रकारले स्थापना गर्ने जमर्को गरेका छन् –
“अर्थोगुणीकृतात्मा, गुणीकृताभिधेयश्च शब्दो यत्रार्थान्तरम् अभिव्यक्ति स ध्वनिरिति । ….व्यङ्ग्यप्रधान्ये हि ध्वनिः न चैतम् समासोक्ति या दिष्वन्ति” – धवन्यालोक ।
वाचक शब्दले त्यसको अभिधेय अर्थलाई अनि यो वाच्य अर्थले आफैलाई गुणीकृत गरी आर्थान्तर अभिव्यक्त गर्दा ध्वनि हुन्छ ।
यहाँ व्यङ्ग्य मुख्य हुन्छ । समासोक्ति इत्यादिको ठाउँमा त्यसो हुँदैन । शब्दालङ्कार (जस्तै अनुप्रास) अर्थालङ्कार (जस्तै उपमा) इत्यादिको वाचक र वाच्यमा जुन सुन्दरता सम्पादन हुन्छ ध्वनि त्यो भन्दा बेग्लै हुन्छ । अभिनवगुप्तले लोटनटीकामा यसको जुन विश्लेषण गरेका छन् त्यसको जुन विश्लेषण गरेका छन् त्यसको स्पष्टीकरण यसरी गरिएको पाइन्छ – ‘”Thus the term dhavani can mean : (i) the suggestive word; (ii) the suggestive primary meaning (वाच्य): (iii) the suggested sense (व्यङ्ग्य); (iv) the function of suggestion (व्यञ्जकव्यापार) and (v) the poem as a whole having any or all of these elements (काव्यसमुदाय).” – (Bishnupada Bhattacharya, Dhavanayaloka of Anandavardhana Uddota, Calcutta १०६५, page १६५).
ध्वनि शब्द ध्वनिकार आनन्दवर्धनले नै आविष्कार गरेका हुन् भन्न मिल्दैन । यसै पनि ध्वनिकार स्वयंले ध्वनि शब्द उनेको उपज हो भनी कतै धाक पिटेका वा मूर्ख लिँडेढिपी गरेका छैनन् । यसभन्दा अगावै विभिन्न स्थानमा ध्वनि शब्द प्रयोग भएको कुरा ध्वनिकारले स्विकारेको पाइन्छ । स्तोत्र पाठ गर्दा क्रमबद्ध रूपमा आएको शब्द परम्पराको जब अन्तिम अंश सुनिन्छ तब शब्द सुनियो भनिन्छ । जस्तै, घण्टी बजाउँदा शब्द कानमा प्रवेश गर्छ । शब्द कानमा प्रवेश गरे पछि घण्टी बजाउन बन्द गर्दा जसरी त्यसको झननन…झङ्कार सुनिरहन्छ, त्यसैलाई ध्वनि भनिन्छ ।
भर्तृहरिले भनेका छन् संयोग-वियोगदिको कारणले शब्दबाट उत्पन्न भएको शब्दलाई ध्वनि वा स्फोट भनिन्छ ।
“स संयोगवियोगाभ्यां करणैरुपजन्यते ।
स स्फोटः शब्दजः शब्दो ध्वनिरित्युच्यते बुधैः॥”
अभिनवगुप्त भनछन् , व्यङ्ग्य अर्थ पनि घण्टीको झङ्कारजस्तै भइरहन्छ । अव्यक्त शब्दको विषय यसरी निर्देश गरेर व्यक्त शब्दबारेमा भर्तृहरिले के भनेका छन् भने, वर्णसमष्टिको अन्तिम अंशले जुन स्फोटांशलाई अभिव्यञ्जित गर्छ त्यसलाई ध्वनि भनिन्छ ।
पूर्वीय काव्यशास्त्रमा, व्यञ्जना र ध्वनिबारे जति विस्तृत चर्चा भएको छ त्यति नै पश्चिमी समालोचना साहित्यमा भने भएको छैन । तथापि वर्तमान युगो काव्यसमालोचनामा भने व्यञ्जना काव्य प्राण हो भन्ने विषयमा धेरै मात्रामा ध्यान केन्द्रित भएको पाइन्छ । रिचार्डले Philosophy of Rhetoric मा के भनेका छन् भने, जुन शब्दमा आंशिक रूपले उच्चारण ध्वनि र अर्थको मेल हून्छ (जस्तै flare, flush, fame) । ती स्थानहरूमा यिनीहरूको कुनै पनि एउटा शब्द प्रयोग भए तापनि त्यसबाट उत्पन्न अन्य शब्दको अर्थ वा चित्र त्यसमध्येबाट व्यञ्जित हुन्छ । त्यसलाई तिनले को रूपग्राम (Morepheme)-को आख्या दिएका छन् । यस प्रसङ्गमा रिचार्डले भनेका छन् – ‘I conclude then that these expressive or symbolic words get their feeling of being peculiarly fitting from the other words sharing the Morphemes whoch support them in the background of the mind is translation, for example, the expressive word in another language will not necewssarily sound at all like the original word. Evidently, again a proper appreciation of the expressiveness of a word in a foreign language will be no matter of merely knowing its meaning and relishing its sound. It is a matter of of having in the background of the mind the other words of the language which share Morphemes with it. Thus no one can appreciate these expressive features of foreign words justify without a really wide familiarity with language.”
अभिहितान्वयवादर अन्विताभिधानन्द सम्बन्धको उल्लेख गर्दै रिचार्डले यिनीहरू दुवैमध्ये कसैलाई ग्रहण नगरी वाक्यस्फोट पक्ष ग्रहण गरेका छन् । “There is a misconception which typically takes the meaning of a sentence to be built up from seperate meanings of its words instead of recognising that it is the other way about, and that the meaning of words are derived from the meaning of sentences is which they occur.” तर वाक्यस्फोट-पक्ष यहाँ स्वीकृत भए पनि मूलतः व्यञ्जना स्वीकृत भएजस्तो लाग्छ । वाक्यस्फोट पक्ष तथा व्यञ्जनास्फोट पक्षमाझ सामान्य सामञ्जस्य देखिन्छ । वाक्यस्फोटको मूल मर्म के हो भने, समस्त वाक्यमार्फत एउटा अर्थ प्रस्फुटित हुन्छ त्यसैलाई स्फोट भनिन्छ ।
व्यञ्जनासम्बन्धी निजी विचार व्यक्त गर्ने क्रममा रिचार्डले केही मतहरूलाई अनुवाद गरी के भनेका छन् भने, कुनै बाह्यवस्तु हामीले देख्ने वा स्वर स्मरण गर्नेबित्तिकै हाम्रो मनमा सँगसँगै क्रियात्मक विषय उत्पन्न हुन्छ । कुनै पनि व्यक्ति जब अग्लोहोचो भएको स्थानमा हिँड्छ तब अज्ञात रूपमा उसको प्रत्येक पाइला त्यति बेला भने हिँड्दा उसको पाइला स्वतः सतर्क बन्छ । पुराना कुरालाई नयाँ आकारको रूपमा हेर्नका निम्ति आरोहण-अवरोहण हुन्छ र हाम्रो मन विभिन्न कल्पना, विविध विषयमा सञ्चारित हुन्छ । एक जना सहृदयी व्यक्ति र साधारण व्यक्तिमाझ के पार्थक्य छ भने, सहृदय व्यक्तिभित्रका मनका भावहरूले चञ्चलता उत्पन्न गर्नाका साथै अनुभूति उत्पन्न गर्छ तर साधारण व्यक्तिको मनभित्र त्यसैले बाह्य चञ्चलता मात्र उत्पन्न गर्छ । “But imaginal actiona and incipent action which does not go so far as actual muscular action are more important than over action in the well-developed human being, indeed the difference between the intelligent and the stupid crass person is a difference in the extent to which over action can be replaced by the incipient.” (Principles of Criticism) । कुनै पनि अभिनय हेरेपछि सहृदय व्यक्तिको मनमा जसरी अन्तःस्फुरणद्वारा त्यसको रसास्वादन हुन्छ भने साधारण व्यक्तिहरू त्यस्तो अभिनय देखेर अभीभूत हुन्छन् । यो अन्तर्व्यापार र अन्तःस्फुरणलाई रिचार्डले मनोवृति (Attitude) नाउँ दिएका छन् । हाम्रा अलङ्कारवादीहरूको भाषामा यसलाई वासनानुप्राणित व्यभिचारभाव भन्न सकिन्छ । “These imaginal and incipient activities or tendencies to action I shall call attitude. When we realise how many and how different may be the tendencies awakened by the situation, and what scope there is for conflict suppression and interply – all contributing something to an experience – it will not appear surprising that the clasification and analysis of attitude is promptings. likely stimulated tendencies to acts of one kind or another, faint priliminary prepatations for this or that, has been constantly overlooked in criticism, Yet it in terms of attitude, the resolution interanimation and balancing of inpulses – Aristotle’s definition of tragedy is an instance – that all the most valuable effects of poetry must be describe.” (Principles of Criticism) ।
पूर्वीय अलङ्कारवादीहरूको काव्यमीमांसाको चर्चा गर्दा भरत र भामह दुवै आचार्यहरूले रसको काव्योपयोगिता स्वीकार गरेको पाइन्छ । काव्यको चमत्कारिता शब्द, छन्द, अलङ्कार, औचित्य सिद्धान्त आदि समावेश हुँदा निष्पन्न हुन्छ भन्ने कुरा विशेषतः भामहले स्पष्ट गरेका छन् तर यिनीहरूले कुनै स्पष्ट विश्लेषण गरेर काव्यतत्त्वको मूल सूत्र प्रस्ट्याउने कोसिस भने गरेनन् । पछि आएर दण्डीले काव्यको दोष-गुण-रीतिबारे धेरै चर्चा गरेका छन् । अर्कातिर भरतका टीकाकार भट्टलोट, श्रीशङ्कुक र भट्टनायक आदिले नाटकमा रस कसरी प्रतीत हुन्छ सोबारे चर्चा गर्दाहुँदी पाठक र दर्शक कसरी अभीभूत हुन्छ भन्ने कुरामा विशद रूपमा आलोचना गरेका छन् । अभिनवगुप्तले “रस नै काव्य हो” भनी एउटा साधारण मूल सूत्रद्वारा दोष-गुण-रीति, अलङ्कार आदि काव्यमा सम्पूर्ण विविध अङ्गलाई यस रस सूत्रद्वारा नै व्याख्या गर्ने प्रचेष्टा गरेको पाइन्छ । यता ध्वनिकार आनन्दवर्धनले काव्यको शब्द र अर्थ कुन आधारले वा कारणले काव्य रूपमा स्वयमलाई प्रकाश गर्छ भन्ने विषयको चर्चा गर्ने क्रममा ध्वनिवाद सिद्धान्त प्रतिष्ठापित गरे । यसैकारण यो ध्वनिवाद सिद्धान्तसित रसवाद सिद्धान्तको कुनै विरोध थिएन र ने रसवाद सिद्धान्त ध्वनिवाद सिद्धान्तमा अन्तर्भुक्त भएर गएको देखिन्छ तर यस विषयमा घोत्लेर हेर्दा जहाँ रसध्वनि हुन्छ, रसवाद अनुसारले त्यसैलाई काव्यतत्त्व मान्नुपर्ने देखिन्छ तर ध्वनिवादले रसवादलाई छोडेर गएको देखिन्छ, कारण ध्वनिवादअनुसार वस्तुध्वनि र अलङ्कारध्वनिलाई पनि काव्य रूपमा स्विकार्नुपर्दछ । धेरै ठाउँमा गुणीभूत व्यङ्ग्यमा पनि काव्यको एउटा स्वतन्त्र स्थान छ भन्ने कुरा ध्वनिकार आनन्दवर्धनले स्वीकार गरेका छन् । पछि-पछि महिमभट्ट आदि कुनै कुनै अलङ्कारवादीहरूले ध्वनिवादको खण्डन-मुण्डन गर्ने प्रचेष्टा गरेका छन् । तथापि पछिल्ला समयका धेरै लेखकहरूले नै ध्वनिवाद र रसवाद यी दुवै सिद्धान्तलाई मौन रूपमा स्वीकार गर्दै आएको देखिन्छ । अभिनवगुप्तका समसामयिक लेखकहरूमध्ये वक्रोक्तिजीवितकार कुम्भकको जुन एउटा स्वतन्त्रता छ सो अस्वीकार गर्न सकिँदैन । भामहले वक्रोक्तिलाई जसरी व्याख्या गरेका छन् त्यसमा ध्वनिवाद वा रसवाद सबै त्यसभित्र समावेश भएको हुन्छ । यसर्थ ध्वनिवादमध्ये जुन एउटा निर्दिष्ट लक्ष्मणरेखा कोरिएको छ त्यसको कुनै आवश्यकता छैन ।
पछि जगन्नाथले उनको रसगङ्गाधरमा रस वा ध्वनिलाई प्रमुख नभनेर रमणीयतालाई प्रमुख भनेका छन्, यस रमणीयतामध्ये रस वा ध्वनि दुवै पर्दछन् तर रस र ध्वनिमध्ये नपर्ने ध्वनिहरू पनि छन् जसलाई पनि ग्रहण गर्न सकिन्छ ।
प्राचीनकाल र आधुनिककालमा यस्ता धेरै काव्यहरू देखिएका छन् जसलाई रस र ध्वनिमा राख्न सकिँदैन, त्यहाँ वाच्यार्थद्वारा नै एउटा चमत्कार प्रदर्शित हुन्छ । रस र ध्वनिवादको यो नै प्रमुख अभियोग हो जुन सबै प्रकारका काव्यरस र ध्वनिको मापदण्डमा पर्दैन तर कुम्भक र जगन्नाथ र जगन्नाथजस्ता आचार्यहरूले सौन्दर्य भनेर अर्को एउटा विशेष भावलाई स्वीकार गरेका छन् ।
पुछारमा, विविध अवधारणाको आधारमा पूर्वीय काव्यशास्त्र झ्याँगिएको पाइन्छ । ध्वनिसिद्धान्त र ध्वनिलाई पनि एउटा अत्यन्तै व्यापक अवधारणा रूपमा स्विकार्न सकिन्छ । ध्वनिसिद्धान्तका प्रवर्तक आनन्दवर्धन हुन् । यिनले यस सिद्धान्तलाई बलियो आधार प्रदान गरी विभिन्न काव्यतत्त्वहरू अर्थात् रस, गुण, अलङ्कार र रीतिलाई समेत यसै सिद्धान्तमा गाभेर एउटा दृष्टान्त नै प्रतिपादन गरे । कतिपय आचार्य (प्रतिहारेन्दुराज, धनञ्जय, घनिक, भट्टनायक, महिमभट्ट, क्षेमेन्द्र) हरूले यस सिद्धान्तको पानीखेदो गरेकै हुन् । यद्यपि यस सिद्धान्तको पक्षमा अभिनवगुप्तपादाचार्यको ध्वन्यालोकलोचनमा उत्तम काव्य, गुणीभूत व्यङ्ग्यलाई मध्यम र व्यङ्ग्यहीन काव्यलाई अधम मानिन्छ ।
कविताको लक्ष्य वा उद्देश्य अर्थबोध मात्र होइन तर पाठकेका मनमा संवेदनाको छाल उर्लाउनुका साथै हृदय फाँटिलो र विस्तृत बनेर विश्व हृदयमा समागम गर्नु पनि हो । ध्वनिसिद्धान्तका समर्थक आनन्दवर्धनले यसै कुरालाई यस सिद्धान्तको सार मानेका देखिन्छ ।
ध्वनिसिद्धान्त पूर्णाङ्ग रूपमा प्रतिष्ठा हुन अगावै अभिधा, लक्षणा र व्यञ्जनाजस्ता शब्दशक्तिमध्ये व्यञ्जना शब्दशक्तिलाई ध्वनिवादी आचार्यहरूले ध्वनिसिद्धान्तको मूलाधार मानेका थिए । व्यङ्ग्यार्थको अतिशयता नै ध्वनिकाव्यको मूलाधार हुन्छ ।
काव्यमा रसको मूल्य र महत्त्व प्रतिष्ठापित गर्नमा ध्वनिवादी आचार्यहरूको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ । यसैकारण ध्वनिवादी आचार्य आनन्दवर्धनले रसध्वनिलाई मान्यता दिएझैँ वस्तुध्वनि र अलङ्कारध्वनिको तुलनामा रसध्वनिलाई उनले सर्वश्रेष्ठ रूपमा स्वीकृति दिए । यसैको बिँडो थामेर विश्वनाथले “वाक्यं रसमात्म काव्यम्” सिद्धान्त घोषणा गरेको प्रमाण हामीसित छँदै छ । रसध्वनिमा नौओटा रस आउनका साथसाथै भाव, भावामत्स, भावोदय, भाव-सबलता, भाव-सन्धि आदि पनि समावेश गरिन्छन् । यसबाट ध्वनिसिद्धान्तमा रसको महत्त्वलाई नै धेर स्विकारेको बुझिन्छ । अभिनवगुप्तले स्पष्टै भनेका छन् –
“तेन रस एव वस्तुतः आत्मा । वस्त्वलङ्कारध्वनी तु सर्वदा रसं प्रति पर्यवस्येते इति वाच्यात् उत्कृष्टीती, इत्यमिप्रायेण ध्वनि काव्यस्यात्मा इति सामान्येता उक्तम् ।”
अर्थात् वस्तुतः रस नै काव्यको आत्मा हो । वस्तुध्वनि र अलङ्कारध्वनि यसमा समाहित हुन्छन् । यसैले वाच्यभन्दा उत्कृष्ट अवश्य हुन्छ । ध्वनिलाई काव्यको आत्मा भन्नु औपचारिकता हो ।
ध्वनि प्रतिष्ठित हुनाका साथसाथै भारतीय काव्यचिन्तन परम्पराकमा सूक्ष्मतम स्थितिमा पुगेको कुरा विद्वान्हरूले स्विकारेका छन् (डा. मिश्र) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।