
ऊ, अर्थात् एउटा लोग्ने मान्छे, यानि कि पुरुष । अझ पुरुषप्रधान समाजले जोड दिएर चलनचल्तीको भाषामा भन्नु पर्दा— एउटा मर्द । सहरमा जन्मेर त्यहीँको वातावरणमा हुर्की बढेको एक आधुनिक युवक हो ऊ । भनाइमा मात्र मर्द होइन, देख्दा पनि र उसका व्यवहारहरू पनि मर्दका जस्तै नै छन् । छ फिट अग्लो गठिलो शरीर, सुकिलो अनुहार अनि सधैँ मिलाएर लगाउने पोशाक— ऊ कुनै सिनेमाको नायक भन्दा कम देखिदैन । तर पेशाले ऊ इन्जिनियर हो ।
हरेक दिन बिहान छ बजे उसको दैनिकी शुरु हुन्छ । घडीको टिनिनी घन्टीले उसको गहिरो निद्रा बिथोलिदिन्छ । उठ्न नचाहँदा नचाहँदै पनि ऊ आँखा मिच्दै उठ्न बाध्य छ। बिहानै डेरीमा गएर दुध ल्याउने, बच्चाहरूलाई दुध पिलाउने, श्रीमतीलाई र आफूलाई चिया बनाउने, त्यसपछि खाना पकाउने सबै उसकै जिम्मा हो । श्रीमती छ बजे उठे पनि नित्यकर्म गर्दा, कोठाहरू मिलाउँदा सात बजिसक्छ । बच्चाहरूको स्कुलबस आठ बजे अगाडि नै आइपुग्छ, त्यसैले छिट्टै नै खाना तयार गर्नुपर्छ । उसकी श्रीमतीलाई खाना पकाउन त्यति राम्रो आउँदैन । ऊ कामको सिलसिलामा कहिले बाहिर जाँदा या अफिसबाट ढिलो फर्कंदा उनले जसोतसो पकाउँछिन् तर अघिपछि सधैँ उसले नै पकाइहाल्ने हुनाले उनलाई सिक्ने जरुरत पर्दैन । श्रीमती र बच्चाहरूले पनि उसले पकाएको खाना निकै रुचाएर खाइदिन्छन् ।
छोराछोरीलाई खाना खुवाएर उसले हतार हतार गर्दै स्कुलको बस चढ्ने ठाउँसम्म पुर्याउँछ । हुन त छोरीले ३ कक्षामा र छोरोले १ कक्षामा पढ्ने भैसके, उनीहरू आफैँ पनि बस चढ्ने ठाउँसम्म जान सक्छन् तर बाबुको मन न हो, कतै लड्छन कि भनेर सधैँ आफैँ नै उनीहरूलाई पुर्याउन जान्छ । उसका छोराछोरी उसको लागि आफ्नो प्राण भन्दा पनि अमूल्य छन् । उनीहरूलाई आफ्नो औँला समात्न लगाएर हिँड्दा उसलाई निकै आनन्द लाग्छ । त्यो क्षणमा उसले सबै दु:ख बिर्सेर आफूलाई संसारको सबभन्दा भाग्यमानी पिता सम्झन्छ ।
छोराछोरीहरूलाई स्कुल बससम्म छोडेर फर्किंदा श्रीमतीले खाना लगाएर ठिक्क पारेकी हुन्छिन्, ऊ हतार हतार गर्दै खान्छ, श्रीमतीले बिस्तारै खाँदै गर्छिन् । श्रीमतीको भनाइ छ, खाना बिस्तारै धेरैबेर चपाएर खाँदा राम्ररी पच्छ अनि शरीर तन्दुरुस्त हुन्छ रे ! तर उसलाई बिस्तारै खान समय नै कहाँ छ र ? खाना छिटो खाइसक्ने हुनाले भाँडा माझ्ने जिम्मा पनि उसकै हो । घरको काममा आफूले सक्दो सघाउनु उसले आफ्नो कर्तव्य पनि ठान्छ- मर्द भएको नाताले, त्यसमा उसले गर्व पनि गर्छ । सबै भाँडा टिलिक्क पारी ऊ लुगा लगाउन तर्खरिन्छ ।
“दाह्री त काटिस्यो न , कस्तो नराम्रो देखेको !” श्रीमतीले प्रेमपूर्वक आग्रह गर्छिन् ।
“हिजै त काट्या हुँ, अहिले भ्याउँदिनँ, भोलि काटौंला, फेरि अलिअलि दाह्री राखेको मलाई मन पर्छ के ! आजभोलि यस्तै अलिअलि दाह्री राख्ने चलन पनि चल्या छ,” सर्टको टाँक लगाउँदै उसले भन्छ ।
“हजुरलाई मन परेर हुन्छ ? मलाई मन पर्दैन । तुरुन्त काटिस्यो नभए म रिसाउँछु,” श्रीमतीले घुर्की लगाउँछिन् ।
श्रीमतीको घुर्की अगाडि उसको केही लाग्दैन । केही नभनी उसले लगाइसकेको सर्ट फुकालेर दाह्री काट्छ । श्रीमती खुशी हुन्छिन् भने जाबो दाह्री त के अरु के के पनि काट्न तयार छ ऊ । आफू बेखुशी भएर भए पनि श्रीमतीलाई खुशी राख्नु एउटा मर्दको कर्तव्य पनि हो ।
दाह्री काटेर ऊ पुन: सर्ट लगाउन शुरु गर्छ ।
“हेर त त्यो सर्ट ? सेतो हो कि कालो हो जस्तो भैसक्यो, आफ्नो लुगा त राम्ररी धुनु नि !” श्रीमतीको फेरि अर्को सिकायत आउँछ ।
“भोलि त शनिबार भैसक्यो नि, भोलि धुन्छु, आज एकदिन काम चलिहाल्छ,” उसले अनुरोधको भाषामा स्पष्टीकरण दिन्छ ।
सरकारी कर्मचारी, सेतो सर्ट लगाउनै पर्यो । बाहिरको धुलोले एक दिनमै सेतो सर्ट खैरो बनाइदिन्छ । धुन पाइएन भने टकटकायो अनि लगायो ।
लुगा धुनको लागि समय भनेको एक दिन हो— शनिबार । बच्चाका लुगादेखि आफ्ना लुगा अनि कहिलेकाहीँ श्रीमतीका लुगा पनि उसले धुनुपर्छ । लुगा धुने मसिन राखोस् भने पनि पानी नै पुग्दैन, काम गर्ने मान्छे राखे पनि हुँदो हो तर काठमाडौँको महँगीमा काम गर्ने मान्छे कहाँ छुन सकिने छन् र ?
“हुदैन त्यो, ल यो लगाइस्यो”, पोलो टि-सर्ट दराजबाट निकालेर दिँदै श्रीमतीले भन्छिन् ।
“मलाई अफिसमा टि-सर्ट लगाएर जान मन पर्दैन के !” उसले विमति जनाउँछ ।
“आज शुक्रबार त हो नि, केही हुँदैन । ल लगाइस्यो,” लगाइसकेको सर्ट आफैँ फुकालिदिँदै श्रीमतीले भन्छिन् ।
उसलाई औपचारिक पोशाकमा मात्र कार्यालय जान मन पर्छ तर अफिस जाने बेलामा वादविवाद गर्नु भन्दा उनको कुरा मान्नु नै जाती सम्झेर उसले सेतो सर्ट फुकालेर पोलो टि-सर्ट लगाउँछ ।
उसले श्रीमतीलाई निकै माया गर्छ । उनी बिनाको जिन्दगी उसको कल्पना बाहिरको कुरो हो । आफ्नो क्षमताले भ्याएसम्म उसले जसरी भए पनि उनका हरेक इच्छाहरू पूरा गर्ने गरेको छ । उनीहरूको प्रेममा पलाएका दुइवटा कोमल कोपिलाहरूले उनीहरूको प्रेम अझ गाढा र सुन्दर बनाइदिएको छ । कहिलेकाहीँ सानोतिनो खटपट परे पनि उनीहरूको सानो परिवारको खुशी देखेर वरपरकाले डाह गर्छन् ।
श्रीमतीलाई गालामा चुम्बन गर्दै ‘बाई स्विट हार्ट’ भनेर ऊ बाहिर निस्कन्छ । खै किन हो ‘स्विट हार्ट’ भन्दा उसलाई अलि अप्ठ्यारो लाग्छ तर नभनेर सुख छैन, श्रीमतीले त्यही सिकाएकी छन् ।
काठमाडौँको बाटो, जाम अनि धुलो र धुवाँ छिचोल्दै ऊ नौ बजे भन्दा पहिले नै कार्यालय पुग्छ । कार्यालयमा ऊ ढिलो गएको अहिलेसम्म कसैलाई थाहा छैन । खै किन हो, उसलाई समयभन्दा ढिलो पुगेको पटक्कै मन पर्दैन । ऊ समयको निकै हेक्का राखेर काम गर्छ ।
दिउसो डेढ बजे उसले श्रीमतीलाई फोन गर्नुपर्छ, त्यो उसको नित्यकर्म जस्तै हो । डेढ बजे चिया खाने समयको उपयोग गरेर उसले श्रीमतीलाई फोन गर्छ । उसले फोन नगरेमा कि त उताबाट उनको फोन आइहाल्छ र ‘किन फोन नगरेको?’ भनेर उसले हप्की खान्छ, नभए साँझ घर पुग्दा ठुस्स परेर श्रीमतीले उसलाई पर्खेकी हुन्छिन् तर जाबो एउटा फोन गर्नु के ठूलो कुरो भयो र ? काम कुरो केही नभए पनि उसले हरेक दिन अफिसबाट उनलाई फोन गर्छ ।
श्रीमतीलाई पनि दिनभर घरमा नियाँस्रो नै हुन्छ । त्यसैले आफू बस्ने कोलोनी भित्रका साथीहरू जम्मा भएर कहिले कसको घरमा कहिले कसको घरमा गएर उनीहरू रमाइलो गर्छन्— तास खेल्छन्, सिनेमा हेर्छन्, रमाइला गफ गर्छन् । समूह नै बनाएर कहिले पार्लर जान्छन् अनि कहिले सपिङ ।
एक्लै हुँदा भने उनका साथीहरू भनेका फेसबुक र युट्युब हुन् । त्यति नगरे बिचरी उनको दिन पनि कसरी कटोस् ? त्यो कुरा उसले पनि राम्रोसँग बुझेको छ । बच्चाहरू साना हुँदा उनीहरूको रेखदेख गर्नको लागि श्रीमतीले जागिर खाइनन्, बच्चाहरू स्कुल जान थालेपछि अब जागिर खान्छु भनेर पनि त्यति सजिलो कहाँ छ र ? बानी पनि त बिग्रिसक्यो नि ! त्यसैले उनको दिन काट्ने क्रियाकलापहरू भनेका तिनै हुन् ।
दिउँसो साढे तीन बजेतिर उसलाई पहिले क्याम्पस पढ्दाखेरिको उसको साथीको फोन आउँछ । ऊ अमेरिकाबाट फर्केको हुन्छ अनि साँझ सँगै खाना खान जाऊँ भनेर फोन गरेको हुन्छ । सँगै इन्जिनियरिङ पढ्दा उनीहरू निकै मिल्ने साथी थिए । अरु दुई-चार जना साथीहरूलाई पनि उसले बोलाएको रहेछ । साथीहरूलाई धेरै पछि भेट्न पाइने भयो भनेर उसको मन प्रफुल्ल हुन्छ ।
“हुन्छ म सकभर आउँछु तर घरमा सोध्छु है एक पटक,” भनेर उसले साथीको फोन राख्छ ।
उसले श्रीमतीलाई तुरुन्तै फोन गर्छ तर जाने अनुमति पाउँदैन ।
श्रीमतीको त्यो पारा देखेर उसको रिसको पारो पनि चढ्छ । फोनमै उनीहरूको झगडा पर्छ। श्रीमतीलाई एक झापड लगाइदिऊँ कि भनेर सोच्छ तर सोच्नु मात्रै हो नि ! पहिलेको जस्तो जमाना भए, भनेको नमान्ने स्वास्नीलाई दुईचार झापट लगाउनेलाई मर्द भनिन्थ्यो । अहिले त स्वास्नीलाई झापड लगायो भने नामर्दको उपमा पाइन्छ । बरु स्वास्नीले नै झापड लाउँला जस्तो गर्छन् आजभोलि । स्वास्नीको झापड खाइयो भने त जिन्दगीभर नामर्दको प्रमाणपत्र बोकेर बाँच्नुपर्ने हुन्छ । यही हो मर्द भएको फाइदा— जे गर्दा पनि नामर्द । त्यसैले त उसलाई सानैदेखि सहन सिकाइएको छ । उसका इच्छा र चाहनाहरूलाई दबाएर चुपचाप बस्न सिकाइएको छ । त्यो सम्झेर उसका मानसपटलमा निराशा र अपमानका काला बादलहरू मडारिन थाल्छन् अनि विरक्तिमा डुब्दै उसले साथीलाई फोन गरेर कारण नबताई आफू जान नसक्ने खबर दिन्छ ।
साँझ घर फर्कंदा बाटोमा उसका मनमा सोचाइहरूको बाढी नै उर्लिन्छ, अधिकांश नकारात्मक सोचाइहरू। कस्तो आशा गरेको थियो उसले, विवाहपछि जीवन कति सुखमय हुन्छ होला, श्रीमतीले उसका हरेक पाइलाहरूमा कति सहयोग र समर्थन गर्छिन् होली, उसका मनका कुराहरू बुझ्छिन् होली, परिवारसँग रमाएर जीवनका अरु सबै पीडा भुलिन्छ होला भनेर । ऊ पनि चाहन्छ, दिनभरिको कामले थाकेर घर फर्कंदा श्रीमतीले ढोकामै अनमोल मुस्कानले उसको स्वागत गरुन्, सुकिला हातले प्रेमको मिठास घोलेर हृदयको भित्री कुनामा रहेको आदरभावले बनाएको तातो चियाको प्याला पिलाउन्, साँझ उनीहरूको कोमल ओछ्यानमा उसलाई आफ्नो न्यानो काखमा अँगाल्दै उसको टाउको मुसारेर मिठामिठा गफ गरेर उसलाई स्वप्निल दुनियाँमा लिएर जाउन् ताकि उसले जस्तोसुकै थकाइ पनि बिर्सन सकोस् अनि अर्को दिन बिहान उठ्दा उनको सुमधुर मन्द मुस्कानले ओछ्यानमा उसको स्वागत गरोस् ।
तर उसले सोचे जस्तो सबै कहाँ हुन्छ र ? बिहे गर्नुअघि भर्खर प्रीति बसेको बेला सारा संसार नै प्रेममय लाग्छ। उनको प्रेममा सारा पीडा बिर्सिएर प्रेमसागरमा तैरिएरै जीवन व्यतित हुनेछ जस्तो लाग्थ्यो उसलाई । तर घरजम भएपछि, अझ बच्चाहरू जन्मेपछि थाहा हुन थाल्यो— प्रेम मात्रले जीवन सायद नचल्ने रहेछ । परिवारमा बच्चाहरूको आगमनसँगै उनको प्रेमको परिभाषा पनि बदलिएको छ तर ऊ चाहन्छ कि भर्खर बिहे भएको जस्तै गरी उसका हरेक दिनहरू प्रेममय भएर बितून् । परिवारको लागि उसले गरेको योगदान र बलिदानको उचित सम्मान होस् । परिवारमा उसको स्थान उच्च होस्, सबैले उसको कुरा सुनून् । आखिर ऊ घरको मूली हो नि ! परिवारका लागि उसले के मात्रै गरेको छैन ? रातदिन नभनी लगाम लगाएको घोडा जस्तो यताउता कतै नसोची उनीहरूकै खुशीको लागि आफ्ना खुशीहरूलाई तिलाञ्जलि दिएको छ । आफूलाई गर्न मन लागेका कैयौं कुराहरूलाई मुटुभित्रै दबाएर राखेको छ ।
तर उसलाई थाहा छ, ऊ मात्रै त्यस्तो होइन, ऊजस्ता अधिकांश सहरिया मर्दहरूको हाल उसको जस्तै छ तर कुनै पनि मर्द चुइँक्क बोल्न सक्दैन । सबैलाई आफ्नो मर्दाङ्गी लुकाइराख्नु परेको छ । जो यसको विरुद्धमा बोल्छ, उसको इज्जत जान्छ, ऊ नामर्द कहलाइन्छ । त्यसैले सबैले बरु सहेर बसेका छन्, बोल्ने आँट गरेका छैनन् । अरुले जस्तै चुपचाप सहनु नै उसको पनि नियति बनेको छ ।
मनमा यस्ता सोचाइहरू जति जति उर्लिदै जान्छन्, उसको रिस अझै बढ्दै जान्छ । श्रीमती मात्रै होइन, सबै महिलाहरूप्रति नै उसको वितृष्णा बढ्दै जान्छ । मानिसको रिसको असर अचम्मको हुन्छ— ‘बटरफ्लाई इफेक्ट’ जस्तै । सानो कुराबाट शुरु भएको रिसले नियन्त्रण नगरेमा ठूलै उथलपुथल ल्याउन सक्छ, जस्तो कि पृथ्वीको एउटा कुनामा रहेको जंगलमा एउटा पुतलीले आफ्ना पखेटाहरू चलाउँदा हजारौँ मिल दूरमा रहेको समुद्रमा आँधीबेहरी आउनसक्छ ।
साथी भेट्न जान नदिएको निहुँमा उसको मनको एउटा कुनामा रोपिएको त्यो रिसको बिजले पनि आफ्ना हाँगाबिँगा फैलाएर उसलाई जताततैबाट जकड्न थालिसकेको छ । उसका विचार र सोचाइहरू पनि त्यही रिसको अधिनमा गैसकेका छन् । उसको मनोवाद झन् पछि झन् तीव्र भैरहेको छ—जसको कमाइले परिवार चलेको छ उसैको खुट्टा बाँध्न खोज्ने ? जति न्यानो पायो उति घुँडा कोच्ने ? त्यति मात्रै कहाँ हो र, आजभोलि त पुरुषको यौनशोषण पनि हुन थालेको छ । उहिले श्रीमानहरूलाई मन लागेको बेला श्रीमतीको स्वीकृतिबिना पनि उनीहरूले बलजफ्ती गर्थे रे, तर अहिले श्रीमतीलाई मन लागेको बेला लोग्नेले जस्तो सुकै थकानमा पनि, जस्तोसुकै तनावमा पनि तयार हुनुपर्छ नत्र भने ऊ नामर्द र नपुंसक कहलाइन्छ । मर्दाङ्गी जोगाइराख्न भए पनि पुरुषहरू हरदम महिलाहरूको सेवामा तयार हुनुपर्छ । यदि पुरुषले बलजफ्ती गरेको भए घरेलु हिंसा र यौनशोषणको मुद्दामा फँस्थे होलान् तर महिलाले गरेको यौनशोषणको विरोधमा कसले हिम्मत गरेर बोल्ने आँट गरोस् ?
मनको सागरमा उर्लेका यस्तै आँधीबेहरीहरूसँग लड्दै कतिबेला घर आइपुग्यो उसलाई थाहै हुँदैन । आँगनमा पुगेपछि मात्र थाहा पाउँछ, झमक्क साँझ परिसकेछ । दिनभरिको शारीरिक अनि मानसिक थकानले गर्दा उसलाई केही गर्न मन छैन । उसले सोचेजस्तो उसलाई ढोकामा मन्द मुस्कानले स्वागत गर्न कोही पनि आउँदैन, ऊ आफैँ ढोका खोलेर भित्र पस्छ । छोराछोरीहरू टिभीमा कार्टुन हेर्दै बसेका हुन्छन् ।
“होमवर्क सक्यौ ?”, भित्र पस्दै उसले सोध्छ ।
“छैन, हजुरलाई पर्खेको”, छोरीले जवाफ दिन्छे ।
दिउँसो श्रीमतीका साथीहरू जम्मा भएर रमाइलो गरेको कोठा अझै त्यसै लथालिंग छ, त्यो देखेर फेरि उसको कन्सिरी तात्छ ।
“मम्मी खै त ?” उसले छोरीलाई सोध्छ ।
“भित्र सुतिस्या छ ढाड दुख्यो भनेर”, छोरीले टिभीको च्यानल फेर्दै उत्तर दिन्छे ।
उसले आफ्नो कोठाको ढोका खोल्छ अनि ब्याग राख्दै ओछ्यानमा पल्टिरहेकी श्रीमतीलाई सोध्छ, “के भो ?”
“मलाई जे भए पनि के मतलब र ? साथीसँग रक्सी धोक्न गए भैगो नि ! किन आउनु पर्यो घर ?” उनले पनि झोँक्किएकै लवजमा उसलाई हेर्दा पनि नहेरी उत्तर फर्काउँछिन् ।
“हैन नभनेपछि कसरी थाहा हुन्छ हँ मलाई ?”
“माया हुनेले त आफैँ थाहा पाइहाल्छन् नि स्वास्नीको दर्द । माया भए पो थाहा होस् ?”
यति भन्दा कति बढि माया गरोस् बिचरा ? ऊ केही बोल्दैन । उसले बुझ्न सक्दैन— हैन कस्तो थकाइ हो यो ? दिनभरि साथीहरूसँग मस्ती गर्यो अनि थाकेँ भन्यो सुत्यो । कि यस्तो भएको छ भन्नु पर्यो । नभनेर उसले कसरी थाहा पाओस् अर्काको मनको कुरा ? ऊ के भगवान् हो र ? कहिलेकाहीँ आफ्नै मनको कुरा बुझ्न त कठिन हुन्छ, अझ अर्काको मनको कुरा कसरी बुझोस् ऊ ?
उसले सकेसम्म आफ्नो रिस नियन्त्रण गर्न खोजेको हुन्छ तर उसले नचाहँदा नचाहँदै पनि रिस थाम्न सक्दैन अनि रन्किन्छ, “हैन के ताल हो हँ तिम्रो यो ? न छोराछोरीले होमवर्क गर्या छन्, न कोठा मिलाएको छ, छोराछोरी टिभीमा झुन्डिएका छन् । दिनभरि म्यारिज खेल्यो अनि थकाइ लाग्यो भनेर सुत्यो । अलिकति लाज पनि लाग्नु पर्ने हो ए ।”
ओछ्यानमा पल्टेकी उनी जुरुक्क उठेर बस्दै कस्सिन्छिन्, “न काम गर्ने राख्न सक्या छ, न आफूले नै गर्नु छ, अझ उल्टै मलाई रिस देखाउने ? स्वास्नीलाई काममा दलाउने भए किन मसँग बिहे गर्नु ? एउटी नोकर्नी राखेर त्यसैलाई स्वास्नी बनाए भैगो नि ! न पैसा कमाउन सक्नुछ न स्वास्नीलाई खुशी राख्न ? अझ उल्टै रिस ? कस्तासँग बिहे गरिएछ कुन्नि ? मेरो त कर्मै फुट्या रहेछ ।” श्रीमती सुँक्क सुँक्क गर्न थाल्छिन् ।
“आफूले सक्ने गरेकै छु क्यारे ! यो भन्दा बढी के गर्नु पर्यो मैले ?”
“गर्या भा’ यस्तै हुँदो हो ? भान्दाइसँगै एउटै अफिसमा हैन जागिर शुरु गरेको ? भान्दाइको घर, घडेरी, गाडी सबै भैसक्यो । घरमा नोकर चाकर कजाएर बसेकीछिन् भाउजू ।”
“अनि के तिम्रो भान्दाइजस्तै घुस्याहा बनूँ त म पनि ?”
“आजसम्म कोही खाल्डामा परेको छ र उनी पर्लान् ? जसले खायो, खायो । हिम्मत हुनुपर्छ । सबै हुतिहारा र नामर्द हुन्छन र ?” श्रीमतीका ‘हुतिहारा’ र ‘नामर्द’ शब्दहरू उसको कान छेडेर सोझै मुटुमा गएर रोपिन्छन् । तर जति नै मर्माहत भए पनि ऊ सहन बाध्य छ ।
उसलाई पनि घाम जस्तै छर्लङ्ग छ, जति घुस खाए पनि कोही भ्रष्टाचारमा फस्नेवाला छैनन् भन्ने । फसिहाले पनि पैसाको बलले उम्किहाल्नेछन् । ‘जसले हान्यो उसले जान्यो’ भैरहेको छ यहाँ । तर घुस खाएर फुर्ती देखाउँदै मर्द बन्न उसको अन्तरात्माले पटक्कै दिँदैन । अरु भए उसको पदका मान्छेहरू लाखौं पर्ने निजी गाडी चढ्दा हुन् तर उसले अहिलेसम्म पनि मोटरसाइकलले काम चलाइरहेको छ ।
त्यो विषयमा वादविवाद गर्नु भन्दा चुप लाग्नु नै उचित ठानेर ऊ कोठाबाट बाहिर निस्कन्छ । उसलाई अचम्म लाग्छ— हैन के जमाना आयो यो, मर्द हुन अब घुस खानु पर्ने भयो ? नैतिकता बेच्नु पर्ने भयो ?
दिउँसो श्रीमतीले साथीहरूलाई खुवाएर बाँकी रहेको केही खाने कुरा कचौरामा ल्याएर छोराछोरीहरूले टिभी हेर्दै गरेको ठाउँमा सोफामा आएर बस्दै ऊ एकोहोरोमा टहलिन्छ ।
बिस्तारै खाना चपाउँदै गर्दा उसको मनोवाद पुन: शुरु हुन्छ— सायद विगतमा पुरुषहरूले महिलाहरूलाई शोषण र दमन गरेको बदला अहिले आएर ऊ जस्ता सहरिया पुरुषहरूले तिर्नु परिरहेको छ । उसलाई चिच्याएर कराउन मन लाग्छ तर उसलाई डर छ इज्जतको, उसलाई डर छ श्रीमतीको, उसलाई डर छ छोराछोरीको भविष्यको, अनि उसलाई डर छ आफ्नो मर्दाङ्गीको । भर्खर बोल्न सिकेको शिशुले बिलौना गरेजस्तै गरेर आमाको काखमा टाउको राख्दै उसलाई मनभरि रुन मन लाग्छ तर ऊ त्यो गर्न पनि सक्दैन किनभने ऊ मर्द हो, उसलाई रुन पनि छुट छैन । पीडालाई आफूभित्रै गुम्साएर उसलाई सहन र हाँस्न लागि बाध्य बनाइएको छ ऊ । उसलाई ऊ त एक प्रतिनिधि पात्र मात्र हो, ऊ जस्तै लाखौँ मर्दहरू आफ्नो मर्दाङ्गी कायम राख्न ऊजस्तै बाध्यताको बनावटी हाँसो हाँस्दै बाँचेका छन्, तर कसैले पनि विद्रोह गर्ने हिम्मत गर्दैनन् ।
कतिबेला कचौराको खाना सकिएछ उसलाई थाहा पनि भएनछ । कचौरा खाली भएपछि भान्छामा गएर दिउँसोदेखि बाँकी रहेका भाँडाहरू माझ्दासम्म पनि उसको रिस अझै मरेको हुँदैन । खाना पकाइसकेर एकछिन सेलाउन दिएर ऊ बच्चाहरूलाई होमवर्क गराउन बस्छ । उसको मन धेरै शान्त भैसकेको छ । छोरीले झोलाबाट पुस्तक निकाल्दै गर्दा उसले एकटकले छोरीलाई हेरिरहेको हुन्छ । ती अबोध, निश्चल परी भन्दा पनि सुन्दर मायालु छोरीमा उसले श्रीमतीको झझल्को देख्छ । छोरोलाई पनि हेर्छ त्यहाँ पनि उनकै झझल्को छ । तिनै श्रीमती त हुन् जसले उसलाई यी दुई अनमोल उपहार दिएकी छन् । आमा हुन कति गाह्रो छ, त्यो नभोगे पनि उसले केही हदसम्म कल्पना गर्न सक्छ । भित्तातिर नजर घुमाउँछ, बैठकका भित्ताका विभिन्न ठाउँमा उनीहरूका प्रेमका प्रतिक तस्विरहरूले उसलाई जिस्काइरहेको जस्तो लाग्छ । भर्खर बिहे गर्दाखेरीको श्रीमतीको त्यो सुन्दर अनुहार, उनको लजालु मुस्कान अनि सागर जस्ता गहिरा लाग्ने नशिला नयन, छुदै झंकार उत्पन्न गर्ने जस्ता कलिला गुलाबी अधर अनि त्यो प्रेमले ओतप्रोत सुमधुर बोली । दश वर्ष लामो यात्रामा सँगै उकालीओराली गर्दा जिन्दगीका घामपानी, आँधी हुरी, शीत तुषारोले पनि अहिलेसम्म उनको सुन्दरता र कोमलतामा कमी ल्याउन सकेको छैन । घर व्यवहारले गर्दा कहिलेकाहीँ सामान्य रिस उठ्नु र सानोतिनो झगडा हुनु सामान्य हो । बिचरी उनी पनि त चाहँदी हुन् नि उनको पति कोहीभन्दा कम नहोस, उनलाई संसारका सबै सुख देओस् ।
उसले सोच्छ- यस्तै हो आइमाईको बानी, कहिलेकाहीँ बिना कारण पनि रिसाउँछन् अथवा पुरुषलाई कारण बताउन चाहन्नन् । उसले त्यो कुरा बुझ्नुपर्ने हो तर रिसले चारैतिरबाट जकडेको बेला ठण्डा दिमागले कसले पो सोच्न सक्छ र ? बच्चाहरूलाई हेर्दै श्रीमतीलाई सम्झेर ऊ अनायासै मुस्काउँछ । उसले थाहै नपाई उसको मनभित्रको आँधीबेहरीका छालहरू शान्त भैसकेका हुन्छन्, उसलाई जकडेर राखेका रिसका लहराहरू शिथिल भैसकेका हुन्छन् ।
बच्चाहरूलाई होमवर्क गराउन पाउँदा उसलाई वास्तवमा निकै आनन्द आउँछ । बच्चाहरूसँग रमाउँदै उनीहरूको होमवर्क सकाएर खाना खुवाउँछ । श्रीमती खाना खान आउन मान्दैनिन्, आफू खान्छ। साढे नौ बजेतिर बच्चाहरूलाई उनीहरूको कोठामा लगेर एउटा कथा सुनाएर सुताउँछ अनि बैठकमा आएर टिभीमा टहलिन्छ खोज्छ । तर उसको मन टिभीमा हैन, श्रीमतीमा छ । टिभी बन्द गरेर कोठामा जान्छ र लामो श्वास तानेर खाटमा उत्तानो पल्टिन्छ ।
आज ऊ निकै थकित छ, ऊ आराम गर्न चाहन्छ । शरीर मात्रै हैन मन पनि निकै थाकेको छ । शारीरिक थकान भन्दा मानसिक थकान निकै पीडादायी हुन्छ, उसलाई त दुवै थकान छ । रिसको बेफाइदा त्यही हो— मानसिक रुपमा आफू पनि थाक्नु, परिवारलाई पनि थकाउनु । प्रेमको आशामा उसले श्रीमतीलाई पुलुक्क हेर्छ, उनी ऊतर्फ ढाड फर्काएर सुतेकी छन् । श्रीमतीलाई नफकाई मनमा रिस राखेर सुत्न उसको मनले दिँदैन अनि ऊ फकाउनतिर लाग्छ । उसलाई डर पनि छ, यदि आज उनलाई नफकाएर सुतियो र रिसकै झोँकमा भोलि बिहानै उठेर उनी माइतीतिर हिँडिन् भने समाजले उसलाई भन्नेछ— कस्तो नामर्द रहेछ एउटी श्रीमतीलाई समेत सम्हालेर राख्न नसक्ने ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

