रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

दान

हजरत उमर मोहम्मदको उत्तराधिकारी भएको शासनकालमा एउटा सहरमा आगो लाग्यो । यस्तो प्रचण्ड आगो थियो कि, पत्थरलाई पनि सुकेको दाउरालाई जस्तै जलाएर खरानी बनाइदियो । घर, इलाका जलाउँदै आगो चराको गुँडतर्फ पुग्यो, अन्त्यमा जताततै आगो फैलियो ।

आगोको लप्काले आधा सहर जलायो । पानीले पनि आगोलाई निभाउन सकेन ।

आगो निभाउन फालेको पानीले आगो झन् दनदनी बल्न थाल्यो । केही सीप नलागेपछि प्रजाहरू दौडिएर हजरत उमरकोमा निवेदन गर्दै भने, `आगो निभाउन सकिएन सरकार ।’

हजरत उमरले भने, `यो आगो भगवानको क्रोधको संकेत हो । तिमीहरूको लोभको ज्वाला हो । त्यसैले पानी होइन रोटी बाँड्न सुरु गर ।’

जनताले जवाफ दिए, `हामीले दानको ढोका सधैँ खुल्लै छोडेका छौँ । दया र उदारता अभ्यास गरिरएका छौँ ।’

हजरत उमरले जवाफ दिएँ, `त्यो दान तिमीहरूले निःस्वार्थ भावनाले गरेका होइनौ । तिमीहरूले आफूलाई महान् र प्रसिद्ध बनाउन गरिएको दान थियो त्यो । ईश्वरको भय र परोपकारको लागि गरिएको दान थिएन । देखावटी उदारता र दानको कुनै अर्थ छैन ।’

मूल कथा: रूमी
भावानुवाद: जनक कार्की