असमेली साहित्याकाशमा कवि, कथाकार भनी चिनिने रिजु देवी गीतकारका रूपमा पनि उत्तिकै परिचित एउटा नाम हो । उनको एउटा खुबी छ उनी केवल गीतकार मात्रै नभएर गायिका पनि हुन् । त्यसैले पाठक, दर्शक अथवा श्रोताले मन पराउने गीतहरूको बारे उनमा सम्यक् ज्ञान छ भन्दा अत्युक्ति नहोला । गीतकारभन्दा पहिला नै गायन क्षेत्रमा उनको प्रवेश भएको हो । पछि गएर उनले गीत लेखनतर्फ पनि मनोनिवेश गर्दा यो गीतसङ्ग्रह निस्किन बाध्य भएको हो । सङ्गीत क्षेत्रमा उनको घरेलु परिवेश पनि सहायक बनेको छ । यसै परिवेशको सहायताले उनको लेखन र गायनको यात्राले निरन्तरता पाएको छ ।
उनले कथा, कविताका पुस्तकहरू प्रकाशित गरे तापनि सन् २०२० मा निस्किएको गीत मञ्जरी उनको पहिलो गीतसङ्ग्रह हो । जसमा ६० वटा गीत सङ्कलित छन् । उनको असमिया साहित्यमा पनि दखल छ । उनको असमिया काव्य पुस्तक पनि निस्किसकेको छ । असमिया गीतहरू एलबमका रूपमा पनि निस्किएका छन् । नेपाली गीतहरूका एलबमहरू पनि निस्किएका छन् र अरूले निकालेका एलबमहरूमा कण्ठदान पनि गरेकी छन् । रेडियोमा पनि गीत रेकडिङ भएर श्रोताहरूबिच आइपुगिसकेका छन् । आकाशवाणी गुवाहाटी केन्द्रबाट उनले रेडिओ कलाकारको स्वीकृति पनि प्राप्त गरिसकेकी छन् । सबैतिरबाट निहार्दा गीत र गायन क्षेत्रले बढी सफलता दिलाउने सम्भावना बोकेको देखिन्छ ।
उनका गीतहरूमा प्रेम-प्रीतिको पुकार सुनिन्छ । हो पनि, सायदै बढी लेखिने गीतहरूको विषयवस्तु नै प्रेम-प्रीति नै होला । प्रेम-प्रीतिका गीतहरूले मानिसको मन छोएको हुन्छ । साँच्चै भन्ने हो भने प्रेमको कुनै रङ्ग छैन, कुनै वस्तुपरक स्वाद छैन । छ त केवल अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अमर प्रेम । हो त, प्रेम कहिल्यै मर्दैन इतिहास साक्षी छ । अमर बनेर रहेको छ ताजमहल ।
चोखो प्रेमले परिणाम खोज्दैन । चोखो मायाँले पर्खी बस्छ आफ्नो मायाँलाई जुनिभरिसम्म । मायाँमा अद्भुत शक्ति छ, जादु छ । त्यसैले होला मायाँमा मानिसहरू पागल हुने गर्छन् । कोही मायाँमा बाँचिरहेका हुन्छन् । सायदै यही मायाँको आभासले गर्दा यो संसार मगमगाइरहेको छ । रिजु देवीका स्वच्छन्दतावादी धारामा प्रेम-प्रीतिको पक्षमा लेखिएका थुप्रै गीतहरू यस सङ्ग्रहमा छन् ।
‘’नसोचिदेऊ पराई भनेर
मेरो मायाँलाई मेरो छायालाई
हृदयमा तिम्रो प्रेमको दियो
बालेर राख्या छु जुनिभरिलाई ।‘’ (पृष्ठ-२८)
आफ्नो भाषा-साहित्य-संस्कृति र जातिका निम्ति पनि रिजु देवी सजग रहेकी देखिन्छन् । हो पनि, आफ्नो भाषाविना कुनै पनि जातिको जीवन निरर्थक हुन्छ । ऊ कुनै पनि ठाउँमा अपरिचित हुन्छ । बाँच्नुको कुनै अर्थ नै हुँदैन । भाषा रहेन भने जातिको कुनै चिनारी रहँदैन । भाषासँगै जाति, धर्म, संस्कृति जोडिएको हुन्छ । भाषाले जातिलाई चिनाएको हुन्छ । संस्कार, धर्ममा भाषा नै बोलेको हुन्छ । संस्कृतिमा भाषा नभई हुँदैन । त्यसैले भाषाको महत्त्वलाई गम्भीर रूपले मनन गर्दै भाषाको विकास, विस्तार गर्नु जरुरी छ । भाषालाई संरक्षण, संवर्धन गर्नु अपरिहार्य ठहरिएको छ । जातीय चेतना केन्द्रित कतिपय गीतहरू यस सङ्ग्रहमा रहेका छन् । सायदै उनीमा जातीय अस्मिताको छाप रहेर होला । उनी गीतमा भन्छिन् आफ्नो भाषा सबैभन्दा प्यारो हुन्छ । जीवनभन्दा पनि प्यारो भाषा, जातिका निम्ति आफ्नो सर्वस्व त्याग गर्न प्रस्तुत भएको कुरा गीतमा अभिव्यक्त गर्छिन् ।
‘’भाषा मेरो सबैभन्दा प्यारो
प्यारो मेरो जीवनभन्दा प्यारो
मरिमेटिदिन्छु हाँसी-हाँसी
मेरो जाति-भाषाकै निम्ति ।‘’ (पृष्ठ-४६)
रिजु देवीका गीतमा आशावादी स्वर पनि गुन्जिएको छ । भनाइ नै छ नि यदि जीवनलाई बुझ्नु छ भने पछाडि फर्केर हेर अनि जीवन जिउनु छ भने अगाडि हेर । रिजु देवीको पनि विगतका मानसिक आघातहरू बिर्सेर नौलो तरिकाले जीवन जिउनु अगाडि हेरेर अघि बढ्ने सर्जक हुन् । गौतम बुद्धले पनि भनेका छन् -आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन् । नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् । हो पनि, आशावादी व्यक्तिबाटै आशावादी रचनाको सिर्जना सम्भव हुन्छ । हरिभक्त कटुवालका कविता, गीतहरूमा पनि प्रबल आशावादी स्वर गुन्जिएको हामी पाउँछौँ । सायदै कटुवालकै प्रभावले पनि रिजु देवीलाई आशावादी स्वर गुनगुनाउन मन लागेको । त्यसैले उनी घामको प्रकाशले जीवन उज्यालो भएको भन्न मन पराउँछिन् । हरियाली धरतीको मोहनी रूपमा मोहित हुँदै आँखाभरि सपना सजाउँछिन् । चारैतिरका फूलहरूको मनमोहक सौन्दर्य र सुवासमा आत्मविभोर हुँदै कोइलीको गीतमा मक्ख पर्छिन् अनि आफू पनि गीतका पङ्क्तिहरू बटुल्छिन् ।
‘’सुनैसरि घामको उज्ज्वल प्रकाशले
जीवन यो मेरो उज्यालो दियो
हरियाली धरतीको मोहनी रूपले
आँखाभरि सपना सजाइदियो
वरिपरि फुलबारी नाना रङ्गी फूलले
मनै रमाउने कोइलीको धुनले….. ।‘’ (पृष्ठ-१९)
रिजु देवीका गीतहरूमा नारी अस्मिताले पनि ठाउँ पाएको छ । हाम्रो समाजमा नारीलाई पुरुषको सम्पत्ति मानिने सोच अद्यापि छ । नारी केवल पुरुषका लागि, पुरुषविना नारी अपूर्ण भन्ने सोचले ग्रस्त छ हाम्रो समाज । नारी भनेकै पुरुषको अधीन भन्ने सोचबाट समाजमाथि जान सकेकै छैन । नारी स्वतन्त्रताका कुराहरू केवल किताबी विषय बनेका छन् । चर्चाका विषय ठहरिएका छन् । ऐनको छेउछाउ पनि पुगेका छन् तर वास्तविक अर्थमा नारी कहिल्यै पुरुषबाट स्वतन्त्र हुन सकेका छैनन् । सायदै समाजमा रहेका दानवहरूको कुदृष्टिबाट बचाउनका लागि नै आफ्नै पति, दाजु, भाइ, आफन्तहरूले आफ्ना पत्नी, दिदीबहिनीहरूलाई पूर्ण स्वतन्त्रता दिनुमा हिचकिचाएका । कहिले समाजबाट यी दानवहरू मासिन्छन् र नारीले स्वतन्त्रताको खुल्ला हावामा सास फेर्नु? अनगिन्ती छन् प्रश्नहरू, जसमा सम्भावनाको मात्रा एकदमै कम्ती देखिन्छ । त्यसैले होला, रिजु देवीलाई पनि नारी अस्मिताले मन पिरोलेको । ती मनका अभिव्यक्तिलाई गीतमा उतारेकी छन् । नारी अस्मिता भनेको नारी हुनुको अहम् हो । नारी हुनुको अभिमान हो । नारी हुनुको स्वाभिमान हो तर अहङ्कार होइन । यिनै स्वाभिमानका केही हरफहरू यहाँ प्रस्तुत छन् –
‘’हामी नारी हौँ स्वाभिमानी हौँ
हामी अबला होइनौँ नि
हामी ममता हौँ हामी धरती हौँ
हामी द्रव्य होइनौँ नि ।‘’ (पृष्ठ-६५)
जातीय जीवनमा चाडपर्वको विशेषता छुट्टै छ । वास्तवमा चाडपर्वहरूको लोकजीवनसँग अत्यन्त अभिन्न र घनिष्ठ सम्बन्ध हुन्छ । चाडपर्व भनेका हाम्रा पहिचान हुन्, सम्पदा हुन् र अस्तित्व हुन् । तीज पनि एउटा महत्त्वपूर्ण सांस्कृतिक परम्परागत चाड हो । तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ । तीज यस्तो एउटा चाड हो जसले चेलीबेटीका समस्याहरूलाई व्यावहारिक रूपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई फुर्ती जगाउने आदि थुप्रै मौलिक विशेषता भएको एक विशेष चाड हो । रिजु देवीले पनि नारीका दुःखपीडा, संवेदना, हर्ष-खुसी आदिलाई समेटेर तीजका केही गीतहरू यस कृतिमा समावेश गरेकी छन् ।
‘’आयो है तीज रम र झम
मन मेरो नाच्यो छम छम छम
गाऔँ दिदी बहिनी सबै मिलेर
मनको दुःख पिर भुलेर
आज तीज आयो
खुसीले मनै रमायो…… ।‘’ (पृष्ठ-६६)
गाउँले परिवेश कसलाई पो मन पर्दैन र? अनि प्रायजसो मानिसको बसोबासो पनि गाउँमै हुन्छ । गाउँको निर्मल हावापानीमा रमेको मन अनि सरल जीवनयापनले चलेको जीवनको सुखानुभूति नै छुट्टै हुन्छ । कतै गोठाले दाइले गीत गाइरहेका, बाँसुरी बजाइरहेका भने खेतमा रोपाहारको असारे गीतले मन पुलकित बनाएको हुन्छ । चाडपर्वहरूमा भिजेको गाउँले परिवेशले मानिसलाई आत्मीयताको बन्धनमा पनि कसेर बाँधेको हुन्छ । सहयोग र भ्रातृत्वबोधको भावनाले ओतप्रोत गाउँले परिवेश सबैको प्यारो हुन्छ । त्यसैले हिजोआज सहरमुखी भएकाहरू पनि कोरोनाकालीन सङ्कटमा गाउँमुखी हुन खोज्दै छन् । गाउँलाई नै सुरक्षित आश्रयस्थल मान्दैछन् । रिजु देवीका गीतहरूमा पनि ग्राम्य परिवेशको चित्रण आएको छ । गीतमा गाउँ बोलेको छ ।
‘’चारैतिर रमाइलो छ
गाउँको मायाँ अलग्गै छ
धानका बाला झुलाउँदा
मृदु झङ्कार झङ्कृत हुन्छ
झर्ना झरझर झर्दछ
मधु समीरण चल्दछ
नयाँ अनुराग जाग्दछ
मेरो माटोको मायाँले बोल्दछ ।‘’ (पृष्ठ- ८०)
रिजु देवीको नेपाली र असमिया दुवै भाषामा दखल छ । गीत पनि दुवै भाषाका गाउँछिन् । केवल क्यासेटमा मात्रै नभएर विभिन्न कार्यक्रमहरूमा पनि गायिकाको रूपमा उनको सहभागिता हुने गर्छ । कोही बेला कवयित्रीका रूपमा पनि आफ्नो सिर्जना वाचन गरेकी छन् । अर्थात् समन्वयको मञ्चमा रिजु देवीले कविता र गीत गाएकी छन् । दुवै जातिबिच सिर्जनाले पनि समन्वय ल्याउन सक्छ । हो, रिजु देवीका गीतहरूमा समन्वयको स्वर गुन्जिएको छ । जसरी सुधाकण्ठ डा. भूपेन हाजरिकाका गीतहरूमा समन्वयको स्वर पाउँछौँ । असमिया भाषाका प्रख्यात लेखक होमेन बरगोहाञीका रचनाहरूले समन्वयको वार्ता बोकेको हुन्छ । कोकिलकण्ठी गायिका लता मङ्गेसकारका कतिपय गीतहरूमा पनि समन्वय स्वर गुन्जिएको छ । रिजु देवीले पनि असमेली जाति-जनगोष्ठीहरूबिचको समन्वयलाई गीतमा प्रस्तुत गरेकी छन् आफ्नै रचना र स्वरमा ।
‘’साँझ-बिहानी मङ्गल वाणी
गुन्जिन्छ हरदिन शङ्खको ध्वनि
यो हाम्रो गाउँमा यो हाम्रो ठाउँमा
समन्वयको मेला बस्दछ ।‘’ (पृष्ठ-८६)
प्रस्तुत पुस्तकका गीतहरूमा लोकतत्त्व पनि पाइन्छ । लोकगीत जनसमुदायको गीत हो । लोकगीतका रचनाकार पाइँदैनन् । यो समाजको गीत हो । लोकगीत समाजले गाएको हुन्छ, समाजले नै बचाएको हुन्छ । लोकगीत जनसाधारणको गीत हो । यो समाज, समुदायको साझा सम्पत्ति हो । सङ्गिनी गीत यस पुस्तकमा समावेश गरिएको छ । नारी समाजमा प्रचलित गीत हो सङ्गिनी । यो नारीहरूद्वारा गीत गाएर नाची-नाची खेल्ने एक परम्परागत नृत्य हो । तीजका बेलामा, मेलापात जाँदा, घाँस काट्न जाँदा साथीसङ्गी मिलेर गाइने भएकाले यसलाई सङ्गिनी भनिएको हो ।
‘’तीज है आयो नि लौ रमझम
चेलीको मन भुरुरुर उड्छ
माइतीलाई सम्झेर ।‘’ (पृष्ठ-८८)
रिजु देवीका गीतहरूमा प्रायजसो जनजिब्राले पचाउन सक्ने ग्रामीण भाषा प्रयोग भएको पाइन्छ । नेपालीबाहेक पनि कतिपय गीतहरूमा नौलो प्रयोग गर्दै केही हरफहरू असमिया पनि राखिएको छ । नेपाली र असमिया दुवै भाषाको प्रयोगमा केही गीतहरू आजभोलि सुनिन थालेका छन् । ती गीतहरू जनप्रिय पनि बनेका छन् । यसैको अनुकरण होला रिजु देवीको पनि । उनका गीतहरूमा स्वच्छन्दता, क्रान्ति स्वर, लयात्मक, गेयता, जीवन दृष्टि, नारी चेत, जातीय चेतना, युगबोध आदि मौलिक विशेषता पाइन्छ । लोकतत्त्व आधारित सङ्गिनी, तामाङ सेलो, झ्याउरे, दोहोरी गीतहरूले मनछुने बनेका छन् । केही गीतहरूमा जातीय अस्तित्वको संरक्षणलाई बढी जोड दिएको पाइन्छ । दुई-एक गीतहरूमा हरिभक्त कटुवालका गीतहरूको प्रभाव परेको देखिन्छ । कतिपय गीतहरू कवितातर्फ लम्किएका छन् । केही शब्दहरूको प्रयोग दुई किसिमले गरिएको छ- जस्तै : फूलेको- फुलेको, शहिद-शहीद , राखि-राखी, सँधै-सधैँ, आफ्नो-आँफ्नो, भरि-भरी, गरि-गरी पर्खि-पर्खी आदि । दुई-एक अङ्ग्रेजी शब्द पनि छन् -जस्तै- ड्राइभर, आन.आर.सि आदि । समग्रमा भन्नुपर्दा पुस्तकभित्रका गीतहरूले पाठकहरूको हृदय छुन सक्ने सम्भावना धेरै देखिन्छ साथै रिजु देवीको गीतलेखनको शक्ति दर्बिलो छ भन्दा अत्युक्ति नहोला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।