भारतीय नेपाली साहित्यलाई समग्ररूपमा लामो समयदेखि नजिकबाट हेरिरहेका व्यक्ति हुन् प्रेम (प्रेमचन्द्र) प्रधान । उनी साहित्य एकेडेमी पुरस्कार दिल्ली (सन् २००२) बाट सम्मानित समेत भइसकेका छन् । प्रधान साहित्य एकेडेमी दिल्लीको सदस्यका साथै नेपाली भाषा परामर्श समिति साहित्य एकेडेमीको संयोजकको जिम्मेबारी समेत कुशलतापूर्वक वहन गरिसकेका व्यक्ति हुन् ।

प्रधानका हाम्रा केही उपयोगी  वनस्पतिहरू (१९९५), कालो सर्प ( १९९५) र उमेरको घाउ (२०१९) कथासङ्ग्रह, उदासीन रूखहरू (१९९९) र प्रयोगको मेसिन (२००९), चिन्ता सल्केको पहाड (२०२१) उपन्यास, केही अध्ययन केही विवेचना (२००९) समीक्षा,  शिव प्रधान (२०१५) मनोग्राफ र गोपीनारायण प्रधान (२०१५) मनोग्राफ, उज्यालोतिर (२००९ अनुवाद) लगायत जीवविज्ञान र अन्य विषयका स्कुलका पाठ्यपुस्तकहरू (दशौँ श्रेणीसम्म) प्रकाशित छन् । प्रस्तुत छ, उनै स्रष्टा एवम् द्रष्टा प्रेम (प्रेमचन्द्र) प्रधानसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

प्रेमचन्द्र प्रधान

यहाँले यतिका समय साहित्यिक कर्ममा बिताइसक्नुभएको केकस्तो अनुभव गरिरहनुभएको छ ?

साहित्यले मीठो अनुभूति र  सौन्दर्यको  वासना दिन्छ र जीवनलाई सम्मोहित गर्दछ । यसले मानवीय जीवनको बोध गराउँछ । साहित्यको अध्ययन र साहित्य सिर्जना गर्दा मैले धेरै सुखानुभूति प्राप्त गरेको छु ।  मनिसहरूले भोगिरहेको सामाजिक र राजनीतिक पीडा, मानवीय जीवनको व्यथा र संवाद, जातीय उत्थान र उन्मुक्तिको आवाज आदिको उद्घाटन  साहित्यको माध्यमबाट गर्दा मैले गर्वबोध भएको अनुभव गरेको छु ।

मानवीय जीवनको दिनानुदिन अवमूल्यन भइरहेको  वर्तमान स्थितिमा लेखकले मानवको सोचमा परिवर्तन ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्दछ । समयसापेक्ष आधुनिक सोचको अवधारणाहरू लिएर साहित्यसिर्जना गर्ने मूल उद्देश्य लेखकले गरेको हुनुपर्छ भन्ने आफ्नो विचार हो । एक साहित्यिक भएर मैले जीवनमा प्राप्त गरेको सम्मान मेरा निम्ति ठूलो हो । विभन्न स्थान, देश अनि देशबाहिर साहित्यको क्षेत्रमा मैले जेजति सम्मान अनि ख्याति प्राप्त गरेँ त्यसले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको अनुभव गरेको  छु ।

तपाईँले लेखनको दृष्टिले चाहिँ पहिलो कुन रचना हो ?

मेरो लेखनको दृष्टिले हेर्दा आफूले सिर्जना गरेको रचना कथा हो । हुन त मैले कविता पनि लेखेको नै हुँ तर कथा लेख्दा मैले ज्यादा आनन्दको अनुभूति प्राप्त गरेको छु । मैले लेखेका कथाहरूमा “कालो सर्प” शीर्षक कथा निकै चर्चामा आएको  हो । यो  कथा मेरो कथासङ्ग्रहमा पनि सामवेश छ अनि कथासङ्ग्रहको  नाम पनि “कालो सर्प” नै  हो । नेपालको  “बगर” पत्रिकाले वि.सं. २०५० को उत्कृष्ट कथा भनेर मान्यता दिएको हो । मैले सिर्जना गरेको जुन रचनाले मलाई चिनाउँछ र चर्चामा ल्याउँछ त्यसलाई नै म बढी मान्यता दिँदछु । यो कथा साहित्य एकेडेमी दिल्लीको हिन्दी पत्रिका “समकालीन साहित्य” र अङ्ग्रेजी पत्रिका “इण्डियन लिटरे्चर” मा (हिन्दी र अङ्ग्रेजी भाषामा) र भारतका छिमेकी साहित्यका अन्य भाषाहरूमा पनि अनुवाद भएर प्रकाशन भएको  छ ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

प्रकाशनको दृष्टिले चाहिँ पहिलो रचना ?

प्रकाशनको दृष्टिले हेर्दा मेरो प्रथम रचना “विँदुली” शीर्षक कथा हो । यो कथा डा. जगत् छेत्रीको सम्पादनमा “जनदूत” पत्रिकामा सन् १९६५, वर्ष ५, अङ्क ६ मा प्रकाशन भएको थियो ।

जीवनको भोगाइ, प्राप्ति र पीडाको विम्बमिश्रित बाल्यावस्थालाई कसरी हेर्नुहुन्छ ?

मेरो बाल्यावस्था दार्जीलिङ जिल्लाको खर्साङ महकुमा अन्तर्गत (हाल मिरिक महकुमा) सानो गाउँको सौरेनी बजारमा बितेको थियो । मेरो जन्म त्यही सानो गाउँमा भएको थियो । त्यस बेला आजको जस्तो वातावरण थिएन, सुखभोगको सौलियत थिएन, मनोरञ्जनको कुनै साधन थिएन, खाली खुट्टा र हाफपेन्ट लगाएर स्कुल जान्थ्यौँ । मनोरञ्जन भनेको टेनिस बल थियो, सल्लाह घारीको डाँडामा सिलिपिती खेल्थ्यौँ, घिर्लिङको चक्का जोडेर बनाएको काठको गाडीमा चढेर माथिदेखि तल कुदाउँथ्यौँ र पछारिन्थ्यौँ । गाउँ बस्तीमा जान्थ्यौँ । सुन्तलाबारीमा गएर फलहरू टिपेर खान्थ्यौँ । बेला-बेलामा साथीहरूसित मिलेर वनभोज खेल्थ्यौँ । हाम्रो खेल्ने साधन टेनिस बल नै हुन्थ्यो । गाउँमा एक जनाको ग्रामोफोन थियो, हामी उत्साहित र अचम्मित भएर गीत सुन्थ्यौँ । त्यस बेला हाम्रा साथीहरू पनि मजस्तै थिए । समय समयमा प्रत्येक हिउँदका दिनहरूमा राति रामलीला लागेको हुन्थ्यो अनि हामी खुब मजा मानेर हेर्ने गर्थ्यौँ । त्यो पनि हाम्रो मनोरञ्जनको साधन थियो । सिनेमाको नाम मात्र सुनेको त्यति बेला । अभावकै स्थितिमा जीवन यापन गर्थ्यौँ, बजारमन्तिर गएर धाराबाट पानी भरेर ल्याउँथ्यौँ अनि धारामा नै नुहाउँथ्यौँ । सायद त्यो बाल्यजीवन रमाइलो थियो । दुःखसुख र अभावको स्थिति पनि भोगेका थियौँ तर त्यो जीवन नै रमाइलो थियो ।

बुबा दार्जीलिङमा नोकरी गर्नुहुन्थ्यो, स्कुलका इन्सपेक्टर पछि सरकारी स्कुलका शिक्षक । मेरा हजुरबा-माको मृत्युपछि म र आमा मात्र भयौँ । आमाले धेरै दुःख र कष्ट भागेर मलाई हुर्काएकी थिइन् । बुबाले मलाई सानोमा केवल ट्युसन पढाउने व्यवस्था गराएका थिए । मैले मेरो बाल्यजीवन त्यसरी नै बिताएको थिएँ । मेरो मावली इलाम बजार हो, पारिवारिक समस्या हुँदा त्यहाँ गएर धेरैपल्ट बसेको थिएँ । जीवनमा आरोह र अवरोहरू भोगेर धेरै अनुभवहरू पनि बटुलेको थिएँ तर पछि खुसीका दिनहरू पनि फर्केर आए । हामीलाई बुबाले दार्जीलिङ लानुभयो । जीवनमा आमाले पनि खुसीका दिनहरू फुलेको देखिन् । सहरियाया सुखमा जीवनयापन गर्न थाल्यौँ । बुबा कलेजमा नेपालीका प्राध्यापक भए । मैले पनि राम्रो स्कुल पढ्ने सुअवसर प्राप्त गरेँ । त्यति बेला दार्जीलिङ धेरै सुन्दर र स्वच्छ थियो । भनौँ नै भने हामीले गाउँमा दसैँ तिहारका बेलामा मात्र राम्रो लुगा लगाउने गरेका थियौँ अनि जुत्ता पनि । सहर आएपछि त सधैँ नै राम्रो लुगा अनि जुत्ता लगाउन थाल्यौँ अनि जीवनशैली पनि सुविधाजनक भयो । ती दिनहरू आज केवल मेरो स्मृतिमा आउँछ । सम्झना गर्दै म अतीत चियाइरहेका हुन्छु ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झिनुहुन्छ ? प्रेरणा कहाँबाट मिल्यो ?

साहित्य मेरो रोमरोममा बसेको विषय हो । म स्कुलको विद्यार्थी रहँदा नै साहित्यप्रति चाहना र इच्छा स्वतः जन्मेको हो । मेरा बुबा प्राध्यापक बाबुलाल प्रधान सरकारी कलेजका नेपाली विषयका शिक्षक थिए । उनी बाल साहित्यकार, निबन्धकार, जीवनीकार, कथाकार, कवि, पाठ्य पुस्तककार साथै कोशकार थिए । उनी दिनमा कम्ती पनि आठ नौ घण्टा जति निरन्तर लेखिरहेका हुन्थे । उनले नेपाली भाषामा धेरै पुस्तकहरू लेखेर कलकत्ताको प्रेसिडेन्सी कलेज नामक ठूलो पाठ्यपुस्तक संस्थानबाट पाठ्यपुस्तकहरू प्रकाशन गरेका थिए । समय-समयमा उनले लेखेका पाण्डुलिपि सार्न लगाउँथे । यसो हुँदा मलाई पनि लेखनप्रति जागरुकता र इच्छा जाग्थ्यो ।

यसबाहेक पनि मेरो घरमा मभन्दा ठूला दाजुहरू घर भाडा लिएर बसेका थिए । तीमध्ये कति साहित्यकरहरू पनि थिए अनि अन्य साहित्यकारहरू पनि समय समयमा भेला हुने । रवीन्द्रकुमार मोक्तान र गुमानसिंह चामलिङ, परशुराम राजभण्डारी, पदम दाहाल, नगेन्द्र थापा, धर्मशमसेर बस्नेत, नीलम मैनाली, वासुदेव उप्रेती, अग्निराज श्रेष्ठ, श्याम श्रेष्ठ, शम्भु श्रेष्ठ, पुण्यप्रसाद सिटौला, पुण्यप्रसाद ओली, आदिका नाम उल्लेख गर्न सकिन्छ । रवीन्द्रकुमार मोक्तान ( दुर्इ पात एक सुइरो- र बरको भोको भूत-उपन्यासका लेखक) ले विशेष गरी उनले लेखेका विविध रचनाहरू सुनाउने गर्थे । धुलाबारीका परशुराम शर्मा राजभण्डारी, पदम दाहालहरूले पनि आफूले रचेका रचनाहरू सुनाउने गर्थे । गुमानसिंह चामलिङ पनि त्यत्तिकै सहभागी हुन्थे । यसो हुँदा मलाई पनि साहित्यप्रति चाहना बढेर गयो । स्कुलमा पनि सातौँ श्रेणीदेखि दशौँ श्रेणीसम्म अध्ययनरत हुँदा मलाई पढाउने गुरुहरू भानुभक्त कुमाई, वीरविक्रम गुरुङ, जगत्‌ छेत्रीहरूले पनि साहित्य लेख्ने प्रेरणा दिएका हुन् । उनीहरूले पनि आफूले सिर्जना गरेका रचनाहरू सुनाउने अनि समय समयमा लेख्न पनि लगाउने । त्यस बेलादेखि मैले पनि केही लेख्ने कोसिस गर्थेँ ।

साहित्य के हो जस्तो लाग्छ ?

साहित्य कलात्मक सिर्जनाको अभिव्यक्ति हो जो लिखित साथै मौखिक हुन्छ । साहित्यलाई एक लेखन शैलीका रूपमा पनि हेरिन्छ । साहित्य लेखन रचनात्मक कार्यहरूमा क्रियाशील हुन्छ जो प्रयुक्त भाषामा धेरै साहित्यकारहरूलाई उपयोग हुन्छ । भाषाको माध्यमद्वारा आफ्नो अन्तरङ्गको अनुभूति गर्ने कला साहित्य हो भनेर पनि भन्न सकिन्छ । साहित्य समाजको दर्पण हो भन्ने भनाइलाई केही परिमार्जित गरेर भन्दा साहित्य समाज परिवर्तनको संवाहक पनि भन्न सकिन्छ । मानवीय जीवनको सम्पूर्णता वा समग्रताको अभिव्यक्ति साहित्यले प्रतिफल गरेको हुन्छ । साहित्य लिखित (written) अनि मौखिक (oral literature) प्रकारको हुन्छ अनि लिखित साहित्यमा कथा, कविता, उपन्यास नाटक, निबन्ध, समालोचना, संस्मरण, यात्रा आदिको समग्रता हुन्छ । लोकसाहित्य मौखिक साहित्यको अनुरूप हो जसलाई आज साहित्यको एकअंशका रूपमा मान्यता दिइएको छ । जीवनको हर अवयवको सम्पूर्णता साहित्यमा अन्तर्निहित हुन्छ । समाजको यथार्थता, सामाजिक, राजनीतिक पीडा, सामाजिक व्यवस्था, जीवनशैली, वैयक्तिक जीवनशैली आदिको स्वरूप बोकेको साहित्यले चेतनाको ढोका खोलेका हुन्छ तर फेटसी र कल्पनामा बुनिएको साहित्यले भने सामाजिक यथार्ताको वास्तविक चित्रण गरेको हुँदैन ।

लेखक समाजदेखि अछुत पनि रहन सक्तैन । समय, परिवेश अनि नयाँ सोच र सिर्जनामा उसले समाजलाई केही दिन खाजिरहेको हुन्छ । साहित्यकारले साहित्यमा केवल सत्यता र नयाँ स्वरूपलाई मान्यता दिएर असत्य, भ्रष्ट, अनैतिक सोचलाई खण्डन गरेको हुन्छ अनि वैयक्तिक जीवनको मनोविश्लेषण र यथार्थतालाई स्वीकार गरेको हुन्छ ।

भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कुन हो ?

भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कविता हो । अघि-अघि छन्दोवद्ध कविताहरू धेरै लेखिन्थ्यो । छन्दोवद्ध कविता लेख्न धेरै कठिन पनि हुन्छ तर हिजोआज गद्य कविता लेख्ने धेरै छन् । यस किसिमको कविता लेख्न धरै गाह्रो पर्दैन । समग्रमा भन्नुपर्दा गद्य कविता लेख्न धेरैले रुचाउँछन् ।

भारतीय नेपाली सहित्यमा धेरै कवितासङ्ग्रहहरू दिनानुदिन प्रकाशित भइरहेका छन् । अरू विधाहरू जस्तै कथा, उपन्यास, निबन्ध, समीक्षा, समालोचना लेख्न समय लाग्छ साथै अध्ययन अनि एकाग्रताको आवश्यकता पर्न जान्छ । सायद त्यसैले होला साहित्यकारहरू धेरैले कविता लेख्न रुचि राख्छन् ।

धेरै लेखिने विधाचाहिँ कुन हुन् जस्तो लाग्छ ?

मैले अघि भनिहालेँ कि भारतीय नेपाली साहित्यमा ज्यादातर मात्रामा कविता विधाका पुस्तकहरू प्रकाशन भएका छन् । सायद नेपालमा पनि कविता विधाका पुस्तकहरू प्रशस्त मात्रामा निक्लिने गर्छन् । अन्य विधाहरू कथा, समीक्षा र समालोचना केही मात्रामा सन्तोषजनक नै छ तर उपन्यास, बाल साहित्य, भ्रमण साहित्य, निबन्ध, विज्ञान साहित्य आदि धेरै कम लेखिएका छन् ।

साहित्यमा लेखकको इमानदारिता आवश्यक छ । छिमेकी र विश्वकै साहित्यको अध्ययन अनि प्रतिपादित विविध सिद्धान्तहरूको अध्ययन र मनन गरी लेखिएको साहित्य धेरै गहन हन्छ । हाम्रा कति कविहरूले सिर्जना गरेका कविताहरू पनि धेरै उच्चकोटिको देखिएको छ ।

समग्रमा भारतीय नेपाली साहित्यको अवस्था कस्तो छ ?

भारतीय नेपाली साहित्य भन्नाले भारतको माटोमा भारतीय नेपालीहरूले सिर्जना गरेको साहित्य बुझिन्छ । एक समय भाषा साहित्य अनि संस्कृतिप्रति प्रतिबद्ध भएर साधारण जनताले पनि नेपाली भाषालाई अति मायाँ गर्थे, पत्रपत्रिका पुस्तकहरू पनि किन्थे । शिक्षाको क्षेत्रमा पछाडिएको स्थितिमा पनि भाषा साहित्यप्रति मोह थियो । गाउँबस्ती अनि विभिन्न स्थानहरूबाट पत्रपत्रिकाहरू निस्कने होड चल्थ्यो । समयको अन्तरालमा ती सब बिस्तारै हराउँदै गए । सायद आर्थिकस्थितिले गर्दा पनि यस्तो हुन सक्छ वा त विज्ञानको प्रगति सँगसँगै नयाँ नयाँ तकनिकीको विकास अनि कम्प्युटरको आगमनले गर्दा आजका युवायुवतीहरूमा भाषा साहित्यप्रति वितृष्णा जागेको हुनुपर्छ । साहित्य पढ्ने अनि साहित्य रुचाउने जमात पनि हिजोआज घट्दै गइरहेको छ । हुन त आज यस्तो स्थिति अन्य भाषाहरूमा पनि देखिएको छ । अन्य जातिमा पनि भाषा साहित्यप्रति वितृष्णा भएको देखिएको छ तर आज धेरै लेखक र साहित्यप्रेमीहरू पनि छन् जसले साहित्यलाई मायाँ गर्छन्, साहित्य पढ़छन्, लेख्छन् र अध्ययन गर्छन् । साहित्य पढने र लेख्ने संस्कृतिको विकास हुन अझ अति आवश्यक छ ।

लेखकहरूले लेखिरहेका छन्, नयाँ नयाँ विचार अनि सिद्धान्त साहित्यमा प्रयोग गरिरहेका छन् । व्यापारिक रूपमा लेखिएको साहित्यलाई साधारण जनमानसले रुचाए पनि बौद्धिक दृष्टिले लेखिएको साहित्यको आफ्नै मान्यता छ । वर्तमानमा साहित्यकारहरूले आफ्नै बलबुतामा पुस्तकहरू प्रकाशन गर्छन् । प्रकाशकहरू औँलामा गन्न सकिन्छ । पुस्तकहरू बिक्री हुँदैनन् भन्ने गुनासो राख्छन् उनीहरूले । कतैबाट पनि पुस्तक प्रकाशनको सौलियत छैन । हाम्रो आफ्नै स्वशासित राज्य भए भाषा साहित्यको विकास हुने थियो कि भन्ने सोचविचार पनि जनमानसमा छ । भारतमा नेपाली भाषीहरू यत्रतत्र छरिएर बसेका छन् । केवल दार्जीलिङ अनि सिक्किममा हामी एकत्रित भएर बसेका छौँ । सिक्किम आफ्नै मानिसले शासन गरेको रनज्य हुनाले भाषा साहित्यको विकासमा केही सौलियत छ । यता दार्जीलिङ बङ्गालभित्र परेकाले त्यस्तो सौलियत केही छैन । यहाँको स्थानीय प्रशासनले (जिटिए) नेपाली एकेडेमी स्थापन गरे तापनि यसले केवल विविध साहित्यिक, सांस्कृतिक, साङ्गीतिक पुरस्कारहरू दिने गरेको छ । राष्ट्रियरूपमा साहित्य एकेडेमीले नेपाली भाषासाहित्यको विकासमा धेरै उल्लेखनीय कामहरू गरिरहेको छ ।

समग्रमा भन्नुपर्दा हामी त्यति निराश अनि हतास पनि भएका छैनौँ । विभिन्न साहित्यिक संस्थाहरू साथै व्यक्तिगत रूपमा पनि आफ्नै बलबुतामा साहित्यको विकासका निम्ति कामहरू भइ नै रहेको छ । आज दिनानुदिन विभिन्न स्थानहरूबाट पुस्तकहरू प्रकाशन भइरहेका छन् जो साहित्यको दृष्टिमा सकरात्मक सङ्केत हो । भारतभरिमा केही न केही पुस्तकहरू वा त पत्रपत्रिकाहरू प्रकाशन भइरहेको खबर दैनिक रूपमा नै सुनिन्छ । यो एउटा सकारात्मक र सुखद स्थिति हो ।

भारतीय नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के छन् ?

भारतीय नेपाली साहित्यको सम्भावनाहरूको कुरा गर्दा हामीले अँध्यारो पक्षभन्दा पनि उज्यालो पक्षलाई नै हेर्नुपर्छ । विश्वको जुनै पनि जातिमा साहित्यकारहरू साथै साहित्यप्रेमीहरू कमै देखिन्छन् र पनि भाषासाहित्यको सेवा र विकासमा हामी अनवरत कुनै स्वार्थविना नै लागिरहेका छौँ । भारतमा जहाँ पनि नेपाली भाषीहरू छन् तिनीहरूले कुनै न कुनै रूपमा साहित्यिक सङ्घसंस्थाहरू खालेर साहित्यको सेवा गरि नै रहेका छन् । बहुसङ्ख्यक भाषीहरू रहेको स्थानमा पनि सङ्घर्ष गर्दै तिनीहरूले भाषासाहित्यको क्षेत्रमा केही न केही काम गरि नै रहेका छन् । भारतको सबैभन्दा पुरानो साहित्यिक संस्था नेपाली साहित्य सम्मेलन (दार्जीलिङमा सन् १९२४ मा स्थापित भएको) हो जसको मूल उद्देश्य नेपाली भाषा साहित्यको प्रचार, प्रसार र विकास गर्नु हो र यो संस्था स्थापित भएदेखि अनवरतरूपमा विविध परस्थितिसँग जुझ्दै भाषा साहित्यको विकासमा काम गरिहेको छ दार्जीलिङ, सिक्किम, असम, मेघालय मनिपुर र दिल्ली, देरादुन आदि स्थानमा स्थापित भएका यस्ता धेरै संस्थाहरूले पनि यस क्षेत्रमा काम गरिरहेका छन् । भारत सरकारद्वारा स्थापित साहित्य एकेडेमी, मैसुर भाषा संस्थान, बुक ट्रस्ट अफ इन्इिया र भातका विभिन्न विश्वविद्यालयहरू अनि राज्य सरकारहरूले स्थापित गरेका एकेडेमीहरूले पनि यस दिशातर्फ काम गरि नै रहेका छन् । यसर्थ हाम्रा अघि धेरै सम्भावनाहरू छन् । हाम्रा लेखकहरूमा इमानदारी भएको खण्डमा हामीले प्रतिबद्ध भएर धेरै काम गर्न सक्छौँ । व्यक्तिगत रूपमा पनि साहित्य क्षेत्रमा हाम्रा साहित्यकारहरूले धेरै पुस्तकहरू प्रकाशन गरिरहेका छन् यद्यपि यहाँ पुस्तक प्रकाशकहरू धेरै कम छन्, त्यसर्थ समग्रमा भन्दा हाम्रा अघि धेरै सम्भावनाहरू छन् । उर्वर जमिनमा साहित्यको खेती गर्न र फलाउन धेरै साहित्यकारहरू लागिपरेका छन् र सकारत्मक सोच र सम्भावनाको साथमा चुनौतीहरू पनि छन् ।

स्कुल कलेजमा नेपाली भाषा अनिवार्य विषय राखिए तापनि कतिपय स्थानका स्कुलहरूमा नेपाली भाषा पढाइँदैन, हाम्रोमा बाल साहित्यको अभाव पनि त्यत्तिकै भएकाले विद्यार्थीहरलाई साहित्यतर्फ चाख बढाउन सकिरहेका छैनौँ । धेरै परिवारका शिशुहरूलाई अभिभावकहरूले नेपाली भाषा पढाउने रुचि राख्दैनन् । अङ्ग्रेजी भाषालाई नै महत्त्व दिने संस्कृतिको विकास हुन थालेकाले हामी चिन्तित बनेका छौँ । आज युवाहरूमा दिनानुदिन भाषा साहित्यप्रति वितृष्णा जागेकाले पनि भविष्यमा ठूलो चुनौतीको सुनामी आउने सङ्केत देखिन थालेको छ । हाम्रो आफ्नै राज्य भएको खण्डमा भने भाषा साहित्यको क्षेत्रमा उज्यालो किरण देख्न सकिन्छ कि भन्ने आशाहरू पनि मनमा उमार्न सक्छौँ । सिक्किममा हाम्रैहरू मन्त्री, मुख्यमन्त्री भएकाले हाम्रा प्रकाशित पुस्तकहरू राज्यले किन्ने व्यवस्था र परम्परा छ । राष्ट्रिय पुरस्कार प्रापक लेखकहरूलाई पेन्सन दिने प्रथा पनि सिक्किमका पूर्व मुख्य मन्त्री श्री पवनकुमार चामलिङले सुरु गरेका हुन् ।

हाम्रो नेता, बुद्धिजीवि, अभिभावक तथा सामाजिक व्यक्तिहरूमा जबसम्म भाषा साहित्य सम्बन्ध चेतनाको विकास हुँदैन तबसम्म हामी चिन्तित बनिरहेका हुन्छौँ जो हाम्रो जातिका निम्ति ठूलो चुनौती हो ।

ती चुनौतीहरूलाई समाधान गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

हाम्रो भाषा साहित्यप्रति प्रेम र जागरुकता ल्याउनका निम्ति सचेत नागरिक समाजका व्यक्तिहरू, शिक्षकहरू र साहित्यकारहरू नै अघि बढ्नुपर्दछ । आजको वैज्ञानिक युगमा कम्प्युटर, मोबाइल, लेपटप जस्ता प्राविधिक साधनहरूको अतिक्रमण बढेकाले नानीहरू, विद्यार्थीवर्ग, साथै वयस्कहरूलाई ठूलो प्रभाव पारेको छ । यसले गर्दा साहित्यप्रति वितृष्णा जागिरहेको छ । यो पनि हाम्रो एउटा ठूलो चुनौती हो ।

प्राथमिक स्तरदेखि मातृभाषा अनिवार्य प्रथम भाषाका रूपमा पाठशालाहरूमा राखिनुपर्छ । कतिपय अङ्ग्रेजी माध्यमका पाठशालाहरूमा मातृभाषालाई प्राथमिकता दिइँदैन । कुनै कुनै स्कुलहरूमा नेपाली भाषा पढाइँदैन । आफ्नो भाषा पढनु संवैधानिक हक हो किनकि हाम्रो भाषाले संवैधानिक मान्यता पाइसकेको छ । यसलाई पहल गर्ने उत्तरदायित्व नागरिक समाजको हो । बाल साहित्यको अभाव खट्किरहेको स्थिति छ र बाल साहित्य पढने बानी विद्यार्थीहरूमा बसाउनुपर्दछ ।

हाम्रा साहित्यकारहरूले लेखेका कृतिहरू किनेर उनीहरूलाई उत्साह दिनुपर्दछ । बिहेबटुल होस् वा अन्य समारोहहरूमा पुस्तकको गिफ्ट दिने प्रथा बसाल्नुपर्छ । भाषा साहित्यको प्रचारप्रसारका निम्ति स्थापित भएका विभिन्न साहित्यिक र सामाजिक संस्थाहरूले राज्य र केन्द्र अनि सरकारी निकायहरू (साहित्य एकेडेमी, मैसुर भाषा संस्थान, बुक ट्रस्ट अफ इन्डिया, राज्यका एकेडेमी आदि) बाट पाउने सौलियतको पहल गर्नुपर्दछ । देशका कतिपय स्थानहरू जस्तै असम मेघालय, मिजोराम, उत्तर खण्ड, उत्तर प्रदेश, हिमाचल प्रदेशमा नेपली विद्यार्थीहरूलाई नेपाली भाषा पढाइने व्यवस्थाको पहल गर्नुपर्दछ यद्यपि कतिपय राज्यहरूमा यो सौलियत प्राप्त छ । भोलिका दिनहरू हाम्रा निम्ति चुनौतीपूर्ण भए पनि हामी आशावादी नै छौँ, हरेस खाएका छैनौँ । निश्चय नै उज्यालो घामले हाम्रो आशा र अभिलाषालाई त्यो निर्दिष्ट स्थानमा पुऱ्याउनेछ ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको ?

समकालीनको अर्थ अहिलेको समय तथा वर्तमान स्थितिको बोध हो अर्थात् वर्तमानसँग सम्बन्धित आज र अहिलेको अभिलक्षणहरू भएको कृति समकालीन हो जो समयको परिवर्तन र परिस्थितिहरूसँग बगिरहेको हुन्छ । मानव जगत्‌मा भएको प्रवृत्ति, मू्ल्य र मान्यता, धारणा, सिद्धान्त, विचारधारा, सोच, मोड, पद्धति र चेतना भएको वर्तमान साहित्य समकालीन साहित्य हो । अर्को शब्दमा भन्नु हो भने समकालीन साहित्य जीवनजगत्‌को क्रियात्मक व्यापारका प्रस्तुतिको रूप हो ।

वर्तमान कालमा विज्ञान र तकनिकीको प्रगतिले जीवनको स्तरमा व्यापक परिवर्तन ल्याएको छ । भौतिक सम्पन्नताप्राप्तिका निम्ति पनि जीवनको गतिशीलतामा तेज आएको छ । यी सबले साहित्यलाई पनि धेरै प्रभाव पारेको छ । समकालीन साहित्य नै वर्तमान साहित्य हो अनि यसमा विज्ञान, दर्शन, आधुनिक सोच, जीवनप्रतिको दृष्टि, नयाँ जीवनको अनुभूति, यथार्थता सबैको मिश्रण छ । यो प्रतिस्पर्धात्मक संसारमा हामी सबै व्यस्त छौँ अनि समयानुकूल विचार र दृष्टिले साहित्यको निर्माण गर्छौँ -यही नै समकालीन साहित्य हो । नयाँ जीवानुभव, नयाँ दृष्टि, नयाँ विचार, जीवनप्रति हेर्ने दृष्टि र मानवजीवनको प्रवृत्ति यी सबको समावेशी रूप नै समकालीन साहित्यमा प्रतिफल भएको हुन्छ ।

भारतीय नेपाली समकालीन साहित्यलेखनमा वर्तमानमा तिनीहरूले भोगिरहेको समस्या, उत्पीडन, जातीय अस्तित्व, अस्मिता, आकाङ्क्षा, किनारीकृत जीवन, जातीय भावना आदि पनि समावेशी भएर प्रतिफल भएका हुन्छन् । सामाजिक र राजनीतिक पीडा, वैयक्तिक जीवनको स्वर र मनोविश्लेषण पनि प्रयुक्त भएको देखिन्छ । समाजमा नारीहरूमाथि भएको सामाजिक शोषण र उत्पीडन, नारी तस्करी अनि नारीहरूले उठाएको उन्मुक्तिको आवाज, यौन कुण्ठा र यौन समस्या, जीवनको कटुता, बिरानोपनको तिक्तता, जीवनमा आइरहेको हतोत्साह, भूमिपुत्रप्रति भइरहेको अत्याचार, आत्मनिर्वासन, भाषिक अतिक्रमण, मालिकवर्गले गरेको हेलचेक्र्याइँ, जातीय सुरक्षाको भावना, शोषण, अत्यचार, अन्योलता, आर्थिक विषमता पनि समकालीन साहित्यमा प्रतिफल भएको देखिन्छ । आस्था, कुण्ठा, जातीयताको चर्को स्वर र वेदना लिएर सिर्जना भएको समकालीन साहित्यमा हाम्रो राजनीतिक, आर्थिक र सामाजिक असमानता अनि विद्रोह र क्रान्तिको स्वर पनि झल्किएको हुन्छ ।

जीवन हम्रो केवल निस्सारताले भरिएको छ र मानवजीवनको दिनानुदिन अवमूल्यन भएर गइरहेको विचार पनि साकालीन साहित्यमा देखा परेको छ । यो वस्तविक सत्यता हामीले स्विकारेका छौँ ।

कुन कृतिको लागि कहिले साहित्य एकेडेमी पुस्कार प्राप्त गर्नुभएको थियो ?

मेरो सन् १९९९ (1999) मा प्रकाशित भएको उपन्यास “उदासीन रूखहरू” लाई साहित्य एकेडेमी दिल्लीले एक उत्कृष्ट कृति भनेर सन् २००२ मा “साहित्य एकेडेमी पुरस्कार” प्रदान गरेको हो ।

एकेडेमी प्राप्त कृतिमा विषयवस्तु के छ ?

यस कृतिको मूल विषय फ्रायडीय मनोविश्लेषण र अस्तित्ववादी चिन्तन हो । यस उपन्यासमा मानिसको मानसिक स्थिति, मानसिक वृत्ति र वैयक्तिक जीवनको खोज गर्दै जीवनलाई हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने प्रयास छ । मानिस समाजमा बसेर विविध सामाजिक स्थिति र परिवेशसँग सङ्घर्ष गर्दै बाँचे पनि उसको वैयक्तिक जीवन हुन्छ र त्यस जीवनले स्वतन्त्रताको खोज गरिरहेको हुन्छ ।

समाजमा भइरहेको भ्रष्टचार, युवाहरूमा फैलिरहेको निराशता, मानवको अवमूल्यन हुँदै गइरहेको जीवन एवम् समाज अनि देशले भोग्न परिरहेको समस्यहरू साथै समाजको सामूहिक विचार, चिन्ता, भावना र जातीय सङ्घर्ष पनि रहेको छ । अझ व्यक्तिको चारित्रिक, सामाजिक मानसिक र मनको चिन्ता, सत्यता, स्पन्दन, जीवको गहन र जटिल यथार्थतालाई हेर्ने र अध्ययन गर्ने कोसिस छ ।

उपन्यासमा धर्माधर्म, पापपुण्य, न्याय-अन्याय, यौनवृत्ति र अहंवृत्ति अनि व्यक्तिको मानसिक द्वन्द्व र अन्तर्द्वन्द्वहरू छन् । मनुष्य स्वयंको जीवन एउटा उपन्यास हो र उपन्यासभित्र पात्रपात्राहरूका बाह्य र आन्तरिक जीवनको विविध पक्षहरू छन् । उपन्यासमा दुवै पात्रहरू माझ दुवैका विचारहरूमा असमानता, विपरीतता र द्वन्द्व रहेको अहम्, इगो र सुपर इगो रहेको, अचेतन मनःस्थितिमा यौन आग्रह भएको चेतन र अचेतन मनको द्वन्द्वपूर्ण रागात्मक वृत्तिको विकास भएको, पापबोध र हीनताबोधले ग्रस्त भएको आदि पक्षहरू छन् । रूपादेवीमा प्राकृतिक र भौतिकवादी स्वभाव र विचारहरू छन् भने मनोहरमा निराशा र जीवनवादी भावनाहरू छन् । उपन्यासमा रूपादेवीमा पनि पश्चात्ताप, पापबोध र हीनताबोधका घटनाहरू रहेका छन् । तिनमा दमित यौन कुण्ठा रहेकाले जीवनमा चिन्ता, असन्तुष्टता र व्यर्थताबोध लिएको छ । मान्छे जत्तिकै सम्पन्नतामा बाँचे पनि ऊ असन्तुष्ट हुन्छ अनि उसले जहिले पनि सुख र शान्ति खोजिरहेको हुन्छ । अहिलेको वर्तमान स्थितिमा मान्छेको जीवनको अवमूल्यन हुँदै गइइहेकाले उसमा केवल द्वन्द्व, पीडा, चिन्ता र अन्तर्द्वन्द्व छ ।

मान्छे आफ्नो व्यक्तिगत जीवन तथा समाजमा शक्तिहीन हुँदै गएको अनुभव गर्न थालेको छ । बाँच्नुको कुनै उद्देश्य, औचित्य र अर्थ छैन र अन्तमा मृत्युपछि यो महाकाशको शून्यतामा विलुप्त हुन खोज्छ । मान्छे अहिले निरुद्देश्य र दिशाहीन भएर भट्किरहेको छ, अनिश्चतता र निराशा उनको अघि छ । त्यसैले उसले जीवनमा अनिश्चतता र निराशा देख्छ । यस उपन्यासमा मान्छे प्राकृतिक भएर जीवनसँग सङ्घर्ष गरेको छ । प्राकतिक भएर जिउनु उसको स्वभाव हो, आदिम वृत्ति हो अनि अप्राकृतिक भई जिउँदा मानसिक स्थितिमा विकार र रुग्नता आउनु एउटा सामन्य स्थिति हो । उपन्यासमा मान्छे प्राकृतिक भएर जिउने कोसिस गर्दागर्दै पनि उसले जीवनको घुम्तीमा भौतिक जीवनलाई खण्डित गरेको छ र निरन्तर निराशा, अर्थहीन, शून्यता र अवमूल्यन हुँदै गएको जीवनमा निस्सारता अनि विसङ्गति आएकाले अन्तमा आफूलाई एक्लो भएको अनुभव गर्दछ ।

उपन्यासभित्र फ्रायडीय मनोविशेलेषण सँगसँगै अस्तित्ववादी चिन्तन रहेकाले अन्तमा पात्रपात्राले यौन, प्रेम, जीवन, मृत्यु, रोग र एक्लोपनको यथार्थतालाई केलाई केलाई हेरेको छ । सुनयोजित घटनाभन्दा पनि आकस्मिक घटना र त्यसको परिणामबाट सञ्चालित मानवजीवन वास्तवमा घटनै घटनाको सुरुआत हो र त्यसबाट उत्पन्न विरोधाभास नै विसङ्गतिको पर्याय हो भन्ने सङ्केत उपन्यासमा छ ।

वरिष्ठ समालोचक अर्जुन प्रधान भन्छन् “पश्चिमेली चिन्तकहरू फ्रायड, युङ्ग, एडलर, सार्त्र, कामु आदिका मनोविश्लेषणात्मक पद्धति तथा अस्तित्वादी चिन्तनको ज्यादै प्रभाव र प्रयोग साहित्यमा हुँदै आइरहेको छ । प्रेम प्रधानको उपन्यास “उदासीन रूखहरू” पनि नवचिन्तनका यिनै भाव धरातालमा उभेको हुनाले तिनको विवेचना पनि तिनै चिन्तन धाराका विशेषता अनुरूप गरिइनु अपेक्षित हुन्छ ।”

“उनको उपन्यासमा कैयौँ अर्थमा परम्परागत उपकरणहरू अमान्य गरिएका छन् र तिनका स्थानमा नवीन प्रयोगहरू गरिएका छन् तर परम्परालाई जरैसँग उखेलेर फ्याकिएको पनि छैन र त्यो वञ्चित पनि छैन । टि एस इलियटकै अवधारणालाई आधार गरी परम्परा र व्यक्ति प्रतिभाको सुन्दर समिश्रण उपन्यासमा भएको पाइन्छ ।”

उपन्यासलाई कसरी परिभाषित गर्नुहुन्छ ?

उपन्यास आधुनिक साहित्यको महत्त्वपूर्ण विधा हो । त्यसैले जीवनको निकट रहेको विषयवस्तुलाई उपन्यास भन्न सकिन्छ । उपन्यास जीवनसँग सम्बन्धित रहेको हुन्छ । यो मानवजीवनको एउटा अमूर्त दर्शन पनि हो जहाँ जनजीवनको सजीव र यथार्थ चित्रहरू प्रतिविम्ब भएको हुन्छ । मानवजीवनको सत्यता, जीवन रचनाको आन्तरिक र बाह्य यथार्थथाको खोज नै उपन्यासमा प्रतिविम्ब भएकाले यसले जीवनको सम्पूर्णतालाई नै बोकेको हुन्छ । उपन्यासले जीवनजगत्‌को विस्तृत परिवेशमा समयको यथार्थ चित्रणलाई उद्घाटन गर्छ भने यसले मानवजीवनको वैयक्तिक मनोदशा पनि खोज गरेको हुन्छ ।

आधुनिक उपन्यास कुनै सीमामा वा परिभाषामा बाँधिएको हुँदैन । यसमा लेखकले लेखनकला र लेखनशिल्पमा आफ्नै किसिमको शिल्पकला, प्रतीक, नयाँ विम्बहरूको प्रयोग गरेर नयाँ स्वरूप दिन सक्छ । परम्परावादी लेखाइ र विचारको प्रस्तुतिको फाँटबाट आफ्नै नयाँ स्वतन्त्र विचार सोच वा त जीवन दर्शन वा सिद्धान्त प्रयुक्त गरेर उपन्यासलाई नयाँ स्वरूप दिनसकिन्छ र यसलाई जीवन्त बनाउन सकिन्छ । सामाजिक जीवनबाहेक पनि व्यक्ति र समाजको समस्या, सामाजिक र राजनीतिक पीडा अनि व्यक्तिको वैयक्तिक जीवनको खोज गेरर विविध पक्षहरूको सामावेशी चित्रण पनि उपन्यासमा प्रयुक्त गर्न सकिन्छ । व्यक्तिको चरित्र, घटना, जैविक र प्रवृत्तिगत चरित्रकै अध्ययनको विश्लेषण उपन्यासमा गर्न सकिन्छ र यसले व्यक्तिको मनोविश्लेषण र सामाजिक यथार्थतालाई उद्घाटन गरेको हुन्छ ।

साहित्यको शास्त्रीय धाराणानुसार उपन्यासको खास अर्थ जीवनमूलक विषयवस्तु अथवा जीवनसँग सम्बन्धित विषयवस्तु बुझिन्छ किनभने स्वयम् उपन्यास जीवानुभूतिको अभिव्यक्ति भएकाले यसमा जीवनको यथार्थ चित्रण अङ्कित भएको हुन्छ । खासगरी प्राचीन र मध्ययुगीन आख्यान साहित्यको अपेक्षाकृत आधुनिक उपन्यासले समसामयिक जीवनजगत्‌को यथातथ्य चित्रण गर्नाका साथै मानवीय समाजगत वस्तुतथ्यको पनि सजीव र कलात्मक चित्रण गरेको पाइन्छ । यसले भौतिक यथार्थताको चित्रणद्वारा आधुनिक उपन्यासले सिङ्गो मानवजीवनकै विभिन्न आयामहरूको उद्घाटन गर्छ साथै मान्छेको मानसिक उद्बोधन तथा समाजको स्फूर्तिको पनि पर्याप्त अभिव्यक्ति दिनमा सामर्थ्य बनेको हुन्छ ।

आधुनिक मनुष्यजगत्‌को आन्तरिक अन्तर्द्वन्द्व, आकर्षण र विकर्षण, आन्तरिक र बाह्य यथार्थ, मनकामनाहरू अङ्कित गर्दै मनुष्यको साक्षात्कर विश्लेषणको यथार्थता उपन्यासमा उद्घाटन भएको हुन्छ । सामाजिक यथार्थभित्र मानवीय जीवनको कुनै सत्य प्रकाशित हुन अथवा तिनीहरूबाट अवगत भई मनुष्यहरूका रागात्मक सम्बन्धलाई अविच्छिन्नता र मनवोचित सन्दर्भ दिने परिवेश रचनामा औधी सचेतनताको भूमिका र दायित्व निर्वाह भएको देखिन्छ ।

तपाईँको कुन-कुन उपन्यास कुन-कुन भाषामा अनुवाद भएका छन् ?

मैले लेखेको प्रथम उपन्यास “उदासीन रूखहरू” लाई उत्कृष्ट उपन्यास भनी भारत सरकारको संस्कृति विभागअन्तर्गत साहित्य एकेडेमी जस्तो साहित्यिक संस्थाले एकेडेमी पुरस्कार प्रदान गरेको हो । सहित्य एकेडेमीले एकेडेमी परस्कृत कृतिहरूलाई एकेडेमीले मान्यता दिएका भारतका २४ वटा अनधुनिक भाषाहरूमा अनुवाद गर्ने प्रावधान छ । हाल साहित्य एकेडेमीले मेरो पुरस्कृत पुस्तकलाई मैथिली, हिन्दी, बङ्ग्ला, अङ्ग्रेजी, डोगरी भाषा अनि विन्दु प्रकाशन असमले असमिया भाषामा अनुवाद गरी प्रकाशन गरेको छ । यो उपन्यास अन्य भाषाहरूमा पनि प्रकाशन हुने प्रक्रियामा छ । मेरा अन्य उपन्यासहरू अनुवाद भएका छैनन् तर प्रक्रियामा छन् ।

भारतीय नेपाली उपन्यासलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

भारतीय नेपाली उपन्यासको कुरा गर्दा रूपनारायण सिंहको उपन्यास “भ्रमर” (सन् १९३६) ले नेपाली साहित्यमा रोमान्टिक धाराको स्थापना गरेर आधुनिक जीवन, परिस्थिति सोच अनि विचारसँगै उपन्यास लेखनको आधुनिक तकनिकी, शिल्पकला, भाववोथ, भाषा र शैलीको प्रयोगको सुरुआत गरेको छ । परम्परावादी लेखन र सोचबाट केही उठेर लेखिएको यो उपन्यासमा सामाजिक, नैतिक आदर्श र प्रणयमूलक रोमान्टिक आदर्शको मूलस्वर रहेको छ । भ्रमरले सूत्रपात गरेको रोमान्टिक धारा पछि लैनसिंह वाङ्गदेलको “मुलुक बाहिर”, “माइत घर” “लङ्गडाको साथी”, इन्द्र सुन्दासका “मङ्गली” उपन्यासहरूमा सामाजिक यथार्थवादी भावको धराताल पाइन्छन् । यही उपन्यासहरूले औपन्यासिक जागरणको सूत्रपात गरेका हुन् भन्दा हुन्छ । पछि लीलबहादुर छेत्रीका “बसाइँ” (सन् १९५७), शिवकुमार राईका “डाक बङ्गला” (१९५७), कृष्णसिंह मोक्तानका “चरण धुली ” (१९५७) उपन्यासहरू पनि सामाजिक यथार्थवादी प्रवृत्ति हुँदै रोमान्टिक भावधारामा बगेको देखिन्छ । यसपछि धेरै उपन्यासकारहरले आञ्चलिकता, आदर्शोन्मुख, सामाजिक यथार्थता, स्वच्छन्दतावाद आदि धारा र प्रवृत्तिहरू अप्नाएको देखिन्छ । सन् १९६० पछिका केही उपन्यासकारहरूमध्ये इन्द्रबहादुर राई, नारदकुमार छेत्री, ज्ञनेश्वर गिरी, रवीन्द्रकुमार मोक्तान असीत राई, सुवास घिसिङ, प्रकाश कोविद, नन्द हाङ्गिम, देव भण्डारी, राधाकृष्ण शर्मा, हरीश बमजन, ज्ञान सुतार, शरद् छेत्री, नरबहादुर दाहाल आदिको नाम लिन सकिन्छ तर इन्द्रबहादुर राईका एउटै उपन्यास (सन् १९६४) प्रकाशन भएपछि यसले उपन्यास लेखन परम्परालाई सर्वप्रथम नवीन प्रयोग धारातिर प्रवाहित गराएको छ । यस उपन्यासमा वर्तमान मानवजीवनका विसङ्गतिहरू नै मूल औपन्यासिक विषयवस्तु बनेका छन् । वास्तवमा “आज रमिता छ” वर्तमान जीवनको विसङ्गतिप्रतिको एउटा सूक्ष्म अनुरक्त हो । दार्जीलिङे नेपाली सामाजिक जीवनका मूल्य र आस्थाका विसङ्गतिहरूलाई औल्याउँदै मान्छेको व्यक्तिसत्ताका प्राप्तिका सङ्घर्ष नै मूलतः उपन्यासमा देखिन्छ । यो उपन्यास सैद्धान्तिक परिवेश र जीवनको व्याख्यासित उनिएको छ । अनि उपन्यासमा भारतीय नेपालीहरूको चाहना र मनोभावना स्पष्ट रूपमा प्रतिविम्बित भएको पाइन्छ ।

भारतीय नेपाली साहित्यको उपन्यास विधामा मनोवैज्ञानिक विश्लेषण, फ्रायडको दमित कामभावना, अस्तित्ववादी चिन्तन, कामुको विसङ्गति, अभिव्यञ्जनवाद, अमूर्तवाद आधुनिक विश्वको नयाँ दर्शन र चिन्तनको प्रभाव परेको पाइन्छ । वर्तमान जीवनको विसङ्गति सन्त्रास, कुण्ठा, दमित भाव, बौद्धिक विकृति सबैको प्रभाव आधुनिक उपन्यासमा देखिएको छ । नवीन दृष्टि अनि नवीन प्रयोगमा लेखिएका केही उपन्यासहरूमध्ये ओकियामा ग्वाइनका “सुनाखरी”, असीत राईका “नयाँ क्षितिजको खोज”, इन्द्र सुन्दासका “नियति” मत्स्येन्द्र प्रधानका “नीलकण्ठ”, लीलबहादुर छेत्रीका “ब्रह्मपुत्रका छेउछाउ”, प्रेम प्रधानमा “उदासीन रूखहरू”, विन्ध्या सुब्बाका “अथाह” लाई भारतको साहित्य एकेडेमीले उपन्यास क्षेत्रमा एकेडेमी पुरस्कार प्रदान गरेको छ । यसबाहेक पनि भारतीय नेपाली साहित्यमा पुष्प राई एक सशक्त नारीवादी उपन्यासकार हुन् । नेपाली उपन्यासको क्षेत्रमा मनोविश्लेषणवादी, अस्तित्ववादोन्मुख, विसङ्गतिमूलक, नारीवादी आदिका प्रयोग भइरहेकाले उपन्यास विधामा नयाँ नयाँ सोच, सिद्धान्तहरूका प्रबल औपन्यासिक मोडहरू देखा परेका छन् जो नेपाली साहित्यका निम्त एउटा गौरवान्वित कुरा हो । भरतीय नेपाली उपन्यासहरूमा फ्रायडीय मनोविश्लेषण, वैयक्तिक मनोविश्लेषण, यौन कुण्ठा, अस्तित्वादी चिन्तनबाहेक पनि जातीय उन्मुक्तको भावना, नारीशोषण र नारी-उन्मुक्ति अनि नारी स्वतन्त्रताको स्वर, नारी तस्करी, सामाजिक र राजनीतिक शोषण र पीडा, भाषिक अतिक्रमण, किनारीकृत जीवन, बहुसङ्ख्यक जातिको अतिक्रमण, असुरक्षाको भावना, बेकारी समस्या जातीयताको भावना र उन्मुक्तिको स्वर पनि प्रतिविम्ब भएको देखिएको छ । समग्रमा भन्नुपर्दा वर्तमान मानवजीवन र जगत्‌का विभिन्न पक्षहरू, समस्या, जटिलता र विषमताहरूलाई उपन्यास जस्तो सशक्त गद्यका माध्यमबाट व्यक्त गर्न सकिन्छ ।

एउटा राम्रो उपन्यास हुन के हुनुपर्दो रहेछ ?

उपन्यास मानवजीवनसँग सम्बन्धित सम्पूर्णता हो । मानिसहरूको समूहले एउटा समाजको निर्माण गरेको हुन्छ । त्यसर्थ मानवजीवनको वैयक्तिक सम्पूर्णता पनि समाजमा अन्तनिर्हित हुन्छ । एउटा उपन्यासमा मानवजीवनको वैयक्तिक व्यक्तित्वको खोज अनि तिनको मनोविश्लेषण साथ साथै सामाजिक जीवनको यथार्थ चित्रण पनि हुने गर्छ । मीठो भाषा शैली, सरल, प्रस्ट बुझ्न सकिने, स्वादिलो शिल्पकला र नयाँ सोच अनि विचार, विम्ब, प्रतीक प्रयुक्त भएको उपन्यासमा जीवनको आदर्श मूल्य, जीवनशैली, पात्रपात्रका चरित्रको प्रस्तुति र सामाजिक दायित्वको आधार रहेको हुन्छ । चेतना प्रवाहमा लेखिएको उपन्यासले जीवनदर्शन र मानवीय जीवनको खोज साथै सामाजिक यथार्थताको स्वर पनि बोकेको हुन्छ । त्यसर्थ उपन्यासकारले आधुनिक सभ्यतासँग सम्बन्धित विज्ञान, दर्शन, सोच, प्रवृत्ति र समय सापेक्षित ज्ञानको प्रतिविम्ब उपन्यासमा इमानदारीपूर्वक प्रयुक्त गरे उपन्यास राम्रो हन्छ भन्ने मेरो आफ्नो व्यक्तिगत विचार हो ।

उपन्यासकारको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

उपन्यासकारले विविध विषयका पुस्तकहरूको अध्ययन इमानदारीपूर्वक गर्नुपर्छ र तिनमा ज्ञानको भण्डार हुन अति आवश्यक देखिन्छ । व्यक्तिको, चित्रण, चारित्रिक अध्ययन, विश्लेषण र सामाजिक यथार्थताको पृष्ठभूमिलाई आधार बनाई वास्तविक जीवनको विचरण गरी सत्यताको खोज गरेको उपन्यासमा सजीवता पाइन्छ । मनोविश्लेषण उपन्यासको एउटा आधार हो । चेतन अर्धचेतन, अवचेतन मनको सम्बन्धबाटै मानवव्यक्तित्वको विकास सम्भव छ ।

नेपाली साहित्यकारहरूको प्रोत्साहनका लागि अहिले भारत सरकारले के कस्तो भूमिका खेल्दै छ ?

भारतीय नेपालीहरूको बर्सौँ (४० वर्षभन्दा ज्यादा) को आन्दोलन नेपाली भाषाको संवैधानिक मान्यताका निम्ति भएको थियो । १८ जनवरी १९५६ देखि सुरु भएको भाषाको आन्दोलन (नेपाली भाषालाई भारतको राष्ट्रिय भाषाका रूपमा गरिएको संवैधानिक माग ) २० अगस्त १९९२ मा समाप्त भएको थियो । नेपाली भाषालाई साहित्य एकेडेमीले भारतको एक राष्ट्रिय भाषाका रूपमा मान्यता दिनुअघि नेपाली साहित्य सम्मेलन, दार्जीलिङ, नेपाली साहित्य परिषद्, दार्जीलिङ अनि अखिल भारतीय नेपाली भाषा समिति दार्जीलिङ र जनताको अथक प्रयासमा नेपालीभाषालाई भारत सरकारको संस्कृति मन्त्रालय अन्तर्गत (राष्ट्रको सर्वोच्च स्वायक्त साहित्यिक संस्था) साहित्य एकेडेमीले नेपाली भाषालाई सन् १९७५ मा भारतको एक आधुनिक भाषाका रूपमा मान्यता दिएपछि विशेष रूपमा सरकारी तवरमा नेपाली भाषा साहित्यको विकासक्रमको सुरुआत भएको हो । साहित्य एकेडेमीले नेपाली भाषालाई मान्यता दिएपछि एकेडेमीले नेपाली भाषा परामर्श समिति गठन गर्छ र यसको मार्फत भाषाको विकासका निम्ति प्रस्तावहरू ग्रहण गरी भाषा साहित्यका निम्ति काम गर्छ । अहिलेसम्म एकेडेमीले गठन गरेको नेपाली भाषा परामर्श समितिमा डा. पारसमणि प्रधान, डा. इन्द्रबहादुर राई, एम एम गुरुङ, आर पि लामा, गोपीनारायण प्रधान, डा. जीवन नामदुङ्ग, प्रेम प्रधान, डा. जीवन नामदुङ्ग संयोजक वा प्राज्ञ बनिसकेका छन् अनि नेपाली भाषा साहित्यको विकासमा यस संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । साहित्यकारहरूलाई प्रोत्साहान दिनका निम्ति साहित्य एकेडेमीले हरवर्ष लाखौँ रुपैयाँ खर्च गर्छ । एकेडेमीले युवा साहित्यकारहरूलाई प्रोत्साहन दिनका निम्ति हरवर्ष साहित्यिक भ्रमण अनुदान दिने गर्छ । नवोदय योजनाअन्तर्गत कृति प्रकाशन नगरेका साहित्यकारहरूका कृति प्रकाशन गर्छ । भारतका विभन्न स्थानमा बर्सैभरि आयोजित हुने विविध साहित्यिक कार्यक्रमहरू, सङ्गोष्ठी, कवि गोष्ठी आदिमा साहित्यकारहरूलाई सहभागी बनाउँछ । हरवर्ष बालसाहित्य पुरस्कार, अनुवाद पुरस्कार, युवा पुरस्कार अनि साहित्य एकेडेमी पुरस्कार दिने गर्छ । एकेडेमीले दिने साहित्य एकेडेमी पुरस्कार सर्वश्रष्ठ पुरस्कार हो । एकेडेमीले पुरस्कृत श्रेष्ठ पुस्तकहरू अन्य भाषाहरूमा अनुवाद गर्छ । भारतीय साहित्यको निर्माणकर्ता योजना अन्तर्गत दिवङ्गत साहित्यकारहरूको साहित्यिक देनको मूल्याङ्न गर्दै मनोग्राफ पुस्तक प्रकाशन गर्छ । साहित्य एकेडेमी पुरस्कार प्राप्त भएका कृतिहरूको अन्य भारतीय भाषाहरूमा अनुवाद हुन्छ । साहित्य एकेडेमीले अन्य भाषाका राम्रा कृतिहरू नेपली भाषामा अनुवाद गरी प्रकाशन गरिरहेको छ । भारत सरकारले नेपाली भाषालाई भारतको उत्तर पूर्वीय माषाका रूपमा पनि मान्यता दिएकाले क्षेत्रीय रूपमा पनि नेपाली भाषाको विकासका निम्ति साहित्य एकेडेमी कलकत्ताको क्षेत्रीय कार्यलयले काम गरिरहेको छ । साहित्य एकेडेमीले विभिन्न साहित्यकारहरूसँग सम्पर्क गरेर विविध कार्यहरू गरिरहेको हुन्छ । भारत सरकारले नेपाली भाषालाई सन् १९९२ मा संवैधानिक मान्यता दिएपछि भारत सरकारको विभिन्न निकायहरू…जस्तै मैसुर भाषा संस्थान, बुक ट्रस्ट अफ इन्डिया, विभिन्न विश्वविद्यालयहरू आदिले पनि नेपाली भषाको विकासमा काम गरिरहेका छन् अनि यी सबै निकायहरूबाट लेखकहरूले कुनै न कुनै रूपमा विभिन्न सौलियतहरू प्राप्त गरिरहेका छन् । भारत सरकारबाहेक पनि कतिपय राज्य सरकारहरूले पनि नेपाली भाषाको विकासका निम्ति क्षेत्रीय एकेडेमी स्थापन गरेर काम गरिरहेका छन् । सिक्किम सरकारको एकेडेमी, पश्चिम बङ्गाल सरकार अन्तर्गत गोर्खाल्यान्ड टेरिटोरियल प्रशासनमा स्थापित एकेडेमीले विभिन्न तवरमा काम गरिरहेका छन् । यी संस्थानहरूले हरवर्ष विभिन्न साहित्यिक विभूतिहरूको नाममा साहित्यकारहरूलाई पुरस्कारहरू प्रदान गरेर प्रोत्साहन गरिरहेका छन् । असममा पनि गोर्खा बोर्ड क्षेत्रीय सरकारले गठन गरेर केही न केही विकास गरिरहेको छ ।

सरकारी निकायबाहेक विभिन्न साहित्यिक संस्थाहरू र व्यक्ति गतरूपमा पनि भाषा साहित्यको विकासमा काम भइरहेको छ । सरकारले स्थापित साथै आर्थिक स्थिति कमजोर रहेका साहित्यकारहरूलाई उचित मासिक भत्ता वा पेन्सन दिने व्यवस्था गरे राम्रो हुनेछ, सिक्किम सरकारले (पूर्व मुख्यमन्त्री पवनकुमार चामलिङको सरकारले) राष्ट्रिय पुरस्कार प्रापक साहित्यकारहरूलाई कमै भए पनि पेनसन दिइरहेको छ । साहित्यकारहरूका प्रकाशित पुस्तकहरू मैसुर भाषा संस्थानले केही मात्रामा किन्ने गरेको छ । सिक्किम सरकारले पनि समयव समयमा साहित्यकारहरूका कृतिहरू किन्ने गर्छ ।

भारतीय नेपाली साहित्यको समकालीन बजारलााई कस्तो हेर्नुहुन्छ ?

भारतीय नेपाली साहित्यको समकालीन बजार दुःखलाग्दो स्थिति छ । हिजोका दिनहरूमा जति पुस्तकपसलहरू वा पुस्तक बिक्रीकेन्द्रहरू थिए ती हिजोआज धेरै कम भएका छन् । साहित्यसित सम्बन्धित पुस्तकपसलहरू दिनानुदिन बन्दको अवस्थामा छ । हिजोआज साहित्यिक पुस्तकहरू धेरै कम बिक्री हुन्छन् भन्ने गुनासो पसलेहरू राख्छन् । सायद वर्तमान समयमा युवाहरूमा साहित्यप्रति भएको वितृष्णा अनि कम्प्युटर र मोबाइल संस्कृतिको प्रभावले यस्तो हुन सक्छ । हुन त अन्य साहित्यमा पनि यस्तो स्थिति देखिन्छ तर उनीहरूको सामाजिक सोच धेरैमाथि छ । उनीहरूले आफ्नो भाषा साहित्यलाई मायाँ गर्छन् अनि पुस्तक किन्ने र पढ्ने संस्कृति बनाएका हुन्छन् । दुःखलाग्दो स्थिति त हाम्रो समाजमा छ तर केही उत्साहित युवाहरू पनि समाजमा छन् जो आफ्नो भाषा, साहित्य, संस्कृतिप्रति प्रतिबद्ध पनि छन् । हामी निराशावादी नबनौँ… आशावादी भएर बसौँ ।

अहिलेसम्म नबिर्सिने क्षण कुन् हुन् ?

जीवनको भोगाइमा धेरै सुख र दुःखका क्षणहरू आए अनि गए । कति घटनाहरू भुल्न नै नसकिने हुन्छन् र जीवनमा ठूलो छाप लगाएका हुन्छन् । तीमथ्ये जुन दिन मैले साहित्य एकेडेमी पुरस्कार प्राप्त गरेको घोषणा समाचार अनि टिभीबाट सुनेँ त्यो दिन म साँच्चै नै खुसी भएको थिएँ अनि सो पुरस्कार ग्रहण गर्न दिल्ली गएको र ठूलो बोइङ हावाजहाजमा चढेको अनि पुरस्कार ग्रहण गर्दा प्राप्त मीठो अनुभूति कहिले पनि भुल्न सक्तिनँ । एकेडेमी पुरस्कार पाउनु मेरा निम्ति एउटा ठूलो अहो भाग्य नै थियो म भन्छु किनकि मैले मेरो साहित्यिक जीवनको लामो यात्रामा यस्तो ठूलो पुरस्कार कहिले पनि पाएको थिइनँ । साहित्य एकेडेमीबाट पाएको आतिथ्य सत्कार अनि सम्मान मेरा निम्ति सधैँ अविस्मरणीय क्षण भएको छ ।

जीवनलाई परिभाषित गर्नुभयो भने के भन्नुहुन्छ ?

साधारण जीवविज्ञानअनुसार विभिन्न विशेषताहरू भएको जीवनको स्वरूपलाई जीवन भन्दछ । साधारण भाषामा भन्नु हो भने मनुष्यले बाँच्ने क्षमता राखेको सम्पूर्णता नै जीवन हो । संवेग जीवन हो र अपरिहार्य आवश्यकता पनि । जीवन छ भने मृत्यु अपरिहार्य छ । सङ्घर्षशील समाजमा विविध समस्याहरू लिएर भोगेको र बाँच्नका निम्ति गरेको सङ्घर्ष नै जीवन हो । जीवनदर्शनको उद्देश्य आत्म परमसत्य जान्न हो अनि त्यसपछि जीवनमुक्तिको अधिकार राख्न । जनभावना र जनसेवा पनि जीवनको उद्देश्य हो साथै परमात्माबारे जान्न । मोक्षप्राप्ति पनि जीवन हो भन्नेहरू पनि धेरै छन् । शान्ति, विकास, पूर्णता अनि सन्तुष्टता पनि जीवनको उद्देश्य रहेकाले जीवनको व्याख्या आआफ्नो दृष्टि अनि सो चले गर्न सकिन्छ ।

तपाईँलाई उत्कृष्ट लागेको विश्वस्तरीय सर्जक र सर्जन सम्बन्ध केही जान्न सकिन्छ कि ?

विश्वस्तरीय सर्जक र सर्जनको कुरा गर्दा फ्यादो र दो स्तोवस्की, फ्रेन्च काफ्का, अल्बेयर कामु, जाँ पार्ल सार्त्र आदिका कृतिहरू उत्कृष्ट छन् । दो स्तोवस्कीको “ब्रदर्स कर्माजोव” आउटसाइडर”, फ्रेन्च काफ्काका “मेटामोरफोसिस”, “ट्रायल” र “कासल”, अलब्येर कामुका “द रेबल” र “द मिथ अफ सिसिफस”, ज्याँ पाल सार्त्रको “बिइङ्ग एन्ड नोथिङ्गनस”, नासिया आदि पुस्तकहरूमा फेन्टेसी अनि अस्तित्ववादका स्वरहरू छन् । त्यसरी नै फ्रायडका यौन मनोविश्लेषण र मानवीय वैयक्तिक मनोविश्लेषणको सिद्धान्त यी सबैमा नयाँ सोच र विचारधारा छन् । चेखब ओ हेनरी, पर्ल एस बक, समरसेट मम आदि विश्वस्तरीय सर्जकहरू हुन् । नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, इन्द्रबहादुर राई, पारिजात, तारिणी कोइराला आदिका कृतिहरू पनि उत्कृष्ट र विश्वस्तरीय छन् । यी सर्जकहरूका कृतिहरूमा सामाजिक यथार्थता बाहेक पनि मनोविश्लेषण र अस्तित्ववादका सिद्धान्तहरू प्रतिपादन भएका छन् । भाषामा नयाँ शैली, नयाँ सोच अनि विचार र धारणा लिएर युगसापेक्ष, युगबोधक बौद्धितकता, दर्शन र मनोविश्लेषणको प्रयोग साहित्यमा उनीहरूले गरेका छन् ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापारीकरणका लागि क-कसले के-के गर्नुपर्ला ?

हाम्रा विभिन्न साहित्यिक संस्थाहरूबाहेक पनि सरकारले स्थापना गरेका साहित्यिक निकायहरू (भारतका साहित्य एकेडेमी, नेपालका नेपाल प्रज्ञा-प्रतिष्ठान, भारतका मैसुर भाषा संस्थान, बुक ट्रस्ट अफ इन्डिया एवम् राज्यद्वारा सञ्चालित एकेडेमी र अन्य साहित्यिक निकायहरू) आदिले साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका निम्ति उचित पहल गर्नुपर्छ । व्यक्तिगत रूपमा यी सब कुरा सम्भव देखिँदैन । ठूल्ठूला सेमिनार, वार्ता र सङ्गोष्ठी विश्वस्तरीयमा नै गर्न आवश्यक छ । साहित्यकारहरूमा विश्वस्तरीयकै अध्ययन, सोच, अवधारणा, विचार, मनासिकता, इमानदारी हुन अति आवश्यक छ । साहित्यिक संस्थाहरूले पनि यसको पहल गर्न सक्छ तर यसका निम्ति धेरै फन्ड वा लागतको आवश्यकता पर्दछ । साहित्यको विश्वव्यापारीकरण भन्नाले साहित्यिक पुस्तकहरूको बिक्री वितरण अनि बजार बुझिन्छ । हाम्रो साहित्यका उत्कृष्ट कृतिहरू अन्य भाषामा अनुवाद हुन अति आवश्यक छ । विशेष गरी छिमेकी साहित्य अनि अङ्ग्रेजी भाषामा नेपाली पुस्तकहरूको अनुवाद हुन अति नै आवश्यक छ । व्यापारिक ढङ्गमा लेखिएका पुस्तकहरू स्तरीयताको दृष्टिकोणमा कमजोर पनि हुन सक्छ तर जनमानसको रुचिअनुसार पनि लेखकले साधारण रूपमा बौद्धिक खुराक पाठकलाई दिन सक्दछ तर यी सब गर्न लेखकमा इमानदारी हुन अति आवश्यक छ ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबिचका सम्बन्धलाई कुन रूपलाई हेर्नुभएको छ ?

भारतीय नेपाली वा गोर्खा जातिको इतिहास हेर्दा उनीहरू पौराणिक कालदेखि नै भारतमा बसोबास गर्दै आएका हुन् । भारत स्वतन्त्र हुनुअघि अनि पछि पनि उनीहरू भारतकै नागरिक भएर बसेका छन् । सुगौली सन्धिअघि अनि पछि पनि नेपालीहरू यहाँ छन् । देशको धेरै ठाउँमा छरिएर बसे पनि नेपालीहरू दार्जीलिङ अनि सिक्किममा एकत्रित बहुसङ्ख्यक रूपमा छन् । सिक्कम आफ्नै राज्य भएकाले शासक पनि हाम्रै मानिसहरू छन् अनि शासक र सर्जकमाझ सुमधुर सम्बन्ध भएको देखिएको छ तर दार्जीलिङ जसलाई आज पनि नेपाली भाषाको मुख्य केन्द्र मानिन्छ त्यहाँका नेपली भाषी/गार्खा पश्चिम बङ्गालअन्तर्गत परेकाले तिनीहरू राज्यमा अल्पसङ्ख्यकरूपमा छन् अनि उनीहरू जहिले पनि बहुसङ्ख्यकहरूबाट प्रताडित छन् । सामाजिक, राजनीतिक अनि भाषिक रूपमा उनीहरू बहुसङ्ख्यकहरूबाट पीडित भइरहेकाले शासक र सर्जकहरूमाझ भनेजस्तो सुमधुर वातावरण छैन । यसैकारण विगत कालदेखि उनीहरूले उन्मुक्तिका निम्ति सङ्घर्ष गर्दै आइरहेका छन् । आफ्नो भाषा, साहित्य, संस्कृति र संस्कार बचाउन र जातीय अस्तित्वको खोजमा उनीहरू शासकवर्गसँग जहिले पनि सङ्घर्षशील छन् । अल्पसङ्ख्यकहरूले विविध समस्याहरू भोग्नुपरिरहेको स्थिति छ र यस्तो अवस्थामा शासक र सर्जकहरूबिचमा सुमधुर वातावरण बनाउन धेरै कठिन छ, अझ भारतको उत्तर पूर्वीय राज्यहरूमा हाम्राहरू धेरै समस्याहरूसँग जुझिरहेका छन् । अब हामीमा जनचेतना र एकताको विकास हुन अति आवश्यक छ । राज्य र शासकहरूसँग सुमधुर सम्बन्ध स्थापन गर्न धेरै प्रयासको खाँचो छ ।

नयाँ लेखकहरूलाई के सल्लाह दिनुहुन्छ ?

सबैभन्दा ठूलो कुरा के हो भने लेखकहरू सिकारु वा नयाँ हुन् वा स्थापित, उनीहरूमाझ सुमधुर सम्बन्ध र समन्वय हुनुपर्दछ । लेखकहरू इमानदार हुन अनि अनुशासनमा रहन अति आवश्यक छ । नयाँ लेखकहरूमा अध्ययनको खाँचो देखिएकाले अध्ययन अति आवश्यक छ । हाम्रो जीवन र समाजसित सम्बन्धित भएकाले हामीले समयसापेक्षित वास्तविक सत्यतालाई स्वीकार गरेर जीवनको वास्तविक चित्रण, नयाँ सोच र विचार अनि वैज्ञानिक अवधारणा रहेको साहित्यलाई नै अङ्गीकरण गर्नुपर्दछ । वर्तमान वैज्ञानिक युगमा रहेरै परिवर्तित हाम्रो जीवनशैली र भोगाइ पनि युगसापेक्ष हुन अति आवश्यक रहेको छ । भ्रष्ट समाज, भ्रष्ट सोच अनि मानसिकतामा परिवर्तन ल्याउन साहित्यले विशेष भूमिका निर्वाह गर्नुपर्दछ । यसर्थ युवा साहित्यकारहरू आफ्नो भाषा साहित्य, समाज, जातिप्रति प्रतिबद्ध रहेर समाजमा नयाँ दृष्टि र सोच राखेर एउटा राम्रो समाज बनाउन परिश्रम गर्नुपर्दछ ।

जीवनका भावी लेखकीय योजना के के छन् ?

आफ्नो जीवन नै साहित्यप्रति समर्पित भएको व्यक्ति म । मैले सिर्जना गरेको साहित्यले मलाई धेरै आनन्द र सुखानुभूति दिन्छ । अझ लेख्ने अनि कृतिहरू प्रकाशन गर्ने इच्छाहरू त भइ नै रहेको हुन्छ तर पुस्तक प्रकाशन गर्ने उचित समय र वातावरण पाउन गाह्रो हन्छ । मानिसको विभिन्न व्यक्तित्वहरू हुछन् । एउटै व्यक्ति समाजमा रहेर ऊ कोही बेला समजसेवी, कोही बेला घरको अभिभावक, कोही बेला लेखक र साहित्यकार, कोही बेला धार्मिक व्यक्ति, कोही बेला शिक्षक, कोही बेला समाज सुधारक, कोही बेला राजनीतिक द्रष्टा, छोराछोरीका पिता, स्वास्नीको पति, विद्यार्थीहरूका गुरु आदि व्यक्तित्वहरू लिएर समाजमा बाँच्नुपर्छ । यसरी समाजमा बसेर विभिन्न व्यक्तित्व लिएर विभिन्न कार्यहरू गर्दै साहित्यको सेवा पनि गरिरहेका छौँ । मेरो अप्रकाशित कृतिहरू प्रकाशन गर्ने इच्छाहरू छन् । बस् त्यतिमात्र सार्वजनिक गर्न मिल्ला ।

अहिले साहित्यमा लागेर के के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?

साहित्य लेख्दा केही प्राप्ति हुन्छ भनेर कहिले लेखेको छैन । चालिस वर्षभन्दा बढी मैले साहित्यको सेवामा समय फालेँ । नेपाली साहित्य सम्मेलनसँग प्रायः ४५ वर्षदेखि सम्बन्धित रहेको छु र विगत दिनहरूमा विभिन्न पदहहरू (सहसचिव, कोषाध्यक्ष, मूल सचिव, उपाध्यक्ष र अध्यक्ष) समालेँ । साहित्य एकेडेमी दिल्लीको सदस्य भएपछि नेपाली भाषा परामर्श समिति साहित्य एकेडेमीको संयोजक सन् (२०१३- २०१७) पनि हुनसकेँ । मैले विविध साहित्यिक अनि सामाजिक काम गर्दा धेरै आनन्द र सुखानुभूति नै प्राप्त गरेँ यद्यपि मैले धेरै कुराहरू पनि गुमाएँ होला तर यी कामहरूबाट नै मैले जीवनमा ठूलो उपलब्धिहरू पनि हासिल गर्न सकेँ । जीवनमा मानसम्मान पनि साहित्यकै माध्यमबाट पाउन सकेँ ।