पिटर ब्राडस

युरोप अमेरिकामा सिनेमा हल खुलेको केही समय बित्यो । भारतमै पनि केही ठाउँमा सिनेमा हल पुनः सञ्चालनमा आउन थालेका छन् । गएको साता भारतमा अक्षयकुमारको बेलीबटम रिलिज भयो । फिल्म हेर्न मारामार गर्ने ठाउँमा समेत सिनेमा हल लगभग खाली देखिन्थे ।

कोभिड १९ रोगले थलिएकाहरूलाई थाहा छ, यो कत्तिको माप्पाको रोग हो । त्यसैले बाहिर भिडभाडमा जाने कि नजाने भन्ने प्रश्नमा अधिकांश अवस्थामा कुनै दुविधा छैन । मानिसहरू घरैमा बसेर बरू फिल्मको रमरमीमा रमाउन चाहिरहेका छन् ।

त्यसैले पनि फिल्म व्यापारले चाहेजस्तो गति लिन सकेको छैन । अर्कोतर्फ फिल्मको विषय एकातिर छ भने अर्कोतिर अहिलेका मानिसको समस्या छ । फिल्मका विषय प्रिकोभिड छन्, कोभिड पहिलेका ! कोभिड पहिलेका समस्या, कथानक र प्रस्तुतिले कोभिड पछिका समस्या, कथानक र प्रस्तुति खोज्नु कुनै अनौठो होइन । हामीमध्ये धेरैलाई तिनको विषयले छोइरहेको छैन । त्यसैले त ती फिल्म हेर्न हामी हुर्रिएर जानेबारे सोचिहरेका छैनौँ !

अर्कोतर्फ, अहिले कोरोना प्रभाव कम देखिएका ठाउँमा मात्र सिनेमा हल खुलेका छन् । यसले ल्याउने तेस्रो संक्रमणको आवृत्तिलगत्तै ती पनि बन्द हुनेछन् ।

केही समयअघि सिनेमा हलमा रिलिज गर्ने तर्खर गरिएको द ग्रिन नाइट फिल्म बेलायतमा सीमित मात्र रिलिज गरियो । जबकि यो फिल्मले बजारमा तहल्का मच्चाउने अपेक्षा गरिएको थियो । अब यो फिल्म पनि स्ट्रिमिङ साइटमा उपलब्ध हुने पक्का भइसक्यो ।

द ग्रिन नाइटको हालतले अर्को सबैभन्दा बढी अपेक्षित फिल्म जेम्स बोन्ड फिल्मको अवस्थालाई इङ्गित गरिरहेको छ । बोन्ड फिल्म भनेको बेलायती गोल्ड स्ट्यान्डर्ड फिल्म हो । सिनेमा हलमा कसरी, कस्तो तरिकाले प्रदर्शन गर्ने भन्नेसमेत यसका निर्माताले सिकाउने गर्छन् । र, जब यो सिनेमा हलको ठाउँमा अमेजन वा नेटफ्लिक्समा रिलिज गर्ने घोषणा हुनेछ, त्यसपछि सिनेमा प्रदर्शनको पूरै पद्धतिमा नै आनका तान फरक हुनेछ ।

सिनेमा हल धेरै बाधाहरू पार गरेर यहाँसम्म आइपुगेको थियो । यसले भिएचएस (भिडियोमा फिल्म हेर्ने प्रणाली)लाई छिचोल्यो । त्यसपछि डिभिडीको जमानालाई पनि जित्यो । यतिबेला स्ट्रिमिङ सबैभन्दा ठूलो दुस्मन बनेर उभिएको छ ।

केहीले सिनेमा हललाई बचाउने एक मात्र उपायका रूपमा थ्रिडी फिल्म हुनसक्ने भनी आँकलन गरेका थिए । केही समय थ्रिडी फिल्मले पनि उपद्रै गरी पैसा कमाएर दिएका हुन् । तर कोभिडले त थ्रिडीलाई नराम्रो गरी पछारिदियो । कसैले पनि हिजोआज थ्रिडी फिल्म निस्कन्छ कि निस्कदैन भनेर चासोसमेत दिन छाडेका छन् ।

पहिले पहिले फिल्महरू ठूलो पर्दामा चहकिलो दृश्यका लागि बनाइन्थ्यो । पर्दामा साना साना कुरा पनि तस्बिरको स्पष्टताले देखिन्थ्यो । अचेल जस्तोसुकै हाइक्वालिटीको हाइडेफिनेसनमा खिचिएको भए पनि स्ट्रिमिङ नै हुने हो । स्ट्रिमिङले हाइक्वालिटी के लो क्वालिटी के, फरक पार्न छाडेको छ । किनभने अधिकांश मानिसहरू स्ट्रिमिङ साइटमा मोबाइलबाटै हेर्ने गर्छन् । निकै थोरै प्रतिशतले मात्र ठूलो हाइडेफिनेसन टिभीमा यस्ता फिल्म हेर्छन् ।

गएको क्यान्स फिल्म फेस्टिभलमा एउटा नीति नै ल्यायो, नेटफ्लिक्समुक्त प्रदर्शनी अर्थात्, नेटफ्लिक्स वा अन्य कुनै स्ट्रिमिङ साइटमा प्रदर्शन गरिएको फिल्मलाई वा सिनेमा हलमा प्रदर्शन नगरिएको फिल्मलाई प्रतियोगिताका लागि उपयुक्त नमानिने । क्यान्स महोत्सवका निर्देशक थिएरी फ्रेमक्सले यसको कारण दिँदै भने, कुनै पनि निर्देशक जसले नेटफ्लिक्सबाट आफ्नो करियर बनाएको उदाहरण दिनुस्, छन् कोही ? छैनन् भने हामीले नेटफ्लिक्सलाई उदाहरण बनाउन जरूरी छैन ।

तर पछिल्लो समयमा भने नेटफ्लिक्स यस्ता कयौँ निर्देशकहरूको करियर बनाउने ठाउँ बनेको सत्य अब कसैबाट छिपेको छैन । सिनेमा हल मात्र अब प्रतिभा देखाउने ठाउँ रहेन । त्यसो हो भने सिनेमा हलले अब आफ्नो महत्त्व गुमाउँदै जाला ?

यो गम्भीर प्रश्न त हो तर सिनेमा हलको महत्त्व भने अझै कम भएको भने छैन । यो सामाजिक वा पारिवारिक उत्सवको कारण अझै बन्न सक्छ । सन्र १९५० को दशकमा टेलिभिजनको व्यापक लोकप्रियतापछि सिनेमाको भविष्य नै सकिएको भनिदैथियो । सिनेमा हलको आकर्षण कुनै खेल प्रतियोगिता तथा नाट्यघरको आकर्षणभन्दा बढी नै छ ।

यो अलग कुरा हो कि यतिबेला कोभिडको महामारीका बीचमा मानिसहरूले स्ट्रिमिङको खपत बढी गरिरहेका छन् तर यसैले सिनेमा हलको भविष्य सकिँदैन । अँ, स्ट्रिमिङमा अझै पनि क्लिष्ट, बुद्धि भिडाउनुपर्ने आर्ट हाउस फिल्मका लागि एउटा गतिलो ठाउँ हुन सक्छ । त्यस्ता फिल्मले हत्तपत्त कुनै सिनेमा हल नपाउने हुनाले तिनले स्ट्रिमिङमा अड्डा जमाउन सक्छन् भन्ने कुरा त पछिल्लो समय भारतमा उदाएका नौला नौला विषयका हिरो बिनाका फिल्महरूको स्ट्रिमिङ सफलताले नै जनाइसकेको छ । जसमा पंकज त्रिपाठीजस्ता कलाकार हिरो बन्ने अवसर पाइरहेका छन् ।

र, जब संसारबाट कोभिड आतङ्क सकिएर जानेछ, मानिसहरू सिनेमा हलमा हुर्रिएर फेरि जाने नै छन् । यो बन्दाबन्दीको अवस्था पनि बितेर जाने नै छ ।

तर त्यसका लागि हामीले पनि पोस्टकोभिडका मूल्य, मान्यता, मनोदशा सिनेमामार्फत पक्रन सक्नुपर्छ ।

(२४ अगस्त २०२१ मा द गार्डियन अखबारमा प्रकाशित आलेखको सम्पादन तथा पुनर्लेखन)