१. विषय प्रवेश
रिपोर्ताज साहित्यको नयाँ विधाका रूपमा विश्वसाहित्यमा देखापरेको छ । यसलाई साहित्यको कान्छो विधाका रूपमा मान्ने गरिन्छ । साहित्य र पत्रकारिताको अन्तर्घुलनबाट यसको जन्म भएको मानिन्छ । साहित्य संवेगको विषय हो र पत्रकारिता सूचनाको विषय हो । संवेगात्मक प्रस्तुतिले पाठक वा श्रोताको मनलाई आकर्षित गर्ने काम गर्दछ भने सूचनात्मक सम्प्रेषणले पाठकको ज्ञानमा अभिवृद्धि गराउने काम गर्दछ । लेखकीय निजात्मकता, सूचनाको आख्यानीकरण र पत्रकारितामूलक प्रस्तुति नै रिपोर्ताजको प्रमुख चिनारी हो । पढ्दा ज्ञान र मनोरञ्जन एकै साथ प्राप्त हुने हुनाले यसको फरक मिठास नेपाली साहित्यका पाठकहरूका बिचमा पनि प्राप्त हुन थालेको छ । अहिले रिपोर्ताजलाई कक्षा ११÷१२ को नेपाली साठ्यसामग्रीका रूपमा पनि समावेश गरिएको छ । यस कारण पनि नेपाली विषयको अध्ययन तथा अध्यापन कार्यमा संलग्न सम्बन्धित सबैका लागि यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आवश्यक हुने गर्दछ भने अन्य स्रष्टा र द्रष्टाहरूका लागि पनि यो जिज्ञासाको विषय हुन सक्दछ । त्यसैले यस लेखमा साहित्यका क्षेत्रमा नवीन विधाका रूपमा स्थापित त्यही रिपोर्ताजका बारेमा केही सैद्धान्तिक र केही सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. रिपोर्ताजको सैद्धान्तिक स्वरूप र परम्परा
रिपोर्ताज पाश्चात्य साहित्यको देन हो । मुक्त ज्ञानकोश बिकिपिडियाले रिपोर्ताजलाई साहित्य र पत्रकारिताको मिश्रणका रूपमा चिनाएको छ । फ्रेन्च शब्द रिपोर्ताज (Reportaj) को शाब्दिक अर्थ सरस एवम् भावात्मक चित्रण हो । अङ्ग्रेजी शब्द रिपोर्ट (Report) बाट रिपोर्ताजको निर्माण भएको मानिन्छ । घटनाको यथातथ्य वर्णन रिपोर्ट हो भने रिपोर्टको कलात्मक एवम् साहित्यिक रूप नै रिपोर्ताज हो । यसमा घटनाको वर्णन हुन्छ, विषयको वस्तुगत रेखाचित्र प्रस्तुत गरिन्छ तर त्यो विवरणात्मक नभएर कलात्मक हुने गर्दछ । विश्वसाहित्यमा जीवनका सूचनाहरूको कलात्मक अभिव्यक्तिका लागि रिपोर्ताजको जन्म भएको मानिन्छ ।

रिपोर्ताज विश्वसाहित्यको सबैभन्दा कान्छो विधा मानिन्छ । यसको विकास सन् १९३६ पछि दोस्रो विश्वयुद्धका समयमा भएको हो । युरोपका रचनाकारहरूले युद्धको मोर्चाबाट साहित्यिक रिपोर्ट तयार गर्ने काम गरेका थिए । त्यसैलाई पछि गएर रिपोर्ताज भन्ने गरियो । पाश्चात्य साहित्यमा पनि विशेष गरी रुसी साहित्यमा यसको बढी लोकप्रियता देखापरेको हो । रुसी साहित्यमा एलिया एरनबर्ग (सन् १८९१—१९६७) लाई प्रमुख रिपोर्ताज लेखकका रूपमा लिने गरिन्छ । एलियाले ‘इजभेस्टिया’ पत्रिकामा स्पेन र फ्रान्सको युद्ध (सन् १९३६—१९४०) को रिपोर्टिङ गरेपछि यस विधाको औपचारिक जन्म भएको मानिन्छ । विषयवस्तु अत्यन्त गम्भीर तथा संवेदनशील भए पनि कलात्मक तथा रोचक शैलीमा प्रस्तुत गरिएको हुनाले एलियाका रिपोर्ताजहरू र त्यसपछिका तदनुकूल रचनाहरू विश्वसाहित्यको इतिहासमा उल्लेखनीय मानिन्छन् ।
भारतीय साहित्यमा शिवदान सिंह चौहानलाई विशिष्ट रिपोर्ताज लेखकका रूपमा लिने गरिन्छ । उनको सन् १९३८ को ‘रूपाभ’ पत्रिकामा प्रकाशित ‘लक्ष्मीपुरा’मा रिपोर्ताजको प्रारम्भिक रूप फेला पर्दछ भने त्यसको केही समयपछि ‘हंस’ पत्रिकामा प्रकाशित उनकै ‘मृत्युका विरुद्ध जिन्दगीको लडाइँ’ रिपार्ताजलाई भारतीय रिपोर्ताज लेखनको इतिहासमा विशेष महत्त्वका साथ हेरिन्छ । यति मात्र नभएर चौहानले सन् १९४१ मा पहिलोपटक रिपोर्ताजका सन्दर्भमा शास्त्रीय विवेचना प्रस्तुत गरी यसको सैद्धान्तिक स्थापना गरेको देखिन्छ । यसपछि रांगेय राघवको सन् १९४६ मा प्रकाशित ‘आँधीका बिचमा’ रिपोर्ताजमा बङ्गालको कारुणिक जीवनको यथार्थ प्रस्तुत गरिएको छ । फणीश्वरनाथ रेणुको आगमनपछि भारतीय रिपोर्ताज लेखनमा नयाँ क्रान्ति आएको मानिन्छ । रेणुले ‘नेपाली क्रान्तिकथा’ नामक रिपोर्ताजमा नेपालको लोकतान्त्रिक आन्दोलनको साहित्यिक शैलीमा सूचना सम्प्रेषण गरेका छन् । यसरी नै प्रकाशचन्द्र गुप्ता, प्रभाकर माचवे, अमृत राय आदि प्रमुख भारतीय रिपोर्ताज लेखकका रूपमा परिचित छन् ।

नेपाली साहित्यका क्षेत्रमा रिपोर्ताज नितान्त नयाँ विधाका रूपमा देखापरेको छ । विश्वसाहित्यमा देखापरेको झन्डै आठ दशकपछि रिपोर्ताजले पहिलो पटक नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमा प्रवेश पाएको छ । साहित्य र पत्रकारिता दुवै क्षेत्रमा कार्यरत स्रष्टा पत्रकारहरूका रिपोर्टमुखी लेखनमा थोरै थोरै मात्रामा कलात्मक लेखनले प्रवेश पाएको भेटिए पनि रिपोर्ताज नै भनेर लेखिएका रचनाहरू नेपाली साहित्यमा त्यत्ति पाइँदैनन् । अहिले कक्षा ११ र १२ को नेपाली पाठ्यपुस्तकमा रिपोर्ताजले स्थान पाएपछि यसप्रति पनि स्रष्टाहरूको निकै चासो बढेको देखिन्छ । अब भने यसले पनि साहित्य सिर्जनाकै एउटा विधाका रूपमा विकसित हुन सक्ने सम्भावना देखिएको छ ।

३. रिपोर्ताजमा के के हुन्छ ?
यथार्थ घटनालाई संवेदनशील साहित्यिक स्वरूप प्रदान गर्नु नै रिपोर्ताज लेखन हो । यो घटना प्रधान रचना हो । यसमा आँखाले देखेको र कानले सुनेको घटनाको कलात्मक वर्णन हुने गर्छ त्यसैले कल्पना यसको कारक हुन सक्दैन । वस्तुतथ्यमा अनुभूतिको अन्तर्घुलन हुँदा रिपोर्ताजको जन्म हुने गर्दछ । त्यसैले यसमा तथ्यमा कथातत्त्वको मिश्रण हुन्छ । रिपोर्ट मात्र रिपोर्ताज होइन, रिपोर्ट, अनुभूति र आलङ्कारिक प्रस्तुति नै यसको चिनारी हो । यसमा एउटै विधाको मात्र उपस्थिति देखिँदैन । प्रतिवेदन वा सूचना (पत्रकारिता), कथा र निजात्मक निबन्ध तीनओटा विधा वा लेखनसिपको अन्तर्घुलन हुँदा रिपोर्ताजको जन्म हुने गर्दछ । त्यसैले रिपोर्ताजमा निम्नलिखित तीनओटा विधाको विषयगत एवम् शैलीगत प्रभाव प्रत्यक्ष रूपमा देखिन्छ—

(क) सूचना सम्प्रेषणमा प्रतिवेदनको प्रभाव
पत्रकारिताको प्रमुख चिनारी सूचनाको सम्प्रेषण हो । रिपोर्ट वा प्रतिवेदनमा सत्य घटनाको जस्ताको तस्तै प्रस्तुति हुनु अनिवार्य मानिन्छ । रिपोर्ताज काल्पनिक हुँदैन, यसको लेखकले सम्बन्धित घटना भएको ठाउँमा नै पुगेर यथार्थको चित्रात्मक टिपोट गरेको हुनुपर्छ । त्यसैले सूचनाको सम्प्रेषण पत्रकारिताको जस्तै रिपोर्ताजको पनि प्रमुख उद्देश्य बन्ने गर्दछ । यस क्रममा रिपोर्ताज भनेको प्रतिवेदन नै पो हो कि भन्ने भ्रम पाठकमा पर्न सक्छ । रिपोर्ताज लेखक सफल भएन भने त्यो रिपोर्ट वा प्रतिवेदन मात्र बन्न सक्ने सम्भावना पनि बढी नै रहने देखिन्छ ।

(ख) घटना वर्णनमा कथाको प्रभाव
रिपोर्ताजमा अनुभूतिको आख्यानीकरण अत्यावश्यक मानिन्छ । रिपोर्ताज लेखकले यथार्थ सूचनाको सङ्कलन गरिसकेपछि त्यसलाई कथात्मक स्वरूप प्रदान गर्नुपर्छ । सफल रिपोर्ताज लेखक छ भने यथार्थ घटनालाई यस्तो प्रभावकारी बनाइदिन्छ, पाठकले त्यो कुनै सत्य घटना वा रिपोर्ट हो भन्ने कुरा नै बिर्सिने अवस्था सिर्जना हुने गर्दछ । त्यसैले यसको घटना वर्णन, विस्तार र कलात्मक प्रस्तुतिमा कथा विधाको प्रत्यक्ष प्रभाव मात्र होइन, स्वयं उपस्थिति नै देखापर्दछ ।

(ग) आत्मपरक प्रस्तुतिमा निबन्धको प्रभाव
लेखकीय निजात्मकता वा विषयवस्तुप्रतिको निजात्मक दृष्टिकोण निबन्धको विषय हो । रिपोर्ताजमा लेखकको प्रत्यक्ष उपस्थिति हुने गर्दछ । लेखकका आँखाले देखेको, कानले सुनेको, हृदयले अनुभूत गरेको र आफैँले प्रत्यक्ष रूपमा भोगेको घटनालाई आलङ्कारिक पदविन्यासका साथ प्रस्तुत गरे पनि यसमा लेखकीय दृष्टिकोणको विशेष भूमिका हुने गर्दछ । लेखकीय दृष्टिकोणको स्थापना निबन्धको विधागत चिनारी हो । रिपोर्ताजमा लेखकको निजी दृष्टिकोण अभिव्यक्त भएको देख्दा यो आत्मपरक वा निजात्मक निबन्ध हो कि भन्ने आशङ्का पाठकमा जाग्ने गर्दछ । त्यसैले यसको आत्मपरक प्रस्तुतिमा निबन्ध विधाको प्रत्यक्ष प्रभाव मात्र नभएर सशक्त उपस्थिति नै देखिन्छ ।

यसरी एउटा सफल रिपोर्ताजका लागि प्रतिवेदनको सूचना टिपोट, कथाको कलात्मक घटनाविन्यास र निबन्धको निजात्मक दृष्टिकोणको स्वाभाविक अन्तर्घुलन हुनु आवश्यक मानिन्छ । यसमा यथार्थ घटनाको रिपोर्टिङ मात्र पनि हुनु हुँदैन, काल्पनिक आख्यानको रोचक विस्तार मात्र पनि हुनु हुँदैन र एउटा विषयमाथिको निबन्धात्मक प्रस्तुतीकरण मात्र पनि हुनु हुँदैन । यी तीनओटै कुरा अन्तःसम्बन्धित भएर आए भने त्यो सुन्दर र सशक्त रिपोर्ताज बन्न सक्छ ।

४. रिपोर्ताज हुनका लागि के के चाहिन्छ ?
लेखकमा पत्रकारको र पत्रकारमा लेखकको अंश प्रवेश गरेपछि रिपोर्ताजको जन्म हुने गर्दछ । त्यसैले यसमा एउटै व्यक्तिले पत्रकार र कलाकार दुवैको जिम्मेवारी निर्वाह गरेको हुन्छ । रिपोर्ताजको विषय यथार्थमा आधारित हुनु अनिवार्य मानिन्छ । यसमा जनसाधारणको जीवनसँग जोडिएका सुखदुःखका घटना, मेला, पर्व, उत्सव, प्राकृतिक प्रकोप, युद्ध, महामारी, उत्प्रेरित गर्नुपर्ने उत्पादन, आविष्कार वा भूमिका आदिका विषयमा कलात्मक जानकारी प्रस्तुत गर्ने गरिन्छ । यसका लागि स्वरूप, लेखन र भाषाशैली तीनओटा तत्त्वलाई प्रमुख रूपमा हेर्ने गरिन्छ । लेखकले देखेकै घटना हुनुपर्ने हुनाले यसको स्वरूप सत्य घटनामा आधारित हुन्छ । यसको लेखन आख्यानात्मक हुन्छ र भाषाशैली चित्रात्मक हुनु आवश्यक मानिन्छ । यसको आकारप्रकारको सीमाङ्कन छैन । यो छोटो कथाजस्तो पनि हुन सक्छ र लघुउपन्यासजस्तो पनि हुन सक्छ । रिपोर्ताजमा त्यस युगको जीवनइतिहासको प्रतिबिम्बन आवश्यक छ भन्ने विश्वव्यापी मान्यता पाइन्छ । यति हुँदाहुँदै पनि विषयप्रतिको चित्रात्मकता, आख्यानात्मकता र निजात्मकता यी तीन कुराचाहिँ रिपोर्ताजका लागि नभई नहुने कुराहरू हुन् । यिनै तीनओटा कुराका आधारमा रिपोर्ताजका लागि निम्नलिखित तीनओटा तत्त्वहरूको निर्धारण गर्न सकिन्छ—

(क) घटनाको यथार्थ उद्घाटन
घटनाको यथार्थ उद्घाटन रिपोर्ताजका लागि नभई नहुने तत्त्व हो । यसका लागि लेखक स्वयं स्थलगत रिपोर्टिङका लागि सम्बन्धित ठाउँमा नै पुगेको हुनुपर्छ । त्यो कुरा पनि सूच्य वा साङ्केतिक रूपमा नभएर लेखकले आफैँले बोलेर नै व्यक्त गरेको हुनुपर्छ । कुन सन्दर्भमा, किन, कसको उत्प्रेरणा वा आदेशमा त्यो ठाउँमा पुगियो र त्यहाँ के के भयो ? ती कुराहरूलाई शृङ्खलाबद्ध तरिकाले लेख्ने काम रिपोर्ताजमा गरिन्छ । यहाँ जे घटना भएको हो त्यसको र त्यस घटनाको रिपोर्टिङ गर्न जाँदा आफूले गरेको अनुभव र भोगाइको जस्ताको तस्तै प्रस्तुति हुने हुनाले रिपोर्ताज घटनाको कलात्मक प्रस्तुतिमा आधारित हुने गरेको हो ।

(ख) घटनाबाट उत्पन्न अनुभूतिको आख्यानीकरण
अनुभूतिको आख्यानीकरण रिपोर्ताजको अर्को महत्त्वपूर्ण तत्त्व मानिन्छ । त्यो अनुभूति काल्पनिक नभएर रिपोर्टिङ गर्न गएको घटनामा आधारित हुन्छ । रिपोर्ताज लेखक कुनै घटना भएका ठाउँमा पुग्दा उसले के अनुभव ग¥यो, सम्बन्धित घटनाले उसलाई कस्तो प्रभाव पा¥यो र त्यसबाट उसले के सिक्यो र समाजलाई के कस्तो सन्देश सम्प्रेषण गर्ने योजना बनायो ? आदि सबै कुराहरूलाई कथाजस्तै बनाएर प्रस्तुत गर्ने काम लेखकले गर्ने गर्दछ । त्यसैले लेखकले रिपोर्ट गर्न चाहेको घटनाबाट उत्पन्न अनुभूतिको आख्यानीकरण नै रिपोर्ताजको सिर्जनात्मक आधारशिला बन्ने गर्दछ ।

(ग) चित्रात्मक भाषाशैली
रिपोर्ताजको भाषाशैली चित्रात्मक हुन्छ । यसको आशय घटनाको वर्णनमा दृश्यको प्रयोग अनिवार्य मानिन्छ । अर्थात् वर्णनात्मक फोटोग्राफी यसका लागि अनिवार्य मानिन्छ । शब्दमा दृश्य उतार्न सक्ने खुबी भएको लेखक छ भने त्यो रिपोर्ताज पढ्दा पाठकले एकातिर घटनामा आधारित सूचना पाउँछ, अर्कातिर कथा पढेको अनुभव गर्छ र अझै अर्कातिर शब्दचित्रमा नै दृश्य प्रतिबिम्बन भएको देख्छ । त्यसैले रिपोर्ताजको भाषामा सरलता र सहजता हुनुपर्छ, सुबोधता र सजीवता अनिवार्य छ, साथै सरसताले यसमा थप शक्ति प्रदान गर्दछ भन्ने मान्यता पाइन्छ । यसको आशय रिपोर्ताजको भाषाशैली खजमजिएको, गुजमुजिएको वा पाठक निस्सासिने खालको हुनु हुँदैन, एउटा शान्त नदी बगेजस्तो सललल बगेको वा शीतल हावा चलेजस्तो सररर बहेको हुनुपर्छ ।

यी तीनका अतिरिक्त रिपोर्ताजमा बहुमुखी कथ्यको प्रयोग, सान्दर्भिक चरित्रको चित्रण, भावानुकूल संवाद आदिको प्रयोग पनि हुन सक्ने मान्यता पाइन्छ । उल्लिखित पक्षहरूको गम्भीरतापूर्वक पालना भएन भने रचनाको प्रामाणिकता र विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था सिर्जना हुन्छ । रिपोर्ताजमा त्यस्तो अवस्थाको सिर्जना हुनु हुँदैन । यसका साथै घटनाको संवेदनशीलता, कथात्मकता, शब्दसीमामा स्वतन्त्रता र भाषाशैलीमा कलापूर्णता आदि पनि रिपोर्ताजका लागि अपेक्षित छन् । यसको केन्द्रीय घटना सत्यतामा नै आधारित हुन्छ तर यसमा थोरै कल्पनाका माध्यमबाट साहित्यिक परिवेशको निर्माण गरिन्छ । यसमा तथ्य र भावप्रवणताको मिश्रण हुन्छ र स्रष्टाको मनोविश्लेषणात्मक दृष्टिकोणको स्थापना पनि यहाँ हुने गर्दछ । त्यसैले रिपोर्ताज सूचना, मनोरञ्जन र आत्मदृष्टि निर्माणका लागि पनि सहयोगी बन्न सक्ने साहित्यिक विधाका रूपमा वर्तमान विश्वसाहित्यमा स्थापित देखिन्छ ।

५. रिपोर्ताज कसरी लेखिन्छ ?
रिपोर्ताज लेखनको पनि अन्य विधाको जस्तै आफ्नै स्वतन्त्र संरचनात्मक चिनारी हुन्छ । यो प्रायः स्वतन्त्र रूपमा लेखिन्छ तर यसको आन्तरिक सुगठनमा भने पूर्णतः निर्देशित रहेको जानकारी दिइन्छ । लेखकले रिपोर्ताज लेख्न थाल्दाखेरि नै सन्दर्भको सूचना दिने गर्दछ अनि घटनाको सङ्केत गरी आफ्नै उपस्थितिमा घटनालाई अगाडि बढाउन थाल्दछ । यहाँ निर्देशित रिपोर्ताज लेखनका लागि पूर्ण उपयोगी हुने गरी र स्वतन्त्र रिपोर्ताज लेख्नेहरूका लागि पनि सहज मार्गनिर्देश हुने गरी एउटा संरचनात्मक खाका दिइएको छ । एउटा रिपोर्ताज लेखकले रिपोर्ताज लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) शीर्षक चयन
रिपोर्ताजको सबैभन्दा माथि विषयवस्तुको प्रतिनिधित्व गर्न सक्ने पद वा पदावलीका तहको छोटो र प्रभावकारी शीर्षक दिनुपर्छ । अन्य विधाको सिर्जनामा प्रायः सुरुमा नै शीर्षक चयन गरेर लेखनको थालनी हुन्छ तर रिपोर्ताजका सन्दर्भमा चाहिँ लेखनकार्य पूरा भएपछि भाव सुहाउँदो शीर्षक अन्त्यमा दिन पनि सकिन्छ ।

(ख) भूमिका खण्ड
यो रिपोर्ताजको पहिलो अनुच्छेद वा थालनी हो । यसमा लेखक आफैँ उपस्थित भएर विषयसम्बधी सन्दर्भ र प्रसङ्गको चर्चा गर्न थाल्दछ । यस खण्डमा किन यस विषयको छनोट गरियो ? यसका लागि कसले उत्प्रेरित ग¥यो ? यो किन आवश्यक छ ? यसमा के गर्न खोजिएको छ ? आदि जस्ता प्रश्नका उत्तरहरूको व्यवस्थापन गर्दै गएर विषयवस्तुको पृष्ठभूमिलाई सङ्केत गरी मूल विषयमा प्रवेश गर्नुपर्छ । यो खण्ड एक वा दुई अनुच्छेदमा लेखिन्छ । रचनाको आकारलाई हेरेर यसको आयातन लम्बिन पनि सक्छ ।

(ग) विस्तार खण्ड
यो रिपोर्ताजको मूल खण्ड हो । यसमा विषयवस्तुको आख्यानात्मक विस्तार गरिन्छ । विषय विस्तार गर्ने क्रममा अनुभूति र आख्यानलाई मिसाउँदै, आवश्यक चरित्र र परिवेशको निर्माण गर्दै र आफ्ना निजी दृष्टिकोणहरूको समेत स्थापना गर्दै अगाडि बढिन्छ । यहाँ आवश्यक तर्क, उदाहरण, तुलना, विश्लेषण, प्रमाण आदिको आवश्यकता देखियो भने त्यसलाई पनि कलात्मक तरिकाले क्रमशः प्रस्तुत गर्दै गइन्छ । यही खण्डमा विषयवस्तुका सकारात्मक पक्ष र नकारात्मक पक्षको विश्लेषण गरिन्छ र उत्पन्न समस्याहरूको तार्किक समाधान पनि गरिन्छ । जहाँ जुन सन्दर्भका बारेमा तार्किक दृष्टिकोण प्रस्तुत गर्नुपर्ने हो त्यहीँ नै तत्काल प्रतिक्रिया दिइन्छ । यो खण्ड विषयवस्तुको व्यापकतालाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।

(घ) निचोड खण्ड
यो रिपोर्ताजमा अभिव्यक्त विचार स्थापना गर्ने ठाउँ हो । यसमा रिपोर्टिङको काम सम्पन्न भइसकेपछि के के गरियो ? त्यसको जानकारी प्रस्तुत गरिन्छ । यहाँ माथिका दुई खण्डमा मन्थन गरेका विचारबाट नौनी निकाल्ने काम पनि हुन्छ । यस खण्डमा नयाँ कुराको चर्चाभन्दा पनि अगाडि चर्चा गरिएका विषयको उपयुक्त निष्कर्ष निकालिन्छ । बिचतिर आख्यानात्मक स्वरूप प्राप्त गरेको रिपोर्ताजले यहाँ आइपुगेपछि फेरि निबन्धात्मक संरचनाको स्वरूप ग्रहण गर्दछ । त्यसैले यस खण्डमा विषयवस्तुप्रतिको स्रष्टाको निजी विचार र दृष्टिकोणसहित रिपोर्ताजको उचित समापन गरिन्छ । यहाँ आइपुगेपछि फेरि सुरुमा जस्तै आंशिक अनौपचारिक शैलीमा यो काम किन गर्न खोजिएको थियो र परिणाम के निस्कियो ? त्यस कुराका बारेमा पनि लेखकबाट एकदुई वाक्य बोल्ने काम हुन्छ । यो भाग रिपोर्ताजको अन्तिम खण्ड हो । यो विषयवस्तुको मागअनुसार एक वा दुई अनुच्छेदमा लेखिन्छ र यो खण्ड समग्र रिपोर्ताजको केन्द्रीय विचार सम्प्रेषण गर्ने ठाउँ पनि हुने गर्दछ ।

यी कुराहरू सिकारु चरणका रिपोर्ताज लेखक वा विद्यालय एवम् विश्वविद्यालय तहमा निर्देशित रिपोर्ताज लेख्नेहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा रिपोर्ताज लेख्न सक्छ तर स्रष्टा जत्ति नै प्रतिभाशाली भए पनि रिपोर्ताज लेख्नका लागि चाहिँ उसले घटना वा विषयको स्थलगत भ्रमण, अध्ययन, गम्भीर चिन्तन, तार्किक विश्लेषण र तदनुकूल आख्यानीकरण गरेकै हुनुपर्छ । अन्य विधामा जस्तो एउटा कोठामा बसेर गरिने कल्पनाले चाहिँ रिपोर्ताज लेखन सम्भव छैन । यति हुँदाहुँदै पनि स्रष्टाको योग्यता, क्षमता, तर्कशक्ति, गम्भीर दृष्टि र कलात्मकताका कारण रिपोर्ताजको बनोट र बुनोटमा चाहिँ प्रभाव पर्ने देखिन्छ ।

६. निष्कर्ष
रिपोर्ताज विश्वसाहित्यमा देखापरेको सर्वाधिक नवीन विधा हो । यसलाई अन्य विधाका तुलनामा केही बौद्धिक र प्राविधिक विधाका रूपमा पनि लिने गरिन्छ । सिर्जनाका कारकहरू प्रतिभा, व्युत्पत्ति र अभ्यासमध्येमा अन्य केही सिर्जनात्मक विधाका लागि प्रतिभा मात्र भए पनि पुग्छ र समालोचनात्मक विधाका लागि व्युत्पत्ति र अभ्यास भए पनि पुग्छ तर रिपोर्ताजका लागि तीनै कुराको बराबर भूमिका देखिन्छ । यसमा अनुभूतिको आख्यानीकरणका लागि प्रतिभा चाहिन्छ भने प्रतिवेदनात्मक सूचना सम्प्रेषण र निजात्मक दृष्टिकोणको स्थापनाका लागि व्युत्पत्ति (शास्त्रज्ञान) र अभ्यास (निरन्तर गरिने साधना) सबै कुराको आवश्यकता पर्दछ । समग्रमा रिपोर्ताज भनेको रिपोर्ट मात्र पनि होइन, साहित्यिक आख्यान मात्र पनि होइन र निजात्मक निबन्ध मात्र पनि होइन । उल्लिखित तीनओटै कुराको स्वाभाविक अन्तर्घुलन हुनु यसको शक्ति हो भने अलग अलग देखा पर्नु यसको विधागत सीमा पनि हो ।

क्रमशः अर्को हप्ता…