नर्वेका रोमान्टिक चित्रकारका रूपमा नाम बनाएका जोआन क्रिस्टियन क्लाउसन डाल इटालेली एकेडेमिक चित्रकलाबाट दीक्षित चित्रकार हुन् । यिनको ठूलो विशेषता नै उनले स्वदेशको सौन्दर्यलाई चित्रकलामा उन्नु हो ।
एउटा गरिब माझी परिवारमा जन्मिएका डाल आफ्नो बाल्यकाललाई बिर्सन लायक क्षण ठान्थे । उनी जीवन र जगतबाट यति दिक्क थिए कि भविष्यमा चर्चको पादरी बन्न चाहन्थे । बाल्यकालदेखि नै उनलाई चित्रकलामा भने ठूलो मोह थियो ।
उनले बाल्यकालमा भोगेका दुःख, प्रकृतिसँगको सान्निध्य आदिका कारण पछि त्यसको प्रभाव चित्रकलामा पर्न गयो । उनका चित्रकलालाई शुरूमा नर्वेमा उति महत्त्व दिइएन । उनका चित्रलाई धेरैले मन पनि पराएनन् । चित्रमा दिएका नैतिक सन्देश बुझ्न सकेनन् ।
उनी अन्य चित्रकारजस्तो चित्रकलाका नीतिनियम भाँड्ने काममा लागेनन् । अरूभन्दा विशेष ठानिन रूचाएनन् । त्यसैले उनले शास्त्रीय पारामा नै चित्रहरू बनाए । उनले चित्रकलामा थोरबहुत नाम बनाएपछि जर्मनीमा उच्च अध्ययन गर्न गए । त्यहाँ उनले रोमान्टिक चित्रकार क्यास्पर डेभिड फ्रेडरिकसँग दोस्ती जम्न पुग्यो । यी दुईले त्यहाँ रहँदा धेरै जर्मन ल्यान्डस्केप चित्र कोरे । पुराना गोथिक चर्चहरूलाई दुरूस्त उतारे ।
एक किसिमले यी दुईले जर्मन रोमान्टिक स्कुल अफ पेन्टिङको मियो बनेर काम गरे । जर्मनीमा उनले निकै ख्याति बटुले । उनलाई राम्रो चित्रकारका रूपमा ख्याति कमाएपछि उनलाई अचानक मातृभूमिको याद आयो । त्यसपछि उनी लागे, नर्वेतिर ।
जीवनमा उनले दुई वटा बिहे गरे । उनले असाध्य मन पराएका दुवै स्त्रीसँग बिहे गरे पनि दुवैले सन्तान जन्माउन नसक्दा देह त्याग्नु पर्यो । यसले उनलाई भित्रैदेखि दुःखी पार्यो । प्रायः उनका चित्रमा प्रकृतिमा हिउँको प्रतिनिधित्व मृत्युका रूपमा आउने गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।